काठमाडौं: सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिने भएको छ । गृह मन्त्रालयले आइतबार एक सूचना जारी गरी मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आजै भएको भनी जानकारी प्राप्त भएकाले आज सार्वजनिक बिदा दिइएको जनाएको छ । ‘मिति २०८१ भदौ ३१ गते नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ ।
उदयपुर: उदयपुरमा चार दिनदेखि बेपत्ता एक युवक जङ्गलमा मृत फेला परेका छन् । त्रियुगा नगरपालिका–४ बगाहाका ३४ वर्षीय बालकृष्ण राई त्रियुगा–११ स्थित नवउदय सामुदायिक वनमा शनिबार मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक राजन चापागार्इंका अनुसार चार दिनअघि सामान्य विवाद भएपछि उनी घरबाट निस्केका थिए । राईलाई गोठालाले वनमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइएको छ । घटनाबारे अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षको अवधिमा एक हजार पाँच सय ५४ जनालाई प्रतिवादी बनाई मुद्दा दायर गरेको छ । ती प्रतिवादीविरुद्ध रु आठ अर्ब ४० करोड छ लाख ४९ हजार चार सय सात बराबरको बिगो मागदाबी गरिएको छ । आयोगले आर्थिक वर्ष २०८०/८१ मा विशेष अदालतमा कुल दुई सय एकवटा मुद्दा दर्ता गरेको छ । त्यसमा गैरकानुनी लाभ हानिसँग सम्बन्धित ५८, घूससँग सम्बन्धित ४८, नक्कली शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी ३४, सार्वजनिक सम्पत्तिको हानि–नोक्सानीसँग सम्बन्धित ३३, राजस्व चुहावटसम्बन्धी १३, गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी ११ र विविध विषयका चारवटा छन् । राष्ट्रपति कार्यालय, शीतलनिवासमा आज आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आयोगको चौतिसौँ वार्षिक प्रतिवेदन ९आर्थिक वर्ष २०८०/८१० पेस गर्नुभएको थियो । आयोगले आफ्नो टङ्गालस्थित कार्यालय एवम् आयोग मातहतका कार्यालयहरू इटहरी, बर्दिबास, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत र कञ्चनपुर तथा बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जबाट कार्यसम्पादन गर्दै आइरहेको छ । हाल आयोगमा कुल नौ सय ९० कर्मचारीको दरबन्दी रहेको छ । यस्तै, आयोगले ३३ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई अनुसन्धानसम्बन्धी अधिकारसमेत प्रत्यायोजन गरेको प्रतिवेदनमा उल्लेख छ । आयोगले भ्रष्टाचारसम्बन्धी उजुरीको प्रारम्भिक छानबिन एवं विस्तृत अनुसन्धान तथा भ्रष्टाचार देखिएका उजुरीमाथि विशेष अदालतमा आरोपपत्र दायर गर्ने र सो अदालतबाट भएको फैसलाउपर चित्त नबुझेमा सर्वोच्च अदालतमा पुनरावेदन गर्दै आएको छ । आव २०८०/८१ मा आयोगमा विभिन्न माध्यमबाट प्राप्त भएका २६ हजार नौ सय १८ उजुरी प्राप्त भएको छ । अघिल्लो आवबाट जिम्मेवारी सरेर आएका नौ हजार