काठमाडौं:  भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको नेतृत्वमा उक्त मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीसहितको टोलीले हालैको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गका विभिन्न...

पोखरा:  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सभा भवनको शिलान्यास गरेका छन् ।  पोखरा महानगरपालिका–३ नदीपुरमा बन्ने प्रदेश सभा भवनको आज मंगलबार मुख्यमन्त्री पाण्डेले शिलान्यास गरेका हुन् ।  काठमाडौंको श्रेष्ठ एण्ड सन्स/इष्ट–वेष्ट जेभीसँग ३ वर्षभित्र भवन निर्माण कार्यसक्ने गरी २५ करोड ३७ लाख ८२ हजार ८ सय ६० रुपैयाँमा सम्झौता भएको शहरी विकास तथा भवन डिभिजन कार्यालय कास्कीका प्रमुख ओमराज ढुङ्गानाले बताए ।  उनका अनुसार निर्माण कम्पनीले २०८१ माघ १८ देखि सम्झौता गरेर काम अगाडि बढाइसकेको छ । अहिले भवनको निर्माणस्थल सम्माउने र रड बिछ्याउने काम भइरहेको कार्यालय प्रमुख ढुङ्गनाले बताए ।  निर्माण कम्पन्नीले दुई सिफ्टमा काम गर्ने जनाइएको छ । तीन तलाको बन्ने भवनमा भुईतलामा ५ वटा संसदीय दलको कार्यालय, ५ वटा भिआईपी कार्यालय निर्माण हुनेछ । भिआईपी कार्यालयहरमा मुख्यमन्त्री, सभामुख, उपसभामुख, विपक्षी दलका नेता र संसद सचिवको हुनेछ ।  त्यसमाथिको तलामा ७८ जना क्षमताको संसद बैठक कक्ष, कार्य व्यवस्था परामर्श समिति बैठक कक्ष, लाइब्रेरी, भिडियो कन्फरेन्स हल, टिभी स्टुडियो, सामान्य र भिआईपी कक्ष, मार्सल अफिस रहनेछ । यस्तै त्यसमाथिको तलामा ८० जना क्षमताको हलसँगै मल्टिप्रपोज हल निर्माण हुनेछ ।  यसै आर्थिक वर्षको माघ मसान्तसम्म पहिलो तलाको ढलान सम्पन्न गर्ने निर्माण कम्पनीले लक्ष्य लिएको छ ।  गण्डकी प्रदेश सभा अहिले तत्कालीन नगर प्रशिक्षण केन्द्रको हलमा संसद चलाइएको छ । यस भवन साँघुरो भएपछि गण्डकी प्रदेश सरकार नयाँ भवन बनाउन लागेको हो ।  भवन निर्माण लागि गरिएको बोलपत्र आह्वानमा ३५ वटा कम्पनीले भवन बनाउने प्रस्ताव पेश गरेका थिए । 

काठमाडौं:   निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता गरेको छ । दल दर्ताका लागि आएका २७ राजनीतिक दलमध्ये कानुनी रित पूरा भएका २६ दललाई आयोगको सोमबारको निर्णयअनुसार दर्ता गरिएको सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो ।  उहाँका अनुसार नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम उपनिर्वाचनका लागि दल दर्ता गरिएको हो । आयोगले सबैभन्दा पहिले मङ्गोल नेशनल अर्गनाइजेशन दर्ता हुन आएको जनाएको छ । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका लागि नेपाली पार्टी, जनमत पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, जनता समाजवादी पार्टी, नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), जनप्रजातान्त्रिक पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) दर्ता भएका छन् । साथै नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल), संयुक्त नागरिक पार्टी, नेकपा(एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), नेकपा(माले), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेशनल रिपब्लिक नेपाल, राष्ट्रिय मातृभूमि पार्टी, नेपाली जनता दल दर्ता भएको छ । त्यस्तै, राष्ट्रिय यथार्थवादी पार्टी, नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल जनमुक्ति पार्टी, हाम्रो नेपाली पार्टी, बहुजन शक्ति पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, नेपाल उपनिर्वाचनका लागि दर्ता भएको आयोगले जनाएको छ । आयोगले उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गर्दै आगामी असोज २१ गते उम्मेदवार मनोनयन दर्ताको दिन तय गरेको छ ।

