चैत्र शुक्ल नवमी: देशभरका राम मन्दिरमा भक्तजनको भीड

काठमाडाैं | चैत २४, २०८१

चैत्र शुक्ल नवमी: देशभरका राम मन्दिरमा भक्तजनको भीड

काठमाडौं:  रामनवमी पर्वका अवसरमा आज बिहानैदेखि देशभरका राम मन्दिरमा भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व मनाइन्छ । 


यस उपलक्ष्यमा बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपतिपारिको राम मन्दिर, गोकर्णेश्वर नगरपालिका वडा नं ९ आरुबारीस्थित राम मन्दिर, राजधानी र देशभरका अन्य राम मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ ।


यस अवसरमा बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर बिहान ४ः०० बजेदेखि नै भक्तजनका लागि खुला गरिएको मन्दिर व्यवस्थापन समितिका कार्यालय सचिव वसन्त खड्काले राससलाई जानकारी दिनुभयो । 


श्रीरामचन्द्र मन्दिर बत्तीसपुतलीमा आज नेपालका चर्चित कलाकारबाट भक्तिसङ्गीत कार्यक्रमको आयोजना पनि गरिएको उहाँले सुनाउनुभयो । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ ।  


त्रेतायुगमा आजकै दिन अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रुपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको थियो । त्यही स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मिकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ ।


आजका दिन व्रत बसी श्रीरामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा वैकुण्ठ बास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ । 


अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको सातौँ अवतारका रूपमा जन्मनुभएका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसको नास गर्नुभएको थियो ।


 ‘लोक रञ्जनात् राजा’ अर्थात् जनतालाई खुसी पार्ने नै राजा हुन् भन्ने शास्त्रीय मान्यतालाई श्रीरामले पूरा गर्नुभएको थियो । यसैले उहाँलाई अहिले पनि आदर्श राजाका रूपमा स्मरण गरिन्छ ।


रामनवमीका दिन श्रीरामको व्रत, उपवास गरी पूजा, आराधना गर्नाले यो लोकमा सुख, शान्ति र परलोकमा सद्गति पाइने रामायणलगायत धर्मग्रन्थमा उल्लेख छ । आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिनुभएकाले उहाँको सम्झनामा रामनवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख छ ।


पितृ मातृ भक्त, ठूलालाई आदर र सानालाई माया गर्ने आदर्श पुरुषका रूपमा रामले अयोध्यामा राज्य गर्नुभएकाले उहाँको शासनकाललाई अहिले पनि रामराज्यका रूपमा स्मरण गरिन्छ । सृष्टिमा दुर्जनको अन्त्य गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुले रामका रूपमा मनुष्यलोकमा जन्म लिनुभएको हो । रामकै जस्तो गुण हामीमा पनि प्राप्त होस् भन्ने कामनाले रामनवमी पर्व मनाउने गरिएको हो ।

गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहकार्यमा स्थापित दीर्घकालीन पुनर्स्थापना केन्द्र सञ्चालनमा आएको छ ।   पोखरा ३३ पुष्पवस्तीमा स्थापना गरिएको केन्द्रको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे...

थप पढ्नुहोस्

पोखरा:  शुक्रबारदेखि आन्दोलनरत  यातायात व्यवसायीले गण्डकी प्रदेशभित्र आज (शनिबार) पनि कालो प्लेटका (सार्वजनिक यातायात) सवारी साधन ठप्प पारेका छन् ।   गण्डकी प्रदेश सरकारले गत वैशाख ३० गते ...

थप पढ्नुहोस्

पोखरा महानगरपालिका–२५ हेम्जास्थित मर्दी खोलाको ड्याममा पौडी खेल्ने क्रममा डुबेर २ बालकको ज्यान गएको छ । बिहीबार पौडी खेल्न पुगेका माछापुच्छ्रे गाउँपालिका–६ का १४ वर्षीय विशाल परियार र १३ वर्षी...

थप पढ्नुहोस्