दुई सय ६८ उजुरीसमेत गरेर कारबाही गर्नुपर्ने जम्मा उजुरीको सङ्ख्या ३६ हजार एक सय ८६ रहेको छ । तीमध्ये ७६ दशमलव ५९ प्रतिशत उजुरी अर्थात् २७ हजार सात सय १४ उजुरी स्क्रिनिङ तथा प्रारम्भिक छानबिनबाट फर्छ्यौट गरिएका छन् । सङ्घीय मामिलाको उजुरी सबैभन्दा बढी प्राप्त उजुरीमध्ये सबैभन्दा बढी सङ्घीय मामिला (स्थानीय तह समेत) सँग सम्बन्धित ३८ दशमलव ९१ प्रतिशत छन् । यस्तै, शिक्षा (स्थानीय तहसमेत) १५ दशमलव ७९ प्रतिशत, गैरकानुनी सम्पत्ति आर्जन छ दशमलव ९८, भूमि प्रशासन छ दशमलव ४९, नक्कली शैक्षिक प्रमाणपत्र चार दशमलव ७१, वन तथा वातावरण तीन दशमलव ८२, स्वास्थ्य तथा जनसङ्ख्या तीन दशमलव ६८, भौतिक पूर्वाधार तथा यातायात तीन दशमलव ६१, गृह प्रशासन तीन दशमलव ५२ प्रतिशत र अर्थतर्फ दुई दशमलव १३ प्रतिशत उजुरी छन् । यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइ दुई दशमलव १०, खानेपानी तथा सहरी विकास एक दशमलव ६१ र अन्य निकायरक्षेत्रसँग सम्बन्धित उजुरीहरू छ दशमलव ६५ प्रतिशत रहेका छन् । आयोगले कुलमध्ये नौ सय ३२ वटा उजुरीमाथि विस्तृत अनुसन्धान गरेको, १३ हजार पाँच सय उजुरी तामेलीमा राखिएको, चार सय ९६ उजुरीउपर सुझाव दिई तामेलीमा र १२ हजार सात सय ८६ उजुरीउपर कानुनबमोजिम अन्य आवश्यक कारबाहीका लागि लेखी पठाइएको जनाएको छ । आव २०८०/८१ मा एक हजार ५० वटा फाइलको विस्तृत अनुसन्धान सम्पन्न गरी आयोगमा पेस भएकामा कुल ८६ वटा बैठक बसी दुई सय एकवटा मुद्दा दायर गर्ने निर्णय गरिएका थिए । विभिन्न विषयमा एक हजार दुई सय ९४ वटा निर्णय भएका प्रतिवेनमा उल्लेख छ । आयोगका प्रवक्ता नरहरि घिमिरेकानुसार प्रतिवादी बनाएकामध्ये सरकारी कर्मचारी पाँच सय २०, निर्वाचित जनप्रतिनिधि एक सय छ, मनोनीत पदाधिकारी एक सय ४८, राजनीतिक नियुक्ति ३२, लेखापढी व्यवसायी, विचौलिया, सङ्घसंस्था र अन्य व्यक्तिहरू सात सय ३९ जना छन् । यस्तै, सरकारी कर्मचारीमध्ये विशिष्ट श्रेणीका छ, सहसचिव वा सो सरहका ३०, उपसचिव ८२, शाखा अधिकृत दुई सय दुई र सहायक स्तरका दुई सय जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।
लमजुङ: अविरल वर्षापछि पहिरो जाँदा डुम्रे– बेँसीसहर सडक अवरुद्ध भएको छ । आज साँझ यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–१ उदीपुरमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक तुलबहादुर श्रेष्ठले पानी परिरहेको र सडक माथिबाट ढुङ्गा माटोसहितको पहिरोले सडक अवरुद्ध भएको बताउनुभयो । सोही स्थानमा रहेको उदीपुर बजारको बीच भागबाट बग्ने ठाडो खोलामा समेत ढुङ्गा माटोसहितको बाढी आउँदा यात्रुहरु गन्तव्यतर्फ जान नसकेका उहाँको भनाइ छ । यात्रु तथा बेँसीसहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका कोषाध्यक्ष नन्दलाल श्रेष्ठले पहिरोले बाटोमै अलपत्र परेको बताउनुभयो । “पानी परिरहेको छ, पहिरो गएको स्थान पनि जोखिमपूर्ण स्थानमा रहेकाले यात्रुहरू थप समस्यामा छौँ”, उहाँले भन्नुभयो । यस सडक हुँदै बेँसीसहरबाट तनहुँ, काठमाडौँ, पोखरालगायत स्थानमा जाने र आउने गरिन्छ ।
