पाँचथर: पाँचथरको याङवरक गाउँपालिका–१ बिरुवामा बेपत्ता भएका दाजु–बहिनी मृत अवस्थामा भेटिएका छन् । गएको साउन १५ गते बिहानदेखि हराइरहेका बिर्खबहादुर राईका १० वर्षीय छोरा शिशिर र ६ वर्षीया छोरी नानुमाको आज बिहान बिरुवा खोलामा शव भेटिएको हो । उनीहरूको शव खोला किनारामा झन्डै दुई सय मिटरको फरकमा फेला परेको वडाध्यक्ष राजेन्द्र खालिङ राईले जानकारी दिनुभयो । बेपत्ता बालबालिकाको खोजीका लागि जिल्ला प्रहरी कार्यालयको टोली हिजो च्याङथापू पुगेको थियो । शिशिर कक्षा ४ र नानुमा कक्षा १ मा स्थानीय पूर्ण आधारभूत विद्यालयमा अध्ययनरत थिए । वडाध्यक्ष खालिङका अनुसार बाबु बिर्खबहादुरले साउन १५ गते बिहान छोराछोरीलाई हजुरआमा कहाँ गएर खाना खाई स्कूल जानू भनेर पठाएको तर त्यसदिनभर उनीहरूको अवस्था थाहा नभएपछि अर्को दिन साउन १६ गतेदेखि खोजी थालिएको थियो । मृतक बालबालिकाकी आमा वैदेशिक रोजगारीमा हुनुहुन्छ । पाँचथरका प्रहरी नायब उपरीक्षक (डीएसपी) कौशलकुमार बुढाथोकीले घटनाबारे थप अनुसन्धान भइरहेको बताउनुभयो ।
चितवन: नारायणगढ–मुग्लिन सडकखण्डका अधिकांश भाग भित्तो खनेर बनाइएको र विस्तार गरिएको हुँदा सधैँ पहिरो र ढुङ्गा खस्ने जोखिम हुने गर्दछ । समयसमयमा पहिरो र ढुङ्गा खसेर भएका मानवीय क्षति धेरै छन् । पछिल्ला वर्षहरूमा सडक विस्तार, पुल निर्माण र पहिरो रोकथामको काम भएसँगै पहिलेको तुलनामा जोखिम कम हुने भए पनि ढुङ्गा खस्ने समस्या भने रहेको छ । डिभिजन सडक कार्यालय भरतपुरका इञ्जिनियर अर्जुन घिमिरेका अनुसार सबैभन्दा बढी समस्या देखिएको तुइन खोलामा ठूलो ढुङ्गा झारिएको छ । सँगै साना ढुङ्गा झारिएको भए पनि अझै सो क्षेत्र जोखिमपूर्ण रहेको उनको भनाइ छ । यस्तै जोखिम जलवीरेमा छ । झण्डै एक सय मिटर क्षेत्रमा साना ढुङ्गा खस्ने जोखिम रहेको हो । नाम्सी पुल क्षेत्रमा भित्तो काटिएको हुँदा ढुङ्गा खस्ने जोखिम छ । एक सय मिटर जति क्षेत्र जोखिममा रहेको घिमिरेले जानकारी दिए । तुइन खोला नजिकैको क्षेत्र पनि जोखिममा छ । ६० मिटर हाराहारी क्षेत्रमा ढुङ्गा खस्ने जोखिम छ । सो क्षेत्रमा सडक विस्तार गर्दा हल्का भित्तो काटिएको थियो । केही वर्षअघि यो सडक विस्तार गर्दा ठाउँठाउँमा भित्तो काटिएको थियो । ती क्षेत्रमा रकनेटिङ, वायो इञ्जिनियरिङलगायत प्रविधि प्रयोग गरेर पहिरो र ढुङ्गा खस्ने समस्या रोकथाम गरिएको हो । कार्यालय प्रमुख नारायण लामिछानेले जोखिम बढी देखिएका ठाउँमा रकनेटिङलगायतका काम गर्नुपर्ने आवश्यकता औँल्याए । विभागसँग परामर्श गरेर काम अघि बढाइने उनको भनाइ छ । वर्षातको समयमा सडक जोखिमपूर्ण भएकाले यात्रा गर्दा सावधानी अपनाउनुपर्ने उनको सुझाव छ । कार्यालयले ढुङ्गा र पहिरो खस्न सक्ने जोखिम भएकाले मुग्लिनमा एउटा लोडर तयारी अवस्थामा राखेको छ । यस्तै सेतीदोभानमा लोडर, जेसिभी एक्साभेटर, ट्रकटेलर, टिपर तयारी अवस्थामा राखेको छ । उनका अनुसार नाली बन्द हुन नदिन मिनी एक्साभेटर र आवश्यक जनशक्ति सडकमा नियमित परिचालन गरिएको छ ।
