काठमाडौं:  संघीय राजधानी काठमाडौँलाई बाग्मती, मधेश र कोशी प्रदेशका जिल्लालाई जोड्ने बिपी राजमार्ग शुक्रबार दिउँसोबाट सञ्चालनमा आएको छ ।    असोज १७, १८ र १९ गतेको लगातार भएको वर्षा सँगै...

काठमाडौं:  गृह मन्त्रालयले गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको कुनै प्रकारको संलग्नता नरहेको र नरहने स्पष्ट पारेको छ।  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका घटनासँग जोडिएर आएको विषयबारे स्पष्ट पार्दै मन्त्रालयले कपोलकल्पित, भ्रामक र आधारहीन समाचार प्रकाशित र प्रसारित भएकाप्रति दुःख व्यक्त गरेको छ।  विमानस्थल अध्यागमन कार्यालयको कामकारबाहीका सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको हुँदा अनुसन्धानकार्य पूरा भएपछि सत्यतथ्य व्यहोरा सबैको जानकारीमा आउने मन्त्रालयले स्पष्ट पारेको छ।  मन्त्रालयका सहसचिव छवि रिजालद्वारा आज जारी विज्ञप्तिमा आयोगबाट हुने छानविन तथा अनुसन्धानसम्बन्धी कार्यमा मन्त्रालयको पूर्ण सहयोग रहनेसमेत उल्लेख छ। उहाँले मुलुकमा शान्ति सुरक्षा, अमनचयन तथा सुशासन कायम गर्न गृह प्रशासन निरन्तर क्रियाशील रहेको जनाउनु भएको छ।  मन्त्रालयले सबै प्रकारका अनियमितता र अपराधका घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै गृह प्रशासनलाई व्यवस्थित गर्नका निम्ति नीतिगत तथा संस्थागत सुधारका कार्यसमेत गर्दै आइरहेको विज्ञप्तिमा उल्लेख छ। मन्त्रालयले विषयको गम्भीरतालाई मध्यनजर गरी सत्यतथ्य विषयवस्तु मात्र प्रकाशन र प्रसारण गर्न सम्पूर्णमा आग्रह गरेको छ।    

पोखरा:   राष्ट्रिय अपाङ्ग अलबिनो नेपाल (बाँके)गण्डकीको अध्यक्षको म्याग्दीका विशाल वि.क सर्वसम्मत चयन भएका छन् ।  पोखरामा आज सम्पन्न भएको राष्ट्रिय अपाङ्ग अलबिनो नेपाल (बाँके)गण्डकी प्रदेशको भेलाले विशालको अध्यक्षतामा ९ सदस्दयीय कार्यसमिति चयन गरेको अलबिनोका निर्देशक प्रखरदीप गुप्ताले जानकारी दिए ।  राष्ट्रिय अपाङ्ग अलबिनो नेपाल (बाँके)गण्डकी प्रदेशको उपाध्यक्षमा तनहुँका केशवी सिग्देल, महासचिवमा कास्कीका राजेश बुढा मगर, सचिवमा म्याग्दीका भस्कर कुमाई र कोषाध्यक्षमा म्याग्दीका ममसरा सुनार सर्वसम्मत भए ।  सदस्यहरुमा गोरखाका प्रमिला बस्नेत, स्याङ्जाका लेखनाथ ढकाल, बागलुङका जीवन सुनार र म्याग्दीका भरदेवी विक चयन भए ।  राष्ट्रिय अपाङ्ग अलविनो नेपाल (बाँके)ले लुम्बिनीपछि गण्डकीमा समिति गठन  गरेको हो ।  राष्ट्रिय अपाङ्ग अलविनो नेपाल (बाँके)का निर्देशक प्रखरदीप गुप्ताले अलविनो एक प्रकारको अपाङ्गता भएको बताए ।   ‘अलविनो एक प्रकारको अपाङ्गता हो, शरिरमा छालालाई प्राकृतिक रंग र गुण दिने पदार्थको कमिले छाला र कपाल सेतै हुने समस्यालाई अलविनो भनिन्छ’, निर्देशक गुप्ताले भने, ‘अलविनो भएका अपाङ्गतालाई सरकारले सन्सक्रिम र मलम निशुल्क रुपमा दिनुपर्छ ।’  

जुम्ला:  जुम्लाको तिला गाउँपालिका–४ भोटचौरमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  भोटचौरमा क १ ह ३१ नम्बरको अटो दुर्घटना हुँदा अटो चालक ४४ वर्षीय रणबहादुर कुँवरको मृत्यु भएको तिला गाउँपालिकामा रहेको कुडारी प्रहरी चौकीका प्रहरी हवल्दार बैजु महत्तोले जानकारी दिए ।  शुक्रबार तातोपानी गाउँपालिका–१ राँकाबाट तातोपानी–७ सर्मीगाउँतर्फ धान लिएर जाने क्रममा उक्त अटो सडकदेखि ६० मिटर तल खसेको कुडारी प्रहरी चौकीका प्रहरी हवल्दार महत्तोले बताए ।  दुर्घटनाबाट गम्भीर घाइते भएका चालक कुँवरको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार बिहान ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौं:  सङ्घीय राजधानीको प्रदेशविन्दु नागढुङ्गा­नौबिसे सडक आजदेखि हरेक दिन दिउँसो साढे ४ घण्टा बन्द हुने भएको छ ।  नारायणगढ– मुग्लिन सडक योजना (पूर्वी खण्ड)ले आजदेखि यही जेठ २५ गतेसम्म बिहान १०ः३० बजेदेखि अपाह्न ३ः०० बजेसम्म उक्त सडक बन्द गरेर काम थालेको जनाएको छ ।  काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौं र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा उक्त निर्णय भएको जानकारी दिनुभयो ।  आयोजनाले नागढुङ्गा–पिपलामोड खण्ड निर्माणका लागि सडक बन्द गर्नुपरेको बताएको छ । नारायणगढ मुग्लिन सडक योजना (पूर्वी खण्ड)ले काठमाडौंबाट जाने सवारीसाधन नागढुङ्गामा र नौबिसेतर्फबाट काठमाडौँ आउने सवारीसाधन खानीखोलामा रोकिने जनाएको छ ।  प्रहरीले विकल्पमा धार्के­सितापाइला तथा टोखा­छहरे­त्रिशूली­गल्छी सडक प्रयोग गर्न अनुरोध गरेको छ ।

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । महाशाखाका अनुसार अहिले कोशी, मधेस र बागमती प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहको छ । बागमती प्रदेशका थोरै स्थान तथा कोशी, मधेस, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो सातै प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही एकदुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हिमाली क्षेत्रको एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । सातै प्रदेशको एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । आज सूर्योदय बिहान ५ बजेर १० मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५१ मिनेटमा हुनेछ ।

काठमाडौं: लामो समयदेखि कम्बोडियामा अलपत्र दुई नेपाली नागरिकलाई नेपाली राजदूतावास थाइल्याण्डले उद्धार गरी स्वदेश फर्काएको छ। शुक्रबार स्वदेश फर्कनेमा एक महिला र एक पुरुष छन्। सरकारले तोकेको मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी छिटो, धेरै पैसा कमाउने हेतु कम्वोडिया लाओस, म्यानमार र थाइल्याण्डलगायतका देशमा वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावासले सम्बन्धित सबैमा पुनःअनुरोध गरेको छ। दूतावासले आमसञ्चारमाध्यम तथा नागरिक समाजलाई समेत यो सन्देश प्रवाह गरी सहयोग गरिदिन आग्रह गरेको छ।

काठमाडौं:    नेपाल सुनचाँदी तथा रत्न आभूषण महासंघले  नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेललाई सफल कार्यकालका लागि बधाई ज्ञापन गरेको छ ।   महासंघका अध्यक्ष किसान सुनारसहितकाे पदाधिकारी टोलीले बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको कार्यलयमा पुगेर डा. पौडेललाई बधाई एवं शुभकामना ज्ञापन गरेको हो ।   साेही अवसरमा सुनचाँदी  तथा आभूषण व्यवसायसँग सम्बन्धित आवश्यक कानुनी तथा नीतिगत आधार समेटिएको “आभूषण व्यवसायमा कानुनी व्यवस्था” शीर्षक पुस्तक अध्यक्ष सुनारले गभर्नरलाई हस्तान्तरण गरे ।   मुलुकको आर्थिक र वित्तीय प्रणालीलाई चलायमान बनाउन तथा सुनचाँदी व्यवसायीको समस्यालाई आफ्नो क्षेत्रबाट समाधान दिन पहल गर्नेमा नवनियुक्त गभर्नर डा. पौडेलको भूमिका महत्वपुर्ण हुने अध्यक्ष सुनारले विश्वास व्यक्त गरेका थिए ।    

जनकपुरधाम:   गृहमन्त्री रमेश लेखकले मधेश प्रदेशअन्तर्गत नेपाल र भारतीय सीमा क्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न यहाँका सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । नेपाल सरकार गृह मन्त्रालय र मधेश प्रदेशको विभागीय मन्त्रालयद्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उहाँले खुल्ला सिमाना रहेकाले सुरक्षाको सवालमा उच्च सतर्कता अपनाउन निर्देशन दिनुभयो । गृहमन्त्री लेखकले प्रदेशको शान्तिसुरक्षाको जिम्मेवारी बोकेका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलगायत सुरक्षा निकायले देशको बदलिँदो परिस्थितिअनुसार इमान्दारिताका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो ।  “ देशमा हाल लागुऔषध, सडक दुर्घटना, आत्महत्या तथा साइबर क्राइमलगायतका सामाजिक विकृतिका गम्भीर समस्या बढ्दै छन् । मधेश प्रदेशका सबै जिल्ला भारतीय सीमासँग जोडिएकाले पनि यहाँ थप सतर्कता अपनाउन आवश्यक छ । उल्लेखित समस्यालाई के कसरी रोकथाम गर्न सकिन्छ, त्यसतर्फ पनि सुरक्षा निकायले गम्भीरतापूर्वक लाग्नुपर्ने जरूरी छ”, उहाँले भन्नुभयो । गृहमन्त्री लेखकले राष्ट्रसेवक कर्मचारीहरूले कानुनविपरीत आर्थिक लोभ र लाभमा नपरी इमान्दारी एवं निष्पक्ष भई छिटो, सरल र सहज तरिकाले सेवा प्रवाह गर्न निर्देशन दिनुभयो । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रहरी समायोजन नहुँदा प्रदेश सरकारलाई शान्तिसुरक्षाका काम गर्न समस्या भएको गुनासो गर्नुभयो । उहाँले प्रदेशअन्तर्गत रहेका सुरक्षा निकायलाई आफ्नो सीमित साधनस्रोतका बाबजुद सक्दो सहयोग गरिरहेको भन्दै तत्काल प्रहरी समायोजनको काम अगाडि बढाउन आग्रह गर्नुभयो । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले छिमेकी देशमा बलिरहेको द्वन्द्व र असमझदारीले नेपालको सीमाक्षेत्रमा सुरक्षा चुनौती थपिँदै जाने अवस्थातर्फ सतर्क तथा सचेत रहन सुरक्षा निकायलाई आग्रह गर्नुभयो । गोष्ठीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रदेश तथा जिल्ला प्रमुख, आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायतको सहभागिता रहेको छ ।

संखुवासभा:   दाहसंस्कार गर्न लगिएकी एक बालिकाको शवलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले नियन्त्रणमा लिएको छ ।  प्रहरीले भोटखोला गाउँपालिका–४ सिप्प्रङ की ६ बर्षीया बालिका एम्बुलेन्समार्फत घरतर्फ लग्दै गरेको शव बाटोमै नियन्त्रणमा लिएको हो । बिहीबार बिहान करिब ७ बजे खाँदबारी–३ गुरुङचोकबाट जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) दक्षकुमार बस्नेतको टोलीले एम्बुलेन्ससहित गोपाल तामाङकी ६ बर्षीया छोरी युनिका तामाङको शव नियन्त्रणमा लिएको हो । बैशाख ३० गते घरासयी विवादका क्रममा जेठाजु गोपाल तामाङ र भाईबुहारी कल्पना (गुरुङ) तामाङ बीच झै–झगडा भएको थियो । झै–झगडाका क्रममा भाईबुहारी कल्पनाले भजिती छोरी युनिकालाई धकेल्दा डिलबाट लडेर गम्भीर घाईते भएकी थिइन् । गम्भीर घाइते युनिकाको जिल्ला अस्पताल संखुवासभामा उपचार हुन नसकेपछि थप उपचारका लागि नोबेल अस्पताल बिराटनगर लगिएको थियो । प्रहरीका अनुसार युनिकाको नोबेल अस्पतलमा उपचारका क्रममा जेठ ७ गते बुधबार मृत्यु भएको हो । नियन्त्रणमा लिएको शव जिल्ला अस्पताल संखुवासभाको शवगृहमा राखिएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो । प्रहरीले गोपालकी भाईबुहारी कल्पनालाई भोटखोला–४ सिप्प्रङबाट पक्राउ गरेर सदरमुकाम खाँदबारी ल्याउँदै गरेको जनाएको छ । घटनाको बारेमा मृतकका बुबा गोपाललाई समेत नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।