काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र रोजगारी वृद्धि गर्नेगरी जनताका आवश्यकता र प्राथमिकताका आधारमा आगामी आर्थिक वर्षको बजेट ल्याउन निर्देशन दिनुभएको छ । आगामी आर्थिक वर्षको बजेट तर्जुमा तथ...

काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई उद्यमशील बनाउन ‘स्टार्टअप’ ऋण सहायता दिई यस वर्ष कम्तीमा ५०० उद्यमीलाई कर्जा प्रवाह गरिने बताउनुुभएको छ ।      प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले सिर्जनशीलता तथा नवप्रवर्तनलाई प्रोत्साहन गरी स्टार्टअपमा आधारित उद्यमशीलता विकासमा लगानीकर्ताहरूलाई आकर्षित गर्न सहुलियत ब्याजदरमा कर्जा प्रवाह गर्ने कार्यक्रममा इच्छुक प्रस्तावकहरूबाट छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिनुुभयो ।      उहाँले स्वदेशमै उत्पादन र उत्पादकत्व विस्तार गरी आन्तरिक रोजगारीको दिगो आधार तयार गर्ने उद्देश्यले सरकारले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन भर्खरै सम्पन्न गरेको जनाउँदै अहिले संसार विश्वग्राम बनेकाले व्यवसाय, रोजगारी र अध्ययनका लागि जतिसुकै विकसित र धनी देशका नागरिक पनि आफ्नो रुचिअनुसार विदेश जाने सिलसिला  विश्वव्यापी रहेको बताउनुुभयो ।      “देशका युवा बाहिरिए भन्ने कुरालाई पूरै नकारात्मक रुपमा बुझ्नु हुँदैन । व्यक्तिगत तवरमा विदेश जानुलाई गौरवको विषय ठान्ने र सामाजिक रुपमा भने त्यसलाई  नकारात्मक भाष्यमा बुझ्ने दोहोरो चरित्रका कारण नकारात्मक सन्देश गएको छ”, प्रधानमन्त्री ओलीले भन्नुुभयो, “हिजो जीवन निर्वाहका लागि सीमित विकल्प थिए, आज त्यो फराकिलो भएको छ । संसारको जुनसुकै कुनामा जान सक्ने छनोटको लाभ हाम्रा युवाहरुले पनि लिएका छन् । यसो भनेर हामी युवालाई स्वदेशमै उद्यमशीलता र रोजगारीको अवसर सिर्जना गर्ने कुरामा केही काम नगरी बसेका छैनौँ ।”      मुलुकमा औद्योगिक लगानीको वातावरण सुधार गरी लगानीमैत्री बनाउन, स्वदेशी लगानीलाई प्रोत्साहन गर्दै विदेशी लगानी आकर्षित गर्न, उत्पादन र उत्पादकत्व बढाउँदै रोजगारी सिर्जना गर्न तथा आयात व्यवस्थापन र निर्यात प्रवद्र्धनमार्फत व्यापार घाटा न्यूनीकरण गर्न विभिन्न नीतिगत एवं कानुनी सुधारका साथै व्यवसायमैत्री कानुन बनाइएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।  

काठमाडौं:  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिन सार्वजनिक अनुरोध गरेको छ ।  आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणको तयारीमा रहेको मन्त्रालयले सरोकार भएका सबैलाई सुझाव दिन आज एक सूचनामार्फत आह्वान गरेको हो ।       स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बजेट तर्जुमा गर्दा सरोकार भएका  सबै क्षेत्रबाट सुझाव सङ्कलन गर्ने निर्देशन दिनुभएको छ ।     मन्त्रालयका स्वास्थ्यसम्बन्धी कार्यक्रममा सुझाव दिन सकिने छ । उक्त मन्त्रालयले बजेट ‘सिलिङ’का आधारमा प्राथमिकताका क्षेत्र निर्धारण गर्न सरोकार भएकाहरुसँग विगत केही दिन यता निरन्तर छलफल गर्दै आएको छ । 

