काठमाडौं:  भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको नेतृत्वमा उक्त मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीसहितको टोलीले हालैको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गका विभिन्न...

काठमाडौं:   प्रधानमन्त्री केपी शर्मा ओलीले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिरभित्र सम्पन्न गर्ने गरी चुस्त र प्रभावकारी तयारी गर्न युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफल प्रधानमन्त्री ओलीले आगामी सन् २०२६ मा जापानमा हुने एसियन गेमको पूर्व सन्ध्यामा राष्ट्रिय प्रतियोगिता देशकै इज्जतको सवाल भएकाले राष्ट्रिय खेलकुदको भव्य तयारी गर्न निर्देशन दिनुभएको हो ।  उहाँले प्रतियोगिताको मिति र स्थान राम्रो अध्ययन गरेर निर्णय गर्न र निर्णय गरेपछि परिवर्तन नगर्न पनि आग्रह गर्नुभयो । परिषद्का संरक्षकसमेत रहनुभएका प्रधानमन्त्री ओली र मन्त्रालय र परिषद्को नेतृत्वबिच उचित समन्वय हुनुपर्नेमा पनि जोड दिनुभएको थियो । छलफलमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव डा हरिप्रसाद लम्साल, परिषद्का उपाध्यक्ष ध्रुर्व आचार्य, सदस्यसचिव टङ्कलाल घिसिङलगायत सहभागी हुनुन्थ्यो ।

काठमाडौं:   मुलुकभर परेकोे अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका आठ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार गएरातिदेखि परेको अविरल वर्षाका कारण देशभरका आठ मुख्य राजमार्ग अवरुद्ध भएका हुन् । अवरोध हुनेमा सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित नेपाल चीन नाका जोड्ने पुल, रसुवाकै पासाङ ल्हामु राजमार्ग, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग र नुवाकोटको शिवपुरी गाउँपालिकास्थित मध्यपहाडी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । यस्तै, रुकुम पश्चिमको आठबिसकोट नगरपालिकास्थित जाजरकोट डोल्पा भेरी करिडोर सडक, हुम्लाको सिमकोट गाउँपालिकास्थित कर्णाली करिडोर र जाजरकोटको छेडगाड नगरपालिकास्थित मध्यपहाडी राजमार्ग पूर्णरूपमा अवरोध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यसैगरी, काठमाडौँको टोखाबाट नुवाकोट जाने सडकखण्ड, बाग्लुङको बाग्लुङ नगरपालिकास्थित कालिगण्डकी करिडोर, नवलपरासी पूर्वको गैँडाकोट नगरपालिकास्थित कालिगण्डकी करिडोर, मुस्ताङको थासाङ गाउँपालिकास्थित बेनी–जोमसोम सडक र रोल्पाको परिवर्तन गाउँपालिकास्थित सहिद राजमार्ग एकतर्फी सञ्चालन भएको प्रहरीले जनाएको छ ।

पोखरा:   पोखराको पालिखे चोकमा एक ट्राफिक प्रहरी जवानले मोटरसाइकल साइकल चालकलाई कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ । सामाजिक सञ्जालमा आज सार्वजनिक भएको उक्त भिडियो हिजो (आइतबार) रहेको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख प्रहरी निरिक्षक शोभा पाण्डेले सुनगाभा न्यूजलाई जानकारी दिईन् ।  ‘उक्त भिडियो पोखरा पालिखे चोकको हो, हिजो (आइतबार)को हो, ट्राफिक प्रहरी प्रमुख पाण्डेले भनिन्, ‘सामाजिक सञ्जालमा आज सार्वजनिक भएको उक्त भिडियोपछि डिउटीमा खटिएका ट्राफिक प्रहरी जवानले चोकमा डिउटीको क्रममा रोक्न खोज्दा नरोकी गइ पालिखे चोकबाट नदीपुरतर्फ गई पुनः फर्किएर आएर ट्राफिक प्रहरीसँग झगडा गरेको हो ,उक्त विषयमा थप बुझ्दै छौं ।’ उक्त भिडियोमा ट्राफिक प्रहरी जवानले मोटरसाइकल चालकलाई हातपात गरेपछि मोटरसाइकल चालकले समेत हेल्मेटले हानेको देखिन्छ ।  ट्राफिक प्रहरी र मोटसाइकल चालकबीच झगडा भएको भिडियो सामाजिक सञ्जालमा राख्दै रविन प्रजो लेख्छन् ‘एउटा अभिभावक जो आफ्नो बच्चालाई स्कुल छोड्न जाने क्रम एउटा ट्राफिक प्रहरीबिच को यो झगडाको कारण के हुन सक्छ ?,  यहाँहरुको कमेन्टको अपेक्षा राख्दछु ।’  

काठमाडौं:  काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित सुन्दरीमाई मन्दिर नजिक नुहाउने क्रममा खोलामा फसेका तीर्थयात्रीलाई नेपाली सेनाले उद्धार गरेको छ । सोमबार राति करिब २ः३० बजे सुन्दरीमाई मन्दिर नजिक चार भारतीय र एक नेपाली तीर्थयात्री खोेलामा नुहाउने क्रममा एक्कासी खोलाको बहाव बढ्दा उनीहरु त्यहाँ फसेका थिए । उनीहरुलाई श्री चन्दननाथ गणबाट खटिएको उद्धार टोली, अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा सकुशल उद्धार गरेको नेपाली सेनाले जनाएको छ ।  

काठमाडौं:  उपसभामुख इन्दिरा राना जनवादी गणतन्त्र चीनको ६ दिने औपचारिक भ्रमण सम्पन्न गरी हिजो राति स्वदेश फर्कनुभएको छ ।  चीनको हेनान प्रान्तमा आयोजित कार्यक्रममा सहभागी भएर उपसभामुख राना आइतबार राति ११ः३० बजे स्वदेश फर्कनुभएको हो । उपसभामुख राना साउन ७ गतेदेखि ११ गतेसम्म आयोजित साङ्घाई सहयोगमञ्च, मिडिया र ‘थिङ्क ट्याङ’ शिखर सम्मेलनमा सहभागी हुनुभएको थियो ।  सो कार्यक्रममा उहाँले “विकासको लागि शान्तिपूर्ण र स्थिर वातावरणको सुरक्षामा नेपालको दृष्टिकोण” विषयमा सम्बोधन गर्नुभएको थियो, भने हेनान प्रान्तका अधिकारीहरूसँग भेटघाट गर्नुका साथै सोही प्रान्तमा अवस्थित झेङझोउ सहरलगायत विभिन्न स्थानको अवलोकन भ्रमणसमेत गर्नुभएको थियो ।   उपसभामुख राना नेतृत्वको प्रतिनिधि मण्डलमा सङ्घीय संसद् सचिवालयका उपसचिव जगदिश न्यौपानेसमेत सम्मिलित हुनुहुन्छ । उहाँ दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गदै साउन ६ गते त्यस तर्फ प्रस्थान गर्नुभएको थियो ।

गण्डकी:   सडक निर्माणका लागि बजेट अपुग भएपछि बागलुङको ताराखोला गाउँपालिका–३ का बासिन्दाले आर्थिक सहयोग अभियान सुरु गरेका छन् ।  डोप्टा–बराहखोला जोड्ने सडकमा पर्ने चेवटको भिर काटेर मार्ग खोल्न सरकारी बजेटले नपुगेपछि उपभोक्ताले रकम जुटाउन सुरु गरेका हुन् ।  सडक निर्माणका लागि गत आर्थिक वर्षमा गाउँपालिकाको ३० लाख र गण्डकी प्रदेश सरकारले २० लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए । समितिले ७५ लाख रुपैयाँमा सडक निर्माणको ठेक्का लगाएको थियो ।  अपुग रकम जुटाउन सहयोग अभियान सञ्चालन गरिएको सडक निर्माण समितिका अध्यक्ष एवं आर्थिक सङ्कलन समितिका संयोजक खड्गबहादुर नाउसाले बताए । सडक निर्माणमा स्थानीयवासीले श्रमदानसमेत गरेका थिए ।  ‘३६ लाख रुपैयाँ समितिलाई व्ययभार थपिएपछि आर्थिक सङ्कलन अभियान सुरु गरिएको हो, अहिलेसम्म १५ लाख रुपैयाँ उठिसकेको छ’, उनले भने, ‘सडक निर्माणमा गाउँपालिका र प्रदेश सरकारले पनि सहयोग गर्‍यो, उपभोक्ताको पनि लगानी परेको छ ।’ अप्ठ्यारो भूगोलका कारण  गाउँपालिका र प्रदेश सरकारले दिएको बजेटले मात्र काम सम्पन्न हुन नसकेको उनले बताए ।    ताराखोलाबाट विदेशमा गएकाहरूबाट पनि सहयोगको प्रतिबद्धता आएको अध्यक्ष नाउसाले बताए । विभिन्न आमा समूह, सङ्घसंस्थालगायतबाट पनि सहयोग प्राप्त भइरहेको उनको भनाइ छ । ग्रामीण सडक निर्माणमा स्थानीय उपभोक्ताहरूबाट श्रमदान र आर्थिक सहयोग जुट्नु सुखद पक्ष रहेको अध्यक्ष नाउसाले बताए  । 

रसुवा:  नेपाल–चीनबीच उत्तरी नाका रसुवागढीको मितेरी पुल पुनर्निर्माण सुरु भएको छ । गत असार २४ गते ल्हेन्दे खोलामा आएको अकल्पनीय बाढीले १० मिटर चौडाइ र एक सय मिटर लम्बाइको पुलमा क्षति पुर्‍याएको थियो । चीन सरकारले पुल पुनर्निर्माण थालिनी गरेको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिनभयो । उहाँका अनुसार नेपाल–चीनबीच आवतजावत र व्यापारिक कारोबार बन्द भएपछि प्रथम चरणअन्तर्गत चीन सरकारले बेलीब्रिज निर्माण गर्न पनि थालनी गरेको छ । यसका लागि भुइँ सतह मिलाउने सुरु भइसकेको छ । पक्की पुल निर्माणका लागि साविकको स्थानलाई यथावत छाडी दुई मिटर पूर्वतर्फ सारेर पुरातात्विक संरचनालाई कुनै असर नपार्ने गरी बेलीब्रिज निर्माण सुरु भइसकेको प्रजिअ पौडेलले जानकारी दिनुभयो । पुलका लागि चाहिने आवश्यक औजार चिनियाँ पक्षले रसुवागढी ल्याइसकेको जनाइएको छ । चार स्काभेटर उपकरणको सहायताले पुल बनाउने स्थान ल्हेन्देखोलाको भुइँ सतहमा अनियन्त्रित पानीलाई साविक सतहमा लाने काम अगाडि बढाइसकेको छ । बेलीब्रिज निर्माण आगामी भदौ ३० गतेभित्र सम्पन्न गर्ने चिनियाँ समकक्षीबाट जानकारी पाएको पनि प्रजिअ पौडेलले जानकारी दिनुभयो । रसुवागढीमा निर्माणाधीन एकीकृत भन्सार भवनको निर्माण रोकिएको छ ।

म्याग्दी:   म्याग्दी-म्याग्दीको उत्तरी क्षेत्र हुँदै पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा रहेको घोप्टेभिरमा खसेको सुक्खा पहिरोका कारण आइतबार बिहानदेखि आवतजावत अवरुद्ध भएको हो । पहिरो खसेपछि अवरुद्ध बनेको सडक खुलाउन सडक विभागको उपकरण परिचालन गरेको सप्मा प्रहरी चौकी घाँसाका प्रमुख प्रहरी सहायक निरीक्षक तेजबहादुर कुमालले जानकारी दिए । सडक अवरुद्ध हुँदा मुस्ताङको सिधा यातायात सम्पर्क टुटेको छ । प्रतिकूल मौसमका कारण पोखरा–जोमसोम हवाई सेवा बन्द छ । बाटो अवरुद्ध हुँदा स्थानीयवासीका साथै मुस्ताङ घुम्न जाने र फर्कने पर्यटक प्रभावित भएका छन् । मुस्ताङतर्फ जानेहरू म्याग्दीको काभ्रे र मुस्ताङ हुँदै म्याग्दीतर्फ आउनेहरू घाँसामा रोकिएका छन् ।

