मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष डुकके विष्टको ७५ वर्षको उमेरमा निधन भएको छ ।   लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष विष्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको गाउँपा...

काठमाडौं:  कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले मनसुनजन्य विपद् जोखिम बढेपछि सरकारका सम्पूर्ण निकायहरूलाई आवश्यक सतर्कता अपनाउन निर्देशन दिएका छन् ।  सहरी विकास मन्त्रालयमा मंगलबार गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानबहादुर राई, मुख्यसचिव एकनारायण अर्याल, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टसहित बसेको बैठकमा उनले मनसुनजन्य जोखिमको जानकारी लिएका छन् ।  कार्यवाहक प्रधानमन्त्री सिंहले बैठकमा अहिले देशका विभिन्न स्थानको मौसम र सम्भावित जोखिमबारे जानकारी लिँदै पूर्वतयारीमा रहन, घटना भए क्षति हुन नदिन, खोज तथा उद्धारका लागि ‘हाइअलर्ट’ मा रहन निर्देशन दिए ।  उनले सम्भावित जोखिम रहेको क्षेत्रमा ‘एसएमएस अलर्ट’, स्थानीय सञ्चारमाध्यम र सुरक्षा निकायमार्फत् पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन पनि ध्यानाकर्षण गराए ।   बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख भट्टले लुम्बिनी प्रदेशको दाङ, बाँके, बर्दियामा पानी पार्ने प्रणाली सक्रिय रहेको जानकारी गराए । भारी वर्षा हुँदा बबई नदी र राप्ती नदीको पश्चिम भागमा खतराको तह पार गरेकाले बर्दिया क्षेत्रमा अबको ४ देखि ५ घण्टामा डुबान पर्न सक्ने सम्भावना रहेको बताए ।  मधेश प्रदेशमा देखिएको खडेरीको अवस्थबारे पनि कार्यवाहक प्रधानमन्त्री सिंहले चासो राखेका थिए । सो क्रममा प्राधिकरणका प्रमुख भट्टले मधेशमा हल्का वर्षा भइरहेको र ८० प्रतिशत रोपाईं भएको जानकारी गराए ।  बैठकमा मंगलबार (आज) राती कैलाली र कञ्चनपुरमा भारी वर्षाको सम्भावना रहेको बारे पनि जानकारी गराइएको छ । यस्तै पानी पार्ने अर्को प्रणाली मकवानपुरमा सक्रिय हुने आँकलन गरिएको छ ।  बैठकमा गृहमन्त्री लेखकले मनसुनजन्य विपद्लाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई अतिआवश्यकबाहेक कार्यक्षेत्र नछाड्न निर्देशन जारी गरिएको जानकारी गराए ।

काठमाडौं:  दाङ, बर्दिया र बाँकेमा पछिल्लो समयमा अति भारी वर्षा भएको छ । जल तथा मौसमविज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा दाङको जलकुण्डी मापन केन्द्रमा सबैभन्दा बढी दुई सय २७ मिलिमिटर वर्षा भएको छ ।  यस्तै, बाँकेको सिक्टामा पनि दुई सय मिलिमिटर वर्षा भएको छ भने  बर्दियाको मानपुरमा एक सय ६७ मिलिमिटर वर्षा भएको छ । बाँके र दाङमा अति भारी वर्षा हो भने बर्दियामा धेरै भारी वर्षा भएको छ । दाङमा पछिल्लो एक घण्टामै २५ मिलिमिटरभन्दा बढी वर्षा भएको छ ।  जल तथा मौसमविज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार आज दिउँसो र राति पश्चिम नेपालमा बढी वर्षा हुने जानकारी दिनुभयो । यद्यपि अन्य प्रदेशका एकदुई स्थानमा पनि भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ ।  