काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम बिना प्रगति सम्भव नभएको तथा श्रमिकको सम्मान बिना समृद्धि नहुने बताउनुभएको छ । साउन १ गतेदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएकामा खुशी व्...

काठमाडौं:  राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण तथा बिम्स्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएकाले उहाँको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्यको जिम्मेवारी उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी तोक्नुभएको छ ।       नेपालको संविधानबमोजिम प्रधानमन्त्री ओलीको सिफारिसमा उपप्रधानमन्त्री सिंहलाई उक्त जिम्मेवारी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

काठमाडौं:  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आजदेखि दैनिक १८ घण्टा सञ्चालनमा आएको छ ।            विमानस्थलको अभिवृद्धिका लागि गत कात्तिक २३ देखि यही चैत १८ गतेसम्म पाँच महिना दैनिक १० घण्टा विमानस्थल बन्द गरेर विमानस्थलको क्षमता अभिवृद्धिअन्तर्गत भौतिक संरचना निर्माणको काम गरिएको थियो ।  आजदेखि विमानस्थल बिहान ६ः०० देखि राति १२ः०० बजेसम्म खुला रहने विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयो ।            उहाँका अनुसार विमानस्थलका ट्याक्सी–वेलाई धावनमार्गसँग जोड्ने लिङ्क वेको निर्माण सम्पन्न भएको छ । समानान्तर ट्याक्सी वे निर्माणको काम भने जारी रहेको छ ।  नेपाल नागरिक उड््डयन प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेसनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तारको काम गरिरहेको हो ।            यी काम पूरा गर्न करिब रु १५ अर्ब खर्च हुने आयोजनाले जनाएको छ । हालसम्म ९० प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले बताउनुभयो । रातिको समयमा गर्नुपर्ने विमानस्थलको भौतिक संरचनाको काम करिब सकिए पनि आयोजनाको सम्पूर्ण काम सक्न करिब डेढ वर्ष लाग्ने आयोजनाले जनाएको छ ।

काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलनमा भाग लिन आज बैङ्कक प्रस्थान गर्नुभएको छ ।        थाइल्याण्डका प्रधानमन्त्री पेटोङ्टार्न शिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।        प्रधानमन्त्री ओलीलाई त्रिभुवन विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, सरकारका उच्चपदस्थ अधिकृत तथा सुरक्षा अङ्गका प्रमुखले स्वागत गर्नुभएको थियो । त्यसअघि नेपाली सेनाको एक टुकडीले उहाँलाई सम्मान गारत अर्पण गरेको थियो ।              प्रधानमन्त्री ओली र उहाँका थाई समकक्षीबीच नेपाल–थाइल्याण्ड सम्बन्धका विविधि विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।       प्रधानमन्त्री ओली यही चैत २२ गते बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुनुुहुनेछ । सोही दिन उहाँले सम्मेलनलाई सम्बोधन गर्नुहुने छ । प्रधानमन्त्री ओेली चैत २१ गते बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुने सदस्य राष्ट्रका सरकार वा राष्ट्रप्रमुखको  नेताहरूको सम्मानमा आयोजना हुने रात्रिभोजमा सरिक  हुनुहुनेछ ।        