पोखरा: अन्नपूर्ण बेस क्याम्पबाट फर्किदै गर्दा देउरालीको हिम पहिरोमा पुरिएर बेपत्ता भएका चिनियाँ नागरिक मृत फेला परेका छन् । यही चैत ११ गते अन्नपूर्ण बेस क्याम्पबाट एक्लै फकिैदै गरेका २७ वर्षीय चिनियाँ नागरिक चेङ योङयन देउरालीको हिम पहिरोमा पुरिएर बेपत्ता भएका थिए । अन्नपूर्ण बेस क्याम्पबाट फर्किदै गरेका पर्यटक बेपत्ता भएको सूचनापछि खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बलको कालिका गणबाट खटिएको टोलीले हिम पहिरोमा बेपत्ता भएका चिनियाँ नागरिक चेङलाई १३ दिनपछि मादी नदीको किनारामा मृत फेला पारेको हो । यो पनि पढ्नुहोस फलोअप: बेपत्ता छोरा खोज्न चीनबाट नेपाल आइपुगे ‘इ जोङ वी’
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र छैटौँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलनमा भाग लिइ आज स्वदेश फर्कनुभएको छ । प्रधानमन्त्री ओलीलाई त्रिभुवन विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, सरकारका उच्चपदस्थ अधिकृत तथा सुरक्षा अङ्गका प्रमुखले स्वागत गर्नुभयो । प्रधानमन्त्रीको स्वागतमा नेपालस्थित कूटनीतिक समुदायका डीन, नेपालका लागि इजिप्टका राजदूत र नेपालका लागि थाइल्याण्डका कार्यवाहक राजदुत स्वागतका लागि विमानस्थल पुग्नुभएको छ । त्यसअघि नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्रीलाई सम्मान गारत अर्पण गरेको थियो । थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्को मैत्रीपूर्ण निमन्त्रणामा २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही चैत १९ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । थाइल्याण्डमा रहँदा प्रधानमन्त्री ओलीले छिमेकी भारतका प्रधानन्त्री नरेन्द्र मोदीलगायत विभिन्न मुलुकका समकक्षीसँग आपसीहित र चासोका विविधि विषयमा छलफल गर्नुभएको थियो । प्रधानमन्त्री ओली यही चैत २२ गते बिम्स्टेक शिखर सम्मेलनमा सम्बोधन समेत गर्नुभएको थियो । त्यसअघि प्रधानमन्त्री ओेली चैत २१ गते बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुने सदस्य राष्ट्रका सरकार वा राष्ट्रप्रमुखको नेताहरूको सम्मानमा आयोजना हुने रात्रिभोजमा सरिक हुनुभएको थियो । शिखर सम्मेलनका क्रममा सदस्य मुलुकका समकक्षी एवं राष्ट्रप्रमुखहरूसँग भेटवार्ता समेत गर्नुभएको थियो । प्रधानमन्त्रीका साथ प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक एवं विकास सल्लाहकार डा युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र सचिव अमृत राई समेत स्वदेश फर्कनुभएको छ ।
काठमाडौं: चैते दसैँ पर्वका अवसरमा आज बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको छ । उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, श्वेतकाली, रक्तकाली, कलङ्कीमाई, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, नरदेवी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा भक्तजनको भीड लागेको छ । यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, बागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवीलगायत शक्तिपीठमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको जनाइएको छ । चैत्र नवरात्रसमेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजाआजा एवं दर्शन गरेमा शक्ति प्राप्त हुने धार्मिक विश्वास छ । वर्षभरका चार नवरात्रमध्ये आश्विन र चैत्र शुक्ल पक्षमापर्ने नवरात्रमा दुर्गा भगवतीको विशेष आराधना गरिन्छ । नवरात्रभर साधना गर्नेले नौ दिनसम्म दुर्गादेवीको विशेष पूजा आराधना गर्छन् । अरु दिन पूजा नगर्नेले चैत्र शुक्ल अष्टमीका दिन शक्तिपीठमा गई पूजा आराधना गर्ने गरेका छन् । चैते दसैँसमेत भनिने चैत्र शुक्ल अष्टमीका अवसरमा आज शनिबार पनि परेकालेसमेत शक्तिपीठमा विशेष भीड देखिएको छ । सामान्य शनिबार पनि गुह्येश्वरीलगायत देशभरका शक्तिपीठमा भक्तजनको विशेष भीड लाग्ने गर्छ । गुह्येश्वरीमा चैते दसैँका अवसरमा आज बिहानैदेखि आउने भक्तजनको भीड बढेको स्थानीयवासीसमेत रहनुभएका ज्योतिष हरिप्रसाद सोडारीले जानकारी दिनुभयो ।
