गोरखा: गोरखामा आज माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । मनकामना मन्दिरको दर्शन गरेर फर्कदै गरेको ‘अनटेष्ट’ लेखिएको विद्युतीय माइक्रोबस सहिद लखन गाउँपालिका–३, स्थित कान्टारमा बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । दुर्घटना परेर मृत्यु हुनेमा चितवन जिल्ला खैरहनी गाउँपालिका–२, टाँडीपर्सा घर भएका ३७ वर्षीय पदमबहादुर दर्जी रहेको उहाँले बताउनुभयो । दुर्घटनामा घाइते दर्जीको आँबुखैरेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डिएसपी सुवेदीले बताउनुभयो । बिहान करिब ११ः२५ बजे कच्ची सडकबाट माइक्रो करिब १५ मिटर तल खोँचमा थियो । दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइते हुने सोही ठाउँका ५० वर्षीया हरिकला परियार, २९ वर्षीया गीता परियार, १० वर्षीय रितेश परियार, १३ वर्षीया सन्ध्या परियार, २५ वर्षीया रुपा परियार, २० वर्षीया सञ्चिता आले, ३५ वर्षीया प्रमिला राना, ४३ वर्षीया विमला परियार हुनुहुन्छ । अन्य घाइतेमा ३१ वर्षीय राजु परियार, १८ वर्षीया सुवना परियार, २१ वर्षीय अभिषेक परियार, २६ वर्षीया अनिसा परियार र ३६ वर्षीय अर्जुन परियार रहेको डिएसपी सुवेदीले जानकारी दिनुभयो । घाइतेहरुको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौं: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओलीः सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको आज लोकार्पण भएको छ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओलीले लोकतन्त्र प्राप्तिका लागि गर्नुभएको अनेक सङ्घर्षदेखि मुलुकको समृद्धिका लागि देखाउनुभएका सपना र गर्नुभएको नेतृत्वदायी पहललाई समेटेर पुस्तक तयार गरिएको हो । पुस्तकमा प्रधानमन्त्री ओलीका सहयात्री, राजनीतिज्ञ, अर्थविद्, सामाजिक व्यक्तित्वहरुका लेख–रचनासमेत समावेश गरिएको छ । सो पुस्तक अल्केमी प्रकाशनले गरेको हो । कार्यक्रममा प्रधानमन्त्री ओली, एमालेका महासचिव शङ्कर पोखरेललगायत सहभागी हुनुहुन्छ ।
जनकपुर: जनकपुर र पोखराका व्यवसायीले आपसी सहकार्यमा जोड दिएका छन् । पर्यटन क्षेत्रको विकास र आपसी सिकाईका विषयमा दुई शहरका ब्यबसायी हातेमालो गरेर अगाडि बढ्न सकिने विषयमा उनीहरु एक मत देखिएका छन् । यसपटकको पाँच दिने जाउँ है पोखरा अभियान अन्तरगत जनकपुरमा सोमबार आयोजित पहिलो कार्यक्रममा उल्लेखित विषय उठान गरिएको थियो । सो अवसरमा मधेश प्रदेशका उद्धोग, वाणिज्य एबं पर्यटन मन्त्री सकिल अलि मियाँले पोखरा-जनकपुरबिच हवाई सेवा संचालनमा जोड दिए । मधेश प्रदेशको पर्यटन ऐन पारित भई लागू हुने क्रममा रहेको अबगत पनि उनले गराए । व्यवसायीहरु एकाअपसमा मिलेर पर्यटन क्षेत्रलाई थप अगाडि बढाउन सकिने उनले सुझाव राखे । आयोजक संघका अध्यक्ष एबं अभियानका संयोजक लक्ष्मण सुवेदीले अभियानबारे जानकारी गराउँदै जनकपुरवासीलाई पोखरा भ्रमणको निम्ता प्रदान गरे । मधेश प्रदेशका सांसद राम आशिष यादबले पोखरा र जनकपुरले एक अर्कासँग