काभ्रेपलाञ्चोक: गत असोज दोस्रो साताको बाढीपहिरोबाट क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्ड स्थायी रूपमा पुनर्निर्माण गरिने भएको छ । दुई सडकखण्ड पुनर्निर्माणका लागि डिभिजन सडक कार्यालय भक्तपुर र सिन्धुलीले ठेक्का आह्वान गरिसेकका छन् । बाढीपहिरोबाट क्षतिग्रस्त भएको पाँच महिनापछि राजमार्ग पुनर्निर्माणका लागि ठेक्का आह्वान गरिएको हो । गत असोजमा रोशी खोलामा आएको बाढीले रोशीदेखि नेपालथोकसम्मको करिब १३ किलोमिटर सडकमध्ये साढे आठ किमी सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो । त्यसरी क्षतिग्रस्त सडक खण्डको पुनःनिर्माण गर्न चार प्याकेजमा काम गरिने जनाइएको छ । क्षतिग्रस्त सडकखण्डमध्ये सिन्धुलीतर्फ भने पहिलो प्याकेजका रूपमा गत फागुन २८ गते ‘टेन्डर’ आह्वान गरिएको थियो । यसमा नेपालथोकदेखि वर्षेखोलासम्मको सडकखण्ड पर्नेछ । जसका लागि रु ७२ करोडमा ठेक्का आह्वान गरिएको हो । यसमा सहभागी हुने कम्पनीले रु एक करोड ८२ लाख ५० हजार सुरक्षण राख्नुपर्ने जनाइएको छ । बाँकी क्षतिग्रस्त तीन प्याकेज सडकखण्ड भने काभ्रेपलाञ्चोकमा पर्नेछ । काभ्रेपलाञ्चोतर्फको क्षतिग्रस्त सडक पुनर्निर्माणका लागि मंगलबार पहिलो टेन्डर आह्वान गरिएको हो । यसतर्फको आठ किमी सडक (डालाबेंसीदेखि–चारसयाबेंसीसम्म) पुनर्निर्माणका लागि रु दुई अर्ब ५० करोड बजेट छुट्याइएको डिभिजन कार्यालयले जनाएको छ । यसमा आवेदन दिने निर्माण कम्पनीले रु ६ करोड ५० लाख ‘सेक्युरिटी’ बापत राख्नुपर्ने जनाइएको छ । गत फागुन ६ गते अर्थ मन्त्रालयले बिपी राजमार्ग पुनर्निर्माण गर्न रु आठ अर्ब ५० करोड स्रोत सहमति दिइसकेको छ । त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर बोलपत्र आह्वान गरिएको डिभिजन सडक कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिनुभयो । उहाँका अनुुसार काभ्रेपलाञ्चोकतर्फको बाँकी दुई टेन्डर पनि भक्तपुर कार्यालयले क्रमशः आह्वान गर्नेछ । सिनियर डिभिजनल इन्जिनियर योगेशका अनुसार दुई वर्षमा निर्माण सक्नेगरी तयारी भइरहेको छ । ठेक्का आह्वान गरिएका सडकखण्डमा ३० दिनसम्ममा आवेदन दिन सकिने छ । प्राविधिक र आर्थिक मूल्याङ्कन सकिएपछि करिब दुई महिनामा ठेक्का सम्झौता हुनेछ । पुनर्निर्मित सडकमा आसपाल्ट कङ्क्रिटसहित दुई लेनको सडक हुने सिनियर डिभिजनल इन्जिनियर योगेशले यागेशले बताउनुभयो । यसअघि ‘इन्टरमिडियट लेन’को सडक थियो । उक्त राजमार्गअन्तर्गत क्षतिग्रस्त सडक स्थायी रूपमा निर्माण हुनुअघि आउँदो वर्षायाममा सडकमा नियमित यातायात सञ्चालनका लागि अस्थायी मर्मत कार्य भइरहेको छ । तीन साताअघि सुरु गरिएको यस कार्यलाई तीव्रता दिइएको छ । डिभिजन कार्यालयले राजमार्गअन्तर्गत क्षति पुगेको नमोबुद्ध नगरपालिकाको चौकीडाँडादेखि काभ्रेपलाञ्चोक र सिन्धुलीको सीमास्थल नेपालथोकसम्मको अस्थायी मर्मतकार्यलाई तीव्र पारिएको जनाएको छ । बाढीले काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा ठूलो क्षति पु¥याएकाले