म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदीबाट विद्युत् उत्पादन गर्न जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । कालीगण्डकी नदीमा निर्माण हुन लागेको यो पहिलो आयोजना हो । हाइड्रो सपोर्ट कम्पनीले ६६ दशमलब तीन मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् आयोजना निर्माण थालेको हो । सिभिल ठेकेदार रसुवा–मल्टी जेभीले अन्नपूर्ण गाउँपालिका–२ नागढङ्गामा विस्फोटक पदार्थको प्रयोग गरेर गत हप्तादेखि चार हजार तीन सय १९ मिटर लामो सुरुङ निर्माण सुरु गरेको हाइड्रो सपोर्टका सञ्चालक चन्द्र ढकालले बताउनुभयो । अडिटको दुरी चार सय ५९ मिटर छ । बाँधतर्फबाट यही साउन महिनाभित्र र आउटलेटबाट हिउँददेखि सुरुङ खन्ने तयारी भएको छ । अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा १२ मिटर अग्लो र ३५ मिटर लामो बाँध बनाइ ल्याउने पानी एक सय ५१ मिटर उचाइबाट अन्नपूर्ण–२ नौनीबगरमा निर्माण हुने भूमिगत विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्य छ । रन अफ दर रिभर प्रकृतिको यस आयोजनाको विद्युत्गृह, स्विचार्ड, कन्ट्रोल रुम जमिनभित्र भूमिगत हुन्छ । रसुवा–मल्टि जेभीका प्रमुख कार्यकारी अधिकृत फणिन्द्रराज पाण्डेले सुरुङ निर्माणका लागि अत्याधुनिक बुमर रोवटिक सटकिटलगायत उपकरण ल्याएको बताउनुभयो । मध्य कालीगण्डकीको विद्युत् नौनीबगरदेखि सात किलोमिटरमाथि दानामा रहेको २२० केभी क्षमताको सवस्टेशनमार्फत केन्द्रिय प्रणालीमा आवद्ध हुनेछ् । आगामी तीन वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको हाइड्रो सपोर्टका सञ्चालक ढकालले बताउनुभयो । कूल रु १२ अर्ब ९३ करोड लागत अनुमान गरिएको यस आयोजनामा नविल बैंक लिमिटेडको नेत्तृत्वमा छ वटा वाणिज्य बैंकले ७५ प्रतिशत, २५ प्रतिशत प्रर्वद्धक र शेयर लगानीकर्तामार्फत जुटाइने भएको छ । नेपाल विद्युत् प्रधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता हुँदा हिउँदयामको विद्युत् खरिद दर रु आठ ४० पैसा र वर्षायामको दर रु चार रुपैयाँ ८० पैसा कायम भएको छ । आयोजनाबाट हिउँदमा एक सय ३० गिगावाटबाट रु एक अर्ब नौ करोड र बर्खामा दुई सय ७७ गिगावाटबाट रु एक अर्ब ३३ करोड आम्दानी हुने प्रक्षेपण छ । मध्य कालीगण्डकीसहित कालीगण्डकी नदी बेसिनमा तीन सय मेगावाट भन्दा बढी क्षमताका तीन वटा जलविद्युत् आयोजनाले निर्माणको अनुमति लिएका छन् । ६५ मेगावाटको माथिल्लो कालीगण्डकी, एक सय ८० मेगावाटको कालीगण्डकी गर्जले पनि निर्माणको तयारी गरेका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन आज मध्यरात त्यसतर्फ प्रस्थान गर्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले प्रधानमन्त्रीलाई विदाई गर्नुभयो । सो अवसरमा नेपाल सरकारका मुख्य सचिव, नेपाली सेनाका प्रधानसेनापति, सुरक्षा निकायका प्रमुखहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीलगायतको उपस्थिति थियो । प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाले सम्मान गारद अर्पण गरेको थियो । तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली सम्मेलनमा सहभागी हुन त्यसतर्फ जानुभएको हो । यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) तुर्कमेनिस्तानको ‘अवाजा’ सहरमा सम्मेलन आयोजना हुनेछ । सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम छ । सम्मेलनका क्रममा एक उच्चस्तरीय गोलमेच बैठकको