शिखर सम्मेलनका क्रममा सदस्य मुलुकका समकक्षी एवं राष्ट्रप्रमुखहरूसँग भेटवार्ता हुनेछ ।         प्रधानमन्त्रीका साथ प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजुराणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक एवं विकास सल्लाहकार डा युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याललगायत हुनुहुन्छ । प्रधानमन्त्री ओली यही चैत २३ गते स्वदेश फर्कने कार्यक्रम छ । 

भोजपुर: भोजपुरमा पनि लोपोन्मुख हाब्रे ‘रेडपाण्डा’ भेटिन थालेपछि त्यसको संरक्षण अभियान सुरु गरिएको छ ।  रेडपाण्डा संरक्षणका लागि जिल्लाको पश्चिम टेम्केमैयुङ गाउँपालिका र साल्पासिलिछो गाउँपालिकाको एक–एक वडामा रेडपाण्डा संरक्षण कार्यक्रम सुरु गरिएको हो ।            विश्वमा नै दुर्लभ मानिएको रेडपाण्डा जिल्लामा पनि देखिन थालेकाले यसको संरक्षणका लागि दुई पालिकामा कार्यक्रम सुरु भएको सामूहिक अभियानका अध्यक्ष गणेश श्रेष्ठले बताउनुभयो ।  रेडपाण्डा नेटवर्कसँगको समन्वयमा सामूहिक अभियानले टेम्केमैयुङ–१ र साल्पासिलिछो–५ मा रेडपाण्डा संरक्षण अभियान थालिएको छ ।            टेम्केमैयुङको मुन्दुम पदमार्ग आसपासका वन क्षेत्रमा दुर्लभ तथा लोपोन्मुख रेडपाण्डा भेटिने गरेको छ । गाउँपालिका–१ को सुम्लिखाको धप्पर एकराते सामुदायिक वन क्षेत्रमा सामूहिक अभियान संस्थाका समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रमका फिल्ड कर्मचारीका तर्फबाट रेडपाण्डा भेटेर तस्बिर खिचेको संस्थाका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।            रेडपाण्डा संरक्षणका लागि सम्बन्धित निकायसँग जिल्ला तहमा अन्तरक्रिया तथा छलफलका कार्यक्रम सञ्चालन हँुदै आइरहेको संस्थाका महासचिव गणेश प्रधानले बताउनुभयो ।  सामुदायिक वनसँग समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालन भएको छ । रेडपाण्डा संरक्षणका लागि डिभिजन वन कार्यालय र सम्बन्धित सामुदायिक वनसँग सहकार्य गरिने छ ।

काठमाडौं:  प्रतिनिधिसभाको आजको बैठक सांसद दीपक बोहोराको निधनमा शोक प्रस्ताव पारित गरेर अन्त्य भएको छ ।  सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले शोक प्रस्ताव राख्नुभएको थियो । उक्त प्रस्ताव सर्वसम्मतिबाट पारित भयो ।        राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रुपन्देही निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित सांसद बोहोराको ७६ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।         सभामुखले विविध कारणले लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित हुने सांसदको अनुपस्थितिको सूचना सुनाउनुभयो । बैठकमा उहाँले संसद्को चालु अधिवेशन अन्त्यसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको ब्यहोराबारे जानकारी दिनुभएको थियो ।       सोमबारको मन्त्रिपरिषद् बैठकले सङ्घीय संसद्को चालु अधिवेशन आज राति १२ः०० बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिरफारिस गरेको थियो ।  सभामुख घिमिरेले प्रतिनिधिसभाको चालु पाँचौँ अधिवेशन आजै राति १२ः०० बजेदेखि अन्त्य जानकारी गराउँदै बैठक अन्त्य भएको घोषणा गर्नुभयो । 

