र्यान्डम रिडर्समा तीर्थको हिउँको गीतको चर्चा
पाेखरा | असार २८, २०८२

पोखरा: र्यान्डम रिडर्स सोसाइटीको ११८ औँ नियमित कार्यक्रममा शनिवार साहित्यकार तीर्थ गुरुङको उपन्यास ‘हिउँको गीत’ को चर्चा गरिएको छ । सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै कृति वा विषयमाथि परिचर्चा गर्दै आएको छ ।
सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा युवा साहित्यकार त्रिवेणीले रैथाने ज्ञान पद्धतिमा आधारित रहेर कृतिको चर्चा गरे ।
रैथाने ज्ञान प्रणालीमा ज्ञान सामूहिक हुने बताउँदै त्रिवेणीले हिउँको गीतमा पात्रका माध्यमबाट पारिवारिक सम्बन्धको ज्ञान पनि सँगसँगै बगिरहेको धारणा राखे ।
उनले हिउँको गीतमा स्थान विशेष वातावरणीय सम्बन्ध, ‘पेब्याक’ को परम्परा, मूल्य र मान्यताको परम्परा र जमिनको महत्त्वसम्बन्धी रैथाने विशेषता पाइने जिकिर गरे ।
“उपन्यासले प्राचीन समाजको सामाजिक द्वन्द्वलाई बेजोड रूपमा पस्किएको छ र एउटा बस्तीको विघटनमा त्यसको भूमिकालाई दर्साएको छ । यो नै उपन्यासको मूल कथानक हो जुन अति सुन्दर तरिकाले स्थापित छ ।” त्रिवेणीले भने, “अझ चर्चा गर्नुपर्ने अर्को पक्ष भनेको रैथाने परम्पराको अन्त्यमा औपनिवेशिक शक्तिको हात हुने कुरा हो । संसारभर नै रैथाने परम्परा र पद्धतिको अवसान औपनिवेशिकताको प्रवेशसँगै भएको छ । त्यो औपनिवेशिकता कुन रूपमा कसरी छिर्छ, त्यो समाजपिच्छे फरक हुन सक्छ तर त्यसले ल्याउने नियति सबै समाजमा एउटै हुन्छ– समाजको विखण्डन र विनाश जो हिउँको गीतमा पनि आएको छ ।”
उपन्यासले रैथाने ज्ञान प्रणलीलाई आफूमा समाहित गरेको र उक्त प्रणालीको विघटनमा औपनिवेशिक शक्तिको हातलाई पनि छर्लङ्ग बनाएकाले उपन्यास अब्बल सावित भएको त्रिवेणीको भनाइ छ ।
कार्यक्रममा उपन्यासकार तीर्थ गुरुङले आफूले उपन्यास आफ्नै व्यक्तिगत जिन्दगीसँग जोडेर लेख्न सुरु गरेको अनुभव सुनाए ।
मिर्गौलासम्बन्धी रोगबाट पिडित गुरुङले आफ्नै पिताको मिर्गौला प्रत्यारोपण गरेपछि प्राप्त भएको पुनर्जीवनलाई प्रतीकात्मक रूपमा अभिव्यक्त गर्ने माध्यमका रूपमा लेखन अघि बढाएको प्रसङ्ग गुरुङले भावुक हुँदै सुनाए ।
यसअघि पाठशाला (उपन्यास) र आपा क्हार्प (कथा सङ्ग्रह) बजारमा ल्याइसकेका गुरुङले आफ्नै मातृभूमि, मातृभाषा र मातृसंस्कृतिलाई ‘पेब्याक’ होस् भन्ने हेतुले पनि उपन्यास लेखेको बताए ।
हालसम्म पाठकको मायाबाट हौसला मिलेको बताउँदै उनले आगामी संस्करणमा पाठकको सुझावलाई ध्यानमा राखेर परिमार्जन पनि गर्ने प्रतिबद्धता जनाए । गुरुङ जातिको उद्गम थलो क्होला राज्यको विकासदेखि विघटनसम्मको कथावस्तु हिउँको गीतमा समेटिएको छ ।
सचिव नेपालप्रकाश अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा कौशलचन्द्र जिसी, कुमार तामाङ, डा। लक्ष्मीशरण अधिकारी, मेघराज ढकाल, डा। हुमबहादुर गुरुङलगायतले टिप्पणी गरेका थिए ।
बैतडी: बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा ६ जना घाइते भएका छन् । धनगढीबाट दार्चुलाको गन्नातर्फ जाँदै गरेको सुपप्र ०४ ००१ ज १३७२ नम्बरको जीप आज बिहान बैतडीको पाटन–६...
काठमाडौं: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पुर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर ...
स्याङ्जा: नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान रहनुभएका क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन सुरू गरिएको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ आरुचौर...