रुपन्देही: रुपन्देहीको भैरहवास्थित डण्डा खोलामा डुबेर दुई किशोरको मृत्यु भएको छ । शनिवार साँझ पौडी खेल्न गएका सिद्धार्थनगर–९, भट्टटोल बस्ने चण्डिप्रसाद अर्यालका छोरा १४ वर्षीया प्रज्वल अर्याल र नवलपरासीको बिनय त्रीबेणी गाउँपालिका–६ घर भई हाल सिद्धार्थनगर–७ बस्ने लीलाधर न्यौपानेका छोरा १५ वर्षीया दिनेश न्यौपानेको डुबेर मृत्यु भएको हो । मृतक दुबै किशोर रुपन्देहीको तिलोत्तमा-५ मणिग्रामस्थित शान्ति नमुना मावि मणिग्रामका बिद्यार्थी हुन् । उनीहरुले शान्ति नमुना माविको कक्षा ९ मा अध्ययनरत थिए । भैरहवास्थित पक्लिहवा क्याम्पस पछाडीको डण्डा खोलामा साथीहरुसँगै पौडी खेल्न गएका पाँच जनामध्ये शान्ति नमुना माविको कक्षा ९ मा अध्ययनरत न्यौपाने र अर्यालको डुबेर मृत्यु भएको प्रहरीले पुष्टी गरेको हो । जिल्ला प्रहरी कार्यलय रुपन्देहीका अनुसार बालकहरु पौडी खेल्ने क्रममा हराएको भन्ने सूचनापछि नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोलीले खोजी गर्दै जाँदा डण्डा खोलाको पानीमा डुबेर मृत अवस्थामा उनीहरु फेला परेका थियो । दुवै जनाको शव पोष्टमार्टमका लागी अहिले भैरहवास्थित भीम अस्पतालमा राखिएको र पोष्टमार्टम गरिने रुपन्देही प्रहरी प्रवक्ता डीएसपी गणेश सापकोटाले बताउनुभयो । प्रहरीले मृतक दिनेश र प्रज्जवलसँगै पौडी खेल्न गएका अन्य तीन जनासँग पनि सोधपुछ गरेको जनाएको छ । गहिरो र दलदलयुक्त गहिरो रहमा एकाएक डुवेका दुवै जनालाई सँगै गएका साथीले उद्धार गर्न खोजे पनि नसकेपछि आफूहरु फर्केको प्रहरी अनुसन्धानका क्रममा ती बालकहरुले बताएका थिए ।
कञ्चनपुर: भीमदत्त नगरपालिका–२ स्थित उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात वर्ष बितिसक्दा पनि प्रहरीले अपराधी पत्ता लगाउन सकेको छैन । विसं २०७५ साउन १० गते साथीको घरमा गृहकार्य गर्न गएकी बालिका पन्तको शव साउन ११ गते घरनजिकैको उखुबारीमा भेटिएको थियो । घटनापछि दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन मुलुकभर आन्दोलनसमेत भयो । सरकारले पनि घटनाको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समितिका साथै राष्ट्रिय मानवअधिकार आयोग र प्रहरीले विभिन्न छुट्टाछुट्टै छानबिन समिति गठन भए । प्रहरीको सबैभन्दा बढी स्रोत साधनको खर्च यसै प्रकरणमा भए पनि हालसम्म प्रहरीले उपलब्धि हात पार्न सकेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सागर बोहराले अहिले पनि प्रहरीले निर्मला पन्तको घटना प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । “अनुसन्धानका क्रममा अहिलेसम्म एक सय २४ जनाको डिएन परीक्षण भएको छ भने छ सय ५५ जनालाई कार्यालयमा बोलाएर सोधपुछ भइसकेको छ”, उहाँले भन्नुभयो, “सिआइबीबाट १० टोलीले अनुसन्धान गरिसकेको छ अहिले पनि सिआइबी र प्रहरीले अनुसन्धान जारी राखेको छ ।” घटना भएको एक महिनापछि २०७५ भदौ ४ गते जिल्ला प्रहरी कार्यालयले भीमदत्त नगरपालिका–१९ बागफाटाका दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । अभियुक्त भनिएका विष्ट मानसिक रोगी भएको र प्रहरीले फसाउन खोजेको भन्दै यहाँ आन्दोलनले उग्ररुप लिएको थियो । पछि विष्ट सरकारी वकिलको कार्यालयबाट रिहा भएका थिए ।
पोखरा: गण्डकी प्रदेशका पूर्व प्रमुख पृथ्वीमान गुरुङको ७६ वर्षको उमेरमा निधन भएको छ । क्यान्सर रोगबाट लामो समयदेखि ग्रसित रहनुभएको गुरुङको शनिबार बिहान निधन भएको हो । गण्डकी प्रदेशका पूर्व प्रमुख गुरुङको उनको निवास भरतपुरको दिब्यनगरमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । तत्कालीन कास्कीको माछापुच्छ्रे गाउँपालिकाको ल्वाङघलेलमा २००६ सालमा जन्मिएका गुरुङलाई २०७८ साउन १२ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखमा नियुक्ति गरेका थिए । गुरुङ नेपाली कांग्रेस विभाजन रहँदा कांग्रेस प्रजातान्त्रिकको सभापति, सुकुम्वासी समस्या आयोग नवल परासीको अध्यक्ष भएका थिए । गुरुङ २०१८ सालमा चितवन आन्दोलनका क्रममा शाहदत प्राप्त गरेका हरिप्रसाद गुरुङका भान्जा हुन् । गुरुङका छोरा हाल क्यानडा भएका कारण उनी फर्किएपछि अन्तिम संस्कार गरिने बताइएको छ । छोरा आइतबार बिहान नेपाल आइपुग्ने र त्यसपछि दिउँसो चितवनकै देवघाटमा अन्त्येष्ठि गरिने भएको छ । ।गुरुङका श्रीमती र एक छोरा छन् ।
सोलुखुम्बु: हिमाली जिल्ला सोलुखुम्बुस्थित ८२ मेगावाट क्षमताको तल्लो सोलु जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारणमा आबद्ध भएको छ । जिल्लाको सोलुखोलामा निर्माणसम्पन्न उक्त आयोजनाको सोलु करिडोरको १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत तिङ्ला सबस्टेसन हुँदै राष्ट्रिय ग्रिडमा जोडिएको हो । निजी लगानीमा निर्माण भएको यो आयोजना उत्पादन र प्रवाहको दृष्टिले एक महत्त्वपूर्ण काशेढुङ्गा बनेको छ । सोलु हाइड्रोपावर लिमिटेडद्वारा प्रवद्र्धित उक्त आयोजनाले गत साउन ४ गतेदेखि पहिलो युनिटको विद्युत् उत्पादन सुरु गरी परीक्षणसहित ग्रिडमा जोडिएको आयोजनाका सहायक प्रबन्धक कृष्णबहादुर चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार सोलुदूधकुण्ड नगरपालिका–७ र ११ को सिमानामा पर्ने साल्मेमा बाँध निर्माण गरी, करिब छ किलोमिटर तल तिङ्लाको भदौरेस्थित भूमिगत पावरहाउसमा पानी झारेर विद्युत् उत्पादन गरिएको हो । पाँच किलोमिटर लामो सुरुङमार्ग निर्माण गरी खोलाको बहावलाई नियन्त्रण गर्दै ऊर्जा उत्पादन गर्ने संरचना निर्माण गरिएको छ । सहायक प्रबन्धक चौधरीले भन्नुभयो, “४१/४१ मेगावाट क्षमताका दुईवटा पेल्टन टरबाइन जडान गरिएको छ । दुवै युनिटको ग्रिडमा सफल परीक्षण सम्पन्न भइसकेको छ । अब नेपाल विद्युत् प्राधिकरणले आगामी १५ दिनसम्म उत्पादन परीक्षण गर्नेछ ।” परीक्षणपछि विद्युत् प्राधिकरणको स्वीकृति प्राप्त गरेपछि आयोजनाले व्यावसायिक रूपमा नियमित विद्युत् प्रवाह सुरु गर्ने जनाइएको छ । सन् २०१६ मा सुरु गरिएको यस विद्युत् निर्माणको सुरुआतदेखि नै आयोजनालाई भौगोलिक कठिनाइ, प्राविधिक जटिलता र जलवायुजन्य अवरोध आएको थियो । निर्माण अन्तिम चरणमा पुगेका बेला, पहिरोले पेनस्टकसहितको संरचनामा ठूलो क्षति पु¥याएको थियो । जसका कारण सबै संरचना पुनर्निर्माण गर्नु परेको आयोजना सहायक प्रबन्धक चौधरीले बताउनुभयो । यो फेरबदलले लागतमा केही वृद्धि गरेको भए पनि दीर्घकालीन टिकाउपनामा फाइदा पुग्ने अपेक्षा गरिएको छ । एफएमओसहितका विभिन्न युरोपियन बैङ्कहरूको रु १६ अर्ब लगानीमा निर्माण भएको यो आयोजना, निजी क्षेत्र र अन्तर्राष्ट्रिय सहकार्यको नमूना बन्न पुगेको छ । यति ठूलो परिमाणको लगानी, जोखिम व्यवस्थापन तथा समयभन्दा अगावै निर्माणसम्पन्न हुनु आफैँमा एक सकारात्मक भएको आयोजनाका जानकारहरु बताउँछन् । निर्माण कम्पनीले आयोजनालाई सेप्टेम्बर २०२५ भित्र सम्पन्न गर्ने लक्ष्य राखेको भए पनि निर्माण कार्य दुई महिनाअघि नै सम्पन्न गरी विद्युत् उत्पादन प्रारम्भ गरेको बताइएको छ । यस तल्लो सोलु आयोजनाबाट हिउँदमा न्यूनतम २३ मेगावाट र वर्षायाममा अधिकतम ८२ मेगावाट विद्युत् उत्पादन हुने लक्ष्य राखिएको छ । उत्पादन भएको विद्युत् १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत तिङ्ला सबस्टेसन हुँदै राष्ट्रिय ग्रिडमा प्रवाह भइरहेको छ । यो आयोजना सरकारको ‘सुपर सिक्स’ परियोजनाको हिस्सा हो, जसअन्तर्गत निजी लगानीमा निर्माण भइरहेका ६ वटा प्रमुख जलविद्युत् आयोजना समावेश छन् । नेपालमा निजी क्षेत्रबाट अहिलेसम्म निर्माण भएको सबैभन्दा ठूलो आयोजना भने ८६ मेगावाटको सोलु दूधकोशी हो । जुन यसअघि नै सञ्चालनमा आइसकेको छ । तल्लो सोलु आयोजनाले निजी लगानीको दोस्रो ठूलो जलविद्युत् आयोजना हो । विद्युत् उत्पादनसँगै यस आयोजनाले सोलुखुम्बु जिल्लामा रोजगार, पूर्वाधार, व्यावसायिक गतिशीलता र आर्थिक क्रियाकलापमा उल्लेखनीय योगदान दिएको छ । सुरुङ खन्नेदेखि पेनस्टक राख्ने, टरबाइन जडानदेखि पावर हाउस सञ्चालनसम्म दर्जनौँ स्थानीय युवा प्राविधिक र अप्राविधिक क्षेत्रमा संलग्न भएका थिए । स्थानीय जनप्रतिनिधिहरूले यो आयोजना सोलुखुम्बुको समृद्धिको मूल आधार बन्ने विश्वास व्यक्त गर्दै आएका छन् । विद्युत् उत्पादनसँगै पर्यटन, उद्योग, सेवा र पूर्वाधार विकासमा थप गति आउने अपेक्षा गरिएको छ ।
गण्डकी: पोखरा–मुग्लिन सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ५५.१० र वित्तीय प्रगति ४२.५० प्रतिशत पुगेको छ । कुल ३८.८८ किमी दूरीको उक्त खण्डमा हालसम्म ३७.७० किमीमा एकतर्फी पहिलो तहको कालोपत्र भइसकेको आयोजना कार्यालयले जनाएको छ । उक्त खण्डका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरका अनुसार २६.३८ किमीमा दुईतर्फी (चार लेन) र १०.