डोटी: डोटीमा आज बिहान गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा २१ जना घाइते भएका छन् । अछामबाट धनगढीतर्फ गइरहेको सुपप्र०१००१ ख ३९५६ नम्बरको गाडी भीमदत्त राजमार्गको जोरायल गाउँपालि...

काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा पुर्‍याउँदा द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने स्पष्ट गर्नुभएको छ ।      नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको छैटौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगबाट पीडितलाई न्याय दिने गरी कार्यसम्पादन हुने बताउनुभयो ।        उहाँले ती आयोग गठन प्रक्रियामा अब ढिलाइ नहुने भन्दै अधिनायकवाद परास्त भई लोकतान्त्रिक प्रणालीमा मुलुक गइसकेकाले अब कुनै बहकाउमा लागेर कुनै पनि खालका हत्या, हिंसा, धार्मिक सद्भाव खलबलाउने गतिविधि, अराजकतालगायत कार्य स्वीकार्य नहुने स्पष्ट गर्नुभयो ।      “अहिले हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छौँ । यहाँ जनताका बीचमा गएर प्रतिस्पर्धा गर्न पाइन्छ । चुनाव जितेर एमालेले एकल सरकार बनाएर विकास र समृद्धिका लागि अभूतपूर्व कामको थालनी गरेका बेला त्यसबाट त्रसित भएर प्रतिक्रियावादीको उक्साहटमा हामीलाई विस्थापित गरियो । अहिले संयुक्त सरकारका रूपमा हामीले काम गरिरहेका छौँ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामीसँग राष्ट्र निर्माण र एकताका इतिहास छन् । हामी समृद्ध र सिङ्गो नेपाल नयाँ पुस्तालाई हस्तान्तरण गर्नेछौँ । हामी सिमाना खुम्चन र राष्ट्रिय स्वाभिमानमा आँच आउन दिनेछैनौँ । हाम्रो सभ्य र सुसंस्कृत समाजलाई कायम राखेर अघि बढ्छौँ ।”      प्रधानमन्त्री ओलीले विविधतायुक्त मुलकमा सामाजिक सद्भावसहितको राष्ट्रिय एकता आवश्यक भएको बताउँदै एमालेले त्यसको अगुवाइ गरिरहेकाले भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनले देश र पार्टीप्रति गरेको विश्वासलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।       अध्यक्ष ओलीले यही वैशाख ११ गते लोकतन्त्र दिवसका दिन एमालेले युवाहरूको सम्मेलन आयोजना गरी जनताको अधिकार र विकासका पक्षमा उत्सव मनाउन आह्वान पनि गर्नुभयो ।

हेटौँडा: पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका– ६ सुनाचुरीस्थित सडक खण्डमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् । इटहरीबाट भैरहवातर्फ जाँदै गरेको लु२ख ५९९ नम्बरको बस सडकबाट करिब १० मिटर तल खस्दा बसमा सवार १६ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । घाइतेहरूको उद्धार गरी उपचारका लागि चितवन अस्पताल पठाइएको जिल्ला प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए । बस चालक बाराको कोल्बी नगरपालिका– ११ का २९ वर्षीय राकेश चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

