ललितपुर: वर्षाजन्य विपद्मा परी ललितपुरमा मृत्यु भएका थप छ जनाको शव फेला परेको नेपाल प्रहरीले पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले आज दिनुभएको जानकारी अनुसार विपत्तीको खोज तथा उद्धारका क्रममा सोमबारसम्म ३४ जनाको र आज बिहानसम्म छ जना गरी हालसम्म ४० जनाको शव फेला परेको हो । फेला परेका शवमध्ये १७ जनाको शव पोष्टमार्टम भई आफन्तले बुझेर लगेको सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जानकारी गराउनुभयो । “पाटन अस्पतालमा आएका शवमध्ये १७ जनाको शव पोष्टमार्टम भइ आफन्तले बुझेर लैजानुभएको छ, अरु फेला परेका शवलाई प्रहरीको सहयोग र समन्वयमा पोष्टमार्टमका लागि पाटन ल्याउने काम भइरहेको छ”, उहाँले भन्नुभयो । नेपाल प्रहरीले आज बिहान अद्यावधिक गरेको तथ्याङ्कअनुसार महाङ्काल गाउँपालिका वडा नं २ मानिखेल लक्ष्यबास बस्ने वर्ष ९ का आयुष स्याङ्तान, महाङ्काल–२ ठोस्ने खोला बस्ने एकै परिवारका वर्ष ४० की राममाया स्याङ्तान, निजका छोरा वर्ष १४ का अजय स्याङ्तान, अर्का छोरा वर्ष ११ का सुवास स्याङ्तान र छोरी वर्ष नौकी सलिना स्याङ्तानको शव फेला परेको छ । प्रहरी नायब उपरीक्षक अधिकारीका अनुसार वर्षाजन्य विपद्मा परेर अझै १० जना बेपत्ता रहेका छन् । प्रहरीले अद्यावधिक गरेको तथ्याङ्कअनुसार महाङ्काल–३ गोटीखेल बस्ने इश्वर तिमल्सिना, उहाँकी आमा र श्रीमती गोमा असोज १२ गतेबाट बेपत्ता छन् । त्यस्तै रौतहट घर भई ललितपुर महानगरपालिका–१४ नखिपोट कान्तिपुर कोलोनी बस्ने वर्ष पाँचका सेतु साह, ओखलढुङगा घर भई ललितपुर बस्ने वर्ष ४० का देवराज कार्की, रौतहट गौर गाउँपालिका वडा नं ६ घर भई ललितपुर–१४ नखिपोट कान्तिपुर कोलोनी बस्ने वर्ष ३२ का बिकाउ साह बेपत्ता छन् । गोदावरी नगरपालिका–६ आनन्दवन अस्पतालमा काम गरी बस्ने वर्ष ३० का विवेक सिंह, बागमती गाउँपालिका–१ घुसेलका वर्ष ५० का केशव न्यौपाने, महाङ्काल वडा नं २ बस्ने वर्ष १२ की सञ्जिता स्याङ्तान, वर्ष ३५ का छविलाल स्याङ्तान र छविलालकी भाउजु ९नाम नखुलेको० बेपत्ता छन् ।
काठमाडौं: सङ्घीय राजधानी काठमाडौँ भित्रने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रीको चाप बढेको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा काठमाडौँ आउने मुख्य सडकमार्ग अवरुद्ध छन् । सडक अवरुद्ध भएपछि तीन दिनयता हवाईयात्रीको चाप ह्वात्तै बढेको हो । मुलुकको अति व्यस्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडानको नयाँ रेकर्ड कायम भएको छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार एक दिनमा साढे पाँच सय उडान भएका छन् । आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी पाँच सय ५९ उडान भएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार आन्तरिकतर्फ हेलिकप्टरसहित दुई सय २७ उडान (डिपार्चर) र दुई सय २१ अवतरण (अराइभल) भएका छन् । अन्तर्राष्ट्रिय उडानतर्फ पनि ५६ अवतरण र ५५ उडान भएका छन् । प्रवक्ता शेर्पाले एकै दिन सम्भवतः यो हालसम्मकै सर्वाधिक उडान भएको बताउनुभयो । एकैदिन धेरै उडान भएकाले उडान चाप बढेको छ । यसअघि अघिल्लो वर्ष दसैँका बेला यस्तो उडान चाप थियो । विमानस्थलको विवरणमा आन्तरिक र अन्तर्राष्ट्रियमा गरी दैनिक पाँच सय हाराहारी उडान भएका थिए । अन्तर्राष्ट्रियमा दैनिक एक सय १३ देखि १५ उडान भएको थियो भने आन्तरिकतर्फ पनि दैनिक दुई सय ७० उडानमार्फत १४ हजार यात्रीले आवतजावत गरेका थिए । विमानस्थलका प्रवक्ता शेर्पाले आजका लागि आन्तरिकतर्फ एक सय ६९ अराइभल र एक सय ६९ डिपार्चर उडान तालिका तय गरिएको बताउनुभयो । अन्तर्राष्ट्रियमा ५८ डिपार्चर र ५७ अराइभल हुने उहाँले बताउनुभयो । हेलिकप्टरको उद्धार उडानको सङ्ख्या पनि उल्लेख्य सङ्ख्यामा हुनेछन् । वर्षाका कारण अवरुद्ध मुख्य सडकमार्ग आंशिक रूपमा खुलेपनि यात्रुलाई यात्रा गर्न निकै कष्टकर भइरहेको छ । यस्तो अवस्थामा यातायातको एकमात्र विकल्प हवाई उडान हो । एक्कासी हवाई उडानमा पनि चाप बढेपछि यात्रुलाई गन्तव्यमा पुग्न समस्या भइरहेको छ । दिनहुँ विमानस्थलमा यात्रुको भीड लाग्ने गरेको छ । आइतबार र सोमबार अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा उल्लेख्य सङ्ख्याका यात्री विमान उडानको पर्खाइमा थिए ।
कैलाली: मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा दुईजनाको मृत्यु भएको छ । गए राति पूर्वपश्चिम राजमार्गअन्तर्गत गौरीगङ्गा नगरपालिका–१ गोप्कामा पश्चिमबाट पूर्वतर्फ गइरहेको से६प ६२७९ र विपरीत दिशाबाट आइरहेको बा९५प ९२५२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै जना चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहोराले उक्त दुर्घटनामा जानकी गाउँपालिका–८ का २० वर्षीय निर्मल चौधरी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का २६ वर्षीय चिरञ्जीवी मल्लको मृत्यु भएको बताउनुभयो । दुर्घटनामा गम्भीर घाइते भएका चौधरी र मल्ललाई उपचारका लागि राति नै धनगढीको नवजीवन अस्पताल पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । यस्तै बा९५प ९२५२ नम्बरको मोटरसाइकल पछाडि सवार शुक्लाफाँटा नगरपालिका–७ का २२ वर्षीया दीपक बोहोरा घाइते भएका छन् । बोहोराको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: नेपाल र अमेरिकाबीच दुईपक्षीय परामर्श संयन्त्र (बाइल्याटरल कन्सल्टेसन मेकानिजम)सम्बन्धी सम्झौतामा यहाँस्थित अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्टमा)मा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र अमेरिकाको तर्फबाट अमेरिकी राजनीतिक मामिलाका कार्यवाहक उपविदेशमन्त्री जोन बासले सोमबार हस्ताक्षर गर्नुभएको छ । उक्त सम्झौताअनुसार नेपालको परराष्ट्र मन्त्रालय र अमेरिकी विदेश मन्त्रालयका उच्च अधिकारीहरूबीच संयन्त्रमार्फत विविध पक्षका बारेमा काठमाडौँ र वाशिङ्टनडिसीमा परामर्श र छलफल गरिने जनाइएको छ । उक्त सम्झौतापश्चात दुई देशका मन्त्रीहरूले नेपाल र अमेरिकाबीचको सामूहिक चासोका विविध विषयमा छलफल गर्नुभएको थियो । स्टेट डिपार्टमेन्टमा आयोजना गरिएको कार्यक्रममा नेपालको तर्फबाट परराष्ट्र सचिव सेवा लम्साल अमेरिकाका लागि कार्यवाहक राजदूत कुमारराज खरेल तथा अमेरिकाको तर्फबाट दक्षिण तथा मध्य एसियासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लु उपस्थित हुनुहुन्थ्यो । परराष्ट्रमन्त्री राणा आजै वाशिङ्टनबाट दोहा प्रस्थान गर्नुभएको छ । त्यहाँ उहाँले नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै एसियाली सहकार्य संवादको समिटमा भाग लिनुहुनेछ ।
