काठमाडौं:   शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक तथा कर्मचारीहरुले आज पनि काठमाडौंमा प्रदर्शन जारी राखेका छन् ।   उनीहरु माइतीघरबाट नयाँबानेश्वरतर्फ अघि बढिरहेका छन् ।   अघिल्ला...

पर्वत:   जिल्लाको बिहादी गाउँपालिकामा आज बिहान भएको बोलेरो जीप दुर्घटना हुँदा दुईको मृत्यु भएको छभने सात जना घाइते भएका छन् ।       गुल्मीको कालीगण्डकी गाउँपालिकास्थित पूर्तिघाटबाट स्याङ्जाको वालिङतर्फ जाँदै गरेको लु१ज ४४६० नम्बरको जीप बिहादी–६ लिदीमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।           बिहादी–३ रानीपानीका ६१ वर्षीय मीनप्रसाद उपाध्याय र गुल्मीको कालीगण्डकी गाउँपालिका–४ पूर्तिघाटकी ६४ वर्षीया डिलकुमारी भट्टचनको घटनास्थलमा मृत्यु भएको घटनास्थलमा रहनुभएका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन विष्टले जानकारी दिनुभयो ।      उहाँका अनुसार दुर्घटनामा परी घाइते भएका छ जनालाई उपचारका लागि पाल्पा लगिएको छभने एक बालक सामान्य घाइते भएकाले स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।     उकालो सडकमा ब्रेक फेल भएर गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेको पहिचान खुलिनसकेको बताउँदै घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिनुभयो । 

बाजुरा:   गौमुल गाउँपालिकामा भिरबाट लडेर सोही गाउँपालिका–६ टाडाकोटका ५६ वर्षीया डम्बरबहादुर रोकायाको मृत्यु भएको छ ।  आज बिहान गाउँ नजिकको वनमा बाख्रा चराउन गएका रोकायाको लडेर घटनास्थलमै मृत्यु भएको उहाँका आफन्त दीपेन्द्र रोकायाले राससलाई बताउनुभयो ।  उहाँ एक सय मिटर तल खोचको खस्नुभएको हो । उहाँका  एक हुनुहुन्छ ।

काठमाडौं:   थापाथलीमा मङ्गलबार बिहान फुटेको मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन मर्मत भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को प्राविधिक टोलीले फुटेको पाइपलाइन आज बिहान ४ बजे मर्मत पूरा गरेको केयुकेएलका इन्जिनियर प्रकाश बरालले  जानकारी दिनुभयो । 

काठमाडौं:  ललिता निवासको जग्गा हिनामिनाका सन्दर्भमा विशेष अदालतले गरेको फैसला त्रुटीपूर्ण रहेको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।      आयोगले ललिता निवास क्याम्पभित्रको सरकारी जग्गा गैरकानुनी रुपमा व्यक्ति तथा संस्था विशेषको नाममा कायम गरी भ्रष्टाचार गरेको मुद्दामा प्रतिवादी कलाधर देउजासमेत रहेको विशेष अदालतबाट भएको फैसला चित्त बुझ्दो नभएको भनी पुनरावेदन गरेको हो ।      आयोगले २०७६ माघ २२ गते विशेषमा मुद्दा दायर गरेको थियो । सो मुद्दामा विशेषले २०८० फागुन ३ गते केहीलाई सफाई र केहीलाई आशिंक सफाइ  दिएको थियो । आयोगले पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार  डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीलाई पुनः प्रतिवादी बनाएको छ ।      आयोगले तथ्य पुष्टि गर्ने सबुत प्रमाणको न्यायोचित विश्लेषण नगरी फैसला गरिएको, कर्मचारीलाई अनुचित प्रभावमा पारी गैरकानुनी लाभ हासिल गर्नेलाई प्रमाण बमोजिम कारवाही गर्नुपर्ने र प्रतिवादीविरुद्ध सबुत प्रमाणका आधारमा कसुर ठहर गरी दण्ड तथा जरिवाना समेत हुनुपर्नेमा त्यसो नभएको उल्लेख गरेको छ ।      