वर्षा गराउने सानो प्रणाली बनेको भएर आज दिउँसो र रातिमा पश्चिम क्षेत्रमा बढी पानी पर्ने उहाँले बताउनुभयो । यद्यपि मनसुन न्यूनचापीय प्रणालीको असर भने नेपालभरि नै छ ।  जसका कारण अझै केही दिन मनसुन सक्रिय भइरहनेछ ।  पछिल्लो छ घण्टामा मात्र दाङको तुलसीपुर, अम्बापुर, जलकुन्डी, बाँकेको पश्चिम राप्ती, सिक्टा, बर्दियाको मानपुर वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ । सो क्षेत्र भई बहने बबई, पश्चिम राप्ती नदी, डुडुवा खोलालगायत अन्य साना खोलामा आकस्मिक बाढी तथा  होचा भूभागमा डुबानको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।  हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ ।  देशभर अधिकांश बदली छ । लुम्बिनी प्रदेशका अधिकांश स्थान, मधेश, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानका साथै कोशी र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आगामी २४ घण्टामा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ । आगामी केही दिन मधेश प्रदेशलगायत देशभर मनसुन सक्रिय रहिरहने देखिएको महाशाखाले जनाएको छ ।

काठमाडौं:  सङ्घीय निजामती सेवा विधेयक, २०८० मा त्रुटि भएको भनी उठाइएका विषयमा गठित अध्ययन तथा छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी गरेको छ । रातभर सिंहदरबारमा बसेर समितिले तयार गरेको प्रतिवेदन आजको बैठकमा पेस गर्ने निर्णय भएको समिति सदस्य माधव सापकोटाले जानकारी दिनुभयो । समितिले २९ दिनसम्म विभिन्न ३७ बैठक बसेर प्रतिवेदनलाई अन्तिम रुप दिएको हो । त्रुटि कसरी हुन्छन् भविष्यमा यस्ता त्रुटि हुन नदिन विशेषज्ञसँग परामर्श गरेर विशेष समितिले प्रतिवेदन तयार गरेको जनाइएको छ । समितिमा संसद्मा विधेयक निर्माणको सन्दर्भमा हुने गरेको यस प्रकारका गतिविधि आगामी दिनमा हुन नदिन कमीकमजोरीलाई सच्याउन सरोकारवाला व्यक्तिसमेत विभिन्न कोणबाट छलफल भएको छ । प्रतिनिधिसभाले गत असार २३ गते उच्चस्तरीय छानबिन विशेष समिति गठन गरेको थियो । समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, नेपाल कम्यनिष्ट पार्टी (एमाले)बाट नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की रहनुभएको छ ।

पोखरा: इम्ब्रोइडरी एण्ट गार्मेन्ट्स एशमोसिएसन(एगा) पोखराले यही साउन ९ गतेदेखि १९ गतेसम्म इन्डोनेसियाको बाली र भियतनामको हानोई शहरमा पोखराको पर्यटन प्रवद्र्धन गरेको छ ।      संस्थाले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत स्वदेश एवम् विदेशमा विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएकोमा यस वर्ष अन्तराष्ट्रिय कार्यक्रम अन्तर्गत इन्डोनेसियाको बाली र भियतनामको हानोई लगायत शहरमा प्रवद्र्धनात्मक कार्यक्रमहरू सम्पन्न गरेको एगा पोखराका अध्यक्ष गोकर्ण लम्सालले जानकारी दिनुभयो ।      भ्रमणका क्रममा बालीबाट कला र संस्कृतिबारे धेरै जान्न र बुुझ्न पाइएको उल्लेख गर्दै लम्सालले त्यहाँबाट हामी नेपालीले धेरै सिक्न सक्ने बताउनुुभयो । कला र संस्कृतिको संरक्षण गर्न सकेमा त्यसबाट पर्यटकीय रुपमा धेरै फाइदा लिन सकिने अनुभव त्यहाँबाट हासिल भएको उहाँको भनाइ छ ।      