विराटनगर: नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललित नारायण राजवंशीकी आमा सरलाको आइतबार निधन भएको छ। सरलाको आइतबार बिहान विराटनगरस्थित निवासमै निधन भएको हो । ६३ वर्षीया उनी केही समयदेखि मुटुको रोगकी बिरामी रहँदै आएकी थिइन् । उनको स्वास्थ्य अवस्था केही सातादेखि नाजुक बनेको थियो। आमाको निधनको खबर पाएलगत्तै काठमाडौंमा रहेका क्रिकेटर ललित विराटनगर आइपुगेका छन्। अहिले विराटनगर महानगरापालिका–१४ स्थित उनको परिवारका सदस्य, आफन्त र छिमेकीहरू जम्मा भएकाछन् । आमाको निधनको खबर पाएपछि उनले भावुक हुँदै इन्स्टाग्राममा एउटा पोस्ट लेखेका छन् । ललित शुभो राजवंशीका तीन छोरा र एक छोरीमध्ये कान्छा हुन्। क्रिकेट संघ अफ नेपाल (क्यान) ले एक विज्ञप्ति जारी गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। सरला राजवंशी आफ्नो जीवनकालमा सामाजिक तथा धार्मिक कार्यमा सक्रिय रहँदै आएकी थिइन्। उनी श्रीमान्, दुई छोराछोरी र नातिनातिनीसहितको परिवारसँग थिइन् ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गर्नुभएको छ । आइतबार बिहान प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतलनिवास पुग्नुभएको हो । राष्ट्रपति र प्रधानमन्त्रीबिचको भेटवार्ता नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
धनुषा: जनकपुरधाम उपमहानगरपालिका–९ ब्रह्मपुरीस्थित थापा चोक नजिक आइतबार बिहान रेल र एक कार एकापसमा ठोक्किँदा दुर्घटना भएको छ । बागमती प्रदेश०१–०२५च १२९० नम्बरको कार बिहान ८ः३० बजे महोत्तरीको पिपराढी स्टेशनबाट जनकपुरधामतर्फ आउँदै गरेको नेपाल रेल्वेको रेलसँग ठोक्किएको हो । दुर्घटना रेलमार्ग नजिकैको ‘क्रसिङ एरिया’मा भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बरुणबहादुर सिंहले जानकारी दिनुभयो । स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार रेलले कारलाई ठक्कर दिँदा ठूलो आवाज आएको थियो । कारमा तीन जना सवार थिए । उनीहरुलाई सामान्य चोटपटक लागेको छ भने कारमा ठूलो क्षति पुगेको छ । दुर्घटनापछि केही समय रेल सेवा अवरुद्ध भएको जनाइएको छभने सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता सिंहले जानकारी दिनुभयो ।
रामेछाप: रामेछापको मन्थलीबाट हेटौँडातर्फ जाँदै गरेको बा१३ च ३९३५ नम्बरको सवारी साधान (पिकअप स्कारपियो) गाडी मन्थली नगरपालिका–६ बोक्से पहरो भन्ने ठाउँमा दुर्घटना हुँदा ४० वर्षीया राधा कार्की चौहानको घटनास्थमै मृत्यु भएको छ । उनी मन्थली नगरपालिकाकी स्वास्थ्यकर्मी रहेको बताइएको छ । स्कारपियो’का चालक एव उनीका पति ४५ वर्षीय उत्तम चौहान घाइते भएका छन् । घाइतेलाई मन्थली सामुदायिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कौशल न्यौपानेले बताउनुभयो । उहाँका अनुसार गाडी सडकबाट करिब एक सय मिटर तल खसेर तामाकोशी नदी किनारमा पुगेको थियो । मन्थली –७ मा रहेको सहरी स्वास्थ्य केन्द्र बडिमुहानकी इन्चार्जसमेत रहनुभएकी राधा र विद्युत् प्राधिकरण मन्थली शाखामा कार्यरत उत्तम हेटौँडामा अध्ययनरत रहेका छोरालाई भेट्न आज बिहान हेटौँडा जाँदै गरेका बताइएको छ ।
काठमाडौं: प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज काठमाडौँ उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने तथा उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई संसारले पनि यस्तै शोक व्यहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आआफ्नो घरका दिवङ्गत भएका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ । प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद ९राजदरबार० भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि कायम छ । देशका विभिन्न सहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गर्छ । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ । विकृतिका विरुद्ध हास्यव्यङ्ग्यका रुपमा गाईजात्रा पञ्चायती व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै २०१७ पुस १ गतेको शाही ‘कू’पछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको थियो । विसं २०३३ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महोत्सवका रूपमा झाँकी र हास्यव्यङ्ग्यसहित गाईजात्रा फेरि मनाउन थालेको हो । हास्यव्यङ्ग्यले बुझ पचाएर जथाभावी गर्नेलाई सचेत गराउने र अनर्थकतामा सार्थकता झल्काउँछ । जात्राका क्रममा पाटनमा देखाइने सत्ययुगको धान, चामलको नमूना र काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन् । आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गरिन्छ । सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजनासमेत हुन्छ । पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशित गरिन्छ । गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा, पोखरालगायत नेवार समुदायका नागरिकको विशेष उपस्थिति रहेको सहरमा धुमधामका साथ मनाइन्छ । यस अवसरमा हाँस्य कलाकारहरुले पनि विशेष कार्यक्रमको आयोजना गर्ने गरेका छन् । सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
काठमाडौं: मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका केही र मधेश प्रदेशलगायत देशका अन्य प्रदेशका पहाडी र तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशको पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशभर साधारणतया बदली रहनेछ । मधेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान र बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ घान्द्रुकस्थित रोधी क्लब घान्द्रुकको अध्यक्षमा लक्षिण गुरुङ सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न भएको रोधीं क्लबको १७ औं साधारण सभा तथा चौथो अधिवेशनबाट लक्षिण गुरुङका अध्यक्षतामा ११ सदस्य कार्यसमिति चयन गरेको हो । क्लबको वरिष्ठ उपाध्यक्षमा अमृत गुरुङ लामा, उपाध्यक्षमा रुक्सा गुरुङ (मिना), सचिवमा अर्जुन क्षेत्री, सहसचिवमा गोकुल पौडेल र कोषाध्यक्षमा सन्तोष क्षेत्री चयन भए । यस्तै क्लबको सदस्यहरुमा कृष्ण बहादुर गुरुङ, ईश्वर गुरुङ, कृष्णा सुनार, मनबहादुर क्षेत्री चयन भए । नवनिर्वाचित अध्यक्ष लक्षिण गुरुङले घान्द्रुकको विकास, खेलकुद, शिक्षा, पर्यटनसँगै संस्कृति संरक्षणमा विशेष ध्यान दिने बताए । ‘घान्द्रुकको विकासमा जनप्रतिनिधि र क्लबले सहकार्य गर्दै अगाडि बढ्ने छौं, नवनिर्वाचित अध्यक्ष गुरुङले भने, ‘कल्चर र नेचरमा धनी घान्द्रुकको विकाससँगै खेलकुद, शिक्षा, पर्यटनसँगै संस्कृति संरक्षणमा विशृष ध्यान दिने गरी काम गछौं ।’
धनगढी: कैलाली कारागारमा हिजो राति भएको भीषण झडपमा एक जनाको मृत्यु र ४७ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र एक जनाको आइसीयुमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। घटनापछि आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा बनेको समितिमा नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंह, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक जनकराज पन्त, अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य छन्। समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार ‘उपयुक्त विधि अपनाई के कसो भएको हो आवश्यक छानबिन गरी प्रतिवेदन पेस गर्न’ भनिएको छ। घटनाको कारणबारे आधिकारिक रूपमा केही सार्वजनिक गरिएको छैन तर प्रारम्भिक जानकारी अनुसार कैदीबन्दीबीचको विवादले झडपको रूप लिएको अनुमान गरिएको छ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानको भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता हुनुभएको छ । तुर्कमेनिस्तानको आवाजामा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भइ आज उहाँ नेतृत्वको टोली स्वदेश फर्केको हो । प्रधानमन्त्री ओलीलाई तुर्कमेनबासी अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहान ८ः३० बजे तुर्कमेनिस्तान सरकारका उपप्रधानमन्त्री ले बिदाइ गर्नुभएको थियो । प्रधानमन्त्री ओली दुबई हुँदै आज राति नेपाल आइपुग्नुभयो । प्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलमा उहाँकी धर्मपत्नी श्रीमती राधिका शाक्य, उहाँका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, संघीय प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापा क्षेत्री तथा उच्च सरकारी अधिकारीहरू सहभागी हुनुहुन्थ्यो।