काठमाडौं: कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले मनसुनजन्य विपद् जोखिम बढेपछि सरकारका सम्पूर्ण निकायहरूलाई आवश्यक सतर्कता अपनाउन निर्देशन दिएका छन् । सहरी विकास मन्त्रालयमा मंगलबार गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानबहादुर राई, मुख्यसचिव एकनारायण अर्याल, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टसहित बसेको बैठकमा उनले मनसुनजन्य जोखिमको जानकारी लिएका छन् । कार्यवाहक प्रधानमन्त्री सिंहले बैठकमा अहिले देशका विभिन्न स्थानको मौसम र सम्भावित जोखिमबारे जानकारी लिँदै पूर्वतयारीमा रहन, घटना भए क्षति हुन नदिन, खोज तथा उद्धारका लागि ‘हाइअलर्ट’ मा रहन निर्देशन दिए । उनले सम्भावित जोखिम रहेको क्षेत्रमा ‘एसएमएस अलर्ट’, स्थानीय सञ्चारमाध्यम र सुरक्षा निकायमार्फत् पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन पनि ध्यानाकर्षण गराए । बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख भट्टले लुम्बिनी प्रदेशको दाङ, बाँके, बर्दियामा पानी पार्ने प्रणाली सक्रिय रहेको जानकारी गराए । भारी वर्षा हुँदा बबई नदी र राप्ती नदीको पश्चिम भागमा खतराको तह पार गरेकाले बर्दिया क्षेत्रमा अबको ४ देखि ५ घण्टामा डुबान पर्न सक्ने सम्भावना रहेको बताए । मधेश प्रदेशमा देखिएको खडेरीको अवस्थबारे पनि कार्यवाहक प्रधानमन्त्री सिंहले चासो राखेका थिए । सो क्रममा प्राधिकरणका प्रमुख भट्टले मधेशमा हल्का वर्षा भइरहेको र ८० प्रतिशत रोपाईं भएको जानकारी गराए । बैठकमा मंगलबार (आज) राती कैलाली र कञ्चनपुरमा भारी वर्षाको सम्भावना रहेको बारे पनि जानकारी गराइएको छ । यस्तै पानी पार्ने अर्को प्रणाली मकवानपुरमा सक्रिय हुने आँकलन गरिएको छ । बैठकमा गृहमन्त्री लेखकले मनसुनजन्य विपद्लाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई अतिआवश्यकबाहेक कार्यक्षेत्र नछाड्न निर्देशन जारी गरिएको जानकारी गराए ।
काठमाडौं: दाङ, बर्दिया र बाँकेमा पछिल्लो समयमा अति भारी वर्षा भएको छ । जल तथा मौसमविज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा दाङको जलकुण्डी मापन केन्द्रमा सबैभन्दा बढी दुई सय २७ मिलिमिटर वर्षा भएको छ । यस्तै, बाँकेको सिक्टामा पनि दुई सय मिलिमिटर वर्षा भएको छ भने बर्दियाको मानपुरमा एक सय ६७ मिलिमिटर वर्षा भएको छ । बाँके र दाङमा अति भारी वर्षा हो भने बर्दियामा धेरै भारी वर्षा भएको छ । दाङमा पछिल्लो एक घण्टामै २५ मिलिमिटरभन्दा बढी वर्षा भएको छ । जल तथा मौसमविज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार आज दिउँसो र राति पश्चिम नेपालमा बढी वर्षा हुने जानकारी दिनुभयो । यद्यपि अन्य प्रदेशका एकदुई स्थानमा पनि भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ । वर्षा गराउने सानो