काठमाडौं:  भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको नेतृत्वमा उक्त मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीसहितको टोलीले हालैको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गका विभिन्न...

काठमाडौं:   नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) मा एआईजी चन्द्रकुवेर खापुङ नियुक्त भएका छन् ।  मन्त्रिपरिषदको शुक्रबार बसेको बैंठकले खापुङलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो । उनी नेपाल प्रहरीका ३२औँ आईजीपी बनेका छन् । हालका आईजीपी दिपक थापा एक सातापछि भदौ १९ बाट प्रहरीको ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जाने भएपछि खापुङलाई १९ गतेबाट नै कमान्ड सम्हाल्ने गरी आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो । खापुङ हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख छन् । 

अछाम:  अछाममा छाउगोठमा सुतेका दुई जनाको भीरबाट खसेको ढुङ्गाले किचेर मृत्यु भएको छभने अन्य एक जना घाइते भएकी छन् । प्रहरीका अनुसार उनीहरूको घटनास्थलमा नै मृत्यु भएको हो । पञ्चदेवल विनायक नगरपालिका–८ सेलापानीस्थित चुरखोली टोलकी ३५ वर्षीया निम खनाल र मङ्गलसेन नगरपालिका–६ का गोरे भण्डारीकी सात वर्षकी छोरी कविताको छाउगोठमा सुतेका बेला ढुङ्गाले किचेर आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ओमप्रकाश खनालले जानकारी दिनुभयो । घटनामा घाइते हुनुभएकी कविताकी आमालाई उपचारको लागि स्थानीय स्वास्थ्यचौकी पठाइएको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक टेकबहादुर देउवा नेतृत्वको टोली घटनास्थलतर्फ प्रस्थान गरेको प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो ।

पोखरा:  गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट समक्ष गण्डकीका मुख्य न्यायाधिवक्ताको कार्यालयले प्रतिवेदन पेश गरेको छ  ।   मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले कार्यालयको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन बिहीबार एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभएको हो ।   प्रदेश प्रमुख भट्टले मुख्य न्यायाधिवक्ता मुख्यमन्त्रीका कानुनी सल्लाहकार रहेकाले प्रदेश सरकारको न्यायिक कामकारबाही नै मुख्य न्यायाधिवक्ताको प्रमुख दायित्व रहने उल्लेख गर्नुभयो ।   ‘प्रदेश सरकारलाई कानुनी सल्लाहका साथै न्यायिक कामकारबाहीमा सहायता प्रदान गर्ने जिम्मेवारी मुख्य न्याधिवक्ताको हो ।’ भट्टले भन्नुभयो ।   संवैधानिक व्यवस्था अनुरुप प्राप्त जिम्मेवारीअनुसार कार्यालयले आफ्ना कार्य सम्पादन गर्दै आएको विश्वास व्यक्त गर्नुहुँदै उहाँले कार्यालयले संघीयताका तहगत स्पष्टताका विषयमा नागरिक छलफल चलाउने, स्थानीय न्यायिक समितिको क्षमता अभिवृद्धिका लागि तालिम प्रशिक्षण लगायतमा जोड दिन ध्यानाकर्षण गराउनुभयो ।   कार्यक्रममा मुख्य न्यायाधिवक्ता शर्माले वार्षिक रुपमा प्रतिवेदन पेश गर्नुपर्ने कानुनी प्रावधान अनुसार गत आर्थिक वर्षमा सम्पादन गरिएका कार्यहरुको संक्षिप्त विवरण पनि प्रस्तुत गर्नुभयो ।   