काठमाडौं:  सर्वोच्च अदालतले सामाजिक सञ्जाललाई दर्ता गराएर मात्रै चलाउन दिन सरकारको नाममा आदेश गरेको छ । तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुङ्गाना, हरिप्रसाद फुयाल, डा नहकुल सुवेदी, विनोद शर्मा, महेशकुमार पौडेल र बालकृष्ण ढकालसहित नौजनाको बृहत् पूर्ण इजलासले २०८१ असोज १३ गते गरेको फैसलाको हालै सार्वजनिक भएको पूर्णपाठमा उक्त आदेश गरिएको उल्लेख छ । सीधाकुरा डटकममाले प्रकाशन र प्रसारण गरेको समाचार, अडियो र भिडियो सामग्रीबाट अदालतको अवहेलना भएको उल्लेख गर्दै २०८१ वैशाख १६ गते सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले प्रतिवेदन पेस गर्नुभएको थियो । सोही मुद्दाको फैसलामा सामाजिक सञ्जाललाई दर्ता गराएर मात्र चलाउन दिनु भनिएको हो । उक्त मुद्दामा सीधाकुरा डटकम प्रकाशक युवराज कँडेल, कार्यकारी सम्पादक नवीन ढुङ्गाना र राजकुमार तिमिल्सिनालाई विपक्षी बनाइएको थियो । “जसरी आमसञ्चार र प्रेस स्वतन्त्रताको कुरा महत्त्वपूर्ण छ, त्यसरी नै गलत सूचना प्रवाह गर्ने कार्यलाई निरुत्साहित गर्नु पनि उत्तिकै आवश्यक हुन्छ”, फैसलाको पूर्णपाठमा भनिएको छ, “विचार र अभिव्यक्ति स्वतन्त्रता र सञ्चारको हकलाई जसरी राज्यले संरक्षण गर्नु जरुरी हुन्छ, त्यसरी नै मिस इन्फर्मेसन, डिस इन्फर्मेसन र माल इन्फर्मेसन जस्ता गलत सूचनालाई नियन्त्रण गर्नु पनि राज्यको दायित्व हुन्छ ।” फैसलाको पूर्णपाठमा स्वदेशी वा विदेशी अनलाइन तथा सामाजिक सञ्जाललगायत प्लेटफर्मलाई सञ्चालनपूर्व अनिवार्य रूपमा साधिकार निकायमा दर्ता गरी त्यस्ता अनिच्छित सामग्रीको मूल्याङ्कन र अनुगमन गर्नेगरी डिजिटल मिडिया र सामाजिक सञ्जाललाई समेत जिम्मेवार तथा जवाफदेही बनाउन भनिएको छ । “आफ्नो वास्तविक परिचय लुकाइ काल्पनिक नामबाट सामाजिक सञ्जालको दुरुपयोग गर्ने कार्यलाई समेत निरुत्साहित गर्न, कानुनको परिधिभित्र रहने गरी नियमनकारी निकायबाट भरपर्दो अनुगमन गर्न र यस विषयमा आवश्यक अन्य व्यवस्था गर्न अबिलम्ब उचित कानुनी प्रवन्ध गर्नु भनी नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लेखी पठाउनू”, फैसलामा भनिएको छ । यस्तै, समाचार सम्प्रेषण गर्ने कार्यलाई न्यायपालिकाको मर्यादा, सम्मान, जनआस्था तथा विश्वसनियता कायम हुने गरी व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउनका लागि आवश्यक मापदण्ड तयार गर्न अदालतका मुख्य रजिष्ट्रारलाई र अदालतसँग आबद्ध सञ्चारकर्मीलाई यस सम्बन्धमा अभिमुखीकरण गर्नु गराउनु भनी प्रेस काउन्सिलमा लेखी पठाउनू आदेश गरिएको छ । “प्रविधिको विकाससँगै विद्युतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालको प्रयोग विश्वव्यापी रूपमा बढेको छ । परम्परागत सञ्चारमाध्यमभन्दा विद्युतीय माध्यमबाट प्रवाहित हुने समाचारहरू व्यापक र शीघ्र रूपमा भाइरल भई आमजनसमुदायमा पुग्ने हुन्छन्”, फैसलामा भनिएको छ, “युट्युबको दृश्य र श्रव्यले समाचारलाई आकर्षित रूपमा प्रस्तुत गरेको हुन्छ, यस्ता सञ्चार माध्यमहरूको नियमन र व्यवस्थापन हुन नसकेमा गलत समाचार प्रवाहित हुने अवस्था सिर्जना हुन्छ । गलत सूचना प्रवाह हुँदा सही सूचना पाउने नागरिक अधिकारमा पनि आधात पार्दछ ।” अदालतले यस्ता माध्यमबाट गलत सूचना सम्प्रेषित हुँदा न्यायिक काम कारबाहीमा बाधा पार्ने र अदालतको जनआस्था र विश्वसनीयतामा पनि प्रतिकूल प्रभाव पर्ने उल्लेख गरेको छ ।