सिक्न जरुरी भएको भनाई राखे । सत्कार, सुविधा र सुरक्षाले पर्यटन अगाडि बढ्न सक्ने स्मरण उनले गराए । होटल संघका केन्द्रिय सदस्य विजयकुमार झुनझुनवालाले हिन्दू धर्मको महत्व अनुसार प्रचारप्रसार अगाडि बढ्न नसक्नु दुस्खद पक्ष भएको बताए । जनकपुर उद्धोग वाणिज्य संघका पूर्व अध्यक्ष निर्मलकुमार चौधरीले पोखराले धार्मिक पर्यटक आकर्षण गर्ने उपायहरु अगाडि बढाउनु पर्ने सुझाव राखे । बन्दिपुर केबलकार एण्ड टुरिजम प्रालिका उपाध्यक्ष किरण पोखरेलले प्रालिले संचालन गरेको परियोजना र सेवासुविधाका बारेमा अवगत गराएका थिए । नेपाल टुर एण्ड ट्राभल एशोसिएशन मधेश प्रदेशका अध्यक्ष मोहनकुमार शर्माले पोखरा साहसिक पर्यटनका हिसाबले थप अगाडि बढ्न सक्ने सुझाव राखे । नेपाल पत्रकार महासंघ धनुषाका सभापती पुरण साहले पोखराका एक हजार दुई सय होटलमा १५ हजार जनाले रोजगारी पाउनु सकारात्मक पक्ष भएको बताए । ब्यबसायी बीरेन्द्र शाहले पोखरामा मधेशी पर्यटकलाई सम्मानित व्यवहार गर्न आग्रह गरे । कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै संघका उपाध्यक्ष गणेशराज पहारीले पोखरा र जनकपुर बिच धार्मिक र पर्यटनका हिसाबले धेरै समानता रहेको बताउँदै आपसी सहकार्यका लागि आव्हान गरे । कार्यक्रममा संघले जाउँ है पोखराका विभिन्न पाँच प्याकेज पनि सार्वजनिक गरेको छ । घुमघाम, बसाई र खानपान सम्बन्धि यी प्याकेज पाँच हजार रुपयाँदेखि २६ हजार रुपैयाँ बिचका रहेका छन् । आयोजक संघका सचिव पार्वता पाण्डेले कार्यक्रमको संचालन गरेकी थिइन् ।
म्याग्दी: धौलागिरि गाउँपालिका–४ चेचुङकी ६८ वर्षीया तुलमती घर्ती गाउँमा मोटरेबल सडकको पहुँच विस्तारले खुसी हुनुहुन्छ । आफ्नै वडा कार्यालयमा जान समेत घण्टौँको पैदलयात्रा गर्नुपर्ने चेचुङवासीले यसअघि सवारीसाधन चढ्न मालिका गाउँपालिका–७ शिवरात्रिखोला पुग्नुपर्ने बाध्यता थियो । अक्करे भिरलाई छिचोल्दै गाउँमा मोटरबाटो पुग्न चेचुङवासीलाई जलविद्युत् आयोजना सहयोगी बनेका हुन् । “अहिलेसम्म त सहर बजार जान पनि पैदलै घण्टौँ हिँड्दै आएका थियौँ, खाद्यान्नलगायतको सामान पनि बोकेरै लैजानुपर्ने बाध्यता थियो, धुलो उडाउँदै भए पनि गाउँमा गाडी बाटो आयो, हामीलाई सुविधा भएको छ”, घर्तीले भन्नुभयो । सडक निर्माणका लागि यहाँ सञ्चालित जलविद्युत् आयोजनाको भूमिका छ । हाइड्रो इम्पायर प्रालि प्रवद्र्धक रहेको ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत् आयोजनाले नाउरादेखि १९ घरधुरी रहेको चेचुङगाउँ जोड्ने पाँच किलोमिटर सडक निर्माण सम्पन्न गरेको हो । प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रमअन्तर्गत स्थानीयको मागअनुसार करिब दुई महिना डोजर परिचालन गरेर दुर्गम गाउँमा मोटरबाटो निर्माण गरिएको हो । यसबाट स्थानीयको समस्या केही हदसम्म सम्बोधन भएको छ । मोटरेबल सडक निर्माणले खाद्यान्नलगायतका सामग्री ढुवानीमा मानिसले बोक्नुपर्ने र खच्चडको भर पर्नुपर्ने बाध्यता हटेको छ । धौलागिरि गाउँपालिका–४ मुदीमा