आयोगले केही छिमेकी देशको समेत उदाहरण पेस गर्दै विशेषको फैसला त्रुटीपूर्ण र बदरभागी रहेको जनाएको छ । आयोगका प्रवक्ता नरहरि घिमिरेले ललिता निवासका सन्दर्भमा विशेष अदालतको फैसला विरुद्ध पुनरावेदन गरिएको जानकारी दिनुभयो ।      आयोगले एक सय ३६ रोपनी जग्गामा अनियमितता भएको निष्कर्ष पेस गरेको थियो ।  सो अनियमिततामा ६० जना सरकारी कर्मचारी, जग्गाधनी वा मोही भनिएका ३२ जना, कमिसनमा सरकारी जग्गा लिने १८ जना र जफत प्रयोजनका लागि ६५ जनालाई अभियुक्त दाबी गरेको थियो । केही कर्मचारी र अन्य केहीलाई मात्रै दोषी ठहर गर्दै विशेषले राजनीतिक व्यक्ति र पूर्व उच्च कर्मचारीलाई सफाइ दिएको थियो ।      आयोगले केही तथ्य र कानुनी प्रावधान एवम् छिमेकी देशका अदालतले गरेका फैसला समेत उल्लेख गर्दै पुनरावेदन गरेको हो । “प्रतिवादीका हकमा विशेष अदालतबाट फैसला गर्दा मन्त्रिपरिषद्को सामूहिक निर्णयका मूल निर्णयकर्ता रहेको, सोही सामूहिक निर्णयको अक्षुण्णताको संरक्षण यी प्रतिवादीलाई समेत जाने, यी प्रतिवादीको कुनै हदसम्म संलग्नता देखिए पनि बदनियत पुष्टि हुन नसकेको भन्ने आधार लिई सफाइ दिएको देखिन्छ”, आयोगले गरेको पुनरावेदनमा भनेको छ ।       यस्तै, आयोगले गरेको पुनरावेदनमा भनिएको छ “फौजदारी कसुरमा संलग्न कुनै पनि कसुरदारका हकमा कुनै पद वा हैसियत वा निजको प्रभाव वा औकातलाई मापन गरी फौजदारी दायित्वबाट उन्मुक्तिको वा सफाइको आधार कदापि बन्न सक्तैन व्यक्तिगत रुपमा फौजदारी कसुर गरेको अवस्थामा न त कुनै पनि व्यक्तिलाई नीतिगत निर्णयको घुम्टोमा बेरी सफाइ दिन सकियोस् ।”      विशेषको फैसलामा नीतिगत निर्णय गर्ने प्रतिवादीलाई नीतिगत निर्णय गर्ने सदस्यको हैसियत देखाई सफाइ दिएको देखिएको र सो सफाइ गलत भएको आयोगले उल्लेख गरेको छ । फैसलामा प्रतिवादीको जुन निर्णयमा संलग्नता थियो, त्यो निर्णय गर्दा निजको बदनियत देखिएन भनी सफाइ दिने दोस्रो आधार उल्लेख गरिएको छ । यो आधार नै कानुन सम्मत् नभएको आयोगको दाबी छ ।     मन्त्रिपरिषद्ले गरेको सामूहिक निर्णय र विभागीय मन्त्रीले गरेको व्यक्तिगत निर्णयलाई फरक दृष्टिकोणले हेरिनुपर्ने प्रस्तुत मुद्दाका कसुर तथ्यलाई त्यसरी नहेरी यी प्रतिवादी विरुद्धका कसुर पुष्टि हुने सबुद प्रमाणलाई गोलमटोल तवरले नीतिगत निर्णय भनी व्याख्या विश्लेषण गरिएकामा आयोगले आपत्ति जनाएको छ ।

काठमाडौं:  प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न पाँच अध्यादेशमाथि छलफल हुनका साथै तिनलाई स्वीकृतिका लागि प्रस्तुत गरिने भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ । सम्भावित कार्यसूचीअनुसार बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८१, ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ र ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ । यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ लाई स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ । त्यसअघि बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने छ ।  प्रतिनिधिसभाको बैठक अपराह्न १ः०० बजे हुने छ ।

लुम्बिनी:   बुद्धजन्मस्थल लुम्बिनीमा पाँच सय जनाको श्रामणेर (अल्पकालीन भिक्षु) प्रबज्या कार्यक्रम आजबाट सुरु गरिएको छ ।  मायादेवी मन्दिर परिसरमा पाँच सय जनालाई बौद्ध धर्मगुरूबाट पहेँलो चीवर प्रदान गरी श्रामणेर प्रबज्यामा सहभागी गराइएको हो । अखिल नेपाल भिक्षु महासङ्घ र थाई भिक्षु महासङको आयोजना, लुम्बिनी विकास कोषसहितका विभिन्न संस्थाको सह–आयोजनामा आज कूलपुत्र प्रबज्या (अल्पकालीन भिक्षु) गराइएको हो । सङ्गनायक बोधीसेन महास्थवीर, अखिल नेपाल भिक्षु महासङ्घ अध्यक्ष महास्थवीर धम्म शोभन, थाई धम्मदूतका फरा उपाझ्याए पभनासहित बौद्ध धर्म गुरूले अल्पकालीन भिक्षुका लागि चीवर प्रदान गरेका हुन् ।  समारोहलाई सम्बोधन गर्दै नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्नले बुद्धजन्मस्थल लुम्बिनीमा बुद्धको उपदेशलाई ग्रहण गर्न पाउनु ठूलो अवसर भएको बताउनुभयो ।  उहाँले शान्तिका लागि बुद्धको शिक्षा उपयोगी रहेको र यहाँको विकासका लागि थाइल्याण्ड सधैँ सहकार्य गर्न तयार रहेको बताउनुभयो ।  समारोहमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा (खेन्पो छिमे)ले बुद्धजन्मस्थल लुम्बिनीमा बुद्धको शिक्षालाई छोटो अवधिका लागि भए पनि व्यवहारमा लागू गर्ने कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो ।  उहाँले बुद्ध दर्शन समुदाय, व्यक्ति विशेष नभइ मानव जीवनका लागि भएकाले यसलाई जीवनमा लागू गर्न खोज्ने कार्यमा सहभागी भएकामा बधाइसमेत दिनुभयो । उपाध्यक्ष डा लामाले बुद्ध दर्शन मानव दर्शन भएको बताउँदै प्रबज्यामा रहेकाले जीवनको महत्वपूर्ण इतिहास दर्ज गराउन सफल भएको बताउनुभयो । अखिल नेपाल भिक्षु महासङ्घका महासचिव भिक्षु निग्रोधले बुद्धको शिक्षालाई व्यवहारमा लागू गराउनका लागि भिक्षु, लामा, गुरूको आवश्यकतापर्ने भएकाले त्यसैका लागि प्रबज्या कार्यक्रम राखिएको बताउनुभयो ।  उहाँले बुद्धजन्मभूमि लुम्बिनीमा भएको पाँच सय जनाको प्रबज्याले बुद्धको उपदेशलाई विश्वभर फैलाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । अल्पकालीन भिक्षुहरूले पहेँलो चीवर लगाएर बुद्ध धर्मका १० वटा नियम पालना गर्नुपर्नेछ ।  सामान्य अनुयायीले पञ्चशिल र अष्टशिलको पालना गर्ने भए पनि अल्पकालीन भिक्षुले आगामी चैत ३ गतेसम्म पूर्ण रूपमा बौद्ध नियममा आफूलाई रूपान्तरण गर्नुपर्नेछ ।  भिक्षु बन्नका लागि भने दुई सय २७ वटा नियमहरू पालना गर्नुपर्ने हुन्छ । फागुन १४ गतेदेखि सुरू भएको प्रबज्यामा फागुन १६ गते ललितपुरस्थित अक्षेश्वर महाविहारमा केश मुन्डन गरेका थिए ।  आज पहेँलो चीवर लगाउन योग्य भएका श्रामणेरहरूले आफूहरूले पहेँलो चीवरण ग्रहण गर्न पाउँदा निकै खुसी लागेको बताएका छन् ।  चीवर प्राप्त गरेका १२५० जनालाई पञ्चशिल, अष्टशिल र विनयपिटकका बारेमा जानकारी दिने र दैनिक ध्यान गराइने आयोजकले जनाएको छ ।  लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले अल्पकालीन भिक्षु बनाउने कार्यले बुद्धको शिक्षा र बुद्धधर्मको प्रचारमा सहयोग पुग्ने  बताउनुभयो । सन् २०११ मा एक हजार, २०१५ मा एक हजार एक सय १२, सन् २०१९ मा एक हजार एक सय १९, सन् २०२३ मा पाँच र सन् २०२४ मा एक हजार दुई सय ५० जनालाई प्रबज्या गराइएको थियो ।  प्रबज्या कार्यक्रममा लुम्बिनी विकास कोषका सदस्य सचिव शाक्य,  कार्यकारिणी सदस्य श्याम रोक्का, राजेश शाक्य, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति सुवर्णलाल बज्रचार्य, राजकीय थाई विहार लुम्बिनीका प्रमुख भिक्षु सुफोथलगायतको उपस्थिति थियो ।  प्रबया सामाजिक नेपालको व्यवस्थापनमा प्रबज्यामा भएको कार्यक्रमअन्तर्गत बिहीबार भिक्षाटन, फागुन २४ गते लुम्बिनी उद्यानमा दीप प्रज्ज्वलन, चैत ३ गते प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको छ ।

कैलाली:   नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूलो परिमाणमा कारोबार भइरहेको सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न छुट्टै ऐन आवश्यक रहेको बताउनुभएको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासङ्घ कैलालीको १२औँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष दाहालले देशको अर्थतन्त्रमा व्यवसायीको भुमिका अतुलनीय रहेको बताउनुभयो ।   व्यवसायीलाई लगानीको वातावरण सिर्जना गर्ने कार्यमा राज्य चुक्न नहुने उल्लेख गर्दै उहाँले भन्नुभयो, “व्यावसायिक वातावरण सिर्जना हुँदा त्यसले अर्थतन्त्रलाई मात्रै नभई रोजगारी पनि सिर्जना हुन्छ ।”   देश सङ्घीय प्रणालीमा गइससकेको अवस्थामा व्यवसायीका लागि आवश्यक कच्चापदार्थको उपलब्धता प्रदेश तहबाट हुन आवश्यक रहेको अध्यक्ष दाहालको भनाइ थियो । “हामीले बनाएका केही ऐन कानुन संसोधन गर्नुपर्ने स्थिति आएको छ ।   आज कानुनी व्यवधानका कारण व्यवसायीले कच्चापदार्थ सहजरूपमा पाउन सकेका छैनन्”, उहाँले भन्नुभयो, “प्रदेशबाट व्यवसायीलाई कम्तिमा कच्चापदार्थ उपलब्ध गराउन सक्यौँ भने पनि व्यवसायीलाई ठूलो राहत हुन्छ ।”   परम्परागत रूपमा व्यवसायलाई अगाडि बढाउन सरकारले व्यवसायीलाई प्रोत्साहन गर्नुपर्नेमा अध्यक्ष दाहालले जोड दिनुभयो । त्यसका लागि पार्टीको तर्फबाट सदनमार्फत सरकारलाई दबाब दिने उहाँले बताउनुभयो । सुनचाँदीलाई बिलासिताको वस्तुका रूपमा कर लगाउनु गलत भएको र त्यसलाई हटाइनुपर्ने उहाँको भनाइ थियो ।

जनकपुरधाम:  मधेश शहिद प्रतिष्ठानका सदस्य रामनरेश राय (यादव) आज जनकपुरधाममा मृत भेटिएका छन् ।   सर्लाहीको मलङ्गवा नगरपालिकाको गम्भरिया घर भएका ३७ वर्षीय यादव जनकपुरधामस्थित मधेश प्रदेश भवनभित्र मृत फेला परेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो ।   ओछ्यान नजिक यादवले वान्ता गरेको पाइएको र उहाँको मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । उहाँको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौँ:   पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्षपछि हिमालय एयरलाइन्सले पहिलो व्यावसायिक उडान सुरु गर्न लागेको छ । हिमालयले आगामी चैत १८ गतेदेखि चीनको ल्हासामा उडान गर्न लागेको हो ।   काठमाडौँ–ल्हासा–पोखरा–ल्हासा–काठमाडौँ जोड्नेगरी उडान गर्न लागेको हिमालय एयरलाइन्सले विज्ञप्तिमार्फत जनाएको छ । पोखरालाई ल्हासासँग जोड्न सातामा एक उडान गर्नेगरी उडान तालिका निर्धारण गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।   ल्हासा उडानका लागि हिमालय एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सँग उडान अनुमति लिइसकेको छ । क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार हिमालय एयरलाइन्सले ल्हासामा पहिलो ‘सेडुअल फ्लाइट’ गर्नेगरी उडान अनुमति मागेको छ । ल्हासा उडान प्रक्रिया अन्तिम चरणमा छ ।   त्यसैगरी, चीनको सिचुवान एयरलाइन्सले आगामी चैत ५ गतेदेखि पोखरा–छेन्दु गन्तव्यमा व्यावसायिक उडान गर्ने तयारी गरेको छ । यद्यपि, क्यानबाट उडान अनुमतिलगायत प्रक्रिया पूरा भइसकेको छैन । पोखरा–छेन्दु सातामा एक उडान गर्ने तयारी भएको एयरलायन्सले जनाएको छ । सिचुआन एयरलाइन्सको नेपालका लागि आधिकारिक जनरल सेल्स एजेन्सी (जिएसए) सोसाइटी इन्टरनेसनल रहेको छ ।   क्यानका सूचना अधिकारी भूलले यो उडानले पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय नियमित उडान भएको सन्देश जाने विश्वास व्यक्त गर्नुभयो । नेपालको पर्यटकीय राजधानी पोखरा र विश्व प्रसिद्ध ‘रुफ अफ द वल्र्ड’ ल्हासाबीच हवाई सम्पर्क सञ्जाल विस्तार गर्न लागिएको हो । योसँगै नेपालमा चिनिया पर्यटक बढ्ने विश्वास लिइएको छ ।   हिमालय एयरलाइन्सले हाल काठमाडौँबाट ल्हासा एक सातामा पाँच उडान गरिरहेको छ । पोखराबाट पनि ल्हासामा थप एक उडान गर्न लागेको हो । “हिमालय एयरलाइन्सले चैत १८ देखि उडान गर्नेगरी उडान अनुमति मागेको छ, अनुमतिको प्रक्रियामै छ”, क्यानका सूचना अधिकारी भूलले भन्नुभयो, “काठमाडौँ–ल्हासा पोखरा र पोखरा–ल्हासा काठमाडौँ उडान गर्नेगरी अनुमतिको प्रक्रियामा छ ।”   उहाँका अनुसार हिमालय एयरलाइन्सको जहाज सोमबार ल्हासाबाट पोखरा आउनेछ र मङ्गलबार पोखराबाट ल्हासा जानेगरी सातामा एक उडान अनुमति मागेको छ । मागअनुरुप भविष्यमा उडान थप्न सकिने क्यानले जनाएको छ ।   सिचुवान एयरलाइन्सको उडान मिति भने तय भइनसकेको उहाँले बताउनुभयो । सिचुवान एयरलाइन्सले पोखराबाट काठमाडौँ परीक्षण उडान गरिसकेको छ । पोखराबाट चीनका विभिन्न गन्तव्यमा सिधा उडान हुने भएपछि व्यवसायी उत्साहित भएका छन् ।   पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहरीले पोखराबाट चीनका विभिन्न सहरमा हुन गइरहेका सिधा उडानले व्यवसायी उत्साहित भएको बताउनुभयो । “पोखरा विमानस्थल निर्माण भएको दुई वर्षपछि पहिलोपटक नियमित व्यावसायिक उडान हुँदैछ । यसले पोखरेली जनतालाई उत्साहित तुल्याएको छ”, उहाँले भन्नुभयो ।   पोखरा पर्यटन परिषद्ले आगामी चैत ५ गते पोखराबाट छेन्दु जाने पर्यटकका लागि प्याकेजसमेत बनाएको जनाएको छ । छेन्दुबाट पनि व्यवसायी आउने र पोखराबाट पर्यटन व्यवसायी गएर छेन्दुमा विजनेस टू बिजनेश (बिटुबी) कार्यक्रम गर्ने तयारी गरिएको अध्यक्ष पहरीले जानकारी दिनुभयो ।   एयरलाइन्सका उपाध्यक्ष श्रेष्ठले पोखराबाट छेन्दु उडान सुरु भएसँगै सुस्त ग्रीष्मकालीन याममा पनि पर्यटक बढ्ने अपेक्षा गरिएको बताउनुभयो । उहाँले काठमाडौँ–ल्हासा–पोखरा–ल्हासा–काठमाडौँ सुरु गरिएको यस उडानले एयरलाइन्सको दुई राष्ट्रका नागरिकबीचको सम्बन्धलाई मजबुत बनाउने, पर्यटन र व्यापारलाई प्रवर्द्धन गर्ने उद्देश्यलाई प्रोत्साहन मिल्ने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तरराष्ट्रिय विमानस्थल विसं २०७९ पुस १७ गते उद्घाटन भएको थियो ।   हालसम्म विभिन्न एयरलाइन्सका ११ चार्टर्ड उडान भएको पोखरा विमानस्थलका प्रवक्ता जशोधा सुवेदीले जानकारी दिनुभयो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७१ वर्षपछि मुलुकभित्र दोस्रो अन्तरराष्ट्रिय विमानस्थलका रुपमा रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो । त्यसको छ महिनापछि पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो ।