काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले गणतन्त्रमाथि आक्रमण गर्न खोजिएको भन्दै यसको संरक्षणका लागि पत्रकारिता क्षेत्र लाग्नुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालको २७औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले पछिल्लो समय विभिन्न शक्तिले गणतन्त्रमाथि आक्रमण गर्न खोजिरहेका भन्दै यसको जगेर्नाका लागि पत्रकारिता क्षेत्र निरन्तर पहलकदमी गर्दै अग्रपङ्क्तिमा लाग्नुपर्ने बताउनुभयो । “गणतन्त्रको जगेर्ना र जनतामा सत्यतथ्य सूचना पु¥याउनका लागि पत्रकार मित्रहरू र रिपोर्टस क्बलको महत्त्वपूर्ण भूमिका रहेको छ”, मन्त्री खड्काले भन्नुभयो । लोकतान्त्रिक अभियानलाई बलियो बनाउन र मुलुकमा सुशासन कायम गर्न रिपोर्टर्स क्बलले समन्वयात्मक र सहकार्यमूलक भूमिका निर्वाह गरेको मन्त्री खड्काको भनाइ छ । उर्जामन्त्री खड्काले जनताका आवाजलाई माथिल्लो निकायसम्म पु¥याउन रिपोर्टर्स क्लबले खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो । “हामीले सुन्छौँ पत्रकारिताका नाममा भएका विकृतिहरूले समाजलाई सही दिशामा लगेको देखिँदैन । समाजलाई सही समयमा सही जानकारी दिन सत्यतथ्य र यथार्थपरक सूचना सम्प्रेषण गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
पोखरा: कालीगण्डकी स्याङ्जा–पोखरा सम्पर्क समाजले नववर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान तथा भित्ते पात्रो विमोचन गरेको छ । स्याङजाको कालिगण्डकी गाउँपालिकाबाटपोखरा आई बसोबास गरेका कालीगण्डकी स्याङ्जा–पोखरा सम्पर्क समाजले शनिबार नेपाल नयाँ वर्ष २०८२ सालको शुभकामना आदान प्रदानसँै भित्तेपात्रो विमोचन गरिएको हो । कार्यक्रममा स्याङ्जाली सम्पर्क समितिका अध्यक्ष शिव बहादुर थापा, कालीगण्डकी स्याङ्जा–पोखरा सम्पर्क समाजका सल्लाहकार, पदाधिकारी, सदस्यहरुले सामुहिक रुपमा यस वर्षको भित्तेपात्रोको विमोचन समेत गरिएको हो ।
काठमाडौं: मानवअधिकार तथा शान्ति समाजले शुक्रबार तीनकुनेमा भएको घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ । समाजका संस्थापक सभापति कृष्ण पहाडी र सभापति रेनुका पौडेलले यही चैत १५ गते समाजले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा पूर्वराजा समर्थित प्रदर्शनकारीले मच्चाएको लुटपाट, तोडफोड र आगजनीका दोषीलाई कारबाहीको माग गरिएको हो । नेपालको संविधान लागू भएको एक दशक बित्न लागेको सन्दर्भमा संविधानका कमी कमजोरीबारे पुनरावलोकन स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै पहाडीले अवको संशोधनमा जीवनचक्र परिस्थिति सन्तुलन र अहिंसात्मक जीवनधारा प्रस्तावनामानै समावेश हुनुपर्नेमा जोड दिनुभयो । नागरिक सर्वोच्चता र स्वतन्त्रता नै लोकतन्त्रको प्राण भएको हुँदा नेपालमा अब राजतन्त्रको पुनःस्थापना असम्भव भएको उल्लेख गर्दै पहाडीले राजतन्त्र पुनःस्थापनाको माग गर्ने सभ्यता र स्वतन्त्रताविरोधी भएको बताउनुभयो । विगत १७ वर्षदेखि जलवायु न्यायका लागि अभियान सञ्चालन गर्दै आएको समाजले जीवनचक्र परिस्थिति सन्तुलन र अहिंसात्मक जीवनधारालाई संविधानको प्रस्तावनामा नै समावेश गर्न आग्रहसहित आज जलवायु संवाद कार्यक्रमसमेत सम्पन्न गरेको छ । जलवायु न्याय केन्द्रित विशेष अभियानअन्तर्गत समाजको केन्द्रीय कार्यालयस्थित सभाकक्ष बागमती नगरमा जीवनचक्र परिस्थिति सन्तुलन एवं अहिंसात्मक जीवनधारालाई संविधानको प्रस्तावनामा समावेश गर्न आग्रह विषयक जलवायु संवाद कार्यक्रम गरेको हो । कार्यक्रममा समाजका सभापति रेनुका पौडेल, वन तथा वातावरण मन्त्रालयका पूर्वसचिव तथा जैविक विविधता तथा पारिस्थितिकीय प्रणालीसम्बन्धी अन्तरसरकारी मञ्चका उपाध्यक्ष डा विश्वनाथ ओली, जलवायु तथा प्राकृतिक स्रोत व्यवस्थापन विज्ञ सन्तोषमणि नेपाल, नीति, कानुन तथा योजनाविद् प्रताप पौडेल, समाजका सल्लाहकार तथा पूर्वसभापति रामकृष्ण बराल, पूर्वसभापतिहरू होमकान्त चौलागाईँ र डा गङ्गाधर अधिकारीलगायतले जलवायु परिवर्तनजस्ता महत्त्वपूर्ण विषयमा सबै दलको ध्यान जानुपर्नेमा जोड दिनुभएको थियो । समाजले सुरु गरेको जलवायु न्याय केन्द्रित विशेष अभियानका क्रममा आज समाजका अछाम, तेह्रथुम, रुपन्देही, सल्यान, चितवन, सुर्खेत, इलामलगायतका शाखाले जलवायु संवाद कार्यक्रम सम्पन्न गरेको उपनिर्देशक सरिता पौडेलले जानकारी दिनुभयो ।
काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले डिजिटल नेपाल फ्रेमवर्कको लक्ष्य प्राप्तिमा सहजीकरणका लागि मन्त्रालय मातहतका निकायलाई आग्रह गर्नुभएको छ । मन्त्रालयले आज यहाँ आयोजना गरेको विषयगत समितिको बैठकमा डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि सबै स्थानीय तहमा विद्युत्, टेलिफोन र इन्टरनेटको पहुँच महत्वपूर्ण भएको बताउनुभयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय विद्युतीय सुशासन कायम गराउने महत्वपूर्ण मन्त्रालय भएकाले यस मातहतका निकायले जिम्मेवारीपूवर्क दायित्व पूरा गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिआइओएमएस) विस्तारमा जोड दिन, विज्ञापन चुहावट नियन्त्रण गर्न, हुलाक सेवालाई डिजिटलाइजेसन गर्न, सरकारी निकायका वेबसाइटमा एकरुपता ल्याउने विषयमा काम गर्नसमेत निर्देशन दिनुभयो । उहाँले ‘नागरिक एप’ साक्षरता अभियानसमेत सञ्चालन जरुरी रहेको उल्लेख गर्दै ब्रोडब्यान्ड सेवाको प्रयोग र पहुँच विस्तारका लागि ध्यान दिनसमेत आग्रह गर्नुभयो । मन्त्री गुरुङले विभिन्न स्थानीय तहले मोबाइल टावर राख्दा थप कर लिने गरेकाले पूर्वाधार निर्माणमा आर्थिक भार बढेकोसमेत उल्लेख गर्नुभयो । उहाँले समुदायिक विद्यालयमा ब्रोडब्याण्ड सेवा विस्तार, भूकम्प प्रभावित आठ जिल्लामा ब्रोडब्याण्ड सेवाको स्तरोन्नति हुनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रदेश सरकारले आफ्नो कामबाट आफ्नो औचित्य पुष्टि गर्न जरुरी रहेकोसमेत बताउनुभयो । सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले नीति तथा कानुनको तर्जुमा गर्दा प्रदेश तथा स्थानीय तहसँग परामर्श जरुरी भएको बताउनुभयो । उहाँले क्षेत्रगत योजना, नीति तथा कार्यक्रममा एकरुपता ल्याउँदै गुणस्तर कायम गर्न आवश्यक भएको चर्चा गर्नुभयो । उहाँले स्थानीय र प्रदेश तहमा वार्षिक नीति तथा कार्यक्रम तर्जुमा गर्दा सञ्चार तथा सूचना प्रविधि क्षेत्र समेट्ने गरी कार्ययोजना तर्जुमा गर्न सुझाव दिनुभयो । त्यस अवसरमा मन्त्रालयका सहसचिव कोशहरि निरौलाले स्थानीय तह, प्रदेश र सङ्घसँग समन्वयमा सञ्चार मन्त्रालयका गतिविधि सञ्चालन भइरहेको बताउनुभयो ।
काठमाडौं: शुक्रबार तीनकुने क्षेत्रमा भएको प्रदर्शनका क्रममा निजी तथा सार्वजनिक सम्पत्ति एवं सञ्चारगृहमा भएको तोडफोड, आगजनी तथा लुटपाटप्रति नेपाल चेम्बर अफ कमर्सले आपत्ति जनाएको छ । यस्ता उच्छृङ्खल गतिविधिले अर्थतन्त्रलाई थप धराशायी बनाउने भएकाले संयमित हुन पनि चेम्बरले आग्रह गरेको छ । प्रदर्शनका क्रममा आम नागरिक र उद्यमी व्यवसायीको पेसा व्यवसाय गर्न पाउने नैसर्गिक अधिकार हनन भएको चेम्बरले उल्लेख गरेको छ । उक्त घटनाका पीडितलाई क्षतिपूर्तिको माग पनि निजी क्षेत्रले गरेको छ । “सार्वजनिक र निजी गरी थुप्रै भौतिक सम्पत्ति तथा सञ्चारगृहमासमेत क्षति पुगेको छ । यस्ता खाले हिंसात्मक घटनाको घोर निन्दा र भर्त्सना गर्दै चेम्बर अफ कमर्स शुक्रबारको घटनाबाट पीडितहरूले उचित क्षतिपूर्ति पाउनुपर्ने माग राख्दछ”, विज्ञप्तिमा भनिएको छ । यसअघि निजी क्षेत्रका छाता संस्थाहरु नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घले पनि उक्त घटनाका दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गरिसकेका छन् ।