सहअध्यक्षता गर्नुका साथै अन्य विविध कार्यक्रममा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । नेपाल हाल एलएलडिसी समूहको अध्यक्षसमेत रहेको छ । एसिया, युरोप, अफ्रिका र दक्षिण अमेरिकाका ३२ वटा भूपरिवेष्ठित विकासशील देशहरूले भाग लिने सो सम्मेलनमा समुद्रमा प्रत्यक्ष क्षेत्रीय पहुँचको अभाव, भूपरिवेष्ठित मुलुकहरूले भोग्नुपरेका समस्या र विश्व बजारबाट लिनसक्ने लाभलगायतका विषयमा छलफल हुनेछ । ती मुलुकहरुको अन्तरराष्ट्रिय व्यापार अन्य देशहरू हुँदै पारवहनमा निर्भर रहनुपरेको यथार्थलाई दृष्टिगत गरी अतिरिक्त सीमा पार गर्ने ठाउँहरू र प्रमुख बजारबाट लामो दूरी, बोझिलो पारवहन प्रक्रिया र अपर्याप्त पूर्वाधारसँगै यातायात र अन्य लेनदेनसहित कूल लागतमा उल्लेखनीय वृद्धि हुने भएकाले भूपरिवेष्ठित विकासशील देशहरूको प्रतिस्पर्धात्मक क्षमता बढाउन सम्मेलन केन्द्रित रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखसँग र संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय संस्थाका उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता गर्नुहुनेछ । समुद्रमा प्रत्यक्ष क्षेत्रीय पहुँच नभएका कारण भूपरिवेष्ठित विकासशील देशहरूले अन्तरराष्ट्रिय व्यापार, कनेक्टिभिटी र आर्थिक विकासको चुनौती सामना गरिरहेका छन् । यसैगरी, प्रत्यक्ष पहुँचका अभावमा विश्वव्यापी बजारबाट उल्लेखनीय लाभ लिन नसकेको, यातायातको विश्वव्यापी सहज सञ्जाल नभएको र खाद्य पूर्वाधार विकास गर्न कठिन रहेको अवस्थामा दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न सम्मेलन फलदायी हुने विश्वास लिइएको छ । सम्मेलनले सदस्य राष्ट्रहरूले झेल्नु परिरहेको समस्या समाधानका लागि रणनीतिक साझेदारीसहित लगानी वृद्धि गरी चुनौतीहरू सम्बोधन गर्न र यी राष्ट्रहरूको पूर्ण क्षमतालाई आँकलन गर्न सहयोग पु¥याउने ठानिएको छ । यसैगरी यी देशहरूलाई सहयोग गरेर आपसी समान र समृद्ध भविष्य निर्माण गर्न सम्मेलनको महत्त्वपूर्ण भूमिका रहने छ । यसअघि भूपरिवेष्ठित विकासशील देशहरूको दोस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलन सन् २०१४ को नेभेम्बर ३ देखि ५ सम्म अस्ट्रियाको भियनामा भएको थियो । करिब १० वर्षअघि भएको सो सम्मेलनमा ‘अल्माटी कार्ययोजना कार्यान्वयनको समीक्षासहित नयाँ र उदीयमान चुनौतीको सामना गर्न साझेदारी र अवसरका सन्दर्भमा अन्तरराष्ट्रिय, क्षेत्रीय, उपक्षेत्रीय र राष्ट्रिय तथा अन्तरराष्ट्रिय व्यापार र पारवहन यातायात सहयोग नीतिहरू पहिचान गर्नु र पारवहन यातायात प्रणालीहरू’का विषयमा छलफल भएको थियो । प्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय भ्रमण टोलीमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रतिनिधिसभाका सदस्य सूर्यबहादुर थापा क्षेत्री, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक प्रा डा दिव्यासिंह शाह, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, उच्चपदस्थ सरकारी अधिकारी, अफिसियल मिडियाकर्मी र सुरक्षाकर्मीसमेत सहभागी हुनुहुनेछ । प्रधानमन्त्री ओली यही साउन २३ गते शुक्रबार राति स्वदेश फर्कनुहुने कार्यक्रम छ ।
