पाटन: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश संरचनालाई थप सबल बनाउँदै लैजानुपर्ने बताउनुभएको छ । संविधान दिवसको अवसरमा नेपाली कांग्रेस कानुन विभागद्वारा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘संविधानको एकदशक कार्यान्वयन र चुनौती’ विषयक विचार गोष्ठीमा उहाँले हाल देसखएका समस्या र कमजारीलाई सुधार्दै प्रदेश संरचनालाई बलियो बनाउन लाग्नुको विकल्प नरहेको बताउनुभएको हो । उहाँले सबै जातजातीलाई मूलप्रवाहीकरण गर्न समानुपातिक समावेशीताको सान्दर्भिकता रहेको भन्नुहुँदै यस व्यवस्थालाई पनि थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो । “कतिपय समुदायलाई समानुपातिक प्रतिनिधित्व गर्नैपर्ने बाध्यता छ । यो देश सबैको हो, त्यसैले समावेशी सिद्धान्तका आकारमा सबै जातजातिलाई राज्यको मूल शासनप्रणालीमा ल्याउन पनि यो समानुपातिक समावेशी प्रणालीको आवश्यकता छ”, सभापति देउवाले भन्नुभयो । संविधानले परिकल्पना गरेअनुसार समानुपातिक विकासका लागि पनि यस व्यवस्थालाई पूर्ण रूपमा लागू गर्नुपर्ने भन्नुहुँदै उहाँले सोहीअनुसार संविधान संशोधन गरिनुपर्ने धारणा राख्नुभयो । “जातीय छुवाछूत अन्त्यका लागि भएको कानुनी व्यवस्था व्यवहारमा लागु हुनसकेको छैन । प्रजातन्त्र स्थापना भएको लामोसमय भए पनि अझै धेरै सुधारको खाँचो छ । स्वतन्त्र न्यायपालिकालाई बचाउनु छ”, पूर्वप्रधानमन्त्री देउवाले अगाडि भन्नुभयो,“प्रजातन्त्र नै लोकतन्त्रकने मूलकडी हो, प्रजातन्त्रलाई बन्धक बनाउने गरी संविधान संशोधन हुँदैन । प्रधानमन्त्री ओलीजी स्वयं प्रजातन्त्रको लागि लागेको, जेलनेल भोगेको व्यक्ति हो, यसमा सम्झौता गर्नुहुन्न भन्ने विश्वास छ ।” कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले संविधानको जग सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशीता नै भएकाले त्यसलाई व्यवहारमा लागु गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “कांग्रेसले समावेशीतालाई अपनाउन, विभेद र असमानता हटाउन गरेको योगदानको चर्चा जनसमक्ष पुग्न सकेन”, उहाँले भन्नुभयो,“बहुमत प्राप्त स्थिर सरकार नहुँदा हाम्रो परिकल्पनाअनुसार घोषणापत्र कार्यान्वयन गर्न सकिएन । त्यसो भएको भए थप काम गर्न सकिन्थ्यो । गठबन्धन सरकार बनाउनु हाम्रो बाध्यता हो ।” अबको निर्वाचनमा कांग्रेसले युवाको अपेक्षालाई सम्बोधन गर्न सक्ने गरी स्थिर सरकारको नारा लिएर जनतामा जानुपर्ने धारणा राख्नुभयो ।
पोखरा: गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुु कुमार थापाले विज्ञान र प्रविधिको विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । १२ औं राष्ट्रिय विज्ञान दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले विज्ञानलाई समाजको अनिवार्य अंगको रुपमा विकास गर्न आवश्यक रहेको बताए । “विज्ञानलाई समाजको अनिवार्य अंगको रुपमा विकास गर्न आवश्यक छ । नेपालको हावापानी र माटो सुहाउँदो आविस्कार चाहियो ।”