निर्माणाधीन ६५ मेगावाट क्षमताको म्याग्दीखोला, ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी र ५३ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाले मालिका गाउँपालिका–७ शिवरात्रिखोलादेखि खाम्ला, नाउरा हुँदै जेल्टुङ बगरसम्म १५ किलोमिटर सडक निर्माण गरेका छन् । चेचुङ र बगरसँगै खिबाङमा समेत जलविद्युत् आयोजनाकै लगानीमा सडकमार्ग जोडिएको छ । आयोजनाको पहुँचमार्ग निर्माणका क्रममा सडकको ट्रयाक दुर्गम बस्तीसम्म पुगेपछि गाउँमा जलविद्युत् आयोजनासँगै विकास भित्रिएको मुदीका वडासदस्य समेत रहनुभएका बगरका स्थानीयवासी हरिप्रसाद तिलिजाले बताउनुभयो । “शिवरात्रिखोलाबाट बगर गाउँ पुग्न नाउराको भिरबाट एक दिनको यात्रा गर्नुपथ्र्यो, सडक बनेपछि अब एक घण्टामै यात्रा गर्न सकिने भएको छ, वडा र गाउँपालिकाको कार्यालयसँगै जिल्ला सदरमुकाम आउनजान समेत सडकले सुविधा दिएको छ”, तिलिजाले भन्नुभयो । जलविद्युत् आयोजनाले म्याग्दी नदीमा बेलिब्रिज जडान गरेपछि खोलाबारी र पारिका बस्तीहरूमा समेत सजिलै आवतजावत गर्न सकिने भएको छ । मुदीको अर्चे र नेरवाङमा अझै सडक पुग्न सकेको छैन । पहाडी भेगका भिर पहाडका फेदी र कुनामा रहेका बस्तीमा सडक पु¥याउने काम चुनौतीपूर्ण रहेको अवस्थामा जलविद्युत् आयोजना भित्रिएसँगै सडकको सपना पूरा भएको वडाध्यक्ष यामप्रसाद घर्तीले बताउनुभयो । जलविद्युत् आयोजनाले सडक, पुललगायतका पूर्वाधारसँगै गाउँको शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा सघाउन थालेका छन् । सामाजिक उत्तरदायित्वअन्तर्गतका कामलाई प्रभावित क्षेत्रका बासिन्दाको आवश्यकता र विकाससँग जोड्ने प्रयास गरिएको धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो । “जलविद्युत् गाउँपालिकाको प्रमुख सम्भावनाको आधार हो, यहाँ ठूला आयोजना भित्रदै गर्दा यस क्षेत्रको विकासमा पनि योगदान हुनुपर्छ भन्ने हाम्रो मान्यता छ, आयोजनामा आवश्यक पर्ने जनशक्तिमा समेत स्थानीयलाई अवसर दिन हामीले ध्यानाकर्षण गराइरहेका छौँ”, गाउँपालिका अध्यक्ष पुनले भन्नुभयो । धौलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी नदी र यसका सहायक नदीमा आठ वटा जलविद्युत् आयोजना दर्ता भएको र त्यसमध्ये तीन आयोजनाको निर्माण अघि बढेको उहाँले बताउनुभयो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली र इटलीका राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान जियानलुइजी बुफोनबीच आज भेट भएको छ । राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा जारी तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको समापन कार्यक्रमका प्रमुख अतिथिका रुपमा नेपाल आउनुभएका अन्तरराष्ट्रिय गोलरक्षक बुफोनलाई प्रधानमन्त्री ओलीले आज बिहान प्रधानमन्त्री निवास बालुवाटरमा भेट गर्नुभएको हो । भेटका अवसरमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष पङ्कज राई, राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष क्षितिज थेबे, बुफोनका परिवारका सदस्यलगायत सहभागी हुनुहुन्थ्यो । यही फागुन ११ गतेदेखि सुरु भएको उक्त च्याम्पियनसिप आज साँझ दशरथ रङ्गशालामा समापन हुँदैछ ।