काठमाडौं: पूर्व राष्ट्रपति रामवरण यादवले तनहुँको राजनीतिक तथा सामाजिक नेता स्व. तारापति भट्टराईको ‘म र मेरो भन्दा माथि नेपाल आमा तथा नेपाली सन्तान’ भन्ने राजनीतिक आदर्श अहिले राजनीतिक शिक्षामा अपरिहार्य भएको बताउनुभएको छ । काठमाडौँमा तारापति स्मृति प्रतिष्ठानले आयोजना गरेको भट्टराईको स्मृति ग्रन्थ लोकार्पण गर्दै उहाँले, युवा पुस्तामा निष्ठा र आदर्शको राजनीति सिकाउन अग्रजहरुको योगदान अभिलेखन र पुस्तान्तरण गर्नु पर्ने बताउनुभयो । ‘संसारले अभ्यास गरेको उन्नत लोकतान्त्रिक अभ्यास देशले उपयोग गरिरहेको छ । यसमा केही राम्रा अभ्यास भएका छन् । केही विकृति पनि देखिएका छन् । अहिले राम्रा काम र प्राप्त उपलब्धिका विषयमा कुरा नै हुँदैन । खाली नराम्रा कुरा मात्र गरिन्छन् । यसकारण राम्रा कुराको प्रवर्धन गर्दै विकृतिलाई सच्याउँदै जानु पर्ने आवश्यकतालाई अग्रजले देखाएको निष्ठालाई सिकाइ बनाउन सकिन्छ ।’ उहाँको भनाइ थियो । उहाँले, स्व। भट्टराईले आफू पाउन नभइ जनतालाई दिन गर्नु भएको योगदान, पुस्तान्तरणका लागि उपयुक्त सिकाइ भएको उल्लेख गर्नुभयो । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, राष्ट्रिय सभा सदस्य पदम परियार, गण्डकी प्रदेश सभा सदस्यहरु अशोक श्रेष्ठ र जितप्रकाश आले, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, शुक्ला गण्डकी नगरका प्रमुख कृष्णराज पण्डितसहितका वक्ताहरुले जनताको माझमा बसेर प्रजातन्त्र प्राप्त गर्ने अभियानका कुशल पथ प्रदर्शकका रुपमा चर्चा गर्नुभयो । यस्तै पूर्वमन्त्रीहरु अर्जुननरसिंह केसी, शंकर भण्डारी, डा. रामचन्द्र अधिकारी, नरहरि आचार्य, संविधान सभा सदस्य रामचन्द्र पाखरेल लगायत वक्ताले तनहुँलाई आधुनिक विकासको पथमा लैजान भट्टराईको योजना आधार भएको उल्लेख गर्नुभयो । राजनीतिमा निष्ठा र आदर्शको प्रवर्धनका लागि तारापतिजस्ता अगुवाका बारेमा स्थानीय सरकारले जनताको इतिहासका रुपमा अभिलेखन गर्नु पर्ने उहाँहरुको सुझाव थियो । कार्यक्रममा उहाँका समकालीनहरु गोपीबहादुर गुरुङ्सहितका वक्ताहरुले भट्टराईको राजनीतिक, सामाजिक र आध्यात्मिक जीवनका बारेमा चर्चा गर्नुभएको थियो । यसरी बोल्ने वक्ताहरुले तनहुँ जिल्लाको सदरमुकाम बन्दीपुरबाट दमौलीमा सार्न, जिल्लामा सडक, ढल निकास र खानेपानीको सुविधाका लागि पूर्वाधार निर्माण गर्न, शैक्षिक सुधार गर्न तथा पञ्चायत शासनमा बसेर लोकतान्त्रिक अभियान सञ्चालन गर्न उहाँले गर्नुभएका क्रियाकलापका विषयमा चर्चा गर्नुभएको थियो । स्मृति ग्रन्थमा समकालीन राजनीतिक र सामाजिक क्षेत्रका ४० जना लेखकले भट्टराईसँग सम्बन्धित घटना र विषयसँग सम्बन्धित लेख समावेश छन् । प्रतिष्ठानका अध्यक्ष महेश्वर भट्टराईले विभेदरहित समाजको कल्पनामा तारापतिले देखाउनु भएको बाटो बर्तमान राजनीतिक अवस्था सुधारका लागि सान्दर्भिक भएको धारणा राख्नुभयो । स्व. नेता भट्टराईको संक्षिप्त चिनारी १९८९ चैत्र १ गते जन्मनुभएका तारापति भट्टराई नेपाली कांग्रेसका सरल र सादगी नेता हुनुहुन्थ्यो । २०६१ साल असार २१ गते परमधाम हुनुभएका भट्टराईले जीवनभर प्रजातन्त्रमार्फत नागरिक स्वतन्त्रता र सरल जीवनयापनका लागि राजनीतिक तथा सामाजिक नेतृत्व गर्नुभयो । ‘म र मेरो भन्दा माथि नेपाल आमा तथा नेपाली सन्तान’ भन्ने राजनीतिक दर्शन उहाँको जीवनको अनुकरणीय पक्ष हो । यसका लागि उहाँले रुपान्तरणका लागि अभियान र कार्यक्रम सञ्चालन गर्नुभयो । २००७ सालदेखि राजनीतिक नेतृत्वमा उहाँको महत्वपूर्ण भूमिका छ । शासन व्यवस्था परिवर्तनका अनेक आयाममा नेतृत्व गर्नुभएका भट्टराईले पञ्चायत कालमा पदीय दायित्व ग्रहण गर्दै प्रजातन्त्र र नागरिक स्वतन्त्रताका