मनाङ:    जाडो मौसम सुरु भएसँगै यहाँका नदी, खोला र ताल जम्न थालेका छन् । यहाँका नदी, खोला र तालतलैया जमेर चट्टान बनेका छन् ।  उचाइअनुसार नै यस क्षेत्रका नदी, ताल, खोलाको पानी चिसोले जम्ने...

काठमाडौं:    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले हवाई भाडाको अनियन्त्रित मूल्यवृद्धिलाई तत्काल नियमन गरी सर्वसुलभ बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डेसमक्ष माग गरेको छ ।  अनेरास्ववियुका कार्यबाहक अध्यक्ष गोविन्द गिरीको संयोजकत्वको टोलीले सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री पाण्डेको ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएको हो ।        “भर्खरै मात्र अविरल वर्षाले नेपाल देशभर मुख्य तथा सहायक राजमार्ग बाढीपहिरोका कारण अवरुद्ध भएको मौकामा एक्कासी हवाई यात्राको मुल्यको चरम वृद्धि हुँदा आम जनता प्रत्यक्ष मारमा परेका छन्, जसको गुनासो सामाजिक सञ्जालमा र सञ्चार माध्यमबाट समेत प्रकट भइरहेको छ”, ज्ञापनपत्रमा भनिएको छ ।       अबिलम्ब हवाई भाडाको मुल्यलाई वैज्ञानिक रुपमा नियन्त्रण, नियमन र समायोजन गर्न तथा यस विपद्को घडीमा कालोबजारी र मुल्यवृद्धिमा संलग्न हवाई यातायात सञ्चालक तथा संलग्न सबैलाई निष्पक्ष छानविन गरी कानुनबमोजिम कडा कारबाही प्रक्रिया अगाडि बढाउन अनेरास्ववियुले मन्त्री पाण्डेसमक्ष माग गरेको छ ।       अनेरास्ववियुले हवाई यातायातमा विद्यार्थी सहुलियतको नीतिगत प्रबन्ध गर्नसमेत माग गरेको छ । ज्ञापनपत्रमा वायुसेवा कम्पनीहरुको प्रभावकारी नियमन र नेपाल एयर लाइन्सको प्रभावकारी सञ्चालन गर्न पनि माग गरिएको छ ।       अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै मन्त्री पाण्डेले आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले चाँडपर्व र यस्तो विपद्का बेलामा बढी भाडा नअसुल्न निर्देशन दिइसकिएको र जुनसुकै हालतमा पनि भाडा बढाउन नदिइने बताउनुभयो । साथै उहाँले अखिलले राखेका माग पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।

काठमाडौं:    प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले बाढीपहिराका कारण सडक अवरुद्ध हुँदा विभिन्न राजमार्गमा अलपत्र यात्रीहरुलाई तत्काल उद्धार गरेर गन्तव्यमा पु(याउन सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले अवरुद्ध राजमार्ग पुनःसञ्चालन तथा वैकल्पिक सहायक मार्गको उचित प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिएको हो ।       सडक यातायात अवरुद्ध भएका बेला अस्वाभाविक रुपमा हवाई भाडा वृद्धि भएकातर्फ सरकारको ध्यानाकर्षण गराउँदै हवाई भाडाको अनुगमन गर्न, सडकको पहुँच नपुगेको जिल्लामा हवाई यातायातको व्यवस्था गर्न, दैनिक उपभोग्य वस्तुको कालोबजारी, कृत्रिम अभाव र मूल्यवृद्धि हुन नदिन बजार अनुगमनलाई प्रभावकारी बनाउन सरकारलाई दिर्नेशन दिइएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिनुभयो ।       बैठकले सम्भव भएका सबै उपाय अवलम्बन गरी विपद् प्रभावितलाई राहत सामग्री वितरण र पुनःस्थापनाको काम अघि बढाउनसमेत निर्देशन दिएको छ । 

ललितपुर:    गोदावारी नगरपालिका–१० को चापागाउँको राधा घिमिरेका लागि अत्यासलाग्दो विपद् टरे पनि खानेपानी धारामा नआउँदाको पीडाले सताएको छ ।  उहाँ भन्नुहुन्छ, “विपद्बाट त जोगियो, तर चार दिनदेखि धारामा पानी आएको छैन । कसरी गुजारा चलाउने रु” धारामा पानी आइहाल्छ कि भनेर आधा रातमै उठेर हेर्नुहुन्छ, पानी नआएपछि निरास हुनुहुन्छ उहाँ । ट्याङ्कीमा जम्मा भएको पानी पनि सकियो । “कहिलेसम्म नआउने हो रु तनावै गरायो,” उहाँ भन्नुहुन्छ ।       गोदावारी–१० प्याङ्गाउँकै रीता अर्याललाई पनि धारामा पानी नआउँदाको छटपटी उस्तै छ । पानी आउला कि भन्ने आशामा बसेको चार दिन बितिसक्यो ।  “खानेपानी नहुँदा गुजारा टार्नै गाह्रो हुने भयो, विपद् पीडितहरुको हालत अझै कस्तो होला ?” अर्याल भन्नुहुन्छ । खुमुलटार बस्ने मनमाया गुरुङ उमेरले ७० पुग्नै लाग्नुभयो । छोराबुहारी विदेश छन् । श्रीमान् पनि ७५ वर्ष टेक्नुभयो । बुढ्यौली शरीर । घरमा पानी छैन । बोकेर ल्याउन पनि सक्नुहुन्न । “जारकै पानीले गुजारा चलाएका छौँ, जारको पानी चलाएर कहिलेसम्म पुग्छ र ?”, उहाँ भन्नुहुन्छ ।       हालैको वर्षामा गोटीखेल बाढी, पहिरोका कारण तहसनहस बनेको छ यतिबेला । हराभरा क्षेत्र एक्कासि बगरमा परिणत भयो । यसले गर्दा खानेपानीको स्रोत पनि पुरिएको र समस्या उत्पन्न भएको बताउनुहुन्छ महाङ्ककाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक बिष्ट ।  “यहाँ हिजोसम्म टेलिफोन सम्पर्क नै भएको थिएन, खानेपानीको पनि उस्तै समस्या छ, न त कतै गएर पानी ल्याउन सक्ने सम्भावना छ, बाटो पनि छैन,” उहाँले भन्नुभयो, “विशेषगरी पहिरोले खानेपानीको स्रोत पुरिँदा चन्दनपुर, मानीखेल, टण्डनपुरवासीलाई समस्या भएको छ ।”      रामेछाप घर भई हाल जडीबुटी बस्दै आउनुभएकी प्रभा श्रेष्ठको धारामा पानी त आएको छ । तर धमिलो छ । “पानी धमिलो छ, छुन समेत घिन लाग्छ कसरी खानु ? पिउनका लागि जारकै पानी प्रयोग गरे पनि कपडा धुन, भाँडा सफा गर्न, नुहाउन पानीको समस्या छ”, उहाँ भन्नुहुन्छ ।       काठमाडौँ थापाथलीस्थित सुकुम्वासी टोलमा बस्ने बलबहादुर मोक्ताङको कहानी पनि उस्तै छ । पिउनसम्म त जारको पानी नै प्रयोग गर्नुहुन्छ तर सबै प्रयोजनका लागि जारको पानी प्रयोग गर्न गाह्रो भएपछि उहाँ धमिलै भए पनि बागमती नदीको पानी प्रयोग गर्नुहुन्छ ।  “खानका लागि जारको पानी प्रयोग गरेका छौँ तर लुगा धुन, भाँडा सफा गर्नलगायतका अन्य प्रयोजनका लागि बागमतीको पानी ल्याएर गुजारा गरेका छौँ,” उहाँ भन्नुहुन्छ ।       उहाँहरु त केही प्रतिनिधि पात्र मात्रै हुनुहन्छ । बाढी, पहिरोजस्ता विपद्ले थपिएको पीडा त छँदैछ । त्यसमाथि खानेपानी नपाउँदा जीवन गुजारा गर्न धौधौ हुने यस्ता थुप्रै पात्र हुनुहुन्छ । पानीको मुहान पुरिएको छ । पाइपलाइन क्षतविक्षत भएको छ । कतै मूल खोज्दै जाने बाटोसमेत छैन ।       गत शुक्रबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण राज्यले ठूलो धनजनको क्षति बेहोर्नुपरेको छ । नेपालीको महान् चाड दशैँ नजिकिँदै गर्दा यो प्राकृतिक विपद्को घटनाले दुई सयभन्दा बढीले कालमै ज्यान गुमाउनुप¥यो भने कतिको घर भत्किने, पुरिने हुँदा अब कसरी गुजारा चलाउने भन्ने चिन्ताले सताएको छ ।  विपद् प्रभावित क्षेत्रहरुका बासिन्दाले भोग्नुपरेको चरम खानेपानीको समस्या तत्काल समाधान गर्नुपर्ने दायित्व सरकारलाई थपिएको छ । पीडितले पानीविनाको जीवन कसरी कटाएका होलान् ? पानी नै पाए पनि कतै ढलसहित मिसिएको छ ? कतै धमिलो खोला छिरेको छ ? प्रभावित क्षेत्रका जनतालाई यतिबेला सफा खानेपानीको पहुँच अत्यन्त जरुरी छ ।        पहिरोका कारण अधिकांश स्थानमा खानेपानीको मुहान नै पुरिएकाले समस्या भएको बताउनुहुन्छ, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल०का प्रवक्ता प्रकाशकुमार राई ।  “वर्षाका कारण फर्पिङ हेल्थपोष्टदेखि फर्पिङ पम्पहाउससम्म आउने पेनस्टक पाइप र ललितपुरको नल्लुबाट चापागाउँ पानीपोखरीसम्म आउने पाइपमा ठूलो क्षति पुगेका कारण ललितपुरका अधिकांश स्थानमा पानीको समस्या भएको छ,” उहाँले भन्नुभयो, “धेरै ठाउँमा खानेपानीको स्रोत नै पुरिएको छ, मर्मतका लागि जाने बाटो पनि छैन ।”      उहाँका अनुसार खुमालटार क्षेत्रमा भने सुन्दरीजलको पानी ल्याएर वितरण गर्ने योजना छ । राईले गुणस्तरीय पानी उपलब्ध गराउन केयुकेएलले पानी प्रशोधनको प्रक्रिया अपनाएर वितरण गरेको भए पनि बीचमा पाइपलाइन बिग्रिएर फोहोर पानी छिरेको हुनसक्ने हुँदा पानी शुद्धीकरण गरेर मात्र प्रयोग गर्न अनुरोध गर्नुभयो ।  