राष्ट्रिय प्रजातन्त्र पार्टीले राजावादीको प्रदर्शनमा भएका घटनामा पक्राउ परेका नेतालाई रिहाई नगरेको भन्दै प्रदर्शन गरेको छ।   आज दिउँसो बानेश्वर क्षेत्रमा राप्रपाका नेता तथा कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका ...

तनहुँ:  अफ्रिकन स्वाइन फिभर रोगबाट जिल्लामा बङ्गुर मर्न र बिरामी हुन थालेपछि ओसारपसारमा प्रतिबन्ध लगाइएको छ । यहाँ १८ वटा बङ्गुर मर्नाका साथै केही बिरामी भएपछि ओसार–पसारमा रोक लगाइएको हो ।       जिल्लामा एक महिनाअघि यस रोगको सङ्क्रमण देखिएको थियोे । त्यसयता जिल्लाको भीमादमा १४, शुक्लागण्डकी नगरपालिकामा दुई, व्यासमा एक र ऋषिङमा एक बङ्गुर मरेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख डा राजेश चौधरीले जानकारी दिनुभयो ।  बाह्य मानिसलाई फार्ममा जान नदिन, सतर्कता अपनाउन र बङ्गुर तथा सुँगुर ओसार–पसारमा प्रतिबन्ध लगाइएको उहाँले बताउनुभयो ।  डा चौधरीले भन्नुभयो, “केन्द्रका पशु चिकित्सक र प्राविधिक टोलीले हाल जिल्लाका बङ्गुर फार्ममा पुगेर अनुसन्धान गरिरहेका छन् । बङ्गुर मरेका फार्ममध्ये ऋषिङबाट पाँच, व्यासबाट पाँच र बङ्गुर नमरेका फार्मबाट दुईवटा गरी १२ वटा बङ्गुरको नमूना परीक्षणका लागि पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पोखरा पठाइएको छ ।”       यहाँका १० पालिकामध्ये भिमाद, शुक्लागण्डकी र व्यास गरी तीन नगरपालिकामा ‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमण देखिएको हो । सबैभन्दा बढी भिमाद नगरपालिका यस रोगबाट प्रभावित भएको छ । जिल्लामा १३ हजार ५०० किसानले ४० हजार बङ्गुर पालेका पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।       यो रोग किर्नाको टोकाइ, दूषित दानापानी, सङ्क्रमित भाँडाकुँडा तथा कपडाबाट तथा सङ्क्रमित सुईबाटसर्ने हुँदा सतर्कता अपनाउन पशु चिकित्सकले सल्लाह दिएका छन् । महामारीका रूपमा रहेको यस रोगको उपचार नहुने भएकाले उच्च जैविक सुरक्षा अपनाउन किसानलाई आग्रह गरिएको छ ।       उक्त रोगविरुद्ध हालसम्म कुनै ‘भ्याक्सिन’ नबनेकाले सङ्क्रमण नफैलिएका अन्य पालिकामा पनि किसानलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । बङ्गुरमा उच्च ज्वरो आउने, खाना मन नगर्ने, झोक्राउने, पेट तथा कानमा रगतका धब्बा देखापर्ने, एकैपटक धेरै सुँगुर बङ्गुर बिरामी पर्ने र मर्ने जस्ता लक्षण देखिने गरेको डा चौधरीले बताउनुभयो ।  

भैरहवा:  भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा प्राण त्यागेकी प्रकृति लम्सालको यहाँस्थित स्वर्गद्वारी घाटमा अन्तिम संस्कार भएको छ ।  उहाँको पार्थिव शरीर भैरहवा परिक्रमा गराई स्वर्गद्वारी घाटमा पु¥याइएको थियो । शवयात्रामा सिद्धार्थनगरका सर्वसाधारणका केआइआइटीमा अध्ययनरत नेपाली विद्यार्थी पनि सहभागी थिए ।  उहाँलाई हजुरबुवा देवनाथ लम्सालले मुखाग्नि दिनुभएको थियो । उहाँको पार्थिक शरीर बुधबार उडिसाबाट ल्याइएको हो ।  विसं २०६१  असार ४ गते भैरहवामा जन्मिनुभएकी लम्सालको  गत आइतबार निधन भएको हो । उहाँको शरीर केआइआइटी छात्रावासमा झुण्डिएको अवस्था भेटिएको थियो ।

काठमाडौं:  नेपाल प्रेस युनियनले ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ फिर्ता लिन सरकारसँग माग गरेको छ ।      युनियन केन्द्रीय समितिको आयोजनामा काठमाडौँमा यही फागुन ५ गते आयोजित प्रदेश अध्यक्ष र ६–७ गते शाखा अध्यक्षको राष्ट्रिय सम्मेलनले १२ बुँदे घोषणापत्र जारी गर्दै यस्तो माग गरेको हो ।  ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ मा व्यवस्था भएका केही विषयमा युनियनको गम्भीर असहमति रहेको युनियनले सम्मेलन समापनपछि जारी घोषणापत्रमा उल्लेख छ ।       विधेयकमा ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता’मा असर पार्ने गरी राखिएका प्रावधान सरोकार भएकाहरूसँग छलफल तथा परामर्श गरेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सुनिश्चितताका लागि फिर्ता लिन माग गरिएको हो ।      सम्मेलनले नेपाल प्रेस युनियनका साङ्गठनिक गतिविधि, श्रमजीवी पत्रकार र पत्रकारिताका मुद्दा, पत्रकारको पेसागत सुरक्षा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, प्रविधिको विकासले सञ्चारक्षेत्रमा थपेका चुनौती, सञ्चारसँग सम्बन्धित ऐन, कानुन, सञ्चारमाध्यमका समस्यालगायत विषयमा घनिभूत छलफल गरी १२ बुँदे घोषणापत्र सार्वजनिक गरिएको जनाएको छ ।       सम्मेलनमा महासचिव दिलीप पौडेलद्वारा प्रस्तुत साङ्गठनिक प्रतिवेदन र वरिष्ठ उपाध्यक्ष तथा अनुशासन विभाग संयोजक प्रेम केसीद्वारा प्रस्तुत अनुशासन समितिको प्रतिवेदन पारित गरिएको छ । सम्मेलनले दिएको सुझावका आधारमा केन्द्रीय समितिले तयार गर्ने कार्ययोजना पूर्ण रूपमा कार्यान्वयन गर्ने घोषणा पनि युनियनले गरेको छ ।        सदस्यतालाई थप व्यवस्थित गर्दै युनियनको विधानमा भएको व्यवस्थाअनुसार क्रियाशील पत्रकारलाई समावेश गरेर सदस्यता शुद्धीकरण अभियान सञ्चालन गर्ने र प्रदेश तथा शाखाहरूले वैशाख मसान्तभित्र साधारणसभा सम्पन्न गर्ने पनि घोषणा गरिएको छ ।      श्रमजीवी पत्रकार ऐन, न्यूनतम पारिश्रमिक कार्यान्वयन, नियमित पारिश्रमिक भुक्तानी, पत्रकारको पेसागत, भौतिक, आर्थिक, सामाजिक सुरक्षालगायत विषयमा सरकार तथा सञ्चार प्रतिष्ठानको ध्यानाकर्षण गराउँदै आवश्यकताअनुसार युनियनका सबै संरचनाले दबाबमूलक अभियान अघि बढाउने पनि घोषणा गरिएको छ ।      प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हक कुण्ठित हुने गरी विभिन्न तहका सरकारले निर्माण गरेका कानुन तथा निर्देशिकाबारे ध्यानाकर्षण भएको जनाउँदै संविधानप्रदत्त अधिकार सुनिश्चित हुने गरी सञ्चारसँग सम्बन्धित नीति, नियम, ऐन, कानुन, नियमावली बनाउन तीनै तहका सरकारसँग युनियनले जोडदार माग गरेको छ ।      “मुलुकको अर्थतन्त्रमा देखिएका समस्याको प्रभाव विज्ञापन बजारमा परेकाले छापा, टेलिभिजन, रेडियो सञ्चारमाध्यम बन्द हुने क्रममा छन् । अनलाइन सञ्चारमाध्यम खोल्ने क्रमले व्यापकता पाएको अवस्थामा समानुपातिक विज्ञापन वितरण प्रणालीलाई व्यवस्थित बनाउँदै अनलाइन सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापनमा समावेश गरी विज्ञापनको रकम वृद्धि गर्न प्रदेश एवं शाखा अध्यक्षको सम्मेलन आग्रह गर्दछ”, जारी घोषणापत्रमा भनिएको छ ।      व्यावसायिक पत्रकारिता, पत्रकारको पेसागत सुरक्षा, पत्रकारको क्षमता विकासलगायत विषयमा केन्द्रीय समितिले घोषणा गरेको ‘पत्रकारसँग प्रेस युनियन’ अभियानलाई प्रभावकारी बनाउन क्षमता विकास, पत्रकारिताको विधागत प्रशिक्षण, पत्रकार दुःखसुखमा साथ दिने कार्यक्रम, बिमा, सामाजिक सुरक्षा, प्रोत्साहन तथा लेखनवृत्तिलगायत कार्यक्रम सबै शाखा र प्रदेश समितिले कार्यान्वयन गर्ने प्रतिवद्धता सम्मेलनले व्यक्त गरेको छ ।      प्रेस युनियनको विधान २०४८ (छैटौँ संशोधन–२०७९) लाई समयानुकूल र व्यावहारिक बनाउन विधान संशोधन प्रक्रिया अघि बढाइने जनाइएको छ ।      चैतमा ‘लोमन्थाङ अन्तरराष्ट्रिय मिडिया समिट’ आयोजना गरिने         नेपालको पत्रकारिताका मुद्दालाई अन्तरराष्ट्रियकरण गर्दै अन्तरराष्ट्रिय अभ्यासलाई नेपालमा अनुसरण गर्ने वातावरण सिर्जना गर्न युनियनले चैत अन्तिम साता ‘लोमन्थाङ अन्तरराष्ट्रिय मिडिया समिट’ आयोजना गर्ने भएको छ । सम्मेलनले सो समिट भव्य रूपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।      नेपाल पत्रकार महासङ्घको सदस्यताबाट छुटेका र छुटाइएका पत्रकारको सदस्यता कायम राख्ने प्रक्रिया तत्काल थाल्न युनियनले महासङ्घलाई आग्रह गरेको छ ।  नेपालको नामकरणको इतिहास जोडिएको नेमुनि ऋषिको तपस्यास्थल बज्रयोगिनी, स्वस्थानी व्रतकथामा उल्लेख भएको शालीनदी, माधवनारायण तथा साँखु क्षेत्रका मणिचुड, पञ्चमहालक्ष्मी, नारायणीश्वर, कुण्डेश्वरलगायत धार्मिक, सांस्कृतिक पर्यटकीय क्षेत्र तथा आलु र धान प्रमुख बाली रहेको यस क्षेत्रमा कृषि पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न आमसञ्चारमार्फत जोड दिने र यस क्षेत्रका पूर्वाधार विकासका लागि पनि युनियनले सरकारको ध्यानाकर्षण गराएको छ ।      प्रेस युनियनको प्रदेश तथा शाखा अध्यक्षहरूको राष्ट्रिय सम्मेलन सम्पन्न गर्न प्रेस युनियन काठमाडौँ, ललितपुर, भक्तपुर, साँखु शाखासहित प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्ने सबैप्रति केन्द्रीय समितिले आभार तथा धन्यवाद ज्ञापन गरेको छ ।

बागलुङ नगरपालिका-९ स्थित ‘ब्लु हिल’ नगरपालिकाको गौरवको योजनाका रूपमा रहेको छ ।   आँखैअघि देखिने दुई दर्जन हिमशृङ्खला र बागलुङ बजारले ब्लुहिललाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले पूर्वाधार निर्माण थालिएको हो ।   करिब रु ३४ करोड लागतमा पूर्वाधार बनाउने लक्ष्य रहेको ‘ब्लु हिल’ पहिलो चरणमा रु ७० लाख र दोस्रो चरणमा रु साढे दुई करोड गरी रु तीन करोड २० लाखको पूर्वाधार निर्माण गत वर्षदेखि सुरु भएको हो ।    उक्त पहाडलाई ब्लु हिलका रूपमा परिणत गर्न गत वर्ष मात्रै रु ७० लाखको पूर्वाधार निर्माण भइसकेको र यस वर्ष रु साढे दुई करोडको पूर्वाधारसहित शिवमूर्ति निर्माण गर्न ठेक्का आह्वान गरिएको नगर कार्यालयले जनाएको छ ।   पर्यटकीय गन्तव्य बनाउन पालिकाले गत वर्षदेखि गौरवको योजनाका रूपमा डोयको पहाडलाई ब्लु हिल नामकरण गरेर पूर्वाधार निर्माण गर्न रु २४ करोड ५६ लाख २२ हजारको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाइएको थियो ।   मनोरम प्राकृतिक सौन्दर्यता भएको डोयको डाँडालाई नगरपालिकाले ‘ब्लु हिल’ नामकरण गरेको बागलुङ–९ का वडाध्यक्ष राजु थापाले बताए । “नगरकै ठूलो लगानीमा पूर्वाधार निर्माण थालिएको छ, हामीले पहाडमाथि शिवमूर्ति बनाएर धार्मिक र प्रकृति प्रेमी पर्यटक भित्र्याउने उद्देश्य राखेका छौँ । यहाँ सडक स्तरोन्नति आवश्यक छ”, उनले भने, “पर्यटकीय गन्तव्य बनेपछि अन्य पूर्वाधारले प्राथमिकता पाउने छन् ।”   गत वर्ष जग्गा सम्माउने, जग निर्माण गर्नेलगायत पूर्वाधार निर्माण गरेको बागलुङ नगरपालिकाले यस वर्ष भवनमाथि विशाल शिवमूर्ति निर्माण गर्ने योजनासहित बोलपत्र आह्वान गरेको वडाध्यक्ष थापाले जानकारी दिए। उनका अनुसार ब्लु हिल क्षेत्रमा वनभोजस्थल, ध्यान केन्द्र, दृश्य अवलोकनस्थल, शौचालय, जिम हल, मन्दिर, पार्किङलगायत अतिरिक्त पूर्वाधार निर्माण गरिनेछ ।    दृश्यावलोकनका लागि ब्लु हिलमा आन्तरिक पर्यटक पुर्‍याउन नगरपालिकाको ठूलो बजेट लगानी गरिरहेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए । नगरले गत वर्ष यस क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन रु ७० लाख बजेट विनियोजन गरी उक्त बजेटबाट चक्लाबन्दी गर्ने र जग्गा संरक्षण गर्ने काम सम्पन्न गरिसकेको छ । यस वर्ष बहुउद्देश्यीय भवन निर्माण र मूर्ति बनाउन ठेक्कामा दिने तयारी थालिएको नगरप्रमुख श्रेष्ठले उल्लेख गरे ।     “नगरपालिकाभित्रको पर्यटकीय सम्भावना बोकेको डोय वातावरणीय हिसाबले हरियाली छ । आँखै अगाडि हिमाल र बागलुङ बजार देखिन्छ, प्रकृति र धर्मलाई सँगै जोडेर पर्यटक भित्र्याउने गरी गत वर्ष शिलान्यास गरेको ठाउँमा यस वर्ष रु साढे दुई करोडको पूर्वाधार निर्माण हुनेछन्”, नगरप्रमुख श्रेष्ठले भने, “ब्लु हिल स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने गरी नामकरण गरेका छौँ, मौसम खुलेको समयमा यहाँबाट हरियाली पहाडबाट धौलागिरि, माछापुच्छ्रे, नीलगिरि अन्नपूर्णलगायत दुई दर्जन हिमाल देख्न सकिन्छ ।”   समुद्री सतहबाट करिब दुई हजार दुई सय मिटरको उचाइमा पर्यटकीय पूर्वाधार निर्माण गर्न थालिएको छ ।   डिपिआरअनुसार योजनाले पूर्णता पाउन आठ वर्ष लाग्नेछ । ब्लु हिलबाट धौलागिरि, माछापुच्छ्रे, नीलगिरि अन्नपूर्णसहितका दर्जन हिमाल देख्न सकिन्छ ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार लोकतन्त्रलाई पारदर्शी र अझ जवाफदेही बनाउँदै समाजमा व्याप्त असमानता, गरिबी र भ्रष्टाचारको चुनौतीलाई चिरेर अघि बढ्ने बताएका छन् ।   राष्ट्रिय प्रजातन्त्र दिवस–२०८१ का अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले युवाहरुलाई सशक्त बनाएर नै मुलुकलाई समृद्धितर्फ लैजाने सरकारको नीति रहेको स्पष्ट पारे ।    ‘लोकतन्त्रको उज्यालोकै कारण आज डिजिटल माध्यमबाट नागरिकलाई शीघ्र सार्वजनिक सेवाको थालनी गर्न सकेका हौँ, जसले सरकारी सेवालाई झन्झटरहित र पारदर्शी बनाउन सुरु गरेको छ’, प्रधानमन्त्रीले भने, ‘सन् २०३० भित्र दिगो विकासका लक्ष्य हासिल गर्ने अभियानमा हामी हाम्रा हरेक क्षण, सम्भावना र सामथ्र्यको सदुपयोग गरिरहेका छौँ । यसबाटै हामी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न सफल हुनेछौँ ।’   प्रधानमन्त्री ओलीले सन् २०२६ सम्ममा नेपाललाई अतिकम विकसित मुलुकको हैसियतबाट स्तरोन्नति गर्ने र त्यसको दिगो व्यवस्थापनका लागि आर्थिक सूचकहरुको बढोत्तरी गर्ने आधार पनि लोकतन्त्र नै भएको बताए।   लोकतन्त्रको खुला मैदानमा नै जनताको जीवनमा प्रगति भएको जनाउँदै उनले बढ्दो जनआकांक्षा र चुनौतीबीच, राज्यको संस्थागत र सामथ्र्यबीच लय मिलाएर संगतिपूर्ण ढंगले अगाडि बढिरहेको बताए।    प्रधानमन्त्रीले भने, ‘हाम्रो युवा पुस्ता देशको भविष्य हो। उनीहरुलाई शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमको अवसर उपलब्ध गराउन र स्टार्टअपमार्फत उद्यमशीलताको थालनी गरिएको छ ।’   उनले मुलुकको सुशासन, विकास, समृद्धि र जनताको सुखको सुनिश्चितताको लागि प्रभावकारी शासन प्रणाली र सुव्यवस्थाको राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानमा एकजुट भई योगदान गर्न सम्पूर्णमा आह्वान गरेका छन्।    ‘राष्ट्रको समृद्धि र जनताको सुख’लाई आफूले ‘परिपूर्ण लोकतन्त्र’ भन्दै आएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले प्रजातन्त्रले ‘संगठन र अभिव्यक्तिको स्वतन्त्रता’को मात्र वकालत गरेको अवस्थामा परिपूर्ण लोकतन्त्रले सबैलाई ‘अधिकार र अवसर, समानता र सामाजिक न्याय, सुरक्षा र सम्मान’मा समान पहुँचको पैरवी गरेको बताए ।   उनले सरकार समग्र विकासमार्फत व्यक्तिको मानवीय र जैविक न्यायोचित आवश्यकताको सहज परिपूर्ति गर्ने दिशातर्फ इमान्दारीपूर्वक हिँडिरहेको बताए।   फागुन ७ ले मुलुकलाई सबै हिसाबले स्वतन्त्र र सार्वभौम बनाउने दृढ संघर्ष अघि बढाएको जनाउँदै प्रधानमन्त्री ओलीले भविष्यका रुपमा उदाउँदै गरेका भोलिको पुस्ताले आजको दिनलाई बिर्सनै नमिल्ने बताए।   ‘प्रजातन्त्रको उज्यालोमा हुर्किएको, अत्याधुनिक सूचना प्रविधिमार्फत अनलाइन सेवा लिने बानी परिसकेको आजको पुस्ताका लागि हिजोको शासनको त्यो क्रूरता– अनुभव होइन, कथा मात्र हो’, उनले भने, ‘पुस्तान्तरको समयचापले कहिलेकाहीँ न्यानो दिनमा रहेका बेला समाजले त्यस कालरात्रीको क्रूरतम् स्मृतिलाई गुमाउन पुग्छ र भन्छ– ‘प्रजातन्त्रले के गरेको छ ?, त्यसले त अझै राणाकालका दरवारहरुबाट निर्वाह गरिरहेको छ’ ।”

काठमाडौँ:  राष्ट्रिय समाचार समिति (रासस)ले वार्षिकोत्सवका अवसरमा ‘राससको फोटो किताब: गणतन्त्रको १६ वर्ष’ पुस्तक प्रकाशन गरेको छ ।   राससको ६४ औँ वार्षिकोत्सव मूल समारोहका अवसरमा आज सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त पुस्तक सार्वजनिक गर्नुभयो ।   राज्य र सरकारको कामलाई प्रचारप्रसार गर्ने उद्देश्यले राससले गणतन्त्र दिवस २०८० को सन्दर्भमा ‘हाम्रो संस्कृति: हाम्रो सम्पदा’ र गणतन्त्र दिवस–२०८१ को सन्दर्भमा ‘गणतन्त्रको उपलब्धि:  समृद्धिका लागि पूर्वाधार’ शीर्षकमा तस्बिर प्रदर्शनी गरेको थियो ।   उक्त प्रदर्शनीमा राखिएका तस्बिरलाई सङ्ग्रह गरेर ‘रासस फोटो किताब: गणतन्त्रका १६ वर्ष’ पुस्तक प्रकाशन गरेको राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले बताउनुभयो ।   यो फोटो किताबले नेपालमा विकास तथा कुनै काम भएन भनेर स्थापित गर्न खोजिएको गलत भाष्यलाई चिर्न सहयोग पुग्ने विश्वास लिएको कार्यकारी अध्यक्ष झाले बताउनुभयो ।   सरकारले मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछिका १६ वर्षमा राजनीतिक स्थायित्वसँगै, सीमित स्रोत, साधन र प्रविधिका बीच नागरिकका आशा तथा अपेक्षालाई अधिकतम सम्बोधन गर्न प्रयत्न गरिरहेका छन् ।   यसबीचमा गठन भएका सङ्घ, प्रदेश र स्थानीय सरकारले सडक, पुल, जलविद्युत्, सञ्चारजस्ता पूर्वाधारको विकासलाई तीव्रता दिएका छन् । संविधानले परिलक्षित गरेको समतामूलक समाज निर्माणका लागि देखिने गरी काम भइरहेका छन् ।   यो वस्तुतथ्यलाई नजरअन्दाज गरेर देशमा केही भएन भन्नेजस्तो गरी नकारात्मक भाष्य सिर्जना गरी राजनीतिक तहमा प्राप्त सबै उपलब्धिलाई नकार्ने र जनतालाई दिग्भ्रमित तुल्याउने कार्यलाई थोरै भए पनि चिर्न यो फोटो किताबले सहयोग गर्ने कार्यकारी अध्यक्ष झाले बताउनुभयो ।   मुलुकमा भएको विकास र प्रगतिका विषयमा नागरिकलाई सही र सत्य कुराको जानकारी गराउनु पनि राष्ट्रिय समाचार समिति (रासस) जस्तो राज्यको समाचार एजेन्सीको मुख्य दायित्व भएको उहाँको भनाइ छ ।   पुस्तकमा राससकर्मीहरूले कैद गरेर राससको बुलेटिनमा प्रकाशित भएका तस्बिर र अतिआवश्यक तर रासससँग नभएका केही तस्बिरलाई सौजन्यका रूपमा सङ्ग्रह गरिएको राससका महाप्रबन्धक एवं पुस्तक प्रकाशन उपसमितिका संयोजक सिद्धराज राईले बताउनुभयो ।   “सकेसम्म महत्त्वपूर्ण तस्विरलाई समेट्ने प्रयास गरेका छौँ, यो पुस्तक एक प्रस्थानविन्दु मात्र हो”, उहाँले भन्नुभयो ।   पुस्तक सामूहिक प्रयासबाट गरिएको रचनात्मक कामको एक ठोस उपलब्धि भएको उहाँले बताउनुभयो ।

पोखरा:   गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले ७५ औं प्रजातन्त्र दिवसको अवसरमा गण्डकी प्रदेशबासीका साथै सम्पूर्ण नेपालमा शुभकामना व्यक्त गरेका छन् ।   नागरिक अधिकार सुनिश्चित गर्दै लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्नका लागि भएका संघर्षहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उनले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौं आन्दोलनहरूलाई पथप्रदर्शन गरेका अग्रजहरूप्रति हार्दिक सम्मान एवम् श्रद्धा प्रकट गरेका छन् ।   एक शुभकामना सन्देश जारी गर्दै उनले मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई जनताको संघर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको हुनाले यस दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनको रूपमा अंकित रहेको उल्लेख गरेका छन् ।   शुभकामना सन्देशमा उल्लेख छ – ‘सात दशक लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र जनता आफैले बनाएको वर्तमान संविधान निर्माणको एउटा महत्वपूर्ण जग वि.सं २००७ सालको क्रान्ति थियो भन्ने हामीले सधैं स्मरण गर्नुपर्नेछ । जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतामा आधारित रही लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सकेको खण्डमा प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुन सक्दछ ।’   यस दिनले सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई लोकतान्त्रिक मूल्य, मान्यताहरू अवलम्वन गर्दै जनअपेक्षा पूरा गर्ने दिशामा अघि बढ्न प्रेरित गर्नेछ भन्ने विश्वास व्यक्त गर्दै उनले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् भन्ने कामना पनि गरेका छन् ।  

काठमाडौं:   अनलाइन जुवा खेल्ने/खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा भारत बिहार राज्य पटना मलवा थाना मलाम ठेगाना भएका ३० वर्षीय अजय कुमारसमेत २४ जना भारतीय नागरिकहरूलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।   बेटिङ एप्लिकेसन मार्फत विश्वभर सञ्चालन हुने विभिन्न अनलाइन गेमहरू अन्तर्गत बेटिङ साइटको प्रयोग गरी अनलाइन जुवा खेल्ने/खेलाउने कार्य भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बुढानिलकण्ठ नगरपालिका-५ स्थित घर भाडामा लिई उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट ल्यापटप २१ थान, मोबाइल ३८ थान र राउटर ३ थान समेत प्रहरीले बरामद गरेको हाे ।   प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले १ अर्ब ६४ करोड ३९ लाख ५७ हजार ३ सय ४० रूपैयाँ बराबरको अनलाइन जुवा कारोबार गरेको खुल्न आएको छ ।   उनीहरूलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-५ को दफा १२५ (जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिमका कसुरमा समेत आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।