मानवसेवा फाउण्डेसन नेपालका प्रबन्धकसहित ७ जना विरुद्ध मुद्धा दायर

पाेखरा | साउन १६, २०८२

मानवसेवा फाउण्डेसन नेपालका प्रबन्धकसहित ७ जना विरुद्ध मुद्धा दायर

पोखरा:  पोखरा महानगरपालिका–१४ मा सयौँ वर्ष पुराना ऐतिहासिक रुखहरू गैरकानुनी रूपमा काटेको आरोपमा ७ जनाविरुद्ध डिभिजन वन कार्यालय काीकीले कास्की जिल्ला अदालतमा मुद्धा दायर गरेको छ । 


पोखरा महानगरपालिकाका विभिन्न वडामा रहेका पुराना चौतारीका बर, पीपललगायतका रुखहरू काटिएको घटनामा संलग्न भएको आरोपमा उनीहरूविरुद्ध अभियोगपत्र दर्ता गरिएको हो । 


मानवसेवा फाउण्डेसन नेपालका प्रबन्धक विष्णुराज गिरी, पोखरा–१४ शुभमार्ग टोलका ताराप्रसाद तिवारी र योगमाया बराल, राधाकृष्ण टोलका अर्जुनबहादुर कार्की र रामकृष्ण अधिकारी, तथा साधना मार्गका ज्ञानेन्द्र सार्की र रमेश पौडेललाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो ।


वन कार्यालयका अनुसार, गत फागुनमा मानवसेवा फाउण्डेसनले आयोजना गर्ने कोटीहोम महायज्ञका लागि दाउरा (समिधा) संकलन गर्ने भन्दै पोखराका विभिन्न ठाउँमा रहेका ३३ वटा पुराना रुखहरू काटिएको थियो । 


अनुसन्धानका क्रममा रुख कटान गर्दा प्रचलित वन ऐन, २०७६ र वन नियमावली, २०७९ मा तोकिएको प्रक्रिया पूरा नगरिएको वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए । उनका अनुसार, रुखका हाँगाहरू प्रक्रिया नपुर्याई काट्ने र बेच्ने कामसमेत भएको अनुसन्धानबाट खुलेको छ ।


रुख काट्नेलाई बिगो असुल गरी दश हजार रुपैयाँसम्म जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुन सक्ने कानुनी प्रावधान छ । सोही प्रावधान अनुसार मुद्दा दायर गरिएको काफ्लेले बताए । 


घटना सार्वजनिक भएपछि पोखरामा नागरिक स्तरबाट व्यापक विरोध भएको थियो । पोखरा पंक्षी समाज, मेरो नेपाल युवा क्लब, वातावरण संरक्षणका लागि महाअभियान कास्की, नागरिक समाज कास्की लगायतका संघसंस्थाहरूले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै वन कार्यालयमा निवेदन दिएका थिए ।


यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरास्थित कार्यालयमा समेत उजुरी परेको थियो । यसअघि पोखरा महानगरपालिकाले काटिएका रुखका दाउरा जफत गरेको थियो । महिनौँको अनुसन्धानपछि वन कार्यालयले अन्ततः अदालतमा मुद्दा दायर गरेको हो ।

म्याग्दी:  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन...

थप पढ्नुहोस्

गण्डकी:  मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ ।  पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु...

थप पढ्नुहोस्

काठमाडौं: सरकारले जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा आज बसेको बैठकले जेन(जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा...

थप पढ्नुहोस्