पोखरा: कास्कीको मादी गाउँपालिका–१ खिलाङमा गएराति पहिरो जाँदा डुमप्रसाद गुरुङको गोठसँगै २ वटा भैसी पुरिएको छ । बिहीबार रातिकोे अविरल वर्षासँगै आएको पहिरोले गुरुङको गोठसँगै दुईवटा भैसी पुरिएको मादी गाउँपालिका–१ का वडासदस्य प्रेम बहादुर गुरुङले सुनगाभा न्यूजसँग बताए । ‘हिजो रातिको अविरल वर्षासँगै खिलाङ गाउँ भन्दा माथिबाट आएको पहिरोले डुमप्रसाद गुरुङको गोठसँगै दुईवटा भैसी पुरेको छ, गाउँपालिका र प्रहरीलाई खबर गरेका छौं, वडा सदस्य गुरुङले भने, ‘पहिरोले गोठमा राखेको काठ चिर्ने मेसिन समेत पुरेको छ, पहिरोले गोठ नजिक रहेको घरलाई समेत सामान्य क्षति गरेको छ ।’ उनका अनुसार काहुँखोला–सिक्लेस सडकखण्डको ग्याबिन जालीलाई समेत पहिरोले क्षति पु¥याउँदा गाउँ नै पहिरोको जोखिममा रहेको बताए । यस्तै मादी गाउँपालिका–६ मा गएरातिको वर्षासँगै आएको पहिरोले तीन वटा घर र गोठमा क्षति पु¥याएको वडाध्यक्ष डिलबहादुर क्षेत्रीले बताए । ‘गएराति पौने १२ बजेतिर गएको पहिरोले स्थानीय विरबहादुर रानाको २ वटा घर बस्नै नमिल्ने गरी जोखिममा परेको छ भने, सन्तबहादुर रानाको समेत घरमा पहिरोले क्षति पु¥याएको छ, वडाध्यक्ष क्षेत्रीले भने, सुर्यबहादुर थापाको गोठ र कुखुराको खोर पहिरोले पुरेको छ, घर पनि जोखिमै रहेको छ ।’
बलेवा: बागलुङ नगरपालिका–१० दव्ल्याङमा पहिरो खस्दा कालिगण्डकी करिडोर अवरुद्ध भएको छ । बिहीबार रातिदेखिको अविरल वर्षापछि आएको पहिरोका कारण दव्ल्याङमा सडक बगाएको हो । चार वर्षदेखि हरेक वर्षायाममा निरन्तर चलिरहेको पहिरोका कारण सामान्य वर्षामा समेत उक्त सडक अवरुद्ध हुने गरेको छ । करिडोर अवरुद्ध हुँदा बागलुङको सदरमुकाम बागलुङ बजारबाट जिल्लाको दक्षिण क्षेत्रमा सवारी आवागमन ठप्प भएको प्रहरी सहायक निरीक्षक गङ्गाराम विकले बताए। करिडोर हुँदै लामो दूरीका लागि छुटेका सवारी समेत पहिरोको आसपासमा रोकिएका छन् । कालोपत्रको काम चलिरहेको बागलुङ–बलेवा विमानस्थल खण्डमा ठाउँठाउँमा पहिरोले करिडोर क्षतविच्छेद बनाएको छ । कालोपत्रको काम गरिरहेको बिडारी निर्माण सेवाले पहिरो पन्छाउने र पहिरोले बगाएका संरचना पुनर्निर्माणको काम गरिरहेको भए पनि सडक खुल्न केही समय लाग्ने उनले बताए।
नवलपुर: पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोलामा आएको बाढीले यात्रुवाहक बस बगाएको छ । काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१ख ४०८५ नम्बरको बसलाई बिहीबार राति बाढीले बगाएको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रमुख प्रहरी निरीक्षक राजन तिमिल्सेनाले जानकारी दिनुभयो । विनयी खोलाको नयाँ डाइभर्सनबाट बस गुडिरहेको बेला एक्कासी आएको बाढीले बस बगाएको उहाँले बताउनुभयो । “नयाँ डाइभर्सनबाट आउँदै गर्दा बाढीले बस बगाएको हो”, प्रहरी निरीक्षक तिमिल्सेनाले भन्नुभयो– “तत्काल एक्साभेटर लगेर सबै यात्रुको सकुशल उद्धार गर्न सफल भयौँ ।” बसमा