काठमाडौं: केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म दुई सय १७ जनाको मृत्यु भएको छभने २८ जना बेपत्ता छन् । प्राकृतिक विपद्मा एक सय ४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो । बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको पनि उहाँले जानकारी दिनुभयो । बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ । सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको प्रवक्ता तिवारीले बताउनुभयो ।
धादिङ: सङ्घीय राजधानी काठमाडौँको ‘लाइफलाइन’का रुपमा पृथ्वी राजमार्गलाई लिने गरिएको छ । तीन दिनसम्म निरन्तर परेको वर्षासँगैको पहिराले पृथ्वी राजमार्गको अधिकांश स्थानमा क्षति पुगेको छ । कतै सडक पुरिएका छन्भने कतै छेउ भासिएका छन् । त्रिभुवन राजपथको नौबिसे नागढुङ्गा खण्डमा पर्ने झ्याप्ले खोलामा नसोचेको मानवीय क्षति भयो । एउटै पहिरोमा ३५ जनाले ज्यान गुमाउनुप¥यो । झण्डै दर्जन सवारीसाधनले क्षति व्यहोर्नुप¥यो । झ्याप्ले खोला क्षेत्र आइतबार बेलुकादेखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ । पृथ्वी राजमार्ग र त्रिभुवन राजपथमा पर्ने नागढुङ्गा–मुग्लिन खण्डमा पनि सोमबार बिहानदेखि सवारी सञ्चालनमा आएका भए पनि आवागमन पूरै सहज भने भइसकेको छैन । राजमार्गको घुम्तीघुम्तीमा झरेको पहिराले यात्रा जोखिमपूर्ण बनेको छ । चार दिनसम्म निरन्तर परेको वर्षापछि पाइलैपिच्छे झरेको पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । काठमाडौँबाट पूर्वपश्चिमका जिल्ला जाने सवारी छोड्नु अघि पहिरो पन्छाएर भ्याउने लक्ष्यसहित तीनै तहका सुरक्षा निकाय लागिरहेका बताउँदै जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी प्रह्लाद सिलवालले छ सबै पहिरो सफा गरिसक्न अझ केही समय लाग्ने जानकारी दिनुभयो । राजमार्गका विभिन्न क्षेत्रमा रोकिएका सवारीसाधन सोमबार बिहानदेखि काठमाडौँ प्रवेश गरेका छन् । काठमाडौँतर्फ जानका लागि चार दिनदेखि सडकमा रोकिएका सयौँ सवारीसाधनलाई दिनभरि लगाएर प्रहरीले काठमाडौँ प्रवेश गराएको हो । “नागढुङ्गा नौबिसे क्षेत्रका पहिरो पूर्ण रुपले थामिसकेको छैन । जुनकुनै ठाउँमा जुनकुनै बेला पहिरो झर्नसक्ने र ढुङ्गा खस्नसक्ने जोखिम छ”, सिलवालले भन्नुभयो, “जोखिम क्षेत्रमा सवारी चापलाई मध्यनजर गरेर पनि साना तथा हल्का सवारीलाई धादिङको गल्छीबाट नुवाकोटको छहरे हुँदै काठमाडौँ पुग्ने सडक प्रयोग गर्न सहजीकरण गरिएको हो ।” गल्छीबाट माथिल्लो क्षेत्रमा रहेका साना तथा हल्का सवारीसाधनलाई भने धार्के शीतापाइला सडकखण्डबाट काठमाडौँ प्रवेश गराइएको छ । अतिआवश्यकीय सामग्री ९पशुचौपाया, दूधजन्य, मासुजन्य, तरकारी, खाद्यान्न० बोकेका सवारीसाधन र यात्रुवाहक बसलाई भने नौबिसे–नागढुङ्गा सडकखण्डको प्रयोग गरी काठमाडौँ प्रवेश गराइएको छ । नबिग्रिने सामान बोकेका मालवाहक तथा ठूला लामो दूरीका सवारीलाई भने खुला स्थानमा सुरक्षित भएर बस्न सहजीकरण गरिएको प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले राससलाई जानकारी दिनुभयो । पहिरोको आसपासमा रोकिएर बसेका सवारीसाधनको सङ्ख्या धेरै भएकाले सोमबार दिनभर काठमाडौँबाट बाहिरिने सवारीसाधनलाई काठमाडौँतर्फ रोकेर अलपत्र परेका सवारीको उद्धार गरिएको उहाँले बताउनुभयो । काठमाडौँबाट पूर्वपश्चिम जाने सवारीसाधनलाई सोमबार साँझदेखि मात्रै नागढुङ्गा नौबिसे सडकबाट छोडिएको छ । राजमार्गको यात्रामा ढुक्क छैनन् चालक र यात्रु सडकमाथि भित्ताबाट खसेका गेग्रान ढुङ्गा, नाली थुनिएर सडकमा बगेको पानी, पन्छाउँदै गरेको पहिराले साना सवारी र दुईपाङ्ग्रे सवारीलाई जोखिमपूर्ण छ । दुईपाङ्ग्रे सवारीलाई भने निकै कष्ट छ । निरन्तर पहिरा जाने क्रम रहेकाले पनि सवारी चालक र यात्रु यात्रामा ढुक्क छैनन् । पहिरो खसेको, गुड्दागुड्दै गाडी पुरिएको, मानिसको ज्यान गएको सुनेका यात्रुको अनुहारमा त्रासको चित्र प्रष्ट देखिन्छ । ‘हामी काठमाडौँ त पुग्छौँ नी ?, हामीलाई कुन बाटो ठीक होला ? भनेर नसोध्ने सायदै भेटिएनन् । त्रासको मानसिकतामा रहेका यात्रु निकै आत्तिएका देखिन्थ्ये ।’ गत शुक्रबार काठमाडौँबाट गोरखा जान निस्किए पनि पहिरोमा रोकिएर बल्ल गन्तव्यतर्फ हिँड्न लागेका माइक्रोबसका चालक विशाल श्रेष्ठ भन्नुहुन्छ, “हामी चालक डरैडरमा हिँडिरहेका छौँ ।” झ्याप्ले खोलाको पहिरो नजिक दुई दिन रात बिताएर सोमबार नुवाकोटको बाटो हुँदै धादिङको गल्छी निस्किनुभएका श्रेष्ठले राजधानी प्रवेश गर्ने सडकको कहाली लाग्ने पीडा सुनाउनुभयो । “धादिङको गल्छी, नुवाकोटको छहरे हुँदै काठमाडौँ आवतजावत गर्ने सडक पनि सवारी चापले त्यति सुरक्षित छैन । “बाटोमा ट्राफिक कतै भेटिँदैन । गाडीको सङ्ख्या अत्यधिक छ । साँघुरो बाटो, धेरै गाडी, तछाडमछाडसँग दौडिँदा दुर्घटनाको जोखिम छ”, श्रेष्ठले भन्नुभयो । नुवाकोटको बाटो प्रयोग गरेर पृथ्वी राजमार्ग आइपुगेका चालकको अनुभव पनि फरक छ । सोमबार दिउँसो काठमाडौँबाट नुवाकोटको छहरे हुँदै धादिङ जाँदै गर्नुभएका सरकारी सवारीका चालक विजयराज गिरी ‘रोशन’ भन्नुहुन्छ, “सवारीको चाप नहुँदा नुवाकोटको बाटो ठिकै होला तर, अहिले जोगिएर हिँड्नै मुस्किल छ ।” पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालनमा आएको भए पनि राजमार्ग क्षेत्रमा दुईतर्फी सवारी सञ्चालनका लागि अझै समस्या रहेको उहाँले बताउनुभयो । त्रिभुवन राजपथको झ्याप्ले खोला क्षेत्र, पृथ्वी राजमार्गको थाक्रे, गल्छी, गजुरीको जहरे, घाटबेंसी, बेनीघाटको चराँैदी र जोगिमारा क्षेत्रमा रहेका एक दर्जनभन्दा बढी पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक सिलवालले जानकारी दिनुभयो । दुईतर्फी सवारी सञ्चालन गर्न अझै केही समय लाग्ने बताउँदै पहिरा पन्छाउने काम भइरहेकाले ठाउँठाउँमा यात्रुले जामको सामना गर्न बाध्य रहेका उहाँले उल्लेख गर्नुभयो । लामो समयसम्म जाममा बसेका यात्रुले शौचालयको प्रयोग गर्न नपाउँदा पनि सास्ती बेहोर्नु परेको छ । बिजुलीका खम्बा ढलेर विद्युत् अवरुद्ध हुँदा सञ्चार सम्पर्कविच्छेद हुने स्थानमा पुग्दा यात्रुलाई समस्या छ । बस्ती नभएका ठाउँमा सवारी रोकियो भने यात्रुले किनेर पनि खान पाउँदैनन् भने बजार क्षेत्रमा रोकिएका सवारीका यात्रुले महँगो मूल्य तिर्न बाध्य छन् । “हवाइजहाज चढ्न पैसाले धान्दैन । गाडी चढ्यो मरिन्छ की बाँचिन्छ पत्तो छैन”, पोखरा जाने सवारीमा भेटिनुभएकी तुलसा रेग्मीले भन्नुभयो, “सरकारले सबै काम छोडेर राजमार्गको यात्रा सुरक्षित गराइदिए हामीजस्ताको कल्याण हुने थियो ।” दुईतर्फी बाटो सञ्चालन गर्ने क्रममा ठाउँठाउँको जाम छिचोल्दै आइपुगेका एम्बुलेन्स चालक र बिरामीका आफन्त निकै आक्रोसित देखिन्थे । ट्राफिक व्यवस्थापन नभएकाले आवश्यकताभन्दा बढी जाममा बस्नुपरेको उनीहरुको गुनासो थियो । सवारी र यात्रु सडकमा अलपत्र नपरोस्, यात्रामा कसैलाई अप्ठ्यारो नपरोस्, परिहाले समयमै उद्धार होस् भन्नाका लागि सशस्त्र प्रहरीलेसमेत राजमार्गमा सक्रियताका साथ गस्ती गरिरहेको छ । सोमबार दिउँसो गल्छी गाउँपालिका–२ घाटबेंसीको पहिरो पन्छाउने क्रममा भेटिनुभएकी सशस्त्र प्रहरी बल आश्रित गुल्म धादिङबेंसीका प्रहरी नायब उपरीक्षक लक्ष्मी थपलियाले सम्भावित जोखिम कम गर्न चौबिसै घण्टा सडकमा खटिरहेको बताउनुभयो । यसै हप्ताबाट दसैँको रौनक सुरु हुँदैछ । सडकको अवस्था दयनीय छ । जहाजको टिकट महँगो छ । दसैँका लागि घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै सवारी चाप बढ्नै बाँकी छ । चाडपर्वको मुखमा हरेक वर्ष ठूलाठूला दुर्घटना भएका उदाहरण प्रशस्तै छन् । सडक दुर्घटनाबाट हुने क्षति कम गर्न सबैक्षेत्र र निकायको समन्वय अनिवार्य देखिन्छ ।
काठमाडौं: नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ३८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४९ रुपैयाँ ७५ पैसा र बिक्रीदर एक सय ५० रुपैयाँ ४२ पैसा कायम गरिएको छ । युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७८ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ८० रुपैयाँ १७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५८ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ५९ रुपैयाँ ३८ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९२ रुपैयाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय चार रुपैयाँ ४४ पैसा र बिक्रीदर एक सय चार रुपैयाँ ९१ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ३९ पैसा र बिक्रीदर नौ रुपैयाँ ४३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १९ रुपैयाँ १६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८२ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७० पैसा र बिक्रीदर ३६ रुपैयाँ ८७ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १५ पैसा र बिक्रीदर चार रुपैयाँ १७ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५९ पैसा कायम छ । साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ २० पैसा र बिक्रीदर १० रुपैयाँ २४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ २४ पैसा र बिक्रीदर १३ रुपैयाँ ३० पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ आठ पैसा र बिक्रीदर २० रुपैयाँ १७ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २२ पैसा र बिक्रीदर १७ रुपैयाँ ३९ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ५८ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ५५ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५४ रुपैयाँ ९० पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ ४९ पैसा तोकेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
काठमाडौं: यही असोज १० गतेदेखि १२ गतेसम्म देशका अधिकांश स्थानमा परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको सङ्ख्या २०९ जना पुगेको छ । गृहमन्त्रालयका प्रवक्ता, सहसचिव ऋषिराम तिवारीले अन्य २९ जना बेपत्ता र एक सय ४२ जना घाइते भएका जानकारी दिनुभयो । मन्त्रालयले मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ । खोज तथा उद्धारकार्य जारी रही आज नेपाली सेनाको हेलिकप्टरबाट काभ्रेपलाञ्चोक, सिन्धपाल्चोक, सिन्धुली, ललितपुरलगायत स्थानबाट घाइते, विरामी तथा अलपत्र परेका ४२५ जनाको उद्धार गरिएको उहाँले जानकारी दिनुभयो । मन्त्रालयले अवरुद्ध सडक, विद्युत्, टेलिफोनलगायत अत्यावश्यक सेवाहरू शीघ्र सञ्चालन गर्न सम्बन्धित निकायसँग समन्वय भइरहेको तथा खोज र उद्धारकार्यलाई आवश्यकतानुसार सुरक्षा निकायबाट निरन्तरता दिइएको जनाएको छ । संयुक्त राष्टसङ्घीय निकाय र लजिष्टिक क्लष्टरका साझेदार संस्थासँग बैठक गरी राहत सामग्रीको स्टक लिने र वितरणका लागि नक्साङ्कन गर्ने कार्य भइरहेको तथा सबैखाले राहत सामग्री एकद्वार प्रणालीमार्फत वितरण गरिने उहाँले आज साँझ जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सुरक्षा निकाय र सडक विभागसँगको समन्वयमा अवरुद्ध राजमार्ग सूचारु गर्ने, तत्काल सूचारु गर्न नसकिने सडकको हकमा वैकल्पिक मार्ग व्यवस्थापन गरी सवारी आवागमन सहज बनाउने कार्य भइरहेको छ । सङ्घ, प्रदेश र स्थानीय तहका सम्बद्ध निकायबाट विपद्् प्रभावितलाई आपतकालीन राहत शीघ्र उपलब्ध गराउने व्यवस्थाका लागि समन्वय गरिएको छ ।”
काठमाडौं: राष्ट्रिय ट्रमा सेन्टरको इमरजेन्सी कक्षमा नारायणप्रसाद रिमाल टोलाइरहनुभएको छ । उहाँका आँखाले कसैलाई खोजिरहेका छन् । उहाँका शरीरमा चोटपटक नलागेको कुनै ठाउँ छैन । रिमालको शरीरको दायाँ भागमा बढी क्षति पुगेको देखिन्छ । इमरजेन्सीको बेड नं २१ उपचाररत ६८ वर्षीय रिमाललाई आफू घाइतेभएको भन्दा पनि आफ्नी अर्धाङ्गिनीसँग बिछोड भएको पीडाले पिरोलेको छ । चिन्तित मुद्रामा रिमालले भन्नुभयो, “म बाँच्न सफल भएँ तर खाना बनाइरहेकी मेरी श्रीमती पहिरोमै छिन् । उद्धारका लागि डोजर पुग्न सकेको छैन रे ।” आफूलाई अप्ठ्यारो परेका बेला हरदम साथ रहने जीवनसाथीको याद नआओस् पनि कसरी ? रिमालको दायाँपट्टीको करङ फुस्किएको छ । उहाँको उक्त भाग चलेको छैन । मङ्गलबार अपरेशन हुने भनिएको छ । चौरी देउराली गाउँपालिका–६ काभ्रेका रिमाललाई शनिबारको उक्त कहालीलाग्दो दिन सम्झिँदा मन अमिलो हुन्छ । उहाँलाई समय ठ्याक्कै याद छैन, सायद बिहानको ११ बजेको हुनुपर्छ । श्रीमती पवित्रा भान्सा कोठामा खाना पकाउँदै थिइन् । रिमाल छेउकै घरको बार्दलीमा बसिरहनुभएको थियो । बिहीबारदेखि परेको अविरल वर्षाले राम्रो सङ्केत दिइरहेको थिएन । एक्कासी माथिबाट आएको पहिरोले घर पु¥यो । हेर्दाहेर्दै श्रीमती पुरिइन् । पहिरोमा परेको दुई घण्टासम्म उहाँले उद्धारका लागि गुहार गर्नुभयो । हारगुहार गर्दागर्दै बेहोस हुनुभयो । चार घण्टापछि होस खुल्दा उहाँले आफूलाई एकैपटक अस्पतालका बेडमा पाउनुभयो । आइतबार दिउँसो हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएका रिमालले पहिरोले घर लग्ला भन्ने कहिल्यै नसोचेको बताउनुभयो । गला अवरुद्ध पार्दै उहाँले भन्नुभयो, “विसं २०४६ सालमा त्यो घर बनाएको हो । यो पालि यस्तै भयो ।” ट्रमामै उपचाररत दक्षिणकाली नगरपालिका–९ फर्पिङका ३० वर्षीय सुजन बस्नेत पेसाले सवारी चालक हुनुहुन्छ । शनिबार लगातार वर्षा भइरहेको थियो । गाडी पन्छाउन सडकमा पुग्नै लाग्दा माथिबाट एक्कासी आएको लेदोसहितको पहिरोले उहाँलाई हुत्याएर पानीमा लग्यो । तुरुन्तै उद्धार गरेर नजिककै अस्पताल लगियो । उहाँकी श्रीमती सीताले आइतबार दिउँसो ३ बजेतिर थप उपचारको लागि उहाँलाई ट्रमा ल्याएको बताउनुभयो । सुजनलाई हात, खुट्टा, घाँटी, करङमा चोट लागेको छ । हालसम्म ट्रमा सेन्टरमा १५ जना घाइतेको उपचार भएको छ । उहाँहरूमध्ये छ जना उपचारपछि घर फर्कनुभएको छ । सेन्टरको विपद् व्यवस्थापनको फोकल पर्सन इन्दिरा पाण्डेका अनुसार मुख्यतः बाढी पहिरोबाट प्रभावित घाइते धादिङ, काठमाडौँ, रामछोप, दोलखा, काभ्रेबाट आएका छन् । उहाँले भन्नुभयो, “चोटपटक लागेका ‘जटिल केश’ नै आएका छन् । ‘रिफरल केश’ पनि छन् । हालसम्म एक जनाको सर्जरी भएको छ भने तीन जनाको सर्जरी गर्ने तयारीमा छौँ ।” त्यसैगरी वीर अस्पतालमा हालसम्म एक जना मात्र घाइतेको उपचार भएको अस्पतालका इमरजेन्सी विभाग प्रमुख डा सुरेशन नेपालले जानकारी गराउनुभयो । पाटन अस्पतालमा हालसम्म १० जना बाढी पहिरोबाट उद्धार गरिएका घाइतेको उपचार भएको छ । तीन जना डुबेका घाइते र सात जना पहिरोमा परेका उपचार गरिएको अस्पालका निर्देशक डा रवि शाक्यले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “सात जनाकै डिस्चार्ज भइसकेको छ । डुबेका मध्ये दुई जना डिस्चार्ज भएको र एक जना उपचाररत छन् । किस्ट मेडिकल कलेजबाट रिफर भएर आएका छ वटा केश रहेका छन्, जसमा दुई जना डिस्चार्ज भइसकेका छन् ।” सशस्त्र प्रहरी बल नेपालले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कअनुसार बाढी पहिरोको घटनाबाट ८९ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थाले विपद्बाट उद्धार गरिएका घाइते बिरामीको निःशुल्क उपचार गर्न पत्राचार गरिसकेको छ । उद्धार गरिएकालाई स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकश्मिक सेवा र जनशक्तिलाई २४ सै घण्टा उपलब्ध हुनेगरी व्यवस्था मिलाउन मन्त्रालयले आग्रह गरेको छ ।