काठमाडौं: राष्ट्रियसभाले नेपाल विश्वविद्यालय विधेयक, २०७९ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति प्रदान गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले प्रस्तुत गर्नुभएको ‘प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको नेपाल विश्वविद्यालय विधेयक, २०७९ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृति गरेको हो । त्यसअघि बैठकमा सो विधेयकका सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल भएको थियो । प्रतिनिधिसभाबाट यही भदौ २४ गते उक्त विधेयक संशोधनसहित पारित भएको थियो भने विसं २०७९ मङ्सिर २० गते दर्ता भएको सो विधेयक गत असार १८ गते राष्ट्रियसभाबाट पारित भएको थियो । सरकारले दक्ष, सिर्जनशील, उद्यमशील र प्रतिस्पर्धी मानवस्रोत उत्पादन गर्न गैरसरकारी क्षेत्रमा सार्वजनिक विश्वविद्यालय स्थापना र सञ्चालन गर्न आवश्यक ठानी सो विधेयक सङ्घीय संसद्मा पेस गरेको थियो । अन्तरविधात्मक अवधारणा (लिबरल आर्टस्मा) आधारित बहुविधागत गुणस्तरीय अध्ययन, अध्यापन र अनुसन्धानमार्फत दक्ष, सिर्जनशील र प्रतिस्पर्धी मानवस्रोतको उत्पादन गर्न मुनाफा वितरण नगर्ने गैरसरकारी क्षेत्रको विश्वविद्यालयका रुपमा उक्त संस्था स्थापना गर्न लागिएको विधेयकमा उल्लेख छ । त्यसअघि बैठकमा राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७’का सम्बन्धमा त्यहाँबाट प्राप्त सन्देश जानकारी गराई टेबुल गर्नुभएको थियो । बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘विकास आर्थिक मामिला तथा सुशासन समितिको आव २०८०र८१ को वार्षिक प्रतिवेदन’ र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले ‘सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आर्थिक वर्ष २०८०र८१ को वार्षिक प्रतिवेदन’ पेस गर्नुभयो । सभामा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही भदौ ३१ गते अपराह्न १ः१५ बजे बस्नेछ ।
काठमाडौं: गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई ऊर्जाशील र थप व्यावसायिक बनाउन आफू प्रयत्नशील रहेको बताउनुभएको छ । आज बिहान राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा आयोजित सि.