पर्वत ।    अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट प्रभावित पर्वतको फलेवास नगरपालिका ८ ठाना मौला, सल्यानीधाराका २० घरपरिवारलाई विश्वकर्मा समाज नेपालले राहत सामग्री वितरण गरेको छ ।   विश्वक...

काठमाडौं:    कृषि, वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक, प्रतिस्पर्धी तथा आत्मनिर्भर बनाउने लक्ष्यसहित राष्ट्रिय कृषि नीति, २०८३ जारी गरेको छ । सङ्घीय शासन प्रणालीअनुरूप तयार गरिएको उक्त नीतिले खाद्य सुरक्षा, खाद्य सम्प्रभुता, कृषकको आय अभिवृद्धि, कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन तथा कृषि निर्यात प्रवर्द्धनलाई मुख्य प्राथमिकतामा राखेको छ ।  उक्त नीतिकाबारे आफ्नो धारणा राख्दै कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले कृषि क्षेत्रका विद्यमान चुनौतीलाई सम्बोधन गर्दै दिगो र उत्पादनमुखी कृषि प्रणाली निर्माण गर्ने उद्देश्यले नीति ल्याइएको बताउनुभयो । नीतिले भूमि खण्डीकरण, बाँझो जमिनको वृद्धि, सिँचाइ तथा भण्डारण पूर्वाधारको अभाव, युवा पलायन, जलवायु परिवर्तनको प्रभाव, न्यून उत्पादकत्व तथा बढ्दो आयात निर्भरताजस्ता समस्याको समाधानका लागि स्पष्ट नीतिगत व्यवस्था गरेको छ । नीतिमा आधारभूत खाद्यवस्तुमा आत्मनिर्भरता हासिल गर्ने, कृषि व्यवसायीकरण तथा औद्योगिकीकरणलाई प्रवर्द्धन गर्ने, उत्पादनको ब्रान्डिङ गरी अन्तरराष्ट्रिय बजार विस्तार गरिने उल्लेख छ ।  जैविक विविधताको संरक्षण गर्ने, वातावरणमैत्री कृषि प्रणाली विकास गर्ने तथा डिजिटल कृषि प्रविधि, स्थानीय ज्ञान र नवप्रवर्तनलाई कृषि विकाससँग जोड्ने व्यवस्था नीतिमा  छ । उत्पादन तथा उत्पादकत्व वृद्धि, समावेशी कृषि यान्त्रिकीकरण, भूमि संरक्षण तथा सदुपयोग, कृषि अनुसन्धान तथा प्रविधि विस्तार, न्यूनतम समर्थन मूल्य, कृषि बिमा, सहुलियतपूर्ण कृषि ऋण, खाद्य स्वच्छता तथा पोषण सुरक्षालगायत विषयलाई नीतिले प्राथमिकतामा राखेको छ । कृषि बजार तथा उद्योग विकास, निजी क्षेत्र र सहकारीको लगानी प्रवर्द्धन, माटो स्वास्थ्य व्यवस्थापन, जलवायु अनुकूलन, कृषि तथ्याङ्क प्रणाली सुदृढीकरण तथा कृषिलाई सम्मानित पेसाका रूपमा स्थापित गर्ने विषयलाई नीतिमा प्राथमिकता दिइएको छ । नीति कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय, आवश्यक कानुनी तथा संस्थागत व्यवस्था, पर्याप्त वित्तीय स्रोत परिचालन, निजी क्षेत्रको सहभागिता तथा नियमित अनुगमन र मूल्याङ्कनको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले राष्ट्रिय कृषि नीति, २०८३ को प्रभावकारी कार्यान्वयनबाट खाद्य आत्मनिर्भरता, रोजगारी सृजना, आयात प्रतिस्थापन, कृषि निर्यात अभिवृद्धि तथा समृद्ध राष्ट्रिय अर्थतन्त्र निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरेको छ ।

काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन आव २०८१/८२ पेस गर्नुहुने सम्भावित कार्यसूची छ ।   यस्तै, बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रस्तुत गर्नुभएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुनेछ । सांसद आङ्देम्बेले ‘वास्तविक भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी नागरिकको संरक्षण र पुनः स्थापनाका लागि सरकारले आवश्यक व्यवस्था गरी सुरक्षित आवास, आधारभूत सेवा, खाद्य, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनको निरन्तरतालाई ध्यान दिइ उचित क्षतिपूर्ति, स्थायी पुनःस्थापनाको प्रत्याभूति दिलाउन र वास्तविक भूमिहीन एवं सुकुमवासीलाई यथाशीघ्र लालपूर्जा वितरण गराउन आवश्यक भएकाले भन्ने’ विषयको सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।   उक्त प्रस्तावको समर्थकमा सांसदहरु ऐनबहादुर महर, युवराज दुलाल र आरेन राई हुनुहुन्छ । यसैगरी, आजै विभिन्न पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, अर्थ, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ । यस्तै, राज्य व्यवस्था तथा सुशासन र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।   बिहान १०ः०० बजे बस्ने अर्थ समितिको बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’माथि दफाबार छलफल जारी रहनेछ । यस्तै, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘ पर्यटन विधेयक, २०८१’ सम्बन्धमा मन्त्रालयसँग सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ । बिहान १०ः०० बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा ‘खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापन सम्बन्धमा’ छलफल गर्ने कार्यक्रम छ ।   बिहान ११ः०० बजे बस्ने राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविक व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ उपर सैद्धान्तिक र दफावार छलफल गर्ने कार्यक्रम छ । यस्तै, कार्यविधि मस्यौदा तर्जुमा उपसमितिको प्रतिवेदनका सम्बन्धमा पनि छलफल हुनेछ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिका पूर्वसभापति रामनारायण विडारीसँग सरकारी आश्वासन सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

गण्डकी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता हुनुभएको छ ।   रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रममा उहाँ बगेर बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।   घर्तीलाई खोलाले बगाएको सूचना गाउँलेले दिएपछि सोमबार साँझदेखि नै खोजी सुरू गरिए पनि उहाँको अवस्था पत्ता नलागेको कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले बताउनुभयो ।   आज बिहानैदेखि पुनः खोजी कार्य सुरू गरिएको उहाँको भनाइ छ ।

गण्डकी:   कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ ।   रघुगङ्गा गाउँपालिका-२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिनुभयो ।   “पहिरो पन्छाउने क्रममा थप पहिरो खस्दा एक्साभेटर पनि पुरिएको छ । अहिले सडक पूर्ण रूपमा अवरूद्ध छ”, उहाँले भन्नुभयो, “पहिरो हटाउन सुरु गरिएको छ, ठूलो पहिरो गएकाले यातायात नियमित सञ्चालन गर्न केही समय लाग्ने देखिन्छ ।” उक्त सडकखण्डमा आइतबारदेखि रातिको समयमा सवारी आवागमन बन्द गरिएको थियो ।   जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आइतबार र सोमबार साँझ ७ः०० बजेदेखि भोलिपल्ट बिहान ५ः०० बजेसम्मका लागि यातायात सञ्चालनमा रोक लगाइएको हो । बेनी-जोमसोम सडक भएर सयौँ यात्रु तथा पर्यटकले मुक्तिनाथ हुँदै कोरलानाकासम्मको यात्रा गर्छन् ।

काठमाडौं:    सिन्धुली जिल्लाको फिक्कल–२ नवलपुरघाटनजिक मध्यपहाडी लोकमार्गबाट सुककोशी नदीमा खसेको कार वेपत्ता भएको छ ।   आज बिहान करिब ११ः३० बजे सडकमा रोकी राखेको कार सुनकोशी नदीमा खसेको हो ।   काठमाडौँबाट ओलढुङ्गाको सिस्नेरीतर्फ गइरहेको यात्रुवाहक बसले कारलाई ठक्कर दिँदा करिब ५० मिटर तल नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।   कारमा स्थानीय ठेकेदार दिलबहादुर तामाङ र गणेश थापा रहेको स्थानीय गोलञ्जोर–२ का वडाध्यक्ष सोमप्रसाद बरालले जानकारी दिनुभयो । उक्त कारमा अर्का एक व्यक्तिसमेत रहेको अनुमान गरिएको छ । घटनाको सूचना प्राप्त हुनासाथ स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरी खोज तथा उद्धारमा जुटिसकेको बताइएको छ ।

सिरहा ।   जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजारमा जारी कर्फ्यु आदेश आज साँझसम्मका लागि खुकुलो बनाइएको छ ।   प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार सुरक्षा अवस्थाको समीक्षा गर्दै आज बिहान १०:०० बजेदेखि राति ७:०० बजेसम्म कर्फ्यु खुकुलो बनाइएको छ ।   प्रशासनले स्थानीय परिस्थितिको थप मूल्यांकनपछि कर्फ्यु थप खुला गर्ने वा पुन: लागू गर्नेबारे आवश्यक निर्णय गरिने जनाएको छ। साथै, गोलबजार क्षेत्रमा सवारीसाधन सञ्चालनमा सहजीकरण गरिने उल्लेख गर्दै कर्फ्यु खुकुलो भएको अवधिमा पनि ५ जनाभन्दा बढी व्यक्तिको समूहमा भेला नहुन सबैलाई आग्रह गरिएको छ।   सुनसरी घटनापछि उत्पन्न तनावका कारण गोलबजार क्षेत्रमा केही दिनदेखि कर्फ्यु आदेश जारी गरिएको थियो। पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै प्रशासनले दिनको समयमा कर्फ्यु खुकुलो बनाएको जनाएको छ ।

