काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम बिना प्रगति सम्भव नभएको तथा श्रमिकको सम्मान बिना समृद्धि नहुने बताउनुभएको छ । साउन १ गतेदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएकामा खुशी व्...

सर्लाही:  सर्लाहीको मलङ्गवा–नवलपुर सडकखण्डअन्तर्गत मलङ्गवा–४, मा एम्बुलेन्सल ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छभने दुई जना घाइते भएका छन् । बिहीबार राति गम्हरियाबाट मलङ्गवातर्फ जाँदै गरेको एम्बुलेन्सले पैदल हिँडिरहेका व्यक्तिलाई ठक्कर दिँदा सोही नगरपालिका–३ का ५५ वर्षीय जयप्रकाश जयसवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सरोज राईले जानकारी दिनुुभयो ।  घाइते वडा नं ४ का ५२ वर्षीय जितु राय र भारत सितामढीका २० वर्षीय राकेश गुप्तालाई थप उपचारका लागि जनकपुर पठाइएको उहाँले बताउनुभयो ।  एम्बुलेन्ससहित चालक फरार रहे पनि एम्बुलेन्सको नं खुलिसकेकाले सोहीअनुसार खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तनहुँ:   मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पूर्वी खण्डमा हालसम्म ७३ दशमलव ११ किलोमिटर कालोपत्र सकिएको छ ।  तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा हालसम्म चार लेन र दुई लेन गरी ७३ दशमलव ११ किलोमिटर दूरीमा कालोपत्र भएको हो ।       पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार यो खण्डमा चार लेनतर्फ ३४ दशमलव ९८ र दुई लेनतर्फ ३ दशमलव १५ किलोमिटर दूरीमा कालोपत्र सकिएको छ । पाण्डेले भन्नुभयो, “हालसम्म कालोपत्र भएको खण्डलाई दुई लेनमा हिसाब गर्दा ७३ दशमलव ११ किलोमिटर दूरी कालोपत्र भएको छ ।”      गत फागुन १६ गतेसम्म यस खण्डको भौतिक प्रगति ७८ दशमलव ९५ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ५९ दशमलव २५ प्रतिशत छ । पाण्डेका अनुसार यस खण्डमा चार लेनतर्फ २० दशमलव १६ किलोमिटर दूरीमा अन्तिम कालोपत्रसमेत भइसकेको छ भने दुई लेनतर्फ १२ दशमलव ३२ किलोमिटर खण्डमा अन्तिम कालोपत्र सकिएको छ ।       पूर्वी खण्डअन्तर्गत यतिबेला सदरमुकाम दमौली बजारमा समेत कालोपत्र सुरु भएको छ । दमौलीस्थित व्यास नगरपालिका–२ बागबजारमा एकतर्फी कालोपत्र सकेर अर्कोतर्फ कालोपत्रका लागि सडक सम्याउने काम भइरहेको छ ।  पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।       विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ । मादी पुलमा ६५ प्रतिशत प्रगति      व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि निर्माणाधीन पुलमा ६५ दशमलव ०७ प्रतिशत भौतिक प्रगति भएको छ ।  मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत मादी नदीमाथि निर्माणाधीन पुलमा हालसम्म ६५ दशमलव ०७ प्रतिशतभन्दा प्रगति भएको हो । त्यस्तै ५२ दशमलव ४३ प्रतिशत आर्थिक प्रगति भएको आयोजनाले जनाएको छ ।       