, उनले भने । मन्त्री थापाले विज्ञान र प्रविधिले ल्याएका कुराहरुलाई सहि ठाउमा प्रयोग गर्न सके मात्र लाभ मिल्ने उल्लेख गरे । आजको युग विज्ञान र प्रविधिको युग भएको बताउँदै मन्त्री थापाले कुनै पनि वस्तु वा विषयको प्रयोग र अवलोकनमा आधारित क्रमिक अध्ययन नै विज्ञान हो भएको बताए । आजको समयमा विज्ञान र प्रविधिलाई देशको विकास र समृद्धिको आधारका रुपमा लिन सकिने भनाई उनको छ । प्रा।डा।भरत पहारीले विज्ञानले अरुको गाली गर्न नसिकाउने र जिज्ञासा बढाउने बताए । विषयको विशिष्टिताको ज्ञान हुन आवश्यक रहेको भनाई उनको छ । प्रा।डा। नवराज देवकोटाले साइन्स एण्ड टेक्नोलोजी उत्पादन सङ्ग जोडिनुपर्ने बताए । डा।ढाकाराम भण्डारीले रिसर्चमा वहुवर्षीय रुपमा काम गर्न आवश्यक रहेको बताए । सस्तो लोकप्रियताले विज्ञानमा फड्को मार्न नसकिने भनाई उनको छ । डा।पुनम गौचनले रिसर्चमा महिलाहरुको उपस्थिति कम भएको बताइन् । पारिवारिक कारणले गर्दा यस्तो हुन गएको भनाई उनको छ । विज्ञान तथा प्रविधि: विकास र उत्पादन वृद्धि भन्ने नारा सहित मनाइएको विज्ञान दिवसको समय पारेर प्यानल डिस्कसन गरिएको थियो । जसको सहजीकरण डा। कपिल अधिकारीले गरेका थिए ।
काठमाडौं: आश्विन सङ्क्रान्ति अर्थात् कन्या राशिमा सूर्य प्रवेश गरेका दिन आज कालीगढहरूले विश्वकर्माको पूजाआराधना गरी विश्वकर्मा दिवस मनाएका छन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को मूर्ति वा तस्बिर राखी विधिपूर्वक पूजाआराधना गरी दिवस मनाइएको हो । विश्वकर्माको मूर्ति वाग्मती नदीको मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध नदी किनारमा लगेर सेलाउने गरिन्छ । आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औँजारको पूजा गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रबीचमा ‘भेद द्वारका’को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद् प्रा तोयराज नेपाल बताउनुहुन्छ । प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा लिइन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको बताइन्छ । विश्वकर्मालाई वास्तुविद्याका विशिष्ट ज्ञाताका रूपमा समेत मानिन्छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तुकै विषय उल्लेख गरिएको छ । स्थापत्यलाई अथर्व वेदको उपवेद मानिन्छ । ‘विश्वकर्मा प्रकाश’ नामक वास्तुशास्त्रको ग्रन्थ उहाँले नै तयार पार्नुभएको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउनुहुन्छ । यही सम्झनामा नेपालका कालीगढले आज विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गर्दछन् । वास्तुशास्त्र पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रूपमा समेत मनाउने गर्छन् । वास्तु दिवसका अवसरमा आज नेपाल ज्योतिष परिषद्ले कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीलगायतले वास्तुविद्याको प्रवर्दनमा काम गरिनुपर्नेमा जोड दिनुभएको