जनकपुर: मधेस कृषि विश्वविद्यालयका उपकुलपति डा वैजनाथ महतो र रजिष्ट्रार श्रीभगवान ठाकुरलाई निजको पदबाट निलम्बन गर्ने निर्णय भएको छ । विश्वविद्यालयसभा (सिनेट) बैठकबाट उपकुलपति र रजिष्ट्रारलाई पदबाट निलम्बन गर्ने निर्णय पारित भएको मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले जानकारी दिनुभयो । विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको उपस्थितमा जनकपुरधाममा भएको सिनेटको बैठकबाट बहुमतले पारित भएपछि डा महतो र ठाकुरलाई निलम्बन गरिएको शिक्षामन्त्री तिवारीले बताउनुभयो । प्रदेश सरकारका नीति तथा योजना आयोगका उपाध्यक्ष डा सोहनप्रसाद साहको नेतृत्वमा गठित तीन सदस्य समितिले गत असोज ७ मा बुझाइएको प्रतिवेदनका आधारमा दुवैजना विश्वविद्यालयको अनाधिकृत गतिविधिमा संलग्न रहेको पाइएकाले सिनेटबाट दुवैलाई बर्खास्त गर्ने निर्णय भएको जनाइएको छ । मङ्गलबार अबेर रातिसम्म चलेको बैठकमा विश्वविद्यालयका कुलपति एवं मुख्यमन्त्री सिंह, सहकुलपति एवं शिक्षा तथा संस्कृतिमन्त्री तिवारीलगायत विश्वविद्यालय सिनेटका पदाधिकारी तथा सदस्यहरू सहभागिता थियोे । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम पनि बैठकबाट पारित भएको थियोे । लामो समयदेखि सभा नहुँदा विश्वविद्यालयमा आर्थिक कारोबार ठप्प भएपछि विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले तलब पाउन सकेका थिएनन् । सेवा प्रदायकहरूले बक्यौता रकम नपाउँदा शैक्षिक सामग्री, इन्धन, विद्युत्, पानी, सञ्चारलगायत सेवा अवरोध गरेका छन् भने यहाँ अध्ययनरत कृषि विज्ञानका दुई सेमेस्टरका एक सय विद्यार्थीको नियमित पढाइ भएको छैन । नियमित पठनपाठन गराउने तथा विद्यमान समस्या समाधान गर्नका लागि यो बैठक बसेको बताइएको छ । बैठकले गरेका निर्णय कार्यान्वयन भएसँगै विस्तारै समस्या समाधान हुँदै जाने मन्त्री शर्माले विश्वास व्यक्त गर्नुभयो ।
काठमाडौं: सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली जनताले सामान्तवाद र राजतन्त्र ‘बुलेट’बाट नभई ‘ब्यालेट’बाट पराजित गरी देशमा शान्तिपूर्ण ढङ्गले राजनीतिक परिवर्तन गरको बताउनुभएको छ । यदु स्मृति प्रतिष्ठानले आज काठमाडौंमा आयोजना गरेको २६औँ यदु स्मृति दिवसको कार्यक्रममा बोल्दै सञ्चारमन्त्री गुरुङले नेकपा माओवादीले भन्दै आएको जनयुद्ध हिंसात्मक भएकाले गलत भएको टीप्पणी गर्नुभयो । नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले माओवादीले रुकुम–रोल्पाबाट थालेको हिंसात्मक गतिविधिको छाप अझै पनि मुलुकमा रहेकाले त्यसबाट देशलाई मुक्ति दिलाउने दायित्व हामी सबैको हो भन्नुभयो । नेपालमा शान्तिपूर्ण क्रान्तिमा नेकपा एमाले र नेपाली कांग्रेसले महत्पूर्ण भूमिका खेल्दै आएको उदाहरण दिँदै उहाँले भन्नुभयो, “हामीले मत खसालेर राजा फालेको इतिहास छ । माओवादीले हिंसात्मक बाटो रोजे, जसले मुलुकको विकासमा २५ वर्ष पर धकेलिएको छ ।” हिंसात्मक गतिविधि सञ्चालन गरेको विषयलाई माओवादीले आत्मसाथ गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले पछिल्लो समय