मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष डुकके विष्टको ७५ वर्षको उमेरमा निधन भएको छ ।   लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष विष्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको गाउँपा...

भक्तपुर:  भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ सिन्टीटारमा डेरा गरी बस्ने दुई किशोरी आज बिहान मृतावस्थामा फेला परेका छन् ।  स्थानीय निरज चक्रधरको दुईतले घरको भुइँ तलामा डेरा गरी बस्ने सुर्खेत पञ्चपुरी नगरपालिका–८ की १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सिर्जना कँडेल सोही घरको प्यासेजमा एउटै डोरीले झुन्डिएर मृतावस्थामा फेला परेका हुन् । मेनुका र सिर्जना दिदीबहिनी भएको प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानाले बताउनुभयो । घरधनीका अनुसार दुई साताअघिमात्र ती किशोरीहरु डेरामा बस्न आएका थिए । प्रहरीका अनुसार मृतक दिदीबहिनी घरबाट भागेर आएको खुल्न आएको छ ।   मृतकको आफन्त सम्पर्कमा आइनसकेकाले उनीहरु आएपछि घटनास्थलको मुचुल्का हुने प्रनाउ ढुङ्गानाले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सप्तरी:  सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–६ मोहनपुरमा बिहीबार सर्पदंशबाट एक महिलाको मृत्यु भएको छ । स्थानीय इन्द्रबहादुर राईकी ५० वर्षीया श्रीमती सङ्गीता राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । तराईमा अत्यधिक गर्मीका कारण विषालु सर्पको बिगबिगी बढेको छ ।

रौतहट:  रौतहटमा एक सातामै खेतमा धान रोप्न पानी लगाउने क्रममा करेन्ट लागेर तीन किसानको मृत्यु भएको छ । बुधबार मात्रै धान रोप्न पानी लगाउने क्रममा मोटर चलाउँदा करेन्ट लागेर दुई जनाको ज्यान गएको हो ।  बुधबार बिहान माधव नारायण–४ बिसनपुर्वा मानपुर बस्ने तुल्सी मुखियाको छोरा ४० वर्षीय रामबाबु मुखियाको खेतमा सिँचाइका लागि विद्युतीय मोटरबाट पानी पटाउने क्रममा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिनुभयो ।  सिँचाइ गर्न जडान गरिएको मोटरको तारबाट करेन्ट लागि घाइते भएका मुखियाको उपचारको क्रममा प्रादेशिक अस्पताल गौरमा मृत्यु भएको प्रहरीले जनाएको हो ।  त्यसैगरी कटहरीया–२ जमुनिया टोलका लालमहमद देवानको ५२ वर्षीय छोरा मोक्तार देवानको पनि खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको उहाँले जानकारी दिनुभयो । करेन्ट लागि घाइते भएका देवानको उपचारको क्रममा गरुडास्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ  । यसअघि गत असार ३१ गते मौलापुर–८ सोनरनियाका सुधन राउतका १४ वर्षीय छोरा गोलु भन्ने नरेन्द्र पटेलको  पनि खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको थियो । यसवर्ष तराईमा खडेरी परेको कारण रोपाईँ गर्न नसके पछि किसानहरुले मोटरबाट पानी तानेर रोपाईँ गर्नुपर्ने बाध्यता भएको हो ।

काठमाडौं:  प्रहरी प्रधान कार्यालयले कुनै पनि घटना तथा अपराधमा पक्राउ परेका व्यक्तिको फोटो तथा भिडियो सार्वजनिक नगर्न देशभरका प्रहरी कार्यालयहरूमा परिपत्र गरेको छ । पत्रकार सम्मेलनमा वा कुनै पनि सूचना दिँदा पक्राउ परेका व्यक्तिको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न र नपठाउन भन्दै प्रहरी प्रधान कार्यालयले देशैभरका प्रहरी युनिटमा परिपत्र जारी गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । महान्यायाधिवक्ताको कार्यालयले तस्बिर, भिडियोहरू सार्वजनिक नगर्न प्रहरी प्रधान कार्यालयलाई दिएको निर्देशनका आधारमा यसरी मातहतका सबै युनिटमा परिपत्र जारी गरिएको प्रवक्ता घिमिरेले जानकारी दिनुभयो । गएको असारमै महान्यायाधिवक्ताको कार्यालयले उक्त निर्णय गरिसकेको छ । सोही निर्णयको जानकारी प्रहरी प्रधान कार्यालयमा पठाएपछि प्रहरीले तत्काल कार्यान्वयन गर्न परिपत्र जारी गरेको हो । प्रवक्ता घिमिरेले जघन्य अपराधका घटना वा त्यस्ता तस्बिर र भिडियो सार्वजनिक नगर्दा राज्य तथा सामाजिक असर पर्ने अवस्था रहेको खण्डमा सम्बद्ध निकायको अनुमतिमा सार्वजनिक गर्न सकिने जनाइएको छ ।