३२ किमी सडकमा एकतर्फी (दुई लेन) कालोपत्र भइसकेको छ । विसं २०७८ भदौदेखि निर्माण सुरु गरिएको उक्त खण्डको ठेक्का म्याद आगामी पुससम्म रहेको छ । निर्माण कम्पनीले समयमा काम नगरेपछि यसअघि दुईपटकसम्म म्याद थप भएको इन्जिनियर कुँवरले बताए । चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले उक्त खण्डमा सडक विस्तार एवम स्तरोन्नतिको काम गरिरहेको हो । तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको आधा सडक छ लेन र आधाजति चार लेनको बन्ने इन्जिनियर कुँवरले बताउनुभयो । पश्चिम खण्डमा पर्ने १३ वटा पुलमध्ये ११ पुल बनिसकेको र दुई पुल निर्माणाधीन अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो । १०५ वटा कल्भर्टमध्ये १०३ वटा निर्माण भइसकेका छन् । तनहुँको म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण सकिएको हो । सडक ठेक्काअन्तर्गत कास्कीको विजयपुर र पुल ठेक्काअन्तर्गत सेती पुल निर्माणको चरणमा छ । विजयपुर खोला पुलको भौतिक प्रगति ६० प्रतिशत पुगेको छभने सेती पुलको भौतिक प्रगति ४८ प्रतिशत पुगेको छ । विजयपुर पुल बन्न अझै पाँचदेखि छ महिनासम्म लाग्ने इन्जिनियर कुँवरले बताउनुभयो । आगामी भदौमा तीनवर्षे ठेक्का अवधि सकिन लागेको सेती पुलको भौतिक प्रगति पनि न्यून देखिएको छ । विसं २०७९ साउनमा निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सनले पुल निर्माणको जिम्मा लिएको थियो । पुलको डिजाइन स्वीकृतदेखि मापदण्डभित्रका संरचना हटाउनेसम्मका काममा ढिलाइ भएकाले पुल समयमा बन्न नसकेको इन्जिनियर कुँवरले बताउनुभयो । केवल–स्टेड प्रविधिको उक्त पुलमा सब–स्ट्रक्चरको काम सकिएको र अहिले डाउनस्ट्रिम पुलमा सुपर–स्ट्रक्चरको काम भइरहेको उहाँको भनाइ छ । आकर्षक डिजाइनमा बन्ने उक्त सिग्नेचर पुलको जग निर्माणमा बढी समय लागे पनि टावरलगायत माथिल्लो संरचनाको काम छिटो हुने निर्माण कम्पनीले जनाएको छ । छ लेनको उक्त सडकमा अहिले रहेको चाइना पुलको तल र माथि गरी आकर्षक बनावटका दुईवटा सिग्नेचर पुल बन्ने भएका हुन् । भ्याटबाहेक रु ९४ करोडको ठेक्कामा पुल निर्माणको काम भइरहेको हो । पुलमा कङ्क्रिट र फलामको प्रयोग गरिएको छ । ५० वर्षअघि बनेको पृथ्वी राजमार्गअन्तर्गतको उक्त सडक एसियाली विकास बैङ्कको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम भइरहेको हो । निर्माणमा कुनै अवरोध नआएमा आगामी हिउँदसम्ममा सडक स्तरोन्नतिको काम सकिने आयोजना कार्यालयले जनाएको छ । गण्डकी प्रदेशको ‘लाइफलाइन’का रुपमा रहेको उक्त सडकको पूर्वी खण्ड (जामुने–मुग्लिन)मा भने हालसम्म भौतिक प्रगति ८६ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ ।
काठमाडौं: हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । हाल देशभर पहाडी भू–भागमा साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । शनिबार दिउँसो देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती, गणडकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरी चल्ने सम्भावना रहेको छ । पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका तराई तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन महाशाखाले अनुरोध छ ।
