काठमाडौं: नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री डा। मदनप्रसाद परियारले पदभार ग्रहण गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले नेपाल र कोरियाबीच आलु र धान बालीमा अनुसन्धान गर्न यसअघि भएको सम्झौतालाई कार्यान्वयन गर्न समन्वय समिति गठन गर्ने प्रस्ताव सदर गरेका छन् । मन्त्रालयका सचिवको नेतृत्वमा गठन हुने समितिले यसमा समन्वयको काम गर्ने जनाइएको छ । पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री डा परियारले निर्वाचनलाई प्राथमिकतामा राखेर कृषि क्षेत्रमा केही फरक काम गर्ने प्रतिबद्धता जनाए। शासकीय सुधार र बेथिति रोक्ने काममा सरकार लागिपर्ने उनको भनाइ थियो । मन्त्री डा. परियारले वर्तमान सरकारलाई प्राप्त शासकीय सुधार, बेथितिको अन्त्य एवं निर्वाचन गराउन प्राप्त ‘म्यान्डेट’ पूरा गर्न आफ्नो तर्फबाट सम्पूर्ण योगदान रहने प्रतिबद्धता व्यक्त गरे।
काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले पदभार ग्रहण गरेका छन्। आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै सिंहदरबारस्थित कार्यालय पुगी उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै मन्त्री खरेलले काठमाडौँसहित देशका प्रमुख १० सहरका सार्वजनिक स्थानमा पाँच महिनाभित्र निःशुल्क वाइफाइ उपलब्ध गराउने पहिलो निर्णय गरेको मन्त्रालयले जनाएको छ ।
काठमाडौं: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार ग्रहण गर्नुभएको छ । आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै केशरमहलस्थित कार्यालय पुगी उहाँले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री पुनले विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बन्धित चार वटा सल्लाहकार समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गर्नुभयो । अन्तरिक्ष प्रविधि, न्यूक्लियर टेक्नोलोजी, बायोटेक्नोलोजी र सूचना प्रविधि तथा एआईसम्बन्धी सल्लाह दिन सल्लाहकार समिति गठन गर्नुभएको मन्त्रालयले जनाएको छ । समितिको कार्यक्षेत्र प्रस्ताव गरिएको छ । समितिमा रहने सदस्यहरुको नाम पछि टुङ्गो लगाइने जनाइएको छ ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार जना नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपतिको कार्यालय शीतल निवासमा दिउँसो ३ बजे आयोजित विशेष कार्यक्रममा उहाँहरुले शपथ ग्रहण गर्नुभएको हो । नवनियुक्त मन्त्रीहरुमा महावीर पुन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, अनिलकुमार सिन्हाले उद्योग वाणिज्य, आपूर्ति तथा भूमिसुधार, मदन परियार कृषि तथा पशुपन्छी विकास, जगदीश खरेलले सञ्चार तथा सूचना प्रविधिमन्त्रीको शपथ लिनुभयो । प्रधानमन्त्री सुशीला कार्कीले चार जना मन्त्रीको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गर्नुभएको थियो । स्वास्थ्यमन्त्रीमा डा। सङ्गीता कौशल मिश्राको नाम यसअघि सिफारिस भए पनि अन्तिममा आएर उहाँको नाम रोकिएको छ । उहाँले आज शपथ खान पाउनुभएन । शपथ कार्यक्रममा उपराष्ट्रपति रामसहायक प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतसहित सरकारका उच्च पदस्थ कर्मचारी, सुरक्षाकर्मी तथा व्यक्तित्वहरुको सहभागिता थियो । कानुन व्यवसायी पृष्ठभूमि रहेका मन्त्री सिन्हा सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुनुहुन्छ । त्यस्तै दुर्गम क्षेत्रमा ताररहित इन्टरनेट सेवा विस्तार गरी विश्वमै ख्याति कमाउनुभएका मन्त्री पुन राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख हुनुहुन्छ । यसैगरी मन्त्री परियार कृषि विज्ञ हुनुहुन्छ । मन्त्री खरेल वरिष्ठ पत्रकार हुनुहुन्छ । वर्तमान मन्त्रिपरिषद्मा यसअघि गत भदौ ३० गते रामेश्वर खनाल अर्थ, कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास, ओमप्रकाश अर्याल गृह मन्त्रालयको जिम्मेवारीमा हुनुहुन्छ । बाँकी मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले नै सम्हाल्नुभएको छ । ‘जेनजी’ समूहको आन्दोलन र त्यसपछि उत्पन्न विषम परिस्थितिकाबिच राष्ट्रपति पौडेलले पूर्व प्रधानन्यायाधीश कार्कीलाई भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।