स. १६ (क) सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा गृहमन्त्री लेखकले सुरक्षा निकायलाई समय अनकूल थप सुदृढ तथा सबल बनाउन विद्यमान ऐन, कानुन परिमार्जन गर्न विधेयक अघि बढाइएको बताउनुभयो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको नयाँ कानुन निर्माणका लागि विधेयक अघि बढाइएको जानकारी दिँदै गृहमन्त्री लेखकले राज्य र जनताको सेवा तथा सुरक्षाका निम्ती सीमा सुरक्षा, मुलुकको आन्तरिक सुरक्षा व्यवस्थापन, राजस्व चुहावट नियन्त्रणलगायतका क्षेत्रमा पु¥याएको योगदानका कारण सरकारको भरोसाको केन्द्रका रुपमा सुरक्षा निकाय रहेको बताउनुभयो । “स्थापनाकालदेखि नै अत्यन्तै कुशलतापूर्वक आफ्नो जिम्मेवारी पूरा गरी राष्ट्रिय सुरक्षामा गर्विलो उपस्थिती कायम सशस्त्र प्रहरी सङ्गठनले गरेको छ”, उहाँले भन्नुभयो, “जिम्मेवारी सम्पादन गर्ने सिलसिलामा प्रदर्शन गरेको उच्च कार्यक्षमताका कारण नागरिकको अभिन्न सहयोगी सङ्गठन बनेको छ ।” परिवर्तित राजनीतिक, सामाजिक, आर्थिक तथा सुरक्षा वातावरण अनुसार मुलुकमा शान्ति सुरक्षा कायम राख्ने कार्य अत्यन्त जटिल एवं चुनौतीपूर्ण रहेको बताउँदै लेखकले त्यसका लागि राज्यले व्यावसायिक तथा दक्ष जनशक्तिसहितको सुरक्षा निकायहरुको प्रबन्ध गरेको बताउनुभयो । सशस्त्र प्रहरीले आफ्नो जनशक्तिलाई पेशागत रुपमा दक्ष एवं क्षमतावान बनाई राज्यप्रदत्त जिम्मेवारी त्रुटिरहित ढङ्गबाट सम्पादन गर्न सक्ने बनाउन विभिन्न किसिमका आधारभुत तथा उन्नत तालिमहरु सञ्चालन गरिरहेको बताउनुभयो । “यस्ता तालिमका लागि आवश्यक पूर्वाधार व्यवस्थापन तथा क्षमता अभिवृद्धिका लागि सरकारको पूर्ण साथ एवं सहयोग छ । यसको निरन्तरता हुनेमा समेत आश्वस्त पार्न चाहन्छु”, उहाँले भन्नुभयो, “सशस्त्र प्रहरी बलको नेतृत्व र सम्पूर्ण सशस्त्र प्रहरी राष्ट्रसेवकहरु आफ्नो व्यक्तिगत स्वार्थलाई थाती राखेर शान्ति सुरक्षाका क्षेत्रमा नवीन योजना लागू गर्दै अघि बढिरहेको महसुस छ ।” उहाँले देश विकासको पूर्व सर्त भनेकै शान्ति सुरक्षा कायम हुनु रहेको उल्लेख गर्दै सबै सुरक्षा निकाय तथा आम नागरिकहरुसँगको सहकार्य र समन्वयबाट मात्रै शान्ति सुव्यवस्था कायम सम्भव भएको बताउनुभयो । त्यस अवसरमा दीक्षित सशस्त्र प्रहरी सहायक निरीक्षहरुलाई अनुशासित, मेहनती एवं लगनशील भएर राष्ट्रसेवामा समर्पित हुन मन्त्री लेखकले निर्देशन दिनुभयो । समारोहबाट ६८ जना सशस्त्र प्रहरी सहायक निरीक्षक दीक्षित हुनुभएको थियो । समारोहमा गृहमन्त्री लेखकसँगै गृहसचिव गोर्कणमणि दुवाडी, सशस्त्र प्रहरी बलका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्त बहादुर कुवँरलगायतको सहभागिता थियो ।
काठमाडौं: गरिब, अशिक्षा र आधारभूत सेवासुविधाको अभावमा कर्णाली प्रदेशका हिमाली जिल्लाबाट अहिले पनि सयौँको सङ्ख्यामा बालबालिकाको ओसारपसार हुने गरेकाले त्यसलाई नियन्त्रण गर्न तीनै तहका सरकारहरु गम्भीर हुनुपर्नेमा जोड दिइएको छ । ६० औँ बाल दिवसको अवसरमा आधार विकास नेपाल र हिमाली नवीन समाजद्वारा यहाँ आयोजित नेपालमा संस्थागत हेरचाहमा हुने बालबालिकाको ओसारपसार विषयक गोष्ठीका सहभागी वक्ताहरुले सो धारणा राख्नुभएको हो । नेपालमा संस्थागत हेरचाहसँग जोडिएर हुने बालबालिकाको बेचबिखन तथा ओसारपसारको नियन्त्रण तथा रोकथाम र कानूनी व्यवस्था नभएकाले देशका दुर्गम जिल्लाहरुबाट विभिन्न बहानामा वर्षेनी सयौंको सङख्यामा बालबालिकाहरु आफ्ना परिवार समाजबाट बिछोडिनुपरेको छ । यसले ती बालबालिकाको अभिभावकसँग बिताउन पाउने नैसर्गिक अधिकारबाट बञ्चित हुनुको साथै उनीहरुले शारिरीक, मानसिक यातना सहनु परेकाले यसतर्फ ध्यान दिनुपर्ने वक्ताहरुको भनाइ छ । सो अवसरमा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले कर्णाली प्रदेश जडीबुटी र खाद्यान्न उत्पादनको अपार सम्भावना रहेपनि त्यसको उपयोग गर्न नसक्दा गरिबीको अवस्था देखिएको उल्लेख गर्दै सामाजिक सोच र व्यवहारले पनि कर्णाली उपेक्षामा परेको बताउनुभयो । उहाँले विगतमा धनीका छोराछोरी बालमन्दिरहरुमा राखिने गरेपनि अहिले विपन्न र अशिक्षित परिवारका बालबालिकालाई विभिन्न प्रलोभनमा पारी राख्ने गरिएको र त्यहाँ रहेका बालबालिकाको शैक्षिक, स्वास्थ्य अवस्था राम्रो नभएकाले उनीहरुलाई परिवारमै बस्ने वातावरण्९ा बनाउनुपर्नेमा जोड दिनुभयो । आधार नेपालका देशीय प्रतिनिधि प्रल्हाद ढकालले केही बालबालिकालाई उनीहरुको गुणस्तरीय शिक्षा, स्वास्थ्य र अन्य आधारभूत सुविधा दिने नाममा सहरमा ल्याउनुभन्दा जिल्लामै त्यो अवसर दिन सकिएमा परिवार, समाज र संस्कृतिसँगको सम्बन्धबाट उनीहरु विमुख हुन नपर्ने बताउनुभयो । हिमाली नवीन समाजकबा कार्यकारी निर्देशक धनबहादुर लामाले देशका अधिकांश बालगृहहरु राज्यको मापदण्डअनुसार नरहेको उललेख गर्दै ती बाल गृहहरुमा राखिएका बालबालिका थुप्रै समस्याहरुबाट पीडित रहेकाले उनीहरुलाई परिवारमै पुनस्थापित गर्न संस्थाले पहल गरिरहेको उल्लेख गर्नुभयो । सो अवसरमा राष्ट्रिय बालअधिकार परिषदका कार्यक्रम प्रबन्धक नमूना भुसाल, नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता गौतम मिश्र, कानुन व्यवसायी डा शिव पौडेल र आधार नेपालका प्रज्ञा लम्सालले बालबालिकासम्बन्धी विद्यमान कानुन, वालगृहको अवस्था र राज्यले अवलम्बन गर्नुपर्ने नीतिका बारेमा प्रस्तुतीकरण दिनुभएको थियो । कार्यक्रममा केही वर्षअघि रुकुम टक्सेराबाट काठमाडौँ ल्याइएकी वर्मा बुढामगरले आफूले ११ वर्षसम्म बालगृहमा रहँदा भोग्नुपरेका पीडाका बारेमा बोल्नुभएको थियो । सो अवसरमा हाम्रो घर हाम्रो परिवार नामक पुस्तकको पनि लोकार्पण गरिएको थियो ।
