पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले मानव अधिकारको सवालमा आफू सचेत हुनुपर्ने र अरूको सम्मान गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगको २५ औं वार्षिकोत्सवका अवसरमा आयोगको गण्डकी प्रदेश कार्यालयले आयोजना गरेको वार्षिकोत्सव समारोहमा प्रदेश प्रमुख भट्टले आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकार हनन भए नभएको बारे ख्याल गर्न जरुरी रहेको बताउनुभयो । सबैले जिम्मेवारीपूर्वक आफ्नो हक प्रयोग गर्दा मात्र समतामूलक र न्यायपूर्ण समाज निर्माण गर्न सकिनेमा प्रदेश प्रमुख भट्टको जोड छ । ‘हामी सबै आफ्नो अधिकारप्रति सचेत र अरूका अधिकारप्रति सम्मान गर्न सक्नुपर्दछ । विधिको शासन लोकतन्त्र र मानव अधिकारको मेरुदण्ड हो ।’ उहाँले भन्नुभयो – ‘लोकतन्त्र, मानव अधिकार र कानूनी शासन एक अर्काका परिपूरक रहेका छन् । मुलुकमा सुशासन र विकासका लागि यस्ता संस्थाहरूको सम्वद्र्धन जरूरी छ ।’ मुलुकमा मानव अधिकार संस्कृतिको विकास गर्दै मानव अधिकारको सम्मान र संरक्षण गर्नमा आयोगले आफ्नो स्थापनाकालदेखि नै महत्वपूर्ण योगदान गर्दै आइरहेको उल्लेख गर्नुहुँदै भट्टले आयोगले निरन्तर पर्यवेक्षण र अनुगमन गरी प्राप्त सुझावबाट नेपाल सरकारलाई मानव अधिकार संरक्षण गर्न थप मद्धत पु¥याएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – ‘मानव अधिकारप्रतिको आफ्नो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दायित्व पूरा गर्नको लागि नेपाल सरकारलाई योजना बनाउन र त्यसको कार्यान्वयन गर्ने चरणमा समेत आयोगले पु¥याउँदै आइरहेको सहयोगप्रति पनि धन्यवाद छ ।’ मानव अधिकार मानिसले जन्मसिद्ध रूपमा प्राप्त गरी स्वतन्त्रतापूर्वक उपभोग गर्न पाउने आधारभूत अधिकार रहेको र यी अधिकारहरू मानिसको मानव मर्यादा, इज्जत र प्रतिष्ठाका लागि सिर्जित भएको हुँदा मानिसलाई मानिस भएर बाँच्नका लागि अपरिहार्य रहेको उहाँको भनाई छ । ‘मानव अधिकार मानिसको रूपमा जन्मेकै कारण मानव मात्रले पाउने नैसर्गिक अधिकार हो । मानव अधिकार अन्तराष्ट्रिय कानूनद्दारा सिर्जना हुने र राष्ट्रिय कानुनद्वारा कार्यान्वयन हुने हो ।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो – ‘मानवले मानव भएर बाँच्न पाउनुपर्दछ भन्ने विश्वव्यापी धारणा मात्र होइन, यो आजको अपरिहार्य आवश्यकता हो ।’ राजनैतिक संरक्षण तथा दण्डहिनताको संस्कृतिले मानव अधिकारको सिद्धान्तलाई उपेक्षा गर्ने हुनाले यसतर्फ सबैपक्ष सचेत बन्नुपर्ने उहाँले बताउनुभयो । ‘मानव अधिकार रक्षकलाई कार्यसम्पादनका लागि डरत्रास रहित सुरक्षित वातावरण जरूरी छ । मानव अधिकार रक्षकको संरक्षणले मानव अधिकारको सम्मान, लोकतन्त्रको संवद्र्धन, सुशासन, दिगो विकास र विधिको शासनको सम्मानजस्ता बृहत् उद्देश्यहरूलाई टेवा पुग्दछ ।’ उहाँले भन्नुभयो । मानव अधिकार सम्बन्धी जनचेतनाको अभाव रहेको हुँदा मानवअधिकार शिक्षालाई विद्यालय पाठ्यक्रममा समावेश गर्नुपर्ने आवश्यकता औंल्याउँदै उहाँले थप्नुभयो – ‘मानव अधिकारको सम्मान र संरक्षण सबैको दायित्व हो । यसको पालनाका लागि सबै पक्ष उत्तिकै जिम्मेवार रहनुुपर्ने हुन्छ ।’