पुल निर्माणले गति लिएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले बताउनुभयो । उक्त पुलमा छ वटा स्पान हुनेछन् । तीन सय १५ मिटर लामो उक्त पुल तीन वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनीले रु एक अर्ब २१ करोडमा ठेक्का सम्झौता गरेको थियो । उक्त पुलको ठेक्का जेडआइष्ट अन्नक जेभीले पाएको छ ।       पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको उक्त पुल चार लेनको हुनेछ । हाल नदीमाथि रहेको दुई लेनको पुल तीन सय ७० मिटर लम्बाइको छ । सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको छ ।

दैलेख: भैरवी गाउँपालिका–५ सियाला सामुदायिक वनमा रुखले च्यापिएर आज दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४९ वर्षीय तर्कबहादुर शाही र २७ वर्षीय इन्द्रबहादुर शाही रहेका छन् ।   सल्लाको रुख काट्ने क्रममा सोही रुखले च्यापिएर दुवै जनाको मृत्यु भएको स्थानीय अगुवा देवीराम आचार्यले जानकारी दिनुभयो ।  जिल्ला प्रहरी कार्यालयका प्रमुख सुनिल दाहालले दुवै जनालाई उपचारका लागि लैजाँदै गर्दा बाटोमा ज्यान गएको बताउनुभयो । 

काठमाडौं:   प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धिगरी गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न राष्ट्रिय योजना आयोगका पदाधिकारीलाई निर्देशन दिनुभएको छ । आयोगको कार्यसम्पादन र भावी कार्यदिशाका विषयमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उपाध्यक्षसहित पदाधिकारीसँगको छलफलमा आयोगका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले पूर्वाधार विकासका काम लगभग पूरा हुने चरणमा रहेकाले अब सीप विकास, उद्यमशीलता, रोजगारीका अवसर सृजना, कृषि क्षेत्रका ठूला उत्पादन र लगानी वृद्धि गर्न आग्रह गर्नुभएको हो ।  “हामीले जनतालाई सबल बनाउने बाटो लिनुपर्छ । सहयोग गरेर मात्रै हुँदैन । उत्पादन र आत्मनिर्भरता बढाउने बाटोमा जानुपर्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “जनतालाई कर्मशील बनाउन प्रेरित गर्नुपर्छ । गरिबी घटाउने कामलाई पहिचान गरी मौलिक हकको उपयोग गर्न पाउने आधार तय गर्नुपर्छ । मन्त्रालयहरुलाई उत्पादन र उत्पादकत्व बढाउने ठोस योजना ल्याउन हामीले भन्नुपर्छ । उत्पादकत्व बढेपछि अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्न थाल्छ ।” उहाँले राष्ट्रिय गौरवका आयोजनाको प्रभावकारी अनुगमन–मूल्याङ्कन, उद्यमशीलताको विकास र जनताको सेवा प्रवाह एवं सुशासनमा सकारात्मक प्रभाव पर्ने कार्यमा लाग्न पनि आग्रह गर्नुभयो । सो अवसरमा आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले १६औँ योजनाको कार्यान्वयन, त्यसका चुनौती, राष्ट्रिय आयोजना बैंकको नयाँ मापदण्ड र परिमार्जन, अधुरा योजनमाथिको व्यवस्थित विश्लेषण, परियोजना विश्लेषणको नयाँ मापदण्ड, समपूरक र विशेष अनुदानको कार्यविधिमा संशोधनलगायत विषयमा अवगत गराउनुभएको थियो ।  उहाँले परिमार्जित मापदण्डबारे प्रदेश र स्थानीय तहसँग पनि अन्तरक्रिया गरिएको जनाउँदै वित्तीय सङ्घीयताको प्रभावकारी कार्यान्वयन गर्न स्थानीय तहलाई स्रोतसाधन सम्पन्न बनाउनुपर्नेमा जोड दिनुभयो । छलफलमा प्रधानमन्त्रीका आर्थिक तथा विकास मामिला सल्लाहकार डा युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी हुनुहुन्थ्यो ।