कार्यक्रमकै क्रममा प्रवद्र्धन टोलीले स्थलगत रुपमा हानोईको ग्रामिण क्षेत्रमा रहेको सिल्कका कपडाको उद्योगहरूको अवलोकन समेत गरेको थियो ।      कार्यक्रमको इन्टरनेशनल ट्राभल्स व्यवस्थापनको सहजीकरण एगा पोखराका पूर्व अध्यक्ष विश्वराज पोखरेलले गर्नुुभएको थियो । भ्रमणका क्रममा तत्तत् स्थानका पर्यटन व्यवसायी एवम् सर्वसाधारणलाई पोखरा सहित नेपाल भ्रमणका लागि आग्रह गरिएको पोखरेलले जानकारी दिनुभयो ।      प्रवद्र्धन टोलीमा अध्यक्ष लम्साल सहित पूर्व अध्यक्ष एवम् पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष चिरञ्जिवी पोखरेल, निवर्तमान अध्यक्ष इन्द्रप्रसाद भण्डारी, पूर्व अध्यक्षहरू कृष्णकुमार श्रेष्ठ, विश्वराज पोखरेल, जीवनाथ गौतम, कार्यसमितिका पदाधिकारी सहित ३५ जनाको सहभागिता रहेको थियो ।  

पोखरा: पेशागत दक्षतालाई प्रवद्र्धन गर्ने उद्देश्यले जनप्रिय बहुमुखी क्याम्पस पोखरामा प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ ।  विश्वविद्यालय अनुदान आयोगको सहयोगमा  तालिम साउन १८ गतेदेखि २३ गतेसम्म जनप्रिय क्याम्पसको अन्नपूर्ण हलमा सञ्चालन हुनेछ । तालिमको उद्घाटन गर्दै युजिसीका अध्यक्ष प्राडा देवराज अधिकारीले देशभरका सामुदायिक क्याम्पसमा गुणस्तरीय पठनपाठन सुनिश्चित गर्न ७ वटा तालिम केन्द्रहरू स्थापना गरिएको जानकारी दिए ।  विद्यार्थी भर्ना दरमा कमी र कक्षा छाड्ने दरमा वृद्धि हुनुको पछाडि प्रभावकारी अध्ययन–अध्यापनको अभाव एक कारण हो, अध्यक्ष अधिकारीले भने, त्यसैले नेहेप प्रोजेक्ट अन्तर्गत जनप्रिय क्याम्पस जस्ता अग्रणी क्याम्पसहरूलाई तालिमको जिम्मेवारी दिइएको हो । उनले गण्डकी प्रदेशका ११ ओटा क्युएए प्रत्यायन प्राप्त सामुदायिक क्याम्पसका ३० जना प्राध्यापकहरू सहभागी रहेको तालिमले व्यवहारिक शिक्षामा सुधार ल्याउने अपेक्षा गरिएको बताउँदै अध्यक्ष अधिकारीले सहभागी प्राध्यापकहरूलाई दोस्रो चरणमा तालिम दिनका लागि योग्य बनाउने उद्देश्य रहेको बताए । कार्यक्रममा लुम्बिबनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति तथा युजिसीका प्राविधिक सल्लाहकार प्राडा हृदयरत्न बज्राचार्यले तालिम केन्द्रको सञ्चालनले दक्ष प्रशिक्षक उत्पादन हुने र सामुदायिक क्याम्पसहरूमा शैक्षिक गुणस्तर अभिवृद्धि हुने विश्वास व्यक्त गरे । क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले सामुदायिक क्याम्पसहरूका लागि प्राध्यापक तालिम कार्यक्रम ऐतिहासिक उपलब्धि भएको बताउँदै सहभागीलाई तालिमको मर्म आत्मसात् गर्न आग्रह गरे ।  क्याम्पस प्रमुख कृष्णबाबु बरालले जनप्रिय क्याम्पस विश्वविद्यालय अनुदान आयोगबाट अनुदान प्राप्त गर्दै आएको र सन् २००७ देखि नै उच्च शिक्षामा सुधारको अभियानमा सक्रिय रहँदै आएको जानकारी दिए । यस वर्ष क्याम्पसले तीनवटा तालिम सञ्चालन गर्ने योजना रहेको पनि उनले बताए । तालिममा जनप्रिय, म्याग्दी, गलकोट, जनज्योति, मस्र्याङ्दी, द्रव्यशाह, आदिकवि भानुभक्त, कालिका, गुप्तेश्वर महादेव, कन्या, पोखरा बहुमुखी क्याम्पसका ३० जना प्राध्यापक सहभागी रहेका छन् ।   

पोखरा:   बेगनास तालमा मृत फेला परेको एक पुरुषको शवको सनाखत हुन सकेको छैन । बेगनास तालमा शुक्रबार मृत फेला परेका पुरुषको शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  कास्की प्रहरीले आज (सोमबार) सूचना जारी गर्दै शवको पहिचान हुन नसकेको जानकारी दिएको हो ।  अन्दाजी ५०/५५ वर्षीय देखिने एक पुरुष शुक्रबार बेगनास तालमा मृत फेला परेका थिए ।  तालमा शव फेला परेको सूचनापछि इलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट खटिएको प्रहरीको टोलीले शव निकालेर पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो ।     

पोखरा:  गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सडक मानवमुक्त प्रदेशको यात्रामा सरकार र समाज एकसाथ अघि बढिरहेको बताएका छन् ।  संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानवसेवा आश्रम पोखरामा एनएमबी बैंकद्वारा आयोजित सौर्य उर्जा हस्तान्तरण कार्यक्रममा उनले यस्तो बताएका हुन् । गण्डकी प्रदेश सरकारको सडक मानवमुक्त प्रदेश निर्माणको परिकल्पनालाई सार्थक बनाउने क्रममा मानवसेवा आश्रमसँगको सहकार्यलाई उनले एक महत्वपूर्ण नीतिगत पहलकदमीको रूपमा व्याख्या गरेका छन् ।  सामाजिक उत्तरदायित्वका माध्यमबाट सञ्चालनमा रहेको मानवसेवा आश्रमलाई आश्रय, माया र सम्मान खोजिरहेका जीवनहरूको आशालु केन्द्र भन्दै सरकार सधैं यस सेवामूलक यात्रामा साथमा रहने प्रतिबद्धता उनको छ । मन्त्री थापाले आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेश सरकारले मानवसेवा आश्रमका विभिन्न इकाइहरूको व्यवस्थापनका लागि कुल रु। १ करोड १८ लाख १० हजार बजेट विनियोजन गरेको जानकारी गराए ।  जसमा पोखरास्थित आश्रमका लागि ७० लाख, लमजुङका लागि १२ लाख ६० हजार,गोरखा जिल्लाका लागि रु. १४ लाख ५० हजार र बागलुङका लागि रु. २१ लाख विनियोजन गरिएको छ । त्यस्तै, वर्तमानमा आश्रमलाई मासिकरूपमा दिइँदै आएको रु। ३ हजार सहयोग राशी न्यून रहेको महसुस गरिएको भन्दै मन्त्री थापाले यसमा आवश्यक समायोजन गरिने संकेत समेत दिएका छन् । “मानवसेवा आश्रम स्वयंसेवी भावना, समर्पण र सेवा प्रवाहको अनुपम उदाहरण हो। ऊर्जा हस्तान्तरणजस्तो सहयोगले यसको सेवा अझ प्रभावकारी र सशक्त हुने विश्वास लिएको छु। यस सेवामा ऊर्जा थप्नु भनेको समाजको मानवताको मुटुमा उज्यालो थप्नु हो।”, उनले भने । सामाजिक न्याय, समावेशी सेवा र दिगो ऊर्जा प्रवद्र्धनलाई मूलमन्त्र मानेर अगाडि बढिरहेको गण्डकी प्रदेश सरकारले यस्ता सहकार्यलाई अझ सुदृढ बनाउने उनले उल्लेख गरे । मानवसेवा आश्रम जस्ता संस्था सरकारका लागि साझेदार मात्र नभई समाज परिवर्तनका उत्प्रेरक भएको भनाई उनको छ ।

