काभ्रेपलाञ्चोक: बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आजदेखि एक महिनासम्म राति १२ घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ ।  जिल्ला प्रशासन कार्यालय धुलिखेलले उक्त राजमार्गअन्तर्गत जिल्लाको काभ्रेभ...

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार लोकतन्त्रलाई पारदर्शी र अझ जवाफदेही बनाउँदै समाजमा व्याप्त असमानता, गरिबी र भ्रष्टाचारको चुनौतीलाई चिरेर अघि बढ्ने बताएका छन् ।   राष्ट्रिय प्रजातन्त्र दिवस–२०८१ का अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले युवाहरुलाई सशक्त बनाएर नै मुलुकलाई समृद्धितर्फ लैजाने सरकारको नीति रहेको स्पष्ट पारे ।    ‘लोकतन्त्रको उज्यालोकै कारण आज डिजिटल माध्यमबाट नागरिकलाई शीघ्र सार्वजनिक सेवाको थालनी गर्न सकेका हौँ, जसले सरकारी सेवालाई झन्झटरहित र पारदर्शी बनाउन सुरु गरेको छ’, प्रधानमन्त्रीले भने, ‘सन् २०३० भित्र दिगो विकासका लक्ष्य हासिल गर्ने अभियानमा हामी हाम्रा हरेक क्षण, सम्भावना र सामथ्र्यको सदुपयोग गरिरहेका छौँ । यसबाटै हामी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न सफल हुनेछौँ ।’   प्रधानमन्त्री ओलीले सन् २०२६ सम्ममा नेपाललाई अतिकम विकसित मुलुकको हैसियतबाट स्तरोन्नति गर्ने र त्यसको दिगो व्यवस्थापनका लागि आर्थिक सूचकहरुको बढोत्तरी गर्ने आधार पनि लोकतन्त्र नै भएको बताए।   लोकतन्त्रको खुला मैदानमा नै जनताको जीवनमा प्रगति भएको जनाउँदै उनले बढ्दो जनआकांक्षा र चुनौतीबीच, राज्यको संस्थागत र सामथ्र्यबीच लय मिलाएर संगतिपूर्ण ढंगले अगाडि बढिरहेको बताए।    प्रधानमन्त्रीले भने, ‘हाम्रो युवा पुस्ता देशको भविष्य हो। उनीहरुलाई शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमको अवसर उपलब्ध गराउन र स्टार्टअपमार्फत उद्यमशीलताको थालनी गरिएको छ ।’   उनले मुलुकको सुशासन, विकास, समृद्धि र जनताको सुखको सुनिश्चितताको लागि प्रभावकारी शासन प्रणाली र सुव्यवस्थाको राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानमा एकजुट भई योगदान गर्न सम्पूर्णमा आह्वान गरेका छन्।    ‘राष्ट्रको समृद्धि र जनताको सुख’लाई आफूले ‘परिपूर्ण लोकतन्त्र’ भन्दै आएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले प्रजातन्त्रले ‘संगठन र अभिव्यक्तिको स्वतन्त्रता’को मात्र वकालत गरेको अवस्थामा परिपूर्ण लोकतन्त्रले सबैलाई ‘अधिकार र अवसर, समानता र सामाजिक न्याय, सुरक्षा र सम्मान’मा समान पहुँचको पैरवी गरेको बताए ।   उनले सरकार समग्र विकासमार्फत व्यक्तिको मानवीय र जैविक न्यायोचित आवश्यकताको सहज परिपूर्ति गर्ने दिशातर्फ इमान्दारीपूर्वक हिँडिरहेको बताए।   फागुन ७ ले मुलुकलाई सबै हिसाबले स्वतन्त्र र सार्वभौम बनाउने दृढ संघर्ष अघि बढाएको जनाउँदै प्रधानमन्त्री ओलीले भविष्यका रुपमा उदाउँदै गरेका भोलिको पुस्ताले आजको दिनलाई बिर्सनै नमिल्ने बताए।   ‘प्रजातन्त्रको उज्यालोमा हुर्किएको, अत्याधुनिक सूचना प्रविधिमार्फत अनलाइन सेवा लिने बानी परिसकेको आजको पुस्ताका लागि हिजोको शासनको त्यो क्रूरता– अनुभव होइन, कथा मात्र हो’, उनले भने, ‘पुस्तान्तरको समयचापले कहिलेकाहीँ न्यानो दिनमा रहेका बेला समाजले त्यस कालरात्रीको क्रूरतम् स्मृतिलाई गुमाउन पुग्छ र भन्छ– ‘प्रजातन्त्रले के गरेको छ ?, त्यसले त अझै राणाकालका दरवारहरुबाट निर्वाह गरिरहेको छ’ ।”