हिंसाको अर्को आवरणको रुपमा सामाजिक सञ्जालको गलत प्रयोग भइ समाजमा विकृति र विसङ्गति मौलाएको भनी चिन्ता व्यक्त गर्नुभयो । “सामाजिक सञ्जालको प्रयोग गरी भइरहेको हिंसात्मक गतिविधि रोकथाम गर्नु राज्यको दायित्व भएकाले धार्मिक सहिष्णुता, जातीय एकता, सामाजिक सद्भाव कायम गर्न सामाजिक सञ्जाल नियमनसम्बन्धी कानुन बनाउन लागेको उहाँले स्पष्ट गर्नुभयो । मन्त्री गुरुङका अनुसार सामाजिक सञ्जाललाई दुरुपयोग गरेर कुनै व्यक्ति, जाति, सम्प्रदाय, धर्म, संस्कृति र भाषामाथि गरिने हिंसात्मक अभिव्यक्ति रोकथाम गर्न सरकारले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक ल्याउन लागेको हो । लोकतान्त्रिक विधि, मूल्यमान्यताको उपज भएकाले अभिव्यक्ति एवं प्रेस स्वतन्त्रताको सदैव सम्मान गर्ने अहिलेको सरकार अराजकता र अस्थिरताको विरुद्ध रहेको स्पष्ट गर्नुभयो । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्य थापाले जनयुद्धका नाममा नेकपा माओवादीले हिंसात्मक बाटो रोज्दा धनजनको ठूलो क्षति भई मुलुक पछि परेको दृष्टान्त प्रस्तुत गर्दै माओवादी आन्दोलनलाई इतिहासले माफी नदिने धारणा व्यक्त गर्नुभयो । एमाले पोलिटब्युरो सदस्य खेममान खड्काले यदु गौतमको राजनीतिक जीवनशैली, योगदान र क्षमतामाथि चर्चा गर्दै एक साहसिक, जनप्रिय एवं स्थापित नेताका रुपमा स्वर्गीय गौतम आमा जनताबीच चिनिनुहुने धारणा व्यक्त गर्नुभयो । वरिष्ठ पत्रकार दिलभूषण पाठकले पत्रकारिताको धर्म सत्यतथ्य र निष्पक्ष हुनुपर्नेमा पछिल्लो समय हाम्रो पत्रकारिता हल्लाको पछाडि दौडिन थालेको भनी चिन्ता व्यक्त गर्नुभयो । सो अवसरमा वरिष्ठ पत्रकार पाठकलाई यदु स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।
काठमाडौं: सभामुख देवराज घिमिरेले झापाको सुखानी घटनाका योद्धाहरूका तस्बिर अङ्कित हुलाक टिकटमा प्रथम दिवसीय टाँचा लगाउनुभएको छ । झापाका किसानमाथिको शोषण र दमनका विरुद्ध विसं २०२८ मा युवा विद्यार्थीहरूले गरेको विद्रोहलाई तत्कालीन पञ्चायती शासकद्वारा दमन र धरपकड गर्ने क्रममा जेलमा राखिएकामध्ये पाँच युवालाई सुखानी जङ्गलमा हत्या गरिएको थियो । झापाको चन्द्रगढीस्थित जेलबाट इलाम लैजाने बहानामा विसं २०२९ फागुन २१ गते साँझ सुखानी जङ्गलमा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायणप्रसाद श्रेष्ठलाई गोली हानी हत्या गरिएको थियो । उहाँहरूको बलिदानीप्रति नेपालको कम्युनिष्ट आन्दोलनमा उच्च आदरसहित सम्मान गरिँदै आइएको छ । सङ्घीय सरकारले उहाँहरूलाई विसं २०७२ फागुन १९ गते सहिद घोषणा गरेको थियो । यसअघि विसं २०४६ को जनआन्दोलन पछि कृष्णप्रसाद भट्टराईको नेतृत्वमा गठित उच्चस्तरीय राजनीतिक पीडित सहायता समितिले उहाँहरूका परिवारलाई राहत उपलब्ध गराएको थियो । सुखानी सहिदहरूको तस्बिर अङ्कित हुलाक टिकटको मूल्य रु १० तोकिएको छ । हुलाक सेवा विभागद्वारा आज यहाँ आयोजित कार्यक्रममा सभामुख घिमिरेले नेपाली जनताको स्वतन्त्रता, समानता र हकअधिकारका लागि आवाज उठाउँदा सुखानीको जङ्गलमा हत्या गरिएकालाई राष्ट्रिय सहिद घोषणा गर्दै