सोही क्षेत्रलाई प्राथमिकता दिई मर्मतकार्य भइरहेको जनाइएको छ । हाल लोडर र डोजर प्रयोग गरी सडक मर्मतको कामलाई तीव्रता दिइएको छ । सिनियर डिभिजनल इन्जिनियर योगेशका अनुसार हाल बगरमा गरिएको डाइभर्सन तथा सडकको पुरानै स्थानलाई अवस्था हेरी दुईदेखि तीन मिटरसम्म ग्राभेल भरेर उठाउने तथा अफ्ठ्यारो स्थानमा जाली भरेर उचाइ बनाउन थालिएको हो । क्षतिग्रस्त सडक चौडा पार्ने, सम्याउने तथा ग्राभेल भेरेर रोशी खोलालाई गहि¥याएर खोलाको सतहभन्दा करिब तीन मिटर उचाइ बनाउने काम भइरहेको छ । कुल १३ किलोमिटर क्षतिग्रस्त सडकमध्ये पहिलो चरणमा आठ किलोमिटर मर्मत गरिनेछ भने बाँकीको थप मर्मतका लागि योजना बनाइने छ । बाढीले रोशी किनारको सडकको अधिकांश भाग बगाएको थियो । राजमार्गको धुलिखेल–नेपालथोक र नेपालथोक–खुर्कोट सडकखण्ड अस्थायी रूपमा मर्मतका लागि सरकारले रु २१ करोड २५ लाख बजेट विनियोजन गरेको छ । बजेट कार्यान्वयनका लागि कामको ‘डिजाइन’ भइरहेको र डिजाइन सकिएपछि लागत विवरण बनाएर स्थायी रूपमा पुनर्निर्माण गर्न ठेक्का प्रक्रियामा जाने सिनियर डिभिजनल इन्जिनियर योगेशले बताउनुभयो । हाल काठमाडौँबाट रामेछाप, सिन्धुलीलगायत पूर्व जाने यातायातका साधन खोलाको बगरमा रहेको कच्ची सडक प्रयोग गरिरहेका छन् ।
काठमाडौं: चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्ममा सरकारले तिर्न बाँकी ऋण रु २६ खर्ब ७६ अर्ब तीन करोड पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको चालु आर्थिक वर्षको दोस्रो चौमासिक अवधिसम्मको सरकारी ऋणको प्रतिवेदनअनुसार यो आर्थिक वर्षमा मात्र करिब साढे दुई खर्ब सरकारी ऋण थपिएको छ । “चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण रु २४ खर्ब ३४ अर्ब नौ करोड रहेकामा फागुन मसान्तसम्म रु दुई खर्ब ४१ अर्ब ९३ करोड थप वृद्धि भई कुल सार्वजनिक ऋण दायित्व रु २६ खर्ब ७६ अर्ब तीन करोड पुगेको छ । जुन कुल गार्हस्थ्य उत्पादनको ४६ दशमलव ९१ प्रतिशत हुन आउँछ”, कार्यालयको प्रतिवेदनमा भनिएको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशी मुद्राको विनिमय दरमा भएको परिवर्तनका कारण मात्रै नेपाललाई रू ६६ अर्ब २९ करोड सार्वजनिक ऋणको दायित्व बढेको कार्यालयले जनाएको छ । हालसम्मको कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५० दशमलव ८३ प्रतिशत अर्थात् रु १३ खर्ब ६० अर्ब ४६ करोड र आन्तरिक ऋणको हिस्सा ४९ दशमलव १६ प्रतिशत अर्थात् रु १३ खर्ब १५ अर्ब ५७ करोड रहेको छ । कुल गार्हस्थ्य उत्पादनमा आन्तरिक ऋणको अनुपात २३ दशमलव ०६ प्रतिशत र बाह्य ऋणको अनुपात २३ दशमलव ८५ प्रतिशत हुन आउँछ । सरकारले चालु आर्थिक वर्षका लागि कुल रु पाँच खर्ब ४७ अर्ब बराबर सार्वजनिक ऋण उठाउने लक्ष्य राखेको थियो । जसमध्ये फागुन मसान्तसम्ममा रु तीन खर्ब ३४ अर्ब ६२ करोड ऋण प्राप्त भइसकेको कार्यालयले जनाएको छ । वार्षिक लक्ष्यको तुलनामा दोस्रो चौमासिकसम्मको सार्वजनिक ऋण प्राप्ति ६१ दशमलव १७ प्रतिशत बराबर हो । यस वर्ष रु तीन खर्ब ३० अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य रहेकामा हालसम्म ८१ दशमलव ५६ प्रतिशत अर्थात् रु दुई खर्ब ६९ अर्ब १५ करोड ४२ लाख बराबरको आन्तरिक ऋण प्राप्त भइसकेको छ । फागुन मसान्तसम्मको बाह्य ऋण प्राप्ति भने ३० दशमलव १७ प्रतिशत बराबर मात्रै छ । चालु आर्थिक वर्षका लागि कुल रु दुई खर्ब १७ अर्ब बाह्य ऋण लिने सरकारी लक्ष्य रहेकामा हालसम्म रू ६५ अर्ब ४७ करोड बराबर मात्रै प्राप्त भएको कार्यालयको प्रतिवेदनमा उल्लेख छ । सार्वजनिक ऋणको साँवाब्याज तिर्न यस वर्ष सरकारले रु चार खर्ब दुई अर्ब ८५ करोड बजेट विनियोजन गरेको थियो । जसमध्ये फागुन मसान्तसम्म ५० दशमलव ०८ प्रतिशत अर्थात् रु दुई खर्ब एक अर्ब ७२ करोड बराबर ऋण भुक्तानी भइसकेको जनाइएको छ । कुल गार्हस्थ्य उत्पादनका आधारमा फागुन मसान्तसम्मको कुल ऋण सेवा खर्च तीन दशमलव ५४ प्रतिशत बराबर हो ।
गण्डकी: पोखरा र चीनको सिचुवान प्रान्तको छन्दु सहरका पर्यटन व्यवसायीबीच व्यावसायिक साझेदारी बिटुबी (बिजनेस टु बिजनेस) एवं ‘सेल्स मिसन’ सम्पन्न भएको छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट पहिलो व्यावसायिक चार्टर्ड उडानमार्फत छन्दु पुगेका पर्यटन व्यवसायी र छन्दुका पर्यटन व्यवसायीबीच बिटुबी एवं सेल्स मिसन कार्यक्रमको आयोजना नेपाल पर्यटन बोर्डले गरेको हो । पोखरा पर्यटन परिषद् र छन्दुस्थित महावाणिज्यदूतावाससँगको सहकार्यमा गरिएको कार्यक्रममा दुवै देशका पर्यटन व्यवसायीले सिचुवान एयरलायन्सको उडान नियमित हुनुपर्नेमा जोड दिँदै पर्यटकीय साझेदारीका लागि तयार भएको बताए । छन्दुका पर्यटन व्यवसायीले पोखराको प्राकृतिक सुन्दरताको प्रशंसा व्यक्त गर्दै चिनियाँ पर्यटक लक्षित पूर्वाधार आदिमा जोड दिन आग्रह गरेका थिए । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नेपालको पर्यटन राजधानी पोखराबाट मित्रराष्ट्र चीनको छन्दुुसम्म पहिलो व्यावसायिक चार्टर्ड उडान सुरु भएकोमा आफूहरू उत्साहित बनेको बताउनुभयो । नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध हिमाल जत्तिकै उच्च, सागर जत्तिकै गहिरो र आकाश जत्तिकै फराकिलो रहेको बताउँदै उहाँले यो सम्बन्ध भृकुटी र स्रङचङ्ग गम्पो र अरनिकोजस्ता ऐतिहासिक व्यक्तित्वहरूको समयदेखि नै विस्तार भएको बताउनुभयो । नेपाल र चीनबीचको मैत्री सम्बन्ध कायम भएको ७० औँ वर्षगाँठ मनाइरहँदा नेपाल भ्रमण वर्ष २०२५ घोषणा गरेकोमा धन्यवाद व्यक्त गर्दै महानगरप्रमुख आचार्यले पोखरा महानगरपालिकाले यस वर्षलाई पोखरा भ्रमण वर्ष मनाइरहँदा अझ धेरै विशेष बन्न पुगेको बताउनुभयो । सिचुवान प्रदेश विश्वप्रसिद्ध चिया, जाइन्ट पाण्डा र बुद्धको ऐतिहासिक धरोहरहरूले विश्वभरका पर्यटकमाझ आकर्षणको केन्द्र बनेको बताउँदै उहाँले नेपाली पर्यटक पनि यहाँको समद्ध संस्कृति र प्राकृतिक सुन्दरता अनुभव गर्न लालयित भएको बताउनुभयो । उक्त चार्टर्ड उडानले नेपाली पर्यटक सिचुवान आउन र त्यहाँका आकर्षणहरू अनुभव गर्न सहज र सजिलो बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो । यसबाट छन्दुका पर्यटकहरू सोझै पोखरा जाने र नेपालका पर्यटक पनि छन्दुको समृद्ध संस्कृति र प्राकृतिक सुन्दरता अनुुभव गर्न आउने उहाँको भनाइ छ । प्रकृति, संस्कृति र साहसिक पर्यटनको गन्तव्य पोखरामा पोखरा भ्रमण वर्षका अवसरमा विभिन्न पर्यटकीय प्याकेजमा विशेष छुटका योजना पनि सार्वजनिक गरिसकिएको उहाँले बताउनुभयो । सिचुवान प्रान्तका परराष्ट्र विभागका उपमहानिर्देशक लिउ मिनले सिचुवान एयरलायन्सले सुरु गरेको व्यावसायिक चार्टर्ड उडान नियमित हुनेमा विश्वास व्यक्त गर्नुभयो । दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई आगामी दिनमा थप प्रगाढ बनाउनका लागि लागि उडानको निरन्तरतासँगै दुई देशका पर्यटन व्यवसायीबीचको साझेदारी महत्वपूर्ण बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखरा छन्दु उडानले दुवै देशबीचको पर्यटकीय साझोदारीलाई बढाउने बताउनुभयो । यो उडानलाई नियमित गराउने कुरामा आफूहरू निरन्तर लाग्ने बताउँदै यसमा छन्दुका पर्यटन व्यवसायीको पनि सकारात्मक साथ र सहयोग हुने विश्वास व्यक्त गर्नुुभयो । छन्दुुमा गरिएको बिटुबी एवं सेल्स मिसनबाट दुुवै देशका पर्यटन व्यवसायीबीच आपसी मित्रतालाई अझै मजबुत बनाउने विश्वास दिइएको उहाँको भनाइ छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले प्रकृति, संस्कृति र साहसिक पर्यटनको गन्तव्य पोखरा चिनियाँ पर्यटकले पनि रुचाइएको गन्तव्य भएको बताउनुुभयो । पोखरामा धेरै चिनियाँ पर्यटक भित्र्याउनका लागि पोखरा–छन्दु उडानको निरन्तरता आवश्यक भएको उहाँको भनाइ छ । प्राकृतिक सुन्दरतासँगै साहसिक पर्यटनका विभिन्न गतिविधि पोखरामा पाइने उहाँले बताउनुुभयो । छन्दुुस्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूूत सुरेश राउतले पोखरा काठमाडौँपछिको दोस्रो ठूलो सहर भएको बताउँदै यो नेपालकै महत्वपूर्ण पर्यटकीय गन्तव्य भएको बताउनुभयो । पोखरा–छन्दु उडानलाई नियमित बनाउनका लागि महावाणिज्यदूतावासका तर्फबाट गर्न सकिने सहयोगका लागि आफूहरू तयार रहेको उहाँको भनाइ छ । पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाले पोखरामा चिनियाँ पर्यटक लक्षित पूर्वाधारहरू विस्तार हुने क्रम पनि बढिरहेको बताउँदै आगामी दिनमा चिनियाँ पर्यटकको आगमन बढ्नेमा विश्वास व्यक्त गर्नुभयो ।
पोखरा: पोखरामा यही चैत १४ देखि १७ गतेसम्म ‘अटो शो’ आयोजना हुने भएको छ । अटोमोबाइल्स एशोसियसन अफ नेपालको प्रस्तुतिमा पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोसियसन (वाडा)ले पहिलोपटक पोखरामा उक्त अटो प्रदर्शनी आयोजना गर्न लागेको हो । पोखरा महानगरपालिका–१२ स्थित अमरसिँह खेलकुद मैदानमा हुने प्रदर्शनीमा १९ वटा ब्राण्डका चार पाङग्रे, छ वटा ब्राण्डका लाइट कमर्सियल, सात वटा ब्राण्डका दुई पाङ्ग्रेलगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, पाटपूर्जा आदिका २० वटा व्यावसायिक स्टल रहने आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । वाडाका उपाध्यक्ष एवं अटो शोका संयोजक निरन केसीले उक्त शो आयोजनाका लागि करिब रु ६० लाख खर्च हुने बताउनुभयो । सवारीसाधनको खरिदबिक्री सँगै यस क्षेत्रमा भइरहेको प्रविधिको विकासबारे सवारीधनी, ग्राहक एवं सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको उहाँको भनाइ छ । “अर्थतन्त्र शिथिल भएको अहिलेको अवस्थामा केही मात्रामा भएपनि आर्थिक गतिविधि चलायमान बनाउन यो प्रदर्शनीले मद्दत पुग्ने हाम्रो विश्वास छ”, उहाँले भन्नुभयो, “नाडाको अटो शो पहिलोपटक काठमाडौँ बाहिर हुन लागिरहेको छ ।” गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका प्रदर्शनीको प्रवर्द्धकका रुपमा रहेको छ । चार दिनको सो प्रदर्शनी करिब ३५ हजार आगन्तुकले अवलोकन गर्ने अनुमान गरिएको वाडाले जनाएको छ ।
काठमाडौं: प्रधान सेनापति अशोकराज सिग्देलले आज जङ्गीअड्डामा आयोजित एक कार्यक्रममा उपरथीमा विशेष पदोन्नति हुनुभएका सहायक रथी रामप्रसाद अधिकारीलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गर्नु भएको छ । सोही कार्यक्रममा प्राविधिक सहायक रथीमा पदोन्नति हुनुभएका प्राविधिक महासेनानी मुकेश बाटाजुलाई सहायक रथीको दर्ज्यानी चिह्न प्रदान गर्नुभयो । त्यस अवसरमा रथीवृन्द, अधिकृतहरुका साथै पदोन्नति हुनुभएका रथीवृन्दका परिवारजनको उपस्थिति थियो ।
मुस्ताङ: उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत कालिगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला खण्डमा हालसम्म ८५ प्रतिशत काम सकिएको छ । चालु आर्थिक वर्षमा थपिएका नौ वटा आयोजनाबाहेक उक्त खण्डको समग्र भौतिक प्रगति ८५ प्रतिशत पुगेको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंका अनुसार सडक स्तरोन्नतितर्फ ८५ प्रतिशत र पुलपुलेसातर्फ ८४ प्रतिशत भौतिक प्रगति भइसकेको छ । उत्तरी कोरलानाका जोड्ने राष्ट्रिय गौरवको उक्त आयोजन आर्थिक वर्ष २०७३/७४ देखि निर्माण सुरु भएको उहाँले उल्लेख गर्नुभयो । आयोजनाअन्तर्गत सञ्चालनमा रहेका सडक कालोपत्रतर्फ सानाठूला गरी सात र सडक ग्राभेलतर्फ छ वटा सडक निर्माण सम्पन्न भएको आयोजनाका सूचना अधिकारी चापागाईंले जानकारी दिनुभयो । उहाँका अनुसार सडक कालोपत्रतर्फ म्याग्दीको बेनी कालीपुल, बेनी गलेश्वर, तातोपानीबाट कैकु, कैकुबाट कोवाङ, जोमसोम कागबेनी खण्ड गरी सात चरणमा सडक कालोपत्र तथा स्तरोन्नति सम्पन्न भइसकेको छ । ग्राभेलतर्फ जोमसोम–कोरलासम्म छ चरणमा काम सम्पन्न भएको बताउँदै चराङ–छोसेर २५ किलोमिटर ग्राभेलको काम अन्तिम चरणमा पुगेको सूचना अधिकारी चापागाईंले जानकारी दिनुभयो । उहाँका अनुसार कोरला राजमार्गतर्फ एक सय पाँच किमी सडकको ठेक्का सम्झौता भएकामा ७५ किमी कालोपत्र सम्पन्न भएको छ । यसैगरी जोमसोम–कोरला एक सय १० किमीमध्ये ९० किमीमा सडकमा ग्राभेल सम्पन्न भएको आयोजना कार्यालयले जनाएको छ । यस खण्डमा १९ पुलपुलेसामध्ये १४ वटा सम्पन्न भइसकेका