मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष डुकके विष्टको ७५ वर्षको उमेरमा निधन भएको छ ।   लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष विष्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको गाउँपा...

सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार अपराह्न १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ ।   आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले सोध्नुभएको प्रश्नको जवाफ दिनुहुने कार्यसूची छ ।   यस्तै, सभामुख देवराज घिमिरेले ‘राष्ट्रियसभामा उत्पति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुहुनेछ ।   त्यस्तै, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्भौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।   त्यस्तै, आजै तीन वटा संसदीय समितिको बैठक बस्दैछ । सार्वजनिक लेखा समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।   लेखा समितिमा ‘जगदुल्ला जलविद्युत् आयोजनाको निर्माणसम्बन्धी उजुरीउपर छलफल’ हुनेछ । यस्तै, नेपाल सरकारका सचिवसँग गर्ने संयुक्त बैठकको मिति निर्धारण गर्ने प्रस्ताव छ ।   विधायन व्यवस्थापन समितिमा ‘जलस्रोत विधेयक, २०८१ माथि दफावार’ छलफल गर्ने कार्यसूची छ ।   सङ्घीयता सबलीकरण समितिमा ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानका लागि भएका प्रयास र समितिसँगको अपेक्षाका बारेमा छलफल हुनेछ । रासस

रुकुम पश्चिममा भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन् ।    जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै गरेको रा१क १५०१ नम्बरको टिपर रुकुमपश्चिमको आठबीसकोट नगरपालिका-१४ पिपलचौरस्थित मंगलबार राति  भेरी नदीमा खसेको टिपर भेरी नदीमा खसेको हो ।   टिपरमा चालकसहित तीन जना सवार रहेका थिए । उनीहरुको अवस्था अज्ञात रहेको छ ।

काठमाडौं:  प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना २ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जनवादी गणतन्त्र चीनको ६ दिने औपचारिक भ्रमणमा जानुभएको छ । मङ्गलबार राति उहाँ चाइना साउर्दन एयरलाइन्सको उडानबाट चीनको हेनान प्रान्ततर्फ प्रस्थान गर्नुभएको सङ्घीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो । उपसभामुख राना नेतृत्वको प्रतिनिधिमण्डलमा सङ्घीय संसद् सचिवालयका उपसचिव जगदिश न्यौपाने सम्मिलित हुनुहुन्छ । चीनको हेनान प्रान्तमा साउन ७ गतेदेखि ११ गतेसम्म आयोजना हुने साङ्घाई कोअपरेशन फोरम मिडिया एण्ड थिङ्क ट्यांक समिटमा सहभागी हुन उपसभामुख राना त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।  सो कार्यक्रममा उहाँले सम्बोधन गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा उपसभामुख रानाले हेनान प्रान्तका अधिकारीसँग भेटघाट गर्नुका साथै सोही प्रान्तमा अवस्थित झेङ्झाउ सहरलगायत विभिन्न स्थानको अवलोकन भ्रमणसमेत गर्नुहुनेछ । उपसभामुख राना यही साउन ११ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

गलकोट:   अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ ।  राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोरको बागलुङ खण्डस्थित बागलुङ नगरपालिका–१० दब्ल्याङमा गए राति पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वसन्त पाण्डेले जानकारी दिनुभयो । उक्त खण्डमा आज बिहानदेखि यातयात सञ्चालन ठप्प भएको छ ।  वर्षाका कारण कालीगण्डकी करिडोरको बलेवा खण्डको छहरेमा सडक अवरुद्ध भएको छ ।  अवरुद्ध सडक खुलाउन कालीगण्डकी करिडोर आयोजनासँग समन्वय भइरहेको सूचना अधिकारीले पाण्डेले बताउनुभयो । करिडोरसँगै बलेवा–कुशिमसेरा सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