म्याग्दी:   म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नम्बर १ (मुख्य सुरुङमा छिर्ने पहुँचमार्ग) मा पहिरो जाँदा आज दुई मजदुरको मृत्यु भएको छ । उक्त घटनामा परी पाँच जना घाइते भएका छन् ।  रघुगङ्गा–५ दग्नामको फेदीमा निर्माणाधीन आयोजनाको अडिट माथिबाट खसेको पहिरोमा दुई मजदुर पुरिएका हुन् । उक्त घटनामा घाइते भएका पाँच जनालाई उपचारका लागि अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए।  ‘घटनास्थलमा प्रहरीको टोली पुग्दैछ, त्यहाँ काम गर्ने नेपाली कामदारले एक नेपाली, एक विदेशी नागरिकको शव भेटिएको जानकारी दिएका छन्’, उनले भने, ‘मृतक र घाइतेको पहिचान खुलिसकेको छैन ।’

पोखरा:   सहदेव अधिकारी नेपाल लाइफको उत्कृष्ट प्रदेश प्रमुखको अवार्डबाट सम्मानित भएका छन् ।  उनी लगातार तेस्रोपटक उत्कृष्ट प्रदेश प्रमुखको अवार्डबाट सम्मानित भएका हुन् । भने, गण्डकी प्रदेश लगातार दुईपटक उत्कृष्ट अवार्डबाट सम्मानीत भएको छ ।   तीन वर्ष अगाडि मात्रै प्रदेश प्रमुखको जिम्मेवारी पाएका  अधिकारीको नेतृत्वमा  कर्णाली प्रदेश तथा लगातार दुईपटक गण्डकी प्रदेशले उत्कृष्ट प्रदेशको उपाधि हासिल गरेको हो ।  नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१÷८२ को समीक्षा गर्दै काठमाडौँको द सोल्टी होटलमा बिजनेस एक्सिलेन्स कन्फ्रेन्स २०८२ सम्पन्न गरेको छ । सबै जीवन बीमा कम्पनीहरूलाई पछि पार्दै गण्डकी प्रदेशमा नेपाल लाइफ इन्स्योरेन्स  कम्पनी लिमिटेडले गत वर्षभन्दा करिब ४९५ व्यवसाय वृद्धि गरी ८३ करोडभन्दा बढी प्रथम बीमा शुल्क संकलन गर्न सफल भएको छ ।  उक्त कार्यक्रममा गत आर्थिक वर्षको समीक्षा गर्दै आगामी आर्थिक वर्षको रणनीति समेत  तय भएको छ । नेपाली बीमा बजारको हालसम्मकै ऐतिहासिक १० अर्ब भन्दा बढी प्रथम बीमा शुल्क संकलन गर्न सफल भएको यस जीवन बीमा कम्पनीले उत्कृष्ट व्यवसाय गर्न सफल भएका प्रदेश प्रमुख, शाखा प्रमुख र अन्य कर्मचारीहरूलाई सम्मान गरेको हो ।  

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार इजरायलमा हमास समूहले बन्धक बनाएका विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइको लागि हर सम्भव पहलमा जुटिरहेको बताउनुभएको छ । उहाँले आज सामाजिक सञ्जालमार्फत जोशीको शीघ्र रिहाइको पहल गर्नु सरकारको जिम्मेवारी रहेकोले हर सम्भव पहलमा जुटिरहेको जानकारी दिनुभएको हो । “सरकार बिपिनको सुरक्षालाई प्राथमिकता दिँदै हर सम्भव पहलमा जुटिरहेको छ । विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका दूतावासमार्फत निरन्तर संवाद गरिरहेको छ,” प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओलीले विपिनका परिवारको साथमा नेपाल सरकार रहेको समेत बताउनु भएको छ । “इजरायलस्थित हाम्रो दूतावासको समन्वयमा बिपिनकी आमा पद्मा र बहिनी पुष्पाले महामहिम राष्ट्रपति आइज्याक हर्जोग र संसद् अध्यक्ष अमिर ओहानासँग भेटेर विपिनको रिहाइको लागि पहल गर्न आग्रह गर्नुभएको छ,” प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ, “यसअघि मध्यपूर्वको शान्तिका लागि पहल गरिरहेका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग गत चैत ७ गते र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिलसँग गत फागुन २८ गते मैले यस विषयमा ध्यानाकर्षण गर्दै फोन संवाद गरेको थिएँ, ।” प्रधानमन्त्री ओलीले इजरायलमा सहयोग गरिरहेका नेपाली र स्थानीय नागरिक, पत्रकार, सुरक्षाकर्मी र सामाजिक अभियन्ता सबैप्रति विशेष धन्यवादसमेत दिनुभएको छ ।

काठमाडौं:   काठमाडौंको बूढानीलकण्ठमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  गोल्फुटारदेखि बूढानीलकण्ठ नारायणस्थानतर्फ आउँदै गरेको स्कुटर र बूढानीलकण्ठबाट गोल्फुटारतर्फ जाँदै गरेको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो । बूढानीलकण्ठ ७ मा राति १ बजे बागमती प्रदेश ०२–०४१ प ६८१९ नम्बरको स्कुटर र प्रदेश ३–०२–००२ प ५७२ मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको हो । दुर्घटनामा सिराहा जन्दहका २९ वर्षीय भोला थापाको मृत्यु र अर्का करिब ३५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । मृतकको आफन्तको खोजी भइरहेको प्रहरीको भनाइ छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।

गलकोट:  नौ वर्षदेखि कालोपत्र नहुँदा मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा सवारी साधनले सास्ती व्यहोर्दै आउनु परेको छ ।  बिहुँ–घोडाबाधे खण्डको १३ किलोमिटरमध्ये ६ किलोमिटर सडकको दुराअवस्थाका कारण सवारी फसेर यात्रुहरुले सास्ती खेप्ने गरेका छन् । हिउँदमा धुलाम्मे र वर्खा लागेपछि हिलाम्मे सडकमा सवारीसाधन वारपार गर्नै समस्या हुने गरेको छ । बागलङ बजारदेखि घोडाबाधेसम्मको २५ किलोमिटर सडक कालोपत्रका लागि दुई खण्डमा विभाजन गरेर नौ वर्षअघि ठेक्का लगाइएको थियो  । जसमध्ये बिहुँ घोडाबाँधेको १३ किमिमध्ये ६ किलोमिटर सडक अझै कालोपत्र भएको छैन । आठ वर्षमा कालोपत्र नभएपछि ठेक्का तोडिएको थियो । ठेक्का तोडेर पुनः ठेक्का लगाएको काम एक वर्षमा जम्मा १० प्रतिशत मात्रै प्रगति भएको छ । चितवनबाट सामग्री ढुवानीका लागि गलकोटतर्फ आएको मिनि ट्रक बिहुँमा फसेर समस्या भएको चालक रमण शर्माले दुःखेसो गर्नुभयो । ट्रक मात्रै हैन दर्जनाँै कार तथा जिप सडकमा फस्ने गरेका छन् । लोकमार्गको १४० किमिमध्ये अन्यत्र कालोपत्र भइसकेको छ । बिहुँ खण्डको समस्या समाधान नहुँदा पनि सरोकारवाला निकाय मौन रहेको गुनासो स्थानीयवासीको छ ।  नयाँ ठेक्का लागेपछि सडक चौडा पारेकाले यसपटक सडक बढी हिलाम्मे भएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका इञ्जिनियर कल्पना मिश्रले बताउनुभयो ।  “पुन ठेक्का लगाएको एक वर्ष भयो, रु २१ करोडको ठेक्कामा जम्मा १० प्रतिशत काम सम्पन्न भएको छ, अहिले पूर्वाधारको काम गरिरहेको र वर्खा लागेकाले सडक हिलाम्मे छ”, मिश्रले भन्नुभयो, “निर्माण व्यवसायीलाई वर्खामा सवारीसाधन फस्न सक्ने पहिरो पन्छाउन पर्ने भएकाले डोजरसहित तयारी अवस्थामा राखिएको छ ।” बिहुँ–घोडाबाधे खण्डको अघिल्लो ठेक्का तोडेर २०८१ सालको असार २१ गते दुई वर्षमा बाँकी पूर्वाधार र कालोपत्र सम्पन्न गर्ने गरी तामाङ÷रिजाल भगवती जेभीसँग रु २१ करोड ४९ लाखमा पुन ठेक्का सम्झौता गरिएको थियो ।