स्याङ्जाको पुतलीबजार नगरपालिका–९ काल्खुमा जारी ‘ऐतिहासिक काल्खु मेलामा भएको खुल्ला नृत्य प्रतियोगितामा कोल्माकी अनुस्का गुरुङ च्याम्पियन भएकी छिन् ।    जनसम्पर्क युवा क्लबको आयोजनामा गत चैत्र पूर्णिमा(३० गते)देखि सञ्चालन भएको मेलामा आयोजित खुल्ला नृत्य प्रतियोगितामा ११ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै अनुस्का प्रथम भएकी हुन् ।    यस्तै कोल्माकी साईसा गुरुङ द्वित्तिय, पोखराका दिपेश सुनार तृतिय र बयारघारीका विक्रम गुरुङले सान्त्वना स्थान हाँसिल गरे ।    खुल्ला नृत्य प्रतियोगितातर्फ प्रथम भएकी अनुस्काले ८ हजार रुपैयाँ, द्वित्तिय भएकी साईसाले ६ हजार, तृतीय भएका दिपेशले ४ हजार र सान्त्वना स्थान हाँसिल गरेका विक्रमलाई नगद रु २ हजार पुरस्कार प्राप्त गरेको क्लबका प्रमुख सल्लाहकार जिवन थापामगरले जानकारी दिए ।    उनका अनुसार म्युजिकल चियर प्रतियोगितामा निरा थापामगर प्रथम, कल्पना गुरुङ द्वित्तिय र माया रानामगर तृतिय भइन् । सो प्रतियोगितामा १५ जनाको सहभागिता रहेको थियो ।    कोरियोग्राफर तथा नृत्य निर्देशक होम गुरुङको नेतृत्व निर्णायकको भूमिकामा थियो ।   भलिबल तर्फ पहिलो चरणकै खेल जारी   मेलामा जारी पुरुष भलिबल प्रतियोगितातर्फ पहिलो चरणकै तीन खेल सम्पन्न भए । बुधबार भएको पहिलो खेलमा भोर्लेले नाम्चेलाई २–० को सोझो सेटमा पराजित गर्याे ।   पहिलो सेट २५–१५ र दोस्रो सेट २५–२० ले भोर्लेले जित हात पार्याे ।    दोस्रो खेलमा थामडाँडाले दुर्गेलाई २–० को सोझो सेटमा हरायो । थामडाँडाले पहिलो सेट २५–१५ र दोस्रो सेट २७–२५ ले जितेको थियो ।    यसैगरी बुधबार भएको अन्तिम खेलमा कोल्माले माथिल्लो काल्खुलाई २–१ को सेटमा पराजित ग¥यो । कोल्माले पहिलो सेट २०–२५ ले जितेपनि दोस्रो सेट २५–२३ ले गुमाएको थियो ।   निर्णायक तथा तेस्रो सेटमा फेरि पुनरागमन गर्दै कोल्माले २७–२५ ले जितेको थियो ।    आज (बिहीबार) पनि पहिलो चरणकै खेल हुने क्लबका अध्यक्ष दिपक रानामगरले जानकारी दिए ।   अध्यक्ष रानामगरका अनुसार भलिबलतर्फको विजेतालाई नगद ८१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिनेछ । उपविजेता टोलीलाई नगद ४१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिनेछ । भने, तृतीय हुने टिमले नगद २१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र हात पार्नेछ ।   सो प्रतियोगिताबाट एउटा टिमलाई अनुशासित टिमको रुपमा नगद रु १२ हजारसहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।  

काठमाडौं: नेपालको लागि नयाँ प्रजातिको चरा अभिलेख गरिएको छ । इलाममा समुद्री सतहबाट तीन सय मिटर उचाइमा रहेको सुखानी वन क्षेत्र ‘भिओलेट कुक्कू’ नामको चरा अभिलेख गरिएको नेपाल पन्छीविद् सङ्घले जनाएको छ । चराविद् राजेन्द्र गुरुङसमेतको टोलीले चरा अवलोकनका क्रममा गत चैत २५ गते पहिलोपटक बिहान सुखानी वन क्षेत्रमा उक्त प्रजातिको भाले चरा देखेका थिए । सोही दिन सोही स्थानमा पटकपटक एक रुखबाट अर्को रुखमा उड्दै बस्दै गरेको अवस्थामा एक घण्टाभन्दा बढी समयसम्म उक्त चरालाई अवलोकन गरिएको थियो । चरा अवलोकन गर्ने क्रममा गुरुङका साथमा रहेका मलेसियन नागरिक अलेक्जेन्डर जोन एङ्ग याङले आवाज पहिचान गरी चरालाई पहिल्याएका थिए। टोलीमा रहेका अर्का मलेसियन नागरिक रोगर रोबर्ट राजह र नेपाली चराविद् अनिस तिम्सिनाले पनि सो भाले चरालाई अवलोकन गरेको सङ्घद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । टोलीका सदस्यहरूले चराको फोटो र भिडियो खिचेर प्रारम्भिक पहिचान गरेका थिए । चैत २८ गते सो चराको एकीन पुष्ट्याइका लागि चराविद् राजेन्द्र गुरुङले चराको विवरणसहित फोटो नेपाल चरा तथ्याङ्क समितिमा पठाउनुभएको थियो । समितिले प्राप्त विवरणहरूको अध्ययन गर्दै, राष्ट्रिय अन्तरराष्ट्रिय पन्छीविद्हरूसँग पनि रायसुझाव सङ्कलन गरी नयाँ चराको अभिलेख गरेको समितिका अध्यक्ष डा तुलसी सुवेदीले जानकारी दिए । उक्त चराको नेपाली नाम बेजनी कोइली राखिएको छ । यो चरा भुटान, फिलिपिन्स, सिङ्गापुर, ब¬ङ्गलादेश, ब्रुनाइ, चीन, भारत, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, थाइल्यान्ड र भियतनाममा आवासीय रूपमा पाइन्छ भने यसले भुटान, फिलिपिन्स, सिङ्गापुरमा प्रजनन गर्दछ ।  विश्वमा यस चराको दुई उपप्रजाति अभिलेख भएका छन् । यो सँगै नेपालको अभिलेखमा चरा प्रजातिको सङ्ख्यामा एउटा प्रजाति थप भएको छ र अब नेपालमा जम्मा चरा प्रजातिको सङ्ख्या आठ सय ९९ पुगेको छ ।

