रौतहट: माधवनारायण नगरपालिका–४ का वडाध्यक्ष रामदेनी मुखियाको निधन भएको छ । फोक्सोको क्यान्सरबाट पीडित ६० वर्षीय उहाँको आज बिहान आफ्नै निवासमा निधन भएको माधवनारायण नगरपालिकाका प्रमुख बैजनाथ यादवले जानकारी दिनुभयो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट उहाँ निर्वाचित हुनुभएको थियो ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया देखि अधिकांश बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा पनि भइहेको छ । विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसमसफा रहनेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना र छ । साथै उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि छ । महाशाखाका अनुसार आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । सबै प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात हुन सक्नेछ । आगामी २४ घण्टामा सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी मौसमसफा रहनेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । महाशाखाले देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, कृषि, सडक तथा हवाईउड्डयनमा प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
ढोरपाटन: भारी हिमपातका कारण माथिल्लो बागलुङका स्थानीयको जनजीवन कष्टकर बनेको छ । शुक्रबार दिउसोदेखि वर्षासँगै परेको हिमपातले स्थानीयको जनजीवन कष्टकर बनेको हो । जिल्लोको ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन उपत्यका, निसेलढोर, स्यालपाखे, पाखाथर, छ्यान्तुङ, भूजीलगायतका ठाउँका स्थानीय प्रभावित बनेका छन् । निसीखोला गाउँपालिका–६ को जाउलेपानीसहित पातीहाल्ने क्षेत्रमा भारी हिमपात भएको छ । हिमपातले चिसो बढ्दा नागरिकको दैनिकी प्रभावित बनेको हो । हिमपातका कारण सबैभन्दा बढी निसेलढोर र ढोरपाटन उपत्यका क्षेत्रका नागरिकको जनजीवन कष्टकर बनेको ढोरपाटन नगरपालिका–९का होटल व्यवसायी गंगाबहादुर भण्डारीले जानकारी दिनुभयो । शुक्रबार दिउसो २ वर्षदेखिनै हिमपात हुन सुरु भएको उहाँको भनाइ छ । अहिले ढोरपाटन उपत्यकासहित माथिल्लो क्षेत्र हिउँले सेताम्य भएको भण्डारीले बताउनुभयो । बस्ती वरपर बाक्लो हिउँ पर्दा दैनिकीनै प्रभावित बनेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “एक÷दुई दिन भयो, चिसो अत्याधिक बढेको थियो, आज हिमपातनै भयो, अहिले बाक्लो हिउँ परेको छ, ढोरपाटनमा धेरैजसो वस्तुभाउ पाल्ने किसान छन्, उनीहरुले गाईभैँसीलाई दाना र घाँस खुवाउन पनि समस्या भएको छ, पुस माघ महिनामा हिउँ परेन फागुन लागेर गर्मी बढ्न थालेपछि पो बल्ल हिमपात भयो ।” लामो समयको खडेरीपछि हिमपात हुँदा किसान भने हर्षित भएका छन् । बारीमा लगाएको गहुँ, जौँ र ज्वाँतो सक्न थालेपछि निराश भएका किसानलाई वर्षासहितको हिमपातले रात दिएको छ । अहिले पनि निरन्तर हिमपात भइरहेको हुँदा ढोरपाटन पुग्ने पर्यटक बुर्तिबाङ रोकिने स्थिति आएको छ । उता बागलुङ, रोल्पा र रुकुमको सिमाना पातीहाल्नेमा भारी हिमपात हुँदा मध्यपहाडी लोकमार्गनै अवरुद्ध भएको छ । दिउसो एक बजेदेखि नै हिमपात भएपछि यातायात ठप्प भएको निसीखोला गाउँपालिका–६ का अध्यक्ष सूर्यमान बुढा मगरले जानकारी दिनुभयो । हिमपातका कारण पश्चिम नेपालदेखि राजधानीसहितका ठूला सहरमा चल्ने सवारी साधान ठप्प भएको उहाँको भनाइ छ ।