पक्षमा काम गर्नुभयो । नेपाली कांग्रेसले सञ्चालन गरेको भद्र अवज्ञा आन्दोलनलगायत अभियानमा उहाँको अग्रणी भूमिका थियो । २०१५ सालमा राजा महेन्द्र पश्चिमाञ्चल क्षेत्रका लागि पैदल भ्रमण गएका बेला सदरमुकाम बन्दीपुर थियो । सदरमुकाम जान आउन ढोर, रिसिङ्ग, घिरिङ्गलगायत पश्चिम तनहूँका जनतालाई ३र४ दिन हिड्नुपर्ने नदीनाला, अनगिन्ती खोला पार गर्नु परेकोले मर्का परेको जनाउँदै उहाँले दमौली वा खैरेनीटारमा सदरमुकाम सार्न निवेदन गर्नुभएको थियो । २०१५ सालको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका नेता भट्टराई २०१७ सालमा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको सरकार विघटन, संसदीय व्यवस्था माथि प्रतिबन्ध र राजनेताहरूको गिरफ्तारी गर्ने राजा महेन्द्रको कदम विरुद्ध अभियान सञ्चालन गर्दा कष्टपूर्ण जेल जीवन बिताउनु परेको थियो । २०१८ सालमा जनताको पक्षमा कार्य गर्ने उद्देश्यले पञ्चायतको चुनावमा सरिक हुनुभयो । तनहुँको तत्कालीन राईपुर गाउँ पञ्चायतबाट प्रधानपञ्चमा निर्वाचित हुनुभयो । उहाँको सक्रियता र अभियानको समर्थन गर्दै तनहुँबासीले २०२० सालमा उहाँलाई जिल्ला पञ्चायत सदस्यमा निर्वाचित गरे । तनहुँको सदरमुकाम बन्दीपुरबाट जिल्लाको केन्द्र भाग दमौलीमा सार्ने, दमौलीमा सदरमुकाम सार्ने क्रममा सहादत प्राप्त गर्नुभएका निर्मल रानाभाटको स्मृतिमा दमौलीमा निर्मल माध्यमिक विद्यालय स्थापना गर्ने, दमौलीमा एकीकृत र योजनाबद्ध बस्ती निर्माणमा उहाँको नेतृत्वदायी भूमिका थियो । जिल्ला पञ्चायत तनहुँका सभापति भएको समयमा राजा महेन्द्रबाट संविधान सुधार गर्न सुझाव माग हुँदा जिल्ला पञ्चायतबाट प्रजातन्त्रको बहाली, बालिग मताधिकार, मानव अधिकारलगायत जनताका पक्षमा संविधान बन्नुपर्छ भन्ने प्रस्ताव पारित गराउनुभएको थियो ।
म्याग्दीः म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा करिब नौ सय घरपरिवारमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका विभिन्न ठाउँमा आठ सय ७४ उपभोक्ता थपिएका जनाएको छ । केन्द्रका प्रमुख सत्यनारायण गामीले एक वर्षयता मालिका गाउँपालिका–३ पात्ले, लुप्सीपार, घ्याङलेपानी, वडा नं ४ को चिउरीबोट, धवलागिरि गाउँपालिकाको बुल र मलम्पारमा विद्युतीकरण भएको जानकारी दिनुभयो । उहाँका अनुसार धवलागिरि गाउँपालिका–२ लुलाङ, लमसुङ, खोरिया, मरेनी, वडा नं ५ को मल्कवाङ, मालिका गाउँपालिका–४ को महभिर, ५ को पन्थोक र जुग्जामा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको छ । पोल गाड्ने, तार तान्ने र ट्रान्सफर्मर जडान भइसकेका ठाउँका उपभोक्ताले मिटर जडान गरेपछि विद्युतीकरणले पूर्णता पाउने उहाँले बताउनुभयो । गत वर्ष अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीयस्थल पुनहिलमा विद्युतीकरण र घोडेपानीको वितरण लाइनको सुधार भएको थियो । एक सय ३२ केभी क्षमताको मिलनचोक–रातोढुङ्गा प्रसारण लाइन र रातोढुङ्गा सबस्टेशनबाट मङ्गला, मालिका र धवलागिरि गाउँपालिकामा गत वर्षदेखि विद्युत् आपूर्ति गराउन थालिएको छ । उज्यालोका लागि सोलार, मट्टितेलको टुकी, दियालो र सिट्ठामा निर्भर स्थानीयवासीमा बिजुली बलेपछि खुसीयाली छाएको धवलागिरि गाउँपालिका–६ का वडाध्यक्ष राजाराम सुवेदीले बताउनुभयो । घरायसी काम, विद्यार्थीलाई अध्ययन गर्न सहज हुनुका साथै उद्यम व्यवसाय सञ्चालन गर्ने अवसर सृजना भएको छ । यस वर्ष थपिएका सहित म्याग्दी वितरण