अधिकांश स्थानमा बाटो बिग्रिएको, हिलो जमेकाले गर्दा क्षतिको अवस्थाबारे अवलोकन गर्न र सुधारका लागि आवश्यक प्रक्रिया अपनाउन समेत गाह्रो भएको उहाँको भनाइ छ । “अहिले नै कति क्षति भयो भन्ने अवस्था छैन,” उहाँले भन्नुभयो, “चाँडोभन्दा चाँडो मर्मत गर्ने छौँ ।”      वरिष्ठ अधिवक्ता दिनेशमणि त्रिपाठीले अब सरकारले नागरिकको मौलिक हक प्रत्याभूतिका लागि पहल गर्नुपर्ने बताउनुभएको छ ।  “नेपालको संविधान २०७२ ले नागरिकको बाँच्न पाउने अधिकार प्रमुख हकका रुपमा राखेको छ,” उहाँले भन्नुभयो, “स्वच्छ खानेपानी पाउनु र स्वास्थ्यसम्बन्धी नागरिकको हक उपलब्ध गराएर उनीहरुलाई बचाउन राज्यलाई स्रोत साधन छैन भन्ने छुट अब हुन्न ।” उहाँले फोहोर पानीका कारण महामारी फैलने सक्ने खतरा भएकाले समयमा नै पहल गर्नुपर्नेमा जोड दिनुभएको छ ।       राहतमा खानेपानी वितरण गर्न माग       खानेपानी तथा सरसफाई उपभोक्ता महासङ्घ नेपालका अध्यक्ष राजेन्द्र अर्यालले बाढी पहिरोको कारण खानेपानीको चरम समस्या भोग्नेहरुलाई राज्यले खानेपानीको राहत वितरण गर्नुपर्ने बताउनुभएको छ ।  तत्कालका लागि खानेपानीको व्यवस्थापनमा समस्या रहेका स्थानहरुमा चाँडोभन्दा चाँडो खानेपानी राहत वितरण गर्न नसके सर्वसाधारणमा अर्को समस्या आइपर्ने उहाँको भनाइ छ ।       “बाढी पहिरोको जस्ता प्राकृतिक विपद् आएमा खानेपानी तथा सरसफाइको वैकल्पिक पूर्वतयारी हुन सकेन, अब विपद्पछि पनि समस्या पहिचान गरेर समयमा नै राहत उपलब्ध गराउन आवश्य छ,” अर्यालले भन्नुभयो, “समस्या भएको क्षेत्रमा चाँडोभन्दा चाँडोे काम गर्नका लागि हामीले पनि सरकारदेखि दातृ निकायसँग पनि कुरा गरिरहेका छौँ ।” बाढीका कारण धेरै उपभोक्ताहरुले प्रदूषित खानेपानी पिउनुपरेको भन्दै उहाँले स्वच्छ खानेपानी उपलब्ध गराउनका लागि पहल गर्नुपर्नेमा जोड दिनुभएको छ ।       प्रदूषित पानीले जनस्वास्थ्यमा गम्भीर प्रभाव पर्नसक्ने       जनस्वास्थ्यविद् डा समीर अधिकारीले विपद्को बेलामा स्वच्छ खानेपानी र सरसफाइको अभावका कारण सर्वसाधारणमा झाडापखालाजस्ता रोग लाग्नसक्ने बताउनुभएको छ ।  “बाढी, पहिरो, ढुबानपछि जनस्वस्थाका ठूला समस्या आउन सक्छ, फोहोर पानी पिउँदा पखला, टाइफाइड, छालारोग तथा अन्य दीर्घकालीन रोगसमेत लाग्न सक्छ,” उहाँले भन्नुभयो, “विपद्पछि पानीको स्रोत सफा गर्नुपर्छ, पानी उमालेर मात्रै प्रयोग गर्नुपर्छ ।”      स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनहितका लागि जारी गरेको सूचनामा विपद्को समयमा खानेपानी तथा सरसफाइमा विशेष ध्यान दिनुपर्ने र यस्तो समयमा विभिन्न किसिमका रोगहरूको सङ्क्रमण हुने सम्भावना अधिक रहने उल्लेख छ ।  “दूषित पानीबाट सर्ने रोग, लामखुट्टेको टोकाइबाट सर्ने रोगलगायत रोगहरूको सङ्क्रमण हुनेगर्छ । मन्त्रालयका अनुसार सडेगलेका, बासी र झिँगा भन्केका खानेकुराहरू नखाने, काँक्रो, गाजर, फलफूलजस्ता काँचै खान मिल्ने खानेकुरा सधैँ सफा पानीले धोएर खाने, खाना पकाउनुअघि, खाना खानुअघि, बालबालिकालाई खाना खुवाउनुअघि, फोहोर छोएपछि, दिसापिसाब गरेपछि, चर्पीको प्रयोग गरेपछि र बालबालिकाको दिसा धोएपछि साबुनपानीले मिचीमिची हात धुन लगाउनुपर्छ ।       चर्पीमा मात्र दिसापिसाब गर्ने गरौँ र बालबालिकाको दिसालाई पनि चर्पीमा नै विसर्जन गर्ने,  फोहरलाई सधैँ निश्चित ठाउँमा सही तरिकाले व्यवस्थापन गर्ने, खोक्दा, हाच्छिउँ गर्दा सफा कपडाले नाकमुख छोप्ने गर्ने, झाडापखाला, हैजा, आउँ, निमोनिया, रुघाखोकी तथा टाइफाइडका लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्ने मन्त्रालयका भनाइ छ ।  लामखुट्टेबाट रोग सर्ने सम्भावना अधिक हुने भएकाले वर्षाका कारण आसपासमा भरिएका पानीलाई हटाउने वा बगाइदिने, वर्षाका कारण भाडाहरुमा पानी भरिएका छन्भने त्यसलाई बगाइदिनुपर्ने मन्त्रालयले जानकारी गराएको छ ।       मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा जोड       खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ नेपालका अध्यक्ष राजेन्द्र अर्यालले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८१ को प्रभावकारी रुपमा कार्यान्वयनमा आउनुपर्नेमा जोड दिनुभएको छ ।  