काठमाडौं:  भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको नेतृत्वमा उक्त मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीसहितको टोलीले हालैको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गका विभिन्न...

पोखरा:  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले शनिबार पोखरामा रिसाइक्लिङ तथा अपसाइक्लिङ (आरयू) फेस्टको अवलोकन गरेकी छन् । मन्त्री नियुक्त भएपछि पहिलोपल्ट पोखरा आएकी उनले पोखरा इभेन्ट सेन्टरमा पुगेर फेस्टको अवलोकन गरेकी हुन् ।  उनलाई पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, कोइका र यूएनडीपीका प्रतिनिधिले स्वागत गरे । फेस्टमा उनले पुराना र खेर गएका प्लास्टिक, सिसा, कपडा लगायतको पुनर्प्रयोग र पुनर्प्रशोधनबाट बनाइएका सामग्रीको अवलोकन गरिन् ।  फेस्टको अवलोकन गर्दै उनले फोहोर व्यवस्थापनसँगै हरित रोजगारी सिर्जना हुनु प्रशंसायोग्य रहेको बताइन् । ‘रिसाइक्लिङ र अपसाइक्लिङले फोहोर मात्रै व्यवस्थपन हुँदैन, रोजगारी पनि सिर्जना हुन्छ भन्ने उदाहरण फेस्टिभलमा देखिएको छ,’ उनले भनिन्, ‘नेपालका अन्य सहरका लागि पनि यो परियोजना उदाहरणीय बन्न सक्छ ।’ उनले फेस्टमा स्टल राखेका आरयू उद्यमीलाई हौसला समेत प्रदान गरिन् ।  कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) को सहयोगमा पोखरा महानगरपालिकाले सञ्चालन गरेको रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना (जीसीआरयू) अन्तरगत आरयू फेस्ट शुक्रबार सुरु भएको थियो ।  फेस्टको दोस्रो तथा अन्तिम दिन शनिबार उत्पादक स्वयंमलाई फोहोर व्यवस्थापन प्रति उत्तरदायी बनाउन संवादको आयोजना गरिएको थियो ।  उद्योग वाणिज्य संघका प्रतिनिधि, वातावरणविद् र व्यवसायीसँग अनिल चित्रकारले ‘हरित चक्रीय अर्थतन्त्रमा उत्पादकको विस्तारित उत्तरदायित्व’ विषयमा संवाद चलाए । शनिबार नै कम गुणस्तरका प्लास्टिकको पुनर्प्रयोग गरी घरायसी सामान बनाउने प्रविधि, काठको विकल्पमा रिसाइकल गरिएको प्लास्टिक प्रयोगको प्रविधि, पुराना प्लास्टिकबाट कालोपत्र गर्ने प्रविधिका बारेमा विज्ञले आफ्नो प्रस्तुति राखेका थिए ।  रिसाइकल र अपसाइकल उद्योगको दिगोपनाका बारेमा फेस्टमा सहभागीले बुझ्ने मौका पाए । फोहोरबाट बनाइएका कपडाको पनि फेस्टमा प्रदर्शन गरिएको थियो ।  शनिबार सकिएको फेस्टमा दुई दिनसम्म झण्डै ५ हजारजनाले अवलोकन गरेका छन् । फेस्टको शुक्रबार पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, कोइकाका कन्ट्री डिरेक्टर मोहेओन कोङ् र युएनडिपीका प्रतिनिधि जुलियन चेभीलार्डले उद्घाटन गरेका थिए ।    फेस्टिभलमा देशभरिका नवप्रर्तनयुक्त रिसाइक्लिङ र अपसाइक्लिङ उत्पादनहरूको प्रदर्शनी, फोहोरलाई उपयोगी वस्तुमा रूपान्तरण गर्ने प्रक्रियाको प्रत्यक्ष प्राविधिक डेमो सो, जलवायु, दिगो पर्यटन विकास, हरित उद्यमशीलता र प्लास्टिक टू रोड प्रविधि माथि संवाद, युवाका लागि सिर्जनात्मक कार्यशाला, सार्वजनिक कला प्रदर्शनी, सहभागितामूलक गतिविधि, दक्षिण कोरियाको सफलता अनुभवमाथि विशेष संवाद सत्र, हरित रोजगारी, बजार पहुँच र दिगो जीविकोपार्जनका उपाय लगायत विषयमाथि चर्चा भएको थियो ।  