काठमाडौं:  राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।  मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपतिले बजेट अधिवेशन आह्वान गर्नुभएको हो ।  संविधानको धारा ९३ को उपधारा १ बमोजिम वैशाख १२ गते शुक्रबार दिउँसो १ बजेका लागि राष्ट्रपतिले अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।   

सिरहाः रमेश लेखकले सिरहाको नवराजपुर गाउँपालिका-३ स्थित जगतपुरकी २४ वर्षीया आनन्दीदेवी सदायको मृत्यु प्रकरणबारे सत्यतथ्य छानबिन गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका छन् । करिब चार महिनाअघि यौन दुर्व्यवहारमा परेकी सदाय मंगलबार आफ्नै घरमा मृत फेला परेकी थिइन्।  गृहमन्त्री लेखकले यस घटनाका सम्बन्धमा गम्भीर चासो व्यक्त गर्दै प्रहरी महानिरीक्षक दीपक थापालाई फोन गरी घटनाका सम्बन्धमा सत्यतथ्य छानबिन गर्न निर्देशन दिएको गृह मन्त्रालयको सचिवालयले जनाएको छ।  मृतक आनन्दीदेवी गत पुस ९ गते सिरहा बरियारपट्टी गाउँपालिका-१ मा बस्ने दिदीलाई भेट्न हिँडेको बखत स्थानीय २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवबाट यौन दुर्व्यवहारमा परेकी जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एवं प्रहरी उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए । उनका अनुसार निजहरू उपर जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएकामा उनीहरू पक्राउ पर्न सकेका छैनन् ।  प्रहरी उपरीक्षक शर्माले आफू जिल्लामा आउनुअघिको घटना भएकाले यस सम्बन्धमा सुरुदेखि सुक्ष्म ढङ्गले अनुसन्धान गरिरहेको जानकारी दिए ।  ‘गत फागुन २५ गते निजहरूविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको थियो । घटनालगत्तै पीडकहरू फरार छन् । उनीहरू नेपाल छाडी भारतमा लुकेका हुनाले खोजतलास गर्न चुनौती भए पनि प्रहरी प्रशासन निरन्तर लागिरहेको छ’, उनले भने, ‘पीडितमाथि यौन दुर्व्यवहारलगत्तै प्रहरीले मेडिकल जाँच, जिल्ला अदालतबाट पीडकविरुद्ध पक्राउ पुर्जी जारी गर्ने काम गरेको छ ।’  प्रहरी उपरीक्षक शर्माले आज मात्र घटनास्थल पुगी पीडितपरिवालाई भेटेको जानकारी दिए । ‘मृतक आनन्ददेवीको दुई वर्षकी छोरी छिन् । आनन्दीदेवी एकदवर्षदेखि माइतीमा बस्दै आएकी थिइन् । यौन दुर्व्यवहारमा परेकी आनन्दीदेवी माइतमा कोही नभएको बेला झुन्डिएको अवस्थामा हिजो मृत फेला परेकी हुन्’, उनले भने। मृतकको शव परीक्षणका लागि लहानस्थित प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । घटनाका विषयमा विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपैयाँ घटाएको हो ।        मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ५९ रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ६० रुपैयाँ तोकिएको छ ।  यस्तै, डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गका लागि एक सय ४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ४५ रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ४६ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ ।        निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाडौँ, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ ।        इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त पेट्रोलिमय पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा तीन रुपैयाँ १५ पैसा र डिजेलमा दुई रुपैयाँ ६२ पैसाले घटेर आएकाले स्थानीय बजारमा पनि मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।

