जनकपुर: जनकपुर र पोखराका व्यवसायीले आपसी सहकार्यमा जोड दिएका छन् । पर्यटन क्षेत्रको विकास र आपसी सिकाईका विषयमा दुई शहरका ब्यबसायी हातेमालो गरेर अगाडि बढ्न सकिने विषयमा उनीहरु एक मत देखिएका छन् । यसपटकको पाँच दिने जाउँ है पोखरा अभियान अन्तरगत जनकपुरमा सोमबार आयोजित पहिलो कार्यक्रममा उल्लेखित विषय उठान गरिएको थियो । सो अवसरमा मधेश प्रदेशका उद्धोग, वाणिज्य एबं पर्यटन मन्त्री सकिल अलि मियाँले पोखरा-जनकपुरबिच हवाई सेवा संचालनमा जोड दिए । मधेश प्रदेशको पर्यटन ऐन पारित भई लागू हुने क्रममा रहेको अबगत पनि उनले गराए । व्यवसायीहरु एकाअपसमा मिलेर पर्यटन क्षेत्रलाई थप अगाडि बढाउन सकिने उनले सुझाव राखे । आयोजक संघका अध्यक्ष एबं अभियानका संयोजक लक्ष्मण सुवेदीले अभियानबारे जानकारी गराउँदै जनकपुरवासीलाई पोखरा भ्रमणको निम्ता प्रदान गरे । मधेश प्रदेशका सांसद राम आशिष यादबले पोखरा र जनकपुरले एक अर्कासँग सिक्न जरुरी भएको भनाई राखे । सत्कार, सुविधा र सुरक्षाले पर्यटन अगाडि बढ्न सक्ने स्मरण उनले गराए । होटल संघका केन्द्रिय सदस्य विजयकुमार झुनझुनवालाले हिन्दू धर्मको महत्व अनुसार प्रचारप्रसार अगाडि बढ्न नसक्नु दुस्खद पक्ष भएको बताए । जनकपुर उद्धोग वाणिज्य संघका पूर्व अध्यक्ष निर्मलकुमार चौधरीले पोखराले धार्मिक पर्यटक आकर्षण गर्ने उपायहरु अगाडि बढाउनु पर्ने सुझाव राखे । बन्दिपुर केबलकार एण्ड टुरिजम प्रालिका उपाध्यक्ष किरण पोखरेलले प्रालिले संचालन गरेको परियोजना र सेवासुविधाका बारेमा अवगत गराएका थिए । नेपाल टुर एण्ड ट्राभल एशोसिएशन मधेश प्रदेशका अध्यक्ष मोहनकुमार शर्माले पोखरा साहसिक पर्यटनका हिसाबले थप अगाडि बढ्न सक्ने सुझाव राखे । नेपाल पत्रकार महासंघ धनुषाका सभापती पुरण साहले पोखराका एक हजार दुई सय होटलमा १५ हजार जनाले रोजगारी पाउनु सकारात्मक पक्ष भएको बताए । ब्यबसायी बीरेन्द्र शाहले पोखरामा मधेशी पर्यटकलाई सम्मानित व्यवहार गर्न आग्रह गरे । कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै संघका उपाध्यक्ष गणेशराज पहारीले पोखरा र जनकपुर बिच धार्मिक र पर्यटनका हिसाबले धेरै समानता रहेको बताउँदै आपसी सहकार्यका लागि आव्हान गरे । कार्यक्रममा संघले जाउँ है पोखराका विभिन्न पाँच प्याकेज पनि सार्वजनिक गरेको छ । घुमघाम, बसाई र खानपान सम्बन्धि यी प्याकेज पाँच हजार रुपयाँदेखि २६ हजार रुपैयाँ बिचका रहेका छन् । आयोजक संघका सचिव पार्वता पाण्डेले कार्यक्रमको संचालन गरेकी थिइन् ।
म्याग्दी: धौलागिरि गाउँपालिका–४ चेचुङकी ६८ वर्षीया तुलमती घर्ती गाउँमा मोटरेबल सडकको पहुँच विस्तारले खुसी हुनुहुन्छ । आफ्नै वडा कार्यालयमा जान समेत घण्टौँको पैदलयात्रा गर्नुपर्ने चेचुङवासीले यसअघि सवारीसाधन चढ्न मालिका गाउँपालिका–७ शिवरात्रिखोला पुग्नुपर्ने बाध्यता थियो । अक्करे भिरलाई छिचोल्दै गाउँमा मोटरबाटो पुग्न चेचुङवासीलाई जलविद्युत् आयोजना सहयोगी बनेका हुन् । “अहिलेसम्म त सहर बजार जान पनि