काठमाडौं: राष्ट्रिय शोक दिवसमा बुधबार राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ। गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता आनन्द काफ्लेका अनुसार भदौ २३ र भदौ २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाएका मृतकको सम्मानमा सरकारले बुधबार राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको जानकारी दिनुभयो। उहाँका अनुसार बुधबार देशभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको छ। मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनमा ज्यान गुमाएकालाई सहिद घोषणा गर्दै बुधबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो।
काठमाडौं: जेनजी प्रदर्शनका क्रममा सहादत प्राप्त गरेका छ वटा शव विभिन्न जिल्ला पठाइएको छ। भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा सहादत प्राप्त गरेका शव विभिन्न जिल्ला पठाइएको हो। शव अन्तिम संस्कारका लागि भादौ ३१ गते नेपाली सेनाको हेलिकोप्टरमार्फत् सुनसरी, उदयपुर, सिराहा, धनकुटा र सङ्खुवासभा जिल्लामा लगिएको हो। मङ्गलबार केही शवको पशुपतिको आर्यघाटमा अन्तिम संस्कार गरिएको छ। सरकारी तथ्याङ्क अनुसार जेनजी आन्दोलनमा प्रदर्शनकारी र सुरक्षाकर्मी गरी ७२ जनाको मृत्यु भएको थियो। सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकालाई सहिद घोषणा गर्नुका साथै मृतकका परिवारलाई १५ लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। साथै, सरकारले राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र राष्ट्रिय शोक स्वरूप असोज १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
काठमाडौं: यस पटको बडा दशैंको टीकाको साइत असोज १६ गते विहिवार विहान ११ बजेर ५३ मिनेटमा रहेको छ । नेपाल पाञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस पटक बडादशैंको घटस्थापनाको साइत असोज ६ गते सोमवार बिहान ९ बजेर १३ मिनेटमा र टीकाको साइत ११ बजेर ५३ मिनेटमा रहेको छ ।
म्याग्दी: बेनी–जोमसोम–कोरला सडकमा आज बिहानदेखि यातायात पुनः सञ्चालनमा आएको छ । म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा पर्ने काभ्रेभिरमा खसेको पहिरोका कारण ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा आइतबार बिहानदेखि सिधा यातायात अवरुद्ध भएको थियो । नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थको प्रयोग गरेर सडकमा थुपिएका ठूला ढुङ्गा फुटाउने र डोजरको सहायताले पहिरो पन्छाएर गए राति १० बजे सडक खुलाएको घाँसा प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक मीनबहादुर खत्रीले बताए । ‘बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयका प्राविधिक कर्मचारी, नेपाली सेनासहित सुरक्षाकर्मीको टोलीले रातिसम्म काम गरेर सडक खुलाएका हौँ’, उनले भने, ‘सडक खुलेसँगै मुस्ताङको घाँसा र म्याग्दीको काभ्रेमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।’ सडक अवरुद्ध हुँदा कोरलानाकाबाट सामान लिएर आएका कन्टेनर, मुस्ताङको स्याउ र आलु बोकेर बजार हिँडेका मालबाहक ट्रक घाँसामै रोकिएका थिए । सोह्रश्राद्धमा मुस्ताङको कागबेनीमा पितृ तर्पण दिन देशका विभिन्न ठाउँ र भारतबाट आएका तीर्थयात्री, स्थानीयवासी र पर्यटक गन्तव्यतर्फ लागेका छन् । सिन्धुपाल्चोकको तातोपानी र रसुवाको नाका बन्द भएपछि दसैँका लागि नेपाली बजारमा आवश्यक सामान मुस्ताङको कोरलानाकाबाट ल्याउन थालिएकाले बेनी–जोमसोम सडकमा सवारीसाधनको चाप बढेको छ ।
काभ्रेपलाञ्चोक: यसवर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आइएको बिपी राजमार्ग आगामी असोज १ गतेदेखि २४सै घण्टा सञ्चालनमा ल्याइने भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले मनसुन बाहिरिने क्रममा रहनुका साथै दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गरी सडक २४सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको हो । यात्रुको सहजताका लागि सडक सुरक्षामा सजगता अपनाइ स्वीकृत सडक सुरक्षा कार्ययोजनाबमोजिम निर्णय गरिएको समितिले जनाएको छ । कार्यालयद्वारा सोमबार जारी सार्वजनिक सूचनाअनुसार गत असार पहिलो सातादेखि रातिको समयमा सवारीसाधन आवतजावतमा पूर्ण रूपमा रोक लगाइएको थियो । मनसुनमा बाढीपहिरोको जोखिमका कारण बिपी राजमार्गअन्तर्गत प्रथान बिन्दु काभ्रेपलाञ्चोकको धुलिखेलबाट सिन्धुलीको सिमाना नेपालथोकसम्म रातिको समयमा १२ घण्टासम्म यातायात सञ्चालनमा रोक लगाइएको थियो । यसअघि पछिल्लो पटक यही भदौ १६ गतेदेखि थप १५ दिन सवारी सञ्चालनमा रोक लगाइएको थियो । जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकामा भदौ मसान्तसम्म रातको समयमा १२ घण्टा रोक लगाइएको थियो । कार्यालयले पटकपटक सूचनामार्फत मनसुन सक्रिय रहेको अवस्थामा बिपी राजमार्गमा बाढीपहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य घटना हुनसक्ने भन्दै जोखिम न्यूनीकरणका लागि राजमार्गको