पोखरा:  गण्डकी प्रदेशमा जलवायु परिवर्तनका कारण पशुपालन क्षेत्रमा देखिएको प्रभाव र किसानहरूले अपनाएका अनुकुलन रणनीतिसम्बन्धी सहकार्यात्मक अनुसन्धान प्रतिवेदन शनिबार पोखरामा सार्वजनिक गरिएको छ ।  त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित अनुसन्धान समन्वय तथा विकास परिषदअन्तर्गतको अनुसन्धान विभागले वित्तीय सहयोग गरेको परियोजनाको नतिजा सार्वजनिक गोष्ठीमा प्रस्तुत गरिएको हो ।  अनुसन्धान गण्डकीका पाँच जिल्लाका १ हजार १ सय ५८ घरधुरी र ११ वटा समूहगत छलफलबाट संकलित तथ्यमा आधारित थियो । अनुसन्धान परियोजनाका प्रमुख अनुसन्धानकर्ता (प्रिन्सिपल इन्भेस्टिगेटर) प्राडा विकासकुमार केसीले प्रतिवेदन प्रस्तुत गर्दै गण्डकी प्रदेशमा तापक्रम बृद्धि र वर्षा घट्दो क्रममा रहेको तथ्य प्रस्तुत गरे ।  गोष्ठीमा जनाइएअनुसार जलवायु परिवर्तनका प्रतिकूल प्रभाव पशुपालनमा प्रत्यक्ष देखिन थालेका छन् । पशु स्वास्थ्य, प्रजनन क्षमता, उत्पादन र आहारको अभाव जस्ता समस्या तीव्र भएको बताइएको छ । कार्यक्रममा त्रिभुवन विश्वविद्यालय अनुसन्धान विभागका निर्देशक प्राडा किशोर कोइरालाले विश्वविद्यालयमा अनुसन्धानको संस्कृतिको विकास हुँदै गएको उल्लेख गर्दै आज सहकार्यात्मक अनुसन्धानका लागि पर्याप्त बजेट भएकोले प्राध्यापकहरूले ज्ञान निर्माणतर्फ गम्भीर हुनुपर्ने बताए ।  अनुसन्धान विभागका प्रमुख प्राडा नरेन्द्र खनालले बारम्बारको प्रस्तुति र संशोधनपछि तयार भएको यो प्रतिवेदन नीति निर्माण र कार्यान्वयनमा मार्गदर्शक बन्न सक्ने बताए । गण्डकी विश्वविद्यालयका उपकुलपति प्राडा नवराज देवकोटाले यो अनुसन्धान क्यु वान जर्नल र अन्य ८ वटा प्रतिष्ठित जर्नलहरूमा प्रकाशन भएको जनाउँदै यसको अन्तर्राष्ट्रिय महत्व रहेको बताए । उनले कृषि विकासमा पशुपालनको अनिवार्यता औंल्याउँदै शोधले किसानका समस्यालाई समेटेकोमा प्रशंसा गरे । अनुसन्धान प्रतिवेदनमाथि प्राडा लेखनाथ भट्टराई, प्राडा शोभाकान्त लामिछाने, डा. लिला पुरी, डा. श्रीकान्त शर्मा खतिवडा, डा. कृष्ण पौडेल, डा. शान्त खत्री, डा. रामजी पोखरेल, डा. खगेन्द्र शर्मा, भानु पराजुली, सुरेश रानाभाट लगायतले धारणा राखेका थिए ।  सहभागीहरूको जिज्ञासालाई जवाफ दिँदै टिम लिडर प्राडा विकासकुमार केसीले आगामी दिनमा थप अनुसन्धान गर्ने प्रतिबद्धता जनाए । परियोजनामा प्राडा विकासकुमार केसीसँगै डा. अनन्तराज ढुंगाना र डा. पूर्णबहादुर खाँडको सक्रिय सहभागिता रहेको थियो ।