फेवातालको सिमाना (तालघर) मा पिल्लरहरु गाड्न सुरु गरिएको छ ।   तिनै तहका सरकारका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थितिमा फेवाताल सम्बन्धमा सर्वोच्च अदालतको पछिल्लो फैसला कार्यान्वयनका लागि तालको सिमाङ्कन...

काठमाडौं: नेपालको लागि नयाँ प्रजातिको चरा अभिलेख गरिएको छ । इलाममा समुद्री सतहबाट तीन सय मिटर उचाइमा रहेको सुखानी वन क्षेत्र ‘भिओलेट कुक्कू’ नामको चरा अभिलेख गरिएको नेपाल पन्छीविद् सङ्घले जनाएको छ । चराविद् राजेन्द्र गुरुङसमेतको टोलीले चरा अवलोकनका क्रममा गत चैत २५ गते पहिलोपटक बिहान सुखानी वन क्षेत्रमा उक्त प्रजातिको भाले चरा देखेका थिए । सोही दिन सोही स्थानमा पटकपटक एक रुखबाट अर्को रुखमा उड्दै बस्दै गरेको अवस्थामा एक घण्टाभन्दा बढी समयसम्म उक्त चरालाई अवलोकन गरिएको थियो । चरा अवलोकन गर्ने क्रममा गुरुङका साथमा रहेका मलेसियन नागरिक अलेक्जेन्डर जोन एङ्ग याङले आवाज पहिचान गरी चरालाई पहिल्याएका थिए। टोलीमा रहेका अर्का मलेसियन नागरिक रोगर रोबर्ट राजह र नेपाली चराविद् अनिस तिम्सिनाले पनि सो भाले चरालाई अवलोकन गरेको सङ्घद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । टोलीका सदस्यहरूले चराको फोटो र भिडियो खिचेर प्रारम्भिक पहिचान गरेका थिए । चैत २८ गते सो चराको एकीन पुष्ट्याइका लागि चराविद् राजेन्द्र गुरुङले चराको विवरणसहित फोटो नेपाल चरा तथ्याङ्क समितिमा पठाउनुभएको थियो । समितिले प्राप्त विवरणहरूको अध्ययन गर्दै, राष्ट्रिय अन्तरराष्ट्रिय पन्छीविद्हरूसँग पनि रायसुझाव सङ्कलन गरी नयाँ चराको अभिलेख गरेको समितिका अध्यक्ष डा तुलसी सुवेदीले जानकारी दिए । उक्त चराको नेपाली नाम बेजनी कोइली राखिएको छ । यो चरा भुटान, फिलिपिन्स, सिङ्गापुर, ब¬ङ्गलादेश, ब्रुनाइ, चीन, भारत, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, थाइल्यान्ड र भियतनाममा आवासीय रूपमा पाइन्छ भने यसले भुटान, फिलिपिन्स, सिङ्गापुरमा प्रजनन गर्दछ ।  विश्वमा यस चराको दुई उपप्रजाति अभिलेख भएका छन् । यो सँगै नेपालको अभिलेखमा चरा प्रजातिको सङ्ख्यामा एउटा प्रजाति थप भएको छ र अब नेपालमा जम्मा चरा प्रजातिको सङ्ख्या आठ सय ९९ पुगेको छ ।

काठमाडौं:  राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।  मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपतिले बजेट अधिवेशन आह्वान गर्नुभएको हो ।  संविधानको धारा ९३ को उपधारा १ बमोजिम वैशाख १२ गते शुक्रबार दिउँसो १ बजेका लागि राष्ट्रपतिले अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।   

सिरहाः रमेश लेखकले सिरहाको नवराजपुर गाउँपालिका-३ स्थित जगतपुरकी २४ वर्षीया आनन्दीदेवी सदायको मृत्यु प्रकरणबारे सत्यतथ्य छानबिन गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका छन् । करिब चार महिनाअघि यौन दुर्व्यवहारमा परेकी सदाय मंगलबार आफ्नै घरमा मृत फेला परेकी थिइन्।  गृहमन्त्री लेखकले यस घटनाका सम्बन्धमा गम्भीर चासो व्यक्त गर्दै प्रहरी महानिरीक्षक दीपक थापालाई फोन गरी घटनाका सम्बन्धमा सत्यतथ्य छानबिन गर्न निर्देशन दिएको गृह मन्त्रालयको सचिवालयले जनाएको छ।  