काठमाडौं:  हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहीबार कोशी, बागमती, गण्डकी,  कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ ।  कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थान तथा देशका बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यसैगरी, आज राति कोशी, मधेश र बागमती प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।  महाशाखाद्वारा प्रकाशित बुलेटिनअनुसार कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोशी प्रदेशका पहाड र तराईका साथै मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

काठमाडौं:  रूकुमपूर्वमा जङ्गली च्याउ खाएर बिरामी परेका दिदी भाइको मृत्यु भएको छ भने आमा र छोरी बिरामी परेका छन्। ​ भूमे गाउँपालिका–५ सेराबाङमा जङ्गली च्याउ खाएर बिरामी परेका ३ वर्षीय योजन बिक र ७ वर्षीया भाग्यरेखा विकको मृत्यु भएको रूकुम पूर्व प्रहरीले जनाएको छ।  प्रहरीका अनुसार योजनको सल्यान जिल्ला अस्पतालमा मङ्गलबार दिउँसो र भाग्य रेखाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मङ्गलबार राति पौने १२ बजे उपचारका क्रममा मृत्यु भएको हो । च्याउ खाएर गम्भीर बिरामी भएकी ९ वर्षीया आयुषा विकको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ ।     बिरामी परेकी उनीहरूकी आमा ३५ वर्षीया राजकुमारी विकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ ।

काठमाडौं:   नेपाल–चीन सिमानामा रहेको ल्हेन्दे खोलामा गत असार २४ गते आएको बाढीबाट चीनमा फसेका नेपालीलाई आज स्वदेश फर्काइने भएको छ । बाढीका कारण नेपाल–चीन मितेरी पुल बगाएपछि स्वदेश फर्कन नपाएका नेपालीलाई आज सिन्धुपाचोकको तातोपानी नाका हुँदै नेपाल फर्काउन लागिएको हो ।  चीनमा फसेका नेपालीलाई स्वदेश फर्काउनका लागि गत सोमबार रसुवाका प्रतिनिधिसभा सदस्य इञ्जिनियर मोहन आचार्यले परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई भेटेर कूटनीतिक पहलका लागि आग्रह गर्नुभएको थियो । भेटमा सांसद आचार्यले केरुङमा रहेका नेपालीलाई नेपाल ल्याउन भइरहेको ढिलाइ, नेपाल–चीन जोड्ने अस्थायी पुल निर्माण, दुई देश जोड्ने मितेरी पुलको पुनर्निर्माण, मौसम पूर्वानुमानसम्बन्धी सूचना आदानप्रदानलगायत विषयमा परराष्ट्रमन्त्री डा राणाको ध्यानाकर्षण गराउनुभएको थियो ।  उक्त ध्यानाकर्षणसँगै चीनमा फसेका नेपालीलाई आज सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै स्वदेश फर्काउन लागिएको हो । चीनमा फसेकालाई रसुवामा पुल नबनेका कारण तातोपानी नाका हुँदै नेपाल ल्याउन लागिएको हो । तातोपानी नाकाबाट नेपाल आउने नेपालीहरूका लागि काठमाडौँसम्मको यातायातको व्यवस्था सरकारले गरेको छ भने चिनियाँ भूमिमा चीन सरकारले गरेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो ।  प्रमुख जिल्ला अधिकारी पौडेलले नेपाल फर्काउन लागिएकामा सवारी चालक तथा बिरामी परेका, नियमित औषधि सेवन गरिरहेका र औषधि सकिएका गरी २०३ नेपाली रहेको जानकारी दिनुभयो ।  बाढीका कारण अवरुद्ध भएको स्याफु्रबेँसी–रसुवागढी सडकखण्ड सञ्चालनमा आए पनि मितेरी पुल सञ्चालनमा नआएका कारण तातोपानी नाकाबाट उनीहरूलाई नेपाल फर्काउन लागिएको उहाँले बताउनुभयो ।

काठमाडौं: मन्त्रिपरिषद् बैठकका १० वटा निर्णय सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नियमित पत्रकार सम्मेलन गर्दै साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकका १० वटा निर्णय बुधबार सार्वजनिक गर्नुभएको हो । सञ्चारमन्त्री गुरुङले नायबमहान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेले २०८२/४/२ देखि लागू हुने गरी पेश गर्नुभएको स्वैच्छिक अवकाश स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको जानकारी दिनुभयो । यसैगरी, विश्व बैंकबाट विकास प्रभावकारिताका लागि सार्वजनिक वित्त परियोजनाका लागि प्रस्ताव गरिएको १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने सम्बन्धमा विश्व बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय पनि बैठकले गरेको छ । यसैसँगै बैठकले अन्य १० वटा निर्णय गरेको छ ।   