हुलाक टिकट प्रकाशनमा ल्याउनु महत्वपूर्ण कार्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मानिस स्वतन्त्र भएर बाँच्न राजनीतिक हक अधिकार, प्रजातन्त्र, लोकतान्त्र र गणतन्त्र चाहिन्छ भनी देशहित र जनताको मुक्तिका लागि जीवन अर्पण गर्ने सहिदका नाममा हुलाक टिकट प्रकाशन हुनु भनेको उहाँप्रतिको सम्मान हो ।” सभामुख घिमिरेले सहिदको बलिदानीको जगमा राजनीतिक उद्देश्यमा मुलुकले एउटा सफलता प्राप्त गरे पनि समाजलाई उपलब्ध गराइनुपर्ने सुविधा र शासन प्रणाली स्वस्थ ढङ्गबाट अघि जानुपर्नेमा अनेक चुनौती देखा परिरहेका बताउनुभयो । उहाँले भन्नुभयो, “सहिदका अधुरा सपनालाई साकार गर्न वर्तमान सरकारले पीडितका पक्षमा काम गर्न सकोस् । सहिदले राष्ट्र र जनताको हितका लागि गरेको योगदानबारे जानकारी गराउन हुलाक टिकट प्रकाशन ऐतिहासिक कदम रहनेछ ।” सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव गजेन्द्र ठाकुरले हुलाक टिकटमा समेटिएका विषयवस्तुले भौगोलिक, जातीय र सांस्कृतिक पृष्ठभूमिलाई युगौँयुगसम्म अध्ययन र अनुसन्धान गर्न महत्वपूर्ण योगदान दिने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “झापाको सुखानीमा साहद प्राप्त गर्नुहुने अमर सहिदको वीरताको गाथालाई हुलाक टिकट प्रकाशन भएबाट सदासर्वदा स्मरण गराउनेछ ।” हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई ९पङ्गेनी०ले हुलाक टिकटमा समेटिएका ऐतिहासिक धरोहर, सम्पदा, प्रकृति, संस्कृति, पुरातात्विक सम्पत्ति र इतिहासका विभिन्न कालखण्डमा राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान दिने व्यक्ति र व्यक्तित्वको पहिचान स्थापित हुने धारणा व्यक्त गर्नुभयो । नेपाल फिलाटेलिक सोसाइटीका अध्यक्ष केदार प्रधानले हुलाक टिकटमा अङ्कित तस्बिरले सहिदको योगदानको देश–विदेशमा समेत पहिचान र स्मरण भइरहने विचार प्रकट गर्नुभयो । सुखानी सहिद स्मृति प्रतिष्ठानका सदस्य गेहनाथ पौडेलले तत्कालीन पार्टीको निर्णयअनुरुप किसान र मोहीका हकहितका लागि निस्किएका झापाका युवा विद्रोह नै हालको लोकतन्त्र प्राप्तिको जग भएको भनाइ राख्नुभयो । सो अवसरमा सहिदद्वय दाहालपत्नी विश्वेश्वरा र घिमिरे पत्नी जीवनलाई सम्मान गरिएको थियो ।
पोखरा: अपाङ्गता भएका महिलाहरुको समावेशी र पहुँच युक्त वातावरण सृजना गर्न सञ्चारमाध्यमको अत्यन्त महत्वपूर्ण भूमिका हुने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । सञ्चारिका समुह गण्डकी प्रदेश र अपाङ्ग महिला सशक्तिकरण केन्द्र कास्कीको संयुक्त आयोजनामा अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भमा आयोजित अपाङ्गता भएका महिलाका सवाल र मिडियाको भूमिका विषयक अभिमुखीकरण कार्यक्रममा बोल्ने वक्ताहरुले सञ्चारमाध्यमले अपाङ्गता सम्बन्धि कुनै पनि समाग्री प्रशारण गर्ने क्रममा संवेदनशिल हुनुुपर्ने बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश पोखरा कार्यालयका कार्यालय प्रमुख नितु गर्तौलाले अपाङगता भएका महिलाका सवाल निति निर्माण देखि लिएर समाजका हरेक व्यक्तसँग जोडिएको विषय