चितवन: मुग्लिन-नारायणगढ सडक खण्ड आज दिउँसो दुई घण्टा बन्द हुने भएको छ। चितवनको इच्छाकामनास्थित तुइनखोला पुल नजिकै पहिरो खसेर अवरुद्ध भएको सडकलाई दुईतर्फी गर्ने उद्देश्यले सोमबार दिउँसो एक बजेदेखि तीन बजेसम्म सवारी आवागमन रोक्न लागिएको हो। सडक डिभिजन कार्यालय भरतपुरले केहीबेरअघि सूचना जारी गर्दै हाल एकतर्फी गाडी गुडिरहेको सडकमा दुईतर्फी नै गाडी सञ्चालन गर्ने उद्देश्यले दुई घण्टा सवारी रोक्न लागिएको जनाएको छ। ‘मुग्लिन नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै हाल सडक एकतर्फी संचालनमा रहेको छ। पहिरो पूर्ण रूपमा हटाएर उक्त सडक दुईतर्फि संचालनमा ल्याउनको लागि जिल्ला प्रशासन कार्यालय चितवनको निर्णय अनुसार आज दिउँसो १ बजेदेखि ३ बजेसम्म सवारीसाधनहरू रोकि बाँकी रहेको पहिरो हटाउने कार्य सुचारू गरिने व्यहोरा सम्पूर्णलाई जानकारी गराइन्छ। उक्त अवधिभर रोकिने सवारीसाधनहरू आफ्नो लेन अनुशासनमा रहनुहुन अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ। दुई दिनसम्म पूर्णरुपमा अवरुद्ध रहेको नारायणगढ(मुग्लिन सडकको पहिरो हटाएपछि आइतबार साँझदेखि एकतर्फी गाडी चलेका थिए। तर, तुइन खोलामा गएराति पुनःपहिरो खस्दा सडक अवरुद्ध भएको थियो। त्यो पहिरो पनि हटाएपछि आज बिहानबाट फेरि यो सडकमा एकतर्फी गाडी चलेका थिए। अब दुईतर्फी नै गाडी चलाउने उद्देश्यले सडकको सबै पहिरो हटाउन लागिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
पर्वत: गत शनिबार रातिको भीषण वर्षाका कारण बस्तीभन्दा तलदेखि पहिरो जाँदा यहाँको फलेवास नगरपालिका–८ ठानामौला खाल्टेका छ घर पूर्ण रूपमा भत्किएका छन् । त्यसैगरी १० घर उच्च जोखिममा छन् । स्थानीय मीनबहादुर नेपाली, नन्दकुमारी भण्डारी, डिलबहादुर गुरुङ, अस्मिता सार्की, लक्ष्मी परियार र अर्को एक रित्तो घर र गोठ पूर्ण रूपमा भत्किएको सो वडाका वडा अध्यक्ष मनबहादुर कुँवरले जानकारी दिनुभयो । कुनै मानविय तथा पशुचौपायाको क्षति भने भएको छैन । जमिन चिरा पर्न थालेपछि र पशुचौपायासहित पहिल्यै सुरक्षित ठाउँमा सर्न भ्याएकाले क्षति हुन नपाएको हो । बस्तीभन्दा तल रहेको खोल्साबाट केही वर्षदेखि पहिरो बग्दै गाउँसम्म पुगेको हो । विस्थापित घरपरिवारलाई नजिकैको जनज्योति माध्यमिक विद्यालयको खेल मैदानमा टेन्ट टाँगेर राखिएको जिल्ला प्रहरीका प्रहरी नायब उपरिक्षक रबिन विष्टले जानकारी दिनुभयो । जिल्ला स्थित विपद् व्यवस्थापन समितिका टोली, फलेवास नगरपालिकाका नगरप्रमुख गङ्गाधार तिवारी, उपप्रमुख शोभा क्षेत्रीलगायतका स्थानीय जनप्रतिनिधिले सो स्थानको स्थलगत निरीक्षण गरेका छन् । उनीहरुले विस्थापित परिवारलाई अस्थाई वसोवासका लागि पाँचवटा टेन्ट उपलब्ध गराएको सो नगरका नगरप्रमुख गङ्गाधर तिवारीले जानकारी दिनुभयो । विस्थापित परिवारलाई पुनःस्थापना गर्न र सुरक्षित स्थानमा आवास निर्माणका लागि जिल्ला विपद् व्यवस्थापन समितिमार्फत पहल गरिने उहाँले बताउनुभयो ।
चितवन: गएरातभर बन्द गरिएको मुग्लिन–नारायणगढ सडकको यातायात सोमबार बिहान ५ बजेदेखि एकतर्फी सञ्चालन हुन थालेको छ । इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा पहिरो खस्ने क्रम नरोकिएकाले गएराति ९ बजेदेखि आज बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाइएको थियो । पहिरोका कारण शुक्रबार साँझदेखि बन्द रहेको सडक आइतबार दिउँसो मात्रै एकतर्फी सञ्चालनमा आएको थियो । आइतबार साँझ ८ बजे पुनः पहिरो खसेपछि अवरुद्ध भएको सडक सोमबार बिहानबाट सञ्चालन भएको हो । राति झरेको पहिरो पन्छ्याएपछि सडक सञ्चालन भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतिक सिंहले जानकारी दिए। यो सडकखण्डमा सवारीसाधनको धेरै चाप रहेका कारण आफ्नो लेन प्रयोग गरेर मात्र यात्रा गर्न प्रहरी निरीक्षक सिंहले अनुरोध गरेका छन् । दुई दिनदेखि सडकमा अलपत्र परेका यात्रु गन्तव्यमा जान थालेका छन् । यो सडकमा दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत हुने गर्दछन् । सडक दुईतर्फी सञ्चालन नहुञ्जेलसम्म यो सडक भएर यात्रा गर्नेहरूलाई वैकल्पिक बाटोको प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । तुइन खेला नजिक सुख्खा पहिरो खसेपछि लामो समयसम्म सडक अवरुद्ध भएको हो ।
काठमाडौं: प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दसैँ आज (सोमबार)देखि प्रारम्भ भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । यस अवसरमा सोमबार काठमाडौंको हनुमानढोकास्थित दसैँ घरमा विधिवत् रुपमा जमरा राखिएको छ । आज बिहान ९ः१३ मिनेटको शुभसाइतमा दसैँ घरमा जमरा राखिएको हो । सो अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मङ्गल धून बजाएका थिए भने बन्दुक पड्काएर बढाइँ गरिएको छ । दसैँको पहिलो दिन घटस्थापनको अवसरमा घरघरमा जमरा राख्ने प्रचलन छ । सोमबार बिहानै नित्यकर्म गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको कोठामा जमरा छर्ने गरिन्छ । घटस्थापना गर्दा पूजाकोठा वा दसैँ घरमा विधिपूर्वक दीप, कलश र गणेशको स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजाअर्चना गरिन्छ ।