हाल रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना अन्तरगत कोइकाको ९.८ मिलियन अमेरिकी डलर र यूएनडीपीको ०.८७ मिलियन अमेरिकी डलर आर्थिक सहयोगमा पोखरामा ग्रिन भेन्चर जोन (जिभिजेड) सेन्टर निर्माण भइरहेको छ ।  पोखरा महानगरपालिका क्षेत्रमा १ सय ३६ सामुदायिक समूह निर्माण गरी उनीहरूलाई आवश्यक तालिम तथा प्राविधिक प्रशिक्षण पनि प्रदान गरिएको छ । ‘यस परियोजनाले युवाहरूलाई रोजगारीसँग जोड्ने छ भने हरित अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण योगदान गर्नेछ,’ नगर प्रमुख आचार्यले भने ।   फोहोरमैलाको उचित व्यवस्थापन मार्फत हरित रोजगारी सिर्जना र चक्रीय अर्थतन्त्रको सिर्जनशील उपयोग आम समुदायका लागि निकै महत्त्वपूर्ण हुने विश्वास गरिएको छ ।  हरित अर्थतन्त्रमा योगदान पु¥याउने आरयू उद्यमलाई बढवा दिन दिगो नीतिको सुनिश्चितता सहित महानगरपालिकाले परियोजनाको स्वामित्व लिनेछ । परियोजना मार्फत आगामी २ वर्षमा ३ हजार रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ । 

पोखरा:  गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले व्यवसायीमैत्री प्रदेश निर्माणमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको २७ औं वार्षिक साधारण सभा तथा १४ औं अधिवेशनमा उनले यस्तो बताएका हुन् । “उद्योगी व्यवसायीहरूका लागि लगानीमैत्री वातावरण सिर्जना गर्नु हाम्रो प्राथमिकता हो”, उनले भने । मन्त्री थापाले उद्योगी व्यवसायीहरूलाई भरोसा र आधारका रूपमा परिभाषित गर्दै प्रदेश सरकारले गरेका प्रयासहरूको अपेक्षित प्रचारप्रसार नहुँदा जनचेतनामा ती काम ओझेलमा परेको स्पष्ट गरे । उनका अनुसार प्रदेश सरकार अहिले उद्योगमैत्री नीतिगत संरचना निर्माण, व्यवसाय दर्ता प्रणाली सरलीकरण, सीप विकास तालिम र युवा उद्यमशिलता प्रवद्र्धनमा केन्द्रित छ । “उद्यमशील युवाहरूलाई नेपालमै लगानी गर्न प्रेरित गर्दै हामीले सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय मातहतको सीप विकास तालिम केन्द्रबाट १९ किसिमका तालिम सञ्चालन गर्दै आएका छौं”, उनले जानकारी गराए ।  तालिम लिएर स्वदेशमा नै उद्यम वा व्यवसाय गर्न चाहने युवालाई प्रदेश सरकारले ब्युपुँजी तथा बैंक ऋणको ५०५ अनुदान उपलब्ध गराउने कार्यक्रम समेत ल्याएको भनाई उनको छ । मन्त्री थापाले गण्डकी प्रदेश सरकारले उद्योग–लगानी सम्मेलन गर्ने तयारी गरिरहेको र स्वदेशी तथा विदेशी लगानीकर्तालाई उद्योग स्थापनामा प्रोत्साहित गर्ने वातावरण निर्माण तर्फ लागिरहेको धारणा राखे । शासन व्यवस्थामा सुधार ल्याउन शिक्षा परामर्श संस्थाहरुको दर्ता–नवीकरण अब पोखराबाटै