काठमाडौं: मन्त्रिपरिषदको बैठक बस्दै छ । बैठक दिउँसो पौने २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्ने छ । बैठकले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज प्रस्तुत हुने आगामी आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट) स्वीकृत गर्नेछ । सङ्घीय संसदमा दिउँसो ३ बजे उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
बागलुङ: गर्मी बढेसँगै बागलुङ नगरपालिका–१ राखरेखास्थित बिपी भ्यू पोइन्टमा आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ । भिरालो जग्गामा रु ५१ लाख लगानी पश्चात सुन्दर पार्क र भ्यू पोइन्ट निर्माण गरेपछि आन्तरिक पर्यटक गर्मी छल्न यहाँ आउने गरेका हुन् । मध्यपहाडी लोकमार्ग नजिकै रहेकाले पनि यो गन्तव्य पर्यटकको रोजाइमा परेको हो । बागलुङ बजारको छेउमा रहेकाले साँझको समयमा बाटिकामा रमाउने र भ्यू पोइन्ट अवलोकन गर्न आउनेको भीड लाग्ने गरेको बिपी पार्क निर्माण समितिका अध्यक्ष महेन्द्र आचार्यले जानकारी दिनुभयो । बजारको कोलाहल बिर्साउन पर्यटक आउने गरेको अधिकांशको भनाइ छ । पार्कमा फुलेका फूलले पर्यटकलाई मोहित बनाउने गरेको यहाँ घुम्न आउनुभएका आन्तरिक पर्यटक सन्तोष रानाले बताउनुभयो । पार्कमा दूबो रोपिएको छभने सजावटका लागि फूल रोप्नुका साथै बस्नका लागि बिसौनी, चौतारा, मन्दिर तथा शौचालय निर्माण गरिएको छ । भ्यू पोइन्टबाट कालीगण्डकी नदी, निरयघाट र पर्वत जिल्लाको विभिन्न स्थान अवलोकन गर्न सकिन्छ । “झाडीले भरिएको अव्यवस्थित खोँच अहिले पर्यटकीय गन्तव्य बनेको छ, गर्मीयाममा साँझपख पार्कमा मानिसको भीड नै लाग्ने रहेछ”, रानाले भन्नुभयो “पार्कमा मुस्ताङ र ढोरपाटन पुगेका पर्यटकसमेत यहाँ आएको भेटेँ ।” पार्कको पूर्वाधार निर्माणमा हालसम्म रु ५१ लाख ७६ हजार खर्च भइसकेको बिपी उद्यान समितिका अध्यक्ष आचार्यले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा बागलुङ नगरपालिकाद्वारा रु पाँच लाख बजेटमा भ्यू पोइन्ट थप व्यवस्थित गरिएको छ । रामरेखामा मध्यपहाडी लोकमार्गसँगै सहिदपार्क, मदन आश्रितपार्क, बिपी पार्क, मनिलाल भ्यू पोइन्ट र डिबी पार्क गरी पाँच वटा पार्क रहेका छन् ।
काठमाडौं: हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा आज राति भारी वर्षा हुने प्रक्षेपण गरिएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने छ ।
काठमाडौं: सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)पेस गर्नुहुने कार्यसूची छ । अपराह्न ३ बजे हुने बैठकमा नेपालको संविधानको धारा ११९ बमोजिम अर्थमन्त्री आव २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान पेस गर्ने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयले जानकारी दिनुभयो । संसद् सचिवालयले दुवै सदनका सदस्यलाई दिउँसो २ः४५ बजे अगाडि नै प्रतिनिधिसभा बैठककक्षमा उपस्थित हुन आग्रह गरेको छ । त्यसअघि प्रतिनिधिसभाको अपराह्न १ः३० हुने बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा वाचन गर्ने तथा अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/०८३ आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची छ । त्यसैगरी राष्ट्रियसभाको अपराह्न १ः४५ मा हुने बैठकमा अर्थमन्त्री पौडेलले ‘आव २०८२/०८३ को आर्थिक सर्वेक्षण’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ ।