काठमाडौं: सर्वोच्च अदालतले ‘आयोडिनयुक्त नुन (उत्पादन तथा विक्री वितरण) ऐन २०५५’ कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ। न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासले गत असार ३० गते अन्तरिम आदेश गर्दै आयोडिनयुक्त नुन ऐन २०५५ यही साउन १ गतेदखि कार्यान्वयन नगर्न भनेको हो। आदेशमा ऐन निर्माण भई जारी भएको हाल करिब २५ वर्ष व्यतित भइसकेको अवस्था रहेको र हालसम्म ऐन कार्यान्वयनका लागि आवश्यक पूर्वशर्तको रुपमा रहेको नियमावली बनाउने काम पनि हुन नसकेको देखिएको उल्लेख छ। साथै विना आवश्यक पूर्वतयारी ऐन लागू गर्दा यस अदालतबाट यसअघि परेका मुद्दामा चिन्ता व्यक्त गरिएजस्तै आम जनताको स्वास्थ्य र जनजीविकासँग प्रत्यक्ष सरोकार रहने आयोडिनयुक्त नुनको आपूर्ति र बिक्री वितरण नै प्रभावित हुनसक्ने अवस्था देखिएको आदेशमा उल्लेख छ। आदेशमा भनिएको छ, “तत्काल ऐन लागू नगर्दा कसैलाई अपूरणीय क्षति पुग्नसक्ने अवस्था नदेखिएको र प्रस्तुत विषयवस्तुको प्रकृतिबाट रिट निवेदनको अन्तिम किनारा लाग्दाका बखत नै निरुपण हुन मनासिब हुँदा प्रस्तुत रिट निवेदनमा अन्तिम किनारा लाग्दाका बखत ठहरे बमोजिम हुने गरी हाललाई नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मिति २०८२ साउन १ गतेदेखि आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरण ऐन, २०५५ प्रारम्भ हुने गरी नेपाल राजपत्रमा प्रकाशित सूचना कार्यान्वयन नगर्नु नगराउनु।” आदेशमा आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरण ऐन २०५५ को व्यवस्था कार्यान्वयन गर्नका लागि नियमावली जारी नगरेकाले उक्त ऐन कार्यान्वयनमा रोक लगाइएको उल्लेख छ। अधिवक्ता शिलत महर्जनले २५ वर्षअघि बनेको ‘आयोडियनयुक्त नुन उत्पादन तथा बिक्री वितरण ऐन, २०५५’ लाई जगाई आम जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको आयोडिनसम्बन्धी नुनलाई निजी क्षेत्रबाट आयात र वितरण गर्ने योजना प्रत्यक्ष देखिएकाले उक्त ऐन लागू हुँदा मानव स्वास्थ्यमा दीर्घकालीनरुपमा गम्भीर असर पर्ने उक्त ऐन बदर गर्न माग गर्नुभएको थियो।
दार्चुला: नेपाल–भारत सीमा भएर बग्ने महाकाली नदीमाथि व्याँस गाउँपालिकाका युवाले चट्टान फुटाएर अहिले मानिस हिँड्न घोरेटो बाटो बनाएका छन् । व्याँसको वडा नम्बर १ र २ जोड्ने पैदल बाटो नभएपछि स्थानीयले चट्टान फोडेर बाटो बनाएका हुन् । महाकाली नदीको छेउको ठाडो चट्टान फोडेर आफ्नै भूमिमा पाइला टेक्न सकिने बाटो व्याँसका युवाले ज्यानको बाजी राखेर बनाएका छन् । व्याँस–२ का युवा जनकसिंह धामीको नेतृत्वमा यो काम भएको हो । व्याँस–१ को छाङ्गरु र तिंकर तथा वडा नम्बर २ को दुम्लीङ कल्जु गाउँ जोड्न स्थानीयले घोरेटो बाटो बनाएका हुन् । गाउँ जानुपर्दा जहिल्यै भारतको बाटो हिँड्नुपर्ने र भारतीय प्रहरीको अनुमति विना गाउँ जान नसकिने भएपछि यहाँका स्थानीय यो अवस्थाको अन्त्यका लागि यस्तो जोखिम उठाएर बाटो बनाएको धामी सुनाउँछन्। ‘यो बाटोले दुई वडामात्र होइन्, देशको भूगोल समेत जोडेको छ, यो बाटोमा जोखिमपूर्ण काम गरेबापत मजदुरले दैनिक एक हजारदेखि रु एक हजार ५०० ज्याला लिए’, उनले