काठमाडौं: सिन्धुपाल्चोकको भैरबकुण्ड आसपास केन्द्रबिन्दु भएर आज बिहान गएको भूकम्प धेरै जिल्लामा महसुस गरिए पनि सात जिल्लामा भने असर पु¥याएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले प्राप्त विवरण अनुसार भूकम्पका कारण सिन्धुपाल्चोक, भोजपुर, काठमाडौँ, दोलखा, सङ्खुवासभा, म्याग्दी र धादिङमा मानिस घाइते हुनुका साथै केही घरमा क्षति भएको जानकारी दिनुभयो । उहाँका अनुसार भूकम्पका कारण ती जिल्लाका छ जना घाइते भएका छन् । सबै क्षेत्रमा गरेर कूल एक पूर्ण र तीन आंशिक गरी चार घर तथा एउटा गोठमा क्षति पुगेको छ । सिन्धुपाल्चोकको कोदारीमा एक प्रहरी कार्यालयमा पनि आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ । काठमाडौँमा दुई जना घाइते भएका छन् भने सङ्खुवासभामा दुई घरमा क्षति पुगेको छ । सिन्धुपाल्चोकमा एक कैदी घाइते भएका छन् । तीन परिवार विस्थापित भएका प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । ती जिल्लामा अहिलेसम्म प्राप्त विवरण अनुसार १३ वटा घटना भएका प्रहरी नायब महानिरीक्षक आचार्यले उल्लेख गर्नुभयो । आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको थियो । उक्त भूकम्प देशका धेरै जिल्लामा महसुस गरिएको थियो ।
काठमाडौं: प्रतिकुल मौसमका कारण हवाई सेवा प्रभावित भएको छ । यहाँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार भिजिविलिटी कमजोर हुँदा कैयौँ हवाई उडान प्रभावित भएका छन् । कार्यालयका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार दोहाबाट काठमाडौँका लागि आएका कतार एयरवेजका क्यूआर६५२ जहाज कलकता डाइभर्ट गरिएको छ । त्यसबाहेक मलेसियाबाट आएको नेपाल एयरलाइन्स र एयर चाइनाका विमान पनि डाइभर्ट भएका छन् । मौसमकै कारण सिचुआन एयरलाइन्सको उडान रद्द भएको छ । मौसमका कारण आन्तरिक उडान पनि प्रभावित भएका छन् । कार्यालयका अनुसार काठमाडौँ–पोखरा, काठमाडौँ–भरतपुर, काठमाडौँ–नेपालगञ्ज, काठमाडौँ–राजविराज, काठमाडौँ, विराटनगर, काठमाडौँ–जनकपुर, काठमाडौँ–भद्रपुर, काठमाडौँ–भैरहवा लगायतका केही उडान रद्द भएको कार्यालयले जनाएको छ । साथै अधिकांश उडान डिले भएका छन् । प्रवक्ता शेर्पाका अनुसार दिउँसोदेखि भने उडान सामान्य रुपले भइरहेको छ ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५ का माध्यमबाट दुई देशबीचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुुग्ने बताउनुुभएको छ । सो समिटमा सहभागी हुन नेपाल आएका जापानी टोली र नेपाली समन्वयकर्ताहरुसँग आज प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र जापानबीच सरकार–सरकार र जनता–जनताबीचको लामो सम्बन्ध अब आयात–निर्यातमा पनि विकसित हुन थालेको बताउनुुभयो । “नेपालीहरु राम्रो रोजगारीका लागि जापान पनि गएका छन् । नेपालको फापर जापान पुुगेको छ । जापानबाट गोल्डेन ट्राउड नेपाल भित्रिएको छ । जनस्तरका यस्ता असल सम्बन्धका अनेक आयामहरु छन्”, प्रधानमन्त्री ओलीले भन्नुुभयो, “हामीबीच अब्बल मित्रता छ । खाली मित्रताबाहेक अरु केही छैन । हाम्रो सम्बन्ध साकुराजस्तै लटरम्म भएर फुलेको छ । समस्यारहित यो सम्बन्ध तथा विकासको साझेदारीलाई सूूचना प्रविधिको सहयोगमा उचाइका साथ अगाडि बढाउनुपरेको छ ।” प्रधानमन्त्री ओलीले युद्धले विनाश र शान्तिले विकास दिन्छ भन्ने उदाहरण जापानले प्रस्तुत गरेको उल्लेख गर्दै विश्वमा शान्ति छाओस् भन्ने आफूहरुको प्रबल इच्छा र सक्रिय प्रयास रहेको बताउनुुभयो । एक दशकभन्दा बढी समयदेखि उद्यमशीलता प्रवद्र्धन र व्यावसायिक मार्गदर्शनमा सक्रिय रहेको आइडिया स्टुडियो नेपालअन्तर्गतको समूूहद्वारा सञ्चालित लिडएक्स नेपाल र फोर्थ लिभायेको आयोजनामा यही फागुुन १४ देखि १६ गतेसम्म नेपालमा समिट आयोजना गरिएको हो ।