हुने व्यवस्था मिलाइएको र कम्पनी रजिस्टारको युनिट समेत प्रदेशमा नै स्थापना गर्न लबिङ गरिरहेको उनले जानकारी गराए । बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको भूमिका उल्लेखनीय रहेको भन्दै मन्त्री थापाले व्यापार प्रवद्र्धन, व्यवसायिक एकता र सामाजिक उत्तरदायित्व निर्वाह गर्ने संस्थाको प्रयासको प्रशंसा गरे । २७ औं साधारण सभा तथा १४औं अधिवेशनले एशोसियसनलाई अझ सुदृढ बनाउने र व्यवसायमैत्री वातावरण निर्माणमा सहयोग गर्नेमा उनी विश्वस्त छन् । 

बागलुङ:  बागलुङका खानेपानीका मुहानमा दिसामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जिल्लाका दश वटै पालिकाका ३४१ मुहानको पानी परीक्षण गर्दा १२५ मुहानमा कोलिफर्म भेटिएको हो । जिल्लामा सबैभन्दा बढी जैमिनी नगरपालिकाको मुहानमा कोलिफर्म फेला परेको छ । यस पालिकामा १०६ मुहानमा परीक्षण गर्दा ४२ मुहानमा कोलिफर्म भेटिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका ल्याब टेक्निसियन डिल्ली आचार्यले जानकारी दिए । उनका अनुसार गलकोट नगरपालिकामा ९१ स्थानमा परीक्षण गरिएकोमा ४० मुहानमा कोलिफर्म फेला परेको छ । बागलुङ नगरपालिकामा २४ वटा मुहान परीक्षण गर्दा चार, काठेखोला गाउँपालिकामा ४७ वटा मुहान परीक्षण गर्दा २७, बडिगाड गाउँपालिकामा ६८ स्थानमा परीक्षण गर्दा १० वटा मुहानमा कोलिफर्म फेला परेको आचार्यले जानकारी दिए । ढोरपाटन नगरपालिकामा पाँच वटा गर्दा कुनै पनि मुहानमा कोलिफर्म नदेखिएको उनको भनाइ छ । निसीखोला, तमानखोला, ताराखोला र बरेङ गाउँपालिकामा भने मुहान परीक्षण नगरिएको आचार्यले बताए । उनले भने, ‘अघिल्लो वर्ष परीक्षण गर्दा १०३ वटा मुहानमा कोलिफर्म देखिएको थियो, यस वर्ष बढेर १२५ पुग्यो, धेरै ठाउँबाट परीक्षण गर्नका लागि आग्रह गरिएको छ, हामीहरूले सबै पालिकामा परीक्षणको दायरा बनाउँदै जानेछौँ, धेरै ठाउँका मुहानमा कोलिफर्म देखिएको छ ।’ धौलागिरि प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर किरण तिवारीले कोलिफर्म मिसिएको पानी पिउँदा झाडापखाला, हैजा, टाइफाइड, जण्डिस, हेपाटाइटिस बी, पिसाबको सङ्क्रमण, रगतमा सङ्क्रमणसँगै कडाखालको रोग लाग्न सक्ने उनको भनाइ छ । कोलिफर्म फेला परेको मुहानबाट आएको पानी उमालेर मात्रै प्रयोग गर्नुपर्ने डाक्टर तिवारीले बताए । सबैभन्दा बढी कोलिफर्म भेटिएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले पालिका मुहान सरसफाइ र संरक्षणमा लागेको बताए । कोलिफर्म देखिएको मुहानलाई व्यवस्थित गरी आम नागरिकलाई पानी शुद्धीकरण गरेर मात्रै प्रयोग गर्न जनचेतना फैलाउने उनको भनाइ छ । पालिकाले ‘वास प्लान’ बनाएको र सोहीअनुसार नागरिकलाई सहज रूपमा शुद्ध पिउने पानीको व्यवस्थापन मिलाउन थालेको उपप्रमुख शर्माले बताए । 