भएकोले यसलाई अभियानको रुपमा लैजानुपर्न बताउनुभयो । नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष पुण्य पौडेलले अपाङ्गता जसलाई पनि हुनसक्ने भएकोले अपाङ्गता भएका सबैलाई सकारात्मक व्यवहार गर्नुपर्ने बताउदै त्यसको लागि सबैले आफ्नो सोचमा परिवर्तन गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । समाजशास्त्री शान्ति भुषालले अन्तराष्ट्रिय महिला दिवसको महत्व, पृष्ठभूमि र इतिहासको बारेमा सहजीकरण गर्दै महिलाहरुको अथक प्रयास र योगदानले आज यो दिवस मनाउने वातावरण सृजना भएको बताउनुभयो । उहाँले श्रमिक महिलाको आन्दोलनका कारण आज ८ मार्चको महत्व बढेर गएको बताउनुभयो । कार्यक्रममा सञ्चारिका समुह गण्डकी प्रदेशका कविता श्रेष्ठले अपाङ्गता भएका महिला र मिडियाको भूमिका विषयमा सहजीकरण गर्दै अपाङ्गताका सवालमा समाचार संप्रेषण गर्दा सञ्चारमाध्यमलाई संवेदनशिल हुन आग्रह गर्नुभयो । अपाङ्ग महिला सशक्तिकरण केन्द्र कास्कीका अध्यक्ष अञ्जना केसीले अपाङ्गताका अधिकार सुनिश्चितताका लागि विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय कानुनी प्रावधानको बारेमा जानकारी गराउँदै आफ्नो हकको लागि आफै अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव जमुना वर्षा शर्मा, कास्कीका उपाध्यक्ष कञ्चन थापा कोइराला र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका उपाध्यक्ष उमा आलेमगरको सहभागीता रहेको थियो । अपाङ्ग महिला सशक्तिकरण केन्द्र कास्कीका अध्यक्ष अञ्जना केसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सञ्चारिका समुह गण्डकी प्रदेशका अध्यक्ष कविता श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आवद्ध सञ्चारकर्मी र अपाङ्गता भएका महिला गरि करिब ५० जनाको सहभागीता रहेको थियो ।
काठमाडौं: पुराण वाचक, ज्योतिषी कर्म गर्ने र कर्मकाण्ड गर्ने ब्राह्मणको परीक्षा लिएर अनुमतिपत्र दिने तयारी सुरु भएपछि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा प्रशिक्षण लिनेको भीड लागेको छ । प्रशिक्षण लिन चाहनेको भीड लागेपछि यही महिनाको अन्तिमदेखि छ महिने कार्यक्रम सुरु गर्न लागिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । ज्योतिष र कर्मकाण्ड प्रशिक्षण लिन चाहनेहरु समितिमा आएर सोधपुछ गर्न थालेपछि सूचना निकालेर यही महिनाको अन्तिमदेखि प्रशिक्षण दिन लागिएको हो । समितिमा आफैँ खोजी गर्दै २० जना प्रशिक्षार्थी आएको समितिले जनाएको छ । प्रशिक्षण लिन चाहनेमध्ये महिला र अपाङ्गलाई छुटको व्यवस्था पनि गर्न लागिएको उहाँले सुनाउनुभयो । ज्योतिष प्रशिक्षण लिन भने जनजाति र दलित पनि आउने गरेको समितिले जनाएको छ । कर्मकाण्ड प्रशिक्षणमा भने महिलाको पनि रुचि हुने गरेको छ । छ महिने प्रशिक्षणको रु १५ हजार शुल्क तोकिएको कार्यकारी निर्देशक ढुङ्गेलले बताउनुभयो । यसमा थप परीक्षा शुल्क पनि लिइने जनाइएको छ । कथावाचक, ज्योतिषी र कर्मकाण्ड गर्ने पुरोहितलाई नियमन गर्न, करको दायरामा ल्याउन पनि अनुमतिपत्र लिनुपत्र उपयुक्त हुने भनी तयारी भइरहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताउनुभयो ।
तनहुँ: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन कुनै चलखेल नगरेको बताउनुभएको छ । तनहुँको डुम्रेमा आजदेखि सुरु हुने डुम्रे सांस्कृतिक महोत्सवको उद्घाटनका लागि आउनुभएका मन्त्री खड्काले सञ्चारकर्मीसँगको भेटमा एउटा कर्मचारीलाई हटाउन सरकारले कुनै चलखेल नगरेको बताउनुभयो । उहाँले भन्नुभयो, “एउटा कर्मचारीलाई हटाउन सरकारले किन चलखेल गर्नुपर्छ र सरकारलाई आवश्यकता भएको बेला हटाउन सक्छ, आवश्यकताअनुसार कर्मचारी राख्न पनि सक्छ ।” मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणलाई योगदान पु¥याउनेलाई पुरस्कार र गलत गर्नेलाई दण्डित गरिने उल्लेख गर्नुभयो । नेपाल विद्युत् प्राधिकरणलाई कार्यसम्पादन मूल्याङ्कनमा शुन्य अङ्क किन भन्ने सञ्चारकर्मीसँगको प्रश्नमा मन्त्री खड्काले भन्नुभयो, “विद्यार्थी जाँचमा उपस्थिति नहुँदा के हुन्छ, यसमा पनि त्यही भएको हो । समयमै कार्यसम्पादन नबुझाएकाले अङ्क प्राप्त गर्न नसक्नुभएको हो ।”
बैतडी: बैतडीबाट भरुवा बन्दुक र जङ्गली जनावरको छालासहित एक जना पक्राउ परेका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–८ चौरथली कालागाउका ५१ वर्षीय पाल विष्ट भरुवा बन्दुक र जङ्गली जनावरको छालासहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले बताउनुभयो । विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट तल्लादेहीबाट खटिएको टोलीले भरुवा बन्दुक, बन्दुकमा लाग्ने सिसाका सात राउण्ड गोली, दुई थान घोरलको छाला, दुई थान रतुवाको छालासहित विष्टलाई पक्राउ गरेको उहाँले जानकारी दिनुभयो । मङ्गलबार दिउँसो विष्टको घरमा खोजतलास गर्दा भरुवा बन्दुक र जङ्गली जनावरको छाला फेला परेपछि निजलाई पक्राउ गरिएको बडूले बताउनुभयो । विष्टले इजाजत बिना घरमा बन्दुक राखेको पाइएपछि थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनमा राखिएको उहाँले जानकारी दिनुभयो ।
झापा: पचहत्तर वर्षको उमेरमा नागरिकता प्रमाणपत्र पाउँदा मेचीनगर नगरपालिका–२ की नीरकुमारी राईको हर्षको सीमा रहेन । नागरिकता पाउनुलाई उहाँले जीवनकै सबैभन्दा ठूलो धोको पूरा भएको बताउनुभयो । “नातिले नागरिकता पाउने बेला भइसक्यो, मेरो बनेको थिएन”, हालै पाएको नागरिकता देखाउँदै उहाँले भन्नुभयो, “बनाइदेउ न भनेर बुढालाई धेरैचोटी भनेँ, आफन्त र नातागोता गुहारेँ । नागरिकताले भात खान दिने होइन क्यारे, बुढेसकालमा किन चाहियो भन्दै सबै तर्किए । वडाध्यक्षले बल्ल अहिले बनाइदिनुभयो ।” नीरकुमारीका पति सन्तमान राईको पाँच वर्षअघि निधन भइसकेको छ । चार कट्ठा पाखोबारीमा खनीखोस्री नातिनातिना हुर्काउँदै आउनुभएकी उहाँका तीन छोराको पेट पालनका लागि रोजगारी गर्न भारतको बैंगलोर गएका छन् । नीरकुमारीका पति सन्तमानको नागरिकता थियो । छोराहरुको पनि नागरिकता छ । तर, पतिकै बेवास्ताका कारण आफूले यतिका वर्षसम्म नागरिकता नपाएको उहाँको गुनासो छ । घर नजिकैको भृकुटी र बाहुनडाँगी बजारमा नागरिकता बनाउने टोली पटकपटक आउँदा समेत उहाँको