काठमाडौँ:  राष्ट्रिय समाचार समिति (रासस)ले वार्षिकोत्सवका अवसरमा ‘राससको फोटो किताब: गणतन्त्रको १६ वर्ष’ पुस्तक प्रकाशन गरेको छ ।   राससको ६४ औँ वार्षिकोत्सव मूल समारोहका अवसरमा आज सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त पुस्तक सार्वजनिक गर्नुभयो ।   राज्य र सरकारको कामलाई प्रचारप्रसार गर्ने उद्देश्यले राससले गणतन्त्र दिवस २०८० को सन्दर्भमा ‘हाम्रो संस्कृति: हाम्रो सम्पदा’ र गणतन्त्र दिवस–२०८१ को सन्दर्भमा ‘गणतन्त्रको उपलब्धि:  समृद्धिका लागि पूर्वाधार’ शीर्षकमा तस्बिर प्रदर्शनी गरेको थियो ।   उक्त प्रदर्शनीमा राखिएका तस्बिरलाई सङ्ग्रह गरेर ‘रासस फोटो किताब: गणतन्त्रका १६ वर्ष’ पुस्तक प्रकाशन गरेको राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले बताउनुभयो ।   यो फोटो किताबले नेपालमा विकास तथा कुनै काम भएन भनेर स्थापित गर्न खोजिएको गलत भाष्यलाई चिर्न सहयोग पुग्ने विश्वास लिएको कार्यकारी अध्यक्ष झाले बताउनुभयो ।   सरकारले मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछिका १६ वर्षमा राजनीतिक स्थायित्वसँगै, सीमित स्रोत, साधन र प्रविधिका बीच नागरिकका आशा तथा अपेक्षालाई अधिकतम सम्बोधन गर्न प्रयत्न गरिरहेका छन् ।   यसबीचमा गठन भएका सङ्घ, प्रदेश र स्थानीय सरकारले सडक, पुल, जलविद्युत्, सञ्चारजस्ता पूर्वाधारको विकासलाई तीव्रता दिएका छन् । संविधानले परिलक्षित गरेको समतामूलक समाज निर्माणका लागि देखिने गरी काम भइरहेका छन् ।   यो वस्तुतथ्यलाई नजरअन्दाज गरेर देशमा केही भएन भन्नेजस्तो गरी नकारात्मक भाष्य सिर्जना गरी राजनीतिक तहमा प्राप्त सबै उपलब्धिलाई नकार्ने र जनतालाई दिग्भ्रमित तुल्याउने कार्यलाई थोरै भए पनि चिर्न यो फोटो किताबले सहयोग गर्ने कार्यकारी अध्यक्ष झाले बताउनुभयो ।   मुलुकमा भएको विकास र प्रगतिका विषयमा नागरिकलाई सही र सत्य कुराको जानकारी गराउनु पनि राष्ट्रिय समाचार समिति (रासस) जस्तो राज्यको समाचार एजेन्सीको मुख्य दायित्व भएको उहाँको भनाइ छ ।   पुस्तकमा राससकर्मीहरूले कैद गरेर राससको बुलेटिनमा प्रकाशित भएका तस्बिर र अतिआवश्यक तर रासससँग नभएका केही तस्बिरलाई सौजन्यका रूपमा सङ्ग्रह गरिएको राससका महाप्रबन्धक एवं पुस्तक प्रकाशन उपसमितिका संयोजक सिद्धराज राईले बताउनुभयो ।   “सकेसम्म महत्त्वपूर्ण तस्विरलाई समेट्ने प्रयास गरेका छौँ, यो पुस्तक एक प्रस्थानविन्दु मात्र हो”, उहाँले भन्नुभयो ।   पुस्तक सामूहिक प्रयासबाट गरिएको रचनात्मक कामको एक ठोस उपलब्धि भएको उहाँले बताउनुभयो ।