पैदलै घण्टौँ हिँड्दै आएका थियौँ, खाद्यान्नलगायतको सामान पनि बोकेरै लैजानुपर्ने बाध्यता थियो, धुलो उडाउँदै भए पनि गाउँमा गाडी बाटो आयो, हामीलाई सुविधा भएको छ”, घर्तीले भन्नुभयो । सडक निर्माणका लागि यहाँ सञ्चालित जलविद्युत् आयोजनाको भूमिका छ । हाइड्रो इम्पायर प्रालि प्रवद्र्धक रहेको ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत् आयोजनाले नाउरादेखि १९ घरधुरी रहेको चेचुङगाउँ जोड्ने पाँच किलोमिटर सडक निर्माण सम्पन्न गरेको हो । प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रमअन्तर्गत स्थानीयको मागअनुसार करिब दुई महिना डोजर परिचालन गरेर दुर्गम गाउँमा मोटरबाटो निर्माण गरिएको हो । यसबाट स्थानीयको समस्या केही हदसम्म सम्बोधन भएको छ । मोटरेबल सडक निर्माणले खाद्यान्नलगायतका सामग्री ढुवानीमा मानिसले बोक्नुपर्ने र खच्चडको भर पर्नुपर्ने बाध्यता हटेको छ । धौलागिरि गाउँपालिका–४ मुदीमा निर्माणाधीन ६५ मेगावाट क्षमताको म्याग्दीखोला, ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी र ५३ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाले मालिका गाउँपालिका–७ शिवरात्रिखोलादेखि खाम्ला, नाउरा हुँदै जेल्टुङ बगरसम्म १५ किलोमिटर सडक निर्माण गरेका छन् । चेचुङ र बगरसँगै खिबाङमा समेत जलविद्युत् आयोजनाकै लगानीमा सडकमार्ग जोडिएको छ । आयोजनाको पहुँचमार्ग निर्माणका क्रममा सडकको ट्रयाक दुर्गम बस्तीसम्म पुगेपछि गाउँमा जलविद्युत् आयोजनासँगै विकास भित्रिएको मुदीका वडासदस्य समेत रहनुभएका बगरका स्थानीयवासी हरिप्रसाद तिलिजाले बताउनुभयो । “शिवरात्रिखोलाबाट बगर गाउँ पुग्न नाउराको भिरबाट एक दिनको यात्रा गर्नुपथ्र्यो, सडक बनेपछि अब एक घण्टामै यात्रा गर्न सकिने भएको छ, वडा र गाउँपालिकाको कार्यालयसँगै जिल्ला सदरमुकाम आउनजान समेत सडकले सुविधा दिएको छ”, तिलिजाले भन्नुभयो । जलविद्युत् आयोजनाले म्याग्दी नदीमा बेलिब्रिज जडान गरेपछि खोलाबारी र पारिका बस्तीहरूमा समेत सजिलै आवतजावत गर्न सकिने भएको छ । मुदीको अर्चे र नेरवाङमा अझै सडक पुग्न सकेको छैन । पहाडी भेगका भिर पहाडका फेदी र कुनामा रहेका बस्तीमा सडक पु¥याउने काम चुनौतीपूर्ण रहेको अवस्थामा जलविद्युत् आयोजना भित्रिएसँगै सडकको सपना पूरा भएको वडाध्यक्ष यामप्रसाद घर्तीले बताउनुभयो । जलविद्युत् आयोजनाले सडक, पुललगायतका पूर्वाधारसँगै गाउँको शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा सघाउन थालेका छन् । सामाजिक उत्तरदायित्वअन्तर्गतका कामलाई प्रभावित क्षेत्रका बासिन्दाको आवश्यकता र विकाससँग जोड्ने प्रयास गरिएको धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो । “जलविद्युत् गाउँपालिकाको प्रमुख सम्भावनाको आधार हो, यहाँ ठूला आयोजना भित्रदै गर्दा यस क्षेत्रको विकासमा पनि योगदान हुनुपर्छ भन्ने हाम्रो मान्यता छ, आयोजनामा आवश्यक पर्ने जनशक्तिमा समेत स्थानीयलाई अवसर दिन हामीले ध्यानाकर्षण गराइरहेका छौँ”, गाउँपालिका