ढोरपाटन: आज बिहानदेखि परेको वर्षा र हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । सडकमा जमेको बाक्लो हिउँका कारण लोकमार्गअन्तर्गत बागलुङको निसीखोला–पूर्वी रुकुम खण्ड अवरुद्ध भएको हो । निसीखोला गाउँपालिका–६ पातीहाल्नेमा डेढ फिट हिउँ परेको छ । सडक अवरुद्ध हुँदा पूर्वी रुकुम, पश्चिम रुकुम, जाजरकोट, डोल्पालगायत स्थानबाट सञ्चालन हुने सवारीसाधन ठप्प भएको निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले जानकारी दिनुभयो । अहिले पनि निरन्तर हिमपात भइरहेको उहाँले बताउनुभयो । “बिहानैदेखि वर्षा भएको थियो, अहिले हिमपात भइरहेकाले तत्कालै सडक खुलाउन सकिने अवस्था छैन । हिमपात रोकिएर घाम लाग्यो भने मेसिन प्रयोग गरेर सडक खुलाउनु पर्छ । बिहान काठमाडौँदेखि आएका रात्रि बस सञ्चालन भए पनि अहिले लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन हुनसकेका छैनन्”, अध्यक्ष घर्तीमगरले भन्नुभयो । नेपालको एकमात्र ढोरपाटन सिकार आरक्षको माथिल्लो भेगमा पनि बाक्लो हिमपात भएको छ । बिहानैदेखि परेको हिमपातका कारण जनजीवन प्रभावित भएको ढोरपाटन नगरपालिका–९ का स्थानीय चकबहादुर अदैले जानकारी दिनुभयो ।
गोरखा: बारपाक सुलिकोट गाउँपालिकाले आफ्नो कार्यक्षेत्रका अनाथ बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क पठनपाठनको व्यवस्था मिलाएको छ । गाउँपालिका–६ स्थित बाह्रकोटमा मनास्लु छात्रावास सञ्चालनमा गरेर अभिभावकविहीन बालबालिकालाई खानेबस्ने व्यवस्थासहित निःशुल्क पठनपाठनको प्रबन्ध गरिएकोे गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले बताउनुभयो । “चालु शैक्षिकसत्रदेखि पालिकाभित्र विद्यालय जान नपाएका अभिभावकविहीन बालबालिकालाई निःशुल्क खान, बस्न र पठनपाठनको व्यवस्था गरेका छौँ”, उहाँले भन्नुभयो, “अहिले १९ जना अनाथ बालबालिका गाउँपालिकाले सञ्चालन गरेको छात्रावासमा अध्ययनरत छन् ।” छात्रवासमा नौ जना छात्रा र १० जना छात्र छन् । उनीलाई कक्षा १२ सम्म निःशुल्क शिक्षा दिइने जानकारी दिँदै पालिका अध्यक्ष भट्टले भन्नुभयो ‘‘बालबालिकाका लागि आवश्यक पर्ने केही लत्ताकपडा, किताबकापी, कलमलगायतका सामग्री इच्छुक दाताहरुबाट सहयोग लिने गरेका छौं ।” अनाथ बालबालिकालाई निःशुल्क पठनपाठन तथा खानबस्नको व्यवस्थाका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा रु १२ लाख विनियोजन गरेको थियो । छात्रवासमा दुई जना महिला कार्यालय सहयोगी, छात्रवास सुरक्षाका लागि सुरक्षाकर्मी र एक जना निरीक्षकको पनि व्यवस्था गरिएको छ ।
गलकोट: सङ्घीयता लागूपछि बागलुङ १० पालिका भए । त्यसअघि बागलुङ नगरपालिका मात्र अस्तित्वमा थियो । २०७३ सालमा स्थापना भएका बागलुङका नौ पालिका भाडाको घरमा सञ्चालन भएका थिए । ती मध्ये छ स्थानीय तह आफ्नै भवनबाट सेवा दिन सफल भएका छन्भने गलकोट र जैमिनी नगरपालिकाका भवन निर्माणाधीन छन् । फागुनदेखि ढोरपाटन नगरपालिकाले पनि आफ्नै भवनबाट प्रवाह गर्न थालेको छ । भवन सम्पन्नपश्चात् फागुनदेखि सेवा दिन थालिएको छ । चार करोड ५९ लाख ३४ हजारको लागतमा छ तलाको पक्की भवनबाट सेवा प्रवाह थालिएपछि कार्यालय सञ्चालन खर्च घटेको छ । काठेखोला गाउँपालिकाले जग्गा टुङ्गो लगाउन सकेको छैन । ताराखोला गाउँपालिकाले सुविधासम्पन्न भवन निर्माण गरेको एक वर्ष पछि बडिगाड गाउँपालिकाले भवन बनाएको हो । काठमाडौँको सिंहदरबार सङ्घीयतापछि जनताको सेवाका लागि गाउँमै ठडिन थालेका हुन् । बडिगाड र ताराखोला मात्र होइन तमानखोला, निसीखोला गाउँपालिका र बरेङ गाउँपालिकाले पनि आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेका छन् ।