गण्डकी: लुकीछिपी उत्पादन र बिक्री वितरण भइरहेको घरेलु मदिरालाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक गण्डकी प्रदेशसभामा छलफलका क्रममा छ ।  सोमबारको प्रदेशसभा बैठकमा सामान्य सैद्धान्तिक छलफल भएको उक्त विधेयकमा प्रदेशसभा सदस्यहरूले ७२ घण्टाभित्र संशोधन प्रस्ताव राख्न सक्नेछन् ।  विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइने उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले जानकारी दिनुभयो । “विज्ञहरूसहित सरोकार भएका पक्षहरूबीच विधयकमाथि दफाबार छलफल हुन्छ, त्यसपछि प्रदेशसभाबाट विधेयक पारित गर्ने प्रक्रिया अगाडि बढ्छ”, उहाँले भन्नुभयो । प्रदेश सरकारले सोसम्बन्धी विधेयकलाई यही चैत १४ गते प्रदेशसभामा प्रस्तुत गरेको थियो । सोमबार प्रदेशसभा बैठकमा भएको सैद्धान्तिक छलफलमा १० प्रदेशसभा सदस्यले उक्त विधेयकमाथि आफ्ना धारणा राखेका थिए । प्र देशसभा सदस्य रेशमबहादुर जुग्जालीले घरेलु मदिरालाई कानुनी दायरामा ल्याउँदा स्थानीय अर्थतन्त्रमा ठूलो टेवा पुग्ने बताउनुभयो । उहाँले मदिराको व्यावसायिक उत्पादनसँगै संस्कार र संस्कृतिलाई पनि ध्यान दिन जरुरी रहेको बताउनुभयो । प्रदेशसभा सदस्य रेखा गुरुङले विधेयकले घरेलु मदिराको गुणस्तरहीन र गैरकानुनी उत्पादनलाई निरूत्साहित गर्ने बताउनुभयो । घरेलु मदिरामा विषाक्त पदार्थको मिसावटले स्वास्थ्य जोखिम बढेको भन्दै त्यसलाई नियमन गर्नुपर्ने उहाँको भनाइ छ ।  स्थानीय उत्पादनलाई व्यावसायिक अवसर सृजना गर्दै घरेलु मदिराको अवैध उत्पादन नियन्त्रण गर्न र कर प्रणालीमार्फत प्रदेशको राजस्व विस्तार गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो । उद्योग तथा पर्यटनमन्त्री बस्यालले घरेलु मदिराको ‘ब्रान्डिङ’का लागि कानुनी प्रबन्ध गर्न लागिएको बताउनुभयो । आर्थिक मामिला मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सैद्धान्तिक सहमतिपछि विधेयकको मस्यौदा तयार पारिएको उहाँको भनाइ छ । मापदण्ड र गुणस्तर तय गरेर घरेलु मदिराको व्यावसायिक उत्पादनलाई खुला गर्न लागिएको हो । सङ्घीय कानुनसँग नबाझिने गरी विधेयकलाई पूर्णता दिइने मन्त्री बस्यालले बताउनुभयो । परम्परागत रूपमा घरघरमा बनाइँदै आएको मदिरालाई एकसाथ वैध घोषणा गर्दा गुणस्तर सुनिश्चितताको समस्या आउन सक्ने हुँदा व्यावसायिक उत्पादनलाई मात्र कानुनी दायरामा ल्याइने उहाँको भनाइ छ । प्रदेश सरकारले घरेलु मदिराको ‘ब्राण्डिङ’ र बजारीकरणलाई आफ्नो वार्षिक नीति तथा कार्यक्रममा पनि समेट्दै आएको छ ।  