पोखरा:  पोखरा र बागलुङबाट एक थास प्रकाशित हुँदै आएको ढोरपाटन दैनिक २३ औं वर्षमा प्रवेश गरेको छ ।  आफ्नो २३ औं वार्षिकोत्सव आइतबार एक समारोहका बिच पोखरामा मनाइएको छ । सोही क्रममा कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बागलुङमा जन्मिएर पनि पर्यटकीय राजधानी पोखरा हुँदै गण्डकीको यात्रा तय गर्नु खुसीको कुरा रहेको बताए ।  ‘बागलुङमा जन्मेर पोखरा हुँदै गण्डकीको यात्रा तय गर्ने हिम्मत राखेको ढोरपाटन अझै स्थापित हुनेछ’ उनले भने ।   आचार्यले प्रविधि फेरिए पनि संचारमाध्यम र पत्रपत्रिकाको महत्व बढ्ने क्रम नेपालमा मात्र नभइ संसारभर रहेको दृष्टान्त सुनाए । अमेरिकामा पुग्दा पनि उनले पत्रपत्रिकाको महत्व बढी देखिएको बताए । डिजिटल फड्कोसँगै दस्तावेजीकरणका लागि पत्रपत्रिकाको महत्व जहिले पनि रहने बताए ।  कार्यक्रममा गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारीले पत्रपत्रिका नविकरणको काम अब पोखराबाटै हुने बताए । उनले संघियताको सच्चा अभ्यास अब प्रेस रजिष्ट्रार कार्यालयले थाल्ने भन्दै संचारकर्मीहरुले अब काठमाण्डौं धाउने समस्या भोग्न नपर्ने बताइन् । उनले संचार उद्यममा सहकार्य र एक अर्काको सम्मान गर्ने भावनाको आवस्यकता रहेको पनि बताइन् । उनले संचारमाध्यम र संचारकर्मीहरु सहकार्य गरेर हिंड्दा मात्रै गन्तव्यमा पुगिने बताइन् । प्रेस स्वतन्त्रताका लागि संचारमाध्यमको एकताको आवस्यकतामा उनले जोड दिइन् ।  ढोरपाटन दैनिकका प्रधान सम्पादक हरिनारायण गौतमको अध्यक्षता, पोखरा व्युरो प्रमुख बासुदेव मिश्रको संचालन र कार्यकारी सम्पादक रामकृष्ण बोहोराको धन्यवाद मन्तव्यमा सम्पन्न कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछाने, नेपाल पत्रकार महासंघ गण्डकीकी महासचिव जमुना वर्षा शर्मा, नेकपा एमालेका केन्द्रीय सदस्य इन्द्रलाल सापकोटा, गलकोट नगरपालिकाका उपप्रमुख फमलाल निउरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।  वार्षिकोत्सवको अवसरमा उत्कृष्ट संवाददाताको रुपमा स्याङजा संवाददाता अर्जुन काफ्ले र व्यवस्थापक राजेन्द्र नेपालीलाई सम्मान तथा पुरस्कृत गरियो । महानगरप्रमुख आचार्यले दुवैजनालाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरे । ढोरपाटनले हरेक वर्ष उत्कृष्ट पत्रकार र कर्मचारी पुरस्कार तथा सम्मान गर्दै आएको छ भने दुइ वर्षमा सामाजिक क्षेत्रका अगुवालाई पनि सम्मान गर्दै आएको छ ।  २०५९ साल भदौ १ गते ढोरपाटन दैनिक स्थापना भएको हो । राजाको निरंकुश शासन व्यवस्थाको समयमा पत्रिकाले बागलुङको ग्रामीण क्षेत्रको सूचना प्रवाह गथ्र्यो । संघियता कार्यान्वयन पछि ढोरपाटनले बागलुङबाट पोखराको यात्रा तय गर्दै गण्डकी प्रदेश स्तरीय बनाएको प्रधान सम्पादक गौतमले जानकारी दिए । आगामी दिनमा पनि ढोरपाटनलाई अब्बल  बनाउन पहल गर्ने उनले बताए ।  गण्डकीका नविनतम् प्रयास, पोखरा पर्यटन वर्ष २०२५ समेतलाई ध्यान दिएर विशेषांक प्रकाशित गरिनुको साथै आगामी दिनमा पनि सोही प्रकृतिका सामाग्री पस्कने गौतमले प्रतिबद्दता समेत जनाए ।