मुगु: नेपालकै प्रमुख पर्यटकीयस्थल रारा घुम्न आएका एकजना आन्तरिक पर्यटकको मृत्यु भएको छ । रारा घुम्न आएका काभ्रेको धुलिखेल नगरपालिका–१० स्थायी ठेगाना भएका वर्ष ५४ का भुवन विश्वकर्माको आज बिहान लेक लागेर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेको जानकारी दिनुभयो । जिल्ला अस्पताल मुगुका चिकित्सक नकुल शाहीका अनुसार विश्वकर्मा आइतबार राति ९ बजे श्वास फेर्न समस्या भएपछि चेकजाँच गर्न जिल्ला अस्पताल पुग्नुभएको थियो । चेकजाँच पछि शरीरमा अक्सिजनको कमी छ आजको रात यतै अस्पताल भर्ना हुनुस् भन्दा उहाँले नमान्नुभएको अस्पतालले जनाएको छ । चेकजाँच पछि सल्लेरी फर्कनुभएको तर सोमबार बिहान ६ बजेतिर उहाँलाई साथीहरूले एम्बुलेन्समा लिएर आउनुभएको थियो । अस्पताल पुग्दा उहाँको मृत्यु भइसकेको चिकित्सक शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार भुवनमा मोटोपन थियो । दमको पनि दीर्घरोगी पनि हुनुहुँदो रैछ । हिमपात भएको बेला, चिसो मौसम, उच्च हिमाली भूभागमा अक्सिजनको कमीको कारण लेख लागेर काडियो प्रमोनरी एरेष्ट हुँदा उहाँको मृत्यु हुन गएको पनि चिकित्सक शाहीले बताउनुभयो । आइतबार मात्र मृतक विश्वकर्मासहित २५ जनाको टोली रारा घुम्न रारा ताल क्षेत्रमा पुगेको थियो ।
काठमाडौं: नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीलाई सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र्रको ‘पेइङ क्लिनिक, सिल्भर, गोल्डेन र प्लेटेनियम कर्पोरेट कार्डियक प्याकेज’मा १० प्रतिशत छुट उपलब्ध हुने भएको छ । सो छुटसम्बन्धी सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र केन्द्रका कार्यकारी निर्देशक डा रबी मल्लले हस्ताक्षर गर्नुभएको हो । सम्झौतासँगै अब कोषका सदस्य, सहभागी, सेयरधनी, कर्मचारीले उक्त छुट पाउनुहुनेछ । छुटको लागि कोषको परिचयपत्र वा सहभागी परिचयपत्र अनिवार्य पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।
काठमाडौं: आज मार्च ३ अर्थात् विश्व वन्यजन्तु दिवस । वन्यजन्तु र मानवको बासस्थान पृथ्वीको अतिदोहन रोक्न तथा यसको जैविक विविधता, पर्यावरणीय एवं पारिस्थितिकीय प्रणालीको संरक्षणमा जोड दिँदै ‘वन्यजन्तु संरक्षणमा वित्तः मानव र पृथ्वीमा लगानी’ नाराका साथ संसारभर यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको ६८ औँ महासभाले २० डिसेम्बर २०१३ मा जोखिममा रहेका वन्यजन्तु र वनस्पतिका बारेमा मानवलाई सचेत गराउने उद्देश्यले मार्च ३ लाई विश्व वन्यजन्तु दिवसको रूपमा घोषणा गरेको हो । सन् १९७३ मा आजकै दिन लोपोन्मुख प्रजातिका वन्यजन्तु र वनस्पतिको अन्तरराष्ट्रिय व्यापार महासन्धि ९सिआइटिईएस०अनुमोदन भएको थियो । सोही वर्षको मार्च ३ देखि १४ सम्म थाइल्याण्डको राजधानी ब्याङ्कककमा आयोजित जलवायु परिवर्तनसम्बन्धी १६ औँ राष्ट्रसङ्घीय सम्मेलन तथा सिआइटिईएस पक्षराष्ट्रको सम्मेलनले थाइल्याण्डको वन्यजन्तु दिवस मनाउने प्रस्ताव अनुमोदन गर्दै महासभासमक्ष स्वीकृतिका निम्ति अनुरोध गरेको थियो । राष्ट्रसङ्घका अनुसार सिआइटिईएसको सचिवालयले वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित संयुक्त राष्ट्रसङ्घीय निकायका साथै अन्य संस्थाहरुसँगको सहकार्यमा विश्व वन्यजन्तु संरक्षणसम्बन्धी परियोजनाको कार्यान्वयनलाई सहजीकरण गर्दै आएको छ । सिआइटिईएसमा १८३ देश सदस्य छन् । दश लाखभन्दा बढी वन्यजन्तु र वनस्पतिका प्रजाति लोप हुने जोखिम बढेको सन्दर्भमा वन्यजन्तु संरक्षणका निम्ति ठूलो धनराशि आवश्यक भएको छ ।
बलेवा: बागलुङको बरेङ गाउँपालिकामा अज्ञात रोगका कारण बङ्गुर मर्न थालेका छन् । दश दिनको अवधिमा बरेङ–२ हुग्दिशिरको सिग्दी र बरेङ बजार आसपासमा अज्ञात रोगका कारण छ वटा बङ्गुर मरेपछि किसान चिन्तित बनेका हुन् । अज्ञात रोगले अन्दाजी ५० किलोको एक र तीन महिनाको दुई वटा पाठा मरेका सिग्दीकी शिला थापाले बताउनुभयो । भाटी बजारका सविन राम्जालीको झण्डै ५० किलो, सातदोबाटोका मोहन पुनको करिब ४५ किलो र फटिक पुनको बङ्गुर पनि अज्ञात रोगले मरेका छन् । बङ्गुरमा एक्कासी ज्वरो आउने, दानापानी नखाने, बाक्ने, पखाला लाग्नेलगायत लक्षणहरू देखा परेको भाटीबजारका सविन राम्जालीले बताउनुभयो । अज्ञात रोगले बङ्गुर मर्न थालेपछि आफूजस्ता किसान मर्कामा परेका उहाँको भनाइ छ । पालिकाको पशुसेवा शाखा प्रमुख नारायण पौडेलले मरेका सबै बङ्गुरमा फरकफरक लक्षण देखिएकाले दानामा समस्या हुनसक्ने आशङ्का व्यक्त गर्नुभयो । “महामारीजन्य रोग हो वा होइन पत्ता लगाउन स्वाब सङ्कलन गरेर परीक्षणका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा पठाउँदैछौँ”, उहाँले भन्नुभयो । पौडेलका अनुसार अहिले अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण नदेखिएकाले अरु कारणले बङ्गुर मरेका हुन् । “अहिले तीन÷चार दिन भयो त्यस्तो समस्या नदेखिँदा अफ्रिकन स्वाइन फिभर होइन कि भन्ने अनुमान गरेका छौँ”, उहाँले भन्नुभयो, “वास्तविकताका लागि प्रयोगशाला परीक्षणका लागि रगत पठाउने तयारीमा छौँ ।” अफ्रिकन स्वाइन फिभर भएको भए एउटै फार्मको केही मर्ने केही नमर्ने भन्ने नहुने उहाँको भनाइ छ । लक्षणहरू हेर्दा बुटवलबाट ल्याएको दानाका कारण बङ्गुर मरेको हुनसक्ने भन्दै पौडेलले दानाको पनि परीक्षण गरिने उल्लेख गर्नुभयो । प्रयोगशालाको रिपोर्ट आएपछि मात्रै किसानका बङ्गुर कसरी मरे भन्ने पत्ता लाग्ने उहाँको भनाइ छ । “मरेका छवटै बङ्गुरमा फरकफरक लक्षण देखिएकाले दानाकौ कारण हो कि भन्ने अनुमान गरेका छौँ । प्रयोगशालाको रिपोर्ट आएपछि वास्तविकता पत्ता लागी समस्या समाधानतर्फ लाग्नेछौँ”, उहाँले भन्नुभयो । गत वर्षको जेठमा फैलिएको अमेरिकन स्वाइन फिभरबाट बागलुङ नगरपालिका– १, २, ३ र ४ का ५४ किसानले पालेका चार सय बङ्गुर मरेका मर्दा रु दुई करोडभन्दा बढीको क्षति भएको थियो ।