नागरिकता बनाउने पहलै भएन । नागरिकता बनेपछि हर्षित नीरकुमारीले पहिलोपटक सामाजिक सुरक्षा भत्ता पाउनुभएको छ । जग्गाको स्वामित्व पतिबाट आफ्नो नाममा सार्ने उहाँको इच्छा छ । तीन छोरामध्ये जेठो राजकुमार घर छुट्टिएर बस्दै आएको उहाँले बताउनुभयो । माइलो विजय राई र कान्छो पविराम राई रोजगारीका लागि बैंगलोर गएका छन् । जेठी बुहारीको मृत्यु भइसकेको, माइली बुहारीले घर छाडेर हिँडेको र कान्छो छोरा अविवाहित भएको जनाउँदै उहाँले नातिनातिना पढाएर माइलो छोराको घरमा बस्दै आएको बताउनुभयो । वडा कार्यालयले अपाङ्गता भएर बोल्न नसक्ने, सुन्न नसक्ने, आँखा नदेख्ने र एकल जीवन बिताइरहेका ज्येष्ठ नागरिकहरुको नागरिकता बनाइदिने अभियान चलाएको छ । सोही क्रममा नीरकुमारी राईको आफूले सनाखत गरेर नागरिकता दिलाएको वडाध्यक्ष दीपक बरालले बताउनुभयो । “जसको कोही छैनन्, उसका लागि वडा कार्यालय छ”, वडाध्यक्ष बराल नागरिकता अभियानबारे भन्नुहुन्छ, “सनाखत गर्ने मान्छे ल्याउनुप¥यो भनेर सिडिओहरु नागरिकता दिन आनाकानी गर्नुहुन्छ । गलत व्यक्तिलाई सिफारिस गरेको रहेछु भने मलाई लगेर थुनिदिए हुन्छ भन्दै मैले नै उहाँहरुको सनाखत गरिदिने गरेको छु ।” सनाखत गरिदिने नातेदारको निधन भइसकेको र सम्पर्कमा नरहेको अवस्थामा कोही पनि वडावासी ज्येष्ठ नागरिकहरुले आफ्नै थाकथलोमा अनागरिकको पीडा भोग्नु नपरोस् भनेर वडाले सिफारिस र वडाध्यक्षको तर्फबाट सनाखत गरिदिएको बराल बताउनुहुन्छ । सुस्तश्रवण, दृष्टिविहीन र आफन्त गुमाइसकेका दशजना ज्येष्ठ नागरिकको चालु आर्थिक वर्षमै सिफारिस दिएर नागरिकता दिलाइसकेको उहाँले जानकारी दिनुभयो । त्यस्ता व्यक्तिहरुको नागरिकता बनाउने क्रममा वडा कार्यालय र जिल्ला प्रशासन कार्यालय धाउने खर्च समेत वडाले बेहोर्ने गरेको छ । आर्थिकरुपमा विपन्न परिवारकै ज्येष्ठ बुबाआमाहरु नागरिकता बनाउनबाट वञ्चित रहेको आफूले पाएको उहाँले बताउनुभयो । त्यहीकारण उनीहरुको नागरिकता बनाउँदा लाग्ने खर्च वडा कार्यालयको तर्फबाटै बेहोरिएको उहाँको भनाइ छ । आफन्त गुमाइसकेका सोही वडाका केशरबहादुर राईले ८६ वर्षको उमेरमा हालै नागरिकता पाउनुभयो । वडाध्यक्ष बराल आफैँले सिफारिस र सनाखत गरेर उहाँको पनि नागरिकता बनेको हो । विसं २०१८ मा पहाडबाट तराई झरेका केशरबहादुर मेचीनगरको बाहुनडाँगी आउँदा २२ वर्षको लक्का जवान हुनुहुन्थ्यो । उमेर पुगे पनि उसबेला नागरिकता बनाउने चलन थिएन । बिहे गरेर पत्नीसहित उहाँ रोजगारीको खोजीमा बाहुनडाँगीबाट भौतारिँदै भारतको आसाम पुग्नुभयो । विसं २०२४ मा आसामबाट थाकथलो बाहुनडाँगीमै फर्किनुभयो । “उमेर छउञ्जेल गरिखान बलियो पाखुराले पुगिहाल्यो, सन्तान नभएपछि नागरिकता बनाउनेतिर लागिएन”, उहाँले भन्नुभयो । पत्नीको मृत्युपछि एक्लो जीवन बिताइरहेका उहाँसँग बुढेसकालमा न सन्तानको सहारा थियो, न त नागरिकता नै आधार । आसामबाट फर्केर आएपछि पत्नीको मृत्यु बाहुनडाँगीमै भएको उहाँले बताउनुभयो । अर्काको घरखेतमा ज्यालादारी काम गरेर जीवन बिताउँदै आउनुभएको उहाँको आफ्नो जग्गा छैन । रात काट्नका लागि चौबाटोको कुनोमा