अध्यक्ष पुनले भन्नुभयो । धौलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी नदी र यसका सहायक नदीमा आठ वटा जलविद्युत् आयोजना दर्ता भएको र त्यसमध्ये तीन आयोजनाको निर्माण अघि बढेको उहाँले बताउनुभयो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली र इटलीका राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान जियानलुइजी बुफोनबीच आज भेट भएको छ । राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा जारी तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको समापन कार्यक्रमका प्रमुख अतिथिका रुपमा नेपाल आउनुभएका अन्तरराष्ट्रिय गोलरक्षक बुफोनलाई प्रधानमन्त्री ओलीले आज बिहान प्रधानमन्त्री निवास बालुवाटरमा भेट गर्नुभएको हो । भेटका अवसरमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष पङ्कज राई, राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष क्षितिज थेबे, बुफोनका परिवारका सदस्यलगायत सहभागी हुनुहुन्थ्यो । यही फागुन ११ गतेदेखि सुरु भएको उक्त च्याम्पियनसिप आज साँझ दशरथ रङ्गशालामा समापन हुँदैछ ।
मुगु: नेपालकै प्रमुख पर्यटकीयस्थल रारा घुम्न आएका एकजना आन्तरिक पर्यटकको मृत्यु भएको छ । रारा घुम्न आएका काभ्रेको धुलिखेल नगरपालिका–१० स्थायी ठेगाना भएका वर्ष ५४ का भुवन विश्वकर्माको आज बिहान लेक लागेर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेको जानकारी दिनुभयो । जिल्ला अस्पताल मुगुका चिकित्सक नकुल शाहीका अनुसार विश्वकर्मा आइतबार राति ९ बजे श्वास फेर्न समस्या भएपछि चेकजाँच गर्न जिल्ला अस्पताल पुग्नुभएको थियो । चेकजाँच पछि शरीरमा अक्सिजनको कमी छ आजको रात यतै अस्पताल भर्ना हुनुस् भन्दा उहाँले नमान्नुभएको अस्पतालले जनाएको छ । चेकजाँच पछि सल्लेरी फर्कनुभएको तर सोमबार बिहान ६ बजेतिर उहाँलाई साथीहरूले एम्बुलेन्समा लिएर आउनुभएको थियो । अस्पताल पुग्दा उहाँको मृत्यु भइसकेको चिकित्सक शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार भुवनमा मोटोपन थियो । दमको पनि दीर्घरोगी पनि हुनुहुँदो रैछ । हिमपात भएको बेला, चिसो मौसम, उच्च हिमाली भूभागमा अक्सिजनको कमीको कारण लेख लागेर काडियो प्रमोनरी एरेष्ट हुँदा उहाँको मृत्यु हुन गएको पनि चिकित्सक शाहीले बताउनुभयो । आइतबार मात्र मृतक विश्वकर्मासहित २५ जनाको टोली रारा घुम्न रारा ताल क्षेत्रमा पुगेको थियो ।
काठमाडौं: नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीलाई सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र्रको ‘पेइङ क्लिनिक, सिल्भर, गोल्डेन र प्लेटेनियम कर्पोरेट कार्डियक प्याकेज’मा १० प्रतिशत छुट उपलब्ध हुने भएको छ । सो छुटसम्बन्धी सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र केन्द्रका कार्यकारी निर्देशक डा रबी मल्लले हस्ताक्षर गर्नुभएको हो । सम्झौतासँगै अब कोषका सदस्य, सहभागी, सेयरधनी, कर्मचारीले उक्त छुट पाउनुहुनेछ । छुटको लागि कोषको परिचयपत्र वा सहभागी परिचयपत्र अनिवार्य पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।