केन्द्रअन्तर्गत २३ हजार ८६९ विद्युत्का ग्राहक पुगेका केन्द्रका सूचना अधिकारी प्रकाश झाले बताउनुभयो । आव २०८०/८१ मा एक हजार ४३८, २०७९/८० मा एक हजार २३८, २०७८र७९ मा सात सय ७० घरमा नयाँ लाइन जडान भएको प्राधिकरणको तथ्याङ्क छ । पर्वतको जलजला गाउँपालिकाको मल्लाज, वारीबेनी क्षेत्रमा पनि म्याग्दी वितरण केन्द्रअन्तर्गतको मिलनचोक सबस्टेशनमार्फत विद्युत् वितरण हुँदै आएको छ । म्याग्दीका १४ स्थानका दुई हजार १८३ घरमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सुविधा विस्तारका लागि प्राधिकरणले आव २०८०/८१ देखि रु २२ करोड बजेटको योजना सञ्चालन गरेको छ । गत आवमा म्याग्दी वितरण केन्द्रमार्फत एक करोड ७३ लाख ९५ हजार ७९७ दशमलव ७१ युनिट विद्युत् खपत हुँदा रु २० करोड ३३ लाख ६३ हजार ३८१ महसुल सङ्कलन भएको छ । समयमा महसुल नबुझाउने एक सय ४५ जना ग्राहकको लाइन काटेर रु १३ लाख ४५ हजार ४०७ बक्यौता असुल गरिएको छ । साठी दिनसम्म महसुल नतिर्नेको लाइन काट्ने र छ महिनासम्म महसुल नबुझाउनेलाई कालोसूचीमा राखिने प्राधिकरणले जनाएको छ । कालोसूचीमा परेका एक जनाबाट रु ७७ हजार महसुल उठाएको र थप ११ जनाबाट रु दुई लाख ७८ हजार ९०४ उठाउन बाँकी रहेको वितरण केन्द्रका लेखा प्रमुख श्याम रानाले बताउनुभयो ।
पर्वत: लगातारको वर्षाका कारण कालीगण्डकी नदीको बहाब उच्च विन्दुमा पुगेको छ । मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको अत्यधिक वर्षाका कारण नदीको सतह बढेको हो । आइतबार बिहान यस वर्षयताकै उच्च विन्दुमा नदीको सतह पुगेको कालीगण्डकी नदीमा पानीको बहाब उच्च भएको गेजरिडर कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँले बिहानदेखि नदीको सतहदेखि छ मिटर ४० सेन्टिमिटरको उचाइमा बहाब भइरहेको बताउनुभयो । यो यस वर्षकै सबैभन्दा बढी मापन हो । यसअघि आज विहान सात दशमलब ४० मिटरको विन्दुसम्म पुगेको थियो । वर्षा रोकिएकाले बहाब घट्दै जाने सम्भावना रहेको उहाँले बताउनुभयो । कालीगण्डकी नदीको बहाब बढेपछि तटीय क्षेत्रका बासिन्दा जोखिममा परेका छन् । पर्वतको जलजला गाउँपालिकाको बगरफाँट, वारीबेनी, मिलनचोक, लस्ती, खनियाँघाट, कुश्मा नगरपालिकाको मालढुङ्गा, नयाँपुल, मोदीवेणी, फलेवास नगरपालिकाको जैमिनीघाट र विहादी गाउँपालिकाको सेतीवेणीबजार उच्च जोखिममा परेका हुन् । बहाबले पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा अवस्थित विश्वकै ठूलो शालिग्राम शिलासमेत डुबानमा परेको छ । शिला डुबानमा परेसँगै उक्त क्षेत्रमा कार्यरत पुजारी तथा पण्डितसमेत चिन्तित बनेका छन् । प्रवित्र शालिग्राम शिला र शालिग्राम क्षेत्रका सत्तललगायतका सबै संरचना डुबाएको तिलक पराजुलीले जानकारी दिनुभयो । शिला संरक्षणका लागि बनाएको तटबन्ध र ग्याबियन समेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जाने पूर्वाधार पनि पूर्ण रूपमा क्षति पुगेको उहाँले बताउनुभयो । कालीगण्डएकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा पर्ने सेतीवेणीबजार डुबानको खतरामा पर्ने गरेको हो । बाँधका सबै ढोका भने खोलिएका छन् । कालीगण्डकी र सेतीखोलाको बहाब बढेसँगै सेतीवेणीबजार डुबानमा पर्ने चिन्ताले पर्वतमा पर्ने बजार क्षेत्र र स्याङ्जातर्फको बजार क्षेत्रका झण्डै दुई सय व्यापारी तथा सर्वसाधरण जोखिममा परेका छन् । विगत १६ वर्षअघि कालीगण्डकी र सेतीखोला उर्लेर आउँदा तीन दर्जन घरपरिवार विस्थापित बनेका थिए । विसं २०६६ असोज २१ मा बजार क्षेत्र नै डुबानमा परेको घटनाले उनीहरूमा सधैँभर त्रास थप्ने गरेको स्थानीय व्यावसायी विष्णु न्यौपानेले बताउनुभयो । उहाँले विश्वकै ठूलो शालिग्राम शिला डुबेको तर बजारसम्म भने आइनसकेको जानकारी दिनुभयो ।