मुख्य न्यायाधिवक्ताको कार्यालयबाट प्रदेश सरकारको प्रतिनिधि भई प्रतिरक्षा गरिएका मुद्दा, लिखित रुपमा राय माग भई आएका विषय, राय सुझावसहित पठाइएका नीति, ऐन नियम आदि विषय प्रतिवेदनमा समेटिएको उहाँले जानकारी गराउनुभयो ।   मुख्य न्यायाधिवक्ता शर्माले कार्यालयले प्रदेश सरकारलाई विभिन्न विधेयकहरुमा निर्माणमा सहयोग गरेको र कार्यालय शुन्य बेरुजुको प्रयासमा रहेको उल्लेख गर्नुभयो ।   नेपालको संविधानको धारा १६० मा प्रत्येक प्रदेशमा एक मुख्य न्यायाधिवक्ता रहने संवैधानिक व्यवस्था रहेको छ ।   मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्त सम्बन्धी ऐन, २०७५ को दफा ११ ले मुख्य न्यायधिवक्ताले प्रत्येक वर्ष आफूले सम्पादन गरेको कामको वार्षिक प्रतिवेदन तयार गरी प्रदेश प्रमुख समक्ष पेश गर्नुपर्ने व्यवस्था गरेको छ ।   उक्त प्रतिवेदन प्रदेश सभा समक्ष पेश गर्न प्रदेश प्रमुख कार्यालयबाट मुख्यमन्त्री कार्यालयलाई पठाउनेछ ।   कार्यालयले वर्ष भरिमा संवैधानिक एवं कानूनी विषयमा दिएको राय सल्लाहको संक्षिप्त विवरण, प्रदेश सरकार बादी वा प्रतिवादी भई दायर भएका मुद्दा मामिलामा प्रतिरक्षा गरिएको संक्षिप्त विवरण, मुद्दा मामिलामा गरिनुपर्ने सुधारको विवरण लगायत प्रतिवेदनमा उल्लेख गर्दछ ।

डडेल्धुरा:  डडेल्धुराको दुर्गम क्षेत्र नवदुर्गा गाउँपालिका ५ को चौडमा जीप दुर्घटना हुँदा मृत्यु  भएका चारै जनाको सनाखत भएको छ । दुर्घटनामा परी एकै वडाका चार जनाको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा नवदुर्गा गाउँपालिका ५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीय तारा अवस्थी र ७२ वर्षीय कलावती साउद रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ । यसैगरी घाइते हुनेहरुमा वडा नं. ५ कै १८ वर्षीय सुशीला विक, ४४ वर्षीय प्रकाश विक, ४८ वर्षीय चन्द्रबहादुर साउद, ३५ वर्षीय रामबहादुर साउद, ४२ वर्षीय गणेशबहादुर साउद र वर्ष ४ की प्रतिका पार्की छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका इन्सपेक्टर डम्बर विष्टका अनुसार बिहीबार बिहान करिब ८ बजे से १ज ७३८ नं. को जीप दुर्घटना भएको थियो ।  ठाँटा बजारबाट जिल्ला सदरमुकाम डडेल्धुरा आउँदै गरेको जीप कच्ची सडकबाट करिब ५०० मिटर तल खसेको छ ।      यो पनि पढ्नुहोस   डडेल्धुरामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

डडेल्धुरा:  डडेल्धुरामा आज  बिहान जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। नवदुर्गा गाउँपालिका–५, चौडको कच्ची सडक खण्डमा डडेल्धुरा सदरमुकामतर्फ आउँदै गरेको से १ ज ७३८ नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।  जीप सडकबाट करिब पाँच सय मिटर तल जंगलमा खसेको र ४ जनाको मृत्यु र ४ जना घाइते भएको जानकारी आएको प्रहरी निरीक्षक डम्बर विष्टले बताए। उनका अनुसार उद्धार जारी छ।  दुर्घटनाको सूचनापछि अस्थायी प्रहरी पोस्ट ठाँटा बजार र जिप्रकाको टोली घटनास्थल पुगेका छन्। घाइतेलाई उद्धार गरेर डडेल्धुरा अस्पतालमा ल्याउने तयारी भइरहेको छ।  मृतकको सनाखत र दुर्घटनाको कारण खुल्न बाँकी छ।   

पोखरा:  यहाँको पोखरा महानगर– १७ स्थित सेती नदीको डिलैमा छ एउटा टिनको टहरा । प्राय त्यही टहरा भित्र भेटिनुहुन्छ ५५ वर्षीया मनमाया थापा मगर र उहाँकी २३ वर्षीय छोरा पूर्णबहादुर । पूर्णबहादूर पूर्ण अपाङ्ग हुनुहुन्छ । न उहाँको दृष्टि छ न त शरीर चल्छ । बोली पनि छैन । टहरा बनाउने थोरै जग्गा पनि आफन्तले उपलव्ध गराएका हुन् । झरीको बेला भित्ताबाट रसाएको चिसोले पूर्णको ओछ्यानसम्मै भिज्छ । भूइँमा ओछ्याइएको म्याट्रेसमा काठको मुढोझैँ पल्टिरहेका हुन्छन् पूर्ण । जसरी चिसोले रसाइरहन्छ भित्तो । त्यसरी नै २३ वर्षदेखि मनमायाको आँखा रसाइरहेको छ । उहाँलाई थाहा पनि छैन कि उहाँका आँखा कहिले ओभाउने हुन् । “छोरा जन्मिँदै अपाङ्गता देखियो”, उहाँ भन्नुहुन्छ, “त्यसयताका कुनै दिन मेरा लागि चाडबाड, रमाइलो, साथीभाई आफन्त रहेन, यही छोराको स्याहार गर्दैमा जिन्दगी बित्दो छ ।” छोरालाई ओछ्यानमै ख्वाउनुपर्छ । छोराको उमेरसँगै तौल बढ्दै गएपछि मनमायाले दिसापिसाब गराउन सक्नुहुन्न । “आफँैले सोहोरेर फाल्ने गरेकी छु”, उहाँले सुनाउनुभयो । बिहान उठेदेखि रातिसम्म छोराको हेरचाह गर्नु उहाँको दैनिकी हो । हुन त कुन आमालाई सन्तानप्रतिको माया नहोला र रु तर छोराप्रति आमाको माया बुझ्न मनमायाको वास्तविकता हेरे पुग्छ । उहाँहरुलाई देख्ने जोकोहीको आँखा रसाउँछ । “छोरो सानो हुँदा त दिसापिसाब गर्न बोकेर शौचालय लैजान्थेँ । अब त छोरो ठूलो भयो, मेरो पनि उमेर ढल्कँदो छ । बोक्नै सक्दिन”, उहाँले भन्नुभयो, “विस्तारामै फोहर गर्छ । जति सफा गरेपनि पुग्दैन । हिजोआज त कोठा नै गन्हाउन थालेको छ ।”  जब छोरालाई भोक लाग्छ अनि घुरे जस्तो आवाज निस्किन्छ । त्यसपछि खाना ख्वाउनुहुन्छ मनमाया । छोराले कमाएर दिने अवस्थामा उसैको स्याहारसुसार गर्नुपर्दा दुःख लाग्ने उहाँ बताउनुहुन्छ । तर आप्mनै कर्मलाई दोष दिँदै चित्त बुझाउनुहुन्छ मनमाया । पूर्णका बुवा लक्षु थापा मगर एक निजी विद्यालयको बस चालक हुनुहुन्छ । श्रीमानको कमाइकै भरमा घर चलेको छ । तर त्यो पर्याप्त अवश्य छैन । त्यसो त पूर्णबहादुर मनमाया र लक्षुको पहिलो सन्तान हैन । पाँच छोरामध्ये कान्छो हुन् पूर्ण । जन्मजातनै अपाङ्गता देखिएपछि एक महिनासम्म गण्डकी अस्पतालमा उपचारका लागि राख्दा पनि कुनै सुधार भएन । टहरादेखि बाहिर निकाल्दा उकालो उक्लनुपर्दछ । छोरोलाई एक संस्थाले दिएको ह्विलचेयरसमेत काम लागेन । आर्थिक अभावका कारण उपचारमा ‘फलोअप’का लागि कतै लैजान नसकेको पनि वर्षौँ बितिसकेको छ । पूर्णको नाममा ९क० श्रेणीको अपाङ्गताबापत्को सुरक्षा भत्ता प्राप्त हुन्छ । सो भत्ताले केही हदसम्म  पालनपोषणमा सहयोग पुगेको पूर्णका बाबु लक्षु थापामगरले बताउनुभयो । घरमा आउने कतिपयले परिवारको दुःख देखेर खानेकुरा र नगदसमेत दिने गर्छन् । उहाँले भन्नुभयो, “पोखरामा कतिपय वडामा सुकुम्वासी र अव्यवस्थित बसोबासी भए पनि हाम्रो जस्तो परिवारको त्यसमासमेत पहुँच छैन ।”  जग्गा पाउने होभने जेनतेन एउटा सानो भए पनि आप्mनै घर बनाएर अपाङ्गता भएका छोरालाई सजिलोसँग सुरक्षित छानामुनी राख्ने धोको मगर दम्पत्तिको थियो ।  अब त त्यो धोको पनि पुरा नभइ नै जिन्दगी बित्छ भन्नेमा ढुक्क हुनुहुन्छ उहाँहरु ।  