थियो ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्राका अवसरमा हनुमाढोका दरबारमा आज आयोजित जात्रा अवलोकन गर्नुभएको छ । उहाँ नयाँ सडककस्थित जुद्ध सालिकबाट गद्दी बैठकसम्म हिँडेर जानुभएको थियो । गत वर्षदेखि राष्ट्रपति पौडेल जुद्ध सालिकबाट गद्दी बैठकसम्म पैदल जान थाल्नुभएको हो । गद्दी बैठक पुगेर राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाएपछि गणेश, भैरव र कुमारीको रथयात्रा प्रारम्भ भएको थियो । इन्द्रजात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेलगायत मन्त्रिपरिषद्का सदस्य, सांसद, प्रदेशसभा सदस्य, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि लगायत समाजका प्रतिष्ठित व्यक्तिहरू सहभागी हुनुहुन्थ्यो । भाद्र शुक्ल द्वादशीका दिन बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्राको आज मुख्य दिन हो । आज तल्लोटोलमा रथयात्रा चलाइने गुठी संस्थान धार्मिक शाखाका प्रमुख हरिप्रसाद सुवेदीले राससलाई जानकारी दिनुभयो । बुधबार माथिल्लो टोलमा रथयात्रा गरिने छ । असोज ५ गते शनिबार महिलाले मात्र रथ तानेर नानीचा यात्रा चलाइने छ । सोही दिन अपराह्न राष्ट्रपति पौडेलले कुमारीबाट टीका एवं प्रसाद ग्रहण गर्नुहुनेछ । टीका, प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परा छ । असोज ५ गते राति १०ः३१ बजे इन्द्रध्वजोपतनपछि इन्द्रजात्रा समापन हुन्छ । इन्द्रजात्रा प्रताप मल्लको शासनकालमा सुरु भएको विश्वास छ । इन्द्रजात्रामा रथयात्राको चलन भने राजा गुणकामदेवले सुरु गर्नुभएको थियो । काठमाडौँ उपत्यकामा मनाइनेमध्ये यो सबैभन्दा लामो जात्रा हो । वर्षा र सहकालका देवताका रुपमा पूजिने इन्द्रको आज पूजार्चना पनि गरिएको थियो । जात्राका अवसरमा लाखे, दशावतार, महाकाली, रामचन्द्र, पुलुकिसी नाचलगायत सांस्कृतिक झाँकी पनि प्रस्तुत भएको थियो ।
नुवाकोट: नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ स्थित दुप्चेश्वर महादेव मन्दिर दर्शन गर्नुपूर्व स्नान गर्ने क्रममा खोलाले बगाएर बेपत्ता एक तीर्थयात्रीको शव फेला परेको छ । मन्दिर परिसरमा रहेको सूर्यमती ९तादी० खोलामा स्नानको क्रममा सूर्यगढी गाउँपालिका–३ का हिमकुमारी अधिकारीलाई सोमबार खोलाले बगाएर बेपत्ता बनाएको थियो । ७२ वर्षीय अधिकारीको शव आज भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीयवासीको सहयोगमा सुरक्षाकर्मीको टोलीले दुप्चेश्वर–६ स्थित गोडापुलस्थित तादी खोलामा शव फेला पारेको हो । मन्दिर दर्शनको लागि परिवारसहित काठमाडौँबाट दुप्चेश्वर आउनुभएका अधिकारी स्नान गर्ने क्रममा खोलाले बगाएर बेपत्ता हुनुभएको थियो ।