काठमाडौं: आज मार्च ३ अर्थात् विश्व वन्यजन्तु दिवस । वन्यजन्तु र मानवको बासस्थान पृथ्वीको अतिदोहन रोक्न तथा यसको जैविक विविधता, पर्यावरणीय एवं पारिस्थितिकीय प्रणालीको संरक्षणमा जोड दिँदै ‘वन्यजन्तु संरक्षणमा वित्तः मानव र पृथ्वीमा लगानी’ नाराका साथ संसारभर यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको ६८ औँ महासभाले २० डिसेम्बर २०१३ मा जोखिममा रहेका वन्यजन्तु र वनस्पतिका बारेमा मानवलाई सचेत गराउने उद्देश्यले मार्च ३ लाई विश्व वन्यजन्तु दिवसको रूपमा घोषणा गरेको हो । सन् १९७३ मा आजकै दिन लोपोन्मुख प्रजातिका वन्यजन्तु र वनस्पतिको अन्तरराष्ट्रिय व्यापार महासन्धि ९सिआइटिईएस०अनुमोदन भएको थियो । सोही वर्षको मार्च ३ देखि १४ सम्म थाइल्याण्डको राजधानी ब्याङ्कककमा आयोजित जलवायु परिवर्तनसम्बन्धी १६ औँ राष्ट्रसङ्घीय सम्मेलन तथा सिआइटिईएस पक्षराष्ट्रको सम्मेलनले थाइल्याण्डको वन्यजन्तु दिवस मनाउने प्रस्ताव अनुमोदन गर्दै महासभासमक्ष स्वीकृतिका निम्ति अनुरोध गरेको थियो । राष्ट्रसङ्घका अनुसार सिआइटिईएसको सचिवालयले वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित संयुक्त राष्ट्रसङ्घीय निकायका साथै अन्य संस्थाहरुसँगको सहकार्यमा विश्व वन्यजन्तु संरक्षणसम्बन्धी परियोजनाको कार्यान्वयनलाई सहजीकरण गर्दै आएको छ । सिआइटिईएसमा १८३ देश सदस्य छन् । दश लाखभन्दा बढी वन्यजन्तु र वनस्पतिका प्रजाति लोप हुने जोखिम बढेको सन्दर्भमा वन्यजन्तु संरक्षणका निम्ति ठूलो धनराशि आवश्यक भएको छ ।
बलेवा: बागलुङको बरेङ गाउँपालिकामा अज्ञात रोगका कारण बङ्गुर मर्न थालेका छन् । दश दिनको अवधिमा बरेङ–२ हुग्दिशिरको सिग्दी र बरेङ बजार आसपासमा अज्ञात रोगका कारण छ वटा बङ्गुर मरेपछि किसान चिन्तित बनेका हुन् । अज्ञात रोगले अन्दाजी ५० किलोको एक र तीन महिनाको दुई वटा पाठा मरेका सिग्दीकी शिला थापाले बताउनुभयो । भाटी बजारका सविन राम्जालीको झण्डै ५० किलो, सातदोबाटोका मोहन पुनको करिब ४५ किलो र फटिक पुनको बङ्गुर पनि अज्ञात रोगले मरेका छन् । बङ्गुरमा एक्कासी ज्वरो आउने, दानापानी नखाने, बाक्ने, पखाला लाग्नेलगायत लक्षणहरू देखा परेको भाटीबजारका सविन राम्जालीले बताउनुभयो । अज्ञात रोगले बङ्गुर मर्न थालेपछि आफूजस्ता किसान मर्कामा परेका उहाँको भनाइ छ । पालिकाको पशुसेवा शाखा प्रमुख नारायण पौडेलले मरेका सबै बङ्गुरमा फरकफरक लक्षण देखिएकाले दानामा समस्या हुनसक्ने आशङ्का व्यक्त गर्नुभयो । “महामारीजन्य रोग हो वा होइन पत्ता लगाउन स्वाब सङ्कलन गरेर परीक्षणका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा पठाउँदैछौँ”, उहाँले भन्नुभयो । पौडेलका अनुसार अहिले अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण नदेखिएकाले अरु कारणले बङ्गुर मरेका हुन् । “अहिले तीन÷चार दिन भयो त्यस्तो समस्या नदेखिँदा अफ्रिकन