म्याग्दी:  म्याग्दीको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदीबाट विद्युत् उत्पादन गर्न जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । कालीगण्डकी नदीमा निर्माण हुन लागेको यो पहिलो आयोजना हो ।   हाइड्रो सपोर्ट कम्पनीले ६६ दशमलब तीन मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् आयोजना निर्माण थालेको हो । सिभिल ठेकेदार रसुवा–मल्टी जेभीले अन्नपूर्ण गाउँपालिका–२ नागढङ्गामा विस्फोटक पदार्थको प्रयोग गरेर गत हप्तादेखि चार हजार तीन सय १९ मिटर लामो सुरुङ निर्माण सुरु गरेको हाइड्रो सपोर्टका सञ्चालक चन्द्र ढकालले बताउनुभयो ।  अडिटको दुरी चार सय ५९ मिटर छ । बाँधतर्फबाट यही साउन महिनाभित्र र आउटलेटबाट हिउँददेखि सुरुङ खन्ने तयारी भएको छ । अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा १२ मिटर अग्लो र ३५ मिटर लामो बाँध बनाइ ल्याउने पानी एक सय ५१ मिटर उचाइबाट अन्नपूर्ण–२ नौनीबगरमा निर्माण हुने भूमिगत विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।  रन अफ दर रिभर प्रकृतिको यस आयोजनाको विद्युत्गृह, स्विचार्ड, कन्ट्रोल रुम जमिनभित्र भूमिगत हुन्छ । रसुवा–मल्टि जेभीका प्रमुख कार्यकारी अधिकृत फणिन्द्रराज पाण्डेले सुरुङ निर्माणका लागि अत्याधुनिक बुमर रोवटिक सटकिटलगायत उपकरण ल्याएको बताउनुभयो ।  मध्य कालीगण्डकीको विद्युत् नौनीबगरदेखि सात किलोमिटरमाथि दानामा रहेको २२० केभी क्षमताको सवस्टेशनमार्फत केन्द्रिय प्रणालीमा आवद्ध हुनेछ् । आगामी तीन वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको हाइड्रो सपोर्टका सञ्चालक ढकालले बताउनुभयो ।  कूल रु १२ अर्ब ९३ करोड लागत अनुमान गरिएको यस आयोजनामा नविल बैंक लिमिटेडको नेत्तृत्वमा छ वटा वाणिज्य बैंकले ७५ प्रतिशत, २५ प्रतिशत प्रर्वद्धक र शेयर लगानीकर्तामार्फत जुटाइने भएको छ ।  नेपाल विद्युत् प्रधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता हुँदा हिउँदयामको विद्युत् खरिद दर रु आठ ४० पैसा र वर्षायामको दर रु चार रुपैयाँ ८० पैसा कायम भएको छ । आयोजनाबाट हिउँदमा एक सय ३० गिगावाटबाट रु एक अर्ब नौ करोड र बर्खामा दुई सय ७७ गिगावाटबाट रु एक अर्ब ३३ करोड आम्दानी हुने प्रक्षेपण छ । मध्य कालीगण्डकीसहित कालीगण्डकी नदी बेसिनमा तीन सय मेगावाट भन्दा बढी क्षमताका तीन वटा जलविद्युत् आयोजनाले निर्माणको अनुमति लिएका छन् ।  ६५ मेगावाटको माथिल्लो कालीगण्डकी, एक सय ८० मेगावाटको कालीगण्डकी गर्जले पनि निर्माणको तयारी गरेका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन आज मध्यरात त्यसतर्फ प्रस्थान गर्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले प्रधानमन्त्रीलाई विदाई गर्नुभयो । सो अवसरमा नेपाल सरकारका मुख्य सचिव, नेपाली सेनाका प्रधानसेनापति, सुरक्षा निकायका प्रमुखहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीलगायतको उपस्थिति थियो । प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाले सम्मान गारद अर्पण गरेको थियो । तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली सम्मेलनमा सहभागी हुन त्यसतर्फ जानुभएको हो । यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) तुर्कमेनिस्तानको ‘अवाजा’ सहरमा सम्मेलन आयोजना हुनेछ ।   सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम छ । सम्मेलनका क्रममा एक उच्चस्तरीय गोलमेच बैठकको सहअध्यक्षता गर्नुका साथै अन्य विविध कार्यक्रममा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । नेपाल हाल एलएलडिसी समूहको अध्यक्षसमेत रहेको छ । एसिया, युरोप, अफ्रिका र दक्षिण अमेरिकाका ३२ वटा भूपरिवेष्ठित विकासशील देशहरूले भाग लिने सो सम्मेलनमा समुद्रमा प्रत्यक्ष क्षेत्रीय पहुँचको अभाव, भूपरिवेष्ठित मुलुकहरूले भोग्नुपरेका समस्या र विश्व बजारबाट लिनसक्ने लाभलगायतका विषयमा छलफल हुनेछ । ती मुलुकहरुको अन्तरराष्ट्रिय व्यापार अन्य देशहरू हुँदै पारवहनमा निर्भर रहनुपरेको यथार्थलाई दृष्टिगत गरी अतिरिक्त सीमा पार गर्ने ठाउँहरू र प्रमुख बजारबाट लामो दूरी, बोझिलो पारवहन प्रक्रिया र अपर्याप्त पूर्वाधारसँगै यातायात र अन्य लेनदेनसहित कूल लागतमा उल्लेखनीय वृद्धि हुने भएकाले भूपरिवेष्ठित विकासशील देशहरूको प्रतिस्पर्धात्मक क्षमता बढाउन सम्मेलन केन्द्रित रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखसँग र संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय संस्थाका उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता गर्नुहुनेछ । समुद्रमा प्रत्यक्ष क्षेत्रीय पहुँच नभएका कारण भूपरिवेष्ठित विकासशील देशहरूले अन्तरराष्ट्रिय व्यापार, कनेक्टिभिटी र आर्थिक विकासको चुनौती सामना गरिरहेका छन् । यसैगरी, प्रत्यक्ष पहुँचका अभावमा विश्वव्यापी बजारबाट उल्लेखनीय लाभ लिन नसकेको, यातायातको विश्वव्यापी सहज सञ्जाल नभएको र खाद्य पूर्वाधार विकास गर्न कठिन रहेको अवस्थामा दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न सम्मेलन फलदायी हुने विश्वास लिइएको छ । सम्मेलनले सदस्य राष्ट्रहरूले झेल्नु परिरहेको समस्या समाधानका लागि रणनीतिक साझेदारीसहित लगानी वृद्धि गरी चुनौतीहरू सम्बोधन गर्न र यी राष्ट्रहरूको पूर्ण क्षमतालाई आँकलन गर्न सहयोग पु¥याउने ठानिएको छ । यसैगरी यी देशहरूलाई सहयोग गरेर आपसी समान र समृद्ध भविष्य निर्माण गर्न सम्मेलनको महत्त्वपूर्ण भूमिका रहने छ । यसअघि भूपरिवेष्ठित विकासशील देशहरूको दोस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलन सन् २०१४ को नेभेम्बर ३ देखि ५ सम्म अस्ट्रियाको भियनामा भएको थियो । करिब १० वर्षअघि भएको सो सम्मेलनमा ‘अल्माटी कार्ययोजना कार्यान्वयनको समीक्षासहित नयाँ र उदीयमान चुनौतीको सामना गर्न साझेदारी र अवसरका सन्दर्भमा अन्तरराष्ट्रिय, क्षेत्रीय, उपक्षेत्रीय र राष्ट्रिय तथा अन्तरराष्ट्रिय व्यापार र पारवहन यातायात सहयोग नीतिहरू पहिचान गर्नु र पारवहन यातायात प्रणालीहरू’का विषयमा छलफल भएको थियो । प्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय भ्रमण टोलीमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रतिनिधिसभाका सदस्य सूर्यबहादुर थापा क्षेत्री, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक प्रा डा दिव्यासिंह शाह, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, उच्चपदस्थ सरकारी अधिकारी, अफिसियल मिडियाकर्मी र सुरक्षाकर्मीसमेत सहभागी हुनुहुनेछ । प्रधानमन्त्री ओली यही साउन २३ गते शुक्रबार राति स्वदेश फर्कनुहुने कार्यक्रम छ ।