काठमाडौं:  भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको नेतृत्वमा उक्त मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीसहितको टोलीले हालैको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गका विभिन्न...

काठमाडौं:  प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोदो हाम्रो परम्परागत खाद्यान्न बाली मात्र नभई यसको पोषणीय महत्व रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले कोदो दिवसका अवसरमा आज सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै कोदोको उत्पादन बढाउन र परिकारहरू उपभोग गर्न सबैसँग आग्रह गरेका हुन् ।  ‘कोदोको उत्पादन बढाऔँ, कोदोका परिकारहरू उपभोग गरौँ १ कोदो दिवसको शुभकामना !’ प्रधानमन्त्री ओलीले  भनेका छन् ।   ‘ग्लाइसेमिक इन्डेक्स कम हुने भएकाले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न, यसमा हुने फाइबरले हृदय स्वास्थ्य मजबुत बनाउन मद्दत गर्छ । सिँचाइबिना नै उत्पादन हुनसक्ने यस्तो गुणकारी खाद्यान्नलाई प्रवर्द्धन गर्न सरकारले यस वर्षदेखि साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने निर्णय गरेको छ,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत स्पष्ट पारे ।

काठमाडौं:  निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रूपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ ।  आयोगले आज एक सूचना जारी गर्दै यही साउन २१ देखि २७ गतेसम्म आयोगका केन्द्रीय कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिने जनाएको हो । आयोगले यसअघि उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका स्वीकृत गरिसकेको छ । आगामी असोज २१ गते बिहान १० देखि ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने र सोही दिन साँझ उम्मेदवारको सूची प्रकाशन हुनेछ । असोज २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । कात्तिक १७ गते बिहान ७ देखि अपराह्‍न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।   प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उम्मेदवार हुन नपाउने आयोगले जनाएको छ ।

काठमाडौं:   जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर साधारणतया बदली रहने जनाएको छ ।  महाशाखाका अनुसार शुक्रबार  दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका धेरै तथा  तराई भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, मधेश, बागमती, गण्डकी प्रदेशलगायत देशका पहाडी भागका धेरै र तराईका केही भागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । वाग्मती प्रदेशका पहाडी भेगका केही स्थानमा भारी वर्षाको सम्भावना छ । सम्भावित वर्षाका कारण भूक्षय, बाढी तथा गेग्रान बहाबको जोखिम रहेको, सहरी तथा तराई क्षेत्रमा डुबान हुनसक्ने, ठुला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्ने भएकाले सचेत रहन महाशाखाले सम्बद्ध सबैलाई अनुरोध गरेको छ । साथै अधिक वर्षाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्कता तथा पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सरोकार भएका सबै निकायमा अनुरोध गरिएको छ ।

पोखरा:  पोखरा महानगरपालिका–१४ मा सयौँ वर्ष पुराना ऐतिहासिक रुखहरू गैरकानुनी रूपमा काटेको आरोपमा ७ जनाविरुद्ध डिभिजन वन कार्यालय काीकीले कास्की जिल्ला अदालतमा मुद्धा दायर गरेको छ ।  पोखरा महानगरपालिकाका विभिन्न वडामा रहेका पुराना चौतारीका बर, पीपललगायतका रुखहरू काटिएको घटनामा संलग्न भएको आरोपमा उनीहरूविरुद्ध अभियोगपत्र दर्ता गरिएको हो ।  मानवसेवा फाउण्डेसन नेपालका प्रबन्धक विष्णुराज गिरी, पोखरा–१४ शुभमार्ग टोलका ताराप्रसाद तिवारी र योगमाया बराल, राधाकृष्ण टोलका अर्जुनबहादुर कार्की र रामकृष्ण अधिकारी, तथा साधना मार्गका ज्ञानेन्द्र सार्की र रमेश पौडेललाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो । वन कार्यालयका अनुसार, गत फागुनमा मानवसेवा फाउण्डेसनले आयोजना गर्ने कोटीहोम महायज्ञका लागि दाउरा (समिधा) संकलन गर्ने भन्दै पोखराका विभिन्न ठाउँमा रहेका ३३ वटा पुराना रुखहरू काटिएको थियो ।  अनुसन्धानका क्रममा रुख कटान गर्दा प्रचलित वन ऐन, २०७६ र वन नियमावली, २०७९ मा तोकिएको प्रक्रिया पूरा नगरिएको वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए । उनका अनुसार, रुखका हाँगाहरू प्रक्रिया नपुर्याई काट्ने र बेच्ने कामसमेत भएको अनुसन्धानबाट खुलेको छ । रुख काट्नेलाई बिगो असुल गरी दश हजार रुपैयाँसम्म जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुन सक्ने कानुनी प्रावधान छ । सोही प्रावधान अनुसार मुद्दा दायर गरिएको काफ्लेले बताए ।  घटना सार्वजनिक भएपछि पोखरामा नागरिक स्तरबाट व्यापक विरोध भएको थियो । पोखरा पंक्षी समाज, मेरो नेपाल युवा क्लब, वातावरण संरक्षणका लागि महाअभियान कास्की, नागरिक समाज कास्की लगायतका संघसंस्थाहरूले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै वन कार्यालयमा निवेदन दिएका थिए । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरास्थित कार्यालयमा समेत उजुरी परेको थियो । यसअघि पोखरा महानगरपालिकाले काटिएका रुखका दाउरा जफत गरेको थियो । महिनौँको अनुसन्धानपछि वन कार्यालयले अन्ततः अदालतमा मुद्दा दायर गरेको हो ।

काठमाडौं:  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएको छ । यस्तै, डिजल र मट्टितेलमा भने प्रतिलिटर दुई रुपैयाँले बढाइएको छ । यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर तीन रुपैयाँ र हवाई इन्धन अन्तरराष्ट्रियतर्फ अमेरिकी डलर २१ ले बढाइएको छ । नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर एक सय ५९, डिजल र मट्टितेल प्रतिलिटर एक सय ५०, हवाई इन्धन प्रतिलिटर एक सय २८ रुपैयाँ तय गरिएको निगमले बिहिबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको छ । नयाँ मूल्यसूची गएराती १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

काठमाडौं:  सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक शुक्रबार राष्ट्रिय कोदो दिवस मनाउने भएको छ ।  कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि आज साउन १६ गते दिवस मनाउन लागिएको हो । कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा प्रथम राष्ट्रिय कोदो दिवस मूल आयोजक समिति गठन गरी ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारा तय गरिएको हो । देशको दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तनवाट हुने असर कम गर्न र जैविक विविधता जोगाउँदै खाद्य प्रणालीको रुपान्तरण गर्न दिवस महत्त्वपूर्ण हुने विभागका महानिर्देशक सन्जेलले जानकारी दिनुभयो ।  कृषि विभागले आर्थिक वर्ष २०८१/८२ मा रु ७६ करोड ६३ लाख ८६ हजारबराबरको करिब १८ हजार ३१६ मेट्रिक टन कोदोजन्य उत्पादनको आयात भएको जनाएको छ । दिवसका अवसरका चाँगुनारायण नगरपालिकास्थित ताथलीमा कोदो रोपाइँ तथा कृषक, राष्ट्रिय कृषक समूह महासङ्घ, पत्रकारलगायतका विभिन्न विधामा पुरस्कार तथा कदरपत्र वितरणको कार्यक्रम छ । प्रदेश र स्थानीय तहहरूबाट पनि उक्त अवसरमा विविध कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । कोदो दिवस मूल आयोजक समितिका अध्यक्ष सञ्जेलले रासायनिक मलखाद र विषादीको प्रयोग नगरी वा कम गरेर पनि औसत उत्पादन लिन सकिने बताउँदै हानिकारक हरित ग्यास उत्सर्जन कम गर्नमा सघाउ पुर्‍याइ जलवायु परिवर्तन न्यूनीकरणमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । विभागले दिवसको सबै तयारी पूरा भएको जनाएको छ ।

पोखरा:  गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था कार्यालयले गएको वर्ष चार वर्ष यताकै उच्च प्रगति हाँसिल गरेको छ ।  आर्थिक वर्ष २०८१/८२ मा ८० प्रतिशत प्रगति गर्ने लक्ष्य लिइएकोमा ७९.५ प्रतिशत भौतिक प्रगति भएको हो । मन्त्रालयको वित्तीय प्रगति ७६.५२ प्रतिशत छ । बिहीबार पोखरामा भएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठक तथा वार्षिक प्रगति समीक्षामा यस्तो जानकारी दिइएको हो । भौतिक मन्त्री प्रकाशबहादुर केसीले गएको वर्ष लक्ष्य नजिक पुगेको जनाउँदै आगामी वर्ष मन्त्रालयको प्रगति अझ बढ्ने उल्लेख गरे ।  “यसपालि जुन प्रगति हाँसिल भएको छ, त्यो सन्तोषजनक पक्ष हो । थोरै खर्च हुने प्रवृत्तिलाई निरुत्साहित गर्न यसपालिबाट आर्थिक वर्षको सुरुबाटै स्पष्ट कार्ययोजना बनाउँदै योजनाहरु कार्यान्वयन गर्न आवश्यक छ,” उनले भने ।  गण्डकी प्रदेश सरकारको करिब आधा बजेट भौतिक पूर्वाधार मन्त्रालयमा छ । कार्यक्रममा मन्त्री केसीले नियमित रुपमा कार्यालयहरुको प्रगतिको जानकारी लिई समयमै काम सकन गराउन पटक पटक निर्देशन दिने गरेका छन् ।  पहिलो चौमासिकमै २० लाखभन्दा माथिका योजनालाई ठेक्का प्रक्रियामा लैजान मन्त्रालयले लिखित निर्देशन दिएको थियो । उनले सालवसाली आयोजनाहरुको कार्यान्वयको तत्काल सुरु गर्न कार्यालय प्रमुखज्यूहरुलाई निर्देशनसमेत दिए । केसी अघिल्लो वर्षको भदौ १७ गते भौतिक मन्त्री नियुक्त भएका थिए ।  नियमित रुपमा काम गर्ने व्यवसायीलाई प्रोत्साहित गर्न र सहयोग गरी समयमै गुणस्तरीय कार्य गर्न उनले कार्यालय प्रमुखहरुलाई निर्देशन दिए । कार्यालयहरुमा प्राविधिक कर्मचारीहरुको अभाव रहेकोमा यो वर्ष करारमा भर्ना गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ । यातायात व्यवस्था कार्यालय कास्की सवारी चालक अनुमतिपत्रमा मन्त्रालयबाट ७ कर्मचारी काजमा खटाइएको  र २२ जनाको अस्थायी दरबन्दी स्वीकृतिका लागि निर्णय भइसकेको उनको भनाइ छ । यही वर्ष सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को समस्या समधान हुने मन्त्री केसीले विश्वास दिलाए । उनले भने, ‘सवारी चालक अनुमतिपत्र छपाई गर्न बजेट विनियोजन भई प्रक्रिया सुरु भइसकेकाले लाईसन्स छपाइको समस्या समेत चाँडै समाधान हुने देखिन्छ ।’ राइड सेयरिङसम्बन्धी नियमावली २०८२ तयार भई सकेको जनाउँदे उनले चाँडै त्यो कार्यान्वयनमा जाने प्रष्ट पारे ।  “यसमा यातायात व्यवसायीका केही असहमति छन्, त्यसलाई समाधान गर्न हामी निरन्तर वार्तामा छौं,” उनले भने, ‘नियमावली सौहार्दपूर्ण एवं सहज  वातावरणमा अविलम्व कार्यान्वयन हुने कुरामा म विश्वस्त छु ।’ कार्यक्रममा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले असारे विकास नभईमात्र भुक्तानीमात्र हुने गरेको बताए ।  “हामी आफैं क्लिियर हुन जरुरी छ, समग्र वर्ष दिनको कामको भुक्तानी हुने हुँदा असारमा बजेट गएकोलाई असारे विकास भन्नु भएन,” उनले भने ।  मुख्यमन्त्री पाण्डेले असार १५ देखि २० गतेभित्र कामको अन्तिम भुक्तानी  दिने वातावारण बनाउने गरी काम गर्न निर्देशन दिए । यसपालि बहुवर्षीय योजनामा ७० प्रतिशत पुग्ने गरी रकम छुट्याइएको उल्लेख्य प्रगति हाँसिल हुने उनको भनाइ छ ।  आर्थिक मामिला मन्त्री डा टकराज गुरूङले आन्तरिक आम्दानी बढाउन राइड सेयारिङ सहयोगी हुने अपेक्षा गरे ।  भौतिक मन्त्रालयका सचिव कमलकुमार अधिकारीले यो वर्ष यातायात र पूर्वाधार कार्यालय नवलपुरमा निर्माण गरिने बताए ।  उनले प्रदेश सरकारले हालसम्म बनाएका पुलहरुको विवरण भएको पुस्तिका हालै सार्वजनिक भएको जानकारी दिँदै छिट्टै सडकमा भएका कामहरुको प्रगति पुस्तिका सार्वजनिक हुने जानकारीसमेत दिए ।  कार्यक्रममा मन्त्रालय अन्तर्गतका पूर्वाधार विकास निर्देशनालय, पूर्वाधार कार्यालय, यातायात कार्यालय, सहरी विकास तथा भवन कार्यालयका प्रमुखहरु सहभागी थिए । उनीहरुले कार्यालयको वार्षिक प्रगति, भोग्नुपरेका समस्या, गर्न सकिने उपलब्धिहरुबारे प्रस्तुति राखेका थिए । समारोहमा २० निर्माण व्यवसायीलाई समय अगावै काम सम्पन्न गरेकोमा सम्मान गरिएको थियो ।