सानो झुपडी बनाएर उहाँ बस्दै आउनुभएको छ । ज्येष्ठ नागरिकको सम्मान र पहिचानका खातिर आफूले केशरबहादुरको नागरिकता बनाउने पहल गरेको वडाध्यक्ष बरालले बताउनुभयो । नागरिकता पाएपछि उहाँको जीवनमा खुसीको उमङ्ग छाएको छ । आफ्नो झुपडीमा बलियो झ्यालढोका नभएको कारण नागरिकता नहराओस् भनेर उहाँले छिमेकीको घरमा जतनका साथ राख्न दिने गरेको बताउनुभयो । “मर्ने बेलामा नागरिकता त साथमा भयो नि”, दशमुजा परेको अनुहारमा चमक छर्दै केशरबहादुर भन्नुहुन्छ, “गाउँका अरुले त चाहिँदैन तिमीलाई नागरिकता भनेर टिप्पा खेलाउँथे । वडाध्यक्ष बराल बाबुले चाहिँ हिँड्नुहोस् म बनाइदिन्छु भनेर घरमै लिन आउनुभयो ।” बुढेसकालमा ज्यालादारी काम गर्न नसकेर कयौ रात भोकै सुतेका केशरबहादुरले वृद्ध भत्ता थाप्न थालेपछि खान र लाउन चिन्ता गर्नुपरेको छैन । वडाका जनप्रतिनिधिले अशक्त ज्येष्ठ नागरिकहरुको सामाजिक सुरक्षा भत्ता घरघरै पु¥याइदिने गरेका छन् । गाउँबस्ती पुग्ने क्रममा अर्काको घरमा आश्रय लिएर बसेका बोल्न नसक्ने र कान नसुन्ने थुप्रै बुढाबुढीहरुको विजोग देखेको र उनीहरुसँग नागरिकता समेत नरहेको थाहा पाएपछि नागरिकता प्रमाणपत्र बनाइदिने सोच उब्जिएको वडाध्यक्ष बराल बताउनुहुन्छ । आफन्तले हेरचाह नगरिदिदा दुःख बिमार भएका बेला चन्दा उठाएर अस्पताल पु¥याउनुपर्ने अवस्थाका उनीहरुले नागरिकता पाएपछि सामाजिक सुरक्षा भत्ता र स्वास्थ्य बिमामार्फत उपचार सुविधा नियमित रुपमा पाइरहेको वडाध्यक्ष बरालले बताउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले व्यक्तिको अवस्था होइन, प्रमाण हेरेर नागरिकता दिइने बताउनुभयो । प्रमाणले नागरिकता पाउन योग्य वृद्धवृद्धाको नागरिकता बनाउन सकिने उहाँले बताउनुभयो । “नेपालमा वंशज, जन्म, विवाह र गैरआवासीय पहिचानका आधारमा नागरिकता दिइने कानुनी व्यवस्था छ”, सहायक प्रजिअ नेपालले भन्नुभयो, “उमेरले पाका भइसकेका र असहाय व्यक्तिहरुको नागरिकता सिफारिस गरेर वडाध्यक्षहरु प्रशासनमा आउनुहुन्छ । उहाँहरुको प्रमाण र सनाखतका आधारमा नागरिकता दिने गरेका छौंँ । शारीरिक अशक्तहरुको हकमा नागरिकता प्रमाणपत्र घरमै पु¥याइदिने समेत गरेका छौँ ।” उमेरका आधारमा ज्येष्ठ नागरिकको दर्जामा पुगिसकेका व्यक्तिहरुको नागरिकता प्रमाणपत्र बनाउन वडाध्यक्षहरुले दिएको सिफारिस र सनाखत एउटा आधार भए तापनि वास्तविकता बुझ्न कानुनबमोजिम माग भइआएका प्रमाणहरु र प्रहरीमार्फत आउने प्रतिवेदनलाई मसिनो ढङ्गले हेर्ने गरिएको सहायक प्रजिअ नेपाल बताउनुहुन्छ । बुढेसकालमा शारीरिक दुर्बलताले गर्दा हिँडडुल गर्न मुस्किल हुन्छ । आयस्रोत नभएको अवस्थामा उनीहरुको जीविका कष्टकर हुन्छ । आफन्तको बेवास्ता र राज्यको उपेक्षा थपिँदा उनीहरुको जीवनयापन सास्तीपूर्ण हुन्छ । त्यस्तो बेला नागरिकता हुनेहरुले राज्यबाट सामाजिक सुरक्षा भत्ता र बिमाको उपचार पाउने गरेका छन् । तर, नागरिकता नभएकाहरु यो लाभबाट वञ्चित छन् । वर्षौंदेखि बसोबास गर्दै आएका ज्येष्ठ नागरिकहरु सनाखत गरिदिने नातेदारको अभावमा नागरिकता पाउनबाट वञ्चित रहँदै आएकामा