काठमाडौं: प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दसैँ आज (सोमबार)देखि प्रारम्भ भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । बडा दसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ । जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । कुल परम्परा अनुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधीका रूपमा समेत प्रयोग गरिन्छ । घटस्थापनाको साइत ९ः१३ बजे आजैका दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ । आज घटस्थापनाको साइत बिहान ९ः१३ बजे रहेको समितिले जनाएको छ । सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता अनुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले राससलाई जानकारी दिनुभयो । दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रूपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ । दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रुपको दुर्गा पक्षका अवसरमा बिशेष पूजा, आजा र आराधना गर्ने गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ । नौ दिन नौ दुर्गाको पूजा यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा भन्ने गरिन्छ । आसुरी एवम् राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम छ । दुर्गा पूजा र दसैँ पर्व कुनै जात एवम् धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ । दुर्गाको प्रतीकका रूपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुुट्टै गरी नौवटी कन्याको पूजा समेत गर्ने गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्ष ।माथिका हुनुपर्ने शास्त्रीय विधान छ । बडादसैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरूले दसैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशष पूजा गर्छन् । नवरात्रभर दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिको पाठ पारायण पनि गर्ने गरिन्छ । यस अवसरमा गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, नाला भगवती र पलाञ्चोक भगवती लगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो समेत हुनेगर्छ । विजयादशमीको साइत असोज १६ गते बिहान ११ः५३ बजे नवरात्र भनेरसमेत चिनिने दसैँ नौ रात र दश दिनको हुने गरेकामा यस वर्ष १० रात र ११ दिनको हुन पुगेको छ । तिथिको घटबढका कारण यस्तो परेकाले यस्तो अवस्थामा खापेर पूजा र पाठ गरी देवीको आराधना गर्नुपर्ने तन्त्र विषयका पुस्तकमा लेखिएको समितिका पूर्वअध्यक्ष प्राश्रीकृष्ण अधिकारीले बताउनुभयो । आज विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई असोज १६ गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र फूललप्रसाद ग्रहण गर्ने गरिन्छ । असोज १६ गते देवी विसर्जनको साइत बिहान ९ः२३ बजे रहेको समितिले जनाएको छ । टीकाप्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने ११स्५३ बजेको साइत उत्तम छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसाद लगाउने शास्त्रीय विधि छ । विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रीमा जाग्राम रहेर पूजा लगाइ धन ऐश्वर्य प्राप्तिको कामना गर्ने गरिन्छ । यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धन धान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ । आजको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगी विसर्जन गरिन्छ । हनुमानढोकाको दसैँ घरमा विशेष पूजा परम्पराअनुसार काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँ घरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरुपा दुर्गा देवीको पूजा आराधना सुरु हुन्छ । आज बिहान वैदिक विधिपूर्वक समितिले दिएको साइतमा घटस्थापना गरिने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख काजीमान प्याकुरेलले बताउनुभयो । दसैँघरमा घटस्थापनापछि दैनिक बलि दिई विधिपूर्वक पूजा आराधना गरिन्छ । महानवमीका दिन हनुमानढोकाको कोतमा ५४ बोका र ५४ राँगासहितको बलि दिइन्छ । रोजगारी, अध्ययन एवं अन्य काम विशेषले आफ्नो घर बाहिर रहेका मानिस दसैँको अवसर पारेर घर फर्कने र परिवारका साथ बसेर महान् पर्व मनाउँछन् । यसैले बडादसैँलाई पारिवारिक पुनर्मिलनको पर्वका रूपमा समेत लिइन्छ । धेरैजसो शैक्षिक संस्थाले दसैँका अवसरमा आजैदेखि बिदा दिने गरेका छन् ।