खोटाङ:   वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका हरिप्रसाद राई पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् ।  तीन वर्षअघि मलेसिया पुगेर केएलस्थित रकन इख्लास सर्भिसेस कम्पनीमा कार्यरत २६ वर्षीय हरिप्रसाद साउन–२ गतेदेखि सम्पर्कविहीन भएका हुन्।  सम्पर्कविहीन हुनुअघि साउन–१ गते मलेसियामै रहेका हरिप्रसादका साहिला दाजु हिमाल राईलाई आफू अप्ठ्यारोमा रहेको र बचाउन अनुरोध गरेको फेसबुक म्यासेज प्राप्त भएको छ ।  “मलाई सिध्याउने षड्यन्त्र गरेका छन् । बोस (मालिक) लाई नभन्नु । उसले थाहा पायो भने मलाई सिध्याउँछ । अब मलाई घर पठाउँदैन । घर जानका लागि म भाग्नुपर्छ । तपाईहरू सल्लाह गर्नुस् । दुई दिनको छुट्टी लिएर मलाई निकाल्नुस् ।” भनेर दाजु हिमाललाई म्यासेज लेखेको भोलिपल्ट अर्थात् साउन–२ गतेदेखि हरिप्रसाद सम्पर्कविहीन भएको जनाइएको छ ।  काठमाडौँको सिनामङ्गलस्थित फाजल इन्टरनेश्नल प्रालिबाट विसं २०७९ साउन–२८ गते मलेसिया पुग्नुभएका हरिप्रसाद मलेसियाको केएलस्थित स्यारोटन होटलमा सहयोगीको रूपमा काम गर्दै  आएका थिए ।  कम्पनीमा आफूले कुनै गल्ती नगरे पनि अरुहरूले गरेको गल्तीलाई आफूमाथि थुपारेर दोष लगाउँदै मार्ने षड्यन्त्र गरेको दाजु हिमाललाई हरिप्रसादले पठाएको म्यसेजमा उल्लेख छ ।  रोजगारीको सिलसिलामा मलेसियामा रहेका भाइ हरिप्रसाद सम्पर्कविहीन भएपछि खोजिकार्यलाई तीव्रता दिइएको दाजु हिमालले बताए ।  “मलाई साउन–१ गते राति म्यासेज गरेको थियो । फोनमा कुरा गरौँ भन्दा अरुले सुन्छ । म्यासेन्जरमै कुरा गरौँ भन्थ्यो ! ”, उहाँले भन्नुभयो, “केही समय म्यसेन्जरमा कुरा गर्दा–गर्दै सम्पर्कविहीन भयो । अहिले फोन पनि लाग्दैन । कम्पनीमा गएर सम्पर्क गर्दा त्यहाँ पनि छैन । केगरी खोज्ने अन्यौलमा परेको छु ।” म्यासेन्जरमा बोल्दा–बोल्दै भाइ सम्पर्कविहीन भएपछि मलेसियास्थित नेपाली राजदूतावास र भाइ कार्यरत कम्पनीलाई खोजिगरी दिन आग्रह गरिएको हिमालले बताए ।  “सम्पर्कविहीन भएको भोलिपल्टै राजदूतावास पुगेर आवश्यक कागजातसहित निवेदन दिएका थियौँ । अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । भाइको म्यासेज हेर्दा षड्यन्त्रगरी उनको हत्या गरेको हुन सक्ने देखिन्छ !”, उनले भने, “नेपाली दूतावासले चासो दिएको छैन । जुन अवस्थामा भए पनि मलाई भाइ चाहियो ।” हरिप्रसाद सम्पर्कविहीन भएको जानकारी प्राप्त भएलगत्तै मेनपावर कम्पनी र नेपालस्थित परराष्ट्र मन्त्रालयमा जानकारी गराइएको नेपालस्थित मेनपावर कम्पनीका प्रतिनिधि निरज दाहालले जानकारी दिए ।  “हरिप्रसाद कम्पनी छाडेर भागेको देखिन्छ । कम्पनीमै भएको खण्डमा कम्पनी सञ्चालकलाई भनेर केही गर्न सकिन्थ्यो”, उनले भने, “कम्पनी छाडेर भाग्नु हरिप्रसादको गल्ती देखिन्छ । अहिले म त्यो मेनपावर कम्पनीमा काम गर्दिन । यद्यपि, ममार्फत गएको हुनाले मेनपावर कम्पनी र नेपालस्थित परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको छु ।”  काठमाडौँमा रहेर वैदेशिक रोजगारसम्बन्धी एजेन्टको काम गर्दै आउनुभएका निरजमार्फत हरिप्रसादसँगै खोटाङस्थित खार्मीका छ युवा मलेसिया गएका थिए । एजेन्टलाई रु दुई लाख ५० हजार धरौटी बुझाएर मलेसिया पुगेका हरिप्रसाद सम्पर्कविहीन भएपछि घरपरिवार चिन्तित भएका छन् ।