काठमाडौं: नेपाल खानेपानी संस्थानको अध्यक्षमा डा ढुण्डीराज भट्टराई नियुक्त हुनुभएको छ । डा भट्टराईलाई नेपाल खानेपानी संस्थान ऐन, २०४६ (संशोधन सहित) को दफा ८ को उपदफा ८.१.१ बमोजिम रहने नेपाल खानेपानी संस्थान संचालक समितिको अध्यक्ष पदमा सोही ऐनको दफा ११.१ बमोजिम तीन वर्षका लागि नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयानुसार नियुक्त गरिएको खानेपानी मन्त्रालयका सचिव ईञ्जिनियर प्रमिलादेवी शाक्य बज्राचार्यले बताउनुभयो । अध्यक्ष नियुक्त हुनु भएका डा भट्टराई अर्घाखाँची भूमिकास्थान नगरपालिका–९ का स्थायीवासी हुनुहुन्छ ।
काठमाडौं: काठमाडौंको बसुन्धरामा दुर्घटनामा परी एक किशोरीको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३ बसुन्धरा सडकमा म प्र ०२–०३४ प ६२५७ नम्बरको स्कुटरले पैदलयात्रुलाई ठक्कर दिँदा स्कुटरमा सवार महोत्तरी घर भई काठमाडौँको चावहिल बस्ने १८ वर्षीया मनिसा परियारको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा ग्रिनसिटी अस्पतालमा आज निधन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते पैदलयात्रुको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले स्कुटर चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ ।
सोलुखुम्बु: सोलुखुम्बु सदरमुकाम सल्लेरीस्थित फाप्लु विमानस्थलबाट काठमाडौं सातामा चार दिन नियमित उडान हुने भएको छ । नेपाल एयरलाइन्सले साताको चार दिन उडान गर्न थालेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका अनुसार अब हरेक सोमबार, बुधबार, शुक्रबार र शनिबार नेपाल एयरलाइन्सको जहाजले उडान भर्नेछ । नेपाल एयरलाइन्सको जहाजमा आएको प्राविधिक खराबीका कारण लामो समयदेखि अवरुद्ध फाप्लु–काठमाडौँ हवाई सेवा पुनःसञ्चालन भएको हो । प्राधिकरण फाप्लुका वरिष्ठ अधिकृत भानुभक्त आचार्यका अनुसार जहाज मर्मत सम्पन्न भएसँगै पुनःउडान सञ्चालन सम्भव भएको हो । यसअघि साताको एक दिन उडान भर्दै आएको जहाज ‘ग्राउण्डेड’ हुँदा लामो समय फाप्लुमा उडान हुन सकेको थिएन । नेपाल एयरलाइन्स फाप्लुका स्टेशन प्रमुख तेन्जी शेर्पाका अनुसार गत पुस महिनादेखि चैत्रसम्म सो मार्गको हवाई सेवा पूर्णरूपमा ठप्प भएको थियो । सल्लेरीका व्यवसायी महेश अधिकारीले भन्नुभयो, “जहाज नियमित आउन थालेपछि काठमाडौँ जानआउन ‘बिपी राजमार्ग’ को कष्टकर सडक यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । तर यो सेवा निरन्तर र भरपर्दो हुनुपर्छ, केवल अस्थायी रूपमा मात्र होइन ।” विगतमा जहाज नचलेको अवस्थाले धेरैको यात्रा, व्यापार, आपत्कालीन उपचार र अत्यावश्यक काममा कठिनाइ भोग्नु परेको थियो । पुनः सुचारु भएको उडानबाट पर्यटकीय जिल्लामा पर्यटन व्यवसायी उत्साहित बनेको ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल ९टान० का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले बताउनुभयो ।
