पोखरा: अन्नपूर्ण बेस क्याम्पबाट फर्किदै गरेका एक पर्यटक देउरालीको हिमपहिरोमा पुरिएको आशंका पछि उद्धार टोली घटनास्थल पुगेको छ । अन्नपूर्ण बेस क्याम्पबाट फर्किदै गरेका दुई भारतीय नागरिकले चैत ११ गते देउरालीमा गएको हिम पहिरोमा एक पर्यटक पुरिएको सूचना प्रहरीलाई दिएका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख श्यामबावु ओलियाले अन्नपूर्ण बेस क्यामबाट फर्किदै गरेका एक पर्यटक हिम पहिरोमा पुरिएको सूचनापछि उद्धार टोली घटनास्थलमा पुगेको जानकारी दिए । ‘अन्नपूर्ण बेस क्यामबाट फर्किदै गरेका दुई भारतीय नागरिकले आफु भन्दा अगाडि रहेका एक पर्यटक देउरालीको हिमपहिरोमा पुरिएको आशंका गर्दै प्रहरीलाई खवर गरेका थिए’, प्रहरी प्रमुख ओलियाले भने, ‘उनीहरुले दिएको सूचनाका आधारमा घान्द्रुक प्रहरी चौकी, जनप्रतिनिधि र पर्यटक प्रहरीको टोली घटनास्थलमा पुगेको छ, हिम पहिरोमा पर्यटक पुरिएको हो या होइन उद्धार टोलीले सूचना दिएपछि पुष्टि हुन्छ ।’ उद्धार टोलीमा खटिएका एक सुरक्षाकर्मीका अनुसार हिमपहिरोमा पर्यटक पुरिएको आशंका पछि प्रहरी, जनप्रतिनिधि र स्थानीय गरी २५ जनाको टोली घटनास्थलमा पुगेको छ । घटनास्थलमा बिहान र बेलुका मात्र खोजी कार्य गर्न सकिने उद्धार टोलीका एक सदस्यले जानकारी दिए । घटनास्थल पुग्न घान्द्रुकबाट तीन दिन लाग्ने उद्धारकर्मीहरुले बताएका छन् ।
काठमाडौं: आज प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक हुँदैछन् । बिहान ११ः०० बजेका लागि निर्धारित प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ । संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार प्रधानमन्त्री ओलीले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ । ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल कानुन व्यवसायी परिषद् ९दोस्रो संशोधन० विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ । त्यसैगरी, अपराह्न १ः१५ बजे हुने राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री ओलीले ‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्नुहुने छ । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिनुहुने छ । यसैगरी, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकतासम्बन्धी प्रतिवेदन, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नुहुने कार्यसूची छ ।
काठमाडौं: श्रीलङ्काका लागि नेपालका राजदूत पूर्णबहादुर नेपालीले त्यहाँका राष्ट्रपति अनुराकुमारा दिसानायकेसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । राष्ट्रपति कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा राजदूत नेपालीले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको कोलोम्बोस्थित नेपाली राजदूतावासले आज जनाएको छ । त्यस अवसरमा राजदूत नेपालीले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट श्रीलङ्काली राष्ट्रपतिको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका जनताको निरन्तर शान्ति एवं प्रगतिको कामना गर्नुभएको थियो । राजदूत नेपालीलाई स्वागत गर्दै राष्ट्रपति दिसानायकेले राष्ट्रपति पौडेलको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै नेपाली जनताको शान्ति एवं समृद्धिको कामना गर्नुभएको थियो । त्यस अवसरमा श्रीलङ्काका विदेशमन्त्री, राष्ट्रपति कार्यालयका सचिव, राजदूतकी धर्मपत्नी, राष्ट्रपतिको कार्यालय र विदेश मन्त्रालयका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो ।