काठमाडौं: प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । बैठकमा समय मागेर सांसदहरुले विभिन्न विषयमा धारणा राखिरहनुभएको छ ।  आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सदस्यहरुले सोध्नुभएको प्रश्नको जवाफ दिनुहुने कार्यसूची रहेको छ ।  यस्तै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ । उक्त विधेयकमाथि प्राप्त संशेधनलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । उपप्रधानमन्त्री पौडेलले ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ । उक्त विधेयकमाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।   उपप्रधनमन्त्री पौडेलले ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ । यस्तै ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । उक्त विधेयकमाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।   यस्तै उपप्रधानमन्त्री पौडेलले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

काठमाडौं: त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुन नसकेका क्याम्पसमा १५ दिनभित्र निर्वाचन गर्न निर्देशन दिएको छ ।       स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले निर्वाचन नभएका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा १५ दिनभित्र निर्वाचन गर्न निर्देशन दिएको बताउनुभयो ।  “स्ववियु निर्वाचनसम्बन्धी निर्देशिकामा पनि निर्वाचन हुन नसकेका क्याम्पसमा १५ दिनभित्र निर्वाचन गर्न सक्ने व्यवस्था रहेको छ”, उहाँले भन्नुभयो, “सोहीअनुसार निर्वाचन हुन नसकेका क्याम्पसलाई पनि हामीले निर्वाचन गर्न निर्देशन दिइसकेका छौँ ।”      मङ्गलबार भएको निर्वाचनमा देशभरि ३८ आङ्गिक र २५० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन भएको थियो । निर्वाचनको मतपरिमाण आउने क्रम जारी छ । विद्यार्थी सङ्गठनको आन्तरिक विवादले केही क्याम्पसमा निर्वाचन हुन सकेको छैन् ।       त्रिवि केन्द्रीय क्याम्पस, पद्मकन्या क्याम्पस, रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस, नेपाल ल क्याम्पस, अमृत साइन्स क्याम्पस, त्रिचन्द्र कलेज, सरस्वती कलेज, शङ्करदेव क्याम्पस, पब्लिक युथ क्याम्पस धोविचौर र विश्वभाषा क्याम्पस जस्ता उपत्यकाका प्रमुख आङ्गिक क्याम्पसमा निर्वाचन हुन सकेनन् ।      यस्तै, उपत्यकाबाहिर वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगर, सुर्खेत बहुमुखी क्याम्पस सुर्खेत, बुटवल बहुमुखी क्याम्पस बुटवल, भैरहवा बहुमुखी क्याम्पस भैरहवा, पब्लिहवा बहुमुखी क्याम्पस पक्लिहवा, तेह्रथुम बहुमुखी क्याम्पस चौहारडाडा, रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुर, वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर र कृषि क्याम्पस खैरहनी पनि निर्वाचन हुन सकेनन् ।

बाजुरा:   जिल्ला विपद् व्यवस्थापन समितिले भूकम्पपीडितको आवास निर्माणका लागि दोस्रो किस्ता पालिकालाई हस्तान्तरण गर्ने भएको छ ।   प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष मेघनाथ पाध्याका अनुसार गृहमन्त्रालयबाट आएको रकम पालिकालाई वितरण गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।   उहाँका अनुसार उक्त रकम एक हजार चार सय ७३ जना भूकम्पपीडितलाई प्रदान गरिनेछ ।   जिल्लाका नौ पालिकामध्ये हिमाली र जगन्ना गाउँपालिकाको भूकम्प प्रभावितको तथ्याङ¬्क अद्यावधिक नभएकाले उक्त पालिकाका प्रभावितहरुका लागि भने रकम नआएको उहाँले बताउनुभयो ।   उहाँले त्रिवेणी नगरपालिकामा रु २८ लाख २५ हजार, बूढीगङ्गा गाउँपालिकालाई रु ८६ लाख र बूढीनन्दा नगरपालिकालाई रु १३ लाख ५० रकम हस्तान्तरण गरिएको हो ।   साथै गौमूल गाउँपालिकामा रु १३ लाख ७५ हजार, खप्तड छेडेदहमा रु दुई करोड २४ लाख ७५ हजार र स्वामीकार्तिक खापर गाउँपालिकालाई रु दुई लाख २५ हजार गरी कूल तीन करोड ६८ लाख २५ हजार रकम जिल्लामा आएको छ ।   मनसुनजन्य विपद्का प्रभावितका लागि पनि रकम आइसकेको उहाँले बताउनुभयो ।   मनसुनजन्य विपद्बाट बूढीगङ्गा गाउँपालिका, त्रिवेणी नगरपालिका, गौमूल गाउँपालिकालगायतका पालिकामा उक्त रकम पठाउने तयारी भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले आज मुलुकका केही स्थानमा हिमपातको सम्भावना रहेको जनाएको छ ।  विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।  पहाडी क्षेत्रमा भने आंंशिक बदली रही एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ ।      मधेस प्रदेशमा आज तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ । बागमती प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ भने तराई क्षेत्रमा मुख्यतया सफा रहने छ ।       गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ भने पहाडी क्षेत्रमा आंंशिक बदली रही एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।       लुम्बिनी प्रदेशका    हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ भने पहाडी क्षेत्रमा आंंशिक बदलीको सम्भावना छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ भने पहाडी क्षेत्रमा आंंशिक बदली रही एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।       सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ भने पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

काठमाडौं: सगरमाथा आरोहणका लागि चुचुरोसम्म बाटो बनाउन तथा ‘रोप फिक्सिङ’ (डोरी टाँग्न) का लागि दक्ष पर्वतारोही खटिएका छन् ।  पर्वतारोहण सञ्चालक सङ्घ नेपालले आठ सदस्यीय आरोही टोलीलाई सगरमाथा आरोहणको बाटो खुलाउन खटाएको हो । अनुभवी ‘गाइड’ अशोक लामा नेतृत्वको टोलीले यो ‘सिजन’ को आरोहणका लागि सगरमाथा, ल्होत्से र आमादब्लम हिमालमा बाटो बनाउनेछ ।       सङ्घले यसको व्यवस्थापकीय जिम्मेवारी एट्के एक्सपिडिसन कम्पनीलाई दिएको छ । सोही कम्पनीमार्फत सगरमाथामा बाटो खोल्ने कार्यमा अशोक लामाको नेतृत्वमा कर्माग्याल्जेन शेर्पा, पेमनुरबु शेर्पा, मिङदावा शेर्पा, टासी शेर्पा, पासारिन्जी शेर्पा, पास्तान्जेन शेर्पा र टासीनर्बु शेर्पा सहभागी हुनुहुन्छ ।      सङ्घले सो टोलीलाई सगरमाथाको बाटो निर्माणका लागि आवश्यक सामग्री तथा उपकरण हस्तान्तरण गरेको छ । सङ्घका महासचिव ऋषिराम भण्डारीले वसन्त ऋतुको सगरमाथा हिमाल आरोहणका लागि बाटो बनाउन दक्ष आरोही त्यसतर्फ गएको बताउनुभयो ।  “सगरमाथा र ल्होत्से हिमालमा बाटो बनाउन तथा डोरी टाँग्न दक्ष शेर्पा आरोही सामग्रीसहित सगरमाथा प्रस्थान गरेका छन्”, उहाँले भन्नुभयो, “योसँगै सगरमाथा आरोहणको चहलपहल बढेको छ । अधिकांश ठूला आरोहण व्यवस्थापन गर्ने कम्पनीका कर्मचारी आधार शिविरमा व्यवस्थापनको काममा खटिएका छन् ।”      एट्के कम्पनीका प्रबन्ध निर्देशक लाक्पा शेर्पाले सगरमाथाको चुचुरोसम्म टाँग्ने डोरी, ‘क्लाइम्बिङ इक्युमेन्ट’, ‘टेक्निकल डिभाइस’ बाटो बनाउने टोलीलाई हस्तान्तर गरिएको जानकारी दिनुभयो । उहाँले सगरमाथा आरोहणलाई सुरक्षित र व्यवस्थित बनाउन कम्पनीले सम्पूर्ण क्षमताका साथ काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।      “दक्ष व्यावसायिक आरोहीको टोली सगरमाथालगायत हिमालको बाटो बनाउने कार्यमा खटिएको छ”, उहाँले भन्नुभयो, “पूरै टिमको नेतृत्व मैले गर्दैछु  । आरोहण योजना, मौसमको सूचनालगायत व्यवस्थापकीय कामको प्रबन्धसहित पूरै टिमको नेतृत्व मैले गर्नेछु । मौसमको अनुकूलता हेरी समयमै डोरी टाँगिनेछ ।” यो पटक मौसमले साथ दिने अनुमान गरिएकाले ६०० भन्दा बढी आरोही सगरमाथा आरोहणमा जाने अपेक्षा गरिएको प्रबन्ध निर्देशक शेर्पाले बताउनुभयो ।      पर्यटन विभागसँगको सम्झौताअनुरुप पर्वतारोहण सञ्चालक सङ्घले हरेक वर्ष ‘रोप फिक्सिङ’को काम ‘टेन्डर’मार्फत कम्पनी छटौन गरेर दक्ष शेर्पालालाई सगरमाथाको बाटो खुलाउन खटाउने गरेको छ । यस्तो टोलीले सगरमाथाको दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो बनाउने तथा डोरी टाँग्नेछ । सन् २०२५ का लागि एट्के एक्सिपिडिसन कम्पनीले जिम्मेवारी पाएको छ ।       सन् २०२४ मा सेभेन समिट ट्रेकले दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो बनाउने जिम्मा पाएको थियो । सन् २०२३ मा इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीले सगरमाथामा रोप फिक्सिङ गरेको थियो ।  सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)ले बाटो बनाउन ‘आइसफल डाक्टर’ खटाउने गरेको छ । यो सिजनका लागि १० जनाको टोली खटाइएको एसपिसिसीले जनाएको छ । दुवै टोलीले सगरमाथा आरोहीहरूलाई सुरक्षित बाटो बनाउनेछन् । खुम्बु आइसफलमा बाटो बनाउने दक्ष आरोहीलाई (आइसफल डाक्टर) भनिन्छ ।      वसन्त ऋतुको आगमनसँगै सगरमाथा आरोहणका लागि आवश्यक तयारी सुरु गरिएको हो । एसपिसिसीको व्यवस्थापनमा खुम्बु आइसफल क्षेत्रको बाटो निर्माण तथा मर्मतको काम गरिँदै आएको अध्यक्ष लामाकाजी शेर्पाले बताउनुभयो ।  उहाँका अनुसार वसन्त ऋतु हिमाल आरोहणका लागि सबैभन्दा अनुकूल समय भएकाले अनुभवी ‘आइसफल डाक्टर’ टोली आवश्यक उपकरण तथा सामग्रीसहित नाम्चेबाट आधार शिविरमाथि बाटो बनाउने कार्यमा खटिएका छन् ।  टोलीमा आधार शिविर व्यवस्थापक छिरिङतेन्जिङ शेर्पासहित आठजना अनुभवी ‘आइसफल डाक्टर’ छन् । दुईवटा छुट्टाछुट्टै टोली गठन गरिएको छ, जसको नेतृत्व आङसर्की शेर्पा र दावाजाङ्बु शेर्पाले गर्नुभएको छ । टोलीमा दाबानुरु शेर्पा, निमतेन्जी शेर्पा, मिङ्माग्याल्जेन शेर्पा, दाबाछिरी शेर्पा, लाक्पासोना शेर्पा र तेन्डु शेर्पा हुनुहुन्छ ।      खुम्बु आइसफल क्षेत्र सबैभन्दा जोखिमयुक्त क्षेत्र हो, जहाँ हिउँको विशाल ढिस्को, भ्वाङ, अनि हिमपहिरोको खतरा रहन्छ । टोलीले सगरमाथाको दोस्रो आधार शिविरसम्म जाने बाटो निर्माण गर्नुपर्ने हुन्छ, जसका लागि डोरी टाँग्ने, जोखिमपूर्ण स्थानमा भ¥याङ राख्ने, हिउँ तथा बरफको अस्थिर संरचनाहरूलाई स्थिर बनाउनेजस्ता कार्य गर्छन् ।      दोस्रो आधार शिविरसम्मको बाटो बनाउन झन्डै २० दिन लाग्ने अनुमान गरिएको छ । पर्यटन विभागका अनुसार सन् २०२४ को वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न ४१ समूहका ७५ महिला र ३३९ पुरुषसहित ४१४ जनाले अनुमति लिएका थिए । यो वर्ष पनि आरोहणका लागि उपयुक्त मौसम हुने र उल्लेख्य सङ्ख्यामा आरोही आउने पर्यटन व्यवसायीको अनुमान छ ।      आरोहणको चहलपहल बढ्यो      पर्यटन विभागका अनुसार वसन्त ऋतुमा सगरमाथासहितका हिमाल आरोहणका लागि आरोही धमाधम विभागको सम्पर्कमा आइरहेका छन् । सम्पर्क अधिकृत खटाउने, सगरमाथा आधार शिविरमा सम्पर्क कार्यालय व्यवस्थापन आदि विषयमा विभाग लागिपरेको छ ।  सगरमाथा आरोहणको सिजन सुरु हुनैलाग्दा व्यवसायी निकै उत्साहित देखिएका छन् । सगरमाथा आरोहणमा सर्वाधिक आरोही पठाउने एक्सपिडिसन कम्पनीहरू यो सिजनमा आरोही बढ्ने अनुमानका साथ आरोहणलाई सुरक्षित र व्यवस्थित बनाउन तयारीमा जुटेका विभागले जनाएको छ ।       सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पाले सगरमाथालगायत हिमाल आरोहणका लागि धमाधम आरोही आइरहेको बताउनुभयो । उहाँले यो सिजनमा सगरमाथा आरोहणका लागि हालसम्मकै धेरै आरोही आउने अनुमान गरिएको उल्लेख गर्नुभयो ।  “हामी पर्वतारोही व्यवसायी निकै उत्साहित छौँ किनकि यो सिजनमा सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै आरोही आउने सङ्केत देखिएको छ । त्यहीअनुरुप बुकिङ भएको छ”, उहाँले भन्नुभयो ।      सेभेन समिट कम्पनीमार्फत यो पटक १०० भन्दा बढी आरोही सगरमाथा आरोहणमा जाँदैछन् । अघिल्लो वर्ष उक्त कम्पनीमार्फत ७० हाराहारी आरोही सगरमाथा आरोहणमा गएका थिए । सेभेन समिट सगरमाथामा धेरै आरोही पठाउने कम्पनी हो । सतोरी, एट्स के एक्सपिडिसन प्रालि, पायोनियर एडभेन्चर्स, हिमालयन गाइड ट्रेक्स, इमाजिन नेपाल ट्रेक एन्ड, ट्याग नेपाल आदि कम्पनी सगरमाथामा धेरै सङ्ख्यामा आरोही पठाउने कम्पनीमा पर्छन् ।        सतोरी एडभेन्चर्स प्रालिका प्रबन्ध निर्देशक ऋषिराम भण्डारीले सगरमाथा आरोहणका लागि चहलपहल सुरु भइसकेको बताउनुभयो । “सगरमाथाको चुचुरोसम्म बाटो बनाउने कार्य दक्ष शेर्पा आरोही र आइसफल डाक्टर खटिएसँगै आरोहणको चहलपहल सुरु भएको छ”, उहाँले भन्नुभयो, “अब धमाधम आरोही आरोहण अनुमतिलगायत प्रक्रिया पूरा गरेर गन्तव्यतिर निस्कन्छन् । एक्सपिडिसन कम्पनीहरूले आरोहण व्यवस्थापनको तयारीलाई तीब्रता दिएका छन् ।”  भण्डारीले यसपटक समग्रमा वसन्त ऋतुको आरोहण उत्साहवर्द्धक हुने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार सगरमाथा आरोहणका लागि उपयुक्त मौसम ‘वेष्ट समिट विन्डो’का लागि सामान्यतया चार वटा विन्डो हुन्छ । त्यो मे महिनामा पर्छ । (हावाको गति कम र हिउँपर्ने कम अवस्था)लाई विन्डो भनिन्छ । 

काभ्रेपलाञ्चोक: गत असोज दोस्रो साताको बाढीपहिरोबाट क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्ड स्थायी रूपमा पुनर्निर्माण गरिने भएको छ । दुई सडकखण्ड पुनर्निर्माणका लागि डिभिजन सडक कार्यालय भक्तपुर र सिन्धुलीले ठेक्का आह्वान गरिसेकका छन् ।       बाढीपहिरोबाट क्षतिग्रस्त भएको पाँच महिनापछि राजमार्ग पुनर्निर्माणका लागि ठेक्का आह्वान गरिएको हो । गत असोजमा रोशी खोलामा आएको बाढीले रोशीदेखि नेपालथोकसम्मको करिब १३ किलोमिटर सडकमध्ये साढे आठ किमी सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो । त्यसरी क्षतिग्रस्त सडक खण्डको पुनःनिर्माण गर्न चार प्याकेजमा काम गरिने जनाइएको छ ।       क्षतिग्रस्त सडकखण्डमध्ये सिन्धुलीतर्फ भने पहिलो प्याकेजका रूपमा गत फागुन २८ गते ‘टेन्डर’ आह्वान गरिएको थियो । यसमा नेपालथोकदेखि वर्षेखोलासम्मको सडकखण्ड पर्नेछ । जसका लागि रु ७२ करोडमा ठेक्का आह्वान गरिएको हो ।  यसमा सहभागी हुने कम्पनीले रु एक करोड ८२ लाख ५० हजार सुरक्षण राख्नुपर्ने जनाइएको छ । बाँकी क्षतिग्रस्त तीन प्याकेज सडकखण्ड भने काभ्रेपलाञ्चोकमा पर्नेछ ।       काभ्रेपलाञ्चोतर्फको क्षतिग्रस्त सडक पुनर्निर्माणका लागि मंगलबार पहिलो टेन्डर आह्वान गरिएको हो । यसतर्फको आठ किमी सडक (डालाबेंसीदेखि–चारसयाबेंसीसम्म) पुनर्निर्माणका लागि रु दुई अर्ब ५० करोड बजेट छुट्याइएको डिभिजन कार्यालयले जनाएको छ । यसमा आवेदन दिने निर्माण कम्पनीले रु ६ करोड ५० लाख ‘सेक्युरिटी’ बापत राख्नुपर्ने जनाइएको छ ।      गत फागुन ६ गते अर्थ मन्त्रालयले बिपी राजमार्ग पुनर्निर्माण गर्न रु आठ अर्ब ५० करोड स्रोत सहमति दिइसकेको छ । त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर बोलपत्र आह्वान गरिएको डिभिजन सडक कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिनुभयो । उहाँका अनुुसार काभ्रेपलाञ्चोकतर्फको बाँकी दुई टेन्डर पनि भक्तपुर कार्यालयले क्रमशः आह्वान गर्नेछ ।       सिनियर डिभिजनल इन्जिनियर योगेशका अनुसार दुई वर्षमा निर्माण सक्नेगरी तयारी भइरहेको छ । ठेक्का आह्वान गरिएका सडकखण्डमा ३० दिनसम्ममा आवेदन दिन सकिने छ । प्राविधिक र आर्थिक मूल्याङ्कन सकिएपछि  करिब दुई महिनामा ठेक्का सम्झौता हुनेछ ।  पुनर्निर्मित सडकमा आसपाल्ट कङ्क्रिटसहित दुई लेनको सडक हुने सिनियर डिभिजनल इन्जिनियर योगेशले यागेशले बताउनुभयो । यसअघि ‘इन्टरमिडियट लेन’को सडक थियो ।       उक्त राजमार्गअन्तर्गत क्षतिग्रस्त सडक स्थायी रूपमा निर्माण हुनुअघि आउँदो वर्षायाममा सडकमा नियमित यातायात सञ्चालनका लागि अस्थायी मर्मत कार्य भइरहेको छ ।  तीन साताअघि सुरु गरिएको यस कार्यलाई तीव्रता दिइएको छ । डिभिजन कार्यालयले राजमार्गअन्तर्गत क्षति पुगेको नमोबुद्ध नगरपालिकाको चौकीडाँडादेखि काभ्रेपलाञ्चोक र सिन्धुलीको सीमास्थल नेपालथोकसम्मको अस्थायी मर्मतकार्यलाई तीव्र पारिएको जनाएको छ ।       बाढीले काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा ठूलो क्षति पु¥याएकाले सोही क्षेत्रलाई प्राथमिकता दिई मर्मतकार्य भइरहेको जनाइएको छ । हाल लोडर र डोजर प्रयोग गरी सडक मर्मतको कामलाई तीव्रता दिइएको छ ।  सिनियर डिभिजनल इन्जिनियर योगेशका अनुसार हाल बगरमा गरिएको डाइभर्सन तथा सडकको पुरानै स्थानलाई अवस्था हेरी दुईदेखि तीन मिटरसम्म ग्राभेल भरेर उठाउने तथा अफ्ठ्यारो स्थानमा जाली भरेर उचाइ बनाउन थालिएको हो ।       क्षतिग्रस्त सडक चौडा पार्ने, सम्याउने तथा ग्राभेल भेरेर रोशी खोलालाई गहि¥याएर खोलाको सतहभन्दा करिब तीन मिटर उचाइ बनाउने काम भइरहेको छ । कुल १३ किलोमिटर क्षतिग्रस्त सडकमध्ये पहिलो चरणमा आठ किलोमिटर मर्मत गरिनेछ भने बाँकीको थप मर्मतका लागि योजना बनाइने छ । बाढीले रोशी किनारको सडकको अधिकांश भाग बगाएको थियो ।       राजमार्गको धुलिखेल–नेपालथोक र नेपालथोक–खुर्कोट सडकखण्ड अस्थायी रूपमा मर्मतका लागि सरकारले रु २१ करोड २५ लाख बजेट विनियोजन गरेको छ ।  बजेट कार्यान्वयनका लागि कामको ‘डिजाइन’ भइरहेको र डिजाइन सकिएपछि लागत विवरण बनाएर स्थायी रूपमा पुनर्निर्माण गर्न ठेक्का प्रक्रियामा जाने सिनियर डिभिजनल इन्जिनियर योगेशले बताउनुभयो । हाल काठमाडौँबाट रामेछाप, सिन्धुलीलगायत पूर्व जाने यातायातका साधन खोलाको बगरमा रहेको कच्ची सडक प्रयोग गरिरहेका छन् ।   