काठमाडौं: डाक्टर सन्दुक रुइतलाई शेर्पा किदुक अमेरिकाले ५० हजार १ डलर सहयोग गरेको छ । किदुकको सदस्यहरूबाट सङ्कलित उक्त रकम एक कार्यक्रम गरी सम्मान सहित रुइतलाई हस्तान्तरण गरेका थिए । ‘डा. सन्दुक रुइतले आँखा उपचारको क्षेत्रमा विश्वविख्यात काम गरेको भन्दै किदुकले सम्मान सहित सहयोग गरेको शेर्पा किदुक संरक्षक समितिका संयोजक ल्हाक्पा रिन्जी शेर्पाले बताउनुभयो । उता हिमालयन होप नेटवर्क संस्थाद्वारा सङ्कलित ५ हजार ७ अमेरिकी डलर पनि शेर्पा किदुकमार्फत हस्तान्तरण गरिएको थियो । उक्त रकम डा रुइतको कार्यको लागि स्वयंसेवक र कोष सङ्कलनमा आगामी दिनमा अझ सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । डा. रुइतले आफ्नो अमेरिका भ्रमण नेपालको सफल चिकित्सा अनुभव र दृष्टि पुनः स्थापनाको मोडललाई हार्वर्ड, स्ट्यानफोर्ड, ब्राउन, बास्कम पाल्मरजस्ता विश्व स्तरीय संस्थाहरूसँग साझेदारी गर्दै अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने रहेको बताउनुभयो । नेपालमै अत्याधुनिक इन्ट्रकुलर लेन्स उत्पादन गर्ने कारखाना स्थापना गरी विश्वभर निर्यात गर्ने र प्राप्त नाफाबाट आर्थिक रूपले कमजोर समुदायका लागि निःशुल्क आँखा उपचारको दीर्घकालीन योजना अघि बढाउने योजना अघि सारेको समेत उहाँले बताउनुभयो । उक्त योजनाका लागि झन्डै ८ मिलियन अमेरिकी डलर आवश्यक पर्ने जानकारी दिनुहुँदै उहाँले हालसम्म ३ मिलियन डलर सङ्कलन भइसकेको र बाकी ५ मिलियन जुटाउन नेपाली समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताउनु भएको थियो ।
काठमाडौं: पूर्वसभामुख कृष्णबहादुर महरासँग नाम जोडिएकी संसद् सचिवालयकी पूर्वकर्मचारी रोशनी शाही मृत भेटिएकी छन् । उनी भक्तपुरको सूर्यविनायक नगरपालिका बालकोटस्थित वृहस्पति मार्गको कोठामै मृत भेटिएकी जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराजले बताए । रोशनी मृत भेटिएको खबर आएपछि अहिले उनको कोठामा प्रहरी पुगेर घटनास्थल जाँच प्रकृति मुचुल्का उठाइरहेको छ । तत्कालीन सभामुख महरालाई रोशनीले काठमाडौंको तीनकुनेस्थित कोठामा बस्दा बलात्कार आरोप लगाएकी थिइन् । संसद् सचिवालयमा कार्यरत रोशनीले २०७६ असोजमा महरामाथि बलात्कार आरोप लगाएकी थिइन् । रोशनीको उक्त आरोपपछि महराको राजनीतिक यात्राले पनि ओरालो बाटो समातेको थियो । उक्त प्रकरणमा २०७६ कात्तिक १८ गते जिल्ला अदालत काठमाडौंले जबरजस्ती करणीको प्रयास गरेको आरोप लागेका महरालाई थुनामा पठाउने आदेश गरेको थियो । जिल्ला अदालत काठमाडौंमा न्यायाधीश सुदर्शन पाण्डेको इजलासले महरालाई जेल पठाएको थियो । त्यसपछि उनी २०७६ फागुन ५ गते जेलबाट छुटे । जिल्ला अदालत काठमाडौंको आदेशपछि महरा डिल्लीबजार कारागारमा १३३ दिन बसेर रिहा भएका थिए । महरा जेल गए पनि रोशनीले सामाजिक सञ्जालमा उक्त प्रकरणबारे लेखिरहन्थिन् । महरासहितका नेताहरूको पनि फोटो हाल्दै उनले गरेको बदनामीबाट महरा पछिल्लो समय पनि तनावमा हुन्थे ।