प्रणाली बनेको भएर आज दिउँसो र रातिमा पश्चिम क्षेत्रमा बढी पानी पर्ने उहाँले बताउनुभयो । यद्यपि मनसुन न्यूनचापीय प्रणालीको असर भने नेपालभरि नै छ । जसका कारण अझै केही दिन मनसुन सक्रिय भइरहनेछ । पछिल्लो छ घण्टामा मात्र दाङको तुलसीपुर, अम्बापुर, जलकुन्डी, बाँकेको पश्चिम राप्ती, सिक्टा, बर्दियाको मानपुर वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ । सो क्षेत्र भई बहने बबई, पश्चिम राप्ती नदी, डुडुवा खोलालगायत अन्य साना खोलामा आकस्मिक बाढी तथा होचा भूभागमा डुबानको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ । देशभर अधिकांश बदली छ । लुम्बिनी प्रदेशका अधिकांश स्थान, मधेश, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानका साथै कोशी र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आगामी २४ घण्टामा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ । आगामी केही दिन मधेश प्रदेशलगायत देशभर मनसुन सक्रिय रहिरहने देखिएको महाशाखाले जनाएको छ ।
काठमाडौं: सङ्घीय निजामती सेवा विधेयक, २०८० मा त्रुटि भएको भनी उठाइएका विषयमा गठित अध्ययन तथा छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी गरेको छ । रातभर सिंहदरबारमा बसेर समितिले तयार गरेको प्रतिवेदन आजको बैठकमा पेस गर्ने निर्णय भएको समिति सदस्य माधव सापकोटाले जानकारी दिनुभयो । समितिले २९ दिनसम्म विभिन्न ३७ बैठक बसेर प्रतिवेदनलाई अन्तिम रुप दिएको हो । त्रुटि कसरी हुन्छन् भविष्यमा यस्ता त्रुटि हुन नदिन विशेषज्ञसँग परामर्श गरेर विशेष समितिले प्रतिवेदन तयार गरेको जनाइएको छ । समितिमा संसद्मा विधेयक निर्माणको सन्दर्भमा हुने गरेको यस प्रकारका गतिविधि आगामी दिनमा हुन नदिन कमीकमजोरीलाई सच्याउन सरोकारवाला व्यक्तिसमेत विभिन्न कोणबाट छलफल भएको छ । प्रतिनिधिसभाले गत असार २३ गते उच्चस्तरीय छानबिन विशेष समिति गठन गरेको थियो । समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, नेपाल कम्यनिष्ट पार्टी (एमाले)बाट नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की रहनुभएको छ ।
पोखरा: इम्ब्रोइडरी एण्ट गार्मेन्ट्स एशमोसिएसन(एगा) पोखराले यही साउन ९ गतेदेखि १९ गतेसम्म इन्डोनेसियाको बाली र भियतनामको हानोई शहरमा पोखराको पर्यटन प्रवद्र्धन गरेको छ । संस्थाले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत स्वदेश एवम् विदेशमा विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएकोमा यस वर्ष अन्तराष्ट्रिय कार्यक्रम अन्तर्गत इन्डोनेसियाको बाली र भियतनामको हानोई लगायत शहरमा प्रवद्र्धनात्मक कार्यक्रमहरू सम्पन्न गरेको एगा पोखराका अध्यक्ष गोकर्ण लम्सालले जानकारी दिनुभयो । भ्रमणका क्रममा बालीबाट कला र संस्कृतिबारे धेरै जान्न र बुुझ्न पाइएको उल्लेख गर्दै लम्सालले त्यहाँबाट हामी नेपालीले धेरै सिक्न सक्ने बताउनुुभयो । कला र संस्कृतिको संरक्षण गर्न सकेमा त्यसबाट पर्यटकीय रुपमा धेरै फाइदा लिन सकिने अनुभव त्यहाँबाट हासिल भएको उहाँको भनाइ छ । कार्यक्रमकै क्रममा प्रवद्र्धन टोलीले स्थलगत रुपमा हानोईको ग्रामिण क्षेत्रमा रहेको सिल्कका कपडाको उद्योगहरूको अवलोकन समेत गरेको थियो । कार्यक्रमको इन्टरनेशनल ट्राभल्स व्यवस्थापनको सहजीकरण एगा पोखराका पूर्व अध्यक्ष विश्वराज पोखरेलले गर्नुुभएको थियो । भ्रमणका क्रममा तत्तत् स्थानका पर्यटन व्यवसायी एवम् सर्वसाधारणलाई पोखरा सहित नेपाल भ्रमणका लागि आग्रह गरिएको पोखरेलले जानकारी दिनुभयो । प्रवद्र्धन टोलीमा अध्यक्ष लम्साल सहित पूर्व अध्यक्ष एवम् पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष चिरञ्जिवी पोखरेल, निवर्तमान अध्यक्ष इन्द्रप्रसाद भण्डारी, पूर्व अध्यक्षहरू कृष्णकुमार श्रेष्ठ, विश्वराज पोखरेल, जीवनाथ गौतम, कार्यसमितिका पदाधिकारी सहित ३५ जनाको सहभागिता रहेको थियो ।
पोखरा: पेशागत दक्षतालाई प्रवद्र्धन गर्ने उद्देश्यले जनप्रिय बहुमुखी क्याम्पस पोखरामा प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा तालिम साउन १८ गतेदेखि २३ गतेसम्म जनप्रिय क्याम्पसको अन्नपूर्ण हलमा सञ्चालन हुनेछ । तालिमको उद्घाटन गर्दै युजिसीका अध्यक्ष प्राडा देवराज अधिकारीले देशभरका सामुदायिक क्याम्पसमा गुणस्तरीय पठनपाठन सुनिश्चित गर्न ७ वटा तालिम केन्द्रहरू स्थापना गरिएको जानकारी दिए । विद्यार्थी भर्ना दरमा कमी र कक्षा छाड्ने दरमा वृद्धि हुनुको पछाडि प्रभावकारी अध्ययन–अध्यापनको अभाव एक कारण हो, अध्यक्ष अधिकारीले भने, त्यसैले नेहेप प्रोजेक्ट अन्तर्गत जनप्रिय क्याम्पस जस्ता अग्रणी क्याम्पसहरूलाई तालिमको जिम्मेवारी दिइएको हो । उनले गण्डकी प्रदेशका ११ ओटा क्युएए प्रत्यायन प्राप्त सामुदायिक क्याम्पसका ३० जना प्राध्यापकहरू सहभागी रहेको तालिमले व्यवहारिक शिक्षामा सुधार ल्याउने अपेक्षा गरिएको बताउँदै अध्यक्ष अधिकारीले सहभागी प्राध्यापकहरूलाई दोस्रो चरणमा तालिम दिनका लागि योग्य बनाउने उद्देश्य रहेको बताए । कार्यक्रममा लुम्बिबनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति तथा युजिसीका प्राविधिक सल्लाहकार प्राडा हृदयरत्न बज्राचार्यले तालिम केन्द्रको सञ्चालनले दक्ष प्रशिक्षक उत्पादन हुने र सामुदायिक क्याम्पसहरूमा शैक्षिक गुणस्तर अभिवृद्धि हुने विश्वास व्यक्त गरे । क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले सामुदायिक क्याम्पसहरूका लागि प्राध्यापक तालिम कार्यक्रम ऐतिहासिक उपलब्धि भएको बताउँदै सहभागीलाई तालिमको मर्म आत्मसात् गर्न आग्रह गरे । क्याम्पस प्रमुख कृष्णबाबु बरालले जनप्रिय क्याम्पस विश्वविद्यालय अनुदान आयोगबाट अनुदान प्राप्त गर्दै आएको र सन् २००७ देखि नै उच्च शिक्षामा सुधारको अभियानमा सक्रिय रहँदै आएको जानकारी दिए । यस वर्ष क्याम्पसले तीनवटा तालिम सञ्चालन गर्ने योजना रहेको पनि उनले बताए । तालिममा जनप्रिय, म्याग्दी, गलकोट, जनज्योति, मस्र्याङ्दी, द्रव्यशाह, आदिकवि भानुभक्त, कालिका, गुप्तेश्वर महादेव, कन्या, पोखरा बहुमुखी क्याम्पसका ३० जना प्राध्यापक सहभागी रहेका छन् ।