काठमाडौं: हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान महाशाखाले पहाडी भागमा आंशिक बदली भएको तथा बाँकी भागको मौसम सफा रहेको बताएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भेगमा आंशिक बदली हुनेछ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । आगामी २४ घण्टामा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्न सक्ने हुँदा सतर्कता अपनाउन विभागले सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
काठमाडौं: यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार अन्नपूर्ण–१ सहित विभिन्न चुली आरोहणका लागि आठ आरोही समूहका १८ महिला र ४० पुरुष गरी कूल ५८ जनाले अनुमति पाइसकेका छन् । हालसम्म नेपालसहित २४ देशका आरोहीले आरोहण अनुमति लिएका छन् । विभागका निर्देशक लिलाधर अवस्थीले वसन्त यामको हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरिएको बताउनुभयो । “यो यामको हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरिएको छ, सगरमाथा आरोहणका लागि छिट्टै अनुमति दिइनेछ”, उहाँले भन्नुभयो, “सगरमाथा क्षेत्रमा आरोहणको चहलपहल बढेको छ ।” सगरमाथा आरोहणका तयारी व्यवस्थापनमा आरोहण गराउने कम्पनी जुटेका छन् । विभागका अनुसार सगरमाथा आधार शिविरमा अहिले स्नो होराइजन, पायोनियर, सेभेनसमिट ट्रेक, सेभेन समिट क्लब, एलिट एक्सिपीडिसन, हिमालयन गाइड्स, एसियन ट्रेकिङलगायत कम्पनीले शिविर व्यवस्थापनलगायतका काम गरिरहेका छन् । वसन्त ऋतु सगरमाथासहितका हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ । यो याममा सगरमाथा आरोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी आउँछन् । वसन्त ऋतुको सगरमाथा आरोहणका लागि बाटो बनाउन सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)ले ‘आइसफल डाक्टर’ खटाएको छ । सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्म बाटो बनाउन एसपीसीसीले १० जनाको टोली खटाएको हो । यस्तै सगरमाथाको दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो बनाउने अर्थात् ‘रोप फिक्सिङ’ ९डोरी टाँग्ने० कामका लागि हालै दक्ष सगरमाथा आरोही खटिएका छन् । पर्वतारोहण सञ्चालक सङ्घले अशोक लामाको नेतृत्वमा आठ सदस्यीय दश शेर्पा आरोहीलाई सगरमाथाको चुचुरोसम्म डोरी टाँग्नका लागि खटाएको हो । सङ्घका महासचिव ऋषिराम भण्डारीका अनुसार वसन्त ऋतुको सगरमाथा र ल्होत्से हिमाल आरोहणका लागि आरोही केही दिनअघि सगरमाथा गएका छन् । सन् २०२५ को वसन्त ऋतुमा सगरमाथा, ल्होत्से र आमादब्लम हिमाल आरोहणका लागि रोप फिक्सिङको व्यवस्थापकीय जिम्मेवारी एट्के एक्सपिडिसन कम्पनीले पाएको छ ।
पोखरा: गण्डकी प्रदेशसभाबाट सार्वजनिक सडक निर्माण विस्तार तथा मर्मत सम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ । गण्डकी प्रदेशसभाको आज बसेको बैठकले उक्त विधेयक सर्वसम्मतिले पारित गरेको हो । विधेयकले प्रदेशभित्रका सडकलाई प्रदेश लोकमार्ग र प्रादेशिक सडक गरी सडकको दायाँबायाँको मापदण्ड तय गरेको छ । तराई क्षेत्रमा प्रदेश लोकमार्गको सडकको केन्द्रबाट दुवैतर्फ १२ दशमलव ५ मिटर, प्रादेशिक सडक १० मिटर, पहाडी क्षेत्रमा प्रदेश लोकमार्ग १० मिटर, प्रादेशिक सडक ७ मिटर र हिमाली क्षेत्रमा प्रदेश लोकमार्ग ७ दशमलव ५ मिटर, प्रादेशिक सडक पाँच मिटर हुनेगरी मापदण्ड निर्धारण गरिएको छ । बैठकमा प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले दफावार छलफलमा उठेका प्रश्नको जवाफ दिँदै विधेयकले ‘राइट अफ वे’ यकिन