रसुवा: पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ । यही जेठ १३ गतेदेखि सुरू हुने गोसाइँकुण्डको विशेष मेलाका लागि भक्तजन आउन थालेका हुन् । मेला यही जेठ २४ गते एकादशीसम्म सञ्चालन हुने गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । यस वर्ष दशहरा पर्वमा पाँच हजार भक्तजनले गोसाइँकुण्डमा स्नान गर्ने अपेक्षा समितिले राखेको छ । जिल्लाको उच्च भागमा अवस्थित समुन्द्र सतहबाट चार हजार ३८० मिटर उचाइ अवस्थित कुण्ड जानका लागि काठमाडौँदेखि धुञ्चेसम्मको मोटर यात्रा गरेपछि पैदल यात्रा सुरू हुने र तिवारी बगर, खन्ति, देउराली, डिम्सा, चोलाङपाटी हुँदै गोसाइँकुण्ड पुग्न सकिन्छ । गङ्गा दशहरा पर्वका लागि पतञ्जली योग समितिमार्फत आएका २५० भन्दा बढी भक्तजन आज बिहानै गोसाइँकुण्डतर्फ प्रस्थान गरिसकेको नेपाल प्रहरीले जनाएको छ । धार्मिक मान्यताअनुरूप जीवनमा एकपटक भए पनि पुग्नैपर्ने पवित्र तीर्थस्थल भएका कारण भक्तजन गोसाइँकुण्ड पुग्ने गरेका छन् । विशेष पर्व गङ्गादशहरामा पर्वमा १० दिन र जनैपूर्णिमा पर्वमा पाँच दिनगरी वर्षको १५ दिन विशेष मेला लाग्ने गर्दछ । बाह्रै महिना भक्तजन आवतजावत भने निरन्तरता दिँदै आएको छ । यात्रुहरूको बासस्थानका लागि ठाउँठाउँमा होटल सञ्चालनमा छन् । अनुपम प्राकृतिक छठाले गर्दा कुण्डमा जान सहज भएको कृषि वैज्ञानिक डा ताराबहादुर घिमिरेले बताउनुभयो ।
तनहुँ: पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु भएको छ । दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग२च ५७६० नम्बरको जिप पुलको रेलिङ भत्काएर मादी नदीमा खसेको हो । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइतेहरूको दमौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिनुभयो । जिपमा पाँच जना सवार थिए । मृत्यु हुनेमा व्यास–५ का ३५ वर्षीय प्रविन थापामगर, सोही ठाउँका २२ वर्षीय कुमार थापा र २० वर्षीय कुशल थापा रहेका प्रहरीले जनाएको छ । उनीहरुको दमौली अस्पतालमा मृत्यु भएको हो । घाइतेमध्ये एक जना गम्भीर रहेकाले थप उपचारका लागि पोखरा पठाउने तयारी गरिएको छ भने चालक सामान्य रहेका छन् । दुर्घटनाका घाइतेलाई नेपाली सेनाको कालीभञ्जन गण (इ), नेपाल प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।
काठमाडौं: डोल्पाको ठूलीभेरी नगरपालिका-१ ठाला लेकमा यार्सागुम्बा सङ्कलन गर्न गएका दुई समूहबीच आज दिउँसो झडप भएको छ । पूर्वी रुकुमको मैकोट गाउँपालिका र डोल्पाको काइके गाउँपालिका तथा ठूलीभेरी नगरपालिकाका स्थानीयबीच यार्सागुम्बा सङ्कलनमा सीमा इलाकाको विषयमा विवाद भई छ(सात सय जनाको सङ्ख्यामा रहेकाबीच झडप भएको हो । स्थितिलाई नियन्त्रणमा लिनका लागि सशस्त्र प्रहरी बल नेपाल नं ४६ गुल्म डोल्पाबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा प्रहरी खटिएको छ । झडपलाई नियन्त्रणमा लिन दुई राउन्ड हवाई फायर गर्नुपरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले त्यहाँको अवस्था सामान्य छ ।