काठमाडौं:  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवस आज देशभर मनाइँदै छ ।  नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत कम्युनिष्ट पार्टीले विविध कार्यक्रम गरी दिवस मनाउन लागेका छन् । विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिनुभएका पुष्पलाल श्रेष्ठले नै कार्लमाक्र्स र फेडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिष्ट मेनिफेस्टो’ (कम्युनिष्ट पार्टीको घोषणापत्र, सन् १८४८) को पहिलो पटक नेपाली भाषामा अनुवाद गर्नुका साथै पहिलो पटक विभिन्न कृति र लेखमार्फत नेपाली समाजको वर्ग विश्लेषण गरेर नौलो जनवाद स्थापनाका लागि आह्वान गर्नुभएको थियो । त्यसैले पुष्पलाललाई नेपालका कम्युनिष्ट पार्टीले नेपालको कम्युनिष्ट आन्दोलनको पिताको रुपमा मान्ने गर्दछ । पार्टीको घोषणापत्रमा पुष्पलालले नेपाली क्रान्ति, नौलो जनवादको बाटोबाट अघि बढ्नुपर्ने कुरा अघि सार्नुभएको थियो । कम्युनिष्ट घोषणापत्र लेखेपछि उहाँकै नेतृत्वमा २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना भएको हो । भारत, कलकत्तास्थित श्यामबजारको एक बङ्गालीको घरमा नेकपा पार्टी स्थापनाको घोषणा भएको थियो । नेकपाको पुष्पलाल संस्थापक महासचिव हुनुहुन्थ्यो । नेकपाको स्थापना कालमा पुष्पलाल, नरबहादुर कर्माचार्य, नीरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठ रहनुभएको थियो । एमालेका स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानले पुष्पलालले नेपालको कम्युनिष्टलाई एकीकृत गरेर नेपालमा कम्युनिष्टको विजारोषण गरेको बताउनुभयो । उहाँले पुष्पलालले विसं २०२७ मा अगाडि सारेको विचारलाई २० वर्षपछि नेपालका राजनीतिक दलले अनुशरण गरेको बताउनुभयो । “पुष्पलालले विसं २०२७ मा नेपालमा प्रजातन्त्र पुनःबहालीका लागि नेपाली कांग्रेससँग कार्यगत एकता गरेर जानुपर्दछ भन्नुभएको थियो, हामी उग्रपन्थी थियौँ, कांग्रेससँग मिल्ने भनेर हामीले पुष्पलाल दक्षिणपन्थी भनेर आलोचित गरेका थियौँ”, नेता न्यौपानेले भन्नुभयो, “जनमत सङ्ग्रहपछि हामीभित्र पनि उग्रपन्थ कम हुँदै भयो, २०४५ सालमा पुष्पलालले अगाडि सारेको कुरालाई नेपालमा रहेको प्रजातान्त्रिक पार्टीले मोर्चा नबनाइकन राजालाई ठाउँमा पनि ल्याउने सकिदैन र पञ्चायतको पनि अन्त्य गर्न सकिदैन भन्नेमा हामी पनि पुग्यौँ ।” सोही निर्णयका आधारमा २०४६ सालमा नेपाली कांग्रेससँग मोर्चा बनाउने निर्णय भएको उहाँको भनाइ छ । सोही मोर्चाकै कारण नेपालमा प्रजातन्त्रको पुनःबहाली भएको उहाँले उल्लेख गर्नुभयो । माओवादी केन्द्रका सचिव राम कार्कीले पुष्पलालले कम्युनिष्ट आन्दोलनलाई नेपालभित्र सुरुवात गर्ने नेताको रुपमा रहनुभएको बताउनुभयो । पुष्पलालले नेपालको कम्युनिष्ट पार्टीको घोषणापत्रमा नेपाली समाजको विशेषतालाई उजागरण गर्नमा प्रयास गरेको भन्दै उहाँ सैद्धान्तिक र वैचारिक रुपमा नेपाललाई बाटो देखाउने काम गरेको बताउनुभयो । “पुष्पलालले कम्युनिष्ट र कांग्रेस मिलेर प्रजातन्त्र ल्याउनुपर्छ भन्नुहुन्थ्यो, उहाँकै नीतिअनुसार नै मुलुकमा कम्युनिष्ट र कांग्रेस मिलेर प्रजातन्त्र आएको हो”, उहाँले भन्नुभयो । नेकपा ९एकिकृत समाजवादी० का नेता डा बेदुराम भुसालले पुष्पलालले नै नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गरेको बताउनुभयो । पुष्पलालले गठन गरेको कम्युनिष्ट आन्दोलनलाई एकता गर्न सकेमात्र उहाँप्रति सच्चा श्रद्धासुमन हुने उहाँको भनाइ छ । “कम्युनिष्ट पार्टीबीच एकता विभाजन भए पनि अब फेरि पनि एकताबद्ध बनाउन आवश्यक छ”, उहाँले भन्नुभयो । पुष्पलालको स्मृति दिवसको अवसरमा नेकपा (एकीकृत समाजवादी) ले कीर्तिपुर नगरपालिका–४ चम्पादेवीस्थित पुष्पलाल उद्यानमा श्रद्धाञ्जलीसभा, अन्तरक्रिया, ग्रन्थ विमोचनलगायत कार्यक्रम गर्ने जनाएको छ । पार्टीले मातहतका सबै जिल्ला कमिटीलाई स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउन निर्देशन दिएको छ । पुष्पलालको २०३५ साउन ७ गते भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