मोरङ: लेटाङ नगरपालिका–९ जाँतेस्थित जङ्गली हात्तीको आक्रमणबाट गत फागुन २५ गते एक जनाको मृत्यु भयो ।  ४३ वर्षीय मनबहादुर इवाहाङ लिम्बूको घर नजिकै कोपिला सामुदायिक वनमा हात्तीले आक्रमण गर्दा घटनास्थलमै उहाँको निधन भएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।        बेलबारी–११ स्थित लक्ष्मी समुदायिक वन क्षेत्रमा दाउरा लिन जानुभएकी स्थानीय लक्ष्मी बोगटी गत फागुन २४ गते जङ्गली हात्तीको आक्रमणबाट घाइते हुनुभयो ।  भागेर ज्यान जोगाउन सफल हुनुभएकी बोगटीको हात भाँचिएको छ भने शरीरमा चोटपटक लागेको लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतमले बताउनुभयो ।       डिभिजन वन कार्यालय मोरङको तथ्याङ्कअनुसार २०६८ सालयता हात्तीको आक्रमणबाट १६ जनाको मृत्युु भइसकेको छ । यसअवधिमा नौ वटा हात्तीको मृत्यु भएको कार्यालयका वन अधिकृत घनश्याम यादवले जानकारी दिनुभयो ।  जसमध्ये चार वटा हात्ती प्राकृतिक कारणले, तस्करी चोरी सिकारीबाट दुई वटा, गोली हानेर एउटा वटा, बेवारिसे एउटा र करेन्ट लागेर एउटा हात्तीको मृत्यु भएको कार्यालयले जनाएको छ ।       गत वर्षदेखि मोरङको पूर्वपश्चिम राजमार्ग क्षेत्रमा जङ्गली हात्तीको बिज्याइँ बढेको लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतम बताउनुहुन्छ ।  “हरेक राति जङ्गली हात्ती बस्तीमा छिरेर त्रसित बनाइरहेको, बालीनाली खाइदिएर कृषकलाई हैरान पारेको छ”, बेलबारी–४ काकुमका हरिप्रसाद मिश्र बताउनुहुन्छ ।       दिउँसो जङ्गलमा रहने हात्तीका हुल साँझ परेसँगै आहाराको खोजीमा बस्ती पस्ने गरेको मिश्रले बताउनुभयो । हात्तीले घर भत्काइदिने, बाली खाइदिने र आक्रमण गर्ने डरले सर्वसाधारण रातभर जागा बस्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।       जङ्गली हात्ती मानवबस्तीमा पस्न थालेपछि प्रदेश वन विकास तथा व्यवस्थापन कार्यक्रमअनुसार ‘एक समुदायिक वन एक संरक्षण पोखरी’अन्तर्गत वन क्षेत्रमा पोखरी खन्न थालिएको डिभिजन वन कार्यालयले जनाएको छ ।  मानव र वन्यजन्तुबीचको द्वन्द्व कम गर्नका लागि वन क्षेत्रमा  करिव १५७ दशमलव ८ हेक्टर क्षेत्रमा खानयोग्य फलजन्य प्रजातिका बिरुवा रोपिएको डिभिजन वन कार्यालयले जनाएको छ । फलजन्य प्रजातिमा बेल, अमला, कटहर, बडहर, किम्बु, हर्रोबर्रो, सरिफा, अम्बालगायत बिरुवा रोपिएको कार्यालयले जनाएको छ ।