पोखरा:   गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले ७५ औं प्रजातन्त्र दिवसको अवसरमा गण्डकी प्रदेशबासीका साथै सम्पूर्ण नेपालमा शुभकामना व्यक्त गरेका छन् ।   नागरिक अधिकार सुनिश्चित गर्दै लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्नका लागि भएका संघर्षहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उनले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौं आन्दोलनहरूलाई पथप्रदर्शन गरेका अग्रजहरूप्रति हार्दिक सम्मान एवम् श्रद्धा प्रकट गरेका छन् ।   एक शुभकामना सन्देश जारी गर्दै उनले मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई जनताको संघर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको हुनाले यस दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनको रूपमा अंकित रहेको उल्लेख गरेका छन् ।   शुभकामना सन्देशमा उल्लेख छ – ‘सात दशक लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र जनता आफैले बनाएको वर्तमान संविधान निर्माणको एउटा महत्वपूर्ण जग वि.सं २००७ सालको क्रान्ति थियो भन्ने हामीले सधैं स्मरण गर्नुपर्नेछ । जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतामा आधारित रही लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सकेको खण्डमा प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुन सक्दछ ।’   यस दिनले सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई लोकतान्त्रिक मूल्य, मान्यताहरू अवलम्वन गर्दै जनअपेक्षा पूरा गर्ने दिशामा अघि बढ्न प्रेरित गर्नेछ भन्ने विश्वास व्यक्त गर्दै उनले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् भन्ने कामना पनि गरेका छन् ।  

काठमाडौं:   अनलाइन जुवा खेल्ने/खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा भारत बिहार राज्य पटना मलवा थाना मलाम ठेगाना भएका ३० वर्षीय अजय कुमारसमेत २४ जना भारतीय नागरिकहरूलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।   बेटिङ एप्लिकेसन मार्फत विश्वभर सञ्चालन हुने विभिन्न अनलाइन गेमहरू अन्तर्गत बेटिङ साइटको प्रयोग गरी अनलाइन जुवा खेल्ने/खेलाउने कार्य भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बुढानिलकण्ठ नगरपालिका-५ स्थित घर भाडामा लिई उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट ल्यापटप २१ थान, मोबाइल ३८ थान र राउटर ३ थान समेत प्रहरीले बरामद गरेको हाे ।   प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले १ अर्ब ६४ करोड ३९ लाख ५७ हजार ३ सय ४० रूपैयाँ बराबरको अनलाइन जुवा कारोबार गरेको खुल्न आएको छ ।   उनीहरूलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-५ को दफा १२५ (जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिमका कसुरमा समेत आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ । 

काठमाडौँ:  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सबै एकताबद्ध भएर अगाडि बढ्नु आजको आवश्यकता भएको बताएका छन् ।   राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना दिँदै उनले जनताको संघर्षको बलमा प्राप्त उपलब्धिको रक्षा गर्दै संविधानको कार्यान्वयनमार्फत समाजवादोन्मुख राज्यको आधारशीला खडा गर्नु राष्ट्रिय कार्यभार भएको बताएका छन् ।    “नेपाली जनताको बलिदानको जगमा स्थापित प्रजातन्त्रले आफूलाई परिस्कृत र परिमार्जन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको गौरवपूर्ण परिस्थितिसम्म आइपुगेको छ”, अध्यक्ष दाहालले भनेका छन्, “यी उपलब्धिका निम्ति २००७ सालको आन्दोलन, २०४६ सालको आन्दोलन, जनयुद्ध, २०६२/६३ को ऐतिहासिक जनआन्दोलनलगायत उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका न्यायपूर्ण आन्दोलनको निर्णायक भूमिका छ ।”   पूर्वप्रधानमन्त्री दाहालले सुशासन, सामाजिक न्याय र समृद्धिको मूल एजेण्डामार्फत बदलिएको प्रजातन्त्र दिवसले देशका चुनौती छिचोल्दै नवीनतम् सम्भावना प्राप्त गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन्।   उनले प्रजातन्त्र स्थापनाका निम्ति जीवनको अमूल्य बलिदान गर्ने सहिदप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै प्रजातान्त्रिक आन्दोलनका सम्पूर्ण योद्धाप्रति उच्च सम्मान व्यक्त गरेका छन् । 

काठमाडौँ:   आज ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।   प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनुहुने कार्यक्रम छ ।   कार्यक्रममा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न सङ्घर्षमा जीवन उत्सर्ग गर्नुभएका ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिने छ । प्रजातन्त्र दिवस समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम छ ।   सरकारले प्रजातन्त्र दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।   नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको प्रादूर्भाव भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा २००७ फागुन ७ गतेलाई लिने गरिएको छ ।   प्रजातन्त्र दिवसकै उपलक्ष्यमा राष्ट्रपति पौडेलले शुभकामना सन्देश जारी गर्दै मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई सङ्घर्ष र सहिदको बलिदानबाट स्थापित भएको स्मरण गराउनुभएको छ ।

काठमाडौं:  राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गर्नुभएको छ ।       राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ को अवसरमा आज शुभकामना दिँदै उहाँले जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतालाई यसले स्थापित गरेको बताउनुभएको छ ।        “मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई जनताको सङ्घर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको हुनाले यस दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनको रूपमा अङ्कित छ”, राष्ट्रपति पौडेलले शुभकामनामा भन्नुभएको छ, “सङ्घीय लोकतान्त्रिक गणतन्त्र हामी नेपालीले सात दशकभन्दा लामो सङ्घर्षबाट प्राप्त गरेको महत्वपूर्ण उपलब्धि हो । विसं २००७ को क्रान्तिको जगमा नै सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएका हौँ ।”        राष्ट्रपति पौडेलले नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गर्नुभएको छ ।  उहाँले भन्नुभएको छ, “लोकतान्त्रिक निर्वाचनका माध्यमबाट जनप्रतिनिधि छनोट भई अहिले संविधानतः तीनै तहका सरकारहरू बनेका छन् । यी निश्चिय नै हाम्रा लागि धेरै ठूला र ऐतिहासिक उपलब्धि हुन् । यिनै उपलब्धिको जगमा हाम्रो भविष्यको सुखद् यात्रा प्रारम्भ भएको छ भन्ने मैले विश्वास लिएको छु ।”        राष्ट्रपति पौडेलले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनलाई पथप्रदर्शन गर्नुहुने सम्पूर्ण अग्रजप्रति पनि सम्मान एवं श्रद्धा प्रकट गर्नुभएको छ ।        राष्ट्रपतिले सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई संवैधानिक मूल्य एवं मान्यता कार्यान्वयन गर्न प्रेरणा मिल्ने अपेक्षा गर्नुभएको छ ।  उहाँले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि  भएका विभिन्न आन्दोलनमा योगदान गर्ने सबैप्रति सम्मान प्रकट गर्दै राष्ट्रिय प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् भन्ने कामना गर्नुभएको छ ।        विसं २००७ को क्रान्ति सफल भएर निरङ्कुशताविरूद्धको बलिदानीपूर्ण सङ्घर्षको परिणामस्वरूप मानवअधिकार तथा राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानस्वरूप प्रत्येक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइँदैछ ।

काठमाडौं: अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)द्वारा नेपालमा सञ्चालित मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालका कार्यक्रम स्थगन गर्ने जानकारी गराएको छ ।  अर्थ मन्त्रालयद्वारा आज जारी ‘प्रेस रिलिज’ मार्फत तीन महिनाका लागि एमसीए नेपाल कार्यक्रम स्थगित भएको औपचारिक जानकारी दिइएको हो । रिलिजमा भनिएको छ, “अमेरिकी सहायता संस्था एमसीसीले फागुन २ मा पठाएको इमेलमा नेपाल सरकार र उक्त निकायबीच २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्टअन्तर्गत कार्यन्वयन भइरहेका आयोजनासँग सम्बन्धित एमसीसी कोषबाट भुक्तानी हुने क्रियाकलापहरू अमेरिकी राष्ट्रपतिको २० जनवरी २०२५ मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको व्यहोरा सरोकारवालालाई जानकारी गराइन्छ ।”

काठमाडौं:  हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया सफा रहेको  बताएको छ । साथै तराईका केही भागमा हुस्सु लागेको छ । महाशखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा  रहने छ भने उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा  हल्का हिमपातको सम्भावना  छ ।  त्यसैगरी, राति सुदूरपश्चिम,कर्णाली र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली  रहने छ भने उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।  आगामी २४ घण्टामा देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा  बिहीबार बिहान तराईका केही भागमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै महाशाखाले त्यसबाट  दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्नसक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।