सिन्धुली:   मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुली खण्ड अवरुद्ध भएको छ । सडकमा पहिरो र लेदो थुप्रिएपछि शनिबार बिहानदेखि लोकमार्ग अवरुद्ध भएको हो । गोलञ्जोर गाउँपालिका–६ अकरेभीरमा लेदोका कारण लोकमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए । उनका अनुसार लोकमार्गको सडकखण्डमा राति परेको अविरल वर्षाको कारण ओखलढुङ्गाबाट काठमाडौंतर्फ जाँदै गरेको ११ वटा भैँसी लोड गरिएको ना७ख ७८९० नम्बरको ६ चक्के ट्रक हिलो माटो लेदोमा फसेको र ट्रक निकाल्ने पहल भइरहेको छ । लोकमार्गका विभिन्न स्थानमा तीन वटा ट्रक ‘होल्ड’ गरिएको छ । गोलञ्जोर गाउँपालिका–६ कै बलेनीस्थित मध्यपहाडी लोकमार्गमा सडक माथिबाट पहिरो खसेर बाटो अवरोध भएको छ । सडक अवरुद्ध भएका कारण खुर्कोट घुर्मी सडकखण्डमा गुड्ने सवारीसाधन खुर्कोटमा नै रोकिएका छन् । ओखलढुङ्गा, सोलुखुम्बु, भोजपुरलगायतका पूर्वी जिल्लाबाट संघीय राजधानी काठमाडौं हिँडेका सवारीसाधनले केही समय कुर्नुपर्ने छ । सडकमा खसेको पहिरो र लोदो पन्छाउनका लागि पहल भइरहेको प्रहरीले बताएको छ । सिन्धुलीमा गए रातिदेखि निरन्तर वर्षा भइरहेको छ ।

विराटनगर:   कोशी प्रदेश सरकारले प्रदेशको नाम ‘कोशी प्रदेश सरकार विराटनगर, नेपाल’ हुने गरी संशोधन गर्ने निर्णय गरेको छ। शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको नाम संशोधन गर्ने निर्णय गरेको हो।  प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विगतमा रहेको ‘कोशी प्रदेश विराटनगर, नेपाल’लाई परिवर्तन गरी प्रदेशसभाले पास गरेको ऐनअनुसार नाम संशोधन गरी प्रदेश सरकारका सम्पूर्ण कार्यालयका ‘लेटरहेड’ र ‘साइनबेर्ड’मा सोहीअनुसार परिवर्तन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए। त्यसैगरी, कोशी प्रदेश सरकारको तथ्याङ्कसम्बन्धी कार्यालयलाई व्यवस्थित गर्न ब्नेको विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ। प्रदेश स्वास्थ्य नीति–२०८२ लाई स्वीकृत गर्ने निर्णय गरेको छ।  चालु आर्थिक वर्ष २०८२/८३ का लागि कोशी प्रदेश सरकारका विभिन्न मन्त्रालय, विभाग, निकाय र कार्यालयहरूमा कर्मचारीको अस्थायी दरबन्दीलाई स्वीकृत गर्ने निर्णय गरेको मन्त्री भण्डारीले बताए। कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८२ लाई प्रदेशसभामा विधेयकका रूपमा पेस गर्ने निर्णय गरिएको छ। कोशी प्रदेशमा रहेका शैक्षिक परामर्श तथा भाषा शिक्षण कक्षा सञ्चालनसम्बन्धी विकेयकलाई कानुन, न्याय तथा प्रदेश मामिला समितिमा पठाउने निर्णय गरिएको छ।

काठमाडौं:  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको थोरै उत्तरतर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका धेरै स्थानहरूमा तथा तराई भू–भागका केही स्थानहरूमा मेघगर्जनरचट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति देशभर साधारणतया बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन महाशाखाले अनुरोध गरेको छ ।