पर्सा: वसन्त ऋतुको आवागमनसँगै जनज्योति सामुदायिक वन उपभोक्ता समूह, निजगढ बाराका अध्यक्ष खड्गबहादुर मोक्तानको अन्य सामान्य बेलाको भन्दा धेरै जिम्मेवारी थपिएको महसुस गर्नुहुन्छ ।  चौध वर्षदेखि डढेलोबाट जोगाउँदै आएको मुलुकभरकै उत्कृष्ट सामुदायिक वनलाई यस वर्ष पनि कसरी जोगाउने भन्ने चिन्ताकै कारणले उहाँ थप जिम्मेवारी बढेको अनुभव गर्नुहुन्छ ।           “वसन्त ऋतु आयो कि त हामीलाई हाम्रो सामुदायिक वन कसरी जोगाउने भन्ने चिन्ताले सताउने गर्छ,” उहाँले भन्नुभयो, “अहिलेसम्म त उपभोक्ता समूहका सदस्य र वन हेरालुको संयुक्त प्रयासकै कारण सामुदायिक वनलाई डढेलोबाट जोगाउँदै आइरहेका छौँ ।”  अध्यक्ष मोक्तानले जनज्योति सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध ४५९ जना सदस्यमध्ये हिउँद्यामको तीन महिना दैनिक १५ जनालाई आलोपालो गरेर गरेर वन जोगाउनका लागि खटाउँदै आइरहनुभएको छ ।       त्यति मात्रै होइन, सब–डिभिजन वन कार्यालय निजगढ र उपभोक्ता समूहले राखेका अन्य आठ कर्मचारी पनि वन जोगाउन अहोरात्र खटिँदै आइरहेका छन् । “सामुदायिक वनमा आबद्ध प्रत्येक घरधुरीबाट आलोपालो रुपमा मान्छे आएर सामुदायिक वनमा अग्निरेखा ‘फायरलाइन’ बनाउनेदेखि वनको चोरी–तस्करी नियन्त्रणमा सहयोग गर्दै आइरहनुभएको छ,” अध्यक्ष मोक्तानले भन्नुभयो, “मेरो एक्लो प्रयासले मात्रै त ३८७ हेक्टर क्षेत्रफलको वन जोगाउन कहाँ सकिन्थ्यो होला र ! सबैको सहयोग र सद्भावको कारणले मात्रै यो सम्भव भएको हो ।”      वन तथा भूसंरक्षण विभागले २०८१ साउन २५ गते सामुदायिक वन दिवसका अवसरमा मुलुकभर रहेका सामुदायिक वन संरक्षणमा उत्कृष्ट काम गर्ने उपभोक्ता समूहमध्येबाट गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारबाट पनि यस वन उपभोक्ता समूहले रु एक लाख नगद पुरस्कारसमेत प्राप्त गरेको थियो ।      उपभोक्ता समितिमा आबद्ध सदस्यले अपनत्व लिएकै कारणले अहिलेसम्म सामुदायिक वनलाई डढेलोबाट जोगाउँदै आइरहेको अध्यक्ष मोक्तान बताउनुहुन्छ । “अहिलेसम्म उपभोक्ता सदस्यहरुले निकै माया गरेर डढेलोबाट जोगाउँदै आइरहनुभएको छ,” उहाँले भन्नुभयो, “वनको गौंडागौंडामा समूहमा आबद्ध भएका स्थानीयको सुरक्षा दस्ता खटाएर अहिलेसम्म वन जोगाउँदै आइरहेका छौँ ।”       निजगढ सब–डिभिजन कार्यालयका प्रमुख निरज पोखरेल समुदायले वन संरक्षणमा सक्रियता देखाएकै कारणले वनजङ्गल संरक्षणमा सहजता आएको बताउनुहुन्छ । ‘‘समुदायले चाहने हो भने नसिकिने केही नहुँदो रहेछ,’’ उहाँले भन्नुभयो, ‘‘यहाँको संरक्षणका उपाय अन्य सामुदायिक तथा साझेदारी वनले अपनाउँदा राम्रो हुने गर्छ ।’’ जनज्योति सामुदायिक वन तीन सय ८७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यहाँका समुदायले सकेसम्म वनजङ्गलमा आगजनी हुनै नदिने, यदि भइहालेमा पनि तत्कालै आगो निभाएर वन संरक्षणमा ध्यान दिने योजनासहित काम गर्दै आइरहेको छ ।      डढेलोबाट जोगाउन थालियो पूर्वतयारी       मधेस प्रदेशमा आगजनी तथा डढेलोबाट वनजङ्गल जोगाउनका लागि पूर्वतयारी थालिएको छ । हिउँद्याममा सम्भावित आगजनी तथा डढेलोबाट वनजङ्गल जोगाउनका लागि पूर्वतयारीको कामलाई तीव्रता दिँदै आइरहेको छ ।       