सुर्खेत:  गएराति भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन् ।  जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै गरेको भेरी करिडोरको काम गर्दै आएको यती विल्डर्सको रा१क १५०१ नम्बरको टिपर रुकुमपश्चिमको आठबीसकोट–१४ पिपलचौरस्थित भेरी नदीमा खसेको हो । इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायब निरीक्षक शिउकुमार चौधरीका अनुसार टिपरमा चालकसहित तीन जना सवार रहेका थिए । उनीहरुको अवस्था अज्ञात रहेको छ । बेपत्ताको खोजीमा रुकुमपश्चिम र जाजरकोटको प्रहरी टोली परिचालन गरिएको प्रहरी नायब निरीक्षक चौधरीले बताउनुभयो ।  भेरी नदीमा पानीको मात्रा अत्यधिक भएकाले बेपत्ताको खोजी गर्न कठिनाइ भइरहेको उहाँले बताउनुभयो । बेपत्ता भएकाहरुको नाम ठेगाना केही खुल्न नसकेको प्रहरीले जनाएको छ ।

पोखरा:  राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (निफ)को आयोजनामा पोखरामा आदिवासी जनजाति महिला तथा किशोरीका अधिकार सम्बन्धी आधारभूत सिफारिस संख्या (जिआर)–३९ सम्बन्धी दुईदिने तालिम सुरु भएको छ ।  भोलिसम्म सञ्चालन हुने तालिम राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (निफ) केन्द्रिय समितिको आयोजना र गण्डकी प्रदेश प्रदेश समन्वय परिषद्को समन्वयमा तालिम सुरु भएको हो । दुईदिन सम्म सञ्चालन हुने तालिममा गण्डकी प्रदेशका ५५ जना महिलाहरुको सहभागिता रहेको छ ।  तालिमको उद्घाटनपछि बोल्दै गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङले समाजमा मिलेर प्रगति गरेको देख्न नसक्ने तत्व बाहेकले अहिलेको संविधानको गलत व्याख्या गर्न नसक्ने बताए ।  ‘हिजो जसले अरुको अधिकार छिनेर खोसेर शासन व्यवस्थामा रमाएका मान्छे वा समाज भित्र सबै खाले जातजाति, सबै खाले उत्पीडनमा परेका समुदायले अधिकार प्राप्त गरेको देख्न नसक्ने र समाजमा मिलेर प्रगति गरेको देख्न नसक्ने दुइटा तत्व बाहेकले अहिलेको संविधानको बारेमा गलत ब्याख्या गर्न सक्दैन ।’, अर्थमन्त्री गुरुङले भने ।  अर्थमन्त्री गुरुङले मुलुकभित्र रहेका सबैलाई राज्य मेरो हो, राज्यप्रति अपनत्व कायम गर्न संविधानको गलत व्याख्या गर्न नहुने समेत बताए ।  ‘आज जुन तीनतहको सरकार छ, संविधानले परिकल्पना गरको छ मुलुक भित्र रहेका सबै खाले जातजाति, भाषालाई राज्य मेरो हो, राज्यप्रति अपनत्व कायम गर्न पर्छ समर्ग मुलुक निर्माण सबैको सहभागिता, सबैको समावेशिता सबैले समानुपातिक हिसावले प्रतिनिधित्व गर्न पर्छ भन्ने यो उत्कृष्ट संविधानको नकारात्मक व्याख्या गर्नतीर लाग्न हुँदैन ।’ उनले भने ।  गण्डकी प्रदेशमा मगर र गुरुङ भाषाालाई सरकारी कामकाजमा प्रयोग गर्न सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक २०८१ सर्वसम्मत पारित भएकाले छिटै कार्यान्वयनमा लैजान प्रदेश सरकार प्रतिवद्ध रहेको समेत बताए ।  गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले गण्डकी प्रदेश सभामा मगर र गुरुङ भाषालाई सरकारी कामकाजका लागि बनेको विद्येयक पास भइसकेकाले गण्डकी प्रदेशमा घरेलु मदिरा व्यवस्थापन गर्न बनेको विद्येयक  पनि छिटै पास हुने बताईन् । उनले महिला विरुद्ध हुने सबै प्रकारको भेदभाव उन्मुलन सम्बन्धी महासन्धीको सिफारिस नम्बर ३९ गण्डकी प्रदेश सभामा समेत उठाउने बताईन् ।  तालिमकी प्रशिक्षक एवम् त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक प्रतिमा गुरुङले यो तालिम आदिवासी जनजाति महिला मात्र नभएर सबै लागि महत्वपूर्ण रहेको बताईन् ।  ‘हामी आदिवासी जनजाति भन्दै गर्दा हामी आदिवासी जनजाति भित्रपनि आदिवासी महिला छौं, आदिवासी महिलासँग जोडिएको उसको भाषा, धर्म, संस्कृति पहिचान, पहिचानसँग जोडिएको शैक्षिक, राजनैतिक, आर्थिक यो सबै अधिकार नेपालको संविधानले चाहि बोल्दैन नेपालको संविधानले बोल्न नसकेको आवाज चाँहि महिला विरुद्ध हुने सबै प्रकारको भेदभाव उन्मुलन सम्बन्धी महासन्धीको सिफारिस नम्बर ३९ ले आदिवासी र किशोरी भनेर बोल्छ यसकारण पनि यो कार्यक्रम महत्वपूर्ण छ ।’ कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य रेखा गुरुङ, राजकुमारी भुजेल, तमु ह्युल छोंज धीं का केन्द्रिय उपमहासचिव विष्णु गुरुङ, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ गण्डकीका सल्लाहकार पूर्ण लामा, सल्लाहकार श्याममाया पुन मगर, आदिवासी जनजाति महासंघका केन्द्रिय उपाध्यक्ष स्रुति कुमाल, राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चको प्रदेश संयोजक माया गुरुङ भुजेल, नेपाल तामाङ घेदुङ कास्कीका अध्यक्ष भक्त तामाङ  लगायतले बोल्नु भएको थियो ।   कार्यक्रम राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (निफ) केन्द्रिय समितिका उपाध्यक्ष कल्पना भट्टचनको अध्यक्षता, कोषाध्यक्ष देउ छन्त्यालको स्वागत र निफ गण्डकी प्रदेश समन्वय परिषद्का सचिव मिलन भुजेलको सञ्चालनमा सम्पन्न भएको थियो । कोशी प्रदेशमा सम्पन्न भइसकेको तालिम गण्डकी पछि मधेश प्रदेशमा सञ्चालन हुनेछ । 

झापाः  राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा। महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक दुई लाख १८ हजार प्रति बिक्री भएको छ । केन्द्रको सहयोगार्थ पुस्तक बिक्रीका लागि विर्तामोड आउनुभएका डा पुनले उक्त जानकारी दिनुभएको हो । उहाँले पुस्तक बिक्रीबाट १२ करोड रुपैयाँ राष्ट्रिय आविष्कार केन्द्रको खातामा जम्मा भइसकेको बताउनुभयो । उहाँको पुस्तकको मूल्य सात सय ५० रुपैयाँ छ । उक्त रकमलाई उहाँले केन्द्रले सञ्चालन गर्दै आएको वीरगञ्ज औजार कारखाना र आविष्कार गतिविधिमा खर्च गरिने जानकारी दिनुभयो । पुस्तक बिक्रीका लागि एक सातादेखि झापामा रहनुभएका उहाँलाई संस्थागत र व्यक्तिगत रूपमा आमन्त्रण गरेर पुस्तक किन्ने क्रम बढिरहेको छ । विर्तामोड नगरपालिकाले सोमबार एक कार्यक्रम आयोजना गरी केन्द्रको सहयोगार्थ ५० हजार रुपैयाँ मूल्य बराबरको पुस्तक खरिद गरेको छ । नगरउपप्रमुख पवित्रा महतरा प्रसाईँले मुलुकलाई आत्मनिर्भर बनाउन पुनको अभियान प्रशंसनीय भएकाले उहाँको पुस्तक किनेर सहयोग गर्न पाउँदा गर्व लागेको बताउनुभयो । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेन्द्र गिरीले वैज्ञानिक महावीर पुनको देशप्रेम र लगनशीलता अनुकरणीय रहेको चर्चा गर्दै उहाँको पुस्तक किनेर मुलुकलाई आत्मनिर्भर बनाउन योगदान पुर्‍याउनुपर्ने बताउनुभयो । विर्तामोड, दमक, बाह्रदशी, विर्तामोड, बुद्धशान्तिलगायतका पालिकामा स्थानीय सामाजिक संस्था र युवाहरूको अगुवाइमा उहाँको किताब किन्ने अभियान सञ्चालन भइरहेको छ । विर्तामोडमा सोमबार आयोजित कार्यक्रममा डा पुनले सामाजिक सञ्जालमा नेताहरूलाई गाली गरेर मात्र नबस्न युवाहरूलाई आग्रह गर्नुभयो । “देशका लागि आ-आफ्नोतर्फबाट सानो भए पनि योगदान गर्नुपर्छ”, उहाँको भनाइ थियो, “सामाजिक सञ्जालमा नेताहरूलाई गाली गरेर मात्र हुँदैन ।” उहाँले राष्ट्रिय आविष्कार केन्द्रमा हाल १५ प्रकारका कृषि औजार उत्पादन भइरहेको जानकारी दिनुभयो । ती उपकरण भविष्यमा पालिकाका साना किसानका लागि लाभदायक हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

