कैलाली: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हाल ‘लोडसेडिङ’ अवस्था नरहेको स्पष्ट पारेका छन् । मंगलबार धनगढीमा आयोजित एक कार्यक्रममा उनले विद्युत् निर्यात समेत भइरहेको हुँदा ‘लोडसेडिङ’ अवस्था नरहेको बताए । उनले भने, ‘गर्मीका समयमा विद्युत् खपत बढेका कारण लोड धान्न नसकेर ट्रिपिङ हुने समस्या छ’, उनले भने, ‘वर्षात्का बेला धेरै ठाउँमा मर्मत गर्नुपर्ने, चट्याङका कारण ट्रान्सफर्मर जल्नेजस्ता समस्या आउँछन् । मर्मत गर्न केही समय लाग्छ । यसलाई लोडसेडिङ भनेर अफवाह फैलाइरहेको अवस्था छ ।’
पोखरा: सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट सम्पर्कविहीन भइ कास्कीको पोखरा महानगरपालिका– ३० गगनगौडामा भेटिएका उर्मिला हायूका परिवारलाई आफन्तको जिम्मा लगाइएको छ । पोखरा–३० स्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा सोमबार बेलुका भेटिएका उनीहरूलाई ज्वाइँ नाता पर्ने धनबहादुर तामाङको जिम्मा लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए । उनीहरूलाई पोखरा महानगरपालिका–३० का वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदीको रोहबरमा आफन्तको जिम्मा लगाइएको हो । धनबहादुर हराएका मध्ये कमला हायुका पति हुन् । प्रहरीका अनुसार बेलाबेलामा बिरामी भइरहने र धामीले त्यहाँ नबस्न भनेपछि छेत्पाबाट हिँडेको उनीहरूले बताएका छन् । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीबाट गत शुक्रबार एकै परिवारका १६ जना एकसाथ गायब भएका छन् ।
काठमाडौं: पाटेबाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ । सन् २०१० मा रुसको सेन्टपिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले उक्त घोषणा गरेसँगै ‘विश्व बाघ दिवस’ मनाउन थालिएको हो । उक्त मञ्चमा पहिलो विश्व बाघ सम्मेलन भएको थियो । नेपालमा पनि दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालयले विभिन्न कार्यक्रम गर्दै आएको छ । सन् २०२२ मा गरिएको पछिल्लो राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा हाल बाघको सङ्ख्या ३५५ पुगेको छ । नेपालमा बाघको सङ्ख्या लक्ष्यभन्दा धेरै वृद्धि भएसँगै यिनको व्यवस्थापन, मानव–बाघ द्वन्द्व, बासस्थानलगायत विविध चुनौतीसमेत देखिएका छन् । मध्यवर्ती क्षेत्रका स्थानीय घाँस दाउरा, निहुरो टिप्न र गाईभैँसी चराउन जाने क्रममा बाघको आक्रमणमा पर्ने गरेका छन् । त्यस्तै कतिपय अवस्थामा बाघको चोरीसिकारी हुने, स्थानीय जनताको आक्रोशको निशानामा पर्ने र ठूला तथा लामा पूर्वाधारमा वारपार गर्ने क्रममा बाघ मर्नेक्रम पनि बढेको छ । बाघको सङ्ख्याको ‘धान्ने क्षमता’ चार सय वर्तमान अवस्थामा नेपालमा बाघको सङ्ख्याको आवश्यकताका बारेमा बहस सुरु भएको छ । कतिपयले वातावरणीय क्षमताका हिसाबले नेपालमा बाघको सङ्ख्या बढी भएको तर्क गरेका छन् भने कतिपयले बाघको सङ्ख्याको ‘धान्ने क्षमता’ (क्यारिङ क्यापासिटी) चार सय हाराहारी रहेको बताएका छन् । नेपालमा बाघको सङ्ख्याको ‘धान्ने क्षमता’का बारेमा हाल मन्त्रालयसँगको