काठमाडौं: ‘सञ्चो’ भनेर धेरै नेपालीलाई थाहा छ तर उत्पादक संस्थाबारे कतिपयलाई थाहा नहुन सक्छ । कम्पनिले अन्य विविध उत्पादनहरू गरिरहे पनि ‘सञ्चो’ एक स्थापित ‘ब्रान्ड’ नै भइसकेको थियो । जसले उत्पादक कम्पनीबारे पनि आमनागरिकमा एउटा छाप छोड्दै थियो । यसका पछाडि वर्षौदेखि संस्था र सरकारका लगानी तथा मेहेनत छ । विडम्बना, त्यही संस्था गत शुक्रबारदेखि भग्नावशेषमा परिणत भएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह पक्षधर प्रदर्शनकारीले आगजनी गर्दा कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड खण्डहर बनेको हो । भवन खण्डहर छ । त्यहाँ रहेका उपकरण र अन्य सामग्री जलेर खरानी भएका छन् । ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’९जिएमपी० सुविधासहितका दुई वटा भवनमा क्षति पुग्नाका साथै औषधि उत्पादनमा प्रयोग हुने कच्चापदार्थ, उपकरण, फर्निचर, कागजातल, प्याकेजिङलगायत सामग्री जलेर खरानी भएका छन् । प्रारम्भिक विश्लेषणअनुसार आगजनीबाट रु २८ करोड बराबरको क्षति हुन पुगेको छ । हाल त्यही खण्डहर भवनमा रहेका भग्नावशेष र खरानी पन्छाउने काम जारी छ । त्यो दिन सम्झिँदा कम्पनीकी महाप्रबन्धक सङ्गीता यादवको मन भक्कानिन्छ । जनमानसमा ‘सञ्चो’उत्पादन गर्ने संस्थाका रूपमा चिनिएको यस कम्पनीलाई आफ्नै आँखा अगाडि खरानी भएको देख्दा उहाँको मन रोएको छ । महाप्रबन्धक यादव भन्नुहुन्छ, “मैले आफैँले त्यो नयाँ मेसिन राखेको थिएँ । अब यो लेभलसम्म आयो भनेर कति खुसी थियाँैँ तर आँखा अगाडि नै त्यो सबै संरचना जलेको देख्दा आँखाबाट आँसु नै आयो । मन थाम्न सकिँन । यस्तो हुन पुग्यो ।” जिएमपीअनुसार सञ्चालन गरिएको भवनलगायत स्वचालित उपकरणहरू जलेर ध्वस्त हुँदा उत्पादन ठप्प छ । यद्यपि चाँडै नै कम्पनी पुरानै अवस्थामा फर्किने आशामा रहेको महाप्रबन्धक यादवको विश्वास छ । उहाँले भन्नुभयो, “सबै जलेर खरानीमा परिणत भएको छ । कम्पनी फेरि सुरुआत गर्नु त पर्छ तर सुरुआती चरणमा म्यानुअल९हातबाट० फिलिङमै जानुपर्ने भयो । कम्पनी विविध चुनौतीका बीच एक लेभलमा अगाडि बढिरहेको थियो, शाखा पनि विस्तार गरिसकेका थियौँ । हामी सबै कर्मचारी उत्साहित थियौँ तर हुलदङ्गाको चपेटामा परेर सबै गुम्यो । अब सरकारले यसलाई गम्भीर भएर सोचिदिनुपर्छ ।” पहिलाकै अवस्थामा कम्पनीलाई ल्याउन कठिन भए पनि प्रयास र समन्वय भइरहेको छ । कम्पनीले देशभरिमा रहेका शाखा कार्यालयबाट उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ । “यो संस्था अप्रिय दुर्घटनाको सिकार हुन पुग्यो । सातवटै प्रदेशमा शाखा राख्ने भनेर विभिन्न ठाउँमा काम भइसकेको छ । लुम्बिनी प्रदेशमा मात्र जान बाँकी थियो । जाजरकोटमा पनि हालैमात्र शाखा विस्तार गरेका थियौँ । गोरखामा पनि सुरु गर्ने तयारी थियो । अब जिल्लामा रहेका शाखाबाट उत्पादन गर्ने कोशिस गर्छौं तर जति माग थियो त्यसलाई भने धान्न सकिँदैन”, महाप्रबन्धक यादवले भन्नुभयो । उहाँका अनुसार अस्थायी संरचना तयार गरेर भएपनि उत्पादन सुरु गर्ने र यसका लागि सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्छ । यादवले भन्नुभयो, “छानविन आफ्नो ठाउँमा छ । आफ्नो तर्फबाट सम्बन्धित निकायसँग पहल गरिरहेका छौँ । व्यवसाय गर्ने संस्था हो । आफैँ कमाउने आफँै खाने संस्था हो । अर्थतन्त्रमा यसको पनि योगदान हुन्छ । त्यसैले उत्पादन रोकिनुहुन्न । आशा छ हामी चाँडै बौरिने छौँ । सञ्चोको उत्पादन पुनः हुनुपर्छ भनेर लागिरहेका छौँ, यसमा सबैबाट सहयोग पाउने छौँ ।” विसं २०३८ मा स्थापित सरकारको स्वामित्व भएको यो कम्पनीले विभिन्न औषधियुक्त एवं सुगन्धित जडीबुटीहरूको सङ्कलन र प्रशोधन गर्दै आएको छ । कम्पनीले सञ्चो, भिक्स, हिमालय मसाज तेल, सञ्चो जटा केश तेललगायत उत्पादन गर्दै आएको छ ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा आज थाइल्यान्डको बैंकक आइपुग्नु भएको छ । प्रधानमन्त्री ओली आज साँझ स्थानीय समय अनुसार ६।१५ बजे बैंकक आइपुग्नुभएको हो । उहाँलाई सुवर्णभूमि अन्तरराष्ट्रिय विमानस्थलस्थलको विशिष्ट कक्षमा थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिट, संस्कृति तथा खेलकुदमन्त्री सोरावोङ थेनबोङ र थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली, नेपालका लागि थाइल्यान्डका राजदूत सावापोङ सिरिसोर्नसहितले स्वागत गर्नुभयो । थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलो पटक थाइल्यान्डको औपचारिक भ्रमण भएको हो । प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक–विकास सल्लाहकार डा युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत हुनुहुन्छ ।
पर्वत: पर्वतको जलजला गाउँपालिका वडा नं ५ लेखफाँटमा आज भएको ट्र्याक्टर दुर्घटनामा परी १५ वर्षीय एक किशोरको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा परी जलजला गाउँपालिका–५ गिद्धेश्वरका १५ वर्षीय रोशन परियारको घटनास्थलमै मृत्यु भएको हो भने ट्र्याक्टर चालक सोही स्थानका २० वर्षीय अनिल रेग्मीको अवस्था गम्भीर रहेको छ । लेखफाँटको गिद्धेश्वरबाट गैरीगाउँतर्फ जाँदै गरेको ग१त २२६० नम्बरको खाली ट्र्याक्टर सडकदेखि एक सय मिटर तल भिरमा खसेर दुर्घटना भएको हो । घाइते रेग्मीलाई थप उपचारका लागि प्रदेश अस्पताल म्याग्दी पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिनुभयो । घटनाका बारेमा बारीबेनी प्रहरी चौकीबाट पुगेको प्रहरीको टोलीले अनुसन्धान गरिरहेको सापकोटाले बताउनुभयो । चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।
काठमाडौं: प्रतिनिधिसभाको चालु पाँचौँ अधिवेशनबाट विभिन्न पाँच विधेयक पारित भएका छन् । माघ १८ गतेदेखि सञ्चालन भएको अधिवेशनमा प्रतिनिधिसभामा १२ वटा सरकारी र एउटा गैरसरकारी विधेयक दर्ता भएका थिए । त्यसमध्ये पाँचवटा विधेयक सङ्घीय संसद्का दुवै सभाबाट पारित भएका छन् भने चारवटा विधेयक समितिमा विचाराधीन छन् । तीनवटा विधेयक सदनसमक्ष प्रस्तुत मात्र भएका छन् । अधिवेशनको प्रारम्भमा प्रतिनिधिसभामा पेस भएका छ विधेयकमध्ये ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’, ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ पारित भए । यो ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ र ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ पारित भएको छ । सदनमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ पेस मात्र भयो । ‘जाति, रङ्ग, क्षेत्र, वेशभूषा, राष्ट्रियता वा उत्पत्तिमा आधारित भेदभाव (कसुर र सजाय)’ सम्बन्धी गैरसरकारी विधेयक दर्ता भएको छ । सभाको पहिलो, दोस्रो, तेस्रो र चौथो अधिवेशनबाट सरकारी र गैरसरकारी गरी पेस भएका १३ वटा विधेयकमध्ये ‘संवैधानिक परिषद् (काम, कर्तव्य र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक’ प्रतिनिधिसभाबाट पारित भएको छ । ‘जलस्रोत विधेयक’सम्बन्धी समितिको प्रतिवेदन सभामा प्रस्तुत भएको छ । ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक’ राष्ट्रियसभाबाट फिर्ता भई प्रतिनिधिसभामा टेबुल भएको छ । आठ वटा विधेयक सम्बन्धित समितिमा विचाराधीन छन् । चालू अधिवेशनमा राष्ट्रियसभामा उत्पत्ति भएका चार वटा विधेयक सभामा प्राप्त भएकामा दुई वटा सम्बन्धित समितिमा पठाइएको छ । ‘नेपाल कानून व्यवसायी परिषद् (पहिलो संशोधन) विधेयक’ माथिको सैद्धान्तिक छलफल टुङ्गिएको छभने र ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक’ प्रस्तुत भएको छ । अघिल्ला अधिवेशनमा राष्ट्रियसभाबाट प्राप्त सात वटा विधेयकमध्ये चार वटा पारित भएका छन् । ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’सम्बन्धी समितिको प्रतिवेदन सदनमा पेस भएको छ भने ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग .तेस्रो संशोधन) विधेयक’ सम्बन्धित समितिमा विचाराधीन छ । ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक’ प्रस्तुत मात्र भएको छ ।
काठमाडौं: सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत ९सिइओ० मा झापाका चुडामणि चापागाईंलाई नियुक्त गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उहाँलाई उक्त पदमा नियुक्त गरेको हो । राजस्व सचिव दिनेशकुमार घिमिरेले आज उहाँलाई नियुक्तिपत्र हस्तान्तरण गर्नुभएको हो । नवनियुक्त सिइओ चापागाईंले बुधबार कार्यभार सम्हाल्ने कार्यक्रम रहेको नेप्सेले जनाएको छ ।
काठमाडौं: पर्यटन, व्यापार र शिक्षा क्षेत्रमा सहकार्यका साथै बौद्ध संस्कृति एवं परम्पराले निकट बनाएको नेपाल र थाइल्याण्डबीचको मैत्रीपूर्ण सम्बन्ध प्रधानमन्त्री केपी शर्मा ओलीको भोलिदेखि प्रारम्भ हुने थाइल्याण्डको औपचारिक भ्रमणबाट अझ सुदृढ हुने अपेक्षा गरिएको छ । नेपाल र थाइल्याण्डबीच सरकारी तहमा मात्र नभई जनस्तरमासमेत घनिष्ठ सम्बन्ध छ । थाइल्याण्डमा नेपाली मूलका करिब ८० हजार नागरिकको बसोबासले पनि दुई देशबीचको अनुपम सम्बन्धलाई झल्काउँछ । सांस्कृतिक तथा सभ्यताका मूल्यमान्यताले जोडिएको थाइल्याण्डसँगको नेपालको सम्बन्ध आपसी सद्भाव र समझादरीमा आधारित छ । सन् १९५९ नोभेम्बर ३० मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि यो अझ सुमधुर बन्दै गएको छ । भगवान् बुद्धका उपदेश र त्यसबाट विकास भएका मूल्य–मान्यता नेपाल र थाइल्याण्डका जनतालाई आपसमा जोड्ने एक प्रमुख कडिका रुपमा रहेका छन् । थाइल्याण्डका जनताका लागि भगवान् बुद्धको जन्मस्थल लुम्बिनी पवित्र तीर्थस्थल हो । पारस्परिक सम्बन्धलाई धार्मिक रुपमा सबल बनाउन लुम्बिनीमा थाइल्याण्ड सरकारले बौद्ध विहार पनि निर्माण गरेको छ । राजा जनक र जनकपुरप्रति थाइ जनताको अगाथ आस्था र श्रद्धा रहेको पाइन्छ । पछिल्लो समय पर्यटन, सामुद्रिक क्षेत्रको अवलोकन, अध्ययन र व्यापारका लागि थाइल्याण्ड जाने नेपालीको सङ्ख्या बढ्दो रहेको व्याङककस्थित नेपाली राजदूत धनबहादुर ओलीले बताउनुभयो । नेपाल र थाइल्याण्डबीचको व्यापारिक आदानप्रदानले पनि दुई देशबीचको सम्बन्धलाई सघन बनाउन सघाएको छ । थाई नागरिकले नेपालको उत्पादन तथा पर्यटन उद्योगमा लगानी गरेका छन् । यद्यपि थाइल्याण्डसँगको हाम्रो व्यापार घाटामा छ । नेपालबाट जडीबुटी, हस्तकलाका सामान, छुर्पी, नेपाली कागज, अल्लोका कपडा निर्यात हुन्छन् भने थाइल्याण्डबाट विद्युतीय उपकरण, मोटरकारलगायत सवारी साधानका सामान, तयारी पोशाक र फलफूल आयत हुँदै आएको छ । थाई नागरिक नेपालको भ्रमणमा पनि आउने गरेका छन् । सन् २०२३ मा २५ हजारभन्दा बढी थाई पर्यटक नेपाल आएका थिए ।
काठमाडौं: अभिनेता राजेश हमालले कलाकारलाई उमेरले असर नगर्ने भएकाले उसले निर्वाह गर्ने पात्र र भूमिकाको विषयमा चर्चा हुनुपर्ने बताउनुभएको छ । ‘नरसिंहा अवतार’ चलचित्रको पोस्टर सार्वजनिक तथा प्रदर्शन मिति घोषणा कार्यक्रममा अभिनेता हमालले कलाकार पात्रमा उपयुक्त भएसम्म उमेरले असर नगर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मेरो उमेर कति पुग्यो वा मसँग अभिनय गर्ने, जोडी बन्ने कलाकारसँग कति उमेर अन्तर छ भन्ने विषयमा चर्चा गर्नुभन्दा हामी त्यो पात्रमा कस्तो देखिएका छौँ, भन्ने विषयको चर्चा हुनु पर्छ । किनकि पर्दामा कलाकारको उमेर नभई अभिनय हेरिन्छ र हामी कहाँ एउटा कलाकारले यति उमेरसम्म मात्र अभिनय गर्न पाउने भन्ने पनि छैन । यहाँ केही कलाकारले लामो समयसम्म आफूलाई अभिनयमा सक्रिय बनाएका छन्, म त्यही मध्येको एक हुँ ।” उहाँले चलचित्रको विषय र आफ्नो पात्र सुहाउँदो भूमिका रहेकाले आठ वर्षपछि चलचित्रमा अभिनय गरेको स्पष्ट गर्नुभयो । नयाँ कलाकारले आफ्नो पात्रप्रति देखाउनुभएको गम्भीरताको पनि अभिनेता हमालले तारिफ गर्नुभयो । अभिनेता हमालको जोडी बनेर चलचित्रमा प्रस्तुत हुनुभएकी अभिनेत्री नीति शाहले आफ्नो अभिनय यात्राले नयाँ उचाइ पाउने विश्वास व्यक्त गर्नुभयो । “यो चलचित्रमा मैले अनुभवी कलाकारसँग काम गर्न पाएको छु, उहाँको अनुभवले मलाई धेरै कुरा सिकाएको छ । अभिनेता हमालसँग काम गर्न पाउँदा म निकै खुसी छु, हामी आफ्नो पात्रअनुसार चलचित्रमा फिट देखिएका छौँ,” अभिनेत्री शाहले भन्नुभयो । दिवाकर भट्टराईले निर्देशन गर्नुभएको ‘नरसिंहा अवतार’ चलचित्र आउँदो वर्ष २०८२ जेठ ९ मा प्रदर्शन हुनेछ । यस चलचित्रमा अभिनेता हमाल र अभिनेत्री शाहसँगै सरोज खनाल, नीर शाह, राज कटुवाल, सनिषा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार लगायतका कलाकारले अभिनय गर्नुभएको छ ।
पोखरा: गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले राज्यबाट प्राप्त सम्पूर्ण सेवा–सुविधा जनताको हितमा खर्च गर्दै आएका छन् । मंगलबार नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री थापाले आफ्नो पहिलो कार्यकालदेखि नै सेवा–सुविधाको रकम स्थानीय जनताका आवश्यकताअनुसार रचनात्मक कार्यमा लगाउँदै आएको उल्लेख गरे । “जनताको प्रतिनिधि भएपछि तिनको आवश्यकतालाई सम्बोधन गर्नु मेरो कर्तव्य हो। मैले पाएको सेवा–सुविधा बापतको रकम सामाजिक कार्यमा खर्च गर्दै आएको छु”, मन्त्री थापाले भने। मन्त्री थापाका अनुसार २०७४ सालदेखि हालसम्म प्रदेशसभा सचिवालय र मन्त्रालयबाट प्राप्त विभिन्न भत्ता, पारिश्रमिक र सुविधा बापत जम्मा ५८ लाख ५८ हजार ५ सय ४३ रुपैयाँ प्राप्त गरेका छन् । यसै अवधिमा उनले सामाजिक कार्यमा ७९ लाख ४२ हजार ३ सय ९० रुपैयाँ खर्च गरेका छन् । मन्त्रीको थापाको बैंकको खातामा २०७४ सालमा निर्वाचित भएको पहिलो वर्षदेखि हालसम्म क्रमश: ७ लाख ९ हजार १ सय ३५ रुपैयाँ, ६ लाख १० हजार ६ सय ३९ रुपैयाँ १० पैसा, ८ लाख ५९ हजार ८ सय ६८ रुपैयाँ, १३ लाख ६६ हजार ३ सय ६० रुपैयाँ २९ पैसा, ५ लाख २५ हजार २ सय ४७ रुपैयाँ, ८ लाख ९६ हजार, ९ लाख ९० हजार ९४ रुपौयाँ गरि जम्मा ५८ लाख ५८ हजार ५ सय ४३ रुपैयाँ जम्मा भएको छ । कुन वर्षमा कति ? यसै अवधिमा मन्त्री थापाले पहिलो ५ वर्षे कार्यकाल र अहिलेको २ गरी ७ वर्षमा सामाजिक कार्यमा हालसमम्म क्रमश: १० लाख ५४ हजार ६ सय ५५, ९ लाख ३ हजार ७ सय १ रुपैयाँ ५२ पैसा, १२ लाख ४७ हजार ४० रुपैयाँ, १४ लाख ८६ हजार ९ सय ७० रुपैयाँ, ११ लाख ३६ हजार ७ सय रुपैयाँ, ११ लाख १२ हजार रुपैयाँ, १० लाख १ हजार ३२४ रुपैयाँ गरि ७९ लाख ४२ हजार ३ सय ९० रुपैयाँ खर्च गरेका छन् । उनले सेवा–सुविधाबाट प्राप्त रकम शिक्षाका लागि छात्रवृत्ति, स्वास्थ्य क्षेत्रमा आधारभूत पूर्वाधार निर्माण, खेलकुद प्रवद्र्धन, महिला तथा युवाहरूको सशक्तिकरण, विपन्न परिवारलाई आर्थिक सहयोग जस्ता कार्यमा लगाएको बताए। प्रदेश सरकारलाई अझ प्रभावकारी बनाउन संघीय सरकारले आवश्यक कानूनी व्यवस्थासहित आत्मनिर्भर बनाउने पहल गर्नुपर्ने उनको भनाइ छ। “प्रदेश सरकारले स्रोत र साधनको सीमितताबीच जनअपेक्षाअनुसार काम गरिरहेको छ । तर, सिंहदरबारको ढिलासुस्तीले योजना कार्यान्वयनमा समस्या देखिएको छ”, उनले भने । मन्त्री थापाले हाल सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयबाट ‘फ्राइडे फर फ्युचर’, ‘सिक्दै कमाउँदै’, योग तथा ध्यान कार्यक्रम ‘गण्डकी स्वजागरण’, प्राविधिक शिक्षाको पूर्वाधार निर्माण, महिला तथा युवा सशक्तिकरण कार्यक्रम सञ्चालन भइरहेको जानकारी गराए । यस्तै, भाषा आयोगको सिफारिसमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजी भाषा बनाउने विधेयक सदनमा छलफलको क्रममा रहेको पनि उनले जानकारी दिए । अपाङ्ग भएका व्यक्तिको अधिकार सम्बन्धी विधेयक पहिलो पटक हामीले नै अगाडि बढेको र दलित अधिकार तथा सशक्तिकरण विधेयक पनि सैद्धान्तिक छलफलपछि विषयगत समितिमा गइसकेको उनले बताए । विधेयकले कानूनी रुप लिएपछि त्यसले गण्डकी प्रदेश सरकारलाई काम गर्न अझ सहज बनाउने मन्त्री थापाको विश्वास छ । मन्त्री थापाले नेपाली कांग्रेसले लोकतन्त्र र संविधान स्थापनामा खेलेको भूमिकाको स्मरण गर्दै सरकारको पारदर्शिता र सुशासनलाई पहिलो प्राथमिकता दिने बताएका छन् । “हामी सस्तो प्रचारबाजीबाट टाढा रहन्छौँ, काम गरेर जनताको मन जित्न चाहन्छौँ”, उनले भने। मन्त्री थापाले आफ्नो पहिलो कार्यकालदेखि नै सेवा–सुविधाका रकम जनहितमा खर्च गर्ने घोषणा गरेअनुसार सरकारी आवास प्रयोग नगर्ने, थप सुविधा नलिने र पारदर्शिता कायम राख्ने प्रतिज्ञा पूरा गरिरहेको बताए । “सरकारले ठूला आयोजनाहरू कार्यान्वयन गर्दा कतिपय छुटेका साना तर महत्वपूर्ण विषयहरूको सम्बोधन मैले गरेको छु”, उनले भने। गण्डकी प्रदेश सरकारले आगामी दिनमा सुशासन, समृद्धि, रोजगारी सिर्जना र सेवा प्रवाहमा सुधार गर्ने प्रतिबद्धता सहित अगाडि बढेको भनाई उनको छ ।