तीन शिशुसहित ३८ जना यात्रु रहेका थिए । उक्त क्षेत्रमा पानी निरन्तर परिरहेका कारण खोलाबाट बस निकाल्न नसकिएको उहाँले बताउनुभयो । यात्रुको सामान के कति बगायो भन्नेबारे थाहा हुन सकेको छैन । रातभरी परेको पानीका कारण उक्त सडकखण्ड पूर्णरुपमा अवरुद्ध छ । दाउन्नेमा सडक हिलाम्य भएकाले सवारीसाधन गुड्न सकेका छैनन । वैकल्पिक सडक प्रयोग गर्न प्रहरी निरीक्षक तिमिल्सेनाले यात्रुलाई आग्रह गर्नुभएको छ ।
काठमाडौं: पेट्रोलियम पदार्थको अनुसन्धानको क्रममा दैलेखमा ठूलो मात्रामा मिथेन ग्यास रहेको हुनसक्ने देखिएको छ । खानी तथा भूगर्भ विभागका प्रवक्ता दिनेशकुमार नापितका अनुसार चिनियाँ पक्षले लामो समयदेखि गरेको अनुसन्धानले दैलेखमा ठूलो मात्रामा ग्यास रहेको हुनसक्ने देखाएको हो । उनका अनुसार प्रारम्भिक अनुसन्धानले एक अर्ब १२ करोड घनमिटर क्षेत्रफलमा मिथेन ग्यास रहेको हुनसक्ने देखिएको छ । तर, ग्यासको व्यावसायिक उत्पादनको विषयमा भने थप अनुसन्धान गर्नुपर्ने उनले बताए । ‘चिनियाँ अनुसन्धान पक्षले दिएको जानकारीअनुसार अनुसन्धान गरिएको ठाउँमा एक अर्ब १२ घनमिटर क्षेत्रमा ग्यास रहेको हुनसक्ने देखिएको छ, तर, यो प्रारम्भिक अनुमान हो, व्यावसायिक उत्पादनको सम्भाव्यताको विषयमा थप अध्ययन गर्नुपर्छ’, उनले भने । दैलेखको तीनवटा क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको हुनसक्ने अनुमानमध्ये मुख्य धेरै सम्भावना भएको ठाउँमा चिनियाँ प्राविधिक टोलीले अध्ययन गरेको थियो । चिनियाँ पक्षले नेपाललाई सहयोग स्वरूप सम्झौता गरेर गरेको अध्ययनको समय सकिएर फर्किसकेको छ । प्रवक्ता नापितले थप अध्ययन वा उत्पादनको विषयमा अगाडि बढ्नको लागि चिनियाँ पक्षसँग जानकारी माग गर्दा अध्ययन गरेको ठाउँमा मिथेन ग्यासको सम्भावना रहेको जानकारी प्राप्त भएको बताए । तर, अब अध्ययन गर्नको लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा सरकारले निर्णय गर्नुपर्ने उनको भनाइ छ । साथै, उनले चिनियाँ पक्षले नै अहिलेसम्मै ठूलो मेहनत र प्राविधिक तयारी गरेकाले थप अध्ययनको लागि उसैको सहयोग माग्न विभागले सरकारलाई सुझाव दिएको समेत उनले बताए । ‘प्रारम्भिक अनुमानले मिथेन ग्यास रहेको भन्ने देखाए पनि कति छ भन्ने कुरा भने अहिले अनुमान गर्न सकिँदैन, अब केही समय सम्भावित ठाउँमा कच्चा पदार्थ निकाले उत्पादन गरेर पनि हेर्नुपर्ने हुन्छ, तर, यसको लागि भने हामीसँग जनशक्ति र प्राविधिक क्षमता दुवै छैन’, उनले भने । आगामी डिसेम्बरसम्म प्रारम्भिक अध्ययनको पूर्ण नतिजा आइपुग्ने पनि प्रवक्ता नापितको भनाइ छ ।
