काठमाडौं:  संघीय राजधानी काठमाडौँलाई बाग्मती, मधेश र कोशी प्रदेशका जिल्लालाई जोड्ने बिपी राजमार्ग शुक्रबार दिउँसोबाट सञ्चालनमा आएको छ ।    असोज १७, १८ र १९ गतेको लगातार भएको वर्षा सँगै...

झापा:   जिल्लाका तीन स्थानमा तीन जना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार बुधबार बिहान अर्जुनधारा–४ मदनपुर जलाधर सडक, बिर्तामोड–२ फूलबारी टोल र अर्जुनधारा–११ नयाँबस्तीमा शव भेटिएका हुन् । अर्जुनधारा–४मा भेटिएको शवको परिचय नखुलेको, बिर्तामोड–२ फूलबारी टोलका  ३६ वर्षीय राम टुडू र अर्जुनधारा–११ नयाँबस्तीमा ६० वर्षीय मित्रलाल कामी मृतावस्थामा फेला परेका छ जनाइएको छ । तीनवटै शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । 

काठमाडौं:  हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार दिउँसो देशभर आंशिदेखि साधारणतया बदली रहने छ भने केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ ।   देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षाका साथै हिमपातको पनि सम्भावना छ । त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ भने केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनो छ । साथै उच्च पहाडी तथा हिमाली भागका एक(दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

पोखरा:  नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेट बक्तव्य मार्फत सुनका गहनामा कर  र हिरा जवाहरात लगायतका बहुमुल्य वस्तुमा १३ प्रतिशत भ्याट लगाउने घोषणासँगै सुनचाँदी व्यवसायी महासंघले चरणबद्ध रुपमा आन्दोलका घोषणा गरेका छन् ।  सरकारले सुनमा २ प्रतिशत कर र हिरा जवाहरात बहुमुल्य वस्तुमा १३ प्रतिशत भ्याट लगाउने भएसँगै नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघले आज संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै आन्दोलनको घोषणा गरेका हुन् ।   सरकारले आर्थिक वर्ष २०८२/८२ को बजेट बक्तव्य मार्फत सुन र सुनका गहनामा २ प्रतिशत विलासिता कर र हिरा जवाहरात लगायतका बहुमूल्य वस्तुमा १३ प्रतिशत भ्याट लगाउने भएपछि तीन व्यवसायी महासंघले विरोधका कार्यक्रमसहित आन्दोलनको घोषणा गरेको हुन् ।  विज्ञप्तीमा भनिएको छ, आगामी आर्थिक बर्ष २०८२/८३ को बजेट वक्तव्य मार्फत सरकारले घोषणा गरेको सुन र सुनका गहनामा २ प्रतिशत विलासिता कर लगाउने र हिरा जवाहरात लगायतका बहुमुल्य हिरा पत्थरमा लागु गरिएको १३ प्रतिशत भ्याट पूर्णरुपमा खारेज गर्न सरकारसँग आग्रह गर्ने महासंघहरूको संयुक्त कार्यदल बैठकमा निर्णय भएको छ ।  महासंघले छिमेकी मुलुक भारतमा भन्दा नेपालमा लिइने भन्सार दर ४ प्रतिशत बढी भएकोले त्यसलाई घटाई भारतमा जसरी नै ६ प्रतिशत भन्सार दर कायम गरिनुपर्ने समेत माग गरेको छ ।  यस्तै महासंघहरुले दिएको फर्म्याट अनुसार ३×२ साईजको व्यानरमा विरोधका नाराहरु समावेश गरी पसल पसलमा व्यानर राख्ने र A4 साईजको कालो झण्डा राख्ने, कालो पट्टी बाँधेर व्यवसाय सञ्चालन गर्ने, विरोध पत्रको रजिष्ट्रर तयार गरी ग्राहकहरुको हस्ताक्षर संकलन गर्ने र जिल्लारनगर संघहरु मार्फत विरोध स्वरुप सार्वजनिक स्थलमा सेतो कपडामा हस्ताक्षर संकलन गर्ने जस्ता कार्यक्रमहरू सार्वजनिक गरेका छन् ।  यस्तै जेठ २९ र ३० गते दुई दिन व्यवसाय बन्द गरी विरोधस्वरुप पसलको चावी सहित स्थानिय जिल्ला प्रशासन कार्यालयमा जाने संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ।    