काठमाडौं:  चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्ममा सरकारले तिर्न बाँकी ऋण रु २६ खर्ब ७६ अर्ब तीन करोड पुगेको छ ।  सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको चालु आर्थिक वर्षको दोस्रो चौमासिक अवधिसम्मको सरकारी ऋणको प्रतिवेदनअनुसार यो आर्थिक वर्षमा मात्र करिब साढे दुई खर्ब सरकारी ऋण थपिएको छ ।      “चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण रु २४ खर्ब ३४ अर्ब नौ करोड रहेकामा फागुन मसान्तसम्म रु दुई खर्ब ४१ अर्ब ९३ करोड थप वृद्धि भई कुल सार्वजनिक ऋण दायित्व रु २६ खर्ब ७६ अर्ब तीन करोड पुगेको छ । जुन कुल गार्हस्थ्य उत्पादनको ४६ दशमलव ९१ प्रतिशत हुन आउँछ”, कार्यालयको प्रतिवेदनमा भनिएको छ ।  चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशी मुद्राको विनिमय दरमा भएको परिवर्तनका कारण मात्रै नेपाललाई रू ६६ अर्ब २९ करोड सार्वजनिक ऋणको दायित्व बढेको कार्यालयले जनाएको छ ।      हालसम्मको कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५० दशमलव ८३ प्रतिशत अर्थात् रु १३ खर्ब ६० अर्ब ४६ करोड र आन्तरिक ऋणको हिस्सा ४९ दशमलव १६ प्रतिशत अर्थात् रु १३ खर्ब १५ अर्ब ५७ करोड रहेको छ । कुल गार्हस्थ्य उत्पादनमा आन्तरिक ऋणको अनुपात २३ दशमलव ०६ प्रतिशत र बाह्य ऋणको अनुपात २३ दशमलव ८५ प्रतिशत हुन आउँछ ।      सरकारले चालु आर्थिक वर्षका लागि कुल रु पाँच खर्ब ४७ अर्ब बराबर सार्वजनिक ऋण उठाउने लक्ष्य राखेको थियो । जसमध्ये फागुन मसान्तसम्ममा रु तीन खर्ब ३४ अर्ब ६२ करोड ऋण प्राप्त भइसकेको कार्यालयले जनाएको छ । वार्षिक लक्ष्यको तुलनामा दोस्रो चौमासिकसम्मको सार्वजनिक ऋण प्राप्ति ६१ दशमलव १७ प्रतिशत बराबर हो ।      यस वर्ष रु तीन खर्ब ३० अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य रहेकामा हालसम्म ८१ दशमलव ५६ प्रतिशत अर्थात् रु दुई खर्ब ६९ अर्ब १५ करोड ४२ लाख बराबरको आन्तरिक ऋण प्राप्त भइसकेको छ । फागुन मसान्तसम्मको बाह्य ऋण प्राप्ति भने ३० दशमलव १७ प्रतिशत बराबर मात्रै छ ।  चालु आर्थिक वर्षका लागि कुल रु दुई खर्ब १७ अर्ब बाह्य ऋण लिने सरकारी लक्ष्य रहेकामा हालसम्म रू ६५ अर्ब ४७ करोड बराबर मात्रै प्राप्त भएको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।      सार्वजनिक ऋणको साँवाब्याज तिर्न यस वर्ष सरकारले रु चार खर्ब दुई अर्ब ८५ करोड बजेट विनियोजन गरेको थियो ।  जसमध्ये फागुन मसान्तसम्म ५० दशमलव ०८ प्रतिशत अर्थात् रु दुई खर्ब एक अर्ब ७२ करोड बराबर ऋण भुक्तानी भइसकेको जनाइएको छ । कुल गार्हस्थ्य उत्पादनका आधारमा फागुन मसान्तसम्मको कुल ऋण सेवा खर्च तीन दशमलव ५४ प्रतिशत बराबर हो ।