पोखरा: बेगनास तालमा मृत फेला परेको एक पुरुषको शवको सनाखत हुन सकेको छैन । बेगनास तालमा शुक्रबार मृत फेला परेका पुरुषको शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कास्की प्रहरीले आज (सोमबार) सूचना जारी गर्दै शवको पहिचान हुन नसकेको जानकारी दिएको हो । अन्दाजी ५०/५५ वर्षीय देखिने एक पुरुष शुक्रबार बेगनास तालमा मृत फेला परेका थिए । तालमा शव फेला परेको सूचनापछि इलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट खटिएको प्रहरीको टोलीले शव निकालेर पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो ।
पोखरा: गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सडक मानवमुक्त प्रदेशको यात्रामा सरकार र समाज एकसाथ अघि बढिरहेको बताएका छन् । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानवसेवा आश्रम पोखरामा एनएमबी बैंकद्वारा आयोजित सौर्य उर्जा हस्तान्तरण कार्यक्रममा उनले यस्तो बताएका हुन् । गण्डकी प्रदेश सरकारको सडक मानवमुक्त प्रदेश निर्माणको परिकल्पनालाई सार्थक बनाउने क्रममा मानवसेवा आश्रमसँगको सहकार्यलाई उनले एक महत्वपूर्ण नीतिगत पहलकदमीको रूपमा व्याख्या गरेका छन् । सामाजिक उत्तरदायित्वका माध्यमबाट सञ्चालनमा रहेको मानवसेवा आश्रमलाई आश्रय, माया र सम्मान खोजिरहेका जीवनहरूको आशालु केन्द्र भन्दै सरकार सधैं यस सेवामूलक यात्रामा साथमा रहने प्रतिबद्धता उनको छ । मन्त्री थापाले आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेश सरकारले मानवसेवा आश्रमका विभिन्न इकाइहरूको व्यवस्थापनका लागि कुल रु। १ करोड १८ लाख १० हजार बजेट विनियोजन गरेको जानकारी गराए । जसमा पोखरास्थित आश्रमका लागि ७० लाख, लमजुङका लागि १२ लाख ६० हजार,गोरखा जिल्लाका लागि रु. १४ लाख ५० हजार र बागलुङका लागि रु. २१ लाख विनियोजन गरिएको छ । त्यस्तै, वर्तमानमा आश्रमलाई मासिकरूपमा दिइँदै आएको रु। ३ हजार सहयोग राशी न्यून रहेको महसुस गरिएको भन्दै मन्त्री थापाले यसमा आवश्यक समायोजन गरिने संकेत समेत दिएका छन् । “मानवसेवा आश्रम स्वयंसेवी भावना, समर्पण र सेवा प्रवाहको अनुपम उदाहरण हो। ऊर्जा हस्तान्तरणजस्तो सहयोगले यसको सेवा अझ प्रभावकारी र सशक्त हुने विश्वास लिएको छु। यस सेवामा ऊर्जा थप्नु भनेको समाजको मानवताको मुटुमा उज्यालो थप्नु हो।”, उनले भने । सामाजिक न्याय, समावेशी सेवा र दिगो ऊर्जा प्रवद्र्धनलाई मूलमन्त्र मानेर अगाडि बढिरहेको गण्डकी प्रदेश सरकारले यस्ता सहकार्यलाई अझ सुदृढ बनाउने उनले उल्लेख गरे । मानवसेवा आश्रम जस्ता संस्था सरकारका लागि साझेदार मात्र नभई समाज परिवर्तनका उत्प्रेरक भएको भनाई उनको छ ।