उहाँहरुको जेठो कृष्णले रङरोगन सम्बन्धी काम गर्नुहुन्छ । माइला कर्णले धातुसम्बन्धी र साहिँलो सुरजले रेष्टुरेण्टमा काम गर्नुहुन्छ । अर्को विष्णु वैदेशिक रोजगारीमा साउदी हुनुहुन्छ । तर उनीहरु सबै आ–आफ्नै जहान परिवार पाल्नमै ठिक्क छन् ।   आफू काठमाडाँैको थानकोटमा जन्मिएको बताउनुहुन्छ लक्षु । “आमाबाबाले छ महिनाको हुँदा बोकेर पोखरा ल्याउनुभएको भन्ने सुनेको हुँ”, उहाँले भन्नुभयो, “म १४ वर्षको हुँदा बाबु आमा गुमाएँ । मेरा आफन्त को हुन्, कहाँ छन् मलाई केही थाहा छैन ।” उमेरले ५८ वर्ष पुग्नुभएका लक्षुका आफ्नै दुःख छन् । लामो समय पोखराको बजारमा हाते ट्याक्टर चलाउनुभएका उहाँले टोली आउँदा पोखरा महानगरपालिका–ं ८ बाट नागरिकता  बनाउनुभयो  ।  विसं २०७८ को जनगणनाअनुसार कूल जनसङ्ख्याको २।२ प्रतिशत जनसङ्ख्यामा कुनै न कुनै प्रकारको अपाङ्गता देखिन्छ । सो अनुसार मुलुकमा पूर्ण अपाङ्गताको सङ्ख्या ५७ हजार ४८६ रहेको छ । नेपाल जनसङ्ख्या तथा स्वास्थ्य सर्वेक्षण सन् २०२२ मा कूल जनसङ्ख्याको ६।७ प्रतिशतमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको उल्लेख छ ।  जैविक संरचना वा ‘जीन’मा देखिने खोट, गर्भमा रहँदा पर्याप्त पोषण तत्वको अभाव, विभिन्न दुर्घटना आदि जस्ता कारणले बच्चा अपाङ्गता भएको जन्मन सक्ने विज्ञहरु बताउँछन् । कतिपय लुला लङ्गडा वा विकलाङ्ग हुन सक्नदछन् भने कोही आँखा नदेख्ने, कोही कान नसुन्ने, बोल्न नसक्ने विभिन्न कारणले अपाङ्गता देखिएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान बाल विभाग प्रमुख डा रामचन्द्र बास्तोला बताउनुहुन्छ ।  विपन्न, असहाय परिवारमा अहिले पनि कतिपय अपाङ्गता भएका व्यक्ति सुविधायुक्त आवास, खानपान, सरसफाइ, उपचारको व्यवस्था नहुँदा कष्टकर जीवनयापन गर्न बाध्य भएको अपाङ्गता स्वावलम्बन सङ्घ नेपाल कास्कीका संस्थापक अध्यक्ष गिरधारी सुवेदीले बताउनुभयो  । कास्कीमा ९क० श्रेणीका पूर्ण अपाङ्गता भएका एक हजार ४०० भन्दा बढी छन् । अध्यक्ष सुवेदीका अनुसार अपाङ्गता भएकालाई सहयोग र मायाको खाँचो पर्दछ । जसका लागि घरपरिवार, समाज र राज्य संयन्त्र सहयोगी बन्नु अपरिहार्य छ । यस्ता अपाङ्गता भएका व्यक्तिको पालनपोषण र सुरक्षाको जिम्मा सरकारले लिन सकेमा कम्तिमा त्यस्ता कैयौँ मनमाया र लक्षु जस्ता दम्पत्तिको जिन्दगीका दुःखमा थोरै भएपनि मल्हम पट्टी लाग्ने थियो ।

काठमाडौं: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अस्ट्रेलिया उडान हुने भएको छ। चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अस्ट्रेलिया उडान गर्ने तयारी गरेको हो। उक्त प्रयोजनका निम्ति सिचुवान एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अस्ट्रेलिया उडानको अनुमति मागेको हो। उडान अनुमतिका लागि अनौपचारिक छलफल भएको र आवश्यक प्रक्रिया पूरा गरेर अनुमति दिने तयारी गरिएको उनले बताए। आगामी सेप्टेम्बर महिनाबाट उडान गर्ने कम्पनीको योजना रहेको छ। ुसिचुवान एयरलाइन्सले पोखराबाट अस्ट्रेलिया उडान गर्ने योजना बनाएको छ। पोखराबाट छेन्दु हुँदै अस्ट्रेलिया उडान गर्नेबारे अनौपचारिक कुराकानी भएको छ।  