समन्वयमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी), विश्ववन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र जिओलोजीकल सोसाइटी अफ लण्डन (जेडएसएल)लगायत संस्थाले अध्ययन गरिरहेका छन् । जेडएसएलका राष्ट्रिय प्रतिनिधि डा भगवानराज दाहालले अध्ययनको प्रारम्भिक प्रतिवेदनले नेपालमा बाघको सङ्ख्या धान्ने क्षमता चार सय हाराहारी रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “त्यसैले अहिले बाघको सङ्ख्या बढी भयो भन्न मिल्दैन, बरु बाघलाई आफ्नो बासस्थानमा अडिनका लागि गुणस्तरीय आहारा वृद्धि गर्न पानीका स्रोत र घाँसेमैदान बढाउनतर्फ लाग्नुपर्छ ।” उहाँले बाघको सङ्ख्याको अनुपातमा हाल संरक्षणको क्षेत्रफल कम नभएको तर्क गर्दै बासस्थानको गुणस्तरीयता बढाउनुपर्नेमा जोड दिनुभयो । पाटे बाघ विश्वका १३ देशमा पाइन्छन् । ती मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा सेन्टपिटर्सवर्गमा भएको सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो । उक्त सम्मेलनमा नेपालले सन् २००९ को गणनाअनुसार नेपालमा रहेका तत्कालीन बाघको सङ्ख्या १२१ लाई बढाएर दोब्बर पुर्याउने प्रतिबद्धता जनाएको थियो । हाल नेपालमा बाघको सङ्ख्या बढेर त्यसको झण्डै तेब्बर पुगेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष ९एनटिएनसी० का निर्देशक तथा बाघ विषयमै विद्यावारिधि गर्नुभएका डा चिरिञ्जीवीप्रसाद पोखरेलले मुलुकको पर्यापर्यटनमा बाघको सबैभन्दा बढी महत्व रहेको उल्लेख गर्नुभयो । उहाँले बाघ निश्चित क्षेत्रफल ओगटेर बस्ने र अर्को भालेसँगको जुधाइ, आहाराको खोजी, जङ्गलभित्रका खोला पोखरी सुक्दा खानेपानीको खोजीलगायत कारण मात्र बासस्थानबाट बाघ जङ्गल बाहिर आउने गरेको बताउनुभयो । मानव–बाघ सहअस्तित्वका कार्यक्रम आवश्यक “बाघले आफ्नो आनीबानी परिवर्तन नगर्ने भएकाले मानव–बाघ द्वन्द्व न्यूनीकरणका लागि मानिसले संरक्षित क्षेत्रमा जानेलगायत आनीबानी परिवर्तन गर्नुपर्छ”, निर्देशक डा पोखरेलले भन्नुभयो, “मन्त्रालयसँग मिलेर हामीले बाघ संरक्षणका सवालमा समुदायमा जनचेतना जगाउने र आर्यआर्जनलगायत सीपमूलक तालिम तथा कार्यक्रम गर्दै आएका छौँ ।” उहाँले पर्यापर्यटन प्रवर्द्धन गर्न र मानवसँगको द्वन्द्व रोकथामका लागि मानव–बाघ सहअस्तित्वका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । पछिल्लो सन् २०२२ को गणनाअनुसार सबैभन्दा बढी बाघ चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा एक सय २५ बाघ रहेका छन् । त्यस्तै बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ रहेको मन्त्रालयको तथ्याङ्क छ । नेपालले विसं २०६७ देखि बाघ दिवस मनाउँदै हरेक चार वर्षमा राष्ट्रियस्तरमा बाघ गणनासमेत गर्दै आएको छ । नेपालमा बाघको सङ्ख्या सन् १९९५ मा ९८, सन् २००० मा १०९, सन् २००५ मा १२६, सन् २००९ मा १२१, सन् २०१३ मा एक सय ९८ र सन् २०१८ मा बाघको सङ्ख्या बढेर २३५ पुगेको थियो । विश्वजन्तु कोष नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले बाघ पर्यापर्यटनको ठूलो धरोहर भएको बताउँदै सबै मिलेर यसको संरक्षणमा लाग्नुपर्ने बताउनुभयो । मानव–बाघ द्वन्द्व न्यूनीकरणका