काठमाडौं: प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दलहरु नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरुले अघिल्ला बैठकहरु जस्तै प्रधानमन्त्रीको जवाफ माग गर्दै अवरोध गरे । प्रतिपक्षी दलले अवरोध गरेपछि सत्तापक्ष दलका सांसदहरुले पनि सदन सञ्चालनका लागि दबाब दिदै आ–आफनो ठाँउबाट उठे । त्यसपछि सभामुख घिमिरेले दुवै पक्षलाई स्थान ग्रहण गरी सभा सञ्चालनका लागि वातावरण बनाउन पटक–पटक आग्रह गरे । सो क्रममा दुवै पक्षले आफ्नो अडान कायम राखेपछि सभामुख घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेको घोषणा गरेका छन् ।
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सङ्घीय अस्पताल विकास समितिको कुल आम्दानीको एक प्रतिशत स्वास्थ्य बिमा कोषमा जम्मा गराउने निर्णय गर्नुभएको छ । आज मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्री पौडेलले स्वास्थ्य बिमा ऐनमा व्यवस्था भए पनि हालसम्म सक्रिय नभएको स्वास्थ्य बिमा कोष सक्रिय बनाउने र सो रकम कोषमार्फत नै जम्मा गराउने निर्णय गर्नुभएको हो । अर्थ मन्त्रालयले सहमति जनाइसकेकाले स्वास्थ्य बिमा बोर्डलाई थप स्रोत प्राप्तिका लागि बाटो खुलेको छ । हालसम्म कोष नै सक्रिय नहुँदा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत प्राप्त हुने रकम नै कोषको आयस्रोत बनेको थियो । मन्त्री पौडेलले स्वास्थ्य बिमा कोषलाई बलियो पारेर मात्र स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारिता वृद्धि गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । मन्त्री पौडेलले आगामी दिनमा स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदनमा आधारित रहेर थप सुधार कार्य सरकारले अघि बढाउने बताउनुभयो । केही समयअघि सार्वजनिक गरिएको बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदनले राज्यबाट वेतन खाने कर्मचारीको तलबको एक प्रतिशत कर्मचारी र बाँकी एक प्रतिशत राज्यले दिनुपर्ने तथा स्वास्थ्यमा असर पर्ने पदार्थको करको रकम कोषमा जाने व्यवस्था मिलाउनुपर्ने सुझाव दिएको छ । स्वास्थ्य बिमा कोष बलियो पार्न अहिलेको निर्णयले योगदान दिने विश्वास गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताउनुभयो ।
काठमाडौं: सभामुख देवराज घिमिरेले शुक्रबार तीनकुनेमा भएको घटना लोकतन्त्रमाथिको प्रहार भएकाले संसद्मा छलफल र बहस गर्ने वातावरण बनाउन दलहरूलाई आग्रह गर्नुभएको छ । संसद् भवन नयाँबानेश्वरमा आज भएको राजनीतिक दलका प्रमुख सचेतकसँगको बैठकमा उहाँले राष्ट्रमाथि भएको घटनाबारे छलफल गरेर संसद् जीवन्त रहेको महसुस गराउन आग्रह गर्नुभयो । अधिवेशन सञ्चालन नभएको अवस्थामा पनि सदन सञ्चालन गर्नुपर्ने अवस्थामा सदन अवरोध कुनै पनि हालतमा उचित नहुने सभामुख घिमिरेले बताउनुभयो । बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्रीले भोलि चैत १८ गतेको बैठकमा सम्बोधन गर्ने उल्लेख गर्नुभयो । उहाँले संसद् अवरोध खुलाउने विषयमा प्रधानमन्त्री र विपक्षी दलका नेताबीच टेलिफोन संवाद भएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्रीले आजै सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । यसैबीच, सत्तापक्षले सदनको अवरोध खुलाउन विपक्षी दललाई अनुरोध गरेको छ । विपक्षी दलले भने आफ्नो अडान यथावत् रहेको जनाएका छन् ।
काठमाडौं: निरन्तर बढिरहेको सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । शुक्रबार प्रतितोला रू एक लाख ७६ हजार २०० मा कारोबार भएको सुन आज तोलामा रू ६०० ले बढेर रू एक लाख ७६ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रू १५ घटेर रू दुई हजार २५ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।