काठमाडौं: हाल देशको पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा आज बिहान जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । साथै बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ भने तराईका भू–भागका केही स्थानहरूमा हुस्सु÷कुहिरो लागेको छ । बुलेटिनमा आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने उल्लेखछ । उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू तथा बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बुलेटिमा उल्लेख छ । साथै आज बिहानीपख तराईका थोरै भू–भागहरुमा हुस्सु÷कुहिरो लाग्ने हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
लमजुङ: हरियो सालको पातको टपरी । त्यसमा बाफ उड्दै गरेको तातो सेल रोटी । अचार, आलु अनि गेडागुडी । हेर्दै खाउँखाउँ लाग्ने । मुखले चाख्नुअघि आँखैले लोभ्याउने (होमस्टे) घरबासको परिकार । लमजुङको बेँसीसहर नगरपालिका–२ नरुवाल मगर घरबासकी सावित्री आलेमगरका आँगनमा आउने जो कोही पाहुनाले यसरी नै मौलिक स्वाद चाख्न पाउँछन् । “पहुँनालाई मीठो गरी सत्कारले खुवाउनुपर्छ”, उहाँले अनुभव सुनाउँदै भन्नुभयो, “बोली वचन मीठो भए, खाना झनै स्वादिलो हुन्छ ।” सावित्रीले घरबासमा व्यापार मात्रै गर्नुहुन्न । त्यससँगै आफ्नो समुदायको कला, संस्कृति र संस्कारको समेत प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा पहिचान झल्काउनुहुन्छ । “सेल रोटी पेटभरि खाउँ है ! रैथाने चामलले बनाएको । केही हानि गर्दैन ।” सावित्रीले हरेक परिकारको फाइदा र स्वादका बारेमा प्रष्ट पार्नुहुन्छ । नरुवाल मगर घरबासमा केही साताअघिमात्रै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ पुग्नुभएको थियो । पुग्नुको प्रसङ्ग बेग्लै थियो । तर, त्यहाँ मन्त्री गुरुङलाई गरिएको सत्कार र आत्मीयता अन्य अतिथिलाई जस्तै समान थियो । उही सालको पातका टपरीमा सेल, अचारलगायत परिकार खुवाएर मन्त्रीलाई स्वागत गरिएको थियो । सावित्रीले भन्नुभयो, “घरबास जति मौलिक हुनसक्यो उति राम्रो हो ।” सञ्चारमन्त्री गुरुङ गण्डकी प्रदेशको मुख्यमन्त्री हुँदा उद्घाटन गरिएको नरुवाल मगर घरबास लमजुङ जिल्लाकै मगर समुदायले सञ्चालन गरेको पहिलो घरबास हो । लमजुङ बहुजाति, भाषाभाषी, संस्कृति र संस्कारले भरिएको जिल्ला हो । यहाँका थुप्रै समुदायले आआफ्नो कला र सभ्यता प्रदर्शन गरे पनि पर्यटन प्रवर्द्धनको मूल आधार बन्नसक्ने भन्दै मन्त्री गुरुङले मुख्यमन्त्री हुँदा घरबास सञ्चालन र प्रवर्द्धनमा जोड दिनुभएको थियो । मन्त्री गुरुङका अनुसार गण्डकी प्रदेशमा तीन सय १० र लमजुङ जिल्लाभर १२ वटा घरबास सञ्चालनमा छन् । “लमजुङ घरबासले धानेको जिल्ला हो । यहाँका अधिकांशले कृषिसँगै घरबास सञ्चालन गर्दछन्”, मन्त्री गुरुङले भन्नुभयो, “घरबासले एकातिर स्थानीय व्यवसायमा टेवा पु¥याउँछ भने अर्कोतिर यहाँको कला, संस्कृति र सभ्यताको संरक्षण गर्छ ।” मगरद्वारा सञ्चालित जिल्लाकै पहिलो घरबासका अध्यक्ष हेमबहादुर आलेले यो व्यासायले स्थानीयको आर्थिकस्तर सुधार गर्नुका साथै रोजगारीको अवसर पनि सिर्जना गरो बताउनुभयो । सुरुमा १० घरले घरबास सञ्चालन गरेका भन्दै अहिले आयआर्जनको सम्भावना देखेर थप दुई घरमा पनि होमस्टे सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो । आफ्नै गाउँघरमा बसेर खेतीपाती गर्दै दुई चार पैसा आम्दानी गर्न सकिने हुँदा घरबास व्यवसाय लाभदायिक रहेको हेमबहादुरले अनुभव सुनाउनुभयो । मगर घरबासमा पर्यटक आउनुको अर्को कारण यहाँबाट देखिने हिमशृङ्खलाका दृश्यहरू हुन् । पछिल्लो समय हिमालको हिउँ घट्दै गएको र कालापत्थर देखिँदैन थालेको पर्यटन आकर्षण घट्ने हो कि भन्ने चिन्ताले सताउन थालेको घरबास सञ्चालक बताउँछन् । घरबासका अध्यक्ष हेमबहादुरले भन्नुभयो, “यो वर्ष हिउँ हराउँदै गएर टुप्पामा मात्रै थोरै देखिन थालेको छ ।” बाल्यकालमा माथिसम्म हिउँ देखिने गरेको सम्झदै उहाँले अब ती सबै दृश्य लोप हुने चिन्ता मनमा गढेको बताउनुभयो । हेमबहादुरका अनुसार नरुवाल घरबासबाट अन्नपूर्ण, लमजुङ हिमाल, मनास्लु, गणेशलगायत पाँच वटा हिमालका दृश्य नियाल्न सकिन्छ । “अहिले जलवायु परिवर्तनको असरले बाक्लो हिमाल पग्लिँदै कालापत्थरमा परिवर्तन हुन थालेको छ । यसले गर्दा घरबास सञ्चालकमा त्यसको प्रत्यक्ष असरमा भोग्नुपर्ने चुनौती थपिएको छ”, उहाँले भन्नुभयो । नरुवाल मगर घरबास यहाँका स्थानीय महिलाले धानेका छन् । घरबास सञ्चालक फूलमाया राना, सुनिता राना, सविना राना, पार्वती राना, मिना राना, दिलमाया राना, राममाया आले, सङ्गीता आलेलगायत महिलाले संस्कृति संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा योगदान पु¥याउँदै आएका छन् । फूलमाया उमेरले पाकी हुनुहुन्छ । उहाँले घरबासमा पाहुनाको सत्कार गर्दा परम्परागत संस्कार र संस्कृतिमा जोड दिन रुचाउनुहुन्छ । बारीमा फल्ने कोदो, मकै, चामल, यिनै परिकारले बनेका मगरका परम्परागत खानपान पस्किन उहाँ निकै सिपालु हुनुहुन्छ । मिना रानाको घरबासमा आउने पाहुना प्रायः लोकल कुखुरा र ढिँडो खाने हुन्छ । बेँसीसहर नगरपालिका–२ का वडाध्यक्ष मदनबहादुर रानाका अनुसार वडामा मगर समुदायको अर्गानिक खानपान र कलासंस्कृति मुख्य आकर्षण हो । “लमजुङमा केही पर्यटकीय स्थान छन् । यहाँ ऐतिहासिक पाथीभरा मन्दिर छ । ढुङ्गैढुङ्गाको परम्परागत ढुङ्गे डाँडो छ । ऐतिहासिक ढुङ्गे धाराहरू छन् । एक किलोमिटरजति लामो चिप्लेटे ढुङ्गाले बनेको परम्परागत चिप्लेटे खोला पनि पर्यटकलाई हेर्न आकर्षित गर्छ”, उहाँले भन्नुभयो । वडाध्यक्ष रानाका अनुसार लोप हुँदै गएको मगर समुदायको भेजा प्रथा यहाँ अझै पनि संरक्षित छ । साथै मगर समुदायको कौटा, झाम्रे नाच र वेषभूषा मुख्य आकर्षण रहेका उहाँले जानकारी दिनुभयो ।
ढोरपाटन: आप्रवासी स्रोत केन्द्र बागलुङले वैदेशिक रोजगारमा गएर समस्यामा परेका सात जनाको उद्धार गरेको छ । चालु आर्थिक वर्षको सात महिनामा ११ को उद्धारका लागि उजुरी परेकामा हालसम्म सात जनाको उद्धार भएको हो । खासगरी साउदी, दुबई, कतार, कुवेतलगायत गाडी मुलकमा पुगेर समस्यामा परेकाहरूको उद्धार गरिएको आप्रवासी स्रोत केन्द्र बागलुङकी सूचना अधिकारी तथा परामर्शकर्ता गङ्गा शर्मा रिजालले जानकारी दिनुभयो । वैदेशिक रोजगारमा गएका कामदारले समयमा तलब नपाउने, बिदामा नेपाल फर्किन नपाउनेलगायत समस्यालाई विभिन्न निकायसँग सहकार्य गरी उद्धार गरिएको उहाँको भनाइ छ । रिजालका अनुसार ठगी, मृत्युलगायत ९० उजुरी परेकामा हालसम्म ४१ वटा समाधान भइसकेका छन् । ठगीको उजुरी ५४ जनाले दिएकामा हालसम्म १७ वटा समाधान भइसकेका उहाँले जानकारी दिनुभयो । वैदेशिक रोजगारका लागि प्रलोभनमा पारेर लाखौँ रकम ठगी गरेकामा हालसम्म स्रोत केन्द्रले रु ४३ लाख पाँच हजार पाँच सय ठगिएको रकम फिर्ता गरेको छ । “धेरैजसो ठगी मेनपावरलेभन्दा व्यक्तिले ठगेको पाइएको छ । साउन महिनायता मृत्यु उजुरी आठ वटा परेकामा आठवटै समाधान भएका छन्”, परामर्शकर्ता रिजालले भन्नुभयो । सबैभन्दा बढी साउदी र कतारमा पुगेका कामदारको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । आफूहरुले जिल्ला प्रशासन कार्यालय, सम्बन्धित पालिका, सम्बन्धित देशको राजदूतावास, वैदेशिक रोजगार बोर्ड र कन्सुल सेवा विभाग काठमाडौँसँग सहकार्य गरेर वैदेशिक रोजगारमा गएका नागरिकहरूको समस्या समाधान गरिरहेको परामर्शकर्ता रिजालले बताउनुभयो । उहाँका अनुसार विदेशमा सम्पर्कविहीन भएका पाँच वटा उजुरी परेकामा हालसम्म एक जनालाई परिवारको सम्पर्कमा ल्याएको छ । रिजालले मेसियामा सम्पर्कविहीन भएका जैमिनीका एकजनालाई परिवारको सम्पर्कमा ल्याइएको बताउँदै स्रोत केन्द्रले ठगिएकोसहित मृत्यु भएका र कम्पनीमा तलब पाउन बाँकी रहेको रु ९७ लाख आठ हजार आठ सय ३१ फिर्ता गरेको उल्लेख गर्नुभयो । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले गैरकानुनी रूपमा विदेश जानेहरू बढी समस्यामा परेका बताउनुभयो । जिल्ला प्रशासन कार्यालयले राहदानी लिन आउने हरेक नागरिकलाई रोजगारी तथा अध्ययनका लागि विदेश जाँदा बढी सचेत हुन आग्रह गर्दै आएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “विदेशमा गएर मृत्यु हुने र समस्यामा पर्ने बढीजसो न्यूनवर्ग र कम शिक्षित व्यक्तिहरू हुनुुहुन्छ, विदेशमा कतिले आत्महत्या गरेको र कतिको काम गर्दा गर्दै मृत्यु भएको पाइन्छ, धेरै कुरा सचेतनासँग जोडिएको हुँदा विदेश पलायन हुँदा कानुनी कुरा बुझ्न र कहाँ जाँदैछु, के काम गर्ने हो रु, कस्तो कम्पनीमा जाँदैछु भनि प्रष्ट भएर गइयो भने धेरै समस्या समाधान हुने देखिन्छ ।”
दाङ: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएका अध्यादेश संसद्बाट पारित हुने बताउनुभएको छ । यहाँको घोराहीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटीद्वारा आज आयोजित जनसभालाई सम्बोधन गर्दै एमालेका अध्यक्षसमेत रहनुुभएका प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्नमा आफ्नो नेतृत्वको सरकार केन्द्रित रहेको स्पष्ट पार्नुभयो । नेपाल सुरुङमार्ग र पानी जहाजको युगमा प्रवेश गरिसकेको बताउँदै उहाँले दाङको देउखुरीमा पनि सुरुङमार्ग बनाउने योजना रहेको जानकारी दिनुभयो । “अहिले पुष्पलाल मार्ग, मदन भण्डारी मार्गजस्त आयोजना निर्माण भइरहेका छन्”, उहाँले भन्नुभयो, “हामी अलमल नगरी मिसन २०८४ तर्फ लाग्नुपर्छ, तपाईँहरूको साथ चाहिन्छ, देश बदल्ने कामको अगुवाइ गर्ने जिम्मा मेरो हो, कसैले पनि यो अभियानलाई रोक्न सक्दैन ।” प्रधानमन्त्री ओलीले एमालेको नेतृत्वले मात्र देश विकास गर्न सक्ने बताउनुभयो । उहाँले दाङ कृषिमा उर्वर भूमि भएको र हिजो विकासमा पछाडि परेको भए पनि अब अगाडि बढ्ने बताउनुभयो । सोही कार्यक्रममा नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले साना दलले गलत भाष्य निर्माण गरी प्रचार गरेकाले देश अस्थिरतामा गएको बताउनुभयो । मुलुकको निराशालाई चिर्न एमाले सरकारमा आएर समृद्धिको पाइला अगाडि बढेको बताउनुभयो । लुम्बिनी प्रदेश इन्चार्ज एवं केन्द्रीय सचिव पद्मा अर्यालले विकासका लागि जनताको साथ चाहिने बताउनुभयो ।
काठमाडौं: त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्न निर्वाचन आचारसहिंता जारी गरेको छ । विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले त्रिवि कार्यकारी परिषद्ले जारी गरेको ‘स्ववियु निर्वाचसम्बन्धी निर्देशिका’ अनुसार आचारसंहिता तोकिएको बताउनुभयो । उहाँका अनुसार आचारसंहितामा क्याम्पस हाताभित्र स्ववियु निर्वाचनलाई प्रभाव पार्ने गरी सरकारी कोषबाट तलबभत्ता लिने कुनै पनि व्यक्ति वा संस्थाका कार्यक्रम गर्न नपाइने उल्लेख छ । यस्तै, आचारसंहितामा क्याम्पसको पर्खालको बाहिर, भित्रपट्टि र क्याम्पस परिसरमा निर्वाचनसम्बन्धी भित्तेलेखन, तुल, फ्लेक्स तथा कुनै पनि प्रकारको पोष्टर टाँस्न नपाइने, विश्वविद्यालय र यसअन्तर्गतका क्याम्पसलाई हानी–नोक्सानी हुने कुनै प्रकारको प्रचारप्रसार र अन्य गतिविधि गर्न नपाइनेसमेत उल्लेख छ । यस्तै, क्याम्पसको निर्वाचन समितिमा दर्ता भएका सङ्घ, सङ्गठन, समूह वा स्वतन्त्र उम्मेदवारलाई एउटै मञ्चमा राखी परिचयात्मक कार्यक्रम निर्वाचन समितिले सञ्चालन गर्न सक्ने र उक्त कार्यक्रममा एकअर्काप्रति आक्षेप वा आरोप लगाउने वाक्य बोल्न नपाइने उल्लेख छ । आचारसंहितामा प्रत्येक सङ्घ, सङ्गठन, समूह र स्वतन्त्र उम्मेदवारले आफ्नो निर्वाचन घोषणापत्र र उम्मेदवारको नामावली भएको पर्चामात्र प्रचारप्रसार गर्न पाइने उल्लेख छ । निर्वाचनका बेला क्याम्पस हाताभित्र माइकबाट कुनै पनि प्रकारको प्रचारप्रसार, विभिन्न माग राखी वा निर्वाचनको विषयलाई लिएर बन्द, हडताल र मतदान हुनुभन्दा ४८ घण्टा अगाडिदेखि निर्वाचनको प्रसारप्रसार गर्न नपाइने आचारसंहितामा उल्लेख छ । निर्वाचनमा विसं २०५३ फागुन २८ गतेपछि जन्मिएका विद्यार्थी उम्मेदवार हुन नपाउने निर्देशनालयका निर्देशक अधिकारीले बताउनुभयो । देशभरिका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा एकैदिन मिश्रित निर्वाचन प्रणाली अवलम्बन गरी निर्वाचन हुने व्यवस्था गरिएको छ ।
काठमाडौं: परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा भएको घटनाका विषयमा आवश्यक कूटनीतिक पहल भइरहेको बताउनुभएको छ । सो विश्वविद्यालयको छात्राबासमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको र त्यसपछि नेपाली विद्यार्थीमाथि भएको व्यवहारका सन्दर्भमा आफूले आज बिहानदेखि नै सम्पर्कमा रहेर आवश्यक कूटनीतिक पहल थालेको उहाँले बताउनुभएको हो । एक औपचारिक कार्यक्रमका लागि हाल ओमनमा रहनुभएकी मन्त्री डा देउवाले यससम्बन्धी समाचार आएपछि विषयलाई गम्भीर रूपमा लिएर आज बिहानदेखि नै कूटनीतिक पहल सुरु गरेको उहाँको सचिवालयले राससलाई जानकारी दिएको हो । मन्त्री डा देउवाले सम्बद्ध पक्षसँग सम्पर्कमा रहनुका साथै आफूले भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्मालाई घटनाको वास्तविकता बुझेर नेपाली विद्यार्थीको समस्याबारे आवश्यक तत्परता लिइ काम गर्न निर्देशन दिएकोसमेत जानकारी दिइएको छ । सोहीबमोजिम राजदूत डा शर्माले काम गरिरहनुभएको र केहीबेरअघि नेपाली दूतावास नयाँ दिल्लीले विज्ञप्ति पनि प्रकाशन गरिसकेको उहाँले बताउनुभयो । “यसका साथै आज अपराह्न नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग नेपाली विद्यार्थीको सुरक्षाको वातावरणका लागि फोनमा कुरा गरेको छु । उहाँले पनि यसका लागि आवश्यक पहल र समन्वय गरिरहेको जानकारी दिनुभएको छ । यस विषयमा परराष्ट्र मन्त्रालयले आवश्यक तत्परताका साथ काम गरिरहेको छ र मन्त्रालयले पछिल्लो अवस्थाबारे जानकारी पनि गराउने छ”, मन्त्री डा देउवालाई उद्धृत गर्दै उहाँको सचिवालले भनेको छ ।
काठमाडौं: गृह मन्त्रालयले बढ्दो सुरक्षा चुनौतीलाई सामना गर्ने कार्ययोजनाका साथ काम भइरहेको स्पष्ट पारेको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता रामचन्द्र तिवारीले नीतिगत र कानुनी सुधार, शान्तिसुरक्षा, अपराध नियन्त्रण र दण्डहीनता अन्त्यलाई उच्च प्राथमिकतामा राखिएको बताउनुभयो । बढ्दो सडक दुर्घटना, आत्महत्या, लागुऔषध दुव्र्यसन, राजस्व चुहावट र साइबर अपराध सुरक्षा चुनौतीका रुपमा देखापरेका जनाउँदै प्रवक्ता तिवारीले त्यस्ता चुनौती सामना गर्न मन्त्रालयले काम गरिरहेको बताउनुभयो । नीतिगत तथा कानुनी सुधारलाई प्राथमिकता दिई प्रहरी ऐन, २०१२ र सशस्त्र प्रहरी ऐन, २०५८ लाई प्रतिस्थापन गरी परिवर्तित सन्दर्भमा नयाँ ऐन तर्जुमा गर्ने विधेयक र नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक गत माघ १५ गते सङ्घीय संसद्मा दर्ता भएको बताउनुभयो । विपद्जन्य घटनामा प्रभावितलाई राहतलगायत पुनःनिर्माण एवं पुनःस्थापनासँग सम्बन्धित कार्यलाई थप प्रभावकारी बनाउन विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१, विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनःनिर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि, २०८१ (प्रथम संशोधन) र विपद्बाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान मापदण्ड, २०८१ स्वीकृत भई कार्यान्वयनमा आएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले सीमा तथा अध्यागमन प्रशासनलाई चुस्त बनाउन दार्चुलाको टिङ्कर र मुस्ताङको कोरोला नाकामा अध्यागमन कार्यालय स्थापना, अध्यागमन कार्यालय बेलहियामा सुविधासम्पन्न भवनबाट सेवा प्रवाह, चीनसँग सीमा जोडिएका जिल्लाका नेपाली नागरिकलाई चीन आवागमन अनमुतिपत्र उपलब्ध गराउने कार्यविधि कार्यान्वयनमा आएको जनाएको छ । एक हजार ३७० जना क्षमताको नुवाकोटस्थित कारागार सञ्चालनमा आएको तथा मोरङमा २६८ र मुगुमा ३० जना क्षमताको कारागार सञ्चालनको तयारी पूरा भएको प्रवक्ता तिवारीले जानकारी दिनुभयो । केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीसम्बन्धी सेवा विस्तार गरी २५ जिल्लाका एक हजार ९२२ वडाबाट अनलाइन नागरिकता सिफारिस गर्ने व्यवस्था गरिएको छ । राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीसँग विभिन्न सार्वजनिक सेवा प्रदायक १२ वटा प्रणालीको अन्तरआबद्धता गरिएको र सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरुको बायोमेट्रिक भेरिफिकेसनलाई क्रमशः विस्तार गर्दै लगिएको मान्त्रालयले जनाएको छ ।
रुपन्देही: भारतको प्रयागराजमा लागेको महाकुम्भमा सहभागी हुन गएका नेपाली नागरिक सवार कार भारतमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरका अनुसार मृत्यु हुनेमा रुपन्देहीको देवदह नगरपालिका–९ भलुहीका ४५ वर्षीय गणेश खनाल, उहाँकी श्रीमती ४० वर्षीया दीपा खनाल र सोही ठाउँकी ४५ वर्षीया गीता शर्मा रहेका छन् । महाकुम्भबाट स्नान गरेर फर्किने क्रममा भारतको आजमगढ नजिकै उनीहरु सवार कार सडक छेउको डिभाइडरमा ठोक्किएको हो । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । घाइतेको भारतकै आजमगढ र गोरखपुरमा उपचार भइरहेको प्रहरी उपरीक्षक राठौरले बताउनुभयो । देवदह नगरपालिका–९ का ३५ जनाको टोली कुम्भ मेलामा स्नान गर्न गएको थियो । पाँच कारमा सवार उक्त टोली फर्किने क्रममा बनारस–आजमगढ राजमार्गमा दुर्घटनामा परेको हो । शव स्थानीय अस्पतालमा परीक्षणका लागि राखिएको र नियमितरुपमा भारतीय प्रहरीसँग सम्पर्क भइरहेको उहाँले बताउनुभयो ।
काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक टिकटमार्फत लोपोन्मुख, रैथाने र परम्परागत कला संस्कृतिको जगेर्ना गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । हुलाक सेवा विभागले सप्ताहव्यापी रुपमा आयोजना गरेको राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा हुलाक टिकट प्रदर्शनी कार्यक्रममा मन्त्री गुरुङले विभागले आवश्यक परेको खण्डमा ऐतिहासिक विषयवस्तु खोजेर टिकट प्रकाशन गर्नुपर्ने बताउनुभयो । नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले हुलाक टिकट एउटा कागजको टुक्रा मात्र नभई यसले देशको पहिचान र इतिहासलाई सधँै जगेर्ना गर्ने दस्तावेज रहेको बताउनुभयो । मन्त्री गुरुङले समाजका रैथाने मूल्यमान्यता, जीवनशैली, पर्यटनलाई प्रवद्र्धन गर्ने खालका विषयवस्तु समेत हुलाक सेवाले आफैले पहिचान गरी छाप्नुपर्ने बताउनुभयो । उहाँले हुलाक सेवालाई समयसापेक्ष आधुनिकीकरण गर्न मन्त्रालय सधैँ तत्पर रहेको उल्लेख गर्दै जनसेवामुखी भएर हुलाक सेवामा काम गर्न कर्मचारीलाई आग्रह गर्नुभयो । साथै उहाँले हुलाक कार्यालयलाई आवश्यक बजेट व्यवस्थापन गर्न मन्त्रालय तयार रहेको समेत बताउनुभयो । कार्यक्रममा मन्त्री गुरुङले नयाँ हुलाक टिकट ‘पञ्चमार्क मुद्रा’ र ‘भित्रीकोट दरबार’ टिकटको आवरणमा टाँचा प्रदान गर्नुभयो । भगवान् गौतम बुद्धको राजप्रसाद रहेको प्राचीन कपिलवस्तु तिलौराकोटको खोज–अनुसन्धान गरी जमिनबाट उत्खनन गरिएको ऐतिहासिक ‘पञ्चमार्क मुद्रा’ हो । साथै प्यूठान जिल्लास्थित ‘भित्रीकोट दरबार’ नेपाल बाइसे र चौबिसे राज्यमा विभाजित रहेको समयमा चौबिसे राज्यअन्तर्गतको शक्तिशाली राज्य थियो । हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पँगेनीले हुलाक टिकटको ऐतिहासिक महत्व दर्शाउँदै विभागले पुरातात्विक महत्व राख्ने विषयवस्तु खोजेर टिकट बनाउनेतर्फ कार्ययोजना बनाउँदै गरेको बताउनुभयो । “यस्ता कैयौँ रोचक र ऐतिहासिक खोजमूलक विषयवस्तु छन्, जुन टिकटमा समावेश गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “विभाग आफैँ पनि अनुसन्धान गर्ने तयारीमा छ ।”