लागि जङ्गल वरपरका स्थानीयलाई जङ्गल नपस्ने गरी जीविकोपार्जनको विकल्प दिनुपर्ने, स्थानीयको वन्यजन्तुप्रति गर्ने आनीबानीमा परिवर्तन गर्नुपर्ने उहाँको सुझाव छ । उहाँले भन्नुभयो, “वन्यजन्तुको वासस्थानको राम्रो व्यवस्थापन गर्नसके वन्यजन्तु बाहिर निस्किँदैनन् र स्थानीयलाई पनि वैकल्पिक आयको व्यवस्था गर्नसके जीविकोपार्जनका लागि जङ्गल जान बाध्य नहुने अवस्था बनाउन सकिन्छ । यसमा सरोकारवाला सबै लाग्नुपर्छ ।” बाघ समस्या नभएको र यसको व्यवस्थापन गर्नुपर्ने उहाँको तर्क छ । विश्वमा बाघको सङ्ख्या पाँच हजार ३५७ नेपालबाहेक भारत, चीन, भुटान, रुस, बङ्गलादेश, भियतनाम, म्यान्मा, मलेसिया, इन्डोनेसिया, थाइल्याण्ड र लाओसमा पाटेबाघ पाइन्छन् । विश्वभर सन् १९०० सम्म एक लाखको हाराहारीमा बाघको सङ्ख्या रहेको अनुमान थियो । त्यो सङ्ख्या सन् २०१० मा घटेर तीन हजार २०० मा सीमित भएको थियो । विश्ववन्यजन्तु कोषको तथ्याङ्कअनुसार त्यसपछिका विश्वभरबाट भएका संरक्षणका प्रयासले बाघको सङ्ख्या बढेर सन् २०१६ मा तीन हजार ९०० र सन् २०२२ मा चार हजार ५०० पुगेको थियो । सन् २०२५ पछिल्लो तथ्याङ्कअनुसार विश्वमा बाघको सङ्ख्या बढेर पाँच हजार ३५७ पुगेको छ । त्यसमध्ये सबैभन्दा बढी भारतमा तीन हजार १६७, रुसमा ७५०, इण्डोनेसियामा ४००, नेपालमा ३५५, थाइल्याण्डमा एक सय ८९, भुटान १५१, मलेसियामा १५०, बङ्गलादेशमा १४६, म्यान्मामा २२ चीनमा २० भियतनाममा पाँच र लाओसमा दुई वटा बाघ रहेका छन् । निकुञ्ज विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले छिमेकी मुलुक भारतका राष्ट्रिय निकुञ्जमा रहेका बाघको घनत्व हेर्दा नेपालको बाघको सङ्ख्या धेरै भयो भन्न नमिल्ने बताउनुभयो । गुणस्तरीय घाँसेमैदान, पानीको स्रोत र आहारा वृद्धि गरी बाघको सङ्ख्या अहिलेकै क्षेत्रफलमा थप गर्न सकिने प्रशस्त सम्भावना रहेको उहाँको तर्क छ । मानव–बाघ द्वन्द्व न्यूनीकरणका लागि आफूहरुले विभिन्न प्रयास गरिरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “विभागले विभिन्न निकायसँग मिलेर बाघ र मानव सहअस्तित्वका विभिन्न कार्यक्रम गरिरहेको छ । बाघ जङ्गलको भित्री भागमा रहिरहनका लागि गुणस्तरीय आहाराको वृद्धि र स्थानीयलाई पनि जीविकोपार्जनका लागि जङ्गलको भित्री भागमा जान बाध्य नहुने अवस्थाका लागि प्रयास गरिरहेका छौँ ।” देशभरका खोरमा १८ समस्याग्रस्त बाघ बाघको सङ्ख्यामा उल्लेख्य वृद्धि भएसँगै राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र र आसपासका क्षेत्रमा समस्याग्रस्त बाघको समस्या पनि बढ्दो छ । खासगरी मानव बस्तीमा पसेका, मानव तथा घरपालुवा जनावरलाई आक्रमण गरेका र घाइते अवस्थामा भेटिएका बाघलाई उद्धार गरेर खोरमा राख्ने गरिएको छ । हाल मुलुकभर यस्ता समस्याग्रस्त बाघको सङ्ख्या १८ वटा छ । तीमध्ये ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा पाँच, चितवन राष्ट्रिय निकुञ्जमा सात, बर्दिया राष्ट्रिय निकुञ्जमा चार, बाँके र पर्सा राष्ट्रिय निकुञ्जमा एक÷एक बाघ खोरमा राखिएका छन् । यस्ता बाघको दैनिक आहारा, हेरचाह, उपचार र अन्य व्यवस्थापनमा बर्सेनी सरकारको ठूलो रकम खर्च हुँदै आएको छ । बाघलाई मार्न र बेचबिखन गर्न नपाइने कानुनी प्रावधान छ । तसर्थ समस्याग्रस्त यस्ता बाघको व्यवस्थापनका लागि ‘टाइगर जु’ स्थापना गर्नुपर्ने, मित्रराष्ट्रलाई वन्यजन्तु कूटनीतिमार्फत उपहारस्वरुप प्रदान गर्नुपर्ने, प्रदेशमा रहेका प्राणी उद्यानमा व्यवस्थापन गरी आयआर्जन गर्न सकिने, केही उपाय नलागे मार्नुपर्नेलगायत विकल्पमाथिसमेत बहस सुरु भएको छ ।