काठमाडौं:   प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४३औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उहाँले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको छ । कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते भएको हो । विसं २०१५ को संसदीय निर्वाचनपछि विसं २०१६ जेठमा उहाँ पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । उहाँका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाई’ र ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् । उहाँका दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’ प्रकाशित छन् । वरिष्ठ अधिवक्ता स्व गणेशराज शर्मासँगको वार्तामा आधारित ‘आत्मवृत्तान्त, सुन्दरीजल बन्दी गृहमा बस्दाको दैनिकीमा आधारित ‘जेल जर्नल’, विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिइ स्वदेश फर्केपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सिधैँ सुन्दरीजल बन्दीगृहमा लगिएपछि लेखिएको दैनिकी ‘फेरि सुन्दरीजल’ नेपालको तत्कालीन राजनीतिक अवस्थाको यथार्थ चित्रण गरेको छ । ज्ञाननिष्ठ ज्ञवालीको सम्पादनमा प्रकाशित सिसार पत्रिकामा ‘साहित्यमा प्रगतिशीलता’ विषयक कोइरालाको निबन्धलगायत रचना पनि प्रकाशित छन् । जीवनको लामो समयसम्म कांग्रेसको नेतृत्व गरी २०१५ सालको आमनिर्वाचनमा पार्टीले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नुभयो । प्रधानमन्त्रीत्वकालमा उहाँले बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’भन्ने भूमिसुधार कार्यक्रम अगाडि बढाउनुभयो । विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइएको थियो । विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेलमुक्त हुनुभएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताउनुभएको थियो । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ वटा ज्यान मुद्दाको प्रर्वाह नगरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ उहाँ स्वदेश फर्कनुभएको थियो । उहाँले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक छ । प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता कोइरालाले स्वतन्त्र रूपमा चिन्तन, आयाम, परम्परा र शैली दिएर साहित्यका माध्यमबाट नेपाली वाङ्मयलाई शिखरमा पुर्‍याउन योगदान दिनुभयो । प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री, संसद्का सभामुख एवं मन्त्रीहरूलाई बन्दी बनाइएको सुन्दरीजल बन्दी गृहलाई विसं २०६१ भदौ २४ गते बिपी सङ्ग्रहालयका रुपमा उद्घाटन गरियो । बिपीको जीवनका महत्वपूर्ण चीजबीजको सङ्कलन गरी दर्शनीय बनाइएको सङ्ग्रहालय २०७२ साल वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भई हाल पुनःनिर्माण गरिएको छ । सङ्ग्रहालयमा बिपीको जीवनका महत्वपूर्ण सामग्रीका साथै २००७ सालको क्रान्तिमा प्रयोग गरिएको ट्याङ्कर, कांग्रेसले २०२९ सालमा क्रान्तिलाई खर्च जुटाउन अपहरण गरेको नेपाल वायुसेवा निगमको विमान पनि राखिएको छ । बिपी स्मृति दिवसका अवसरमा कांग्रेस, भ्रातृ संस्था र बिपी सङ्ग्रहालय समितिले मुलुकभर विभिन्न कार्यक्रम गर्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । यस अवसरमा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिपी कोइराला राष्ट्रिय पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको पुरातत्व अधिकृत भीष्म बाँस्कोटाले जानकारी दिनुभयो ।