तनहुँ: मुस्लिम धर्मालम्बीहरुको पैगम्बर मोहम्मदको १४९९औँं जन्मोत्सवको अवसरमा आज दमौलीमा शान्ति¥याली निकालिएको छ । दमौली मुस्लिम अन्जुमन कमिटीको आयोजनामा नुरी हन्फी जामे मस्जिदबाट सुरु भएको शान्ति¥याली दमौली बजार परिक्रमा गरी पुनः मस्जिदमा आएर टुङ्गियो । मुस्लिम समुदायको सन्देष्टाका रुपमा पैगम्बर मोहम्मदलाई मान्ने गरिएको दमौली मुस्लिम अन्जुमन कमिटीका सचिव मन्सुर अहमदले जानकारी दिनुभयो । जन्मोत्सवको अवसरमा सोमबारदेखि विविध कार्यक्रम गरिएको उहाँले बताउनुभयो । पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको र पछि साउदी अरबको मदिना गएको इतिहास छ । पैगम्बर जन्मेको ५३ वर्षपछि इस्लामिक पात्रो ९हिजरी संवत० सुरु भएको हो । जगतको सृष्टिदेखि पवित्रस्थलमा रहेको मक्का मदिना पहिले सबै धर्मावलम्बीले पूजा आराधना गर्ने तीर्थस्थल थियो । मोहम्मदले उपदेश दिने क्रममा यहीँ कुरान अवतरित भएको विश्वास मुस्लिम समुदायको छ । कुरान अवतरित भएपछि यहाँ अन्य धर्मावलम्बी कम गएको विश्वास छ । त्यसपछि इस्लाम धर्मावलम्बीको मुख्य तीर्थस्थलका रुपमा मान्न थालिएको हो । यसअघि जेरुसेलमलाई इस्लाम धर्मावलम्बीको मुख्य तीर्थस्थल मानिन्थ्यो । यसैकारण इस्लाम धर्मावलम्बीले जीवनमा एकपटक मक्का मदिनामा गएर हज गर्न चाहन्छन् । इस्लाम धर्ममा महत्वपूर्ण योगदान गरेकाले पैगम्बर मोहम्मदको उपदेशलाई मुस्लिम समुदायले हरेक वर्ष सम्झने गर्छन् ।
काठमाडौं: उपसभामुख इन्दिरा राना यही असोज २ देखि ४ गतेसम्म रूसको सेन्टपिटर्सवर्गमा हुने ‘चौथो युरेसियन महिला फोरम’मा सहभागी हुने सिलसिलामा आज संयुक्त अरब इमिरे्सको दुवईतर्फ प्रस्थान गर्नुभएको छ । त्यहाँबाट राजधानी मस्को हुँदै सेन्टपिटर्सवर्ग पुग्नुहुनेछ । रूसी महासङ्घ र इन्टरपार्लियामेन्ट्री एसेम्बली अफ द कमनवेल्थ अफ इनिडपेन्डेन्ट स्टेट्सले आयोजना गरेको फोरमलाई उहाँले असोज ३ गते सम्बोधन गर्ने कार्यक्रम रहेको उपसभामुखको निजी सचिवालयले जनाएको छ । उहाँ असोज ५ गते स्वदेश फर्कने कार्यक्रम छ ।
काठमाडौं: यात्रा इजाजतप्राप्त हतियार नवीकरणका लागि सम्बन्धित कार्यालयमा बाहेक अन्यत्र सरकारी कार्यालय एवं सार्वजनिकस्थलमा लैजान नपाइने भएको छ । सरकारले गत भदौ ३१ गते सूचना प्रकाशित गरी यात्रा इजाजतपत्र प्राप्त हातहतियारसमेत न्यायिक निकाय, संसद् भवन तथा परिसर, हातहतियारको इजाजतपत्र लिएको कार्यालयमा इजाजतपत्र नवीकरणका लागि ल्याउने वा लैजाने प्रयोजनबाहेक लैजान नपाउने जनाएको हो । मुख्यगरी सरकारी कार्यालय, अस्पताल, विमानस्थल, सार्वजनिक सवारीसाधन, धार्मिक तथा शैक्षिकस्थल, सिनेमा हल, व्यावसायिक भवन, हाटबजार तथा सपिङ मल, सभा जुलुस भएको स्थान, पुरातात्विक र संरक्षितस्थल, बाल गृह तथा प्रचलित कानुनले निषेधित गरेका अन्य क्षेत्रमासमेत ती हतियार लैजान नपाउने गरी निषेध गरेको गृहमन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचनामा उल्लेख छ । सूचनामा नेपाल सरकारले हातहतियार खरखजाना ऐन, २०१९ को दफा ८ ले दिएको अधिकार प्रयोग गरी सोही ऐनको दफा ३ बमोजिम हातहतियार राख्न वा लिएर हिँड्न इजाजतपत्र प्राप्त गरेका तर दफा ४ र ५ बमोजिम यात्रा इजाजतपत्र प्राप्त नगरेका हातहतियार घरबाहिर लैजान नपाउने