मधेस प्रदेश वन निर्देशनालयका प्रदेश वन निर्देशक जगन्नाथप्रसाद जयसवालले हिउँद्याममा सम्भावित वन डढेलो तथा आगजनीबाट जोगाउन पूर्वतयारीका काम अघि बढाइएको जानकारी दिनभयो ।  “हिउँद्याममा मधेस प्रदेशका वनजङ्गलमा डढेलो तथा आगजनीका दुःखद घटना हँुदै आइरहेका छन् । आगजनीको कारणले नयाँ पालुवाहरु सबै डढेर नष्ट हुने गरेका छन्,” उहाँले भन्नुभयो, “विगतका डढेलोका घटनाको पाठ सिक्दै यो वर्ष हामीले मधेस प्रदेशमा डढेलोबाट वनजङ्गल जोगाउनका लागि पूर्वतयारीका कामलाई द्रूत गतिमा अघि बढाउँदै आइरहेका छौँ ।”      प्रदेश वन निर्देशक जयसवालले यस वर्ष डढेलो नियन्त्रणका लागि सङ्घीय र प्रदेश सरकार दुवैको समन्वयमा पूर्वतयारीको काम भइरहेको जानकारी दिनुभयो ।  “सङ्घीय सरकारले ‘रेड’ कार्यान्वयन र समृद्धिका लागि वन कार्यक्रमले पनि सम्भावित डढेलो नियन्त्रणका लागि आवश्यक पर्ने स्रोतसाधनको व्यवस्था मिलाउनुभएको छ,” उहाँले भन्नुभयो, “प्रदेश सरकारले पनि वार्षिक स्वीकृत बजेट तथा कार्यक्रममा राखेर डढेलो नियन्त्रण तथा न्यूनीकरणका कार्यक्रमलाई प्राथमिकतामा राख्दै आइरहेको छ ।”       मधेस प्रदेशको करिब दुई लाख दुई हजार २०२ हेक्टर क्षेत्र वनले ओगटेको छ । जुन प्रदेशको कुल क्षेत्रफलको २२ दशमलव आठ प्रतिशत वन क्षेत्रले ओगट्ने गर्छ । कुल वन क्षेत्रमध्ये ७१ हजार ३६९ हेक्टर क्षेत्रमा ५०४ वटा सामुदायिक वन रहेका छन् ।  त्यस्तै, ४० हजार ९१२ हेक्टर वन क्षेत्रमा १६ वटा साझेदारी वन क्षेत्र पर्दछ । निर्देशक जयसवालले वन क्षेत्रको मुख्य विनाशको कारकका रुपमा आगजनी, अतिक्रमण र चरिचरन रहेको बताउनुभयो । “जब जङ्गलमा आगजनी हुने गर्छ । तब जङ्गलमा भर्खरै उम्रेका नयाँ पालुवाहरु सबै डढेर नष्ट हुने गर्छ,” उहाँले भन्नुभयो ।       त्रिभुवन विश्वविद्यालय वनविज्ञान अध्ययन संस्थानका प्राध्यापक डा राजेशकुमार राईले वनजङ्गलमा भएका सुकेका काठदाउरा, पत्करको उचित व्यवस्थापन नहुँदा वनजङ्गलमा आगजनी हुने बताउनुहुन्छ ।  “वनजङ्गलमा भएका सुकेका काठदाउराको समयमै व्यवस्थापन गर्नुपर्ने हुन्छ,” उहाँले भन्नुभयो, “तिनै सुकेका रूख, काठ, पत्कर, झाडीले झनै आगोलाई प्रज्वलनशील बनाउन मद्दत पु¥याउने काम गर्छ । त्यसैले वनजङ्गलमा हुने पत्कर तथा सुकेका काठलाई तत्कालै हटाउनुपर्ने हुन्छ ।”       सङ्घीय सरकारले पनि हिउँद्याममा वनजङ्गललाई डढेलोबाट जोगाउनका लागि रेड कार्यान्वयन केन्द्र काठमाडौँबाट प्रत्येक जिल्लामा पाँचजना वन कर्मचारीलाई करिब रु १८ हजार दिएर आगो निभाउने दस्ताका रुपमा परिचालन गरेको बताइएको छ ।  ‘समृद्धिका लागि वन’ कार्यक्रमले पनि आगजनी नियन्त्रण र न्यूनीकरणका लागि विभिन्न स्थानमा आगो निभाउनका लागि ट्र्याक्टर, टिलर समेतको ट्याङ्करको पनि व्यवस्था गरेको छ । केन्द्रबाट पनि कुनै पनि ठाउँको वनजङ्गलमा आगजनी भएको खण्डमा तत्कालै सूचना सम्प्रेषण गर्ने प्रणालीको पनि विकास गरेको छ । सो जानकारीका आधारमा तत्कालै वन डढेलो रोकथाम गर्न सकिने अवस्था सिर्जना भएको उहाँको भनाइ छ ।      निर्देशक जयसवालले वनजङ्गलमा हुने डढेलो तथा आगजनी नियन्त्रणमा खटिने सुरक्षाकर्मी, वनरक्षक, वनहेरालुलगायत सबै कर्मचारीको बिमाको समेत प्रबन्ध मिलाइएको जानकारी दिनुभयो ।  “मधेस प्रदेश सरकारले पनि वार्षिक स्वीकृत कार्यक्रम पनि डढेलो नियन्त्रण सम्बन्धित कार्यक्रम समावेश गरेको छ,” उहाँले भन्नुभयो, “प्रदेश सरकार आफैँले पनि अग्नि नियन्त्रकका लागि आवश्यक पर्ने बन्दोबस्तीका सामान तथा उपकरण उपलब्ध गराउँदै आइरहेको छ ।” गत वर्ष सबैभन्दा धेरै आगजनी महोत्तरी र सर्लाही जिल्लामा भएको थियो ।      डढेलोबाट जोगाउन पूर्वसतर्कता अपनाइँदै      मधेस प्रदेशको आठ जिल्लामध्ये पर्साले पनि डढेलोजन्य विपद्बाट जोगाउनका लागि पूर्वतयारीको काम अघि बढाउँदै आइरहेको छ । डिभिजन वन कार्यालय पर्साका डिभिजनल वन अधिकृत मञ्जुर अहमदले कार्यालयले भर्खरै बढ्नियारमा दुईदिने डढेलो नियन्त्रण र व्यवस्थापनसम्बन्धी तालिम गरेको बताउनुभयो ।  “डिभिजन वन कार्यालयका वनरक्षक, वनहेरालु, रेञ्जर, फरेष्टरलगायत ५०÷६० सहभागी राखेर तालिम दिइसकेका छौँ,” उहाँले भन्नुभयो, “वनजङ्गलमा आगजनी भइहालेको खण्डमा तत्कालै नियन्त्रण गर्नका लागि सहज हुने आशा गरेका छौँ ।”      डिभिजन वन कार्यालय पर्साले रेञ्जरको नेतृत्वमा १० सदस्यीय दू्रत वन दस्ता ‘¥यापिड रेस्पोस्ड टिम’ बनाएर तयारी अवस्थामा राखेका छ । सो दस्तालाई पर्साको रङ्गपुर सब–डिभिजन वन कार्यालयमा राखिएको छ ।  “पर्सा जिल्लाको वनमा रहेका वनपथहरुलाई सफा गर्ने र छुट्याउने काम काम भइरहेको छ,” उहाँले भन्नुभयो, “आगजनी हुनु अगावै वनपथ क्षेत्र सफा गर्दा पनि धेरै हदसम्म आगजनी नियन्त्रण गर्न सहयोग पुग्छ ।”  डिभिजन वन कार्यालयले वनजङ्गल आसपासका स्थानीय समुदायमा पुगेर आगजनीबाट हुने क्षति र नोक्सानीको विषयमा पनि जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्दै आइरहेको जनाएको छ । 

नेपालगन्ज:  पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको जिपले पैदल यात्रीलाई बाँकेको कोहलपुरमा ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।        जिपको ठक्करबाट आज कोहलपुर नगरपालिका–१५ का ६० वर्षीय अटवारी थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायव उपरीक्षक दीपक पातलीले जानकारी दिनुभयो ।  सडक छेउमा पैदल यात्रा गरिरहेका थारुलाई प्र २०३ ००१ च ३९९२ नं जिपले ठक्कर दिएको हो ।       इलाका प्रहरी कार्यालय, सुनवलको टोलीले जिप चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।  