तनहुँ: तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाले मृतक मजदुरका परिवारलाई क्षतिपूर्ति रकम प्रदान गरेको छ । बर्दियाको बारबर्दिया नगरपालिका–१ निवासी मृतक ३८ वर्षीय रामकुमार थारुको परिवारलाई क्षतिपूर्ति वापत रु ३० लाख उपलब्ध गराएको हो । आयोजनाअन्तर्गत सिनो हाइड्रोमा काम गर्ने सिलसिलामा प्लाइउडले लागेर २० मिटर तल खस्दा घाइते भएका थारुको उपचारका क्रममा पोखरास्थित मेट्रोसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो ।
गलकोट: उमेरले ७३ वर्ष पुग्नुभएको भुवनसिंह विश्वकर्माको जोश र जागर कुनै युवाको भन्दा कम छैन । विसं २०४३ मा पहिलो नेपालीको रुपमा अन्टार्कटिका पुग्नुभएका विश्वकर्माको जीवनी धेरैलाई अनौठो लाग्न सक्छ । मानवरहित अन्टार्कटिकामा विश्वकर्मा कसरी पुग्नुभयो भन्ने धेरैको जिज्ञासा छ । विसं २००९ मा बागलुङ नगरपालिका–१४ नारायणस्थानमा जन्मनुभएका विश्वकर्मा सन् १९८६ मा पृथ्वीको दक्षिणी ध्रुव अन्टार्कटिका महादेशमा पुग्ने पहिलो नेपाली हुनुहुन्छ । उहाँ भारतीय सेनामा कार्यरत हुँदा भारतीय सेनाको अनुसन्धान टोलीका साथ प्राविधकका रुपमा त्यहाँ पुग्नुभएको थियो । पर्यावरण संरक्षण र फोहर व्यवस्थापनमा प्रविधिक समूहमा रहेर अन्टार्कटिका पुग्नुभएका विश्वकर्मा गाउँको शिक्षा क्षेत्रलाई उकास्ने योजनामा हुनुहुन्छ । “अन्टार्कटिका पुग्ने काम चानचुने थिएन, मेरो स्वयंसेवी मन भारतीय सेनाले पूरा ग¥यो, भारतीय सेनामा कार्यरत रहँदा भारतले वैज्ञानिक अध्ययन तथा अवलोकनका लागि र त्यहाँको बसाइ व्यवस्थापनका लागि भारतीय सेनालाई समेत अन्टार्कटिका लैजाने गर्दथ्यो”, विश्वकर्माले ३८ वर्ष अघिको कुरा सम्झँदै भन्नुभयो, “मेरो शारीरिक अवस्था, स्वास्थ्य सबै हेर्दा मलाई भारतीय सेनाले अन्टार्कटिका लैजाने भयो, मलाई आर्थिक उपार्जनभन्दा अन्टार्कटिका देख्ने र बुझ्ने रहर थियो, भारतको गोवाबाट २२ दिनको यात्रामा अन्टार्कटिका पुगियो, पहिलो पटक अन्टार्कटिका पुग्दा बागलुङ नारायणस्थानको माटो नेपाली झण्डा अन्टार्कटिकामा पु¥याए ।” भारतीय सेना हुँदै अन्टार्कटिकाको यात्रा बागलुङका भुवनसिंह विश्वकर्मा अहिले बुटवल उपमहानगरपालिका–११ मा बस्दै आउनुभएको छ । उहाँको नाममा उपहानगरपालिकाले भुुवनसिंह मार्ग भनेर सडकको नामकरणसमेत गरिसकेको छ । प्रसिद्ध प्रवल गोर्खा दक्षिण बाहु दोस्रोबाट सम्मानित र गिनिजबुकमा नाम लेखाउन सफल विश्वकर्मा बागलुङ मात्रै नभइ सिङ्गो नेपालको नाम चिनाउन सफल हुनुभएको छ । हिउँ नै हिउँले भरिएको मानवरहित महादेश अन्टार्कटिका पुग्ने भुवसिंह विश्वकर्मा अहिले नेपालभर पर्यावरणको सचेतना जगाउँदै सम्मान थाप्न व्यस्त हुनुहुन्छ । उहाँले हिउँमा फोहर व्यवस्थापनको काममा दख्खल रहेको बताउँदै अन्टार्कटिकामा कुनै फोहर गर्न नपाइने भन्दै मानव दिसालाई समेत खरानी बनाएर फर्किनुपर्ने बताउनुभयो । “अन्टार्कटिकामा कुनै फोहर गर्न