तनहुँ: तनहुँको बन्दिपुर–२ कामिडाडामा सोमबार चितुवाको आक्रमणबाट पाँच बर्षीय उत्सव गुरुङको मृत्यु भएको छ । करिब साढे ६ बजेको समयमा घर नजिकैको मकैबारीबाट एक्कासी आएको चितुवाले आक्रमण गर्दा घरको आँगनमा खेली रहेका गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । चितुवाले चिथोरेर भागेपछि गम्भिर घाईते गुरुङलाई उपचारको लागि बन्दिपुर अस्पताल लगिएको थियो । आवश्यक जाँचपछि उक्त अस्पतालले बालक गुरुङको मृत्यु भएको पुष्टि गरेको हो । २०७४ सालदेखि हालसम्म ६ बर्षको अवधिमा गुरुङसहित १७ जना बालबालिकाले चितुवाको आक्रमणबाट ज्यान गुमाई सकेका छन् ।

तनहुँ:  मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत पश्चिम खण्डमा ५३ प्रतिशत काम भएको छ । तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको खण्डमा हालसम्म आधा काम सकिएको मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड) ले जनाएको छ । योजना प्रमुख कृष्णबहादुर कुँवरले २४ किलोमिटर खण्डमा दुईतर्फी र १२.८ किमी खण्डमा एकतर्फी कालोपत्र सकिएको जानकारी दिनुभयो ।  पश्चिम खण्डतर्फ तीन किमी एकतर्फी बाँकी कालोपत्र गर्न बाँकी रहेको र जेठको अन्तिमसम्म एकतर्फी कालोपत्र सक्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । पश्चिम खण्डतर्फ १२ मध्ये दश पुल सम्पन्न भएको छ, भने एक सय कल्भर्टमध्ये ९२ वटा कल्भर्ट निर्माण सकिएको उहाँले बताउनुभयो ।  यो खण्डमा चार सय २४ विद्युत् पोल हटाउन बाँकी रहेको र यसले गर्दा काममा केही ढिलाइ भएको उहाँको भनाइ छ । तालचोकदेखि आदर्शचोकसम्म र डाँडाको नाकदेखि विजयपुरसम्मको पोल हटाउन ढिलाइ हुँदा काममा समस्या भएको उहाँले बताउनुभयो ।  उक्त पोल एक साताभित्र हटाउने भन्ने प्रतिबद्धता आएकाले असार मसान्तसम्म कोत्रेदेखि सेतीपुलसम्मको चार लेन काम सम्पन्न गरिसक्ने उहाँले बताउनुभयो । विसं २०७८ जेठ ३ गते सम्झौता भएको यो खण्डको काम गर्ने म्याद विसं २०८२ पुस १६ गतेसम्म रहेको छ । यो खण्डको ठेक्का एनहुई केयूएन हाइवे एन्ड ब्रिजले रु सात अर्ब ४० करोडमा पाएको थियो । पूर्वीखण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको काम भने करिब अन्तिम चरणमा पुगेको छ । यो खण्डको काम ८५ प्रतिशत सकिएको छ । आँबुखैरेनीदेखि जामुनेसम्मको खण्डमा कालोपत्र करिब सकिएको इञ्जिनीयर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो ।  यो खण्ड अन्तरगत अब मादी पुल नजिक र विमलनगरको एकतर्फी मात्रै कालोपत्र गर्न बाँकी छ । दमौली बजारमा पनि कालोपत्र अन्तिम चरणमा पुगेको छ । यो खण्डको म्याद तेस्रो पटक थपिएकामा आगामी २९ गतेसम्म रहेकामा त्यसअवधिभित्रै काम सम्पन्न गरिने पाण्डेले बताउनुभयो । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो ।  पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । विसं २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।