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार विशेष मनसुन बुलेटिन जारी गर्दै आगामी दुई दिन देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ।   हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग आसपास सरेकाले मनसुनी गतिविधि बढ्ने महाशाखाको आकलन छ।   महाशाखाका अनुसार शनिबार र आइतबार देशका हिमाली तथा पहाडी भू-भागमा वर्षाको जोड रहनेछ। यसैगरी कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशको तराईका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। विशेष गरी कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रका एक-दुई स्थानमा अति भारी वर्षा समेत हुन सक्ने पूर्वानुमान बुलेटिनमा उल्लेख छ।   बंगालको खाडीमा विकसित भएको न्यून चापीय प्रणाली उत्तर-पश्चिम दिशामा सर्ने क्रममा रहेकाले मनसुन थप सक्रिय हुने देखिएको हो। यो प्रणालीका कारण देशभर धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना समेत छ।   यो मौसमी प्रणालीका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात, पर्वतारोहण, कृषि र पर्यटन क्षेत्र प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ। सम्भावित जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन तथा पूर्वतयारीमा जुट्न सर्वसाधारण र सरोकारवाला निकायहरूलाई आग्रह गरिएको छ।   महाशाखाले यस प्रणालीलाई निरन्तर अनुगमन गरिरहेकाले पछिल्लो मौसमी सूचनाको जानकारी लिइरहन समेत सूचित गरेको छ।

स्याङ्जा । अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ । पहिरोले गोठ पुरिँदा दुई चौपायामा समेत क्षति पुगेको छ ।   जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार बिहीबार बिहान गल्याङ नगरपालिका–६ बनपालेका ६५ वर्षीय धनबहादुर थापा आफ्नै गोठमा काम गरिरहेका बेला माथिबाट अचानक पहिरो खसेको थियो । ढुंगा-माटोले बनेको खरले छाएको एकतले कच्ची गोठमाथि पहिरो खस्दा थापा गोठसहित पुरिएका थिए ।   प्रहरी बिहान नै घटनास्थल पुगेपछि स्थानीयवासीसँग मिलेर पहिरो पन्छाउने काम सुरु गरेको थियो । उद्धारका क्रममा धनबहादुर थापा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।   पहिरोले गोठमा बाँधिएको एक भैंसी पनि मरेको छ । त्यस्तै एउटा बंगुर घाइते अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष कार्यक्रमका बीच पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले नयाँ शाखाको औपचारिक उद्घाटन गरे ।   सो अवसरमा बोल्दै कार्कीले पोखरामा गुणस्तरीय शैक्षिक परामर्शको आवश्यकता रहेको उल्लेख गरे ।   पोखरामा शैक्षिक परामर्श केन्द्रहरूको संख्या बढ्दै गएको बताउदै नयाँ शाखाको रुपमा आएको मिसन युएसएले विद्यार्थीहरूलाई सही र विश्वसनीय मार्गनिर्देश गर्ने विश्वास व्यक्त गरे ।   विगत १८ वर्षदेखि वैदेशिक अध्ययनमा जान चाहने नेपाली विद्यार्थीहरूलाई परामर्श सेवा प्रदान गर्दै आएको यस कन्सल्टेन्सीको यसअघि काठमाडौँ, बिर्तामोड र चितवनमा शाखाहरू सञ्चालनमा छन् ।   शाखा विस्तारका लागि राम्रो टिमको खोजीमा रहेको बताउदै नेपालको पश्चिम क्षेत्रमा पनि शाखा विस्तारको योजना रहेको मिसन युएसएका संस्थापक निर्देशक सञ्जय घिमिरेले बताए ।   कर्ण बहादुर विकको नेतृत्वमा सञ्चालनमा ल्याइएको पोखरा शाखाबाट उच्च शिक्षा हासिल गर्न विदेश जान इच्छुक विद्यार्थीहरूलाई गुणस्तरीय परामर्श र उत्कृष्ट सेवा दिने उद्देश्यले पोखरामा शाखा सञ्चालनमा ल्याइएको कन्सल्टेन्सीले जनाएको छ ।