गरेकाले सडक दायाँबायाँ हुनसक्ने अतिक्रमणलाई पूर्ण निषेध गरेको बताउनुभयो । गण्डकी प्रदेशभित्रका सडकको अभिलेखीकरण तयार गरी प्रादेशिक सडक सञ्जाल गुरुयोजना तयार गरिने उहाँले बताउनुभयो । गुरुयोजनाले प्रदेशभित्रका सबै सडकको पहिचान गरी प्रदेश लोकमार्ग र प्रादेशिक सडक कुन–कुन हुन् भन्ने तय गर्ने बताउँदै उहाँले, “प्रादेशिक सडक सञ्जाल गुरुयोजनामा समावेश भएका सडक योजना बैंकको प्राथमिकताको आधारमा कार्यान्वयन गरिँदै लगिनेछ ।” ऐनले सडक मर्मतका लागि निश्चित बजेट विनियोजन गर्नुपर्ने व्यवस्था गरेको उहाँको भनाइ छ । सडक मर्मतका लागि निश्चित बजेट विनियोजन गर्नुपर्ने व्यवस्था, सडक निर्माणबाट आसपासको जग्गाको मूल्य वृद्धिका कारणले गर्न हुने लाभमा आधारित रहेर कर कायम गर्ने व्यवस्था (भ्यालु क्यापचरिङ्) तथा ल्याण्ड पुलिङमार्फत जग्गा प्राप्त गर्न सकिनेजस्ता केही नविन प्रावधान पनि समावेश गरेको उहाँले जानकारी दिनुभयो । सडक शुल्कको व्यवस्थाले प्रदेश सरकारको आन्तरिक स्रोतमा योगदान दिने भन्दै उहाँले मर्मत सम्भार सेवा शुल्कको दर र शुल्क सङ्कलन गर्ने प्रक्रिया भने विधेयक प्रमाणीकरणपछि राजपत्रमा प्रकाशन गरिने जानकारी दिनुभयो । सडक निर्माण, विस्तार, स्तरोन्नति, सुरक्षित, मर्मतसम्भार, पुनःनिर्माण एवं दिगो वातावरणीय व्यवस्थापनबाट समग्र सडक सम्पतिको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले तयार विधेयक २०८० फागुन १५ मा प्रदेशसभा सचिवालयमा दर्ता गरिएको छ । दर्ता भएको ६ महिनापछि विधेयकलाई भदौ २६ मा छलफलका लागि अर्थ तथा विकास समितिमा पठाइएको थियो । समितिमा छलफल र संशोधनपश्चात् प्रदेश सभामा पठाइएको विधेयक आज पारित गरिएको हो ।
पोखरा: पृथ्वीनारायण क्याम्पसमा १६ वर्षपछि भएको स्ववियु निर्वाचनमा विजयी भएपछि अनेरास्ववियुले र्याली गर्दै उत्सव मनाएको छ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले आफ्नो विरासत कायम गर्दै सभापति विष्णु पोखरेल नेतृत्वको प्यानल नै विजयी बनेको हो । अनेरास्ववियुका विष्णु पोखरेल ११०५ मत ल्याउदै सभापतिमा निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्दी नेविसंघका सुशील न्यौपानेले ५०३ र स्वतन्त्र रुपमा उठेकी विप्लवीले ४६९ मत प्राप्त गरिन् । यस्तै सचिवमा अनेरास्ववियुका विराट दुवाडीले १४१३ र कोषाध्यक्षमा अनेरास्ववियुकि सन्दिका गुरुङले १३०४ मत पाउदै विजयी भएकी थिइन् । गत १० गते भएको मतदानमा कुल २ हजार ८ सय ९६ मत खसेको थियो । थप तस्बिर:-
प्रधानमन्त्री केपी ओलीले अत्याधुनिक प्रविधिको प्रयोगबाट टिकाउ संरचना निर्माणमा ध्यान दिनुपर्ने बताएका छन् । प्रगतिशील इन्जिनियर्स एसोसिएसन नेपाल (पिन)को ललितपुरको कुपण्डोलमा आयोजित १०औँ महाधिवेशनमा आफ्नो मन्तव्य राख्दै प्रधानमन्त्री ओलीले मजबुत संरचना निर्माणमा इन्जिनियरहरूको ध्यान जानुपर्नेमा जोड दिए । ‘हाम्रो देशमा पहाडी संरचना भएकाले पहिरो जाने समस्या छ, इन्जिनियरले यो परिवेशलाई बुझेर भौगर्विक अवस्थाको मूल्यांकन गरी सुरक्षित संरचना निर्माणमा ध्यान दिनुपर्छ, खतरायुक्त स्थानमा संरचना बनाउनुहुँदैन, कानुनी कुरामा भएका समस्या सुधार गर्न सुझाव दिनुहोला, सरकारले त्यसमा ध्यान दिनेछ,’ उनले भने । प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्न लागिपरेको उल्लेख गर्दै मुलुकमा प्रतिपक्षको भूमिका रचनात्मक र सकारात्मक हुनुपर्ने बताए । ०४६ पछि देशमा विकासको गति तीव्र रूपमा अगाडि बढेको र आफू प्रधानमन्त्री हुँदा भूकम्पले देश थिल्थिलिएको