काठमाडौं: उदयपुरको त्रियुगा गाईघाट जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गाईघाट जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहनाले सावधानी अपनाउनसमेत विभागले आग्रह गरेको छ । यसैगरी, पर्वत जिल्लास्थित कालीगण्डकी नदी, मोदी बेनी जलमापन केन्द्रमा जलसतह तह सतर्कता तह आसपास रहेको तथा बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको विभागले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित छ । विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशीलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । आज राति देशभर साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका तराई भूभागका धेरै स्थान तथा बाँकी पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेसलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
काठमाडौं: देशका विभिन्न स्थानमा भइरहेको वर्षाका कारण जलसतह बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । भक्तपुरको हनुमन्ते खोला कौशलटार जलमापन केन्द्रको जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा छ । नदी तटीय क्षेत्रमा रहेका र नदी किनार भई यात्रा गर्नेहरूले बिहानसम्म सावधानी अपनाउनु जरुरी छ । रुकुमपश्चिमको ठूलो भेरी, रिम्ना जलमापन केन्द्रको जलसतह सतर्कता आसपास रहेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा रहेकाले बिहानसम्म सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । यस्तै, म्याग्दी जिल्लास्थित म्याग्दी खोला, मङ्गलाघाट जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गर्ने क्रममा रहेकाले नदी तटीय क्षेत्र, कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन विभागले मध्यरातमा सूचना जारी गर्दै आम जानकारी गराएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित छ । आइतबार दिउँसो देशभर साधरणतया बदली रहनेछ । सबै प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश लगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राति देशभर साधरणतया बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी तराई भूभागका धेरै स्थानहरूमा तथा पहाडी भूभागका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज राति ११:५५ बजे फ्लाई दुबईको उडानबाट दुबई हुँदै तुर्कमेनिस्तान भ्रमणमा जानुहुँदैछ । यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) अवाजा सहरमा आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली त्यहाँ जान लाग्नुभएको हो । सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्यूरोको अध्यक्षका रूपमा समेत प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । उहाँले सम्मेलनको एक उच्चस्तरीय गोलमेच बैठकको सहअध्यक्षता गर्नुका साथै अन्य विविध कार्यक्रममा पनि सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल हाल एलएलडिसीहरूको अध्यक्षसमेत रहेको छ । लगभग ४४ करोड जनसङ्ख्या भएको अफ्रिका, एसिया, युरोप र दक्षिण अमेरिकामा अवस्थित ३२ भूपरिवेष्टित विकासशील