जनाएको छ । राजपत्रमा प्रकाशित सूचनामा भनिएको छ, ‘यात्रा इजाजतपत्र प्राप्त गरेका हातहतियारसमेत न्यायिक निकाय, संसद् भवन तथा परिसर, हातहतियारको इजाजतपत्र लिएको कार्यालयमा इजाजतपत्र नवीकरणका लागि ल्याउने वा लैजाने प्रयोजन बाहेक सरकारी कार्यालय, अस्पताल, विमानस्थल, सार्वजनिक सवारीसाधन, धार्मिक तथा शैक्षिकस्थल, सिनेमा हल, व्यावसायिक भवन, हाटबजार तथा सपिङ मल, सभा जुलुस भएको स्थान, पुरातात्त्विक र संरक्षितस्थल, बालगृह तथा प्रचलित कानुनले निषेधित गरेका अन्य क्षेत्रमासमेत लैजान नपाउने गरी निषेध गरेकोले यो सूचना प्रकाशन गरिएको छ ।’ मेडिकल व्यवसायी दुर्गा प्रसाईको अङ्गरक्षकले अदालत परिसरमा हतियार लगेको भेटिएपछि सर्वोच्चले त्यस विषयमा आवश्यक कानुन बनाउन आदेश दिए अनुसार सरकारले उक्त निर्णय गरी राजपत्रमा सूचना जारी गरेको हो ।
नवलपुर: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनसहभागिताबिनाका कुनै पनि योजना सफल हुन नसक्ने बताउनुभएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–११ मा सरसफाइ प्रवर्द्धन तथा जैविक मल उत्पादन केन्द्रको आज उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पाण्डेले सरकारको मात्र लगानीले योजना सफल नहुने बताउनुभएको हो । “आम जनताको सहभागिताबिना कुनै पनि मुलुक सफल हुन सक्दैन, त्यसैले जनचासो र जनसहभागिता हरेक क्षेत्रमा आवश्यक छ”, उहाँले भन्नुभयो, “सङ्घ, प्रदेश र स्थानीय सरकारले गर्न खोजेका कार्यक्रममा जनताको सकारात्मक साथ र चासो भएमात्र काम सफल हुने देखिन्छ ।” उहाँले समाजमा अहिलेको व्यवस्था र सरकारप्रति भ्रम छर्ने काम भएको बताउँदै सकारात्मक कामको जनतासमक्ष सही सूचना दिनु आवश्यक रहेको उल्लेख गर्नुभयो । जनतामा नकारात्मक भाव पैदा गर्ने काम धेरै भएकाले भएरगरेका कामको जानकारी जनताले लिनु आवश्यक रहेको उहाँको भनाइ छ । “देशमा काम नभएको होइन, धेरै भएको छ । त्यसलाई जनतासमक्ष पुर्याउँदा नकारात्मक भावना छर्ने काम भएको छ, त्यस्ता कुराले मुलुकको दूरभविष्यलाई असर पार्दछ”, उहाँले भन्नुभयो, “केही भएन होइन कि भएका के छन् र गर्नुपर्ने के हो, यसमा मेरो सहभागिता के हो भन्ने सोच जनतामा हुनु आवश्यक छ ।” गण्डकी प्रदेशले प्रत्येक आर्थिक वर्षमा नवप्रवर्तन कार्यक्रममार्फत प्रदेशभित्रका स्थानीय सरकारसँग साझेदारीमा नवीनतम् कार्य गर्दै आएको उहाँले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा पनि १८ वटा स्थानीय सरकारसँग साझेदारी गर्नेगरी मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम छनोट भएको उहाँले जानकारी दिनुभयो । “अहिले हरेक कुरा सरकारले गरिदिनुपर्छ भन्ने सोच विकास भएको छ तर सरकारले मात्र होइन सरकारले ल्याएको कार्यक्रममा जनताको पनि अहम् भूमिका हुन्छ”, उहाँले भन्नुभयो, “सफल नभएका काम किन भएन त्यसलाई कसरी सफल बनाउने, हाम्रो जिम्मेवारी के छ रु कसरी गर्न सकिन्छ भनेर नागरिकले सोचिदिनुस् ।”