काठमाडौं: तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले गरेको सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष भएको छ । विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा २४० वर्षदेखि नेपालमा कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको सोही ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ । जेठ १५ गतेकै दिन नेपाली जनतालाई स्वतन्त्रता, उदार सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्रसहित नागरिक सर्वोच्चता प्राप्त भएको थियो । गणतन्त्र दिवस वंशीयतन्त्रलाई जनताले जितेको उत्सव पनि हो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जान जनतालाई सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको छ । नागरिकका समस्या शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, सामाजिक सुरक्षाको प्रत्याभूतिसहित गरिबीको अन्त्यसँगै विश्वमञ्चमा नेपाल र नेपालीको प्रतिष्ठालाई उँचो बनाउन पर्ने लोकतान्त्रिक गणतन्त्रको प्रथम कार्यभार रहेको छ । जनअपेक्षा र जनभावनाअनुरुप चल्नु नै गणतान्त्रिक संविधानको मूल भावना भएकाले आमनागरिकको अधिकारप्रति अटुट आस्था राख्दै यो दिवसलाई लोकतन्त्रको पोषकका रूपमा स्थापित गर्न पनि उत्तिकै आवश्यक छ । लोकतान्त्रिक गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैली भएकाले उदारवादी आदर्शको उपजका रूपमा हेरिने गरिएको छ । विश्वमा अभ्यासमा रहेका शासन व्यवस्थामध्ये लोकतान्त्रिक गणतन्त्र सबैभन्दा उत्तम भएकाले जनताको जीवनस्तरमा सुधार र राष्ट्रको समृद्धिका लागि बलियो अस्त्रका रूपमा रहेको छ । यसैबीच, अठारौँ गणतन्त्र दिवस आज मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी भव्यता र हर्षोल्लासका साथ मनाइँदैछ । गणतन्त्र दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेललगायत विशिष्ट महानुभाव सहभागी हुनुहुनेछ । त्यस अवसरमा गौरवमय परिवर्तनका लागि सहादत प्राप्त गर्ने सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै लोकतन्त्रका लागि सङ्घर्ष, त्याग र बलिदान गर्ने अग्रजको योगदानको स्मरण गरिनेछ । मुलुकमा सामाजिक न्याय, स्वाधीनता र समृद्धि सुनिश्चिता गर्न तथा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलन र सङ्घर्षमा धेरै नेपालीजनले जेलनेल र यातना सहन परेको थियो । लोकतान्त्रिक संस्कृतिको वातावरणमा नागरिकलाई समुन्नत र अधिकारसम्पन्न तुल्याउँदै खुसी दिलाउने अभियानमा जुट्न आजको दिनले अझ धेरै प्रतिबद्ध जनाउने विभिन्न पार्टीका नेताहरूले विश्वास व्यक्त गरेका छन् । त्यसका लागि लोकतान्त्रिक वातावरणमा जनताको जीवनस्तर उकास्न उत्पादन वृद्धि, अवसरको न्यायोचित वितरण, रोजगारी प्रवर्द्धन एवं सुशासन कायम गर्नुपर्ने दायित्व रहेको अभिव्यक्ति उहाँहरूको छ । आजको पुस्तालाई बलियो अर्थतन्त्रसहितको समृद्धि सुनिश्चित गर्दै आउने पुस्तालाई सबल, एकताबद्ध, मौलिक चरित्रसहितको उदार राज्य र उच्चतम लोकतान्त्रिक संस्कृति दिने सङ्कल्प गरिनुपर्ने सन्देशमा उल्लेख छ । जनादेश, मतादेश र संविधानप्रदत्त व्यवस्थाअनुरुप एकढिक्का र एकीकृत भई अघि बढ्नसके नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सबल, सुदृढ र बलियो हुन सक्दछ । समाजका सबै तह र तप्कामा गणतान्त्रिक जीवनशैली विकास भई नागरिक तहमा गणतन्त्र संस्थागत गर्ने जागरण पैदा गराउन भने आवश्यक देखिएको छ । लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले विकास, सुशासन, समृद्धि र राष्ट्रिय स्वाभिमानलाई केन्द्रविन्दुमा राखेर हरेक नेपाली नागरिकलाई राष्ट्र निर्माणमा समेट्न सक्नुपर्नेछ ।
काठमाडौं: नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमको उच्च अदालतबाट सफाइ पाउनु भएको छ । उच्च अदालत वीरगन्जको न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्ट्याउँदै उहाँलाई सफाइ दिएको हो । आलममाथि इँट्टा भट्टामा मानिसलाई जिउँदै हालेर जलाएको आरोप थियो । यसअघि उनलाई जिल्ला अदालतले जन्मकैदको फैसला गरेको थियो । फैसला उल्टिएसँगै उहाँ थुनामुक्त हुनुहुने भएको छ ।
पोखरा: नेकपा एमाले निकट राष्ट्रिय युवा संघको पाँचौं महाधिवेशनबाट क्षितिज थेबेको प्यानलै विजयी भएको छ । अन्तिम मत परिणाम अनुसार थेवे १८८ मतान्तरले विजयी भएका हुन् । थेबेले ७९७ ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी सुमन पुरीले ६०८ मत ल्याएका छन् । यस्तै युवासंघको महासचिवमा ७५५ मत ल्याउँदै महेश चौलागाईं विजयी भएका छन् । उनका प्रतिस्पर्धीले ६४९ मत ल्याएका छन् । १ हजार ७६४ मतदाता प्रतिनिधि रहेकोमा १ हजार ४०४ मत खसेको थियो । नेतृत्वमा सर्वसम्मत गर्न नेताहरूले कसरत गरेको भए पनि सुमनले अस्वीकार गरेर मतदान मार्फत नै नेतृत्व चुनिनुपर्ने अडान लिएपछि चुनावी प्रक्रिया अगाडि बढाइएको थियो । महाधिवेशनमा पदाधिकारी र सदस्यमा समेत गरेर ३९९ जनाको उम्मेदवारी परेको थियो । पदाधिकारी ९ जना सहित १५१ जनाको केन्द्रीय समिति, ४ वटा विभागमा अध्यक्ष, उपाध्यक्ष र सचिव गरेर १६३ पदमा निर्वाचित भएका छन् । यता, खुल्ला सचिवमा भने पुरी प्यानलका अरूणबहादुर कुँवरले जितेका छन् ।
म्याग्दीको धवलागिरी गाउँपालिका–३, मुनास्थित दरखोला जलविद्युत् आयोजनामा सडक खन्ने क्रममा पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ । जलविद्युत् आयोजनाको पाइपलाइनका लागि निर्माणाधीन कुनौटा–दर शिलबाङ मोटरबाटो खन्ने क्रममा खसेको पहिरोमा पुरिएर एक्साभेटर चालक ३२ वर्षका खेमराज कुमालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । स्याङ्जाको चापाकोट नगरपालिका–८ घर भएका कुमालको शव एक्साभेटरभित्रै च्यापिएको अवस्थामा फेला परेको र शव परीक्षणको लागि प्रदेश अस्पताल बेनी पठाउने तयारी गरिएको ताकम प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विक्रम तिवारीले जानकारी दिए । घटनापछि प्रहरी र स्थानीयवासीले एक्साभेटर चालकको शव पहिरोबाट बाहिर निकालेका थिए । मोटरबाटो खन्दै गरेको समयमा अचानक माथिबाट खसेको पहिरोले एक्साभेटर समेत पूर्ण रूपमा क्षति भएको छ । दरखोला हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको ६.५ मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजनाले ‘पेनस्टक पाइप’ राख्नका लागि अहिले लाम्पुस भीरमा सडक निर्माण गरिरहेको छ । -रासस
प्रहरीसामु बयानका क्रममा आफू एटीएफ चैत १५ गतेको कार्यक्रम आयोजनाका सम्बन्धमा पटक पटक दुर्गा प्रसाई, धवल शम्शेर जबरा, रविन्द्र मिश्रलगायतसँग कुराकानी भएको उनले बताएका छन् । काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी फौजमा स्वयंम सेवक तथा सुरक्षा दस्ता अनवरत तत्पर फौज (एटीएफ) का सदस्य तारा राजावादी भनिने सरोज गौतमले चैत १५ मा भएको राजावादी प्रदर्शनका क्रममा पत्रकार सुरेश रजक मृत भेटिएको घरमा आफूले आगो लगाएको बयान दिएका छन् । आइतबार दुर्गा प्रसाईसहित ५० जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले उनीविरुद्ध पनि जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । प्रहरीसामु बयानका क्रममा आफू एटीएफ चैत १५ गतेको कार्यक्रम आयोजनाका सम्बन्धमा पटक पटक दुर्गा प्रसाई, धवल शम्शेर जबरा, रविन्द्र मिश्रलगायतसँग कुराकानी भएको उनले बताएका छन् । त्यसक्रममा चैत १५ गते आफू बिहान १० बजे नै उक्त स्थानमा पुगेको बताएका छन् । रविन्द्र मिश्र र धवल शम्शेरले स्टेजमा भाषण गरिरहेको बेला दुर्गा प्रसाईँसहितको समूह निषेधित क्षेत्रमा गइ अमानवीय र अराजक शैलीमा संसद् भवन कब्जा गर्नुपर्छ भनी उत्तेजित बनाउँदै गाडी कुदाएको बयानमा उनले बताएका छन् । त्यसपछि आफूले भिडलाई उत्तेजित बनाउँदै त्यसतर्फ लगेको र प्रहरीले रोकेपछि बिचबाट आफू र प्रसाईँ हिँडेर कार्यक्रम स्थल पुगेको उनले बताएका छन् । स्टेजबाट मिश्र र शम्शेरले उत्तेजित अभिव्यक्ति दिएपछि प्रहरीमाथि ढुङ्गा मुढा सुरु गरेको र त्यसै क्रममा ५ तल्ले पक्की घरमा सटर च्यानल गेटमा लगाएको ताला फोडी अनधिकृत रुपमा भित्र छिरेको पनि उनले बताएका छन् । यो खबर रातोपाटी डटकममा लेखिएको छ ।