खानेपानी तथा सरसफाइ विषयगत क्षेत्रको बैठक आयोजना गरी बाढी, पहिरो एवं पानीजन्य विपद् जोखिमको नक्साङ्कन गर्नुपर्ने उहाँको भनाइ छ ।  कार्ययोजनामा उल्लेख भएअनुसार सरसफाइ र शुद्ध पानी पिउनका लागि जनचेतना अभिवृद्धि गर्ने, बाढी र पहिरोको जोखिमबाट ‘ल्यान्डफिल्ड साइट’ सुरक्षित गर्न आवश्यक तयारी गर्ने बाढी र पहिरोको जोखिमबाट क्षतिग्रस्त हुने सम्भावनालाई दृष्टिगत गरी वैकल्पिक ‘ल्यान्डफिल्ड साइट’ पहिचान गर्नुपर्ने अर्याल बताउनुहुन्छ ।       ‘खानेपानीका लागि अत्यावश्यक पाइपलगायत निर्माण सामग्रीको पर्याप्त मौज्दात राख्ने र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सम्बद्ध क्षेत्रसँग समन्वय गरी कार्य गरिनेछ,’ कार्ययोजनामा उल्लेख छ, ‘शुद्ध खानेपानी तथा सरसफाइसम्बन्धी जनचेतनामूलक सामग्रीको प्रचारप्रसारमा वृद्धि गर्ने, बाढी, डुबान र पहिरो जोखिमयुक्त बस्तीहरूमा चुन छर्कने र निःसङ्क्रमित गर्ने व्यवस्था मिलाइनेछ ।’      सरसफाइ, खानेपानी, चर्पी र हात धुने व्यवस्था मिलाउने, खानेपानी तथा सरसफाइ व्यवस्थापनलाई चुस्त राख्न आवश्यक मर्मतसम्भार गर्ने कार्ययोजनामा उल्लेख छ ।  बाढी, पहिरो प्रभावित क्षेत्रमा पानी शुद्धीकरण गर्न क्लोरिन वितरण गर्ने, डुबानको बेला पानीलाई कसरी पिउनयोग्य बनाउने भन्ने सीप विकासमा जोड दिने पनि कार्ययोजनामा व्यवस्था गरिएको छ ।  खानेपानी तथा सरसफाइका अवरुद्ध संरचनाहरूलाई अद्यावधिक राख्न आवश्यक सामग्रीहरूको सुनिश्चित गर्ने, प्रदेश सरकारसँग समन्वय गरी प्रत्येक प्रदेश राजधानी तथा जिल्लाहरूमा पर्याप्त मात्रामा खानेपानीका पाइपहरुको मौज्दात राख्नुपर्नेलगायत व्यवस्था गरिएको छ । 

काठमाडौं:     प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा आफूले गरेको सम्बोधन र त्यसक्रममा भएका दुईपक्षीय भेटवार्ता र कार्यक्रमबारे नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको बैठकलाई अवगत गराउनुभएको छ ।      प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घमा विगतको भन्दा नेपालको उपस्थिति र प्रस्तुति प्रभावकारी रहेको अवगत गराउँदै सो क्रममा विश्वका विभिन्न मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखसँग भेटवार्ता गरेको बताउनुभयो ।  सो दलका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिसहित विभिन्न मुलुकका राष्ट्राध्यक्ष तथा प्रधानमन्त्री र अन्य विशिष्ट व्यक्तिसँग भेटघाट भएको तथा कोलम्बिया र हार्वर्ड विश्वविद्यालयका कार्यक्रम अनुभव आदानप्रदानमा महत्वपूर्ण भएका बताउनुभयो ।      प्रधानमन्त्री ओलीले देशको स्वाभिमान र राष्ट्रियता उच्च पार्ने तथा नेपालको उपस्थिति ‘देखिने र सुनिने’ तुल्याउन आफूले संसद्मा गरेको सङ्कल्पबमोजिम काम गरेर स्वदेश फर्किएको बताउनुभयो ।  

काठमाडौं:    नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठकले रु ५० लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गर्ने निर्णय गरेको छ ।  मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रारम्भिक रुपमा रु एक अर्ब उक्त कोषमा दाखिला गर्ने निर्णय गरेको थियो । एमालेको सचिवालय बैठक लगत्तै अहिले सिंहदरबारमा एमाले संसदीय दलको बैठक सुरु भएको छ ।  बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा गम्भीर प्राकृतिक विपत्तिको स्थितिमा सबैलाई उद्धार तथा राहतका काम जुट्न आह्वान गर्नुभएको छ ।      प्रधानमन्त्री ओलीले पार्टीका सांसदहरुलाई आधा १५ दिनका पारिश्रमिक राहत कोषमा योगदानका लागि गर्नुभएको प्रस्ताव संसदीय दलबाट पारित भएको छ ।  प्रधानमन्त्री ओलीले बाढी, पहिरो, क्षति र उद्धारका सम्बन्धमा हालसम्म भएका प्रगतिबारे आज दिउँसो हुने पत्रकार सम्मेलनमा जानकारी गराइने बताउनुभयो ।      