काठमाडौं: नयाँ बानेश्वर क्षेत्रमा सेना परिचालन गरिएको छ । जेनजी प्रदर्शन उग्र बनेपछि सेना परिचालन गरिएको हो । यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले नयाँ बानेश्वर, बिजुलीबजार, मध्य वानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको थियो । प्रदर्शन नियन्त्रणबाहिर गएपछि प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाएको छ । प्रहरीको गोली लागेर केही प्रदर्शनकारी घाइतेसमेत भएका छन् । अहिले प्रदर्शनकारीले संसद भवनभित्र प्रवेश गरी नाराबाजी गरिरहेका छन् ।
काठमाडौं: जिल्ला प्रशासन कार्यालय काठमाडौँले सुरक्षा व्यवस्थालाई मध्येनजर गर्दै कर्फ्यू जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले कर्फ्यू आदेश जारी गर्नुभएको हो । जेन जीको प्रदर्शन नियन्त्रण बाहिर पुगेपछि स्थानीय प्रशासनले बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो । सोमबार दिउँसो १२ः३० बजेदेखि राति १० बजेसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा छ (क) बमोजिम काठमाडौँ जिल्लाको काठमाडौँ महानगरपालिकाभित्र चार किल्ला तोकी सो सीमाभित्र आवत–जावत गर्न कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको छ । बानेश्वर चोकदेखि पश्चिम एभरेस्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखि पूर्व मिनभवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वर चोकदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म, बानेश्वर चोकदेखि दक्षिण शङ्खमुल ओरालो हुँदै शङ्खमुल पुलसम्म कर्फ्यू जारी भएको छ ।
म्याग्दी: म्याग्दीको मालिका गाउँपालिकामा बन्द अवस्थामा रहेको ओखरबोट तामाखानी पुन: सञ्चालनका लागि अन्वेषण सुरु भएको छ । तामाखानी अन्वेषण गर्न खानी तथा भूगर्भ विभागबाट अनुमति प्राप्त एमस दोङयी मिनरल्स प्रालिका भूगर्भविद् सम्मिलित टोलीले स्थलगत अध्ययन थालेका हुन् । मालिका गाउँपालिका– वडा नम्बर ३ र ४ को सिमानामा ओखरबोट तामाखानी रहेको बताइएको छ । तामाखानीको खोजतलास तथा उत्खननका लागि पहिलो चरणमा खानीमा तामाको मात्रा पहिचान र उत्खननका क्रममा हुनसक्ने वातावरणीय प्रभाव तथा त्यसको असर न्यूनीकरणका उपायका विषयमा अध्ययन थालिएको भूगर्वविद् रोनित पौडेलले जानकारी दिए । ‘प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन पारित भएपछि खानीमा तामाको खोज र अनुसन्धान हुनेछ,’ उनले भने ‘खानीको खोजतलास र सम्भाव्यता अध्ययन गरेपछि अर्को चरणमा उत्खननको प्रक्रिया अघि बढ्छ ।’ ओखरबोटको खानीबाट २०२८ सालसम्म स्थानीय प्रविधिको प्रयोग गरेर तामा निकाल्ने गरिन्थ्यो । प्रविधिको अभाव र आम्दानी भन्दाबढी राज्यलाई कर तिर्नुपर्ने अवस्था आएपछि त्यसबेला तामाखानी बन्द भएको मालिका गाउँपालिका–३ का ७२ वर्षीय विसराम पटेलले बताए । यस तामाखानीमा दैनिक दुई सय भन्दा बढी कामदारले काम गर्नुका साथै प्रत्येक दिन सात–आठ धार्नीसम्म तामा निकाल्ने गरिएको पटेलले जानकारी दिए । तामाखानीमा दुईवटा मुहान रहेका छन् । ती मुहानको लम्बाइ दुई सय ५० देखि पाँच सय मिटरसम्म रहेको छ । त्यहाँ दुई सय मिटरभित्रसम्म जान सकिने तामाखानीको सुरुङ छन् । वातावरणीय प्रभाव मूल्याङ्कनका लागि कम्पनीले सार्वजनिक सुनुवाइका साथै लिखित रुपमा प्रभावित क्षेत्रका बासिन्दाबाट सुझाव सङ्कलन गरिसकेको मालिका–३ का वडाध्यक्ष मोतिप्रसाद बुढाले बताउनुभयो । खानी उत्खननका लागि अध्ययन थालिएकोमा खुसी भएका प्रभावित क्षेत्र ओखरबोट र खटेनका बासिन्दाले वातावरणीय र विपद्जन्य घटना हुन नदिन सतर्कता अपनाउन तथा रोजगारीमा प्रभावितलाई प्राथमिकता दिन माग गरिएको स्थानीय दीपक पटेलले बताए । स्थानीय खनेलहरुले रैथाने प्रविधिबाट उत्खनन गरिएको मालिका गाउँपालिका– ४ (साविक ओखरबोट–८) खटेनडाँडास्थित तामाखानी मुख्य हो । धवलागिरि गाउँपालिका–१ गुर्जा, ५ मल्कवाङ, ७ मच्छिम, रघुगङ्गा गाउँपालिका–६ ठाडाखानी, ८ चौरसहित २१ ठाउँमा तामाखानी छन् । खानीहरु सञ्चालन हुन नसक्दा खानी उत्खननमा पोख्त स्थानीय खनेल’हरुको सीप पुस्तान्तरण हुनसकेको छैन । म्याग्दीमा बसोबास गर्ने अल्पसङ्ख्यक छन्त्याल जातीको परम्परागत पेसा खानी खन्ने थियो ।
काठमाडौं: प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ हुँदै छ । आरम्भका दिन आज ९सोमबार० प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो ९पञ्चाङ्ग०मा उल्लेख छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । चाडपर्व यज्ञयागादि तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पुरा हुनाका साथै पितृऋणबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद् प्रा तोयराज नेपाल बताउनुहून्छ । सोह्रश्राद्ध अपराह्न कालमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको पनि उहाँले बताउनुभयो । जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्थामा बाहेक सोह्र श्राद्ध छोड्नु नहुने धर्मशास्त्रविद् नेपाल बताउनुहुन्छ । कारणवश सोह्र श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्र श्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद्को भनाइ छ । यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने धर्मसिन्धु नामक शास्त्रीय ग्रन्थमा उल्लेख छ । आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतिपात योग परेका दिन जुनसुकै तिथि परेपनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्पसमेत निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको नेपाल संस्कृत विश्विद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहनुभएका समिति सदस्य प्राडा भट्टराईले जानकारी दिनुभयो । त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत् दैनिक १०८ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको उहाँले सुनाउनुभयो । विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ । यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ । सोह्रश्राद्ध अपराह्नकाल पारेर पिताका तिथिका दिन गर्नुपर्नेमा कतिपय पुरोहितले आफू अनुकुल बिहानै श्राद्ध गर्नु भन्ने गरेको जानकारी आएकाले त्यो शास्त्रसम्मत नभएको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले बताउनुभयो । पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दुुुुुसैँ सुरु हुन्छ । बडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ । ठूला पर्व वा चाड मनाउनुअघि पितृतृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा रही आएको छ ।