पाइँदैन, मानव दिसा त्यहाँ चिसोका कारण जस्ताको तस्तै हुन्छ, भान्साबाट निस्कने फोहरलाई प्रशोधन गर्ने र जलाएर खरानी बनाएर भारत नै फर्काउने गरिन्थ्यो”, उहाँले भन्नुभयो, “नेपालको सगरमाथा बेसक्याम्पदेखि चुचुरोसम्म फोहरैफोहोर छ भन्ने सुन्छु, त्यही अन्टार्कटिकाको विधिले फोहरमुक्त बनाउन सकिन्छ, विशेषगरी मानव शरीरबाट निस्किएको दिसा माइनस तापक्रममा जस्ताको त्यस्तै रहने भएकाले त्यसलाई प्रविधिको माध्यमबाट जलाएर आफैसँग राखेर ल्याउन सकिन्छ ।” भारतको गोवाबाट २२ दिनको लामो समुद्री यात्रामा अन्टार्कटिका पुगिने गरेको उहाँको भनाइ छ । अन्टार्कटिकामा छ महिना उज्यालो र छ महिना अध्यारो हुने गर्दछ । नेपालको नाम विश्वभर चिनाएको भन्दै सिन्धुलीदेखि कैलाली र झापासम्म सम्मान पाएको विश्वकर्माको भनाइ छ । बागलुङ नगरपालिकाले समेत यही भदौं १८ गते रु २५ हजारसहित सम्मान गरेको उहाँले बताउनुभयो । गृह नगरपालिकाले सम्मान गर्दा आफूलाई प्रसिद्ध प्रवल गोर्खा दक्षिण बाहु दोस्रोभन्दा ठूलो सम्मान मिलेको बताउनुभयो । अहिले विद्यालयमा पर्यावरणसम्बन्धी सचेतना पु¥याउने कार्यमा उहाँ लाग्नुभएको छ । “हाम्रो सगरमाथाको वेसक्याम्पदेखि चुचुरोसम्म थुप्रै फोहर छ, सगरमाथा यात्रीको दिसा जस्ताको त्यस्तै छ, त्यसलाई जलाएर आफैले फर्काउने व्यवस्थापन मिलाउन आवश्यक छ”, विश्वकर्माले भन्नुभयो । अहिले उहाँकै नाममा बुटवल र हेटौँडामा भुवनसिंह मार्गका नाममा सडकको नामकरण गरिएको छ । उहाँले आफू जन्मेको गाउँ शिक्षामा पछि रहेको भन्दै आफ्ना छोराबुहारीको सहयोगमा एउटा शैक्षिक कोष स्थापान गरेर शिक्षामा सघाउने उद्देश्य रहेको बताउनुभयो । अन्टार्कटिकामा जाडोयाममा माइनस ८९ डिग्री र गर्मीमा माइनस २९ डिग्री सेल्सियस तापक्रम हुने भएकाले त्यहाँको बसाइ अत्यन्त्रै चुनौतीपूर्ण रहेको उहाँको भनाइ छ । प्रतिघण्टा दुई सय किलोमिटरको रफ्तारमा आँधी र हुरी चल्ने उक्त क्षेत्रमा हिउँमा बस्ने प्राणी पेइन्गुन र ह्वेल माछाबाहेक अरु कुनै जीवित प्राणी भेट्न नसकिने उहाँको भनाइ छ । विभिन्न विकसित मुलुकहरुले वैज्ञानिक खोज र अनुसन्धानका लागि त्यहाँ आफ्नो टोली पठाउने गर्छ । त्यहाँ पुग्नु आफैमा अत्यन्तै जोखिम र साहसिक कदम मानिन्छ । भारतीय बङ्गाल इञ्जियनिरिङ ग्रुप रुड्कीबाट छनोट भई अन्ट्रार्कटिका गएको उहाँको भनाइ थियो । “अन्टार्कटिकाका लागि शारीरिक रुपमा तन्दरुस्त, निरोगी र जस्तोसुकै परिस्थितिमा पनि सहजताका साथ अघि बढ्नसक्ने योग्य व्यक्तिलाई मात्र छनोट गरिन्थ्यो”, विश्वकर्माले भन्नुभयो, “सबै मापदण्ड र विशेषताले निपूर्ण भएपछि मात्रै त्यहाँ जानका लागि छनोटमा परिन्छ, मलाई त्यहाँ नपुग्दासम्म आफू पहिलो नेपाली भन्ने थाहै थिएन, अहिले त अन्य नेपालीसमेत पुगिसक्नुभएको छ ।”