काठमाडौं: नेपाल सरकारले वर्तमान समयमा इजरायल र इरानको भ्रमण नगर्न अपिल गरेको छ । इजरायल र इरानबिचको द्वन्द्वका कारण सृजित घटनाक्रमलाई ध्यानमा राख्दै सरकारले अर्को सूचना जारी नभएसम्म अत्यावश्यक अवस्थामा बाहेक ती दुई मुलुकको भ्रमण नगर्न अपिल गरेको हो । बुधबार सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले यात्रासम्बन्धी जानकारी अर्थात् ट्राभल एड्भाइजरी जारी गर्दै सुरक्षाका दृष्टिकोणले अधिकतम सतर्कता अपनाउँदै हाल इजरायल तथा इरानमा रहेका तथा नेपालबाट इजरायल वा मध्यपूर्वका अन्य मुलुकको भ्रमण वा यात्रा गर्ने योजनामा रहेका नेपाली नागरिकले अत्यावश्यकबाहेक भ्रमणमा ननिस्कन अनुरोध गरेको हो । विश्वका कतिपय मुलुकले आफ्ना नागरिकलाई इजरायल र इरान छाड्न अनुरोध गरेको औँल्याउँदै मन्त्रालयले कतिपयले त्यहाँ रहेका नागरिकलाई सुरक्षित रहन, समुदायमा सम्पर्कमा रहन, सम्बन्धित मुलुकले जारी गरेका सुरक्षा सतर्कतासम्बन्धी सूचना, जानकारी तथा निर्देशन पालना गर्न र तोकिएको समय र स्थानबाहेक घरबाट बाहिर ननिस्कन अपिल गरेको प्रस्ट पारेको छ । सरकारले द्वन्द्वग्रस्त इजरायल र इरानमा रहनुभएका नेपाली नागरिकलाई आफ्नो सुरक्षालाई उच्च प्राथमिकतामा राखी तोकेको समय र स्थानमा बाहेक घर वा बङ्कर तथा सेल्टरबाट बाहिर ननिस्कन भनेको छ । त्यस्तै इजरायल सरकारले जारी गरेका सुरक्षा सतर्कता, यात्रा, आवागमन तथा सुरक्षित स्थानसम्बन्धी सूचना, मापदण्ड तथा जानकारी लिन भनेको छ । त्यहाँस्थित नेपाली समुदाय र नेपाली राजदूतावाससँग नियमित रूपमा सम्पर्कमा रहँदै परराष्ट्र मन्त्रालय र राजदूतावासले जारी गरेका सूचना तथा यात्रासम्बन्धी जानकारी नियमित रूपमा हेर्न पनि भनिएको छ । आपत्कालीन सङ्कट आइपरेमा उद्धार तथा सहायतासँगै पहुँचमा रहन परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभाग र नेपाली राजदूतावास, तेल अबिबको वेबसाइटमा राखिएको विवरण भर्न सुझाइएको छ ।
तनहुँ: बन्दीपुर गाउँपालिका– २ कुवादीका ६ वर्षीय बालक उत्सव गुरुङको चितुवाको आक्रमणमा परी मृत्यु भएको नौ दिन बितिसक्दा पनि चितुवालाई नियन्त्रणमा लिन सकिएको छैन । गत जेठ २६ गते साँझ आफ्नै घरआँगनमा खेल्दै गरेको अवस्थामा चितुवाले आक्रमण गरी बालकको ज्यान लिएपछि सिद्धथान सामुदायिक वनमा बाख्रासहितका पाँचवटा खोर राखेर पासो थाप्ने काम गरेको छ । चितवन राष्ट्रिय निकुञ्जका भेटेरिनरी प्राविधिक दिनेश ढकाल, राष्ट्रिय प्राकृतिक संरक्षण कोषका किरणराज रिजाल र वन्यजन्तु प्राविधिक थिरुलाल थारूको डार्टिङ टोलीले त्यस क्षेत्रमा निगरानी बढाइरहेको छ । डार्टिङ टोलीले चितुवा भेटेको अवस्थामा बेहोस बनाएर अन्यत्र स्थानान्तरण गर्ने योजना रहेको डिभिजन वन कार्यालयका वन अधिकृत तथा सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, ‘डार्टिङ टोलीले चितुवाको पदमार्ग र दिशा भेटिएकाले छिट्टै नियन्त्रणमा लिन सकिनेमा विश्वस्त रहेको जनाएका छन् ।’ बन्दीपुरमा चितुवा आक्रमणमा परी चालु आर्थिक वर्षको साउनदेखि यता ११ महिनाको अवधिमा तीन बालबालिकाले ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउने बालक दुई र एक बालिका रहेका छन् । डिभिजन वन कार्यालयका अनुसार २०७४ फागुन ९ गतेदेखि आठ वर्षको अवधिमा १२ बालक र पाँच बालिकाले ज्यान गुमाइसकेका छन् । जिल्लाका भानु, बन्दीपुर, आँबुखैरेनी, व्यासलगायतका पालिकामा चितुवाको आक्रमणले मानवीय क्षति भएको छ । चितुवाको आक्रमणबाट आठ वर्षको अवधिमा २१ जना घाइते भएका छन् । घटना भएपछि स्थानीयवासीलाई साँझपख घरबाहिर ननिस्कन र सतर्कता अपनाएर बस्न तथा चितुवा देखिए तुरुन्त सम्पर्क गर्न स्थानीयलाई आग्रह गरिएको डिभिजन वन कार्यालयले आग्रह गरेको छ । चितुवाले पुनः आक्रमण गर्ने सम्भावना रहने हुँदा नियन्त्रणमा लिनका लागि सोही ठाउँ आसपासमा पासो राखिएको अर्का वन अधिकृत नवीन विश्वकर्माले बताए । चितुवाका लागि सिकार गर्ने अनुकूल समय साँझपख हुने भएकाले घरबाहिर निस्कन नहुने र बालबालिकालाई एक्लैदुक्लै छाड्न नहुने विश्वकर्माको भनाइ छ । साँझमा सिकार खोज्ने चितुवाले मृग, कुकुर वा गाईवस्तुका बाछाबाछी नभेट्दा बालबालिका निशानामा पर्ने जोखिम अत्यधिक हुने भएकाले सतर्कता अपनाउन सबैमा आग्रह गरिएको कार्यालय प्रमुख शरदकुमार अधिकारीले बताए ।
काठमाडौं: सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्नेछ । प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुँदैछ । बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकमाथि प्रारम्भ हुने छलफलअन्तर्गत विभिन्न सात मन्त्रालयको विभिन्न शीर्षकमाथि समूहीकृत रुपमा छलफल हुने सम्भावित कार्यसूची छ । वन तथा वातावरण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, रक्षा मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्राल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विभिन्न शीर्षकमाथि समूहीकृत रुपमा छलफल गर्ने कार्यसूची छ । विनियोजन विधेयक, २०८२ अन्तर्गत उल्लिखित मन्त्रालयका विभिन्न शीर्षकमाथि प्राप्त खर्च कटौतीका प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता ९दोस्रो संशोधन० विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची रहेको जानकारी दिनुभयो । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरुले ‘भिजिट भिसा’ प्रकरणमा छानबिन आयोग र गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै अवरोध कायम गर्दै आएका छन् । माग सम्बोधन नभएसम्म सदनमा अवरोध कायम गर्ने रास्वपाका नेताहरुले बताउँदै आउनुभएको छ । राष्ट्रियसभाको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ । आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूची छ । विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ पेस गर्नुहुनेछ । राष्ट्रियसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘भन्सार विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । बैठकले संविधानसभा सदस्य वीरेन्द्र जुहारचन र प्रतिनिधिसभाका पूर्वसदस्य ढुण्डिराज शास्त्रीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछ ।
