काठमाडौं: सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीहरूबीच वार्तापछि ६ बुँदे सहमति भएको छ। बिहीबार अर्थ मन्त्रालयमा सम्पन्न छलफलमा सहमति जुटेसँगै व्यवसायीहरूले जारी आन्दोलन स्थगित गरेका छन्। सुनचाँदी व्यवसायी संघका प्रतिनिधि नरेन्द्र गुप्ताले सहमतिबारे जानकारी दिँदै शुक्रबारदेखि देशभर व्यवसाय निर्वाध रूपमा सञ्चालन हुने बताए। व्यवसायीहरू सुन तथा सुनका गहना विलासिता वस्तुको सूचीमा राखिएको विषयमा असन्तुष्ट थिए। उनीहरूको मुख्य माग नै यस विषयको पुनरावलोकन रहेको थियो। सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत सुन तथा हिरामा विलासिता कर लगाउने घोषणा गरेपछि व्यवसायीहरू आन्दोलित भएका थिए। केही दिनयता उनीहरूले देशभर पसल बन्द गरेर विरोध जनाउँदै आएका थिए। अब सहमतिपछि बजारमा सुनचाँदीको कारोबार पुन: सञ्चालनमा आउने विश्वास गरिएको छ। व्यवसायी पक्षले सरकारसँग तत्काल सहकार्य गर्दै व्यापार सहज बनाउने प्रतिवद्धता जनाएका छन्। यस्तो छ सहमति
काठमाडौं: काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक आज बस्दै छ । महानगरपालिकाका मेयर बालेन्द्र साहले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक आह्वान गरेका हुन् । सो अघि बिहान ११ः०० बजे बजेट स्रोत समितिको बैठक बस्नेछ भने उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बसाउने छिन् । कानुनी तथा औपचारिकता पूरा भए दिउँसो २ः०० बजेको कार्यपालिका बैठक बस्ने र सोही बैठकले नीति तथा कार्यक्रमसहित आगामी आर्थिक वर्ष २०८२(८३ को बजेट नगर सभामा पेस गरिनेछ । सोही कार्यपालिकाले नगर सभा बैठकले मिति नै तोकेर असार मसान्तभित्रै बजेट पास गर्ने तयारी मेयर साहले गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत र मेयर बिचको विवादका कारण महानगरको बजेट आउन सकेको थिएन ।
गुल्मी: कालीगण्डकी गाउँपालिका–६ खड्गकोटस्थित बरल्वामा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाका अनुसार सडकमाथिबाट ठूला चट्टानसहित पहिरो खसेको छ । त्यो क्रम रोकिएको छैन । अवरुद्ध सडक खोल्न प्रहरीचौकी भुर्तुङबाट प्रहरी टोली परिचालन भएको तर तत्काल पहिरो पन्छाउन असम्भव भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गंगाबहादुर सारुले जानकारी दिएका छन् । यसैबीच जिल्ला प्रशासन कार्यालयले नदी र खोला तटीय क्षेत्रका बासिन्दालाई बाढी र पहिरोबाट जोगिन सतर्कता अपनाउन आग्रह गरेको छ ।
सिरहा: आजभन्दा करिब १५ वर्षअगाडि अर्थात् २०६७ साल असार महिना हुँदो हो । एक दिन मध्यरात, लहान–१३ स्थित पक्की टोल गहिरो निद्रामा थियो । त्यसैबखत गाउँमा अचानक डाँकाहरूको समूह गाउँमा पस्यो । ढोका फोड्दै, मान्छे कुट्दै र धनमाल लुट्दै ताण्डव मच्चायो । त्यसको एक साक्षी हुन् अस्मिन राउत । ‘त्यो घटना वास्तवमै कहालिलाग्दो थियो । हुन त त्यस्ता कैयौँ त्रासदीपूर्ण रातहरू भोग्नुपर्यो हाम्रो बस्तीले, ती घटना सम्झिदाँ पनि नरमाइलो लाग्छ’, उनले भने । डकैतीका शृङ्खलाबद्ध घटना, गाउँमा भय । प्रहरीलाई खबर गरे पनि समयमै नपुग्ने । लहान बजारबाट यहाँ प्रहरी आउँदासम्म डाँकाहरू कुलेलम ठोकिसकेका हुन्थे । २०६७ सालको असार महिनामको त्यो डकैतीको घटनाले गाउँमा नयाँ मोड लियो । उक्त घटनापछि युवाहरू जागे, गाउँको सुरक्षाका लागि आवाज उठाउन थाले । ‘हो, त्यो घटना डरदाग्दो थियो, तर त्यही दिनबाट हाम्रो आँखा खुल्यो । त्यसपछि तत्कालीन गृहमन्त्री भीम रावलसमक्ष गाउँको दयनीय अवस्था प्रस्तुत गर्यौँ । स्थानीयको आग्रह र दबाबपछि तत्कालै पक्की टोलमा अस्थायी प्रहरी चौकी स्थापना गरियो’, राउतले भने, ‘प्रहरी चौकी स्थापना भएसँगै गाउँको अवस्था फेरियो । त्यसयता हामीले कुनै डकैतीको त्रास व्यहोर्नु परेको छैन । रातमा गहिरो निद्रा सुत्न पाएका छौँ ।’ त्यही घटनापछि लहानको ग्रामीण भेगमा पर्ने वडा नम्बर १३, १४ र २४ लाई पायक पर्नेगरी पक्की टोलमा अस्थायी प्रहरी चौकी बनेको थियो । त्यसले गाउँमा साँच्चै शान्ति फर्कियो । रात परेपछि ढोका थुनेर बस्नुपर्ने बाध्यता हट्यो । बालबालिका ढुक्कसँग बाहिर खेल्न थाले । महिलाहरू बिहान–साँझ खेतबारी जान थाले । गाउँलेमा पुनः आत्मविश्वास आयो । डकैतको त्रास मेटिएपछि गाउँमा शान्ति त फर्कियो । समयसँगै समुदाय र प्रहरीबीचको सम्बन्ध पनि गहिरिँदै गयो । तर जीर्ण भवनबाट प्रहरीका लागि सेवा प्रवाह सहज थिएन । बर्सातमा पानी चुहिने, हिउँदमा धुलोले भरिने समस्या थियो । त्यसपछि गाउँलेहरूले नयाँ प्रहरी भवनको आवश्यकता महसुस गरी स्वतःस्फुर्त रूपमा नयाँ भवन निर्माणको अभियान सुरु गरे । त्यसका लागि चन्दा सङ्कलन अभियान सञ्चालन थाले । त्यो अभियान प्रभावकारी बन्दै गयो । गाउँलेहरूले सकेको आर्थिक तथा भौतिक सहयोग गरे । विदेशमा रहेका गाउँका व्यक्तिहरूले पनि दिल खोलेर सहयोग गरे । सामूहिक प्रयासकै परिणामस्वरूप निर्माण भयो—पाँचकोठे पक्की प्रहरी भवन । त्यही भवनको बुधबार एक विशेष कार्यक्रमबीच लहान नगरप्रमुख महेशप्रसाद चौधरी र मधेश प्रदेशका प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले संयुक्त रूपमा उद्घाटन गरे । सुविधासम्पन्न प्रहरी चौकीको भवन बनेसँगै पक्की टोलवासीको खुसीको सीमा छैन । शान्तिसुरक्षा र अमनचयनको अनुभूति उनीहरूको हरेक अभिव्यक्तिमा झल्किन्छ । गाउँको परिवर्तनको कथा सुनाउँदै ७४ वर्षीया लक्ष्मीदेवी अधिकारी भन्छिन्, ‘पहिले गाउँमा प्रहरी नहुँदा घुर बालेर रातभर डाँका कतिबेला पो आउँलान् भनेर रोडमै जाग्राम बस्नु पर्दथ्यो । त्यो दुःख सम्झेर उदेक लाग्छ । अहिले त ढुक्कले बस्न पाइएको छ ।’ उहाँले सुनाएअनुसार एक समय त यस्तो आयो, डाँकाहरू गाडीमै आएर गाउँ लुट्थे । प्रहरी आउँदासम्म सबै भागिसकेका हुन्थे । ‘धनमाल दिएन भने कुट्थे, कतै त मार्नेसम्म पनि गर्थे । दसैँजस्ता चाडबाडमा छोरा–नातिहरू घर आउँदा पनि डाँकाको डरले दुई दिन नबसी सहर फर्किन्थे । हामी बूढाबूढी मात्रै गाउँमा, युवाहरू बाहिर’ अधिकारी विगत सम्झिँदै भन्छिन्, ‘प्रहरी त हाम्रो लागि भगवानजस्तै भएर आएका हुन् बाबु । यही भएर गाउँलेहरू जीउधन लगाएर यो भवन बनाउन जुटे । अब चौकीमा दुई जना महिला प्रहरी पनि भए सहज हुन्थ्यो ।’ लक्ष्मीदेवी अधिकारीको भनाइ केवल विगतको पीडा होइन, यो सुरक्षा प्राप्तिको खुसी र सामुदायिक सफलताको आत्मगौरव पनि हो । गाउँमा सुरक्षाको सुनिश्चिततासँगै समुदाय–प्रहरी सम्बन्ध अझ मजबुत भएको छ । यही सन्दर्भमा स्थानीयले भन्दै थिए, ‘वास्तवमै प्रहरी मेरो साथी भन्ने नारा प्रचारका लागि मात्रै रहेन, यो त व्यवहारमै लागू भएको छ ।’ यहाँ सुरक्षाको व्यवस्थापछि धेरै कुरा बदलिदिएको छ । कुनै समय प्रहरीसँग पनि डराउने यहाँको समाज अचेल प्रहरीलाई साथी, अभिभावक र सहारा मान्छन् । दुःख होस् या सुख, हरेक क्षणमा प्रहरी स्थानीयले सबैभन्दा पहिले सम्झिने आधार भनेको छ । भवन निर्माण समितिका अध्यक्षसमेत रहेका समाजसेवी राउतका अनुसार स्थानीय जनताबाटै करिब २५ लाख रुपैयाँ सङ्कलन भएको थियो । गाउँलेहरूले सकेको आर्थिक, श्रम र भौतिक सहयोग गरेका थिए । उनले भने, ‘भवन निर्माणमा लहान नगरपालिका र मधेश प्रदेश सरकारको पनि केही आर्थिक सहयोग रह्यो । यही संयुक्त प्रयासले सुविधासम्पन्न पक्की भवन निर्माण सम्भव भएको हो । त्यसैले यो भवन केवल इँटा र गारो मात्रै होइन, समाजको एकता, इच्छाशक्ति र प्रहरीप्रति विश्वासको जीवित प्रतीक पनि हो ।’ भवन उद्घाटन समारोहका प्रमुख अतिथि लहान नगरप्रमुख चौधरीले स्थानीयवासीको एकता, सहयोग र प्रतिबद्धता प्रशंसनीय रहेको बताए । उनले भने, ‘समाजका अगुवाहरूले जग्गादान र चन्दा सङ्कलन गरेर यो भवन निर्माण गर्नुभएको छ, जुन यस क्षेत्रका लागि वरदान साबित भएको छ । यहाँका जनताले प्रहरीप्रति विश्वास राखेकाले शान्तिसुरक्षाको प्रत्याभूति गर्ने आधार पनि बनेको छ ।’ प्रहरी नायब महानिरीक्षक चतुर्वेदीले समुदाय र सुरक्षाकर्मीबीचको सहकार्य अपराध न्यूनीकरणका लागि निर्णायक आधार भएको बताए । प्रहरी सङ्गठन समुदायमैत्री सेवामा प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले समुदायसँगको सम्बन्धलाई केवल सुरक्षाको सवाल मात्र नभई विश्वास, सहभागिता र उत्तरदायित्वको सम्बन्धका रूपमा आफूले हरेको बताए । कार्यक्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले प्रहरीलाई नागरिक र सरकारबीचको महत्त्वपूर्ण कडीका रूपमा चित्रण गर्दै भने, ‘शान्ति सुव्यवस्थाका लागि प्रहरी सबैभन्दा नजिकको सरकारी संयन्त्र हो । यस भवन निर्माणले नागरिक र सुरक्षाकर्मीबीच सुमधुर सम्बन्धलाई थप मजबुत बनाउने छ ।’ जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक अनन्तराम शर्माले समुदायसँगको सहकार्य शान्तिसुरक्षाको स्थायित्व र जनविश्वासको बलियो आधार भएको धारणा राखे ।
बाँके: बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका–५ गोरधुईस्थित राप्ती नदिमा फसेका तीन जनाको सकुशल उद्धार गरेको छ । गाईवस्तु चराउन गएका उनीहरु राप्ती नदिमा एक्कासी आएको बाढीका कारण नदिको बिच टापुमा फसेका थिए । सोबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं। ४२ रिजर्भ शंम्शेरगंज बाँकेबाट खटिएको गोताखोरसहितको सुरक्षा फौजले बुधबार सकुशल उद्धार गरेको सशस्त्रका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । उद्धार गरिएकाहरुमा सोही गाउँपालिका–५ बस्ने ५२ वर्षीय मानसिंह धामी, ६९ वर्षीय लीलबहादुर खत्री र ५० वर्षीय ससु वली छन् । उनीहरुको अवस्था भने सामान्य रहेको छ ।
मुस्ताङ: उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पुर्याएको क्षतिको प्रारम्भिक अनुगमनका लागि अनुगमन सुरु भएको छ । लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, उपाध्यक्ष छ्युमी बिष्ट, प्रमुख प्रशासकीय अधिकृत विकास केसी, गाउँपालिकाका प्राविधिक टोली, पाँचवटै वडाका वडाध्यक्ष तथा सदस्यलगायत नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षा प्रतिनिधिहरूले संयुक्त रूपमा बाढीले त्यहाँ पुर्याएको क्षति यकिन गर्न बुधबार अनुगमन गरेका छन् । बाढीले तीनवटा पक्की पुलसहित गाउँपालिकाको शाखा सडकमा कुल सातवटा पुलमा क्षति पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केसीले जानकारी दिनुभयो । यसबाट रु डेढ करोडभन्दा बढी नोक्सान भएको अनुमान गरिएको उहाँले बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत केसीका अनुसार मङ्गलबार साँझ लोमान्थाङ–४ चुम्जुङस्थित छुआमा खोलाको बाढीले आर्का–भार्सा जोड्ने पक्की पुलसहित तीनवटा पक्की मोटरेबल पुल, एक फलामे पुल र तीनवटा काठेपुलमा पूर्ण क्षति पुगेको छ । बाढीले सडक पुलहरूमा क्षति पुगे पनि मानवीय तथा पशुचौपायामा कुनै क्षति नपुगेको जनाइएको छ । अध्यक्ष गुरुङले लोमान्थाङ गाउँपालिकाभित्रको रिङरोड सडक र अन्य शाखा सडक जोड्ने पक्की पुल र अस्थायी पुलमा क्षति पुगेको बताउनुभयो । बाढीले पुलहरुमा क्षति पुगेपछि रिङरोड सडकको सवारी आवागमन अवरुद्ध रहेको उहाँले बताउनुभयो । उपल्लो मुस्ताङको लोमान्थाङ–४ स्थित चुम्जुङ गाउँ नजिकैको छुआमा खोलामा अकल्पनीय बाढी हिमताल फुटेका कारण आएको हुनसक्ने आशङ्का गरिएको छ । पानी नै नपर्ने भनेर चिनिएको हिमाली जिल्ला मुस्ताङमा बाढी आउँदाको समय त्यस क्षेत्रमा वर्षा नभएको लोमान्थाङ गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो । “हामीले बाढी आउँदा त्यस स्थान र मुहानको लेकमा मौसमी अवस्था कस्तो थियो भनेर स्थानीयसँग जानकारी लियौँ, उनीहरूले त्यस क्षेत्रमा पानी नपरेको जनाएका छन्”, अध्यक्ष गुरुङले भन्नुभयो, “यसरी एकाएक बाढी आउनुको एउटै कारण हुनसक्छ, त्यो हो हिमताल फुट्नु ।” लोमान्थाङ(२ छोसेरस्थित नेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट ९बिओपी०का सशस्त्र प्रहरी निरीक्षक विष्णुहरि थापाले बाढी आउनाका कारण पत्ता लगाउन गएको टोली चुम्जुङबाट फर्किएको जानकारी दिनुभयो । चुम्जुङस्थित छुआमा खोलाको मुहान भएको लेकमा हिमतालहरू रहेको यार्सा सङ्कलन गर्नेहरूले बताएका उहाँको भनाइ छ । “यहाँ बाढी आउनाको मुख्य कारण हिमपात नै फुटेर हो कि भन्ने हाम्रो अनुमान छ, बाढी आउँदा मुहानको लेकमा पानी परेको थियो भनेर जानकारी आइसकेको छैन”, उहाँले भन्नुभयो । यहाँको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले उपल्लो मुस्ताङका शाखा नदीहरूको मुहानमा दर्जनौँ हिमताल रहेको जानकारी दिनुभयो । उहाँले जलवायु परिवर्तनका कारण जमिनको तापमान वृद्धि भइरहेकाले उच्चलेकमा रहेका हिमालका हिउँका ढिस्का खसेर हिमपातमा क्षति पुर्याउने सम्भावना रहेको उल्लेख गर्नुभयो ।
पोखरा: पोखराका पत्रकार रुद्र श्रीस मगरलाई राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८२ अर्पण गरिने भएको छ । नेपाल मगर पत्रकार संघका केन्द्रिय उपाध्यक्ष तथा राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८२ छनौट समितिका संयोजक एमबी आस्था मगरको संयोजकत्वमा गठिन ५ सदस्यीय समितिले श्रीस मगरलाई पुरस्कार अर्पण गर्न सिफारिस गरेको थियो । मगर पत्रकार संघ कास्कीको आयोजना र राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति नेपालको सहकार्य साउन १ गरिने कार्यक्रममा उनलाई पुरस्कार प्रदान गरिने मगर पत्रकार संघका कास्कीका अध्यक्ष सुरज थापा मगरले जानकारी दिए । उनका अनुसार राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्धारा स्थापित पुरस्कार राशी यसपटक १५ हजार रुपैयाँ पु¥याइएको छ । उक्त पुरस्कार मगर जातिको भाषा, कला, धर्म, रितीरिवाज तथा संस्कार– संस्कृति र कौराहा संरक्षण र प्रवद्र्धनको क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारहरुलाई वार्षिक रुपमा प्रदान गर्दै आएको छ । २०७५ सालमा स्थापना भएको पुरस्कारबाट यसअघि कमला राना मगर (नवलपुर), तिलक पुन पुर्जा (कास्की), प्रताप राना मगर (तनहुँ), ‘एमबी आस्था’ (कास्की), मनोज घर्ती मगर (कास्की), खेम सारु मगर (पाल्पा) र सारदा झेंडी मगर (नवलपुर) पुरस्कृत भइसकेका छन् । यस वर्ष पुरस्कृत हुन लागेका श्रीस मगर विगत १९ वर्षदेखि पत्रकारिकतामा सक्रिय छन् । २०६३ सालमा पृथकयात्रा साहित्यिक द्धैमासिक पत्रिकाबाट पत्रकारिता सुरु गरेका श्रीस अहिले पोखराको फेवा टेलिभिजनको कार्यकारी सम्पादक र कास्की आवाज दैनिकका सम्पादकमा कार्यरत छन् । पत्रकार श्रीस मगर यसअघि जगनान्थ सिग्देल स्मृति युवा प्रोत्साहन पत्रकारिता पुरस्कार, तीर्थसागर सुवेदी स्मृति पत्रकारिता पुरस्कार, कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार र मगर सांस्कृतिक पत्रकारिताबाट सम्मानबाट सम्मानित भइसकेका छन् । उनी आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीको इन्चार्ज र नेपाल मगर पत्रकार संघका केन्द्रिय उपमहासचिवमा छन् ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीबाट त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा सिफारिस भएकामध्येबाट प्रा डा दीपक अर्याल नियुक्त गर्नुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वको गठित सिफारिस समितिले यही असार २३ गते प्रधानमन्त्री एवं कुलपति ओलीसमक्ष उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरेको थियो । समितिले वर्णानुक्रमअनुसार हालका निमित्त उपकुलपति प्रा डा खड्ग केसी, त्रिविको विज्ञान सङ्कायका पूर्वडीन प्रा डा विनिल अर्याल र जल तथा मौसम केन्द्रीय विभागका पूर्वप्रमुख डा दीपक अर्याललाई सिफारिस गरेको थियो । उपकुलपति प्रा डा केशरजङ्ग बरालले दिनुभएको राजीनामा गत चैत २८ गते स्वीकृत भएपछि गत चैत ३१ गते विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले शिक्षाध्यक्ष केसीलाई पदपूर्ति नभएसम्मका लागि बढीमा तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिनुभएको थियो ।
काठमाडौं: नेपाल प्रहरीले रसुवामा मङ्गलबार आएको बाढीपछि बेपत्ता भएका १९ जनाको खोजीकार्य आज बिहानैदेखि जारी रहेको जनाएको छ । रसुवाबाट बगाएका व्यक्तिको शव चितवनमा फेला परेपछि त्रिशूली नदी किनार तथा नारायणी नदीसम्म तथा विभिन्न जिल्लामा खोजी जारी रहेको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिनुभयो । उहाँले रसुवा, नुवाकोट, धादिङ, चितवन तथा नवलपरासीसम्मका नदी किनार क्षेत्रमा खोजीका लागि प्रहरी टोली परिचालन गरिएको उल्लेख गर्नुभयो । उहाँका अनुसार रसुवाबाट बाढीमा परी बेपत्ता भएका प्रहरीका असई लालबहादुर श्रेष्ठको शव मङ्गलबार साँझ चितवनमा फेला परेको थियो । प्रवक्ता थापाले बाढीले बगाएर तलसम्म शव लगेको आशङ्कामा खोजी जारी रहेको बताउँदै बाढीमा परेर मृत्यु भएकाहरूको सनाखतको काम पनि अघि बढाइएको जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म उक्त बाढीमा परी मृत्यु भएका नौमध्ये पाँच जनाको मात्रै सनाखत गर्न सकिने अवस्थामा शव छन् । चार वटा मानव अङ्गमात्रै फेला परेको बताउँदै उहाँले ती शवको भने डिएनए परीक्षण आवश्यक रहेको बताउनुभयो । प्रवक्ता थापाका अनुसार अझै दुई प्रहरी, छ चिनियाँ नागरिक र ११ जना सर्वसाधारण बेपत्ता छन् । “बाढीले ६४ वटा सवारीसाधन, मितेरी पुल बगाएको छ भने भौतिक सम्पत्तिमा ठूलो क्षति गराएको छ । बाढीका कारण यकिन भइसकेको छैन तर मौसमविद्हरूले माथिल्लो क्षेत्रमा रहेको हिम पोखरीहरू फुटेका हुनसक्ने आशङ्का गरेका छन”, उहाँले भन्नुभयो । मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखा प्रमुख विनोद पराजुलीले बाढीका कारण पत्ता लगाउन अध्ययन भइरहेको जानकारी दिनुभयो । उहाँले ठूलो वर्षा नभइकन यसरी बाढी आएकाले यसबारे विस्तृत रूपमा अनुसन्धान भइरहेको बताउनुभयो ।