भने। व्याँसका दुई वडा जोड्ने परम्परागत घोरेटो बाटो भत्किएका कारण यो क्षेत्रमा आवतजावत ठप्प थियो । महाकाली नदी किनारैकिनार पैदल बाटो रहेकामा भारतले निर्माण गरेको सडकका कारण पूरै नदीको धार नेपालतर्फ आउँदा बाटो भत्किएपछि नेपालका दुई गाउँ जान बाटो थिएन । बाटो भत्किएपछि सुदूरपश्चिम प्रदेश सरकारले २०७७ सालमा नेपाली सेनाको सहयोगमा ४५० मिटर घोरेटो बाटो खोलेको थियो । त्यो बाटो एक वर्ष पनि टिकेन । सबैभन्दा कठिन भूगाले रहेको ‘थी भीर’ क्षेत्रको पैदल बाटो बनाउने जिम्मेवारी पाएका धामीसँग गाउँका ४३ युवाको साथ थियो । उनले भने, ‘ज्यानको मायाभन्दा मातृभूमि र राष्ट्रको माया बढी भएरै बाटो बनाएका छौं, सबैले सहयोग नगरेको भए यस वर्ष पनि बाटो बन्न सम्भव थिएन ।’ घोरेटो बाटोमा काम गरेका उज्जवलसिह महता बाँदर नचढ्ने भीरमा डोरी लगाएर काम गर्दा पनि अप्ठ्यारो महशुस नभएको बताउँछन्। ‘एकातिर कडा चट्टान थियो, तल हेर्दा पूरै महाकाली नदीले हानिरहेको, थोरै गल्ती भएको भए सक्कियो, काम गर्ने बेलाको समय सम्झिँदा अहिले पनि आङ जिरिङ हुन्छ’, उनले भने । सडक पहुँच नभएकाले दार्चुलाको छाङ्गरु र तिंकर गाउँ पुग्न भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको तीन दशक भएको थियो । अहिले सबै क्षेत्रमा बाटो निर्माण भइरहेको छ । थोरै भए पनि राहत महशुस भएको बाटो निर्माणमा खटिएका डम्मरसिंह धामीको भनाइ छ । ‘परम्परागत बाटोको नाम निसाना मेटिएको थियो, पूरै कडा चट्टान डोरीमा अड्किएर काम गरियो’, धामीले भने, ‘यो बाटो खुलेपछि व्याँसको वडा नम्बर १ को छाङ्गरु तथा तिंकर र वडा नम्बर २ को दुम्लीङ गाउँ घोरेटो बाटोले जोडेको छ’, उनले भने। गाउँपालिकाले बोलपत्र आबहान गरेर बाटो बनाएको हो । बाटो निर्माणको जिम्मा मिसन–देवहरी जेभी निर्माण कम्पनीले गरेको हो । कुल पाँच करोड छ लाख नौ हजार ९९४ लागतमा घोरेटो बाटो निर्माणको ठेक्का पाएकामा असार मसान्तसम्म ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको निर्माण व्यवसायी केशवबहादुर पालले बताए । ‘निकै जोखिमपूर्ण क्षेत्रमा काम थियो”, निर्माण व्यवसायी पालले भने, “तै पनि मजदुरले रातदिन काम गरेर यत्ति प्रगति भयो ।’ निर्माण कार्य नसकिएको भन्दै आगामी मङ्सिर १५ गतेसम्म म्याद थप गरिएको छ । अहिले अपि खोला लगायतका क्षेत्रमा पुल निर्माण र बाटो मर्मतको काम चलिरहेको निर्माण व्यवसायी पालले बताए। मजदुर लगाएर अहिले पनि थी भीरभन्दा माथिल्लो क्षेत्रमा काम चलिरहेको छ । व्याँसवासीलाई आफ्नै बाटो हिँडाउने गरी बाटोको काम भइरहेको उनको भनाइ छ । गाउँपालिकाका सबइन्जिनियर जगतसिंह डडालका अनुसार हालसम्म घोरेटो बाटो निर्माणमा चार करोड १३ लाख ३३ हजार २०१ खर्च भइसकेको छ । निर्माण कम्पनीले व्याँसको वडा नम्बर २ र १ मा पर्ने तम्बाकु, माल्पा, घाटीबगड, बयाली, दोपखे, पोला, गिरकिस्से, बुदी अपिखोला र कुन्तीसाउसम्म २० किलोमिटर बाटो निर्माण तथा मर्मत गरेको छ । त्यसअनुसार घोरेटो बाटोमा ६५० घनमिटर मेसनरी वाल, ५७७ घनमिटर ड्राइ वाल, ७२ घनमिटर स्टोन वाल, ५०० घनमिटर पलम कङ्कृट र २० घनमिटर (८५ मिटर) आरसिसि ढलान गरिएको छ । दोपाखे, अपिखोला र कुन्तीसाउमा छ मिटर लम्बाइ स्पानका तीन वटा आरसीसी पुल निर्माण गरिएको डडालले बताए।
काठमाडौं: नेपाल आयल निगमको सिनामंगल स्थिति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, हवाई इन्धन डिपोलाई गुह्येश्वरी स्थित नेपाली सेनाको गल्फ कोर्समा स्थानान्तरण गर्नेसम्बन्धी परियोजनाको डिपिआर तयार भएको छ । यस योजना अन्तर्गत निगमले गत मङ्सिर ५, २०८१ मा स्थानीय कन्सल्टेन्टको रूपमा पुलचोक इन्जिनियरिङ संस्थान, पुलचोकलाई डिपिआरको जिम्मा दिएको थियो । सम्झौता अनुसार इन्जिनियरिङ संस्थानले ७ महिनामा परियोजनाको डिपिआर तयार गरी निगमलाई बुझाएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा इन्जिनियरिङ संस्थाले गुह्येश्वरीमा निर्माण गरिने हवाई इन्धन डिपो निर्माणको डिपिआर बुझाएको हो । प्रस्तावित निर्माण हुने डिपो अत्याधुनिक तथा पूर्ण रूपमा स्वचालित एल ३ लेबल अटोमेसनयुक्त हुनेछ । यस डिपोमा इन्धन भण्डारणको लागि हाल ३००० किलोमिटर क्षमताका ५ वटा भर्टिकल ट्याङ्कीको निर्माण हुनेछ भने भविष्यमा भण्डारण क्षमता बढाउनको लागि समेत खाली स्थान निर्माण हुने निगमले जनाएको छ । यसै परियोजना अन्तरगत इन्धन लोडिङरअनलोडिङका लागि क्रमश: ६ र ८ वटा बेहरु निर्माण हुने, अन्तर्राष्ट्रिय उडानका जहाजमा इन्धन भर्नको लागि ७ पिट हाइड्रान्ट रिफ्यूलिङ सिस्टम तथा २ वटा रिफ्यूलिङ डिस्पेन्सर पनि रहने निगमले जनाएको छ । डिपोमा अग्नि सुरक्षाका लागि २१०० किलोमिटर क्षमताका २ वटा स्ट्याटिस वाटर ट्याङ्की र पूर्ण स्वचालित फाइटिङ सिस्टम समेत जडान हुनेछ । यसै गरी प्रस्तावित निर्माण हुने डिपोमा प्रशासनिक भवन, प्रयोगशाला भवन, मर्मत संभार यार्ड, लगायत डिपोको सुरक्षार्थ खटिने नेपाली सेनाको लागि अलग्गै भवनको समेत व्यवस्था रहने छ। अन्तर्राष्ट्रिय स्तरका मापदण्डहरू एपीआई ओआईएसडीको पूर्ण रूपमा पालना गर्दै निर्माण हुन लागेको यस डिपोको निर्माण लागत ६ अर्ब ५४ करोड २९ लाख ५ हजार अनुमान गरिएको छ । हाल निगमले डिपो निर्माण गर्ने स्थानमा जग्गा चार किल्ला छुट्याई नागरिक उड्डयन प्राधिकरणले साइट क्लियरेन्सको काम अगाडि बढाएको र निगमले यो विस्तृत परियोजना प्रतिवेदन अध्ययन पश्चात् आर्थिक वर्ष २०८२/८३ मा बजेट विनियोजन गरी भाद्र महिनामा सार्वजनिक खरिद ऐन तथा नियमावली अनुसार बोलपत्र आह्वान गर्ने जनाएको छ । २ महिनाभित्रमा बोलपत्र मूल्याङ्कन लगायतका प्रक्रियाहरू टुङ्ग्याइ यसै आर्थिक वर्षको मङ्सिर महिनामा निर्माण कार्य सुरु गरी दुई वर्ष भित्रमा ९२०८४ मङ्सिर सम्ममा० निर्माण सम्पन्न गरी डिपो सञ्चालन गर्ने निगमको योजना रहेको छ । नेपाल आयल निगम लिमिटेडले साबिकमा रहेको सिनामंगल स्थित हवाई इन्धन डिपो नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०८१/०४/२८ को निर्णय अनुसार स्थानान्तरण गर्ने निर्णय गरेको थियो ।