अवस्थामा ‘बिल्ड बेटर’को नारा दिएर पुनर्निर्माणमा जुटेको बताए। ‘पूर्वाधारको विकासविना विकास सम्भव छैन, पूर्वाधारको विकासले बजारको सिर्जना गर्छ, उद्यमशीलता प्रवर्द्धन गर्छ, बलियो पूर्वाधार निर्माण गर्न इन्जिनियरहरूको योगदानका लागि धन्यवाद छ, त्यसको प्रशंसा गर्न चाहन्छु,’ प्रधानमन्त्री ओलीले भने । ‘विमानस्थल बनिरहेका छन्, पुल र ट्रान्समिसन लाइनहरू बनिरहेका छन्, केही पनि भएन देश खत्तम भयो भन्ने हल्ला निराधार छ,’ उनले भने । नयाँ शिक्षा प्रणालीले नेपालको शिक्षालाई रोजगारविहीन बनाएको प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘बेरोजगार उत्पादन गर्ने शिक्षाका कारण युवा बाहिर जान थाले, आफैँले बनाएर चिया पनि खान नसक्ने, नेपालभित्र पाएको अवसरमा पनि काम नै गर्न नसकेको पाइयो,’ उनले भने । नेपाली विद्यार्थी विदेश गएर अध्ययन गरेको कुराप्रति चिन्ता लिनुभन्दा पनि नेपालमा उन्नत र उद्यमशीलता प्रवर्द्धन गर्ने शिक्षा दिने प्रणालीलाई खुलापनका साथ अवसरको सिर्जना गर्ने वातावरण दिनुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए । उनले उद्यम गर्नेलाई धरौटी लिएर हाेइन, योजनालाई विश्वास गरेर ऋण दिएर काम गर्ने अवसर सिर्जना गर्न सक्नुपर्ने उल्लेख गर्दै १५ वर्षसम्म ऋण तिर्ने वातावरण बनाउनुपर्छ भने । ‘व्यवसाय गरेर ऋण तिर्न सक्ने वातावरण नभएपछि व्यक्ति निराश हुन्छ, यो हुनुहुँदैन,’ उनले भने । प्रगतिशील इन्जिनियर्स एसोसिएसनका अध्यक्ष ई. डा. सुरज लामिछानेले ०४७ सालमा ‘इन्जिनियरिङ स्टडी ग्रुप’मा स्थापित भएको संगठन एमाले पार्टीको जनवर्गीय संगठनको रूपमा क्रियाशील रहेको बताए । उनले प्राविधिक रूपमा पार्टीलाई सहयोग गर्ने र प्राविधिकमैत्री नीति निर्माणका लागि सहयोग गर्ने एसोसिएसनको नीति रहेको बताए।
म्याग्दी: मालिका गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको दरवाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको सुरुङबाट निस्किएको ‘मकिङ’ सिधै म्याग्दी नदीमा फाल्दा जलचर सङ्कटमा पर्नुका साथै तटीय क्षेत्रमा बाढी र कटानको जोखिम बढेको छ । धवलागिरि कालिका हाइड्रो लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको मालिका गाउँपालिका–६ कमेरेस्थित अडित नम्बर २ मा विस्फोटक पदार्थ प्रयोग गरेर सुरुङ खन्दा निस्किएको ढुङ्गा, माटो नीतिगत व्यवस्थाविपरीत धार नै परिवर्तन हुने गरेर म्याग्दी नदी र किनारमा फालेको हो । खोलामा मकिङ फाल्न थालेपछि म्याग्दी नदीमा माछालगायत जलचर पाइन छाडेको र बर्खायाममा बाढीको आयतन बढेर दरवाङ, बाबियाचौर, तातोपानी, सिङ्गा र बेनीमा कटानको जोखिम सृजना गरेको स्थानीयले गुनासो गरेका छन् । विस्फोटक पदार्थ मिसिएको ढुङ्गा माटोमा हुने रासायनिक पदार्थ जलचरका लागि प्रतिकूल हुने भएकाले नदीभन्दा बाहिर छुट्टै जग्गामा थुपार्नुपर्ने कानुनी व्यवस्था छ । डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद अधिकारीले खोलामा फालेको र किनारमा थुपारेको मकिङ अन्यत्र व्यवस्थापन गर्न निर्देशन दिएको बताउनुभयो । “जलविद्युत् आयोजनाको मकिङ जथाभावी फाल्दा वातावरणमा असर पर्छ, फोहर हटाउन निर्देशन दिएको छु”, उहाँले भन्नुभयो । दरवाङ म्याग्दीखोलाको सुरुङबाट निस्किएको मकिङ गोज्जा, कमेरे, दरवाङ र ढाँडखर्कको पाखो, नदी किनार र सिधै खोलामा फाल्ने गरेको छ । आयोजनाका निर्देशक तेजेन्द्र रोकाले खोलामा मकिङ फाल्नु कमजोरी भएको स्वीकार गर्दै जग्गा खोजेर व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभयो ।