काठमाडौं: दसैँमा नयाँ नोट खोज्नेहरूलाई मध्यनजर गर्दै असोज आइतबारदेखि सुकिला नोट वितरण सुरु भएको छ । नेपाल राष्ट्र बैङ्कले दसैँका लागि भनेर भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट वितरण गर्न लागेको हो । नेपाल राष्ट्र बैंकले यसअघि आजदेखि सुकिला नोटको वितरण सुरु गर्ने भने पनि यही बीचमा देशमा राजनीतिक सङ्क्रमणको अवस्था देखिएकोले नोट वितरण हुन्छ कि हुँदैन भन्ने अन्योल थियो । तर, राष्ट्र बैङ्क तथा बैंकहरूको भौतिक अवस्थामा धेरै क्षति नपुगेकोले तोकिएको समयदेखि नै नोट सहटी गर्नसक्ने अवस्था रहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितले जानकारी दिए । ‘हामीले नयाँ कुनै निर्णय गरेका छैनौँ, सहज रूपमै वितरण गर्न सकिन्छ कि भन्ने हामीलाई लाग्छ,’ उनले भने । दसैँमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैङ्कको थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग प्रदेशस्थित कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । साथै बैङ्क तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट समेत सुकिला नोट सटही गर्ने व्यवस्था मिलाइएको छ । पाँच रुपैयाँ दरको नोट भने नयाँ वितरण हुनेछ । ग्राहकले आफ्नो खाता रहेको बैङ्क वा पायक पर्ने नजिकको बैङ्क तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैङ्कमा गई नोट सटही गर्न सक्ने राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभागले जनाएको छ । अघिल्लो वर्षदेखि सुकिला नोट बाँड्न थालेको आएको राष्ट्र बैङ्कले यसपालि पनि यसैलाई निरन्तरता दिने भएको छ । बैङ्कले नयाँ नोट सटही गर्दा खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको हो । नयाँ नोटको सट्टा सुकिला नोट बाँड्दा वार्षिक झन्डै १ अर्ब ३० करोड रुपैयाँ बचत हुने राष्ट्र बैंकको अनुमान छ ।
बागलुङ: राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवसका अवसरमा समस्त नेपाली बालबालिका तथा अभिभावकहरूमा शुभकामना व्यक्त गर्नुभएको छ । नेपालले बाल अधिकारसम्बन्धी महासन्धी अनुमोदन गरेको दिनलाई आधार मानी हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ । यस वर्षको बालदिवसका नारा ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने रहेको छ । राष्ट्रपति पौडेलले सन्देशमा बाल दिवसले बालबालिकाका लागि शिक्षा, स्वास्थ्य, सुरक्षा एवम् विकासमा ध्यान दिँदै आवश्यक लगानीको सुनिश्चितता प्रदान गर्ने अपेक्षा गरिएको बताउनुभएको छ । सन्देशमा भनिएको छ, “नेपालको संविधानले मौलिक हकका रूपमा बालबालिकाको हकलाई सुनिश्चित गरेको छ । बालबालिकाका सम्बन्धमा व्यवस्था गरिएका राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा संवैधानिक कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न सरकारी तथा गैरसरकारी निकाय, नागरिक समाज, अभिभावक, विद्यालय एवम् अन्य सरोकारवाला निकायहरूको एकीकृत र समन्वयात्मक भूमिका आवश्यक रहन्छ । बालबालिकाको हितलाई प्राथमिकतामा राखी समाज र राज्यलाई सचेततापूर्वक कार्यसम्पादन गर्न यस दिवसले उत्प्रेरणा प्रदान गर्ने विश्वास गर्न सकिन्छ ।” उहाँले अझै पनि केही बालबालिका आफ्नो अधिकारबाट वञ्चित भएको कुरा सुन्नमा आउँछ, तसर्थ विभिन्न कारणले बालबालिकामा पर्ने असरतर्फ सबैको ध्यान आकृष्ट हुनु जरूरी छ भन्नुहुँदै बालबालिकामाथि हुने सबै किसिमका अमानवीय व्यवहार, हिंसा तथा दुर्व्यवहार रोक्नु सम्बन्धित सरोकारवालाहरूको दायित्व रहेकोे छ । सन्देशमा भनिएको छ, “बालबालिकाको भविष्य सुनिश्चिात गर्न सृजनात्मक, व्यावहारिक, निःशुल्क र गुणस्तरीय शिक्षाको व्यवस्था, पोषणयुक्त आहार, सुरक्षित खानेपानी र सरसफाइ, आवश्यक खोप एवम् बालमैत्री स्वास्थ्य संस्था एवम् नीतिगत, कानुनी र बालमैत्री कार्यसम्पादनको प्रबन्ध गर्नु आवश्यक हुन्छ । बालबालिकालाई घर, विद्यालय र समुदायमा सुरक्षित वातावरण सृजना गरी सबै समूह र समुदायका बालबालिकालाई समन्यायिक अवसरको सुनिश्चितता प्रदान गर्न यस दिवसले सहयोग पुग्ने अपेक्षा गर्दछु ।” बालबालिकाको संरक्षण, विकास र सहभागिताका लागि आआफ्नोतर्फबाट भूमिका निर्वाह गर्न सम्बद्ध सबै पक्षको ध्यानाकृष्ट हुनेछ भन्ने विश्वासका साथ यस दिवसले बालबालिकाहरूको सर्वाङ्गीण विकासका लागि सम्बद्ध सबैमा थप प्रेरणा मिलोस् भन्ने कामना राष्ट्रपति पौडेलले व्यक्त गर्नुभएको छ ।
पोखरा: पोखरा महानगरपालिका भित्रका सबै विद्यालय असोज १ गतेदेखि नियमित सञ्चालनमा आउने भएका छन् । पोखरा महानगरपालिका, नगर कार्यपालिकाको भदौ २८ गते बसेको बैठकले असोज १ गतेदेखि नियमित रुपमा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको शिक्षा महाशाखाले जनाएको छ ।
काठमाडौं: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा नयाँ अन्तरिम सरकारको नेतृत्व सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई तथा शुभकामना दिएका छन् । शनिबार बिहान ट्विटरमार्फत प्रधानमन्त्री मोदीले नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाइ दिएका हुन् । उनले लेखेका छन्, ‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना । नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध छ।’ मोदीको उक्त अभिव्यक्तिलाई भारतले नेपालमा भएको राजनीतिक परिवर्तनप्रति देखाएको सकारात्मक सन्देशका रूपमा लिइएको छ । कार्कीले शुक्रबार राति अन्तरिम सरकारको प्रधानमन्त्रीको शपथ लिएकी छिन् । प्रतिनिधिसभा विघटन भएकाले आगामी फागुन २१ गतेलाई मध्यावधि चुनाव तोकिएको छ ।
काठमाडौं: नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बनेको छ । आन्दोलनपछि मुलुकका विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइको कर्फ्यु र निषेधाज्ञा हटेको छ । सबै जनता आफ्नो पेसा व्यवसायमा संलग्न भएका छन् । युवापुस्तासहित सम्पूर्ण देशवासीमा खुशियाली छाएको छ । शान्ति सुरक्षाको अवस्था सामान्य रहेको छ । भ्रष्टाचारविरुद्ध र सुशासन प्रवर्द्धनको नाराकासाथ अघि बढेको जेनजी पुस्ताको मागअनुरूप पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीका नेतृत्वमा नयाँ सरकार गठन भएको छ । आमनागरिकको चाहनाअनुरूप मुलुकमा शान्ति सुव्यवस्था र कानुनी राज्यको अनुभूति दिलाउँदै वर्तमान सरकारले तोकिएको समयसीमाभित्र निर्वाचन गराई सत्ता हस्तान्तरण गर्ने छ
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छन् । पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । यसअघि, संविधानको धारा ६१ अनुसार राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्री पदमा पदमा नियुक्त गरेका थिए । शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