स्वाइन फिभर होइन कि भन्ने अनुमान गरेका छौँ”, उहाँले भन्नुभयो, “वास्तविकताका लागि प्रयोगशाला परीक्षणका लागि रगत पठाउने तयारीमा छौँ ।” अफ्रिकन स्वाइन फिभर भएको भए एउटै फार्मको केही मर्ने केही नमर्ने भन्ने नहुने उहाँको भनाइ छ । लक्षणहरू हेर्दा बुटवलबाट ल्याएको दानाका कारण बङ्गुर मरेको हुनसक्ने भन्दै पौडेलले दानाको पनि परीक्षण गरिने उल्लेख गर्नुभयो । प्रयोगशालाको रिपोर्ट आएपछि मात्रै किसानका बङ्गुर कसरी मरे भन्ने पत्ता लाग्ने उहाँको भनाइ छ । “मरेका छवटै बङ्गुरमा फरकफरक लक्षण देखिएकाले दानाकौ कारण हो कि भन्ने अनुमान गरेका छौँ । प्रयोगशालाको रिपोर्ट आएपछि वास्तविकता पत्ता लागी समस्या समाधानतर्फ लाग्नेछौँ”, उहाँले भन्नुभयो । गत वर्षको जेठमा फैलिएको अमेरिकन स्वाइन फिभरबाट बागलुङ नगरपालिका– १, २, ३ र ४ का ५४ किसानले पालेका चार सय बङ्गुर मरेका मर्दा रु दुई करोडभन्दा बढीको क्षति भएको थियो ।
काठमाडौं: गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथिभरा क्षेत्रमा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले राख्नुभएको प्रश्नको जवाफ दिने क्रममा लेखकले हाल उक्त क्षेत्रमा सुरक्षा निकायले उच्च संयमता अपनाएको र शान्ति सुरक्षा प्रदान गरिरहेको जानकारी दिँदै आन्दोलनरत पक्षलाई वार्तामार्फत समाधान खोज्न आह्वान गर्नुभएको हो । मन्त्री लेखकले केबुलकार निर्माणका क्रममा उत्पन्न विवाद र देखा परेका समस्या समाधान गर्न गृह मन्त्रालयले पहलकदमी लिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “सरकार वार्ता र संवादका माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान चाहन्छ, त्यसका लागि सम्बन्धित पक्षसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचचिवको संयोजकत्वमा गत माघ २० गते वार्ता टोली पनि गठन गरिएको छ, वार्ता टोलीले आन्दोलनरत पक्षसँग सहजीकरण गरिरहेको छ, पटक–पटक संवाद पनि भइरहेको छ ।” मन्त्री लेखकले पछिल्लो समयमा वार्तामा केही अवरोध आएका कारण वार्ता समितिले आन्दोलनरत पक्षलाई वार्ताका लागि यही फागुन १२ गते पुनः आह्वान गरेको जानकारी दिनुभयो । आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक स्थानीय समुदायका समस्यालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ छ । उहाँले शान्तिपूर्ण तवरबाट समस्याको समाधान गर्ने विषयलाई सरकारले अत्यन्त गम्भीरतापूर्वक लिएको प्रष्ट पार्नुभयो । मन्त्री लेखकले केबलकार निर्माणका लागि वन क्षेत्रको प्रयोग गर्न दिने र त्यस क्षेत्रमा रहेका रुख बिरुवा हटाउन स्वीकृति दिने गरी सरकारको मन्त्रिपरिषद्बाट २०७५ साल पुस १६ गते नै निर्णय भएको जानकारी गराउनुभयो । “केबलकार निर्माण गर्ने कार्य पहिलेदेखि नै सुरु भएको थियो, निर्माणाधीन आयोजनाको सुरक्षार्थ तत्कालका लागि बटन स्टेसनमा सशस्त्र प्रहरी बल नेपालको सुरक्षा व्यवस्था क्याम्प स्थापना गर्ने सन्दर्भमा नेपाल प्रहरीसँगको सहकार्यमा परिचालन हुने गरी सुरक्षा व्यवस्थापन मिलाउन २०८० साल माघ २ गते तत्कालीन उपप्रधान तथा गृहमन्त्रीस्तरबाट निर्णय भएको थियो”, उहाँले भन्नुभयो । सोही अनुरुप सुरक्षाको निमित्त सोही ठाउँमा सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएको उहाँको भनाइ छ ।