औपचारिक रूपमा प्रक्रिया टुङ्ग्याउने विषयमा द्विपक्षीय छलफलमा भइरहेको छ। छिट्टै उडानको तालिका सम्बन्धित वायुसेवाबाट पेस होला,ु सूचना अधिकारी भूलले भने। यो उडान भएमा अस्ट्रेलिया आवत–जावत गर्ने नेपालीलाई सहज हुने विश्वास लिइएको छ। यसअघि सिचुवान एयरलाइन्सले पोखरा विमानस्थलमा केही समय चार्टर उडान गरेको थियो। कम्पनीले नयाँ गन्तव्यका रूपमा अस्ट्रेलियामा नियमित उडान गर्न चाहेको हो। विसं २०८० असार ६ गते उक्त एयरलाइन्सको एयरवस ‘ए’ ३१९ पहिलोपटक पोखरा विमानस्थलमा उडान सुरु गरेको थियो। असारको ८ र ९ गते फेवातालमा भएको ‘नेपाल–चाइना फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल २०२३’ सहभागी चिनियाँ प्रतिनिधि, खेलाडी, दर्शकसहितका पर्यटकलाई ल्याउने र लैजाने प्रयोजनार्थ चार्टर्ड उडान गरिएको थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार पोखरामा हिमालय एयरलाइन्सले मात्रै नियमित उडान गरिरहेको छ। कम्पनीले आगामी सेप्टेम्बर महिनादेखि अस्ट्रेलिया उडान गर्ने योजना बनाएको छ। यसैबीच भुटानको निजी वायुसेवा कम्पनी भूटान एयरलाइन्स (टासी) ले पनि पोखरा विमानस्थलमा चार्टर्ड उडान गर्ने तयारी गरेको छ। एयरलाइन्सले पोखराबाट पारो इन्टरनेसनल एयरपोर्टका लागि दुईरतीनवटा चार्टर्ड उडानको अनुमति मागेको प्राधिकरणका सूचना अधिकारी भूलले बताए। उनका अनुसार भूटान एयरलाइन्सले आगामी सेप्टेम्बर २८ र अक्टोबरमा चार दिन यात्रु चार्टर्ड उडानका लागि अनुमति मागेको छ। भूटान एयरलाइन्सले पहिलेदेखि नै उडान गर्ने भनेको थियो। ुचार्टर्ड उडान दिगो भएमा काठमाडौंजस्तै पोखरा र भैरहवाबाट एउटा देशको एयरलाइन्सलाई पोखरा हुँदै अर्को देश जान पाउने उडान ‘फिफ्थ फ्रिडम फ्लाइट’ दिने भनेर पहिले नै निर्णय गरिएको छ। सुरुमा भूटान एयरलाइन्सले काठमाडौं–पारो–काठमाडौं उडान गर्नेछ। उडान नियमित भएको खण्डमा पारो–पोखरा–दिल्ली र दिल्ली–पोखरा–पारो उडान गर्ने एयरलाइन्सको योजना छ’, सूचना अधिकारी भूलले भने। भूटान एयरलाइन्सलाई केही दिनभित्रै उडान अनुमति दिइने प्राधिकरणले जनाएको छ। हाल हिमालय एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हप्तामा एक दिन नियमित उडान गरिरहेको छ। काठमाडौं–ल्हासा–पोखरा–ल्हासा–काठमाडौं जोड्नेगरी हिमालयले उडान सञ्चालन गरिरहेको हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्षपछि हिमालयले पहिलो व्यावसायिक उडान सुरु गरेको थियो। विमानस्थलमा हिमालयका साथै सिचुवान र भूटान एयरलाइन्सको उडान भएमा विमानस्थल चलायमान बन्ने र गन्तव्य जाने यात्रुका लागि पनि सहज हुने प्राधिकरणको विश्वास छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल विसं २०७९ पुस १७ गते उद्घाटन भएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७१ वर्षपछि मुलुकभित्र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो। त्यसको छ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भयो। यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तार हुने क्रम जारी छ। तीन हजार ९०० रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झन्डै २२ अर्ब लागतमा निर्माण भएको हो। वार्षिक आठ लाख यात्रुलाई सेवा दिनसक्ने क्षमताको यस विमानस्थलमा दुई हजार ५०० मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग रहेको छ। हाल भूटानको सरकारी वायुसेवा