छन् भने बाँकी निर्माणाधीन अवस्थामा रहेका आयोजना कार्यालयका सूचना अधिकारी चापागाईंले जानकारी दिनुभयो । निर्माण सम्पन्न भएका १४ पुलमध्ये नौ मुस्ताङ खण्डमा र पाँच वटा म्याग्दी खण्डमा बनेका आयोजना कार्यालयले जनाएको छ । मुस्ताङको थासाङ गाउँपालिका–३ लेतेको सेतु खोलामा निर्माणाधीन पुल अन्तिम चरणमा रहेको बताउँदै उहाँले हालसम्म ८० प्रतिशत भौतिक प्रगति भइसकेको उल्लेख गर्नुभयो । उत्तर–दक्षिण जोड्ने कोरला सडक आयोजनाका लागि चालु आवमा थप नौ वटा आयोजन थपिएका आयोजनाका सूचना अधिकारी चापागार्इंले बताउनुभयो । उहाँका अनुसार चालु आवमा थप भएका नयाँ आयोजनामध्ये चार वटा पुलपुलेसासम्बन्धी ठेक्का सम्झौता भई निर्माण अघि बढेको छ । यसअघि मुस्ताङको कैकु खोला पुल र लार्जुङ खोलामा पुल निर्माणको ठेक्का सम्झौता रद्द गरिएको थियो । निर्माण कम्पनीको ढिलासुस्तीका कारण आयोजनाले ठेक्का सहमति रद्द गरेको जनाएको छ ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काकाका लागि नेपालका नवनियुक्त आवासीय राजदूत पूर्णबहादुर नेपालीले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ । त्यस अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
पर्वत: मुलुकमा देखिएको आर्थिक मन्दीको प्रभाव, बढ्दो पलायनदरलगायत प्रभाव पर्वतका उद्योग व्यवसामा प्रत्यक्ष रूपमा परेको छ । पर्वतमा चालु आर्थिक वर्षको पहिलो छ महिनामा एक सय ३३ उद्योगको दर्ता खारेज गरिएको छ । आर्थिक वर्ष २०८०/८१ मा दुई सय ३६ उद्योग बन्द भएकामा चालु आवको छ महिनामा ती उद्योगको दर्ता खारेज गरिएको पर्यटन तथा उद्योग कार्यालयले जनाएको छ । कार्यालयमा यस वर्ष दर्ता भएका उद्योग व्यवसायको तुलनामा बन्द हुने उद्योग व्यवसायको सङ्ख्या उल्लेख्य छ । चालु आवमा कार्यालयमा ९९ उद्योग दर्ता भएका छन् । जसमध्ये ४९ उद्योग र ५० वटा वाणिज्य फर्म दर्ता भएको कार्यालय प्रमुख पोषनाथ शर्माले जानकारी दिनुभयो । खारेज हुनेमा ६४ उद्योग र ६९ वाणिज्य फर्म छन् । दैनिकजसो उद्योग दर्ता गर्नेभन्दा बन्द गर्न आउने सेवाग्राहीको सङ्ख्या बढ्दै गएको उहाँले बताउनुभयो । त्यसैगरी, आव २०८०/८१ को अन्त्यमा तीन हजार चार सय १३ उद्योग रहेकामा अहिले घटेर तीन हजार तीन सय ९० पुगेका छन् भने तीन हजार दुई सय ४७ वाणिज्य फर्म कायम रहेकामा अहिले तीन हजार एक सय ३५ उद्योग रहेको कार्यालय प्रमुख शर्माले बताउनुभयो । छ महिनामा एक सय ३५ वटा उद्योग व्यवसायको सङ्ख्या कम भएको हो । मुलुकमा देखिएको आर्थिक मन्दी, युवा शक्तिको बढ्दो पलायन, आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न नसक्नु, बजार अभावलगायत कारण उद्योग विस्थापित हुने क्रम बढेको कार्यालय प्रमुख शर्माले बताउनुभयो । उद्योग व्यवसाय छाडेर विदेश जान थालेपछि बजार क्षेत्रका २० प्रतिशत सटर खाली भएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुरबी पौडेलले बताउनुभयो । व्यापार व्यवसायमा परेको मन्दीले उद्योगी, व्यवसायी पलायन हुने क्रम बढेको