पाल्पा:   पाल्पाको रम्भा गाउँपालिका– २ फोक्सिङकोट र  वडा नं ३ रिमिघा लेकमा यार्सागुम्बा भेटिएको छ।  राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरमा गरिएको परीक्षणका क्रममा बहुमूल्य जडीबुटी यार्सा नै भएकोे डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले जानकारी दिएका हुन्।  रिमिघा लेकमा गत साता यार्सागुम्बाजस्तै देखिने वस्तु फेला परेको थियो। उक्त क्षेत्रमा झाडी सरसफाइ गरी सुन्तलाको बिरुवा लगाउन खाल्डो खन्ने क्रममा यार्सागुम्बाजस्तै देखिने वस्तु फेला परेपछि त्यसको पुष्टि गर्न प्रयोगशाला पठाइएको थियो। गाउँपालिकाले उक्त क्षेत्रमा प्रवेश निषेध गरेको छ। पालिकाले सूचना नै निकालेर सो क्षेत्रमा प्रवेश निषेध गरेको हो।  प्रयोगशालाको प्रतिवेदन आएपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर यार्सा भेटिएको क्षेत्रमा अझै केही दिन सर्वसाधारणलाई प्रवेश निषेध गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए। ‘रिमिघा लेकमा यार्सा नै भएको प्रमाणित भएको छ,’ प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले भने, ‘तर त्यो कस्तो प्रजातिको हो, साथै त्यसको मेडिसनल भ्यालु कति छ भन्ने यकिन भएको छैन।’ एक हजार आठ सय मिटरको उचाइमा रहेको यस क्षेत्रमा यार्सा भेटिएको प्रमाणित भएपछि जिल्लावासी उत्साहित भएका छन्।  हिमाली तथा उच्च पहाडी क्षेत्रमा विश्वकै बहुमूल्य औषधिजन्य बहुगुणयुक्त यार्सागुम्बा प्राकृतिक जडीबुटी हो । यार्सागुम्बा विश्वमा आपूर्तिको दृष्टिकोणले चीनपछि नेपाल दोस्रो स्थानमा रहेको बताइएको छ।  यार्सागुम्बामा औषधिजन्य गुण अन्तर्निहित हुने हुँदा यसको प्रयोग शक्तिवद्र्धक, क्यान्सर, रक्तअल्पता, क्षयरोग, फोक्सोको सङ्क्रमण, मिर्गौला, कलेजोसम्बन्धी, मुटु आदि रोगको औषधि बनाउन प्रयोग हुने जनाइएको छ। समुद्री सतहबाट तीन हजार पाँच सय मिटरदेखि पाँच हजार पाँच सय मिटरसम्मको उचाइमा यार्सागुम्बा पाइन्छ । आयुर्वेद चिकित्सकका अनुसार यो एक प्रकारको च्याउ तथा लार्भा अवस्थाको पुतलीको संयुक्त रूप हो।

काठमाडौं:  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी, पूर्व मुख्यसचिव वैकुण्ठ अर्याल लगायत विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । प्रबन्ध निर्देशक सङ्गीता पहाडीसहित १८ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा लगेको हो । मुद्दा रुजुको क्रममा रहेकाले दर्ता हुन बाँकी रहेको अदालत स्रोतले जनाएको छ । आरोपपत्रमा निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलसमेतलाई प्रतिवादी बनाइएको छ। पौडेल भ्रष्टाचार र अकुत सम्पत्तिको मुद्दामा निलम्बन भएपछि २०८१ भदौमा सरकारले पहाडीलाई टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गरेको थियो। नेपाल टेलिकमको बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार भएको अख्तियारको दाबी छ।