काठमाडौं: हाल मनसुनको न्यून चापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित रहँदा देशको पहाडी भू-भागमा साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागका केही स्थानमा र तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग पूर्वानमान महाशाखाले जनाएको छ । कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । यसैगरी कोशी, मधेश र बागमती प्रदेशको पहाडी भू-भागमा साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ महाशाखाले जनाएको छ । कोशी, मधेश र बागमती प्रदेशको पहाडी भू–भागका केही स्थानमा र बाँकी पहाड र तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका पहाडी र तराई भू-भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पोखरा: गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले मानव बेचबिखन नेपालको लागि गम्भीर समस्या भएको र यसविरुद्ध सरकारले शून्य सहनशीलताको नीति अख्तियार गरेको बताएका छन् । ‘तीनै तहका सरकार मिली गरौं हातेमालो, मानव बेचबिखन विरुद्धको हटाऔं दुष्चक्रको जालो’ भन्ने मूल नारासहित गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजना र पोखरा उद्योग वाणिज्य संघको समन्वयमा आइतबार पोखरामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री थापाले मानव बेचबिखनविरुद्ध सामूहिक अभियान आवश्यक रहेको धारणा राखे। उनले गरिबी, बेरोजगारी, अशिक्षा, लैङ्गिक विभेद र घरेलु हिंसा जस्ता कारणहरूले नेपालमा मानव ओसारपसार बढेको उल्लेख गर्दै विशेषगरी महिला, बालबालिका र सिमान्तकृत समुदाय बढी जोखिममा पर्ने बताए । “मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ र अन्तर्राष्ट्रिय कानुनको पालना गर्दै प्रदेश सरकारले विभिन्न अभियान सञ्चालन गर्दै आएको छ,“ उनले भने। मन्त्री थापाका अनुसार हिंसामा परेका महिला तथा बालबालिकाका लागि अल्पकालीन तथा दीर्घकालीन पुनःस्थापना केन्द्र सञ्चालन, जनचेतनामूलक अभियान, प्रविधिको प्रयोग, सीमामा निगरानी प्रणाली लगायतका कार्यक्रमहरू अघि सारिएका छन्। तर स्रोत–साधनको अभाव, अन्तरदेशीय सीमा नियन्त्रणको कठिनाइ, अपराधीक गिरोहहरूको सञ्जाल, पीडितको पहिचान र पुनःस्थापनामा देखिने समस्या अझै चुनौतीको रूपमा रहेको उनले उल्लेख गरे। जिल्ला प्रहरी कार्यालय कास्कीकी प्रहरी निरीक्षक सरला ढकालले प्रस्तुत गरेको विवरण अनुसार पोखराका ११ वटा डान्सबारमा गरिएको अनुगमनमा भड्किलो पोशाकको प्रयोग देखिएको छ । पछिल्लो समयमा यौन शोषणका घटना बढ्दो क्रममा रहेको उनले बताइन्। उनका अनुसार कास्कीमा हालसम्म मानव बेचबिखनसम्बन्धी १२३४ मुद्दा दर्ता भइसकेका छन् भने औसतमा दैनिक पाँचवटा मुद्दा दर्ता हुने गरेको छ । मन्त्रालयकी सामाजिक विकास महाशाखा प्रमुख मुना अधिकारीले हिंसापीडित प्रभावितहरूको लागि तत्काल उद्धार समन्वय सञ्जाल गठन, बालिका तथा समावेशी शिक्षा सञ्जाल परिचालन, सचेतनामूलक तथा प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन, आपतकालीन उद्धार कार्यक्रमलाई ११ वटै जिल्लामा लैङ्गिक हिंसा विरुद्ध निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको जानकारी दिइन्। “गण्डकी प्रदेशमा ८ जिल्लामा अल्पकालीन सेवा केन्द्र र प्रदेशस्तरीय दीर्घकालीन पुनस्र्थापना केन्द्र सञ्चालनमा छन्। साथै औद्योगिक प्रशिक्षार्थी, सीपमूलक तालिम, सिक्दै–कमाउँदै रमाउँदै कार्यक्रम तथा सामूहिक उद्यमशीलता प्रवद्र्धन गरिएका छन्।”, उनले भनिन् । शान्तिका लागि नागरिक समाज सञ्जालका संयोजक बिना सिलवालले ड्रग र यौन व्यवसायबीचको सम्बन्ध औंल्याउँदै शिक्षा व्यवस्थापनमार्फत यौन नियन्त्रण आवश्यक भएको बताए। उनका अनुसार ९० प्रतिशत यौनजन्य दुव्र्यवहार घरभित्रै हुने भएकाले सुरुवातमै जोगाउनेतर्फ ध्यान दिन जरुरी छ। पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले समाजमा नैतिकता र संस्कार सिकाउनुपर्नेमा जोड दिए । “मानव बेचबिखन नियन्त्रणका लागि कानुनी व्यवस्था मात्र होइन, सामाजिक मूल्य–मान्यतालाई बलियो बनाउनुपर्छ,“ उनले भने। कार्यक्रममा सहभागी वक्ताहरूले मानव बेचबिखन नियन्त्रणका लागि सरकारी, गैरसरकारी, उद्योग वाणिज्य क्षेत्र, नागरिक समाज र अन्तर्राष्ट्रिय संघसंस्थाबीच सहकार्य आवश्यक रहेको बताएका छन् । समुदायस्तरमा जनचेतना अभिवृद्धि, सुरक्षाकर्मीको भूमिका सुदृढीकरण र स्थानीय सरकारसँगको सहकार्यले मात्र यस समस्यालाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिने भनाई उनीहरुको छ । मन्त्रालयका निमित्त सचिव प्रकाश ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सरकारका अधिकारी, सुरक्षाकर्मी, नागरिक समाजका प्रतिनिधि, निजी क्षेत्र र सञ्चारकर्मीहरूको समेत सहभागिता रहेको थियो।
इलाम: जिल्लाको पयर्टन र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको इलामको फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल सुनसान बनेको छ । आर्थिक वर्ष २०८१/८२ मा ३३ उडान भरेको यो विमानस्थल अहिले जहाज उडानको पर्खाइमा छ । इलाम नगरपालिका–९ स्थित यो विमानस्थलमा उडान नियमित रुपमा गर्न जिल्लावासीले माग गरेका छन् । विसं २०७५ जेठ २१ गते तारा एयरको ट्वीनअटर जाहाजले पहिलो परीक्षण उडान सफल गरेको थियो । यहाँका जनताले नियमित रुपमा जहाड उडानको आश गरेका थिए । त्यसपछि नेपाल एयरलाइन्सले पनि २०७८ माघ २६ गते सफल परीक्षण उडान गरेको थियो । नियमित उडान नुहँदा इलामसहित पूर्वी पहाडी क्षेत्रका नागरिक अझै पनि झापा वा विराटनगर धाउन बाध्य छन् । यस विमानस्थलबाट गत जेठयता कुनै पनि उडान हुन सकेको छैन । सुरुआतमा तारा एयरको जहाजले बुधबार र शनिबार गरी सातामा दुईपटक उडान भरेको थियो । नगरपालिकाले इलामबाट काठमाडौँ फर्कँदा जहाजको सिट खाली भए त्यसको भाडा पुर्ताल गर्ने सम्झौता गरेको थियो । सो सम्झौता सकिएपछि पुनः नगरपालिकाले नेपाल एयरलायन्ससँग सम्झौता गरी २०७९ साल माघ १ गतेदेखि सोही तालिकामा इलाम–काठमाडौँ उडान गरेको थियो । तर त्यसपछिका वर्षमा नगरपालिकाले कुनै एयरलाइन्ससँग सम्झौता नगरेको प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्काले बताउनुभयो । “पहिला केही वर्ष नगरपालिकाले केही रकम व्यहोर्नेगरी तारा एयर र नेपाल एयलायन्ससँग सम्झौता गरी उडान हुँदै आएको रहेछ”, प्रमुख प्रशासकीय अधिकृत खड्काले भन्नुभयो, “अहिले त्यस्तो कुनै सम्झौता छैन, हामीले कुनै दायित्व व्यहोर्नुपर्ने छैन ।” नगरपालिकासँगको सम्झौता सकिएपछि पनि नेपाल एयरलाइन्सले सातामा शनिबार एक दिन उडान भर्दै आएको थियो । तर एयरलायन्सले मौसमका कारण २०८२ जेठ १४ गतेदेखि उडान भर्न नसकेको विमानस्थल इलामका स्टेशन इन्चार्ज दिनेश सुन्दासले बताउनुभयो । तीन महिनायता सो विमानस्थल सुनसान बनेको छ । इलाम नगरपालिका–९ का वडाध्यक्ष गोपाल चौहानले विमानस्थल नियमित