काठमाडौं: सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ । पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागू गर्न लागिएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थले सबै मन्त्रालय, नेपाल राष्ट्र बैङ्क, नेपाल बिमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सबै सार्वजनिक संस्थान, बोर्ड समिति, प्रतिष्ठानलाई पत्राचार गरेर योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्न भनेको छ । आगामी आवदेखि नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्नका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको छ । सो प्रणाली लागू नगरेका कारण सिर्जना हुने दायित्व सरकारले नबेहोर्ने जानकारी गराइएको छ । सरकारले कर्मचारी, मजदुर तथा अन्य व्यक्तिलाई सामाजिक सुरक्षा प्रदान गर्न योगगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ तथा सरकारी कर्मचारीका लागि निवृत्तीभरण कोष ऐन २०७५ कार्यान्वयनमा ल्याएको छ । सरकारले २०७५ सालदेखि सरकारी कर्मचारीका लागि योगदानमा आधारित निवृत्तिभरण प्रणाली लागू गरिसकेको छ । कतियप नियामक निकाय, संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानमा पेन्सन, उपदान सुविधा प्रदान गर्ने प्रचलन कायम रहेको छ । सरकारले अबलम्बन गरेको नीति अनुसार सार्वजनिक प्रतिष्ठानबाट कर्मचारीको अवकाशपछिको दीर्घकालीन दायित्व भुक्तानीका लागि आवश्यक व्यवस्था नगर्दा घाटामा रहेका तथा आफ्नै स्रोत नभई सरकारकै स्रोतमा निर्भर रहनुपर्ने निकायले दीर्घकालीन दायित्व सिर्जना गरिरहेको देखिएको छ । अर्थमन्त्रीस्तरीय यही असार २० गतेको निर्णयअनुसार सो निर्णय भएको र कार्यान्वयनका लागि पत्राचार गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
पोखरा: देशभरका सुनचाँदी व्यवसायीहरुले एकसातादेखि पसलमा ताला लगाएर सुनचाँदीमा लगाएको ‘विलासी कर’ को खारेजी माग राखेर विरोध गरिरहेका छन् । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र सुनचाँदी व्यवसाय महासंघ गण्डकी प्रदेशले सयुक्त रुपमा आज पोखरामा पनि विरोध प्रदर्शन समेत गरेका छन् । सुनचाँदी व्यवसायीहरुले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सरकारले सुनचाँदीमा ‘विलासी कर’ लगाएको भन्दै छाता ओढेरै नाराबाजीसहित शुक्रबार व्यवसायीहरूले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र हिरा पत्थरमा १३ प्रतिशत भ्याट खारेज, सुनको भन्सार ६ प्रतिशत कायम र सुनचाँदी कारोबारको लागि प्रस्ट नीति,नियमावली निर्माण गर्न माग गरेका छन् । सुनचाँदी व्यवसायीहरुको आन्दोलनमा आज गण्डकी प्रदेशका ९ जिल्लाका समिति, पोखरा उद्योग वाणिज्य संघ र उपभोक्ता मञ्चले समेत सहभागिता जनाएका थिए । पोखराको लखनचोक (पृथ्वीचोक)बाट सुरु भएको विरोध र्याली सभागृहचोक, न्युरोड, चिप्लेढुङ्गा मानवअधिकार चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
गलकोटः विसं २०७३ मा स्थापना भएको काठेखोला गाउँपालिकाले स्थापनाको नौ वर्षपछि सर्वसम्मत रूपमै गाउँपालिकाको केन्द्र टुङ्ग्याएको छ । काठेखोला गाउँपालिकाका सबै राजनीतिक दलको सहमतिपश्चात बसेको १७औँ गाउँसभाको तेस्रो बैठकले सर्वसम्मत रूपमा पालिकाको भवन बनाउने स्थानको टुङ्गो लगाएको हो । बागलुङका १० पालिकामध्ये नौ पालिका आफ्नै भवनमा रहँदा बागलुङको काठेखोला गाउँपालिकाको केन्द्र विवादले गर्दा प्रशासकीय भवन निर्माण हुनसकेको थिएन । भवनका निर्माणका लागि स्थान छनोटमा सहमति नजुट्दा अहिलेसम्म गाउँपालिका भाडाकै घरमा सञ्चालनमा हुँदै आएको छ । काठेखोला गाउँपालिका–२ अक्षते र वडा नं ६ को सुल्डाँडा स्थानीय जग्गा उपलब्ध गराउन राजी भए पनि निर्वाचित जनप्रतिनिधिको मत बाँझिदा समस्या भएको थियो । यही असार १० गते १७औँ गाउँसभाको दोस्रो बैठकमा पालिकाको केन्द्र टुङ्ग्याएर भवन बनाउने विषयमा मतदानसमेत भएको थियो । मतदानका क्रममा समेत अक्षते र सुलल्डाँडा कुनै पनि ठाउँका लागि दुईतिहाइ मत प्राप्त हुन सकेन । अक्षतेमा प्रशासकीय भवन निर्माण गर्न १५ जना र सुल्डाँडामा बनाउनुपर्छ भन्ने पक्षमा २५ मत परेको थियो । ४३ जना कार्यपालिका रहेको काठेखोलामा दुई जना अनुपस्थित थिए । बहुमत नपुगेपछि असार १८ गते सर्वदलीय बैठक बसेर पालिकाको प्रशासनिक केन्द्र अछेते र सुल्डाँडालाई मान्ने र पालिकाको भवन काठेखोला गाउँपालिका–६ स्थित आमपाटामा निर्माण गर्ने सहमतिपश्चात बिहीबार बसेको १७औँ गाउँसभामा सर्वसम्मत रूपमा पास भएको गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिए। ‘स्थापनाको नौ वर्षमा गाउँपालिकाको भवन निर्माण गर्ने स्थानको टुङ्गो लागेको छ, आमपाटामा स्थानीयले छ रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन्, आगामी वर्ष पालिकाको भवन निर्माण गर्न थालिन्छ’, अध्यक्ष थापाले भने, ‘राजनीतिक दलको एकताका कारण निर्वाचनपछि समेत नटुङ्गिएको भवन निर्माणस्थल सर्वसम्मतिमा टुङ्गो लागेको हो, पालिकाले अहिले मासिक रु ६० हजार तिरेर सुल्डाँडाबाट सेवा दिँदै आएको छ ।’ गाउँपालिकाले सुल्डाँडाका आधा दर्जन घर भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको छ । पालिकाको आफ्नै भवन नहुँदा हरेक वर्ष रु सात लाख बढी घरभाडा तिर्दै आएको छ । बागलुङका अन्य नौ पालिकाले आफ्नै भवन बनाइसकेका छन् ।
भरतपुर: बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा परी ज्यान गएको छ । यो बिहीबार रातिको घटना हो । चितवन जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार रत्ननगर नगरपालिका–८ चित्रसारी का २७ वर्षीय अभिषेक माझीको मृत्यु भएको हो । बिहीबार राति एक जना साथीका साथ माछा मार्न गएका थिए ।
सुर्खेत: जाजरकोटको कुशे गाउँपालिका-३ तर्पेनामा एकै घरका दिदी र बहिनीको ढुङ्गा लागेर मृत्यु भएको छ । बिहीबार बेलुकी नौ बजे टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको मृत्यु भएको वडाध्यक्ष वीरबहादुर बुढाले जानकारी दिनुभयो । नियमित पानी परिरहेकाले समस्या भइरहेको उहाँले जानकारी दिनुभयो । नरबहादुर बुढाकी दुई छोरी बाख्रा हेरचाहका लागि भूकम्पपीडितका लागि निर्माण भएको अस्थायी टहरामा सुतिरहेको समयमा माथिबाट ढुङ्गा खसेर लाग्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष बुढाले जानकारी दिनुभयो । प्रहरीसमेत घटनास्थलमा पुगेर जानकारी लिएको प्रहरी जवान महेश सिंहले बताउनुभयो ।