कम्पनी ड्रुक एयर र भूटान एयरलाइन्सले काठमाडौंमा नियमित उडान गरिरहेका छन्। भूटान एयरलाइन्सले ‘फिफ्थ फ्रिडम फ्लाइट’ प्रयोग गरेर पारो–काठमाडौं–दिल्ली र दिल्ली–काठमाडौं–पारो भएर हप्ताको चार दिन उडान गरिरहेको छ। ड्रुक एयरले पारो–काठमाडौं–पारो–दिल्ली–काठमाडौं  ‘ओभर फ्लाइट’ गरिरहेको छ। आगामी सेप्टेम्बर २८ र अक्टोबरमा चार दिन यात्रु चार्टर्ड उडान अनुमति पाएर सेवा सञ्चालन भएमा त्यसले पनि यसको प्रचारमा टेवा पुग्ने विश्वास गरिएको छ। प्राधिकरणका अनुसार चार्टर्ड उडान अनुमति दिन केही समस्या नभए पनि नियमित उडानका लागि भने अब पोखरा र भैरहवा वेस भएर उडान गर्नेगरी अनुमति दिइनेछ। नेपालले हाल ४२ मुलुकसँग हवाई सेवा सम्झौता गरेको छ। हवाई सम्झौता पुनरावलोक गर्दा भैरहवा र पोखरा उडान थपिनेछ। कुनै पनि वायुसेवा कम्पनीलाई पोखरा र भैरहवाबाट चार्टर्ड उडान गर्न दिन कुनै समस्या नभएको सूचना अधिकारी भूलले बताए। प्राधिकरणको विवरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर नेपालका तीन हवाई सेवा प्रदायक कम्पनीसहित ३० एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन्। भैरहवामा जजिरा र थाई एयर एसियाले उडान गर्दै    भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा जजिरा एयरवेज र थाई एयर एसियाले पुनः उडान सञ्चालन गर्ने भएका छन्।  यी दुवै एयरलाइन्सले विगतमा पनि भैरहवा उडान गरेर स्थगित भएको थियो। थाई एयर एसियाले अक्टोबर २६ देखि सुरु हुने ‘विन्टर सेडुअल’ मा उडान गर्नेगरी तयारी गरेको छ। हप्तामा दुई उडान गर्ने एयरलाइन्सको योजना छ। यस्तै, जजिरा एयरले पनि विन्टर ‘सिजन’मा उडान गर्ने योजना बनाएको छ। हाल भैरहवाबाट नियमित उडान गरिरहेको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को उडान लामो समयदेखि हुन सकेको छैन। काठमाडौं मलेसिया र मलेसियाबाट भैरहवा उडान गरिरहेको एयरलाइन्सले विमानको अभावमा उडान स्थगित गरेको जनाइएको छ। गौतमबुद्ध विमानस्थलमा विभिन्न चार्टर्ड उडान सञ्चालन भइरहेका छन्। प्राधिकरणका सूचना अधिकारी भूलले विन्टर सिजनबाट थाई एयर एसिया र जजिरा एयरलाइन्सले नियमित उडान गर्ने विश्वास व्यक्त गरे। जजिराले हाल कुवेतबाट काठमाडौं उडान गर्दै आएको छ। भैहरवाबाट जजिरा र पोखराबाट सिचुवान एयरलाइन्सले उडान सुरु गरेपछि दुवै विमानस्थलमा अरू विदेशी वायुसेवा पनि आकर्षित हुने प्राधिकरणको विश्वास छ। जजिराले यसअघि दुईपटक भैरहवाबाट उडान गरिसकेको छ। विसं २०७९ फागुनमा दोस्रोपटक उडान सुरु गरेको यस वायुसेवाले त्यसअघि साढे दुई महिना उडान गरेर प्राविधिक कारण देखाउँदै उडान स्थगित गरेको थियो। एयरलाइन्सले पुनः नियमित उडान सुरु गर्न लागेको हो। पोखरा र भैरहवामा उडान गर्ने विदेशी वायुसेवालाई सरकारले आकर्षक छुट सुविधासमेत दिएको छ। हाल यहाँबाट हुने अन्तर्राष्ट्रिय उडानबाट पाउने सम्पूर्ण शुल्क छुट दिइएको छ। नेपाल वायुसेवा निगमले दिने ‘ग्राउन्ड ह्यान्डलिङ’ सेवामा जम्मा २५ प्रतिशतबाहेक अतिरिक्त कुनै पनि शुल्क तिर्नु पर्दैन। यी दुई विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानको छुट तथा सहुलियत सरकारले २०८१ साउन २८ देखि दिएको हो। सरकारले ‘नागरिक उड्डयन क्षेत्रको समग्र सुधार तथा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजना’ अनुसार छुट दिएको हो। यी दुई विमानस्थलको अन्तर्राष्ट्रिय उडानका लागि हवाई टिकटमा लाग्ने प्रतियात्रु तीन हजार रुपैयाँको यात्रु सेवा शुल्कमा छुट छ। यी दुवै विमानस्थलको अन्तर्राष्ट्रिय उडानमा पार्किङ, ल्यान्डिङ र न्याभिगेसन शुल्कमा पूर्ण तथा नेपाल एयरलाइन्सले दिने ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ७५ प्रतिशत छुट दिइएको छ।

काठमाडौं:  सरकारले सात दिन भित्र सामाजिक सञ्जाल दर्ता हुनुपर्ने निर्णय गरेको छ। भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले यस्तो जानकारी गराउनुभएको हो। सर्वोच्च अदालतको आदेशबमोजिम सामाजिक सञ्जाल सात दिनभित्र सञ्चार मन्त्रालयमा सूचीकरण हुनुपर्ने र तोकिएको अवधिमा सूचीकरण नभए नेपालमा निष्क्रिय गराउन दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको हो। सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० तथा सर्वोच्च अदालतको आदेशबमोजिम सामाजिक सञ्जाल सञ्चालकलाई जिम्मेवार तथा जवाफदेही बनाउन सात दिनको म्याद दिई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणका लागि सार्वजनिक रूपमा आह्वान गर्ने’, मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री गुरुङले भन्नुभयो, ‘तोकिएको अवधिमा सूचीकरण हुन नआउने वा सूचीकरणका लागि सम्पर्कमा समेत नआउने सामाजिक सञ्जाललाई क्रमशः नेपाल भित्र निष्क्रिय गराउन र सूचीकरण गरेमा सोही क्षणबाट ती सामाजिक सञ्जाललाई पुनः सक्रिय गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने।’ मन्त्रिपरिषद् बैठकका १० वटा निर्णय सार्वजनिक भएका छन्। नियमित पत्रकार सम्मेलन गर्दै उहाँले भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकका १० वटा निर्णय बुधबार सार्वजनिक गर्नुभएको हो।  

पोखरा: वि १३ युकेले फुटबल प्रतियोगिताबाट उठेको रकम मृगौला पीडितलाई सहयोग गरेको छ ।  पोखरा १३ बाझापाटनको युके स्थिति क्लबले क्षेत्र बहादुर विकलाई ३५ हजार रुपैयाँ सहयोग गरेको हो ।  युकेमा संकलन भएको रकम बुधबार बाझापाटनका मृगौला पीडित विकलाई सहयोग गरेको वि १३ क्लबका अध्यक्ष हिकमत गुरुङले जानकारी दिए । रोजगारको शिलशिलामा युकेमा रहेर आफ्नो ठाउँलाई सहयोग गर्ने बि १३ परिवारलाई उनले धन्यवाद दिए ।  ‘उहाँहरु रोजगारको लागि विदेशीएपनि आफ्नो क्लबलाई माया गरेर सामाजिक कार्य गर्नु निकै राम्रो काम हो’ उनले भने, ‘हामीले पनि पोखरामा खेलकुद देखी सामाजिक गतिविधि गर्दै आउँदा बि १३ युकेले हरेक पटक सहयोग गर्दै आइरहेको छ ।’  वि १३ युकेले अगष्ट २ मा युकेले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा नवौं संस्करणको फुटबल प्रतियोगिताको आयोजना गरेको हो ।  हाम्रो मोर्गेजेज्स र रेड प्रोट एकाउन्टीङको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको उपाधि झापा फुटबल क्लबले जितेको थियो । वासिङकोट युथ नेप्लिज कम्युनिटी दोस्रो भएको थियो ।  खुला तर्फ २० टिमको सहभागिता रहेको थियो । यस्तै भेट्रान्स तर्फ धरान ११ पहिलो हुँदा प्लुमेस्टेड भिइटीले दोस्रो स्थान हासिल गरेको थियो ।