मृतक आनन्दीदेवी गत पुस ९ गते सिरहा बरियारपट्टी गाउँपालिका-१ मा बस्ने दिदीलाई भेट्न हिँडेको बखत स्थानीय २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवबाट यौन दुर्व्यवहारमा परेकी जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एवं प्रहरी उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए । उनका अनुसार निजहरू उपर जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएकामा उनीहरू पक्राउ पर्न सकेका छैनन् ।  प्रहरी उपरीक्षक शर्माले आफू जिल्लामा आउनुअघिको घटना भएकाले यस सम्बन्धमा सुरुदेखि सुक्ष्म ढङ्गले अनुसन्धान गरिरहेको जानकारी दिए ।  ‘गत फागुन २५ गते निजहरूविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको थियो । घटनालगत्तै पीडकहरू फरार छन् । उनीहरू नेपाल छाडी भारतमा लुकेका हुनाले खोजतलास गर्न चुनौती भए पनि प्रहरी प्रशासन निरन्तर लागिरहेको छ’, उनले भने, ‘पीडितमाथि यौन दुर्व्यवहारलगत्तै प्रहरीले मेडिकल जाँच, जिल्ला अदालतबाट पीडकविरुद्ध पक्राउ पुर्जी जारी गर्ने काम गरेको छ ।’  प्रहरी उपरीक्षक शर्माले आज मात्र घटनास्थल पुगी पीडितपरिवालाई भेटेको जानकारी दिए । ‘मृतक आनन्ददेवीको दुई वर्षकी छोरी छिन् । आनन्दीदेवी एकदवर्षदेखि माइतीमा बस्दै आएकी थिइन् । यौन दुर्व्यवहारमा परेकी आनन्दीदेवी माइतमा कोही नभएको बेला झुन्डिएको अवस्थामा हिजो मृत फेला परेकी हुन्’, उनले भने। मृतकको शव परीक्षणका लागि लहानस्थित प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । घटनाका विषयमा विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपैयाँ घटाएको हो ।        मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ५९ रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ६० रुपैयाँ तोकिएको छ ।  यस्तै, डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गका लागि एक सय ४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ४५ रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ४६ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ ।        निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाडौँ, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ ।        इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त पेट्रोलिमय पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा तीन रुपैयाँ १५ पैसा र डिजेलमा दुई रुपैयाँ ६२ पैसाले घटेर आएकाले स्थानीय बजारमा पनि मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।

काठमाडौं:   प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले विश्वविद्यालयको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष प्राडा खड्ग केसीलाई बढीमा तीन महिनाका लागि काम गर्नेगरी जिम्मेवारी तोक्नुभएको छ ।      उपकुलपतिको पदपूर्ति नभएसम्मका लागि त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा २१ (ख) बमोजिम कुलपति ओलीको गत चैत ३१ गतेको निर्णयानुसार शिक्षाध्यक्ष केसीलाई उक्त जिम्मेवारी तोकिएको हो ।      विश्वविद्यालयका उपकुलपति प्राडा केशरजङ्ग बरालले दिनुभएको राजीनामा गत चैत २८ गते स्वीकृत भएको थियो ।

गोरखा:  बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि मुआब्जा निर्धारण गरिएको छ । चुमनुब्री गाउँपालिकाका जनप्रतिनिधि, प्रवद्र्धक कम्पनी साहस ऊर्जाका प्रतिनिधि र स्थानीयको सहभागितामा मुआब्जा निर्धारण गरिएको हो ।      साहस ऊर्जाका प्रबन्ध निर्देशक हिम पाठकका अनुसार बाँध निर्माणस्थल रहेको वडा नं ३ को सल्लेरीका बस्ती क्षेत्रमा रहेका जग्गाको प्रतिआना रु तीन लाख कायम गरिएको छ ।  “चार आनाभन्दा कम जग्गा हुनेको हकमा भने प्रतिआना रु चार लाख र बस्तीभन्दा बाहिर प्रतिआना रु एक लाख ५० हजार मुआब्कजा निर्धारण भएको छ ।” उहाँका अनुसार करिब ८० रोपनीको मुआब्जा दिनुपर्ने आकलन गरिएको छ ।       उक्त भेलाले घरको मूल्याङ्कन भने गरेको छैन । गाउँपालिकाका प्राविधिकले तयार गरेको प्रतिवेदनका आधारमा घरको मुआब्जा निर्धारण हुने उहाँले पाठकले जानकारी दिनुभयो । आयोजनाबाट २६ घरधुरी विस्थापित हुने भएका छन् ।           विस्थापित हुनेहरुको पुनःस्थापनाका विषयमा पनि छलफल भइरहेको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो । “डुबानका कारण विस्थापित हुनेहरु कसैलाई फिलिममा, कसैलाई जगतमा पुनःस्थापित गर्ने विषयमा छलफल भइरहेको छ तर निर्णय भइसकेको छैन”, लामाले भन्नुभयो ।       गाउँपालिकाका अध्यक्ष निमा लामा, उपाध्यक्ष लक्ष्मी गुरुङ, वडा नं २ का अध्यक्ष रामकुमार गुरुङ, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)का प्रतिनिधि, सल्लेरी, भालुवन, जगत, नाग्चेतका बासिन्दालगायतको मुआब्जा निर्धारण भेलामा उपस्थिति थियो ।       अर्धजलाशययुक्त (पिकिङ रन अफ रिभर) प्रविधिको ३४१ मेगावाट क्षमताको उक्त परियोजना निजी क्षेत्रबाट सञ्चालित सबैभन्दा ठूलो परियोजना हो ।  साहस ऊर्जाले सल्लेरीमा बाँध निर्माण गर्ने छभने त्यहाँबाट ६।८ किलोमिटर भूमिगत सुरुङ हुँदै धार्चे–३ मा रहेको तातोपानीस्थित पावर हाउसमा विद्युत् उत्पादन गर्नेछ ।  उत्पादन हुने विद्युत् ४५ किलोमिटर लामो प्रसारण लाइनमार्फत नुवाकोटको रातामाटे सबस्टेसनमार्फत केन्द्रीय प्रसारणलाइनमा जोडिनेछ । आयोजनाको कुल लागत रु ७० अर्ब रहेको छ । 

चितवन:  दुर्लभ एकसिङ्गे गैँडाको चोरीसिकार विगत पाँच सय १६ दिनदेखि रोकिएको छ । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा प्राकृतिक कारणले गैँडा मरे पनि चोरीसिकारी हुन नपाएको हो ।   निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार २०८० साल कात्तिक ३० गते निकुञ्जकै पूर्वी सेक्टरअन्तर्गत चपरचुली क्षेत्रमा खाल्डोमा पारेर तस्करले दुईवटा गैँडा मारेका थिए ।  त्यसको नौ दिनमा नौ जना अभियुक्तलाई निकुञ्जले पक्राउ गरी सार्वजनिक गरेको थियो । यसयता सुरक्षा रणनीतिमा थप परिवर्तन गरी काम गरिरहेकाले चोरीसिकार हुन नपाएको उहाँले बताउनुभयो ।  चालु आर्थिक वर्षको हालसम्म २४ गैँडा मृत भेटिएका छन् । यी सबै प्राकृतिक कारणले मरेका हुन् । सूचना अधिकारी थापामगरका अनुसार बाघ तथा गोहीको आक्रमणमा परेर, एकापसमा जुधेर, बिरामी भएर, दलदलमा फसेर, बूढो भएर, भाले गैँडाले थिचेर ती गैँडा मरेका हुन् । निकुञ्ज आसपास बसोबास गर्ने जनता सचेत हुँदा चोरीसिकारीले गैँडा मार्न नपाएका हुन् । गत आर्थिक वर्षमा गैँडा २१ वटा मरेका थिए । मरेका गैँडामध्ये १८ वटा प्राकृतिक कारणले होभने दुईवटा चोरीसिकारीले र एउटाको कारण खुल्न नसकेको उहाँले बताउनुभयो ।  मगरका अनुसार आर्थिक वर्ष २०७९÷८० मा चितवन राष्ट्रिय निकुञ्जमा २२ वटा गैँडा मरेका थिए । जसमध्ये २० वटा कालगतिले, एउटा विद्युतीय करेन्टबाट र एउटा चोरी सिकारीले मारेका थिए ।   विगतमा एक हजार ७१ दिनसम्म चोरीसिकार शून्य भएपछि उत्सवका रूपमा मनाइएको थियो । यसपछिका वर्षहरूमा चोरीसिकार शून्य गर्ने तर यसलाई उत्सवका रूपमा नमनाउने नीतिअनुरुप काम गरिएको थियो । सन् २०२१ को गणनाअनुसार नेपालमा गैँडाको सङ्ख्या ७५२ पुगेको छ । एकसिङ्गे गैँडाको सङ्ख्या सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ६९४ रहेको छ ।  बर्दियामा ३८, शुक्लाफाँटामा १८ र पर्सामा तीन गैँडा रहेको तथ्याङ्क छ । यस वर्ष गैँडा गणना गर्ने कार्यक्रम रहे पनि अन्तिम समयमा बजेट व्यवस्थापनमा समस्या भएपछि स्थगन गर्नुपरेको थियो । गणना गर्न नसके पनि अनुगमनलाई तीव्रता दिइएको छ ।

भक्तपुर: मानिसको भीड, भीडमा सबैको टाउको, अनुहार, शरीर सबै फुस्रो अबिरैअबिरले राताम्मे । अगाडि हातहातमा धपक्क बलेको चिरागका समूह, त्यसपछि धिमे र मुस्या बाजा बजाउने अर्को समूह, त्यसपछि आ–आफ्नो टोलका देवीदेवतालाई विराजमान गराइएका खट बोकेर टोलटोल घुम्दै बालबालिका, युवायुवतीदेखि ज्येष्ठ नागरिकसमेत बिहानै जात्राको भीडमा सिन्दुर खेल्दै रमाउँदै आज भव्य रूपमा मध्यपुरथिमिका बासिन्दाले सुथसिया अर्थात् बिहानीको जात्रा मनाएका छन् ।  बिस्केट जात्राका अवसरमा मध्यपुरथिमिका बासिन्दाले आज बिहानैदेखि टोलटोलका देवता विराजमान खट जात्रा गरी टोलटोल घुमेर बालकुमारी मन्दिर प्राङ्गणा २६ देवीदेवता विराजमान खटलाई ल्याएर बालकुमारीको परिक्रमा गराई धिमे, मुस्या बाजाको तालमा झुम्दै, नाच्दै र अबिर छर्कँदै हर्षोल्लासका साथ सिन्दुर खेलेर सुथसिया जात्रा मनाएका हुन् ।  थिमिमामात्र मनाइने यो जात्रामा एकअर्कामा सिन्दुर दलेर धिमेलगायत स्थानीय बाजाका तालमा नाच्दै हातहातमा चिराग बालेर खट बोकी बालकुमारीमा ३२ खट ल्याएर भव्य रूपमा मनाउने परम्परा छ । तर केही वर्षयता भने २६ खटमात्र जात्रामा सहभागी हुने गरेका छन् ।  यो जात्रामा आज बिहानै बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालेको थियो । सोमबारदेखि विष्णुवीर र दक्षिण बाराहीको खटसमेत मन्दिरमा राखिएको थियो । बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरूसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु भएको थियो । जात्रा सुरु भएपछि पमाहरु हातहातमा चिराग अर्थात् बत्ती लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवताघर परिक्रमा गराइएको थियो । यसैगरी विष्णुवीर, सिद्धिकालीलगायत देवीदेवताको खट ल्याएर यो जात्रा मनाइएको छ ।  थिमिमा ३२ देवीदेवताका खट सहभागी रथ बोकेर टोलटोल परिक्रमा गराई परम्परागत रूपमा मनाउँदै आएको यो जात्रा अहिले थिमि क्षेत्रमाा २३ वटा, नगदेशमा एक, बोडेमा सात, टिगनीमा एक छुटाछुटै स्थानमा खटजात्राका साथ सिन्दुर जात्रा मनाइने गरेको छ ।  यसमा थिमिको बालकुमारी, दक्षिणवाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलवाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा सिन्दुर खेल्दै मनाइन्छ ।  जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ । जात्रामा काँयाबाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एकअर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानीय जात्रालुहरू रमाइलो गर्ने भएकाले पनि यसलाई केही वर्षयता सिन्दुर जात्रा पनि भन्न थालिएको छ ।  बालकुमारीबाट परम्परागत रूपमा सिद्धिगणेश, सिद्धिकाली र त्यसका गणहरूसहित क्वाछें द्यो, हिचो द्यों, अजिमा द्यों, विष्णुवीर र अन्य देवगणहरूको खट उचालेपछि बालकुमारीको जात्रा सुरु गरिएको छ ।  परम्पराअनुसार नै देवता लायकू दरबारभित्र पस्न नपाउन् भनेर लायकू प्रवेशद्धारमा पेंखा मुस्या, बालकुमारी, बालखुचा द्यों, सिद्धिकाली र अरु देवताका गणहरू बाटो छेकेर बस्ने परम्परा छ ।  खट जात्रा अगाडि बढाउँदै ल्याउने बालकुमारीलाई भैलः द्यों परिक्रमा गरी क्रमैसँग सुगां द्यों, क्वाछे द्योंमा पनि सिन्दुर खेल्दै परिक्रमा गराइन्छ । बालकुमारीलाई विभिन्न क्षेत्रको परिक्रमा गराई भव्य एवं उमङ्ग र उत्साहका साथ थिमिका बासिन्दाले सिन्दुर खेल्दै यो जात्रा मनाइएको छ । बिहानै सुरु भएको यो जात्रा मध्याह्नसम्म चल्ने छभने त्यसपछि बोडेमा जिब्रो छेड्ने जात्राको तयारी गरेर दिउँसो २ः०० बजे बोडेमा जिब्रो छेडेर जात्रा मनाउने गरिन्छ ।

काठमाडौं: सरकारी निकायका कार्यरत अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने भएका छन् ।           श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव डण्डुराज घिमिरेका अनुसार नयाँ वर्ष, २०८२ को पहिलो दिन राजपत्रमा सोसम्बन्धी सूचना प्रकाशित गरिएको छ ।       सरकारी कोष, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक  स्वामित्व भएका संस्थान, निगम, बोर्ड, प्राधिकरण, प्रतिष्ठानमा कार्यरतले सो योजनामा सहभागी हुन पाउने उहाँले जानकारी दिनुभयो ।       सामाजिक सुरक्षा कोषमा योगदानकर्ताका रुपमा सूचीकृत गरी त्यस्ता निकायमा कार्यरत कर्मचारीले खाइपाई आएको तलबको कम्तीमा ६० प्रतिशतलाई आधारभूत तलब मानेर सो योजनामा सहभागी हुन पाउने प्रबन्ध गरिएको छ ।  त्यसमा २० प्रतिशत रोजगारदाताले र ११ प्रतिशत योगदानकर्ताले जम्मा गर्नुपर्नेछ । सामाजिक सुरक्षा ऐन, २०७४ र सामाजिक सुरक्षा नियमावली, २०७५ बमोजिम उक्त निर्णय भएको राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ ।        गत चैत १५ गते सो निर्णय भएको भए पनि नयाँ वर्षको पहिलो दिन राजपत्रमा सूचना प्रकाशित भएसँगै कार्यान्वयनमा गएको छ । यसबाट सरकारी निकायका कार्यरत अस्थायी, ज्यालादारी कर्मचारीले राहत पाउनेछन् ।