मुख्यमन्त्रीलगायत विभागीय मन्त्रीले पटकपटक घरेलु मदिरालाई ‘ब्राण्डिङ’ गरेर कानुनी मान्यता दिने बताउँदै आउनुभएको छ । पछिल्लो समय प्रदेश र स्थानीय तहले घरेलु मदिरालाई वैधानिकता दिनुपर्ने आवाज उठाउँदै आएका छन् । सर्वोच्च अदालतले केही वर्षअघि संस्कारजन्य कार्यका लागि एक परिवारले वर्षमा ३० लिटरसम्म उत्पादन गर्न पाउने फैसला गरे पनि व्यावसायिक उत्पादन र बिक्रीका लागि घरेलु मदिरा वर्जित छ । मदिरा ऐन, २०३१ ले पनि घरेलु मदिरालाई वैधानिक मान्यता दिएको छैन । सोही ऐनमा टेकेर प्रहरीले बेलाबेला घरेलु मदिरा नष्ट गर्ने अभियान नै चलाउँछ । जनजाति समुदायको संस्कृतिसँग गाँसिएको र कतिपयको आयआर्जनको माध्यम बनेको घरेलु मदिरा जफत गरेको भन्दै प्रहरीकै आलोचना हुने गर्छ । वैज्ञानिक विधिबाट गुणस्तरीय घरेलु मदिरा उत्पादन र बजारीकरण गर्न सके राज्यलाई आर्थिकलाभ मिल्ने देखिन्छ । केही समयअघि गण्डकी विश्वविद्यालयले गरेको घरेलु मदिरा बनाउन प्रयोग हुने मर्चाको गुणस्तर निर्धारण अनुसन्धान सफल भएको थियो । प्रदेशका ११ वटै जिल्लाबाट रक्सी बनाउने विधिको अध्ययनसहित मर्चा सङ्कलन गरेर रासायनिक विश्लेषण गरिएको थियो ।  मर्चाको मापदण्ड र गुणस्तर कायम गरेर घरेलु मदिरालाई सुरक्षित बनाउन सकिने आधार अनुसन्धानबाट देखिएपछि प्रदेश सरकारले घरेलु मदिरालाई वैध बनाउन लागेको हो । विधेयकमा घरेलु मदिरा उत्पादन गर्न प्रदेश सरकारबाट इजाजतपत्र लिनुपर्ने व्यवस्था छ । व्यक्ति, फर्म वा कम्पनीले उद्योग दर्ता नगराई घरेलु मदिराको उत्पादन, सङ्कलन, प्रशोधन, प्याकेजिङ, लेबलिङ तथा बिक्री वितरण गर्न नपाउने व्यवस्था गरिएको छ ।  धर्म, परम्परा, घरायसी प्रयोजन तथा निजी उपयोगका लागि वार्षिक ५० लिटरसम्म उत्पादन गर्न इजाजतपत्र लिनु नपर्ने व्यवस्था विधेयकमा रहेको मन्त्री बस्यालले जानकारी दिनुभयो । उद्योग दर्ता गराउन स्थानीय तहको सहमति, स्थान, आवश्यक पर्ने भाँडा, उपकरण, अन्न तथा फलफूलजस्ता कच्चा पदार्थको आपूर्ति गर्ने क्षेत्र उल्लेख गर्नुपर्ने विधेयकको मस्यौदामा उल्लेख छ । घरेलु मदिरालाई गण्डकी प्रदेशभित्रका कृषि सहकारीले समेत दर्ता गर्न सक्नेछन् ।  यस्तो मदिरामा अन्य मिसावट गर्न नपाइने स्पष्ट व्यवस्था विधेयकले गरेको छ । कोदो , फापर, उवा, जौँ, गहुँ, मकै, स्याउ, सुन्तला, खुर्पानी, मौवा, अम्बा, लिची, ऐँसेलु, चुत्रो, डिम्बरजस्ता अन्न र फलफूलबाट मदिरा बनाउन सक्ने व्यवस्था विधेयकमा छ ।  “तोकिएको मापदण्ड र गुणस्तर कायम गरेर घरेलु मदिराको व्यावसायिक उत्पादन तथा बिक्रीका लागि ऐन ल्याउन लागिएको हो”, मन्त्री बस्यालले भन्नुभयो, “प्रदेशसभा र सम्बन्धित समितिमा दफाबार छलफल गरी आवश्यक संशोधनसहित विधेयक पारित हुन्छ”, उहाँले भन्नुभयो, “लामो समयदेखि बहसमा रहेको घरेलु मदिरा छिट्टै कानुनी दायरामा आउँदैछ ।” 

काठमाडौं:  प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहोराका निधन भएको छ ।  लामो समयदेखि अस्वस्थ उनको राजधानीको ओम अस्पतालमा मंगलबार उपचारका क्रममा निधन भएको राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकले बताए ।  रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी उनी पूर्वमन्त्री समेत हुन् । घाँटीको समस्याबाट पीडित उनले निर्वाचनमा एक पटक पनि चुनावी सभालाई सम्बोधन गरेका थिएनन् । 