सञ्चालन गर्नुपर्नेमा आफूहरू लागिपरेको बताउनुभयो । “नगर कार्यपालिकाको बैठकमा पटकपटक कुरा उठाएर विमानस्थल सञ्चालनका लागि पहल भइरहेको छ”, उहाँले भन्नुभयो, “तर कहिले विमान बिग्रिएको त कहिले मौसमको कारण देखाउँदै विमानस्थल नियमित सञ्चालनको दीर्घकालीन समाधान हुनसकिरहेको छैन ।” तीन सय २८ रोपनी क्षेत्रमा निर्माण भएको विमानस्थलका लागि २०५८ सालमा प्रक्रिया सुरु भएको थियो । विमानस्थलको छ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग कालोपत्र भएको छ । तर स्थायी टर्मिनल भवन, पक्की पहुँचमार्ग, सुरक्षित तारबारलगायत संरचना अझै अधुरै छन् । स्थानीयबाट करिब रु चार करोडसहित अहिलेसम्म विमानस्थलका लागि रु २८ करोड बढी खर्च भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमानस्थल निर्माण हुने भएपछि स्थानीयले प्रतिव्यक्ति एकदेखि ४२ रोपनीसम्म जग्गा दिएका थिए । विसं २०६७ चैत १३ गते तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले शिलान्यास गर्नुभएको विमानस्थलको २०७८ साल फागुन १ गते खनालले नै उद्घाटन गर्नुभएको थियो ।
काठमाडौं: हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदरभन्दा दक्षिणतिर अवस्थित रहेको छ । सिक्किम आसपासको निम्नचापीय क्षेत्रको प्रभाव नेपालको पूर्वी भूभागमा पर्ने देखिएको जल तथा मौसम विज्ञान विभाग पूर्वानमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आइतबार दिउँसो देशका पहाडी भागमा साधारणतया बदली तगा बाँकी भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भागका केही स्थान र बाँकी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । त्यसैगरी, आज राति कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली र बाँकी भागमा आंशिक बदली रहनेछ । कोशीलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान र बाँकी पहाड र तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका तराई भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । महाशाखाले वर्षाका पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठसुला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।
काठमाडौं: दोस्रो संस्करणको नेपाल पियिमर लिग (एनपिएल) को ट्रफी टुर पूर्वको विराटनगर शहरबाट सुरु हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले शनिबारदेखि ट्रफी टुर औपचारिक रूपमा सुरु हुने जानकारी दिएको हो । क्यानका सचिव पारस खड्काले ट्रफी टुर मेचीदेखि महाकालीसम्म पुग्ने बताए । ट्रफीलाई एनपिएलको आठवटै फ्रेन्चाइज टोलीले प्रतिनिधित्व गर्ने सहरमा लगिने छ । जसको सुरुवात शनिबार कोशी प्रदेशको विराटनगर किङ्ग्सबाट हुँदैछ । त्यसपछि साविक विजेता जनकपुर बोल्ट्सको प्रदेश मधेश प्रदेश, चितवन राइनोजको चितवन, काठमाडौं, पोखरा, लुम्बिनी, कर्णाली हुँदै अन्तिममा सुदूरपश्चिम पुगेर ट्रफी टुर सकिने छ । क्यानले देशभर क्रिकेटको माहोल बनाउन ट्रफी टुर आयोजना गरेको हो । शुक्रबार आयोजित कार्यक्रमबिच ट्रफीको कीर्तिमानी पर्वतारोहीहरू फुन्जु जाङ्मी, मिङ्गमा ग्याल्जे शेर्पा र मिङ्गमा डेबिट शेर्पाले सार्वजनिक गरे । यसपटकको ट्रफी टुरलाई क्यानले ग्लोबल वार्मिङ र वतावरण संरक्षणको जनचेतनासँग जोडेको छ । एनपिएल मङ्सिर १ गतेदेति त्रिवि मैदान कीर्तिपुरमा सुरु हुनेछ ।