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्पनी छेन्दु जियान फुड कम्पनीलाई नेपालमा भैँसीको मासु प्रशोधन उद्योग स्थापना गर्न स्वीकृति प्रदान गरिएको जानकारी दिनुभएको छ । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत चीनको सिचुवान प्रान्तस्थित छेन्दु जियान फुड कम्पनीले मरिण गाउँपालिका(४ सिन्धुलीमा भैँसीको मासु प्रशोधन उद्योग स्थापना गर्न स्वीकृति प्रदान गरिएको जानकारी दिनुभएको हो । उद्योग विभागबाट रु २० अर्ब बराबरको प्रत्यक्ष वैदेशिक लगानीको स्वीकृति पाएको उहाँले जानकारी दिनुभयो । “गत मङ्सिरमा मेरो चीन भ्रमणमा भएको सम्झौताअनुसार छेन्दु जियान फुड कम्पनीले मारिण(४ मा भैँसीको मासु प्रशोधन उद्योग स्थापना गर्न उद्योग विभागबाट २० अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानीको स्वीकृति पाएको छ । उद्योगले वार्षिक दुई लाख मेट्रिकटन मासु र ५५ हजार मेट्रिकटन सहायक उत्पादन (छाला, भित्री अङ्ग, टाउको) उत्पादन गर्नेछ”, प्रधानमन्त्री ओलीले लेख्नुभएको छ, “निर्यात र रोजगारी सिर्जनाका लागि यो महत्त्त्पूर्ण हुनेछ ।” प्रधानमन्त्री ओलीले छेन्दु जियान फुड कम्पनीले पाँच हजार १५६ जनालाई रोजगारी दिने र वार्षिक करिब डेढ खर्ब रुपैयाँको मासु चीन निर्यात गर्ने बताउनुभयो ।
काठमाडौं: नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइँदैछ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ । “नाग पूजाको प्रचलन वैदिककालदेखि सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको ‘राजा’ मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । बराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजका दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ । आज काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा विशेष रूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाउने गरिन्छ । नागपञ्चमीपछि वैदिक सनातनी हिन्दू धर्मावलम्बीका चाडबाडको याम सुरु हुन्छ ।
काठमाडौं: साउन १२ गते सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ का जङ्गल छेउ एकान्तमा रहेको घरबाट उर्मिला हायुसहित परिवारका १६ सदस्य सम्पर्कविहीन भएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रशासन कार्यालय र जिल्लास्थित सबै सुरक्षा निकायले दिनभर र राति अबेरसम्म खोज तलासलाई तीव्र बनाएका थिए । त्यसक्रममा विभिन्न अड्कलबाजी गर्दै घर वरपरको जङ्गल, सम्भावित दुर्घटना हुनसक्ने स्थल, माइतीमावल, नातागोता र अरु आफन्तजनसँग जानकारी लिने र सम्पर्क कायम गरी बुझ्ने कार्य दिनभर भइरह्यो । परिवारका साबै