सङ्खुवासभा: सङ्खुवासभाको सभापोखरी गाउँपालिकाले करेन्ट लगाएर माछा मारे रु एक लाखसम्म जरिवाना गर्ने निर्णय गरेको छ । गाउँपालिकाले निषेधित क्षेत्र तोकेको सभाखोला र लङ्खुवा खोलामा करेन्ट लगाएर माछा मारे रु एक लाखसम्म जरिवाना गर्ने निर्णय गरेको हो । सभापोखरी गाउँपालिकाको २१ गते बसेको कार्यपालिका बैठकले सभाखोला र लङ्खुवा खोलाको संरक्षण क्षेत्रमा वा निषेधित क्षेत्रमा करेन्ट लगाएर माछा मार्नेलाई एक लाख जरिवाना गर्ने निर्यण गरिएको सभापोखरी गाउँपालिका उपाध्यक्ष लक्ष्मी चापागाईंले जानकारी दिनुभयो । त्यस्तैगरी क्षेत्रमा जाल हान्ने, बल्छी, घरुवा, दुवालीको प्रयोग गरी माछा मार्नेलाई रु ५० हजार जरिवाना गर्ने निर्णय गरिएको उपाध्यक्ष चापागाईंले बताउनुभयो । गाउँपालिकाले प्रहरी प्रशासनको सहयोगमा माछा मार्ने व्यक्तिलाई प्रकाउ गरी जरिवाना असुल गर्ने र सो रकमको १५ प्रतिशत सम्बन्धित प्रहरी प्रशासनलाई प्रोत्साहानस्वरुप दिइने प्रमुख प्रशासकिय अधिकृत बुकुप्रसाद आचार्यले बताउनुभयो । त्यसैगरी निषेधित क्षेत्रमा मार्ने व्यक्तिको बारेमा गोप्य सूचना दिनेलाई ५ प्रतिशत रकम प्रोत्साहन उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । जरिवाना असुल गर्न नसकिए नेपाल सरकारको प्रचलित कानुन बमोजिम मुद्दा दर्ताको लागि सिफारिस गर्ने जनाएको छ ।
काठमाडौं: नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मतदान सुरु भएको छ । प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार बारको केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि बिहान ८ बजेदेखि मतदान सुरु भएको छ । निर्वाचनमा ४ बजेसम्म मतदान गर्न सकिन्छ । बारको नयाँ नेतृत्वका लागि अध्यक्षमा बृहत लोकतान्त्रिक, प्रगतिशली, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ । वरिष्ठ अधिवक्ता प्राडा मिश्रको समूहमा महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला रहनुभएको छ, भने वरिष्ठ अविधक्ता श्रेष्ठको समूहमा अधिवक्ता यज्ञमणि न्यौपानेको उम्मेदवारी परेको छ । प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार नयाँ कार्यसमिति छनोट गर्नका लागि नौ हजार नौ सय ५७ मतदाता रहेका छन् । बारको २५ नयाँ कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको छ । मतदान केन्द्र काठमाडौँ र बाहिर गरी जम्मा ३६ वटा मतदान केन्द्र रहेको छ । काठमाडौँ मतदान केन्द्र सर्वोच्च अदालतको परिसरमा रहेको छ । यो केन्द्रमा करिब ६ हजार मतदाता रहेका छन् ।
बैतडी: बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । देहिमाण्डौँबाट गिरेगडातर्फ गइरहेको बिएसी ५६५९ नं को बोलेरो जीप शुक्रबार राति दशरथचन्द नगरपालिका–११ को नानीगाड भन्ने स्थानमा दुर्घटनामा भएको थियो । दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका– ५ का ५४ वर्षीय चन्चले दयालको मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो । चन्चलेको जिल्ला अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको हो । यस्तै पञ्चेश्वरकै ५२ वर्षीय लालीराम कोली, जीप चालक ३५ वर्षीय राकेस कोली र दशरथचन्द नगरपालिका –१० कि ३० वर्षीया कबिता परियार घाइते भएका छन् । घाइतेहरू सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । चालकसहित चारजना मात्रै सवार जीप अनियन्त्रित भएर दुर्घटना परेको बताइएको छ । दुर्घटनाग्रस्त जीप सडकबाट करिब ४० मिटर तल खसेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