मुस्ताङ:  उत्तर-दक्षिण जोड्ने कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम(कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत पुगेको छ ।  कोरला सडक आयोजनाले सुरुआतीदेखि हालसम्म ४३ वटा योजनाका लागि सात अर्ब ९० करोड ७० लाख बजेट ठेक्का सम्झौता गरिकोमा छ अर्ब ६४ करोड १८ लाख भइसकेको जनाएको छ । आयोजना सुरुआतदेखि चालु आर्थिक वर्षको हालसम्म ४३ वटा योजना कार्यान्वयनमा ल्याइसकेको आयोजना प्रमुख धुव्र झाले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजनाले पर्वतको मालढुङ्गा(कोरला नाकासम्म २० वटा सडक र २३ वटा पुलपुलेसा निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ । कोरला खण्डअन्तर्गत सडक र पुलपुलेसा दुवैमा करिब ८५ प्रतिशत र ८१ प्रतिशत वित्तीय प्रगति भइसकेको आयोजना कार्यालयले जनाएको छ । सडकतर्फ जोमसोम-कोरला एक सय १० किमी ग्राभेलमध्ये छ वटा खण्ड निर्माण कम्पनीले आयोजनालाई हस्तान्तरण भइसकेको प्रमुख झाले उल्लेख गर्नुभयो । उहाँका अनुसार चराङ-छोसेर २५ किमी निर्माणको अन्तिम चरणमा पुगेको छ ।  यसैगरी म्याग्दीको बेनी-गलेश्वरअन्तर्गत तीन किमी कालोपत्र र बेनी(जोमसोम तेस्रो खण्डअन्तर्गत कैकु-खन्ती खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र गरी कोरिडोर सडक आयोजनालाई हस्तान्तरण भइसकेको आयोजना प्रमुख झाले जानकारी दिनुभयो ।   बेनी-जोमसोम खण्डअन्तर्गत गलेश्वर-तातोपानी, तातोपानी-घाँसा र खन्ती-जोमसोम गरी तीन वटा सडक कालोपत्रसहित स्तरोन्नतिको अन्तिम चरणमा पुगेका आयोजना कार्यालयले जनाएको छ ।  आयोजनाले बेनी–जोमसोमको ७४ किमीअन्तर्गत तेस्रो खण्डको मुस्ताङको कैकुबाट खन्तीसम्म सडक निर्माण सम्पन्न आयोजनालाई हस्तान्तरण गरिएकामा आयोजनाले सडक डिभिजन कार्यालय बागलुङलाई हस्तान्तरण गरिसकेको आयोजना प्रमुख झाले जानकारी दिनुभयो ।  “बेनी-जोमसोम सडकको ७४ किमीमध्ये २० किमी निर्माण सम्पन्न भएको छ । बाँकी निर्माणाधीन अवस्थामा छ”, उहाँले भन्नुभयो । कालीगण्डकी कोरिडोर आयोजनाअन्तर्गत रहेका २३ वटा पुलपुलेसामध्ये मुस्ताङको कैकु खोला, लार्जुङ खोला, सेतो खोला, घमी खोला र मार्फा खोलामा तीव्र गतिमा पुल निर्माण भइरहेका छन् । हाल निर्माणाधीन अवस्थामा रहेका सबै पुल सम्पन्न हुने अन्तिम चरणमा पुगेका आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले जानकारी दिनुभयो । चालु आर्थिक वर्षका लागि सरकारले विनियोजन गरेको ९० करोड बजेटमध्ये ३१ करोड अन्य योजनामा रकमान्तर भएको थियो । आयोजनासँग रहेको ५९ करोड सतप्रतिशत खर्च भइसकेको जनाउँदै उहाँले करिब ३० करोड निर्माण कम्पनीलाई भुक्तानी दिन बाँकी रहेको बताउनुभयो । अर्थ मन्त्रालयले चालु आवका लागि १४ करोड बजेट थपेको उल्लेख गर्दै सूचना अधिकारी चापागाईंले आयोजनालाई चालु वर्षको खर्चमा बजेट थप भएर आए पनि अपुग भएकाले अर्थ मन्त्रालयसँग पुनः बजेट थपको माग गरिएको बताउनुभयो । “यो वर्षको बजेट भौतिक प्रगति सकिएका योजनालाई भुक्तानी दिन सकिएको छैन, अर्थ मन्त्रालयले यथाशीघ्र बजेट थप गरी आवश्यक सम्बोधन गर्नमा विश्वस्त छौँ । बजेट आएन भने आगामी आवका लागि दायित्वमा रहने भएकाले अपेक्षाकृत काम हुन नसक्ने हुनसक्छ”, उहाँले भन्नुभयोे । कोरला सडक आयोजनाअन्तर्गत पर्वतको मालढुङ्गा-बेनी १३ किमीमा कालोपत्रसहित भौतिक प्रगति ६० प्रतिशत, गलेश्वर(तातोपानी खण्डमा ९९ प्रतिशत र खन्ती-जोमसोम सडकमा भौतिक प्रगति ९० प्रतिशत भएको आयोजना कार्यालयले जनाएको छ । आयोजना प्रमुख झाका अनुसार चालु आवको अन्त्यसम्ममा मालढुङ्गा-कागबेनीको एक सय पाँच किमीमध्ये ८५ किमी सडक सम्पन्न हुन लागेको छ ।  राष्ट्रिय गौरवको आयोजनाका रूपमा मानिएको बेनी-जोमसोम-कोरला खण्डअन्तर्गत आगामी आर्थिक वर्षभित्र ८० किमी निर्माण सम्पन्न गरी सडक डिभिजन कार्यालय बागलुङलाई हस्तान्तरण गरिसक्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । 

काठमाडौं: सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।   सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप संकटमा परेको भन्दै फिर्ता लिन माग गर्दै नेपाल सुनचाँदी व्यवसायी तथा कालिगड संघर्ष समितिले आइतबार काठमाडौंको न्युरोड क्षेत्रमा प्रदर्शन गरेका हुन् । बजेटमा अव्यवहारिक र अनावश्यक रूपमा २ प्रतिशत विलासी करको व्यवस्था गरिएकाले यसलाई खारेज गर्नुपर्ने उनीहरूको भनाइ छ । सुनका गहनामा प्रयोग हुने बहुमूल्य पत्थर र हिरामा लागू गर्न खोजिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर ९भ्याट० खारेज हुनुपर्ने आफूहरूको माग रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मानिकरत्न शाक्यले बताए । बजेटमार्फत सरकारले गरेको व्यवस्थाले आफूहरूको व्यापारमाथि नकारात्मक असर पर्ने देखिएको उनको भनाइ छ ।   उनीहरूले सुनचाँदीमा लगाएको विलासिता कर खारेज गर, हामी विरोधमा छौ, उपभोक्ता, कालिगड तथा व्यवसायीमैत्री ऐन तुरुन्त जारी गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका छन् ।