ताप्लेजुङको पाथीभरा दर्शनका लागि तीर्थयात्री बोकेर जाँदै गरेको एक जीपमा करेन्ट लागेर आगलागी हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको छ । फुङ्लिङ नगरपालिका–१० तेर्सेमा आइतबार बिहान करिब ४:५० बजेतिर उक्त घटना भएको हो । फुङ्लिङ बजारबाट तीर्थयात्री लिएर पाथीभरातर्फ जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जीपमा बिजुलीको पोलबाट लत्रिएको तार छुँदा आगलागी भएको अनुमान गरिएको छ । मृत्यु हुनेमा जीप चालक फुङ्लिङ घर भएका ४५ वर्षीय दुर्गा भट्टराई, ललितपुर घर भएकी १६ वर्षीया आध्या आचार्य, उनका मावली हजुरबुवा झापा भद्रपुर–१५ का ७० वर्षीय विनोद पौडेल र मावली हजुरआमा ६९ वर्षीया सरिता पौडेल रहेका छन् । तीर्थयात्रीहरू ललितपुर र झापाबाट पाथीभरा दर्शनका लागि आएको बताइएको छ। यस दुर्घटनामा ललितपुर घर भएकी ४५ वर्षीया सविना आचार्य (सन्ध्या) गम्भीर घाइते भएकी छन् भने, उनका नौ वर्षीय छोरा अभियव आचार्य सामान्य घाइते भएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले राजावादीको प्रदर्शनमा भएका घटनामा पक्राउ परेका नेतालाई रिहाई नगरेको भन्दै प्रदर्शन गरेको छ। आज दिउँसो बानेश्वर क्षेत्रमा राप्रपाका नेता तथा कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका हुन् । आईतवार राप्रपाका नेता तथा कार्यकर्ताहरुले भेला भएर व्यवस्था परिवर्तनको माग गर्दै प्रदर्शन गरेका हुन् । उहाँहरुले चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र पार्टीका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य धवलसमशेर जबरालाई निःशर्त रिहा गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । उहाँहरुले 'राजा आउ देश बचाउ, हाम्रो राजा, हाम्रो देश, प्राणभन्दा प्यारो छ', लगायत नाराहरु लगाएका छन् । पार्टीका नेताहरुलाई रिहाइ नगरेको भन्दै राप्रपाले आज निषेधित क्षेत्रमा आन्दोलन गर्ने घोषणा गरेबमोजिम माईतीघर क्षेत्रबाट निषेधित क्षेत्रमा प्रवेश गरी आन्दोलन गर्ने तयारी गरेको थियो । आन्दोलनलाई मध्यनजर गरी सरकारले सुरक्षा व्यवस्था कडा बनाएको छ ।
काठमाडौं: शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक तथा कर्मचारीहरुले आज पनि काठमाडौंमा प्रदर्शन जारी राखेका छन् । उनीहरु माइतीघरबाट नयाँबानेश्वरतर्फ अघि बढिरहेका छन् । अघिल्ला दिनहरुमा दिउँसो १२ बजेदेखि ३ बजेसम्म प्रदर्शन गर्दै आएका शिक्षकहरुले आज राप्रपाको प्रदर्शनलाई लक्षित गरी बिहानै प्रदर्शन गरेका हुन् । उनीहरुले बिहान ९ बजेदेखि १२ बजेसम्म प्रदर्शन गर्ने जनाएका छन् । यद्यपि राप्रपाले बिहान ११ बजेदेखि नै बिजुली बजार क्षेत्रमा भेला हुने भनेकाले शिक्षकहरुले आज प्रदर्शन छोट्याउने तयारी गरेका छन् । शिक्षकहरूले गत चैत २० गतेबाट माइतीघर–बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । सरकारसँग निरन्तर वार्ता भएपनि विद्यालय शिक्षा ऐन ल्याउने विषयमा सहमति नजुट्दा शिक्षकहरूले चैत २५ गतेदेखि शैक्षिक हड्ताल घोषणा गरेर सम्पूर्ण शैक्षिक गतिविधि ठप्प पारेका छन् । शिक्षकहरुको प्रदर्शनका कारण माइतीघर–बानेश्वर सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ ।
लमजुङमा बाटो खन्ने क्रममा शंकास्पद वस्तु भेटिएको छ। लमजुङको बेशीसहर नगरपालिका-८ स्थित जिल्ला प्रहरी कार्यालय नजिक जेसिबीले बाटो खन्ने क्रममा शनिबार बिहान शंकास्पद वस्तु भेटिएको हो। शंकास्पद वस्तु फेला परेपछि प्रहरीले नेपाली सेनाको बम डिस्पोजल युनिटलाई खबर गरेको थियो। युनिटले उक्त शंकास्पद वस्तु निष्क्रिय गरेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
पोखरा: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले बागमती प्रदेशको काठमाडौं उपत्यकासहित कोशी, मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा लुम्बिनी प्रदेशसहित बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । यस्तै, आज राति भने कोशी प्रदेशका थोरै स्थान तथा मधेश प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । मेघगर्जन र चट्याङ्ग, वर्षा लगायत हिमपातका कारण कृषि, दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा अनावश्यक नबोल्न, नलेख्न आग्रह गरेको छ। बिहीबार बसेको केन्द्रीय समितिको बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सामाजिक सञ्जालमा देखिने अमर्यादित, अशिष्ट, अभद्र प्रवृत्तिलाई पार्टी पंक्तिबाट निरुत्साहित गर्न निर्देशन दिएका हुन्। सामाजिक सञ्जालमा पार्टी समर्थकहरूको अराजक उपस्थितिप्रति ध्यानाकर्षण भएको पनि कार्यवाहक सभापति अर्यालले बताएका छन्। त्यस्तो प्रवृत्ति पार्टीकै लागि घातक हुने बताउँदै कार्यवाहक सभापति अर्यालले सबै सदस्यहरूलाई समाजिक सञ्जाल प्रयोग आचारसंहिता अन्तर्गत अभ्यास गर्न र सभ्य रूपमा प्रस्तुत हुन, अनावश्यक रूपमा नबोल्न, नलेख्न अनुरोध गरेका हुन्। केन्द्रीय समिति बैठकले महाधिवेशको नयाँ मिति तय गरेको छ भने सातै प्रदेशका लागि प्रदेश इन्चार्ज तोकेको छ।
नेपाल प्रहरीले प्राविधिक समस्याको कारण आफ्नो अनलाइन प्रणाली अवरुद्ध भएको जनाएको छ। प्रहरीले सूचना जारी गर्दै वेवसाइट अवरुद्ध हुँदा अनलाइन जरिवाना भुक्तानी प्रणालीसहितका सेवा अवरुद्ध भएको जनाएको हो। सेवा अवरुद्ध हुँदा ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति प्रहरीले क्षमा याचना गरेको छ।
काठमाडौं: यसअघि पटक पटक दिएको आग्रह नमानेपछि कामठमाडौँ महानगरपालिकाले कवाडी सङ्कलन केन्द्रमा डोजर चलाएर हटाएको छ । कामपा–३२ मा पर्ने उक्त कवाडी सङ्कलन केन्द्र हटानको लागि ६ वटा टोल सुधार समिति र स्थानीयले कामपामा उजुरी गरेपछि उक्त केन्द्रमा आज डोजर लगाइएको कामपा नगर प्रहरी उपरीक्षक दिनेशकुमार अर्यालले जानकारी दिनुभयो । उपरीक्षक अर्यालका अनुसार कामपा नगर प्रहरीले च्यासल पुलदेखि बालकुमारी पुल क्षेत्रसम्म रहेको तीनवटा कवाडी सङ्कलन केन्द्र हटाएर हो । “आवास क्षेत्रमा पर्ने उक्त केन्द्र हटाउनका लागि कामपाले पटक पटक सूचना दिँदा पनि अटेर गरेपछि आज डोजर चलाइएको हो”, उपरीक्षक अर्यालले भन्नुभयो । उक्त स्थानमा डोजर लगाएर भत्काएको विरोधमा कवाडी सङ्कलन केन्द्रका दुई मजदुरहरुले डोजरलाई ढुङ्गामुढा गरेका थिए । ढुङ्गामुढा गर्नेलाई नियन्त्रणमा लिएको पनि उहाँले जानकारी दिनुभयो । स्थानीयले बालबालिको पठनपाठन बिग्रिएको, सामाजिक असुरक्षा भएको भन्दै उक्त केन्द्र हटाउन आग्रह गर्दै आएका थिए ।
हुम्ला: हुम्लामा आज बिहान अत्यधिक वर्षा हुँदा अदानचुली गाउँपालिका–३ स्थित गोठभित्र पुरिएर २६ बाख्रा मरेका छन् । अदानचुली–३ का आइते बुढाको गोठभित्र रहेका ७० मध्ये २६ वटा बाख्रा बाढीपहिरो आउँदा पुरिएर मरेका हुन् । भेडीगोठभित्र पहिरो पस्नुका साथै गोठ भत्किँदा २६ बाख्रा मरेका पीडित किसान बुढाले बताउनुभयो । गोठभित्र रहेकामध्ये २९ वटा बाख्रा गाउँलेको सहयोगमा जीवित निकालिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी बाख्रा हराइरहेकाले खोजीकार्य भइरहेको छ । एक्कासि आएको वर्षाले ठूलो क्षति गरेको बताउँदै बुढाले दुःखकष्ट र मेहनतका साथ पालिएका बाख्राको गोठभित्र पसेको पहिरोका कारण २६ वटा बाख्रा मरेका र केही बेपत्ता रहेका उल्लेख गर्नुभयो । आज बिहान आएको वर्षाले अदानचुली गाउँपालिकाका विभिन्न स्थानमा क्षति पुर्याएको छ । बिहान परेको मुसलधारे वर्षाले श्रीनगर बजारमा व्यवसाय गर्दै आएका व्यवसायीका अस्थायी टहरासहित पसलमा राखिएका सामानमा क्षति पुर्याएको स्थानीयले बताएका छन् । अविरल वर्षापछिको बाढीले अदानचुलीमा ११ पसल, एक घर र एक भेडीगोठमा क्षति पुर्याएको जनाउँदै ११ वटा पसल बगाएको सञ्चारकर्मी मोहनसिंह बुढाले बताउनुभयो । वर्षासँगै आएको लेदोसहितको बाढीले अदानचुली–२ अमृत बुढा, अदानचुली–१ का बुद्धि महतारालगायत व्यवसायीका पसलमा क्षति पुर्याएको उहाँहरूले जानकारी दिनुभयो । यहाँका अधिकांश घर तथा टहरामा पानी पसेर स्थानीय प्रभावित बनेका छन् ।