पोखरा: जनप्रकाश बहुमुुखी क्याम्पस अल्मुनाइ एशोसिएसनद्वारा आयोजित रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आया्ेजना गरेको जनप्रकाश क्याम्पस अल्मुनाइ एशोसिएसनका अध्यक्ष पदम थापाले जानकारी दिनुभयो कार्यक्रमका प्रमुख अतिथि जनप्रकाश बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष विजयराज भण्डारीले पहिलो रक्तदाता हरिश्चन्द्र पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरेर उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि भण्डारीले रक्तदान जीवनदान भएको बताउँदै संस्थाको कार्यको प्रशंसा गर्नुभयो । जनप्रकाश क्याम्पस अल्मुनाइ एशोसिएसनका अध्यक्ष पदम थापाको सभापतित्व एवम् सचिव कमल थापा मगरले सञ्चालन गर्नुुभएको कार्यक्रममा सदस्य सशिश भट्टराईले स्वागत गर्नुुभएको थियो । कार्यक्रममा जनप्रकाश बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ऋषिराम बुढाथोकी, रक्त सञ्चार केन्द्रका प्राविधिक महेन्द्र केसी, लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेल लगायतले रक्तदानको महत्व लगायतका विषयमा बोल्नुभएको थियो ।
पोखरा: गण्डकी प्रदेश सरकारले युवाहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालित सीपमूलक तालिम कार्यक्रम प्रभावकारी रूपमा अघि बढेको छ । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा आव २०८१ र ०८२ मा ३८ वटा तालिम सञ्चालन भइसकेका छन्, जसमा ७८७ जना सहभागी भएको जानकारी गराइएको छ । पछिल्लो ३ महिनामा मात्रै २०४ जना सहभागी १० वटा तालिम पूरा गरी अब व्यवसायिक यात्राको सुरुवातमा छन् । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले आयोजित समापन कार्यक्रममा सहभागी हुँदै आगामी वर्षमा १४ सयभन्दा बढी युवालाई व्यावसायिक तालिम दिने योजनाबारे जानकारी गराए । सीप सिकेर स्वदेशमा नै उद्यम गर्न चाहने युवालाई प्रदेश सरकारले सिट मनीको व्यवस्था गरेको जानकारी उनले गराए । आव २०८२ र ०८३ को बजेटमा उक्त व्यवस्था गरिएको भनाई उनको छ । आर्थिक कमजोर भएकालाई प्रदेश सरकारको साथ रहने उनले उल्लेख गरे । बैंकबाट समेत सस्तो ब्याजमा ऋण उपलब्ध गराउन प्रदेश सरकारले नै सिफारिस गरिदिने व्यवस्था गरिएको उनले जानकारी गराए । उनका अनुसार काम गरेर सानो कोहि हुँदैन श्रमको सम्मान गर्न जान्ने व्यक्ति नै अगाडि बढ्छ । समापन कार्यक्रममा बोल्दै युवा प्रशिक्षार्थी पुष्पा पहारीले तालिमले आफूजस्ता आर्थिक रूपमा कमजोर पृष्ठभूमिका युवाहरुलाई आशा र विश्वास दिएको बताइन्। उनले भनिन्, “केही बन्छु, केही गर्छु भन्ने आत्मविश्वास जागेको छ। आधुनिक सिकाइ प्रविधिबाट सिक्ने मौका पाएको छु। अब सिकेको सीपलाई राम्रो ठाउँमा लगानी गर्नेछु।” कार्यक्रममा व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पोखराका नि.केन्द्र प्रमुख डिल्लीराज सुवेदीले तालिम उत्साहजनक रूपमा सम्पन्न भएको बताए । स्वावलम्बी बन्ने यात्रामा तालिमले टेवा पुग्ने विश्वास उनको छ । उनले पछिल्लो ३ महिने तालिममा मोबाइल मर्मत, प्लम्बिङ, सिलाई–कटाई, ब्युटी पार्लर, फेसन डिजाइन, सैलुन, मण्टेश्वरी, कुक ९बिहानी÷दिवा०, र एडभान्स कटाई–सिलाईजस्ता १० थरिका व्यावसायिक तालिम उपलब्ध गराइएको जानकारी गराए । गण्डकी प्रदेश सरकारले आगामी वर्षमा अझ धेरै युवाहरूलाई लक्षित गर्दै सीप आधारित कार्यक्रमहरू विस्तार गर्ने जनाएको छ । आत्मनिर्भर युवा निर्माणमार्फत समाजको आर्थिक आधार बलियो बनाउने लक्ष्य सरकारको रहेको छ ।