पोखरा:   पोखरा महानगरपालिकासँगको सहकार्यमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को आर्थिक सहयोग तथा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) को प्राविधिक सहयोगमा पोखरामा सञ्चालित रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना (GCRU) अन्तरगत आरयु फेष्ट (RU FEST-2025) सुरु भएको छ ।  शनिबारसम्म सञ्चालन हुने आरयु फेष्टमा फोहोरलाई खजना (मोहोर)  बनाउने मुलमन्त्र सहित यो फेस्टिभल आयोजना गरिएको छ ।  पोखरा लगायत सिङ्गो मुलुकको हरित विकासका लागि एक नवीनतम प्रयासका रूपमा फेस्टिभल स्थापित हुने अपेक्षा  गरिएको छ ।  फोहोरमैलाको उचित व्यवस्थापन मार्फत हरित रोजगारी सृजना र चक्रीय अर्थतन्त्रको सृजनशील उपयोग आम समुदायका लागि निकै महत्त्वपूर्ण हुने विश्वास गरिएको छ ।  हरित अर्थतन्त्रमा योगदान पुर्‍याउने आरयू उद्यमहरूलाई बढवा दिन दिगो नीतिको सुनिश्चितता सहित महानगरपालिकाले परियोजनाको स्वामित्वमा लिनेछ । परियोजना मार्फत आगामी २ वर्षमा  ३  हजार रोजगारी सृजना गर्ने लक्ष्य राखिएको छ । हाल रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना अन्तरगत कोइकाको ९.८ मिलियन अमेरिकी डलर र युएनडिपीले ०.८७ मिलियन अमेरिकी डलर आर्थिक सहयोगमा पोखरामा जिभिजेड सेन्टर निर्माण भइसेको छ ।   

पोखरा:   पोखरा महानगरपालिका क्षेत्रमा रहेका तालहरूलाई जोड्ने गरी निर्माण गर्न लागिएको लेक टु लेक साइकल ट्र्याकको गुरुयोजना तयार भएको छ। विकास साझेदार एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा निर्माण हुने उक्त ट्र्याकको रुटहरू सहितको गुरुयोजना  तयार भएको हो  ।  छलफलमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ११७ कि.मी लम्बाइको लेक टु लेक साइकल ट्र्याक पोखराका लागि महत्त्वपूर्ण पर्यटकीय पूर्वाधार बन्ने विश्वास व्यक्त गर्नुभयो ।  ‘यसले संसार भरीका साइकल प्रेमीहरूलाई पोखरामा आकर्षण गर्नेछ, पर्यटकहरूलाई हिमाल हेर्दै तालको किनारमा गरिने साइक्लिङको आनन्द प्रदान गर्नेछ, उहाँले भन्नुभयो, पोखराको पर्यटन विकासमा यो महत्त्वपूर्ण कोषे ढुङ्गा साबित हुनेछ ।’  पोखरा महानगरपालिका वातावरणीय हिसाबले पनि स्वच्छ, सुन्दर र आकर्षक रहेकाले यहाँ बन्ने साइकल ट्र्याक मानव स्वास्थ्य र पर्यावरणको संरक्षण प्रति समर्पित एक दिगो पूर्वाधार बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । विकास साझेदार एसियाली विकास बैङ्कको करिब १ अरब रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुने उक्त ट्र्याकले पोखरामा रहेका सबै तालहरूलाई एक आपसमा जोड्ने छ । पोखराको दिगो पर्यटन विकास अन्तरगत यो परियोजना सञ्चालनका लागि गुरुयोजना निर्माण भएको हो ।  गुरुयोजना  तयार भइसकेपछि एडिबी मिसन र सरोकारवालाहरूसँग शुक्रवार छलफल समेत गरिएको छ । एडिबी मिसनले यसको स्थलगत अवलोकन समेत गरेको आयोजना व्यवस्थापक कविता  पौडेलले बताउनुभयो ।  पोखरामा रहेका तालहरूलाई एक आपसमा (भित्र र तालहरू बाहिर पर्ने गरी) जोड्ने गरी इनर र आउटर दुई वटा रुटहरू सहित विभिन्न स्थानहरूमा कनेक्टिङ रुटहरू समेत निर्माण गर्दा करिब ११७ कि।मी लम्बाइको साइकल ट्र्याक निर्माण हुनेछ ।