दाङ:  दाङको तुलसीपुरमा भएको ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। बिहीबार बिहान ११ बजे तुलसीपुर–घोराही सडकखण्ड अन्तरगत तुलसीपुर उपमहानगरपालिका–७ मोतिपुरको ओरालोमा रा १ त ३४७८ नम्बरको ट्याक्टर दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको हो। तुलसीपुर–१७ का १५ वर्षीय सविन भण्डारी र १७ वर्षीय मनोज रोका मगरको मृत्यु भएको छ। दुर्घटना पछि ट्याक्टरले च्यापेको अवस्थामा रहेका दुबै जनालाई उद्धार गरी अस्पताल पुर्‍याइएको तुलसीपुरका प्रहरी निरीक्षक सूर्य राना मगरले जानकारी दिए।  गम्भीर घाइते उनीहरूलाई नजिकैको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो। त्यहाँ चेकजाँच गर्ने क्रममा चिकित्सकले दुबै जनालाई मृत घोषणा गरेको प्रहरी निरीक्षक मगरले बताए। सोही दुर्घटनामा परी ट्याक्टरमा सवार सोही ठाउँका १५ वर्षीय धनबाहदुर चौधरी र तुलसीुपर–१८ बजौरीका २६ वर्षीय प्रकाश चौधरी पनि घाइते छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। ट्याक्टर चालक तुलसीपुर–१७ मानपुरका २६ वर्षीय सुरेश चौधरीको बाँया हातमा चोट छ।

काठमाडौं:   सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बिहिबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै साउन १२ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।  सरकारले बाढीबाट क्षतिग्रस्त सिन्धुली सडकको आपतकालीन पुन: स्थापनाको लागि जापान सरकारबाट प्राप्त हुने २.८ अर्ब जापानी येन बराबरको अनुदान सहायत स्वीकार गर्ने निर्णय निर्णय भएको प्रवक्ता गुरुङले जानकारी दिनुभयो। राज्यकोषबाट लगानी भएका प्रतिष्ठान, बोर्ड, समिति तथा सार्वजनिक संस्था लगायत निकायका पदाधिकारी र कर्मचारी पारिश्रमिक तथा सेवा सुविधामा एक रुपता कायम गर्ने सम्बन्धमा सुझावसहितको प्रतिवेदन पेश गर्न रामु प्रसाद डोटेल, पर्वतको संयोजकत्वमा, रमेश प्रसाद शिवाकोटी, दोलखा र चण्डी प्रसाद घिमिरे, ललितपुर सदस्य रहनेगरी कार्यदल गठन गर्ने निर्णय समेत भएको छ ।