पोखरा: अटो व्यवसायी तथा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का पूर्व अध्यक्ष ध्रुव थापाले आफू कुनै राजनीतिक व्यक्ति, भ्रष्ट वा तस्कर नहुँदा पनि यहि भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा आफ्नो घर र कार्यालय तारोमा परेको गुनासो गरेका छन्। सामाजिक सञ्जाल फेशबुकमा लेख्दै उनले आफूले १७ वर्षको उमेरदेखि पढ्दै गरेको संघर्ष छिनभरमै खण्डहर भएको भन्दै दुःख व्यक्त गरेका हुन्। ‘आज आफू बस्ने घर अफिस जलाइँदा मन पनि जल्दो रहेछ। जलेको घरको आगोसँगै मेरा सबै उत्साह पनि जलेर खरानी भइरहेका छन्। खण्डहर घर हेर्दा नेपालमा बसेर व्यवसाय गर्नु नै गल्ती गरिएछ कि भन्ने लागिरहेको छ,’ उनले लेखेका छन्। घरसँगै सहयोगी युवतीको समेत जलेर मृत्यु भएको उनले उल्लेख गरेका छन्। यस्तो छ थापाको फेशबुक स्टाटस म कुनै राजनीतिक मान्छे थिइनँ। न कुनै भ्रष्ट वा तस्कर। १७ वर्षको उमेरदेखि कलेज पढ्दै उद्यम सुरू गरेको थिएँ। कति आरोह(अवरोह र जोखिम मोलेर यो स्थितिमा आइपुगेको अवस्था हो। आफूले मात्रै उद्यमरव्यवसाय गरिनँ, अरू धेरैलाई पनि सिकाएँ। नेपालमै उद्यम गर्नुपर्छ, सम्भावना धेरै छ भन्दै अभिप्रेरित गर्दै आएको छु।आफूले व्यवसायबाट केही कमाउँदा समाजको लागि पनि योगदान गरिरहेको छु। सामाजिक र मानवीय सेवामा लागिरहेको छु। म मात्र होइन, हामी दम्पती नै लागिरहेका छौं। २०७२ सालको भूकम्पको बेला होस् वा कोभिडको समयमा, थुप्रै सङ्ख्यामा एम्बुलेन्सहरू आयात गरेर विभिन्न संघसंस्थाहरूलाई निःशुल्क प्रदान गर्यौं। जुन आजका दिनसम्म पनि नेपालका विभिन्न स्थानमा सेवा पुर्याइरहेका छन्। हामी दम्पतीले विभिन्न सामाजिक संघसंस्थाहरू मार्फत् पनि देश र समाजलाई दुःख पर्दा आफ्नो व्यापार व्यवसाय छोडेर पनि मानवीय सेवाका लागि पहिलो प्राथमिकतामा राखेर योगदान गर्दै आएका छौं। आजका दिनसम्म आफूले जानेर बुझेर कुनै गलत कार्य गरेको जस्तो लाग्दैन तर यस्तो गरिरहँदा पनि आज आफू बस्ने घर अफिस जलाईदा मन पनि जल्दो रहेछ। जलेको घरको आगोसँगै मेरा ति सबै उत्साह पनि जलेर खरानी भइरहेका छन्। जलेर खण्डहर भएको घर हेर्दा नेपालमा बसेर व्यवसाय गर्नु नै गल्ती गरिएछ कि भन्ने लागिरहेछ। मेरा बुवा बाजेहरूले आर्जेको जग्गामा बनाइएको यो घरसँग मेरो ३५ वर्षदेखिको मेहनत र पसिना जोडिएको थियो तर एकैछिनमा सबै खरानी बनाइदिए। सम्पत्ति घर गुमाउनु को पीडा त एकातिर छँदै थियो त्यो पीडा भन्दा पनि धेरै पीडा हाम्रो परिवार कै सदस्य भएर बसेकी घरको काम गर्ने बहिनीलाई गुमाउनु पर्दा भइरहेको छ। घटना हुनु केही क्षण अघि मात्रै हामी सबै परिवारलाई खाना बनाएर खुवाएकी ती बहिनी एकछिनमै बर्बरतापूर्वक जिउँदै आगोमा जलाएर मारिन्छिन् भनेर कल्पना पनि नगरेको विभत्स घटना बेहोर्नुपरेको छ। घरमा मान्छे छन् भने जानकारी हुँदाहुँदै तलबाट आगो लगाउने काम जेनजीले गरेका हुन्। वा त्यहाँ भित्र अरू नै कोही थिए समयक्रमले बताउँदै जाला तर जोसुकै हुन्, ती क्रुर अपराधीहरू भोलिका दिनमा कुनै राजनीतिक खोल ओडेर उम्किन नपाउन। अहिलेको आन्दोलनमा मेरो दाजु बिन्दु थापासँग मलाई जोडिएको छ। दाई राजनीतिमा हुनुहुन्छ। उहाँ व्यवसायमा सफल भएपछि राजनीतिमा लागेर सेवा गर्छु भनेर हिँड्नु भयो। के राजनीति गर्नु नै अपराध हो ? उहाँ राजनीतिमा लाग्नुभन्दा धेरै पहिलादेखि नै पोखराको एक सफल व्यवसायीको रूपमा चिनिनु हुन्थ्यो। अनि अर्को कुरा उहाँलाई भ्रष्टाचार गरेको र भ्रष्टाचारबाट प्राप्त रकम उहाँको छोराहरूले मोजमस्ती गरेको भनेर जुन प्रकारले सोसल मिडियामा सयौँको सङ्ख्यामा फेक आइडी बनाएर देखाइयो