म्याग्दी:  अन्नपूर्ण हिमाल आरोहणका लागि आरोहीहरू आधार शिविरमा पुग्न थालेका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्दछ ।      चालु वसन्तयाममा अन्नपूर्ण हिमाल आरोहणका लागि आएका आरोही, शेर्पा, पथप्रर्दशक, मजदुर र पर्यटकहरूको आधार शिविरमा चहलपहल बढेको अन्नपूर्ण गाउँपालिका–४ का वडासदस्य श्याम पुर्जाले बताउनुभयो ।       “अन्नपूर्ण आधार शिविरमा आरोहण टोलीले टेन्ट टाँगेर गाउँ जस्तै बनाएका छन्”, उहाँले भन्नुभयो, “आरोहण टोलीका साथै आन्तरिक तथा बाह्य पर्यटकहरूको पनि आगमन सुरु भएको छ ।” उहाँका अनुसार समुन्द्री सतहबाट चार हजार एक सय मिटर उचाइमा आरोहीका साथै घुमघामका लागि पर्यटकहरू पनि आउन थालेका छन् ।        पर्यटन विभागले पछिल्लो पटक गत मङ्लवार सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस वर्षको वसन्तयाममा अन्नपूर्ण हिमाल आरोहणका लागि पाँच समूहका ३० पुरुष र १२ जना महिला आरोहणको अनुमति लिएका छन् ।  वसन्तयामका लागि हालसम्म पाँच वटा हिमाल अरोहण गर्न ५८ जनाले अनुमति लिएकामा सबैभन्दा बढी अन्नपूर्ण चढ्ने पर्यटक रहेका विभागका निर्देशक आरती न्यौपानेले जानकारी दिनुभयो ।       उहाँका अनुसार पायनियर एडभेन्चर, आठ के एक्सपिडेसन, इमेल नेपाल, सेभेन समिट, १४ पिक्स एक्सपिडेसन, मकालु एडभेन्चर र बोचीबोची पिक्समार्फत विश्वका विभिन्न देशबाट आएका आरोहीहरू आधार शिविरमा पुगेर तयारी थालेका छन् ।       भारतीय पर्वतारोहीलाई आरोहण गराउन आधार शिविर पुगेका सेभेन समिटका पेम्बा शेर्पाले २० दिनभित्र अन्नपूर्ण आरोहण सकेर सगरमाथा जाने योजना रहेको बताउनुभयो ।  “शेर्पाहरूले आधार शिविरबाट हिमालको चुचुरोतर्फ जाने बाटो बनाउन थालेका छन् । केहीदिन आधार शिविरमा विश्राम र तयारी गरेपछि आरोहीहरू हिमाल चढ्न जानेछन्”, उहाँले भन्नुभयो ।       विश्वको दशौँ अग्लो अन्नपूर्ण हिमाल आरोहणका लागि वसन्तयाम उपयुक्त मानिन्छ । अन्नपूर्णको अहिलेसम्म चार सय ८८ जनाले सफल आरोहण गरेका पर्यटन विभागले जनाएको छ । सन् १९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण पहिलो पटक आरोहण गर्नुभएको थियो । मौरिसले अन्नपूर्ण चढेको तीन वर्षपछि सन् १९५३ मा सरएडमण्ड हिलारी र तेन्जिननोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएको थियो ।       आठ हजार मिटरभन्दा अग्लो सबैभन्दा पहिलो पटक मानव पाइला परेका कारण अन्नपूर्णलाई ‘जेठो’ हिमाल पनि भन्ने गरिन्छ । प्रथम आरोही मौरिस हर्जोगले आरोहणका क्रममा प्रयोग गरेको बाटोलाई पहिचान गरेर नारच्याङ–आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्ग तयार गरिएको अन्नपूर्ण गाउँपालिका कार्यालयले जनाएको छ ।      नारच्याङका अगुवा तेज गुरुङको अगुवाइमा विसं २०६७ मा पहिचान भएको यो पदमार्गमा आधारभूत पूर्वाधार तयार भएपछि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको उहाँले उल्लेख गर्नुभयो । पदमार्गलाई व्यवस्थित बनाएपछि यसपाली मजदुरहरूले सामान बोकेर आधार शिविरमा पुर्‍याएका अभियन्ता गुरुङले बताउनुभयो ।       “गत वर्षसम्म सामान र पर्यटक दुवै हेलिकप्टरबाट आधार शिविर जाने गर्दथे”, उहाँले भन्नुभयो, “यसपाली पर्यटक हेलिकप्टरमा गएपनि सामान भरियाले बोकेर लगेका छन् ।” पदमार्गको प्रयोगसँगै आरोहीहरूको खर्च घट्नुका साथै भरियाहरूका लागि रोजगारीको अवसर सिर्जना भएको उहाँको भनाइ छ ।       पदमार्ग र आधार शिविर क्षेत्रमा अस्थायी संरचना ‘टेन्ट’को आश्रय स्थल निर्माण गरी खाना र खाजा खुवाउने व्यवस्था मिलाएपछि पर्यटकहरूलाई सहज भएको गुरुङले बताउनुभयो । यसअघि होटल तथा लजको सुविधा नभएको मौरिस हर्जोग पदमार्ग र अन्नपूर्ण आरोहण शिविरमा जानेहरूले खाना, खाजाका परिकार, भाँडाकुँडा, ग्यास, लत्ताकपडालगायत सामग्री आफैँले जोहो गर्नुपर्ने समस्या थियो ।       फुटफुते झरनामा चिया पसल, साधीखर्क, गुफाँफाँट, भुसकेट र अन्नपूर्ण आधार शिविरको पञ्चकुण्डताल परिसरमा अस्थायी शिविर सञ्चालन गरेपछि पर्यटकलाई खान, बस्न सहज भएको अभियन्ता गुरुङले बताउनुभयो । उहाँका अनुसार बन्दोबस्तीका सामानको भारी बोकेर यात्रा गर्नुपर्ने बाध्यता हट्नुका साथै स्थानीयस्तरमा रोजगारी र आयआर्जनको अवसर सिर्जना भएको छ ।       ती अस्थायी शिविरमा दैनिक ५० जनासम्म पर्यटक बास बस्न सक्छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०मा पर्ने उक्त क्षेत्रमा स्थायी संरचना बनाउन नमिल्ने कानुनी व्यवस्था भएकाले पर्यटकीय याममा सञ्चालन गर्न मिल्ने गरी क्षेत्र तोकेर शिविर बनाउन अनुमति दिइएको एकयापले जनाएको छ ।      आधार शिविरबाट सोमबार फर्किएका म्याग्दीका सञ्चारकर्मी गणेश गुरुङले अस्थायी शिविर र रेष्टुरेन्टको सुविधाले सहज भएपनि स्वभाविक शल्क निर्धारण र एकरुपता कायम गर्नुपर्नेमा जोड दिनुभयो ।       मिस्त्रीखोलाको किनारैकिनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै समुन्द्री सतहबाट चार हजार १०० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा पुग्न सकिन्छ । नारच्याङबाट दुई घण्टा सवारीसाधनमार्फत यात्रा गरेपछि पुगिने हुमखोलाबाट दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिन्छ ।      छोटो यात्रामा पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर पर्यटकको रोजाइमा परेको स्थानीय बताउँछन् । शान्त र एकान्त वातावरण, वन्यजन्तु, पशुपन्छी, जङ्गल, अग्ला पहाडको खोँच, फुटफुते झरना, अन्नपूर्ण हिमालको फेदीमा रहेको निलो रङ्गको पञ्चकुण्डताल आधार शिविरका आकर्षण हुन् । 

कञ्चनपुर:  बेलौरी नगरपालिका–२ टेंढुवा गाउँबाट नियन्त्रणमा लिइएको बयस्क भाले पाटेबाघलाई गए राति शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छाडिएको छ । डिभिजन वन कार्यालयका प्रमुख रामविचारी ठाकुरका अनुसार बाघलाई निकुञ्जको कोर एरिया (भित्री भाग) को सुरक्षित प्राकृतिक बासस्थानमा छाडिएको हो ।  आइतबार गहुँबारीबाट सुरक्षित रुपमा उद्धार गरी ल्याएको बाघको स्वास्थ्य परीक्षण गरिएको थियो । बाघ स्वस्थ्य रहेको पाइएपछि निकुञ्ज क्षेत्रमा छाडिएको हो ।  डिभिजन वन कार्यालय कञ्चनपुर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, जिल्ला प्रशासन कार्यालयलगायत सुरक्षा निकायसँगको छलफलपश्चात् बाघलाई निकुञ्ज क्षेत्रमै छाड्ने निर्णय गरिएको प्रमुख ठाकुरले बताउनुभयो ।