उल्लेखित क्षेत्रमा सवारी सञ्चालनमा रोक लगाउँदै सतर्कता अपनाउन सार्वजनिक आह्वान गर्दै आइएको सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिनुभयो । मनसुनको समयमा बिपी राजमार्गमा यात्रा गर्नु उच्च जोखिम देखिएकाले राति निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो । आगामी असोज १ गतेदेखि पूर्ण रूपमा राजमार्ग खोल्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार काभ्रेपलाञ्चोकको काभ्रेभञ्ज्याङबाट सिन्धुलीको खुर्कोट खण्डका विभिन्न स्थानमा जोखिम भएकाले यसअघि यातायात सञ्चालनमा रोक लगाइएको हो । काठमाडौँबाट जाने सवारीलाई जिल्लाको काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपालथोकमा रोकिएको थियो । यसअघि काभे्रपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाको सुरक्षा समितिका पदाधिकारीको अन्तरजिल्ला समन्वय समितिको बैठकले गत असार ७ गतेदेखि बिपी राजमार्गमा साँझ ६ः३० बजेदेखि बिहान ५ः०० बजेसम्म तथा साउन महिनाभर साँझ ५ः०० देखि बिहान ५ः०० बजेसम्म सडक सञ्चालनमा रोक लगाइएको थियो । गत वर्ष असोजको बाढीपहिरोले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट सिन्धुलीको वर्षेखोलासम्मको आठ किलोमिटर सडक बगाएपछि अस्थायी रूपमा सवारी सञ्चालनको व्यवस्था गरिएको थियो । बाढीपहिरोले राजमार्गको कूल १६० किमीमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटबाट नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकबाट काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमीका विभिन्न स्थानमा बढीले क्षति पुर्याएको थियो । कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा घि बढाइरहेको छ । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्छन् ।
काठमाडौं: नेपाल प्रहरी प्रधान कार्यालयले ‘जेनजी’ आन्दोलनमा ज्यान गुमाएका प्रहरीका परिवारजनलाई जनही दश लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेका अनुसार भदौ २३ र २४ गते आन्दोलनको क्रममा कर्तव्य पालनाको सिलसिलामा मृत्युवरण गरेका प्रहरी परिवारजनलाई सो राहत रकम उपलब्ध गराउने निर्णय गरेको जानकारी दिनुभयो। उहाँका अनुसार प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरी सो रकम उपलब्ध गराउने निर्णय भएको हो।
काठमाडौं: मन्त्रिपरिषद्को बैठकले असोज १ गते शोक दिवस मनाउने भएको छ । जेनजी आन्दोलनकाक्रममा साहदत प्राप्त गरेका सहिदको सम्झनामा शोक दिवस मनाउने निर्णय भएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।असोज १ गते बुधबार सार्वजनिक बिदा दिएर सरकारले शोक दिवस मनाउने भएको हो । मन्त्रिपरिषद् विस्तारपछि सोमबार प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले अन्य केही महत्त्वपूर्ण निर्णय गरेको छ। आन्दोलनमा साहदत प्राप्त गर्नेलाई सहिद घोषणा र राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय सरकारले गरेको गृहमन्त्री अर्यालले जानकारी दिनुभयो। उहाँका अनुसार सरकारले आन्दोलनमा परिवारको सदस्य गुमाउनेलाई १० लाख क्षतिपूर्ति र अन्य खर्च बापत पाँच लाख रकम दिने भएको छ। घाइतेको निःशुल्क उपचार गर्ने र शव व्यवस्थापनका लागि निःशुल्क सवारी साधन र दुर्गमको हकमा हेलिकप्टरको व्यवस्था गर्ने निर्णयसमेत सरकारले गरेको छ। सरकारले आन्दोलनमा भएको जनधनको क्षति, ज्यादती र घुसपैठको सम्बन्धमा अनुसन्धान गर्न जाँचबुझ आयोग गठन गर्ने भएको छ। सरकारले आयोगको प्रतिवेदनको आधारमा थप काम गर्ने गृहमन्त्री अर्यालको भनाइ छ। भदौ २३ र २४ भएको आन्दोलनमा साहदत प्राप्त गर्नेको नाममा जेनजी जागरण स्मारक पार्क स्थापना गर्ने निर्णय भएको गृहमन्त्री अर्यालले बताउनुभयो।
काठमाडौं: संघीय संसद् सचिवालयले जेन–जी आन्दोलनका क्रममा भदौ २४ गतेको प्रदर्शनका क्रममा लगिएका मालसामान फिर्ता गर्न आग्रह गरेको छ । सचिवालयले सोमबार सूचना जारी गरेर प्रदर्शनका क्रममा नयाँ बानेश्वरस्थित संघीय संसद् भवन आगजनीका क्रममा लगिएका मालसामान फिर्ता गर्न आग्रह गरेको हो । ‘मालसामानहरू कुनै पनि अवस्थामा आफूसँग रहेको भएमा फिर्ता गरिदिनुहुन एवम् ती मालसामन रहेको स्थान तथा व्यक्तिको वतन जानकारी भएमा संघीय संसद सचिवालयमा सूचना दिनुहुन अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ । संसद् सचिवालयले मालसामानहरू लगेको भिडिओ भएमा उपलब्ध गराई सहयोग गरिदिन पनि आह्वान गरेको छ । भिडिओ–सूचना दिने व्यक्तिको परिचय गोप्य राखिने सूचनामा उल्लेख छ । भवन परिसरमा भएको आगजनी, तोडफोड एवम् लुटपाटका घटनापश्चात् गरिएको स्थलगत अनुगमन, निरीक्षण तथा विभिन्न माध्यमबाट प्राप्त जानकारीअनुसार संघीय संसद सचिवालयको स्वामित्वमा रहेका टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, क्यामेरा, टेलिभिजन, मोनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी मेसिन, विद्युतीय उपकरणलगायतका मालसामानहरू अनधिकृत व्यक्तिले लगेको सूचनामा उल्लेख छ ।