त्यो बिल्कुल निराधार र कपोलकल्पित छ। उहाँको बढ्दो लोकप्रियता देखेर उहाँको इमेज ड्यामेज गराई राजनीतिक अभिष्ट पूरा गर्न रचिएको योजना हो त्यो। हुन त यो क्षेत्रका आम जनताले राम्रोसँग बुझेका छन् उहाँको बारेमा। एउटा महत्वपूर्ण कुरा के भने, हामीहरूको परिवार अहिले मात्र होइन पुर्खादेखि नै जनताको पैसा भ्रष्टाचार गरेर कमाउनुपर्ने अवस्थामा छैनौं। यो देश निर्माण गर्न हाम्रो पुर्खाको पनि महत्वपूर्ण योगदान छ। उनीहरूकै सन्तान हौं हामी। यसैले हामीलाई यो देशको अझ बढी माया छ। मेरो दाजुले पनि विगतदेखि नै सांसद र मन्त्री हुँदा प्राप्त गरेको सम्पूर्ण तलब भत्ता समेत सामाजिक कामका लागि डोनेसन गर्दै आउनुभएको छ। उहाँ नेपालमा भएका एकदमै कम मात्र स्वच्छ छवि भएका राजनीतिक नेतामध्ये मध्ये एक हुनुहुन्छ। जसले आफूसँग भएको सम्पूर्ण चलअचल सम्पत्ति पारदर्शिताका साथ सबै जनताका सामु राखिदिनुभएको छ। भ्रष्टाचार गरेको भए वा पछि गर्ने योजना भएको भए कसैले यस्तो गर्थ्यो होला र? यो अत्यन्त पीडादायी क्षणहरूमा हामीप्रति सहानुभूति प्रकट गर्दै हाम्रो आत्मबल कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहनुभएका सम्पूर्ण महानुभावहरू प्रति हृदयदेखि नै आभार प्रकट गर्दछु। यहाँहरूले प्रदान गर्नुभएको उत्प्रेरणाका वचनहरूले हामीलाई पहिलेको भन्दा पनि अझै सशक्त भएर अगाडि बढ्ने हौसला मिलेको छ।
काठमाडौं: भदौ २३ र २४ गते दुई दिन भएको जेन-जी आन्दोलनमा देशभर मृत्यु हुनेको संख्या ५१ पुगेको छ । आन्दोलनका क्रममा ३ जना प्रहरीसहित ५१ जनाको मृत्यु भएको नेपाल प्रहरीको तथ्यांक छ । आन्दोलनका क्रममा भएको अन्य क्षतिको विवरण भने संकलन गर्ने कार्य भइरहेको प्रवक्ता प्रवक्ता डीआईजी विनोद घिमिरेले बताए । अहिलेसम्म ३ जना प्रहरीसहित ५१ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ,’ उनले भने, ‘थप क्षतिको विवरण संकलन गरिदैंछ ।’ प्रदर्शनका क्रममा एक जना भारतीय महिला, ९ जना कैदीको मृत्यु भएको छ । यस्तै, बाँकेस्थित बाल सुधार गृहमा भएको झडपमा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार प्रदर्शनका क्रममा घाइते भएका १७७१ जनाको विभिन्न ६० अस्पतालमा उपचार भएको छ । जसमध्ये १३७९ जना उपचारपछि डिस्चार्ज गरिएको थियो भने २८४ जनालाई अस्पतालमा भर्ना गरेर उपचार भइरहेको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ ।
काठमाडौं: नेपाल प्रहरीले जेनजी आन्दोलनमा भएको लुटपाटमा संलग्न व्यक्तिहरूको प्रमाण पठाउनका लागि माग गरेको छ । प्रहरीले लुटपाटमा संलग्नलाई कारबाही गर्नका लागि प्रमाण र सबुत पठाउनका लागि माग गरेको हो । प्रहरीले सूचना जारी गरेर काठमाडौँ उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटना आगजनी लुटपाट लगायतका भिडियो तथा विभिन्न सामाजिक सञ्जालहरूमा लिङ्कहरू भए उपलब्ध गराउन अनुरोध गरेको हो । जारी गरिएको सूचनामा भनिएको छ, ‘यही भदौ २३ र २४ गते काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटना आगजनी लुटपाट आम सर्वसाधारण त्रासश्रृङ्खला हुने किसिमका अन्य विविध घटनाहरूसँग सम्बन्धित तस्बिर भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू तपाईँसँग छ भने कृपया हामीलाई [email protected] मा पठाई सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ ।’ प्रहरीले भिडियो तथा लिङ्कहरू पठाउनेलाई गोपनीयताको कायम रहने समेत विश्वास दिलाएको छ।