काठमाडौं: चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ ।  महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार गत फागुन मसान्तसम्ममा सरकारले रू सात खर्ब ३८ अर्ब ८२ करोड १३ लाख आम्दानी गर्दा रू आठ खर्ब ३९ अर्ब ३५ करोड ६० लाख खर्च भएको छ । अर्थात दोस्रो चौमासिकसम्ममा सरकारको आम्दानीभन्दा रू एक खर्ब ५३ करोड ४७ लाख खर्च बढी छ ।      त्यस्तै, यस अवधिमा सरकारको विकास खर्च पनि निकै कमजोर देखिएको छ । महालेखा नियन्त्रकको तथ्याङ्कअनुसार फागुन मसान्तसम्ममा पुँजीगत खर्च वार्षिक विनियोजनको २३ दशमलव ३७ प्रतिशत मात्रै छ ।  सरकारले चालु आर्थिक वर्षका लागि पुँजीगत शीर्षकमा रू तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख बजेट विनियोजन भएकोमा हालसम्म रू ८२ अर्ब ३३ करोड ६० लाख बराबर मात्रै खर्च भएको देखिएको छ ।      सरकारले चालु आर्थिक वर्षका लागि रू १८ खर्ब ६० अर्ब ३० करोड ३० लाखको बजेट ल्याएको थियो । फागुन मसान्तसम्म वार्षिक विनियोजनको ४५ दशमलव १२ प्रतिशत अर्थात रू आठ खर्ब ३९ अर्ब ३५ करोड ६० लाख बराबरको खर्च भएको छ ।      चालु शीर्षकमा रू ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख विनियोजन भएकोमा ५१ दशमलव २१ प्रतिशत अर्थात रू पाँच खर्ब ८४ अर्ब १२ करोड ७८ लाख बराबर खर्च भएको छ । वित्तीय व्यवस्थापन शीर्षकमा रू तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख विनियोजन भएकामा ४७ दशमलव ०७ प्रतिशत अर्थात रू एक खर्ब ७२ अर्ब ८९ करोड २२ लाख बराबर खर्च भएको छ ।      सरकारले चालु आर्थिक वर्षका लागि रू १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख बराबर राजस्व उठाउने लक्ष्य रहेकामा हालसम्म ५० दशमलव दुई प्रतिशत अर्थात रू सात खर्ब ३८ अर्ब ८२ करोड १३ लाख बराबर असुली भएको छ । जसमध्ये, कर राजस्वतर्फ रू १२ खर्ब ८४ अर्ब २० करोड ९६ लाख विनियोजन भएकोमा ४९ दशमलव ७४ प्रतिशत अर्थात रू छ खर्व ३८ अर्ब ७९ करोड ९० लाख सङ्कलन भएको छ ।       त्यस्तै, गैरकर राजस्वतर्फ रू एक खर्ब ३५ अर्ब नौ करोड ३४ लाख उठाउने लक्ष्य रहेकामा हालसम्म ६० दशमलव ३६ प्रतिशत अर्थात रू ८१ अर्ब ५४ करोड ७७ लाख असुली भएको छ ।      सरकारको वैदेशिक अनुदान सङ्कलन पनि निकै कमजोर छ । चालु आर्थिक वर्षका लागि रू ५२ अर्ब ३२ करोड ६५ लाख वैदेशिक अनुदान उठाउने लक्ष्य रहेकोमा हालसम्म वार्षिक लक्ष्यको १७ दशमलव ५१ प्रतिशत अर्थात रू नौ अर्ब १६ करोड २५ लाख अनुदान लिइएको छ ।

काठमाडौं: साहित्यकार लीलबहादुर क्षेत्रीको ९३ वर्षको उमेरमा निधन भएको छ ।  भारतको आसामका स्थायी बासिन्दा उहाँको गए राति गुवाहाटीमा निधन भएको साहित्यक पत्रिका ‘शब्दपथ’का प्रबन्ध सम्पादक मुरारी सिग्देलले राससलाई बताउनुभयो ।  ‘बसाइँ, अतृप्त र बह्मपुत्रको छेउछाउ’, उपन्यास, ‘आसाममा नेपाली भाषाको साह्रोगाह्रो’ निबन्ध  सङ्ग्रह उपन्यासका साथै कथा, निबन्ध र नाटकसमेत लेखेर नेपाली भाषा साहित्यको श्रीवृद्धिमा योगदान गर्नुभएका उहाँ जगदम्बाश्री पुरस्कारबाट सम्मानित हुनुहुन्थ्यो ।  भानु पुरस्कारलगायत विभिन्न पुरस्कारबाट सम्मानित उहाँलाई भारत सरकारले सर्वोच्च नागरिक पुरस्कार पद्मश्रीबाट पनि सम्मान गरेको थियो ।