उहाँले बाढीपहिरो र प्राकृतिक विपद्बाट मुलुक आक्रान्त भएकामा आफूहरु सबै दुःखित भएको बताउँदै विपत्तिमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरूकोे शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो । सरकारले घाइतेहरुको यथोचित उपचार गर्ने जानकारी गराउनुभयो ।      “सरकारका तर्फबाट उद्धार र राहतको कार्यका साथै अवरुद्ध भएका राजगमार्गमा अस्थायी रुपमा बाटो खोल्ने कार्य भएका छन् । सुरुमा उद्धार र राहतका काम पर्याप्त भएनन् भन्ने गुनासो आएका थिए । कुनै गुनासाप्रति हामी प्रतिवाद गर्दैनौँ । जनतालाई परेको दुःख हामीलाई परेको दुःख हो । हामी जनताका सेवक हौँ । सेवाभावका साथ लाग्न म सबैलाई आग्रह गर्दछु,” प्रधानमन्त्री ओलीले भन्नुभयो । “राहत कोषमा सङ्कलन हुने रकमको सही सदुपयोग गरिनेछ ।”

काठमाडौं:     वर्षाका कारण देशका अधिकांश राजमार्ग तथा सडक भत्किँदा नेपालीहरुको महान् चाड दसैँको मुखमा यात्रा कष्टकर बनेको छ ।  दसैँका लागि पोकोपुन्तुरा बोकेर आफन्तसँगै रमाइलो गरी पर्व मनाउन हिँडेका यात्रु अहिले ठाउँठाउँका सडकमा अलपत्र छन् । कतिबेला घर पुग्ने हो ठेगान छैन ।  अन्य प्राकिृतिक विपत्तिले झ्याप्ले खोलामा आएको पहिरोमा नागरिक बिलाए झैँ हुने हो कि भन्ने त्रासमा यात्रा गर्न बाध्य छन् ।       यही असोज ११ गतेदेखि नै काठमाडौँको नागढुङ्गा हुँदै जाने सवारी साधन गन्तव्यमा जान सकेका छैनन् । सामान्य रुपमा सडकमा खसेको पहिरो हटाएर सवारी साधन कछुवाको गतिमा चल्न सुरु भएलगत्तै असोज १४ गते दिउँसोबाट रात्रिकालीन सवारी साधन काठमाडौँबाट छुटाउन थालिएको थियो । दसैँका यात्रु भरिभराउ ती रात्रिकालीन बस एकैचोटि निस्किए ।       राजमार्गमा सुस्त गतिमा मात्रै सवारी साधन चल्नसक्ने अवस्थामा यातायातको चाप अत्यधिक हुँदा र चालकको ‘ओभरटेक’ गर्ने पुरानै नराम्रो बानीले सडक खुले पनि जामको समस्या कायमै छ । यद्यपि बीचबीचमा पुनः पहिरो खस्ने क्रम जारी तथा ठाउँठाउँमा एकतर्फी सडकले जाम थपिएको छ ।      त्यसैले अब यात्रुहरुले यो दसैँमा घर पुग्न ठूलै युद्ध जिते झैँ हुने अवस्था रहेको चितवन जान लागेका यात्रु कृष्ण शर्माले बताउनुभयो । सोमबार राति ११ बजे नागढुङ्गा नाका हुँदै उपत्यका छाड्ने यात्रु बोकेका सवारी साधनहरु काठमाडौँको नैकापसम्म लाइन थियो ।  आज पनि ती सवारी साधन राम्ररी अघि बढ्न सकेका छैनन् । यस्तै, पूर्व र पश्चिम नेपाल जाने राजमार्ग पनि राम्ररी सञ्चालन हुन सकेका छैनन् । नेपाल  प्रहरीका अनुसार आज पनि २० भन्दा बढी ठाउँमा राजमार्ग अवरोध नै रहेको तथ्याङ्क छ । केही ठाउँमा पहिरो हटाउने र सडक खुलाउने काम पनि जारी छ । सडक यात्रा जोखिमपूर्ण रहेपछि अहिले हवाई यात्रुको सङ्ख्या थेगिनसक्नु भएको छ । नारायणगढबाट बुटवल हुँदै जाने सडकको दाउन्ने खण्डमा सडक भाँसिएका कारण उक्त खण्ड पनि पूर्णरुपमा बन्द हुँदा सवारी साधनको चाप थपिएको छ । बिपी राजमार्ग पनि क्षतविक्षत अवस्थामा रहेको प्रहरीले जनाएको छ ।       काठमाडौँ–नारायणगढ सडकका दर्जनौँ ठाउँँमा भत्किएको सडक गाडीको अत्यधिक चापका कारण राम्री सवारी साधन सञ्चालन हुने गरी सडक व्यवस्थापन गर्न सक्ने अवस्थासमेत छैन । हेर्दा कामचलाउका रुपमा मात्रै यातायात सञ्चालन गरिएको छ ।  सामान्य पानी परेको खण्डमा यातायात पूर्णरुपमा अवरुद्ध हुने अवस्था रहेको नेपाल प्रहरीका सहायक प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी बताउनुहुन्छ ।      समयमै गन्तव्यमा यातायातका साधन जान नसकेपछि यातायातको ‘चेन ब्रेक’ हुने अवस्थाले गर्दा यात्रुको चाप बढ्ने, यातायात अव्यवस्थित हुने, यात्रुको तँछाडमछाड हुने र त्यसले दसैँसम्म नै यात्रा कष्टकर हुनसक्ने देखिएको छ । यातायात व्यवस्था विभागले यही असोज १४ गतेदेखि देशभर बाटो इजाजत खुला गरेकाले अब गाडीको चाप झन् बढ्न थालेको छ ।       पानी पर्दै नपरेको खण्डमा दसैँ आसपाससम्म यातायात पूर्णरुपमा सहज पार्ने प्रयास जारी रहेको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता, सहसचिव ऋषिराम तिवारी अहिले कसरी हुन्छ रोकिएका यातायातलाई गन्तव्यमा पुर्याउने र यातायात सहज आवागमन पार्ने भन्नेमै सरकारको ध्यान रहेको बताउनुहुन्छ ।  उहाँले भन्नुभयो, “प्राथमिकताका आधारमा अत्यावश्यक र यात्रुवाहक साधनलाई पठाउने गरिएको छ, त्यसपछि खाद्यान्न, इन्धनलगायत बोकेका अत्यावश्यक सवारी साधनलाई प्राथमिकतामा राखेर व्यवस्था भइरहेको छ ।”      प्रवक्ता तिवारीका अनुसार केही ठाउँमा पहिरो गएको र झ्याप्ले खोलामा पनि एकतर्फी जस्तै छ । त्यसैले समस्या भएको उहाँले बताउनुभयो । अब दाउन्नेमा पनि एकतर्फी खुलेको र धादिङको पहिरो हटाइसकेका कारण यातायात आवागमन सहज बन्दै जाने उहाँले बताउनुभयो ।       उहाँका अनुसार अहिले बिहान ११ देखि १ बजेसम्म बीचबीचमा सवारी साधन रोकेर दुईतर्फी यातायात खुलाउने गरी काम अघि बढाउने निर्णय भएको छ । अबको केही दिनमा पुरानै अवस्थामा यातायात आवागमन सहज हुनेगरी व्यवस्थापन कार्यलाई तीव्रता दिइएको उहाँले बताउनुभयो । यो चाडपर्वमा १८ लाख मानिसले राजधानी छाड्ने अनुमान यसअघि नै गरिएको थियो ।      यही अवस्थामा गाडी लैजान सक्दैनौँ       नेपाल याातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला अब दसैँको बुकिङ नै बन्द गर्न लागिएको बताउनुहुन्छ । यो अवस्थामा कुनै हालतमा यात्रुलाई गन्तव्यमा लैजान नसकिने उहाँले राससलाई बताउनुभयो  ।       वरिष्ठ उपाध्यक्ष सिटौलाले भन्नुभयो, “विषम परिस्थिति, वर्षालगायत कारण राज्यले व्यवस्थापन गर्न सकिरहेको छैन, विपी राजमार्ग ठप्पै छ, त्यहाँ ६०० सवारी साधन रोकिएका छन्, चालक खान नपाएको भनेर आफूलाई फोन गरिरहेका छन्, दुवै पट्टि पहिरो गएर बीचमा जोखिमपूर्ण अवस्थामा गाडी अड्किरहेका छन्, हामीले खाना नै पुर्याउन सकिरहेका छैनौँ, सरकारले पनि सकेको छैन, अनि कसरी चलाउन सकिन्छ गाडी ?”      वरिष्ठ उपाध्यक्ष सिटौलाले नागढुङ्गाबाट बाहिर जान चार दिनअघिका गाडी बल्ल पठाइएको बताउनुभयो ।  “जाम जारी छ, धादिङ र दाउन्नेमा पहिरो खसिरहेकै छ, देशभरको सडक अस्तव्यस्त भएका कारण समस्या ठूलो छ, फेरि वर्षा हुने भनिरहेको छ, बीचमा रोकिएका गाडी र यात्रु जोखिममा परे, केही भए जिम्मा कसले लिन्छ रु वर्षा नहुँदा पनि सुक्खा पहिरो खसिरहेको छ, यातायात रोकिँदा अब हाम्रो सबै ‘सेडुअल’ बिग्रियो, अब हामीले टिकट बुक गर्न सक्ने अवस्था छैन, यदी गाडी समयमा आउने अवस्था नरहे यात्रुका पैसा फिर्ता गर्नेछौँ ।”       वर्षाका कारण विपत्तिको सङ्कटग्रस्त क्षेत्र घोषण गर्न ढिला गर्न नहुनेमा उहाँले सरकारलाई सुझाव दिनुभयो । मान्छेको ज्यान बचाउन राज्यले ध्यान दिनुपर्छ भन्दै सिटौलाले दसैँ पछि पनि मनाउन सकिने भएकाले अहिले ख्याल गर्नुपर्ने बताउनुभयो ।  आज पनि बिहान ११ बजेदेखि गाडी रोक्न अनुरोध आएको सुनाउँदै उहाँले एक ठाउँमा भए गाडी रोकौँला पन्छाएपछि सहज जाउँला भन्ने हुन्छ, जताततै भत्किएको अवस्थामा सहज सञ्चालन हुने अवस्था नै नरहेको उहाँले सुनाउनुभयो । पहिरोको त्रास कायमै रहेको अवस्थामा बेलैमा सरकारले निर्णय गरोस् भन्ने आफूहरुको माग रहेको उहाँले बताउनुभयो ।      ‘अहिले घर जान हतार नगरौँ’      यातायात क्षेत्रका विज्ञ आशिष गजुरेल अहिलेको अवस्थामा यातायात सहज बनाउन सकिने अवस्था छ भने सहज बनाउने, होइन अवस्था जटिल छ भन्ने देखिएको त्यो सडक बन्द नै गरेर काम गर्नुपर्ने बताउनुहुन्छ ।  उहाँले भन्नुभयो, “कहाँ–कहाँ व्यवस्थापन गर्न सकिन्छ गर्ने र सुधार गर्नसक्ने ठाउँमा सुधार गर्नुपर्छ, तत्काल व्यवस्थापन गर्न सकिँदैन भने बन्द नै गर्नुपर्छ, दसैँ छ भनेर जोखिममा यात्रा गराउनु हुन्न ।”      अहिले पनि सडकमा पहिरो खस्ने र ढुङ्गा खस्ने क्रम जारी रहेको उल्लेख गर्दै उहाँले सुधार गरेर सञ्चालन गर्दा जोखिम छैन भन्ने लागेको क्षेत्रमा सञ्चालन गर्ने तर सडक व्यवस्थापनमा समय लाग्ने छ भने हतार गर्न नहुने सुझाव दिनुभयो ।  “दसैँमा यात्रुको चाप छ भनेर ज्यानको जोखिम राखेर सवारी साधन सञ्चालन गर्नु भएन”, उहाँले भन्नुभयो, “त्यसैगरी सञ्चालन गर्दा झ्याप्ले खोलामा त्यती ठूलो घटना भयो, गाडी नचलाउ भन्दाभन्दै चलाएका कारण झ्याप्ले खोलामा घटना भएको थाहा नै छ ।”      उहाँका अनुसार जहाँ पनि सडक खनेको ठाउँमा सानो ठूलो पहिरो खसरिहेको र यसले जोखिम कायम छ भनेर देखाउँछ । आगामी दिनमा पनि ठूलो क्षति गराउन सक्ने उहाँको भनाइ छ ।  “यो अवस्थामा जबरजस्ती गरेर घर जानलाई हतार गर्नु हुँदैन, ज्यान रह्यो भने दसैँ त फेरि पनि मनाउन पाइहालिन्छ”, गजुरेलले भन्नुभयो, “यात्रुले पनि जबरजस्ती जान नखोजौँ, सरकारले पनि जोखिम छ भनेर यकिन भएको ठाउँमा गाडी जान रोक्नैपर्छ ।”

काठमाडौं:    गृहमन्त्री रमेश लेखकले बाढीपहिरामा परी देशभर दुई १८ जनाको मृत्यु, २७ बेपत्ता र एकसय ४३ जना घाइते भएका जानकारी दिँदै विपद्पछिको प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पार्नुभएको छ  ।  प्रतिनिधिसभा राज्यव्य तथा सुशासन समितिको आजको बैठमा उहाँले विपद्मा परेका नागरिकको खोज तथा उद्धार र राहतमा सरकार केन्द्रित भएको बताउनुभयो ।  उहाँले घाइतेको निःशुल्क उपचार र पहिरोका कारण अवरुद्ध मुख्य राजमार्ग र सहायक राजमार्ग खोलेर आवागमन सहज बनाउनेतर्फ सरकार केन्द्रित भएको जानकारी दिनुभयो ।  “खोज तथा उद्धार जारी छ । राहत सामग्री वितरणको कार्य पनि जारी छ । सरकारी अस्पतालमा घाइतेको निःशुल्क उपचार भइरहेको छ । राहत सामग्री परिचालन र  पुनःस्थापनालाई प्रभावकारी बनाउन जिल्ला विपद् व्यवस्थापन समिति सक्रियतापूर्वक लागेका छन्”,उहाँले भन्नभुभयो ।      बैठकमा गृहमन्त्री लेखकले बाढीपहिरामा परी देशभर दुई १८ जनाको मृत्यु, २७ बेपत्ता र एकसय ४३ जना घाइते भएका जानकारी दिनुभयो । नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी बल नेपाल र स्वयम्सेवकले विपद्मा फसेका चार हजार २२ जनाको उद्धार गरेका उहाँले बताउनुभयो ।      पचास वर्षपछि भारी वर्षा भएको जानकारी दिँदै उहाँले काठमाडौँ उपत्यका र बागमती प्रदेश बढी प्रभावित भएको बताउनुभयो । उद्धारमा नेपाली सेनाका तीन हजार नौ सय ६, नेपाल प्रहरीका १४ हजार आठ सय २ सशस्त्र प्रहरीका १२ हजार २३ जनशक्ति विपद्पछि खोज र उद्धारमा खटिएका उहाँले जानकारी दिनुभयो ।

काठमाडौं:     ठूलो विपत्तिको सामना गरेर केही दिन खुलेको मौसममा आजदेखि कोशी प्रदेशबाट फेरि बदली सुरु भएको छ ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशीमा बादलले ढाकिसकेको र त्यसको असर कोशीसहित मधेश प्रदेश, बागमती र गण्डकीसम्म देखिने जनाइएको छ ।  मौसमविद् प्रतिभा मानन्धरले भन्नुभयो, “बादल लाग्ने र हल्कादेखि मध्यम वर्षा हुने छ । विशेष गरी कोशी प्रदेशमा हल्का र मध्यम वर्षा हुने छभने मधेश, बागमती र गण्डकी प्रदेशसम्मै फैलिने छ, सुदुरपश्चिम, कर्णाली र लुम्बिनीमा कम नै छ ।” यो असर भोलि र पर्सीसम्मै रहने जनाइएको छ । तर ठूलो अनि लगातारको वर्षा भने नहुने उहाँले बताउनुभयो ।  तर यसअघिको वर्षाले देशका सबै भूभाग गलेको हुँदा थोरै पानी पर्दा पनि बाढीपहिरोको सम्भावना रहेको जनाइएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।  भारतको मध्य प्रदेश र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको उहाँले बताउनुभयो । आज राति कोशीलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने छ र हल्कादेखि मध्यम वर्षा पनि हुने जनाइएको छ । असोज १६ गते कोशी, मधेश प्रदेश र बागमती र गण्डकी प्रदेशमा बदली भई हल्कादेखि मध्यम वर्षा हुने छ ।  असोज १७ गते पनि सोही अवस्था रहेको विभागले जनाएको छ । कोशी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको विभागले सार्वजनिक गरेको बुलेटिनमा जनाइएको छ ।

सिन्धुली:    सिन्धुलीको सुनकोशी गाउँपालिका–१ नेपालथोकका सुन्दर  फाँट पाकेको धानले पहेँलपुर देखिएको थियो । लहलह झुलेर सुनौलो देखिएका धान भित्र्याउन किसानले खेतला खोजिसकेका थिए । गत शुक्रबार र शनिबार रोशी खोलामा आएको बाढी धान फाँटमा पस्यो । बाढीसँगै आएको लेदो माटो, गेग्रानले खेतै बगर बनाइदियो । दसैँअघि थन्क्याई सक्ने तयारी गरिएको धान बालीसहित उब्जाउ हुने खेत बगरमा परिणत भएपछि किसान निराश छन् । जग्गा भाडामा लिएर २२ रोपनीमा लगाइएको धान भित्र्याउने बेलामा बाढीले सखाप पारेपछि भोक, निद्रा हराएको किसान केशवसिंह श्रेष्ठको दुःखेसो छ ।  “जेठ २९ गते रु ८० हजार खर्च गरेर रोपेको धान पाकेपछि बाढीले खायो, दुःख गर्ने हामीले खान पाएनौँ । सात जनाको परिवार छ, अब के खुवाएर पाल्ने रु चिन्ता मात्र लाग्छ, चार दिनदेखि भोक, निद्रा छैन”, भन्नुभयो । किसान श्रेष्ठले २२ रोपनीबाट एक सय मुरी धान भित्र्याउने गर्नुभएको थियो । यस वर्ष एक दानो भित्र्याउन नपाई बाढीले सखाप बनायो । सुनकोशी–१ गोइरीकी कृष्णमाया तोलङ्गेले बाढी खेतमा पसेपछि एक दानो धान भित्र्याउने अवस्था नरहेको बताउनुभयो । तीन रोपनीमा लगाएको पाकेको धान, रोपाइँ खर्च, बीउ, मल, परिश्रम सबै खेर गएको उहाँले सुनाउनुभयो । बाढीले बगाएको धान खेत हेर्दै गणेश श्रेष्ठ भक्कानिनुभयो । सुनकोशी–१ गजुलीदह बस्ने किसान श्रेष्ठको मुख्य पेसा कृषि नै हो । यसैबाट निर्वाह भएको थियो, पाँच जना परिवारको जीवन । पाकेको धानसहित पाँच रोपनी खेत बगर बनाएपछि उहाँलाई यतिबेला चिन्ता बढेको छ ।  नेपालथोकका किसानलाई मात्रै होइन, बाढीले खोला र नदी आसपासका धान खेत कतै कटान गरेको छ त कहीँ ढालेर सोतर बनाएको छ भने कतै बालुवा, माटो, ढुङ्गा र मुढाले पुरेर उराठिलो बगर बनाइदिएको छ । सुनकोशी गाउँपालिकाभित्रको क्षेत्रमा मात्रै तीन सय बिघामा लगाइएको धान बाली बाढीले नष्ट गरेको उपाध्यक्ष कपिलकुमार कोइरालाले बताउनुभयो ।   गोलञ्जोर गाउँपालिका क्षेत्रमा भित्र्याउने बेला भएको ३० बिघाको धान बाली क्षति भएको उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेको आकलन छ । सुनकोशमा आएको बाढीले विशेषगरी गोलञ्जोर–७ को बेसीँफाँट, वडा नं ६ को बलेनी, हैवारी क्षेत्र, वडा नं २ को कुखुरेटार, ३ नं वडाको मुर्गी, दिङदिङबेँसी र वडा नं १ को च्याखुटारबेँसीको धान फाँटमा क्षति गरेको उहाँले बताउनुभयो ।   हरिहरपुरगढी गाउँपालिकामा वाग्मती नदीमा आएको बाढीले बस्तीपुर फाँट, कुर्ले फाँट, भिसापानी फाँट, श्रीपुर फाँटलगायत स्थानका धान बाली सखाप बनाएको छ । हरिहरपुरगढी–१, २ र ३ वडाको खेतीयोग्य जमिन कटान भएको छ । पालिका अध्यक्ष बज्रध्वज वाइबाका अनुसार यहाँका चार सय ६५ हेक्टर खेतीयोग्य जमिन नदीले कटान गरेसँगै धान बालीमा क्षति भएको छ । भर्खर पसाएको धान बाढीले जमिनसँगै कटान गरेपछि किसान दुःखी छन् । बालुवा, माटो, ढुङ्गा र मुढाले पुरेको, च्यापिएको धानको बाला हेर्दै यहाँका किसान अधिकांश समय पुर्पुरोमा हात राखेर बस्छन् । मन बुझाउने विकल्प भेट्दैनन् । किसानलाई सरकारसँग पनि केही आशा छैन ।  जिल्लाका नौवटै पालिकाका खेतीयोग्य जमिन र धान बालीमा ठूलो क्षति भएको कृषि विकास कार्यालयकी कृषि प्रसार अधिकृत उमादेवी श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “तीन दिनको अविरल वर्षासँगै आएको हुरी र बाढीपहिरोले जिल्लाको सबै पालिकाको धान बालीमा असर गरेको छ । खोला र नदीमा आएको बाढीले खेतीयोग्य जमिन कटान भएका छन् ।” कुन पालिकामा कति परिणाममा क्षति भयो भन्ने यकिन तथ्याङ्क आइसकेको छैन । सयौँ हेक्टरको धान बालीमा क्षति पुगेको आकलन छ । क्षति विवरण सङ्कलन भइरहेको उहाँले बताउनुभयो । क्षति विवरण यकिन भएपछि सोही आधारमा किसानलाई राहत तथा क्षतिपूर्तिका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने उहाँ बताउनुहुन्छ । कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार यस वर्ष सिन्धुलीको ११ हजार एक सय ८८ हेक्टरमा किसानले धान बाली लगाएका थिए ।