काठमाडौं:   प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले विश्वविद्यालयको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष प्राडा खड्ग केसीलाई बढीमा तीन महिनाका लागि काम गर्नेगरी जिम्मेवारी तोक्नुभएको छ ।      उपकुलपतिको पदपूर्ति नभएसम्मका लागि त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा २१ (ख) बमोजिम कुलपति ओलीको गत चैत ३१ गतेको निर्णयानुसार शिक्षाध्यक्ष केसीलाई उक्त जिम्मेवारी तोकिएको हो ।      विश्वविद्यालयका उपकुलपति प्राडा केशरजङ्ग बरालले दिनुभएको राजीनामा गत चैत २८ गते स्वीकृत भएको थियो ।

गोरखा:  बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि मुआब्जा निर्धारण गरिएको छ । चुमनुब्री गाउँपालिकाका जनप्रतिनिधि, प्रवद्र्धक कम्पनी साहस ऊर्जाका प्रतिनिधि र स्थानीयको सहभागितामा मुआब्जा निर्धारण गरिएको हो ।      साहस ऊर्जाका प्रबन्ध निर्देशक हिम पाठकका अनुसार बाँध निर्माणस्थल रहेको वडा नं ३ को सल्लेरीका बस्ती क्षेत्रमा रहेका जग्गाको प्रतिआना रु तीन लाख कायम गरिएको छ ।  “चार आनाभन्दा कम जग्गा हुनेको हकमा भने प्रतिआना रु चार लाख र बस्तीभन्दा बाहिर प्रतिआना रु एक लाख ५० हजार मुआब्कजा निर्धारण भएको छ ।” उहाँका अनुसार करिब ८० रोपनीको मुआब्जा दिनुपर्ने आकलन गरिएको छ ।       उक्त भेलाले घरको मूल्याङ्कन भने गरेको छैन । गाउँपालिकाका प्राविधिकले तयार गरेको प्रतिवेदनका आधारमा घरको मुआब्जा निर्धारण हुने उहाँले पाठकले जानकारी दिनुभयो । आयोजनाबाट २६ घरधुरी विस्थापित हुने भएका छन् ।           विस्थापित हुनेहरुको पुनःस्थापनाका विषयमा पनि छलफल भइरहेको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो । “डुबानका कारण विस्थापित हुनेहरु कसैलाई फिलिममा, कसैलाई जगतमा पुनःस्थापित गर्ने विषयमा छलफल भइरहेको छ तर निर्णय भइसकेको छैन”, लामाले भन्नुभयो ।       गाउँपालिकाका अध्यक्ष निमा लामा, उपाध्यक्ष लक्ष्मी गुरुङ, वडा नं २ का अध्यक्ष रामकुमार गुरुङ, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)का प्रतिनिधि, सल्लेरी, भालुवन, जगत, नाग्चेतका बासिन्दालगायतको मुआब्जा निर्धारण भेलामा उपस्थिति थियो ।       अर्धजलाशययुक्त (पिकिङ रन अफ रिभर) प्रविधिको ३४१ मेगावाट क्षमताको उक्त परियोजना निजी क्षेत्रबाट सञ्चालित सबैभन्दा ठूलो परियोजना हो ।  साहस ऊर्जाले सल्लेरीमा बाँध निर्माण गर्ने छभने त्यहाँबाट ६।८ किलोमिटर भूमिगत सुरुङ हुँदै धार्चे–३ मा रहेको तातोपानीस्थित पावर हाउसमा विद्युत् उत्पादन गर्नेछ ।  उत्पादन हुने विद्युत् ४५ किलोमिटर लामो प्रसारण लाइनमार्फत नुवाकोटको रातामाटे सबस्टेसनमार्फत केन्द्रीय प्रसारणलाइनमा जोडिनेछ । आयोजनाको कुल लागत रु ७० अर्ब रहेको छ ।