उहाँको भनाइ छ । लाखौं रुपैयाँ लगानी गरेर उद्योग व्यवसाय सञ्चालन गरे पनि पर्याप्त आम्दानी हुन नसकेपछि उद्योग तथा व्यवसायी नै विस्थापित हुनुपरेको उहाँको भनाइ छ । कोरोना सङ्क्रमणपछि दर्ता हुने उद्योगको तुलनामा खारेज हुने क्रम उल्लेख्य मात्रामा छन् । सरकारबाट बेरोजगारी समस्यालाई समधानका लागि उद्योग व्यवसायीलाई प्रोत्साहन कार्यक्रम आउन थालेपछि उद्योग दर्ता प्रक्रिया बढ्दै गएको भए पनि सोही अनुपातमा बन्द गर्ने क्रम पनि नरोकिएको अध्यक्ष पौडेलले बताउनुभयो । कृषि, पशुपक्षी फार्म, फलफूलखेती, गाईपालन, भैँसीपालन, होमस्टे, व्यावसायिक बाख्रापालनलगायत अन्य घरेलु उत्पादनका उद्योग दर्ता गर्ने बढ्दै गएको छ । वैदेशिक रोजगारीमा जाने विद्यार्थीका लागि स्वदेशमा नै उद्यम गरेको प्रमाण देखाउनुपर्ने भएकाले पनि उद्योग दर्ता बढेको हुनसक्ने बताइएको छ । वाणिज्य फर्मतर्फ भने दर्ताको सङ्ख्यासँगै फर्म बन्दको सङ्ख्य पनि उच्च छ । कतिपय देशमा बैंक मौज्दात ग्यारेण्टी देखाउनुपर्ने र उक्त मौज्दात देखाउँदा फर्म वा कम्पनीको नाममा देखाउनुपर्दछ । यसका लागि पर्यटन तथा उद्योग कार्यालय वा स्थानीय तहमा फर्म वा उद्योग दर्ता भएको प्रमाणपत्र आवश्यक पर्नेहरूले दर्ता गरे पनि व्यावसायिक दृष्टिकोणले गर्नेहरू न्यून रहेको देखिएको छ । पछिल्लो समय उद्योग व्यवसाय दर्ता प्रक्रिया पर्यटन तथा उद्योग कार्यालयसँगै स्थानीय तहबाट पनि हुन थालेको छ । दुवै निकायबाट उद्योग दर्ता हुने गरेपछि व्यवसायीहरू कहाँबाट दर्ता गर्ने भन्ने विषयमा अलमल पर्न थालेका छन् । पर्यटन तथा उद्योग कार्यालयले चालु आवमा रु २८ लाख ६६ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयमार्फत यस वर्ष ४२ पर्यटन पूर्वाधारका योजना निर्माण भइरहेका छन् । अहिलेसम्म ३६ वटा योजना सम्झौता भइसकेको र छवटा सम्झौता हुन बाँकी रहेको कार्यालयले जनाएको छ ।
पोखरा: मार्फा थकाली समाज सेवा सदन पोखराको ५३औं वार्षिकोत्सव तथा १८औं महाधिवेशन देव कुमारी हिराचनलाई अध्यक्षमा चयन गरेको छ । समाजको ५३ वर्षको इतिहासमा पहिलोपटक महिला अध्यक्ष चयन गरि इतिहास रच्न सफल समेत भएको छ । महाधिवेशनमार्फत देव कुमारी हिराचन अध्यक्षमा निर्वाचित भएकी छन्। उपाध्यक्षमा पूर्ण मान लालचन, महासचिवमा मखन लाल हिराचन, सचिवमा राजु लालचन, कोषाध्यक्षमा ई। पूर्ण बहादुर ज्वारचन चयन भएका छन्। त्यसैगरी, प्रदिप हिराचन, निरण ज्वारचन, पूर्ण ज्वारचन, वसन्त हिराचन, सञ्जु लालचन, बुद्धी कुमारी लालचन, प्रिमो लालचन तथा सुन कुमारी हिराचन समाजका सदस्य पदमा चयन भएका छन्। यसै अवसरमा मार्फा थकाली महिला समिति को पनि नयाँ कार्यसमिति चयन भएको छ। महिला समितिको अध्यक्षमा विष्णु ज्वारचन माईली, उपाध्यक्षमा आइत कुमारी लालचन, सचिवमा पुनम हिराचन, कोषाध्यक्षमा राम कुमारी ज्वारचन चयन भएका छन्। सदस्य पदमा सीता लालचन, सत कुमारी पन्नाचन, विष्णु ज्वारचन, विनु लालचन, रचना लालचन, सविता पन्नाचन तथा विष्णु हिराचन मनोनीत भएका छन्।