काठमाडौं: राष्ट्रिय मानवअधिकार आयोगले यही चैत १५ गते काठमाडौँको तीनकुनेलगायतका स्थानमा घटेको घटनाको छानविन जारी रहेको जनाएको छ । आयोगले विभिन्न टोली बनाई घटनाको अनुगमन गरी तत्काल प्राप्त भएका जानकारीका आधारमा विज्ञप्तिमार्फत आफ्नो प्रारम्भिक धारणासमेत सार्वजनिक गरिसकेको स्पष्ट पारेको छ । उक्त घटनाका सन्दर्भमा मानवअधिकारको अवस्था र आयोगको भूमिकाका सन्दर्भमा सामाजिक सञ्जाल र केही समाचार माध्यममा आएका टीकाटिप्पणीप्रति आयोगको ध्यानाकर्षण भएको प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिनुभयो । घटना घटेको दिन र त्यसपछि पनि आयोगले क्षति र मानवअधिकारको उल्लंघनका विषयलाई लिएर थप उजुरी र ज्ञापनपत्रसमेत लिएको बताएको छ । घटनाको गाम्भीर्यता र उजुरीसमेतलाई मध्यनजगर गरी आयोगले घटना भएकै दिनदेखि अनुसन्धान टोली परिचालन गरी छानविन÷अनुसन्धान गरिरहेको प्रवक्ता पोखरेलको भनाइ छ । आयोगका सदस्य मनोज दुवाडी सम्मिलित टोलीले नजरबन्दमा राखिएको भनिएका संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई शुक्रबार भेटेको छ । त्यसैगरी प्रहरी हिरासतमा रहेका विभिन्न व्यक्तिको अवस्था र घटनामा परी घाइते भएकाको उपचारको अवस्था बारे पनि टोलीले विभिन्न अस्पतालमा पुगी जानकारी लिएको छ । आयोगको छानविन एवम् अनुसन्धानकार्यलाई सहयोग पु¥याउनसम्बद्ध सबैलाई आग्रह गरेको प्रवक्ता पोखरेलले उल्लेख गर्नुभयो ।
काठमाडौं: हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ । आज राति कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
काठमाडौं: प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् । वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरूपा देवीको आराधना गर्छन् । आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले आश्विन शुक्ल पक्षको दसैँलाई बडादसैँ भनिन्छ । बडादसैँमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ । यो क्रम आश्विन शुक्ल पूर्णिमासम्म चल्छ । चैते दसैँमा भने त्यो परम्परा धेरै परिवारमा छैन । हनुमानढोकाको दसैँघरमा भने घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन पनि छ । चैते दसैँमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दसैँ र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रूपमा श्रीरामको जन्म भएकाले रामनवमीका रूपमा मनाउने गरिएको हो । बडादसैँ जस्तै चैते दसैँको पूजा उपासनाका मुख्य उद्देश्य पनि यो लोकमा सुख शान्ति र परलोकमा सद्गतिका लागि आशीर्वादन लिनु हो । बडादसैँमा जस्तै चैते दसैँमा पनि परिवारका सदस्यबीच जमघट हुने गर्छ । उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा चैते दसैँका अवसरमा विशेष पूजा हुन्छ । यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, वागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवी लगायत शक्तिपीठमा पनि चैत्र नवरात्रका अवसरमा विशेष पूजा गरिन्छ । चैत्र नवरात्रसमेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजा आराधना एवं दर्शन गरेमा शक्ति प्राप्त हुने, मनोकामना पूरा हुने धार्मिक विश्वास छ । चैत्र शुक्ल प्रतिपदादेखि नै दसैँ घरमा विशेष पूजा र दुर्गा सप्तशती ९चण्डी० पाठ भइरहेको छ । विसं २०६३ सम्म नारायणहिटी राजदरबार अन्तर्गत रहेको दसैँघर त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय मातहत छ ।