देशहरूले भाग लिने उक्त सम्मेलनमा समुद्रमा प्रत्यक्ष क्षेत्रीय पहुँचको अभाव र विश्व बजारबाट तिनीहरूको दुर्गमता र अलगावसँग सम्बन्धित विषयमा छलफल हुनेछ । ती मुलुकहरुको अन्तरराष्ट्रिय व्यापार अन्य देश हुँदै पारवहनमा निर्भर रहने हुनाले अतिरिक्त सीमापार गर्ने ठाउँ र प्रमुख बजारबाट लामो दूरी, बोझिलो पारवहन प्रक्रिया र अपर्याप्त पूर्वाधारसँगै यातायात तथा अन्य लेनदेन लागतको कुल लागतमा उल्लेखनीय वृद्धि गर्ने भएकाले भूपरिवेष्टित विकासशील देशहरूको प्रतिस्पर्धात्मक क्षमता बढाउन सम्मेलन केन्द्रित हुनेछ । सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखसँग र संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ पदाधिकारीसँग भेटवार्ता गर्नुहुनेछ । उहाँको भ्रमण टोलीमा श्रीमती राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रतिनिधिसभाका सदस्य सूर्यबहादुर थापा क्षेत्री, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक प्रा डा दिव्यासिंह शाह, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, उच्चपदस्थ सरकारी अधिकारी, अफिसियल मिडियाकर्मी र सुरक्षाकर्मीसमेत सहभागी हुनुहुनेछ । प्रधानमन्त्री ओली यही साउन २३ गते राति स्वदेश फर्कने कार्यक्रम छ । भूपरिवेष्टित विकासशील देशहरू समुद्रमा प्रत्यक्ष क्षेत्रीय पहुँच नभएका कारण अन्तरराष्ट्रिय व्यापार, कनेक्टिभिटी र आर्थिक विकाससँग सङ्घर्ष गरिरहेका छन् । विश्वव्यापी बजारबाट अलग्गिएको र पर्याप्त यातायात तथा खाद्य पूर्वाधार विकास गर्ने साधनबिना, भूपरिवेष्टित विकासशील देशहरूले दिगो विकास लक्ष्यहरू प्राप्त गर्न गम्भीर चुनौतीको सामना गरिहेको सन्दर्भमा यो तेस्रो सम्मेलन हुनलागेको हो । सम्मेलनले समस्याका लागि नवीन समाधान, रणनीतिक साझेदारी र बढ्दो लगानीले यी चुनौतीलाई सम्बोधन गर्न र यी राष्ट्रहरूको पूर्ण क्षमतालाई आकलन गर्न मद्दत गर्ने ठानिएको छ । सम्मेलनले यी देशहरूलाई सहयोग गरेर आपसी समान र समृद्ध भविष्य निर्माण गर्न टेवा दिनेछ । भूपरिवेष्टित विकासशील देशहरूसम्बन्धी दोस्रो संयुक्त राष्ट्र सम्मेलन सन् २०१४ नोभेम्बर ३–५ मा अस्ट्रियाको भियनामा आयोजना गरिएको थियो । उक्त सम्मेलनले ‘अल्माटी’ कार्ययोजनाको कार्यान्वयनको समीक्षा गर्दै नयाँ र उदीयमान चुनौतीको सामनाका लागि साझेदारी तथा अवसरका सन्दर्भमा अन्तरराष्ट्रिय, क्षेत्रीय, उपक्षेत्रीय र राष्ट्रिय अन्तरराष्ट्रिय व्यापार तथा पारवहन यातायात सहयोग नीतिहरू पहिचान गर्नु र पारवहन यातायात प्रणालीहरूको विषयमा छलफल गरेको थियो । भ्रमणको सम्पूर्ण तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो शनिवार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भेट गर्दै आफ्नो तुर्कमेनिस्तान भ्रमणबारे अवगत गराउनुभएको छ ।
पोखरा: नेपाल हिमालय र पदयात्राका लागि मात्र नभई, योग, ध्यान तथा पूर्वीय दर्शनका अभ्यासहरूबाट मानसिक शान्ति खोज्ने अन्तर्राष्ट्रिय पर्यटकका लागि समेत एक प्रमुख आध्यात्मिक गन्तव्य बन्दै गएको एक अध्ययनले देखाएको छ। पोखराको लेकसिटी कलेज एन्ड रिसर्च सेन्टर अन्तर्गतको समाज विज्ञान केन्द्रले शनिबार आयोजना गरेको ‘कचहरी’ शृंखलामा पोखरा विश्वविद्यालयका उपप्राध्यापक डा। रामप्रसाद अर्यालले प्रस्तुत गरेको अनुसन्धान प्रतिवेदनले उक्त निष्कर्ष निकालेको हो। प्रतिवेदनअनुसार, सन् १९९७ मा तीर्थयात्राका लागि ४,०६८ विदेशी पर्यटक नेपाल आएकोमा सन् २०१७ मा यो संख्या ३५ गुणाले बढेर १ लाख ४१ हजार ३३ पुगेको थियो। डा। अर्यालले नेपालको आध्यात्मिक आकर्षण तीव्र गतिमा बढिरहेको बताउँदै यो केवल संयोग नभएर एक स्थापित प्रवृत्ति भएको उल्लेख गरे। डा। अर्यालले आफ्नो अध्ययनका क्रममा भेटिएका पर्यटकहरूको अनुभव उद्धृत गर्दै भने, ‘उनीहरू नेपालको भूमिमा एक विशेष आध्यात्मिक स्पन्दन र ऊर्जा महसुस गर्छन्, जुन अन्य भौतिकवादी देशहरूमा पाइँदैन।’ प्रतिवेदनमा पोर्चुगलका २३ वर्षीय कार्लोसले रेकी सिक्न पोखरा आएको, बेल्जियमका २८ वर्षीय दानले पूर्वीय दर्शनमा गहन सत्य पाएको र नेदरल्यान्डका ५४ वर्षीय रामदासले नेपाललाई ‘भगवानको भूमि’ को संज्ञा दिएको जस्ता अनुभव समेटिएका छन्। अध्ययनले योग, ध्यान, भजन र कीर्तन जस्ता अभ्यासले धर्मको परिधिभन्दा बाहिर रहेर पनि मानिसको मानसिक सन्तुलन र जीवन सन्तुष्टिमा उल्लेखनीय सुधार ल्याएको देखाएको छ। डा। अर्यालका अनुसार, उनको अध्ययन विश्व स्वास्थ्य संगठनले प्रस्ताव गरेको अवधारणात्मक ढाँचामा आधारित छ, जसले आध्यात्मिक अभ्यासको स्वास्थ्य र समग्र जीवनमा पर्ने असरलाई जोड दिन्छ। कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभाकी पूर्व सदस्य डा। पुष्पा केसीले आधुनिक जीवनको तनाव व्यवस्थापनका लागि आध्यात्मिक केन्द्रहरू महत्त्वपूर्ण हुने बताइन्। उनले भनिन्, ‘हाम्रा आस्थाका केन्द्रहरूले अब स्वदेशी र विदेशी दुवैका लागि शान्तिको मलम लगाउनुपर्छ।’ जनप्रिय क्याम्पसका उपप्राध्यापक दीपेन्द्र पहारीले पूर्वीय दर्शनको शक्तिले नै विदेशीहरूलाई मानसिक सन्तुष्टि खोज्दै नेपालसम्म ल्याएको बताए। पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछानेले करिब १२ प्रतिशत पर्यटक धार्मिक उद्देश्यले आउने गरेको तथ्यांक प्रस्तुत गर्दै भौतिकवादी विकासबाट आजित मानिसहरू पुनर्ताजगीका लागि यता आउने गरेको उल्लेख गरे। नीति तथा योजना आयोग गण्डकीका पूर्व उपाध्यक्ष डा. श्रीकान्त खतिवडाले पर्यटनको सबैभन्दा पुरानो विधा ‘तीर्थाटन’ भएको स्मरण गराउँदै भने, ‘हामी धार्मिक रूपले सम्पन्न भूगोलमा छौँ तर यसको सदुपयोगमा चुकिरहेका छौँ।’ यसैगरी, डा. रामजी शर्माले ‘वेलनेस टुरिजम’को बढ्दो महत्वबारे चर्चा गरे भने योगगुरु तीर्थप्रकाशले नेपालले शान्ति र आनन्दको केन्द्रका रूपमा अन्तर्राष्ट्रिय पहिचान बनाएको बताए। खगराज आचार्यले मनको शान्तिका लागि नेपाल आउने पर्यटकलाई उपयुक्त वातावरण बनाउनुपर्नेमा जोड दिए। खुला छलफलमा घनश्याम पौडेल, लक्ष्मण शर्मा, खेमराज जोशी, शान्ता पन्त भट्ट, रामप्रसाद गौतम र गणेश शर्माले पनि आ-आफ्नो धारणा राखेका थिए। कार्यक्रमको अन्त्यमा लेकसिटी कलेजका अध्यक्ष प्रा.डा. विश्वकल्याण पराजुलीले मानसिक र शारीरिक सन्तुष्टिका लागि आध्यात्मिक पर्यटन अपरिहार्य रहेको बताए। कलेजका संस्थापक उपेन्द्रप्रसाद पौडेलले अनुसन्धानमा लगानी अत्यन्तै कम भएको बताउँदै नेपालले आफ्ना पर्यटकीय उत्पादनलाई प्रभावकारी रूपमा बेच्न नसकेकोतर्फ सरोकारवालाको ध्यानाकर्षण गराए। सो अवसरमा कलेजका उपप्राध्यापक अनिश पौडेलले लेकसिटी कलेजमा मानविकी अन्तर्गत सामाजिक कार्य ९बिएसडब्लु० र व्यवस्थापन अन्तर्गत पत्रकारितासहितको बिबिएस कार्यक्रम सञ्चालनमा रहेको जानकारी दिए। बिएसडब्लु चौथो वर्षमा अध्ययनरत सुयशा पुनले सञ्चालन गरेको कार्यक्रमको समापन तेस्रो वर्षकी विद्यार्थी प्रतिमा पौडेलले गरेकी थिइन्।