पर्वत: पर्वत, स्याङजा र गुल्मीको सङ्गम स्थलमा रहेको विश्वकै ठुलो शालिग्राम शिला विगत एक महिना यता डुबानमा परेको छ । मनसुन सुरु भएसँगै कालीगण्डकी नदीको सतह बढेका कारण शालिग्राम शिला डुबानमा पर्नुका साथै आसपासका संरचनासमेत भत्किएर जोखिममा परेको छ । शिलामा जाने बाटो, नजिकै रहेको सत्तल र परिक्रमा स्थल डुबिसकेको शालिग्राम विद्याश्रमका संरक्षक कुलराज तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार जेठ अन्तिम सातादेखि नै शालिग्राम शिला डुबानमा परेको हो । यतिबेला नियमित वर्षा भएकाले कालीगण्डकीमा पानीको सतह ह्वात्तै बढेको छ । शिला डुबानमा परेसँगै उक्त क्षेत्रमा कार्यरत पुजारी तथा पण्डितसमेत विस्थापित बनेका छन् भने नियमित पुजापाठ र दर्शन गर्न आउने भक्तजन पनि शालिग्राम शिला दर्शन गर्नबाट बञ्चित बनेका छन् । सेतीवेणीमा मिसिने सेतीखोलाको बहाव र कालीगण्डकी उच्च बहावले शिला परिक्रमा स्थलसमेत पूर्णरुपमा क्षतविक्षत बनेको स्थानीय तिलक पराजुलीले बताउनुभयो । पवित्र शालिग्राम शिलासँगै शालिग्राम क्षेत्रका सत्तल लगायतका सबै संरचना डुबानमा परेका छन् । शिला संरक्षणका लागि बनाएको तटबन्ध र ग्याबिन जालीसमेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जान रोक लगाइको छ । कालीगण्डएकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा पर्ने सेतीबेणीबजार डुबानको खतरामा पर्ने गरेको हो । कालीगण्डकी र सेतीखोलाको बहाव बढेसँगै सेतीबेणीबजार डुबानमा पर्ने चिन्ताले पर्वतमा पर्ने बजार क्षेत्र र स्याङ्जाको गल्याङ नगरपालिका वडा नं ५ तर्फको बजार क्षेत्रका झण्डै २०० व्यापारी तथा सर्वसाधरण त्रसित बनेका छन् । गत वर्ष साउनमा आएको बाढी बजारसम्म पुगेपछि एक घर भत्किनुका साथै आधा दर्जन घर विस्थापित बनेका थिए । कालीगण्डकी नदीलाई बहाव परिवर्तन नगरेसम्म जोखिम कायमै रहिरहने गल्याङ–५ का अध्यक्ष घनश्याम भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार गुल्मीतर्फबाट बहाव लगेर शालिग्राम शिलाको संरक्षण गर्नुपर्ने उहाँको माग रहेको छ । शालिग्राम शिला अवस्थित स्थानको नजिकमा रहेको स्याङ्जाको गल्याङ नगरपालिका, पर्वतको विहादी गाउँपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिकाले आवश्यक समन्वय गरेर सेतीवेणी क्षेत्रको संरक्षण गर्नुपर्ने विहादी गाउँपालिकाका अध्यक्ष प्रविन गुरुङले जानकारी दिनुभयो ।
झापा: झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार हात्तीको आक्रमणबाट ५९ वर्षीय लोकप्रसाद लिम्बूको मृत्यु भएको हो । बिहीबार बिहान शौचालय जान घरको आँगनमा निस्किएका उनलाई हात्तीले आक्रमण गरेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।