मेचीनगर–२ को वडा कार्यालयले सराहनीय कार्य गरेको स्थानीय पूर्वशिक्षक धर्मानन्द निरौला बताउनुहुन्छ । राज्यले नागरिकता पाउन नसकेका वृद्धवृद्धालाई खोजीखोजी नागरिकता दिने राष्ट्रिय अभियान सञ्चालन गर्नुपर्ने र यस कार्यका लागि स्थानीय तहलाई परिचालन गर्नुपर्ने उहाँको धारणा छ । उहाँका अनुसार अझै पनि देशभर थुप्रै ज्येष्ठ व्यक्ति नागरिकता नपाइकनै मृत्युवरण गर्न बाध्य छन् । “बाहुनडाँगीका कुनाकाप्चासम्म आरा काटेर हिँड्ने गर्नुहुन्थ्यो । कहिले अर्काको घरमा ज्यालादारी गर्नुहुन्थ्यो”, केशरबहादुरको नागरिकता बनेकोमा खुसी व्यक्त गर्दै पूर्वशिक्षक निरौलाले भन्नुभयो, “अब त बुढो हुनुभयो, रोगी हुनुभयो । अर्काकोमा काम गर्न जानसक्नु हुन्न । यस्तो बेलामा नागरिकता बनेपछि कमसेकम राज्यको वृद्धभत्ताले बाँच्ने सजिलो आधार त बन्यो नि ।”
काठमाडौं: अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण प्रक्रिया प्रारम्भ गरेको छ । सोही क्रममा मन्त्रालयले आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका साथै सम्बद्ध विभाग र निकायसँग परामर्श गरेको छ । उक्त अवसरमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट अनुशासित र यथार्थपरक हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । यथार्थपरक बजेट ल्याउँदा आर्थिक वर्षको बीचमा रकमान्तर तथा संशोधनको आवश्यकता नपर्ने र कार्यान्वयन गर्न सहज हुने उहाँको भनाइ छ । मन्त्रालयगत छलफलका क्रममा अर्थमन्त्री पौडेलले बजेट निर्माणमा विगतका अनुभवबाट सिक्दै अघि बढ्नुपर्ने बताउनुभयो । त्यस्तै, सङ्घीय संरचनालाई ध्यानमा राखी सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय कायम गर्ने गरी बजेट निर्माण गरिने उहाँको भनाइ थियो । बजेट बनाउँदा सबै मन्त्रालय तथा अन्य निकायको सहकार्य आवश्यक पर्ने र बजेटप्रति सबै पक्षको अपनत्व हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । विपद्पछिको पुनःनिर्माणलाई प्राथमिकतामा राखी कार्यान्वयनयोग्य, प्रभावकारी र नतिजामुखी बजेट निर्माण गर्ने पनि अर्थमन्त्री पौडेलले बताउनुभयो । सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटबीच समन्वय मिलाई आगामी आर्थिक वर्षको बजेट तयार गरिनेसमेत उहाँले स्पष्ट पार्नुभयो । कार्यान्वयन गर्न कठिन हुने तथा न्यून प्राथमिकताका आयोजनालाई स्थगन गर्दै व्यवहारिक योजना मात्र समावेश गर्न अर्थमन्त्री पौडेलले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभएको छ । साना योजना कटौती गर्दै क्रमागत योजनाको सङ्ख्या घटाउनुपर्ने उहाँको सुझाव थियो । साथै, पूर्वतयारी पूरा भएका र अत्यावश्यक आयोजनालाई मात्र समेट्नुपर्नेमा उहाँले जोड दिनुभयो । बजेट प्रस्ताव गर्दा सिलिङलाई ध्यानमा राख्नुपर्ने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले मन्त्रालयलाई योजनाबद्धरूपमा कार्य गर्नसमेत आग्रह गर्नुभयो । राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रू १९ खर्ब ६५ करोडको सीमाभित्र रहेर बजेट ल्याउन सकिने गरी सरकारलाई सिफारिस गरेको छ ।