नवलपुर: लगातारको वर्षाका कारण आएको बाढी र पहिरोले पूर्व–पश्चिम राजमार्गको नारायणगढ(बुटवल सडकखण्ड अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले बिहीबार सूचना जारी गर्दै यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। प्रहरीका अनुसार, केही दिनयताको अविरल वर्षाले विनयी खोलामा पानीको सतह बढेर डाइभर्सनमा क्षति पुगेको छ। यसैगरी, दुम्कीबास–दाउन्ने सडक खण्डमा पर्ने विश्वकर्मा मन्दिर र झ्युखोला जस्ता स्थानहरूमा सडक चिप्लो भई सवारी साधन फस्ने तथा चिप्लने समस्या देखिएको छ, जसले गर्दा आवागमन पूर्ण रूपमा प्रभावित बनेको प्रहरीले जनाएको छ। सडक अवरुद्ध भएपछि प्रहरीले सवारी साधनलाई वैकल्पिक मार्गबाट आवतजावत गर्न सूचित गरेको छ। पूर्वबाट पश्चिमतर्फ जाने सवारी साधनलाई नारायणगढबाट मुग्लिङ, पोखरा र स्याङ्जा हुँदै बुटवल जान भनिएको छ। त्यसैगरी, काठमाडौंबाट पश्चिम जाने सवारी साधनले पनि मुग्लिङ(पोखरा(स्याङ्जा हुँदै बुटवलको बाटो प्रयोग गर्नुपर्नेछ। पश्चिमबाट पूर्वतर्फ आउने सवारी साधनले पनि सोही मार्ग, अर्थात् बुटवलबाट स्याङ्जा, पोखरा र मुग्लिङ हुँदै यात्रा गर्नुपर्ने सूचनामा उल्लेख छ। साना सवारी साधनका लागि भने अवस्था हेरेर कालिगण्डकी करिडोर अन्तर्गतको गैंडाकोट(पिपलडाँडा सडकखण्ड प्रयोग गर्न सकिने विकल्प पनि दिइएको छ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आदिवासी जनजाति आयोगले काठमाडौँ–तराईरमधेस द्रुतमार्ग सडक आयोजनाको सुरु बिन्दुलाई ललितपुरको गोदावरी नगरपालिका–८ स्थित डुकुछापमा कायम गराउन सुझावसहितको अध्ययन प्रतिवेदन हस्तान्तरण गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोगका अध्यक्ष रामबहादुर थापामगरले सो प्रतिवेदन प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गर्नुभएको हो । प्रतिवेदनमा उक्त आयोजनाको हालको प्रवेश बिन्दुु ललितपुर महानगरपालिका–२१ को खोकनाको फुडोलमा कायम हुँदा आदिवासी नेवार समुदायको विस्थापनको जोखिम निम्त्याएको तथा स्थानीयबासीको मानव अधिकारको उल्लङ्घन भएको र बागमती नदी सफाइ सुधार आयोजनाको कार्यान्वयनबारे संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्तको कार्यालयअन्तर्गतको कार्य समूहबाट व्यक्त चासोका सम्बन्धमा नेपाल सरकारले पठाउनुपर्ने जवाफको कार्यमा सघाउन आयोगले सो प्रतिवेदन दिएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मानवअधिकार तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौता महाशाखाले आयोगलाई सुझाव प्रतिवेदन दिन आग्रह गरेको थियो। प्रतिवेदनमा खोकना क्षेत्र नेवार समुदायको धार्मिक तथा सांस्कृतिक सम्पदा रहेकोले डुकुुछापमा स्थानान्तरण गर्नु उपयुक्त हुने उल्लेख गरिएको छ।साथै नेपाल सरकारले यस्ता आयोजाना सञ्चालन गर्दा स्थानीय आदिवासी जनजाति समुदायसँग पूर्व सुसूचित स्वतन्त्र सहमति लिन पनि सुझाव दिइएको छ।