काठमाडौं:    सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अबका युवाले सूचना प्रविधिको क्षेत्रमा अब्बल भई सिर्जनात्मक भविष्य बनाउनमा जोड दिनुपर्ने बताउनुभएको छ । काठमाडौँमा आज कान्तिपुर सिटी कलेजमा आयोजित ‘केसिसी एक्जिविसन–२०२५’ को उद्घाटन गर्दै सञ्चारमन्त्री गुरुङले देशलाई सूचना प्रविधिमा दक्ष जनशक्तिको आवश्यकता रहेको उल्लेख गर्दै सूचना प्रविधिमा रोजगारको प्रशस्त सम्भावना रहेको बताउनुभयो । सूचना प्रविधिको क्षेत्रमा भएको विकासले विभिन्न देश धेरै अगाडि पुगेका उहाँको भनाइ थियो । “नेपालमा सूचना प्रविधिका विकासका थुप्रै सम्भावना छन् तर, प्रशस्त जनशक्तिको अभाव, प्रभावकारी नीतिको अभाव र सूचना प्रविधिको संरचनाको कमीका कारण व्यवहारमा उतार्न चुनौती खेप्नुपरेको छ”, सञ्चारमन्त्री गुरुङले भन्नुभयो ।  सूचना प्रविधिको क्षेत्रमै भविष्यको लक्ष्य निर्धारण गरेर अब्बल बन्छु भन्ने सिर्जनशील युवाका लागि नेपालमै रोजगार पाउने अवसर विस्तारै राज्यले निर्माण गर्ने उहाँले विश्वास दिलाउनुभयो । “यो वर्ष हामी सूचना प्रविधि सम्बन्धी संरचना निर्माण गर्नेदेखि फोर जी घर घर पु¥याउने र फाइभ जी लञ्च गर्ने भएका छौँ”, नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले भन्नुभयो, “अबको विकास भनेको सूचना प्रविधिको समृद्धि नै हो ।” कार्यक्रममा क्यानका अध्यक्ष सुनैना घिमिरेले युवाले सूचना प्रविधिका माध्यमबाट नवीन कार्य सुरु गरेर स्वदेशमै रोजगारका प्रशस्तै अवसर प्राप्त गरिरहेका उदाहरण दिनुभयो ।  “मेहनत गर्ने र सूचना प्रविधि सम्बन्धी ज्ञान राख्नेलाई आयआर्जन गर्न दुःख छैन”, उहाँले भन्नुभयो, “क्यानले यस्ता युवालाई सहयोग र प्रोत्साहनसमेत गर्दै आएको छ ।” नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट) का सचिव डा रविन्द्रप्रसाद ढकालका अनुसार देशमा इञ्जिनियरको खाँचो छ । “यहाँ पढेर विदेश जाने युवा बढ्दै गर्दा मुलुक कसले समृद्धितर्फ लैजान्छ ? भन्ने चिन्ताको विषय बन्दै छ”, उहाँले भन्नुभयो ।  सचिव डा ढकालले युवा विदेश पलायन हुनु राज्यले सही वातावरण स्वदेशमा दिन नसक्नुको परिणाम रहेको बताउनुभयो । यद्यपि सूचना प्रविधिको विकासले पछिल्लो समय स्वदेशमै बसेर सिर्जनात्मक कार्य गर्ने आशा लाग्दा युवा पनि रहेको उहाँले सुनाउनुभयो । “सूचना प्रविधिमार्फत युवा स्वदेशमै टिकाउन सकिने आधारहरु छन्, तर त्यसका लागि उपयुक्त काम गर्ने वातावरण राज्यले महसुस गराउन सक्नुपर्छ”, सचिव डा ढाकालले भन्नुभयो । दुई दिनसम्म चल्ने उक्त प्रदर्शनीमा युवाले बनाएका सूचना प्रविधि सम्बन्धी विभिन्न नवीन कामका नमुना प्रदर्शन गरिएका छन् ।