महोत्तरी: इस्लाम धर्मावलम्बीले आजदेखि एक महिने ‘रोजा’ (उपवास) सुरु गरेका छन् । इस्लाम परम्परामा रमजान महिनामा दिनभरि उपवास गरी मनाइने रोजा आजदेखि सुरु भएको हो । इस्लाम परम्पराका चाडपर्व हिजरी (उर्दू) सम्वत्को पात्रोअनुसार निक्र्यौल गरी रोजना मनाउने परम्परा छ । यसअनुसार हिजो ‘शावान’ महिना सकिएर आज रमजान सुरु भएसँगै रोजा उपवास थालिएको हो । रमजान इस्लामिक परम्पराको हिजरी सम्वत् अनुसार नवौँ महिना हो । चन्द्रमाको गतिले निक्र्यौल गरिने यो पर्वबारे नेपालका इस्लाम धर्मगुरुहरूले रमजान आजदेखि सुरु हुने ऐलान (सार्वजनिक) गरेपछि उपवास थालिएको यहाँका इस्लाम धर्मावलम्बीको भनाइ छ । हिजो साँझ चन्द्रमा देखिएपछि इस्लाम धर्म गुरु मोल्वी, मौलानाले तत्कालै ‘तराबी’ नमाज (प्रार्थना) गरेर यो वर्षको रमजान आजदेखि सुरु हुने बताएका थिए । ‘शावान’ महिना सकिनासाथ पहिलो पटक चन्द्रमा देखिएपछि तत्काल ‘तराबी’ नमाज (विशेष प्रार्थना) गरेर भोलिपल्टदेखि रमजान सुरु हुने इस्लाम परम्परा रहेको रामगोपालपुर–२ महनपुरका इस्लाम धर्मका जानकार मोहम्मद कादीर हुसैनले बताउनुभयो । सोहीअनुसार हिजो साँझ ‘तराबी’ सम्पन्न गरेका इस्लाम धर्मावलम्बीले आज ‘रोजा’ सुरु गरेका हुन् । इस्लाम परम्परामा अत्यन्त पवित्र मानिएको रमजान महिनामा दिनभरि अन्नजल केही नखाइ एक महिनासम्म रोजा गर्ने परम्परा छ । भूगोलका विभिन्न खण्डमा ग्रहन क्षेत्रको गतिले समयमा पार्ने फरकफरक प्रभावअनुसार ठाउँअनुसार रमजान अघिपछि पर्ने गरेको हुसैनले बताउनुभयो । नेपाल र भारतको हकमा ‘बुखारे शरिफ’ (भारतको दिल्लीस्थित साँस्कृतिक परम्पराको निर्णय दिने अधिकार सम्पन्न इस्लाम परम्पराको धार्मिक निकाय) को निर्णयअनुसार पर्व निर्णय गरिँदै आइएकाले गएराति चन्द्रमा देखिएपछि आज रोजा सुरु गरिएको उहाँले जानकारी दिनुभयो । नेपाल र भारतका अधिकांश ठाउँमा ‘बुखारे शरिफ’ को निर्णयअनुसार आज रोजा सुरु भएको जिल्लाको जलेश्वरस्थित दारुल उलुम कादरिय रसिदिया मदर्साले जनाएको छ । रमजान महिना इस्लाम परम्परामा अत्यन्त पवित्र मानिन्छ । मजान महिनामा पवित्र धर्मग्रन्थ ‘कुरान’ पृथ्वीमा अवतरण भएको विश्वास गरिन्छ । यस महिनामा गरिने व्रत, उपवास (रोजा) अत्यन्त पूण्यदायक हुने इस्लाम मान्यता छ । बाल, वृद्ध, अशक्त बिरामीबाहेक सबै मुसलमानले ब्रह्मचर्यमा रही रोजा गर्नुपर्ने मान्यता छ । बिहान सूर्योदयको एकघडी अगाडिदेखि सूर्यास्तको एक घडीपछिसम्म अन्न, पानी केही नखाइ दिनहुँ नमाज पढेर यो व्रत गरिन्छ । एकमहिने रोजा सम्पन्न भएसँगै हिजरी सम्वत्को ‘सव्वाल’ महिना सुरु हुने र त्यसै दिन ईद–उल–फित्र पर्व मनाउने इस्लाम परम्परा छ । यो पर्व इस्लाम परम्परामा मुख्य पर्व मानिन्छ ।