घरबाट ठ्याक्कै कहिले बाहिरिए भन्नेबारे घर वरपरका कसैबाट यकीन जानकारी आउन सकेन । यही साउन ६ गते खुर्कोटस्थित हिमालयन बैंकबाट सामाजिक सुरक्षाभत्ता झिकेको तथा ९ गते वडा कार्यालयमा गई सामाजिक सुरक्षा भत्ता नवीकरण गरेको सुरक्षा टोलीलाई सूचना प्राप्त भएको जनाइएको छ । त्यसलगत्तै उनीहरूको पछिल्लो पटक गत शुक्रबार साँझ ७ बजेर २८ मिनेटमा नेपाल टेलिकम रामेछापको टावरसँग मोबाइल सम्पर्क भएको सूचना सुरक्षा टोलीले प्राप्त गर्यो । वर्षात्को मौसम भएकाले विपद्मा पर्नसक्ने पाटो, विदेशबाट भर्खर छोरा आएको र सामाजिक सुरक्षाभत्ताको रकमसमेत झिकेकाले कसैको गलत दृष्टि रह्यो की भन्ने कोणबाट पनि सुरक्षा विश्लेषण गर्दै सुरक्षा टोलीले खोजतलासलाई दिनभर तीव्र बनाएको हो । सम्पर्कविहीन हायुको घरमा केही परिमाणमा सुँगुरको मासु फेला परेकाले छोरो विदेशबाट आएको र भत्ता बुझेको खुसियालीमा रमाइलो गर्दै कतै घुमघाममा निस्केका वा आफन्तजन भएका ठाउँमा जानसक्ने पक्षलाई महत्त्व दिएर विश्लेषण गरिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताउनुभयो । अनुमान गरिएजस्तै स्थानीय बलेनीबाट गाडी रिजर्भ गरी सिन्धुली, हेटौँडा, मुङ्लिन हुँदै हायु परिवार पोखरा पुगेको प्रहरीको भनाइ छ । हायु परिवारलाई पोखरा पुर्याएर त्यहाँस्थित जननी होटलमा छोडेको भन्ने सवारी चालकबाट सूचना प्राप्त भएपछि जिल्ला प्रशासन र जिल्ला प्रहरीले पोखरा खबर गरेको थियो । सोही आधारमा हायु परिवारलाई सोमबार साँझ अबेर प्रहरीले पोखरामा फेला पारेको थियो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार हायु परिवारका सबै जना पोखरा प्रहरीको सम्पर्कमा आएका छन् । अर्कातर्फ हायु परिवार सम्पर्कविहीन भएको घटनालाई दिनभरजसो सबै सञ्चारमाध्यमले प्राथमिकताकासाथ प्रचारप्रसार गरेका थिए भने हायु परिवार सम्पर्कविहीन भएको घटनालाई विभिन्न अड्कलबाजी गरिएको थियो । घरबाट बाहिरिँदा हायु परिवारले घरमा बाँधिएका छ वटा बाख्रा छोडेर गएका थिए । ती पशुको अवस्था हेर्दा हायु परिवारले एक–दुई दिनअघि मात्र घर छोडेको पूर्वअनुमान गरिएको थियो । खोजतलासका क्रममा बाख्रा र कुकुरलाई कसैको जिम्मा नलगाइ किन परिवार बाहिरियो होला भन्ने प्रश्न पनि आफैँमा गम्भीर बन्न पुगेको थियो । उनीहरू खोरमा बाख्रा बाँधेर तथा कुकुर घरमा छाडेर वरपर कसैलाई पनि जानकारी नदिएर पोखरा घुम्न निस्केका घटनाले पुष्टि गरेको छ । उर्मिला हायुका श्रीमान् पनि केही वर्षअघि बेपत्ता भएकामा जङ्गलमा भेटिएको अस्थिपञ्जरबाट मृत्यु भएको अनुमान गरिएको छ । सम्पर्कविहीन भएका हायु परिवारका १६ सदस्यमध्ये १६ वर्ष मुनिका आठ जना थिए भने घरमुली उर्मिला ५२ वर्षकी हुन् । अन्य सदस्यहरू कमला, कोमल माया, उषा, सुजता, अस्मिता, राजु, हिमाल, लालबहादुर, वेगबहादुर, लक्ष्मण, सुवर्ण, ओमकुमारी, अर्जुन, रियासा र शान्ता हायुलाई पनि यकीन गरिसकेको प्रहरीले जानकारी दिएको छ ।
काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्न चाहेको स्पष्ट गर्नुभएको छ। सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित समारोहमा ‘पर्यटनीति २०८२’ सार्वजनिक गर्दै मन्त्री पाण्डेले भन्नुभयो, “निजी क्षेत्र आत्मविश्वासका साथ अघि बढ्नुस्, सरकार समन्वयका लागि तयार छ। निजी क्षेत्र अघि बढेपछि मात्र सकारात्मक परिणाम हासिल गर्न सकिन्छ। हामी निजी क्षेत्रसँग मिलेर काम गर्न चाहन्छौँ।” उहाँले संविधानसभा मार्फत २०७२ सालमा जारी भएको नयाँ संविधानसँगै सङ्घीयता कार्यान्वयन गर्न मन्त्रालय नीतिगत रूपमा अघि बढेको जानकारी दिनुभयो। उहाँले संस्कृति नीति र हवाई नीति हाल मन्त्रिपरिषद्को विधेयक शाखामा छलफलको चरणमा रहेको र मन्त्रालयमार्फत १३ वटा विधेयकहरू समेत अघि बढिसकेको उल्लेख गर्नुभयो। मन्त्री पाण्डेले २०६५ सालको पर्यटन नीतिलाई प्रतिस्थापन गर्दै तयार पारिएको नयाँ ‘पर्यटनीति २०८२’ मा ‘अद्वितीय पर्यटकीय गन्तव्य स् नेपाल’ भन्ने शब्दावली नीति संरचनाकै दृष्टिकोणको रूपमा समावेश गरिएको जानकारी गराउनुभयो। उहाँले भन्नुभयो, “नेपाललाई ‘आकर्षक जीवनपर्यन्त अनुभव, सुरक्षित, भरपर्दो र दिगो गन्तव्य’ का रूपमा विकास गर्न पर्यटन नीति ल्याइएको हो। यसले मुलुकको राष्ट्रिय अर्थतन्त्रमा समेत सकारात्मक टेवा पुर्याउनेछ।”
सिन्धुली: सिन्धुलीको गोलन्जोर गाउँपालिकामा पर्ने एकै घरका १६ जना सम्पर्क विहीन भएका छन्। सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ छेत्पा नजिकको एक हायु परिवार नै सम्पर्क विहीन भएको स्थानीयले जनाएका छन्। गोलान्जोर गाउँ पालिका वडा नस् ६ को छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने स्थानमा बसोबास गर्ने उर्मिला हायुको १६ जना परिवार सम्पर्क विहीन भएको वडा अध्यक्ष रबिन श्रेष्ठले बताए । घरमा केही हल्का क्षति भएको छ । बाख्रा ,कुखुरा,भैसि अलपत्र अवस्थामा रहेको र सम्पूर्ण परिवार हराएको हुँदा खोजी कार्य जारी राखेका वडाध्यक्ष क्षेत्रीले बताए । वडा अध्यक्ष श्रेष्ठका अनुसार उक्त्त घरबाट अरू घर पुग्न १५ मिनेट बढीको दुरीमा छ एकान्तमा भएकाले कहिले देखि घर अलपत्र छाडेर कहाँ गए केही पत्तो छैन । घर भन्दा केही माथि गोठ छ त्यो गोठमा बाधेको भैसिलाइ घाँस हाल्न घरका नगएको नै ३ दिन भएको बताए । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक लाल ध्वज सुबेदीका अनुसार १६ जना सम्पर्क विहीन भएको प्रहरीलाई जानकारी आएपछि प्रहरी पुगेको छ । केही दिन अगाडि हायुको भत्ता लिएका रहेछन् कतै घुम्न गएका पनि हुन सक्छन् हामी मोबाइलको लोकेसन हेर्दै हेर्दै गरेको उनले बताए । घरका सबै जना सम्पर्क विहीन हुँदा पशु चौपायाको बिजोग भएको स्थानीयले जनाएका छन् । उक्त्त घरमा १८ जना रहेको र १ जना काठमाडौँ र १ जना विदेशमा रहेको स्थानीयले बताएका छन् ।
रसुवा: पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा आइतबार साँझ बेपत्ता भएका दुईजनाको शव सोमबार बिहान फेला परेको छ । नेपाली सेनाको उद्धार टोलीले आज बिहान मोरङ वेलबारी घर भएका मनोज न्यौपाने र विराटनगर घर भएका सुजन ढकालको शव निकालेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख हेम बहादुर शाहीले जानकारी दिए । सेनाले आइतबार राति नै गोसाइँकुण्ड पुगेर नाइट हल्ट गरेको थियो ।